साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा- घर्षण

ऊ सहर पस्यो । एसएलसी फेल भएपछि उसलाई गाउँमा बस्न मन लागेन । एसएलसी उसलाई अरूले भनेजस्तो फलामे गेट नै साबित भो । गेटमै पछारिएपछि ऊ फेरि त्यही गेट चढ्ने अर्को झन्झटमा लागेन । पढाईसँग पौँठेजोरी गर्ने जाँगर उसमा पटक्कै भएन । पढेर ठूलो बन्ने, धनी हुने, सुख पाउने जस्ता कुरामा उसलाई विश्वास पनि थिएन ।

त्यसमाथि घरको आर्थिक अभाव । अभावले निम्त्याउने तनाव अनि तनावकै कारण कमाउन गाउँ छोड्नुपर्ने व्यावहारिक दबाब ।

हरि यस्तै मनःसामाजिक परिबन्धमा फसेको थियो । त्यसमाथि आफ्नो कमजोर पढाइको स्तरबाट ऊ आफैँ सन्तुष्ट थिएन । यही अभाव, तनाव र दवावकै कारण हरि गाउँ छोडेर एक आफन्तको साथमा काठमाडौँ पसेको थियो ।

मनोज अधिकारी

हरिलाई तिनै आफन्तले एक जना भूतपूर्व सचिवको घरमा भान्छे सहयोगीको काम लगाइदिए । घरायसी कामसँगै हरिले खाने र बस्ने सुविधा त्यहीँ पायो । घरको भित्री सरसफाइ र भान्छेको काम गर्न त्यहाँ अर्की एक महिला थिइन् कमला ।

हरि घरकी मालिक्नी (मैसाब) ले अह्राएअनुसार दाल, तरकारी, दूध, माछा, मासु किन्न चोकतिर निस्कन्थ्यो । मैसाबका छोराछोरीलाई बिहान स्कुल बससम्म पुर्‍याउने र दिउँसो लिन जाने उसको नियमित ड्युटी हुन्थ्यो । यसबाहेक घरकै बगैँचा रेखदेख गर्ने उसका अरू काम थिए ।

साँझपख तरकारी किन्न चोकतिर निस्कँदा हरि बल्ल केही समय स्वतन्त्रताको उपभोग गर्न पाउँथ्यो । नत्र घरमालिक र मालिक्नीको खटनपटनमा ऊ पूरै दिन व्यस्त हुन्थ्यो । त्यसैले साँझको क्षणिक स्वतन्त्रता उपयोग गरी ऊ अबेर तरकारीका झोला झुड्याउँदै फर्किन्थ्यो ।

उसलाई ‘किन ढिलो गरिस् ?’ भनेर मालिक, मालिक्नी दुवै सोध्दैनथे । मात्र कमला सब्जी र अचार बनाउन उसैलाई कुर्नुपरेको झोक देखाउँथी ।

हरिलाई थाहा छ, अवकाशपछि घरै बसेका घर मालिक (बाबुसाहेब) सुगर, प्रेसर र दमका रोगी छन् । उनी बिहानीको झिसमिसे अन्धकारमै मर्निङवाक जान्छन् र घाम उदाउनुअघि फर्किसक्छन् । यसबाहेक अरूबेला कहिल्यै घरबाट निस्कँदैनन् । दिनभर कोठाभित्रै धार्मिक ग्रन्थ पल्टाएर र कपूरको धूप बालेर समय कटाउँछन् ।

मैसाब चाहिँ सिँगारपटारसहित सारीको सप्को काँधमा हालेर टोलका दौँतरीसँग दैनिक कतै न कतै जान्छिन् । उनी कहाँ जान्छिन् कमला र हरिलाई थाहा हुँदैन । बाबुसाहेब पनि चासो राख्दैनन् ।

११ वर्षकी छोरी र पाँच वर्षीय छोरा स्कुलबाट फर्केपछि होमवर्क गर्नमै व्यस्त हुन्छन् । होमवर्क सकेपछि घरको छतदेखि छिँडीसम्म दिदीभाइ लुकामारी खेल्छन् । बगैँचामा काम गरिरहेको हरिलाई पानी छ्यापेर हैरान पार्दै रमाइलो मान्छन् ।

बिहानबेलुका भान्छामा खटिने कमला दिउँसो बैठक कोठा अनि मैसाब र बाबुसाबका कोठा बढार्छे र पुछेर सिनित्त पार्छे ।

काम थालेको केही दिनमै कमला र हरिको ठाकठुक पर्छ । भनेको त कमलाले खासै केही होइन । एउटा काममा सघाइदेऊ मात्र भनेकी थिई । दिनभर घरको बढारकुँढार र ओछ्यानका कपडा धुनुपरेकाले ऊ निकै व्यस्त भएकी अनि गलेकी थिई तर हरिले एउटी नोकर्नीले अर्को नोकरलाई काम अह्राउने भनेर निहुँ खोज्यो ।

‘तँ तेरो काम गर्, म मेरो काम गर्छु’ हरिले यसरी जबाफ फर्काएपछि कमला डाँको छोडेर रोई । मैसाब आएपछि बेस्सरी कुरा लगाई । मैसाबले काम गर्नेलाई हपारेर हैन, चेपारे शैलीबाट आफूअनुकुल सेवा लिने अक्कल राम्ररी जानेकी थिइन् । उनले दुवैलाई चित्त नदुख्ने गरी सम्झाएर विवाद मिलाइन् ।

उनले त्यही साँझ हरिलाई आफ्नो कोठामा बोलाएर मिठाई खान दिइन् अनि खुट्टा करकर खाएको सुनाउँदै तेल मालिस गर्न लगाइन् । मिठाई खुवाउनुको तात्पर्य बल्ल बुझेको हरिले मैसाबका चिल्ला र गोरा पिँडुलामा तेल मालिस निकै अबेरसम्म गरिदियो । उसलाई कमलाका अगाडि मैसाबको साथ र सामीप्य देखाउनु पनि थियो ।

मालिस गर्दागर्दै मैसाब निदाएपछि बल्ल ऊ उठेको थियो । त्यो साँझदेखि हरिले मिठाई खाने र मैसाबले तेल मालिस पाउने कार्य निरन्तर चल्यो ।

‘तेरा हात निकै बलिया छन् हरि । त्यो कमलीका हात हुन् कि पात म जान्दिनँ । निकै लुला पो छन् । त्यसको हातले त मेरो धितै मर्दैन’ मच्चीमच्ची तिघ्रातिर तेल घसिरहेको हरिको अनुहारमा गहिरोसँगै हेर्दै मैसाबले तारिफ गरिन् । हरिले तेल लगाउने क्षेत्र दिनदिनै मास्तिर सर्दै गएको थियो ।

हरि पनि दिनहुँ पाउने फरक–फरक मिठाईको स्वाद र मैसाबको तारिफले मख्ख पर्दै उकालो चढ्दै गयो । मैसाबले जता–जता भन्यो ऊ पनि हस् हजुर भन्दै आज्ञापालक बनेर उतै–उतै माड्दै गयो ।

चढ्दो जवानीको हरि मैसाबका पोटिला र चिल्ला तिघ्राको स्पर्शमा त्यसै-त्यसै मोहित बनिसकेको थियो । उसलाई पनि यो निरन्तरता चाहिएको थियो ।

बरु कमलालाई ‘तेरा हात पातजस्ता छन्, तँ त लुरी छेस् मैसाबले भनेको’ भनेर हियाउन थाल्यो । कमला त्यसदिन फेरि डाँको छोडेर रोई तर कसैलाई केही भनिन ।

साँझ खान पुर्‍याउन कोठामा जाँदा मालिकले कमलालाई उदास देखेर सोधे । उसले मौकामा हरिविरुद्ध कुरा लगाइदिई । उसै पनि मालिक हरिदेखि त्यति खुसी थिएनन् । एक त उनी हरिको काम गर्ने ढाँचा मनै पराउँदैनथे । अर्को मैसाबले हरिलाई मत्याएको झनै निको मान्दैनथे । अझ कमलाको चित्त दुखाएको सुनेपछि मालिकलाई हरि झन् बेकम्मा लाग्यो ।

उनले धादिङको सिडिओ हुँदा कार्यालयकै पियनकी छोरी कमलालाई पढाउने सर्तसहित काठमाडौँ ल्याएका थिए । कमलाले सर्तबमोजिम पढ्न त पाइन । घरको गरिबी सम्झेर मालिकको रुचाइएकी सेविका बनेर बसी ।

बाबुसाहेबले ‘त्यस नाथेलाई म झपारिदिउँला’ भन्दै कमलाप्रति सहानुभूति दर्साए । उनले सक्ने भनेको यति भन्न मात्रै हो । घरमा मैसाबकै मर्जी चल्छ भन्ने उसले नबुझेकी पनि होइन । तैपनि बाबुसाहेबको आड पाएर ऊ थोरै खुसी भई र फिस्स हाँसेर निस्किई ।

त्यसको केही दिनमा कमला धादिङ गई । बिरामी आमालाई भेट्न घर गएकी ऊ फर्केर आइन । उसले हरिलाई पिठो मुस्न, गोलो पारेर बेल्न र फर्काई–फर्काई रोटी पकाउन सिकाएर गएकी थिई । जानुअघि भातमा पानी अड्कल्न, दालमा ठिक्क नुन हाल्न, पापड नडढाई पोल्न, गोलभेँडा र धनियाँको अचार मसिनो पारेर पिस्न सिकाई । छतको भर्‍याङदेखि भुईँतल्लाको मूलढोकासम्म बढार्न र पुछ्न सिकाई । बाबुसाबका औषधि टाइम टाइममा ठिक्क पारेर दिन, कोठामै खाना, चिया र खाजा ओसारेर सेवा गर्न सिकाई ।

स्कुलबाट फर्केपछि दुवै छोराछोरीका मोजा धुन र टिफिनबट्टा सफा गर्न सिकाई । शनिबार बिहानैदेखि घरधन्दा र सबैका कपडा धोएर छतभरि सुकाउन सिकाई अनि बेलाबेला पाहुना आउँदा उनीहरूको मान राख्न, सत्कार गर्न र खानपिनमा विशेष ध्यान दिन पनि सिकाएर गई ।

ओहो, कमला नहुँदा यत्तिका काम गर्न भ्याई नभ्याई हुँदो रहेछ भन्ने हेक्का हरिलाई बल्ल भयो । कमलाले यति धेरै काम एक्लै कसरी गरेकी होली भनेर हरि तीनछक पर्‍यो । तैपनि बिहानको चियादेखि रातको तेल मालिससम्म हरि दिलोज्यान दिएर खटिरह्यो । उसले हिम्मत हारेन । हिम्मत हार्न नदिने मैसाब उसको ऊर्जा थिइन् ।

मैसाबलाई हात लिए पनि हरिले कमलाको जस्तो घरधन्दा सम्हाल्ने ढङ्ग भने आफ्नो हातमा ल्याउन सकेन । न उसले मैसाबका छोराछोरीलाई बेलैमा खाना खुवाएर बससम्म पुर्‍याउन सक्यो । न ढङ्गले कुनै खाना स्वादिलो बनाउन सक्यो । न घरको सरसफाइमा निपुणता देखाउन सक्यो ।

पानी बढी भएको गिजगिजो भात । नुनविनाको खल्लो दाल । चर्को बेसार र मसला डढेको तितो काउली । राम्ररी नपिँसेको गोलभेँडा र धनियाँको लथालिङ्गे अचार । एकापट्टि काँचै र अर्कातिर डढेको रोटी ।

हरिको यस्तो बेढङ्गी ताल र कमलाको अभावमा पनि मैसाबले कुनै तातो रिस गरिनन् । बरु सकेसम्म आफूले पनि सँगसँगै साथ दिएर हरिलाई सघाउन पो थालिन् किनभने ऊ मैसाबको प्यारो भइसकेको थियो ।

मैसाबबाट गालीको सट्टा मायालु वचन, झर्कोफर्कोभन्दा सहयोगी व्यवहारबाट ऊ झनै प्रभावित भयो । बिस्तारै सबै काम कमलाले सिकाएझैँ गर्न सक्ने भो । त्यसपछि घरमा बाबुसाहेवबाहेक कमलाको अभाव कसैले महसुस गरेन । अझ मैसाबले कमलाको सट्टा एउटा जवान केटो पाएकी थिइन् । उनले पनि कमलालाई लगभग बिर्सिइन् ।

दिनभरको घरधन्दा सकेर हरि साँझको तेलधन्दामा दिनानुदिन निपुण हुँदै गइहरेको छ । १८ वर्षीय ठिटाको शरीरमा न कुनै थकान र न धपेडीको लेस देखिन्छ । हरिका बलिष्ठ हात पाखुराको स्पर्श र मर्दनले मैसाब त्यसै मोहित भएकी होइनन् । उनलाई दिनहुँ हरिको तातो घर्षण चाहिने भइसकेको छ ।

हरि पनि मैसाबका मुलायम पैतालादेखि चिल्ला पिँडुला, जोडी थामझैँ स्थूल तिघ्रा, रहस्यमयी जाँघ, उन्नत नितम्ब हुँदै लेकतिर समेत सर्वाङ्ग मर्दन क्रियामा खरो ढङ्गले तेल मालिस गर्दै सेवामा आजपर्यन्त हाजिर छ ।

समाप्त

प्रतिक्रिया
Loading...