यात्रा संस्मरण
नोट – यो यात्रा संस्मरण हो पनि हैन पनि ।
साबिकको रुप्सा, कालीकोट ।
यो उकालो चढ्दै गर्दा मैले मेरो साबिकको ठाउँ टीकापुर र मेरी साबिक प्रेमिकालाई सम्झेको थिएँ । कुनै पनि ठाउँ र ठाउँको नाम याद गर्ने, यो मेरो आफ्नो मौलिक तरिका हो भन्छु । म जुनसुकै ठाउँमा पुगेँ त्यो ठाउँको कुनै कुराले मेरो मनलाई तान्यो भने -”म त्यस बेला के सम्झिरहेको वा के सोचिरहेको छु । एकपल्ट त्यही कुरा सम्झन्छु र मुस्कुराउँछु ।”
हो ठिक यो उकालो चढ्दै गर्दा – “मैले मेरो साबिकको ठाउँ टीकापुर मेरी साबिक प्रेमिकालाई सम्झेको थिएँ । उसका ओठ सम्झेको थिएँ ।” उसका ओठ साबिक भइसकेका छैनन् । अहिले पनि उसका ओठलाई ओठ नै भनिन्छ कान भनिन्न, आँखा भनिन्न, गाला भन्निन र *जी पनि भन्निन । ओठ नै भनिन्छ । अलग कुरा हो मैले मेरा कवितामा उसको बयान गर्दा उसका ओठलाई गुलाफ लेखेको छु । जुन कविताहरू मैले आजसम्म कसैलाई देखाइन । मानौँ कि मैले त्यहाँ *जी नै लेखेको छु । अचम्म लाग्छ बोलिरहने बोली लेखिँदा आफ्नो असली स्वरूप देखाउँछ । जसरी साबिकका कालीकोट रुप्साका जनतालाई त्यहाँका जनप्रतिनिधि देखाएका छन् । दुःख हेर्न कोही किन जाओस् ?
यहाँ यस *जीले मेरो यो यात्रा संस्मरणलाई भद्दा बनाइदियो । – “हुने बिरुवाको चिल्लो पात” भन्ने उखान सम्झिनुभएको छ भने यो लेखको पूर्ण कद तपाईँले खस्रो पाउनुहुनेछ । आगे पढ्ने नपढ्ने हजुरको मर्जी ।
२०७१ चैत्र १३ गते जिन्दगीमा बाढी पहिरो गएको थियो । ठिक मेरो अगाडिको उखुको झ्याङ ४ मिटर तल पुगेझैँ गरी ऊ चार कोस तल पुगेकी थिई । उखुको झ्याङ पहिले चार मिटरमाथि थियो, जसरी तत्कालीन मेरी साबिककी प्रेमिका मेरो नजरमा माथि थिई, त्यसरी नै ।
त्यसको एक महिनापछि जिन्दगीको बाटामा सुधार देखिएको थियो । जसरी ठिक आज मेरा आँखामा परिरहेको भाट गाउँ देखिरहेको छ । यहाँ २०७७ साउन १३ गते पहिरोमा परी एकै घरका सात जना सकिएका थिए । मर्नेहरूमा अरू मान्छे पनि थिए, गाई भैँसी, कुकुर थिए । यसो भन्न मिल्छ भाट गाउँबाट नै विभिन्न वर्गका आत्महरूले एकै साथ आफ्नो सकिजाने चोलालाई सकिदिएका थिए ।
राम, नाम सत्य हो तर यो मानवलीला पनि असत्य होइन । नरहरिनाथ गाउँपालिकाभित्र मसँग आएका तीन सरकारी कर्मचारीलाई कम्ता सकस भएको थियो एक करारको कर्मचारीलाई कसरी प्रमुख मान्नु भन्न विषयमा ।
उनीहरूले यस विषयमा जहाँ बुझे त्यहाँकाले भनिदिएछ अमिन, सुब्बाभन्दा पदीय हिसाबमा इन्जिनियरलाई नै प्रमुख मान्नुपर्छ, एक दिनका लागि मान्नु के नै हुन्छ र ? मानिदेऊ । त्यसपछि उहाँहरू मानिदिएका थिए । टोलीप्रमुख म । के यो लीला सत्य होइन ? तर उहाँहरूको मनले सत्य मान्न खोजे पनि अनुहारले मान्न सकिरहेको थिएन । कस्तो न कस्तो अनुहार लगाएपछि मैले सविस्तार -पोर्न मुभीहरूको मेकप म्यानवाला जोक्स सुनाएपछि उहाँहरूको अनुहारले । मलाई टोलीप्रमुख मानेका थिए – कामको होइन, जोक्सको टोलीप्रमुख र त भनेका थिए “सर अब हजुरलाई हामीले टोलीको जोक्सको प्रमुख मान्छौँ ।”
करारमा जागिर खाने कर्मचारी, लोकसेवा लडेर आएको कर्मचारी बराबरको हुनै सक्दैन । भए त्यो सत्य होइन । लोकसेवाले वर्ग छुट्टाउँदो रहेछ, त्यहाँ पनि त्यो एकपल्ट सम्झेको थिएँ मैले । म करारको कर्मचारी फरार हुन सक्छु लाग्छ लोकसेवा पास गरेर स्थायी भएको एक अस्थायी मान्छेलाई यो पनि सत्य हो । अस्थायी मान्छे स्थायी जागिरी पाउनु ।
कुमाल गाउँबाट ओरालो झर्दै गर्दा लक्ष्मीले भनेका थिए -”सर मेरो नाम याद गर्न सजिलो छ । नाम केटीको- लक्ष्मी, थर विक ।” मलाई नाम याद भयो । पछाडिबाट उज्ज्वल सरको आवाज आएको थियो – “सर पैतला हाने जसरी हिँड्नुहुन्छ । कतै बोक्नुपर्ने त हैन हामीले ।”
त्यो मलाई थाहा थिएन मैले हाँसी मात्र दिए । जानु थियो – सुगर खाल
जिल्ला – कालीकोट
अवस्थित – दक्षिण पश्चिम कालीकोट, अछामको रामारोसनसँग सिमाना जोडिएको ।
उचाइ – सुमुद्री सतहबाट २९१३ मिटर ।
उचाइ सुनेर मान्म कालीकोटमा खुट्टा नकापेका हैनन् काँपेका थिए तर मन सरकारी भैदियो । खुट्टाको केही लागेन ।
झोलामा के नै थियो र ? एक दात चम्काउने पेस्ट, दात कोर्ने थकारो, दुई मेरो भुडी पाल्ने यन्त्र (ल्यापटप र मुसो ), एक जोर मोजा, एक ट्राउजर र एक टोपी । त्यो पनि टोपी र टाउजरलाई ओरालो झर्दै गर्दा पसिना झर्न थालेपछि मैले झोलामा झारिदिएको थिए ।
कमल बुढा जो हाम्रा पदप्रदर्शक थिए उनैले यही उकालो सुरु हुनेबितिकै भनेका थिए – “सर झोला म बोकिदिउँला ।”
मलाई नाइँ भन्न मन लागेको थियो तर भनिनँ । मलाई कुनै हीनताबोध भएन । मेरो काथको झोला गएर उनको काँधमा उनीयो ।
यत्तिकैमा भूमि सरको स्वर सुनियो -”सर अब जोक सुनाउनुस्” मान्मदेखि नरहरिनाथ गाउँपालिकाको कार्यलयसम्म मेरा जोक सुन्दै आएका उनीहरूको ध्यान मेरो जोकमा हुनु अस्वाभाविक थिएन ।
मैले सुरु गरेको थिएँ – “२१ भायग्रावाला जोक” जोक सकिनासाथ टोली हिँड्न छोडेर हाँस्न थालेको थियो । हाँस्दाहाँस्दै बस्यो । हाँस्दाहाँस्दै उठ्यो । मुस्कुराउँदै टोलीले मलाई भनेको थियो । “सर बिस्तारै आउनुस् हामी अगाडि पर्खिन्छौँ ।” उकालोमा बिस्तारै हिँड्ने मान्छेले बस्न पाउँदैन । बस्ने ठाउँ पुग्दा बसेकाहरूको उठ्ने बेला भैसकेको हुन्छ र म पनि केही बेर बसेर, हो मैले सम्झेको थिएँ साबिकको मेरो टीकापुर, साबिककी मेरी प्रेमिका ।
यहाँनिरै हो मैले भनेको – “सर आज म योभन्दा बढी हिँड्न सक्दिनँ, यतै बसौँ है ।” मैले न बढी न कम ठिक्क मेरो हालत बताएँ । सर अब भाट गाउँमै बसौँला पन्ध्र मिनेटमा पुगिहाल्छौँ। त्यही उकालाले मलाई सिकायो १५ मिनेट सबैका लागि एउटै हुँदैन । यो जिन्दगी गुडाउने क्रममा मान्छेअनुसार फरक-फरक व्यवहार गर्छ । एउटा हलकोठाभित्र बसेर कुनै झुठो आश्वासन सुनिरहँदा चाहिँ सबै आसे वर्गका लागि त्यो पन्ध्र मिनेट एउटै-एउटै हुन सक्छ र आसे वर्ग जो पनि हुन सक्छ ।
नेता अगाडि छ भने जनता आसे वर्ग हो ।
हाकिम अगाडि छ भने कर्मचारी आसे वर्ग हो ।
मालिक अगाडि छ भने नोकर आसे वर्ग हो ।
तपाईँको प्रेम अगाडि छ भने तपाईँ नै हो आसे वर्ग ।
र माथिका सबै म र तपाईँ नै हौँ । त्यसैले हामी स्थायी आसे वर्गका मान्छे हौँ ।
लगभग पन्ध्र मिनेट हिँडिसकेपछि मैले देखेँ । उज्ज्वल, भूमि, लक्ष्मी र कमल सर एउटा आँगनमा बसेर मलाई हेरेर हाँसिरहेका । उनीहरूको हाँसोमा स्पष्टसँग देखिन्थे २१ भायग्राको असर । म बस्ने ठाउँ आयो सोचेर मुस्कुराएको थिए हैन रैछ । आँगनछेउ पुगेको मात्र के थिए कानमा पऱ्यो – “ब्याउला ब्याउली कि, कि रम्चेरुलाइ ब्याछ ।
पहिले म सोधनी गर्छु सन्चो बिसन्चो क्या छ ।”
(कि दुलहा दुलहीलाई, कि दर्शकलाई विवाह हो ।
पहिले म सोधिहाल्छु सन्चो बिसन्चो कस्तो छ ।)
मैले के भन्नु ? म थाकेको छु ?
तर भन्न सकिनँ हाँसे मात्रै ।
मेरो सन्चो बिसन्चो सोध्ने । एक बुढा बा थिए । उनको बायाँ खुट्टामा पैताला थिएन । हातका औँलाहरू पूरा खुन्ल्थेनन् । मुठ्ठी पारेझैँ लाग्थे तर उनी पूरा खुलेर कुरा गरिरहेका थिए । यत्तिकैमा कमल सरले भन्नुभयो – “सर अब हिँडौँ १५ मिनेटमा पुगिहाल्छौँ ।” भनेपछि हामी आजको गन्तव्यमा पुगेका रहेनछौँ । अघिको १५ मिनेट अझै बाँकी रहेछ । मैले हाँस्दै भने – “सर कति ओटा १५ मिनेट हिँडेपछि भाट गाउँ आउँछ ? अघि पनि १५ मिनेट नै भन्या जस्तो लाग्या थियो ।”
पदम सरले हाँस्दै भन्नुभयो –“सर मलाई त पाँच मिनेट मात्रै लाग्छ तपाईँलाई पन्ध्र मिनेट हो ।” मैले भनेनि सबैका लागि पन्ध्र मिनेट एउटै हैन । मैले जसो तसो पन्ध्र मिनेट हिँडे तर मलाई एक घण्टा हिँडेझैँ लाग्यो । पन्ध्र मिनेट एउटै हो, एउटै हैन ।
सुगरखालबाट फर्केपछि कमल सरको घरको आँगनमा थच्छ बस्दै मैले सम्झिन थालेँ । दिउँसाका ती बुढा जसले सुगर खालको खुला आकाशमुनि हातमा रातो रङ्ग लिएर मेरो निधार छोएका थिए । किन मलाई अनौठो कर्तव्यबोधको आभास भएको थियो । मेरो हातमा के नै थियो र ? तर उनको मनमा आश थियो । यो सुरक्षित ठाउँमा जहाँ बाढीपहिराको डर छैन, यहीँ बस्ने । छिमेकीको सिङ्गो परिवारझैँ आफ्नो परिवार एक चिहान नबनोस् भन्ने । आश थियो । मान्छे घाँसदाउरा, लेकऔल, पानीपँधेरो सँगै जान चाहन्छन् तर सँगै मर्न चाहँदैनन् । मर्ने कामचाहिँ क्रमशः क्रमशः होस भन्ने चाहन्छन् । मानौँ कि कालले पठाएको पत्र पढेर खुसी हुँदै भनिरहेका छन् ।
तिमीले अन्तिम पत्र पठाउँदा पनि खुसी लाग्यो ।
पठाएछौ पुछारमा क्रमशः लेखेर ।
कालको हरेक पत्र अन्तिम पत्र हो, हाम्रो सौभाग्य प्रायः जसो कालका घरमा कुनै समारोह, उत्सव हुँदैन । जब-जब कालको घरमा उत्सवको तयारी हुन्छ अनि काल पत्र लेख्ने सुरु गर्छ र पत्रको पुछारमा क्रमशः पनि लेख्नेछ अनि पत्रसँगै पृथ्वीमा भूकम्प, बाढीपहिरो आउँछन् । यो पनि सत्य हो । उसले क्रमशः लेख्नु र नलेख्नु एउटै हो, एउटै हैन ।
सुगर खाल पुग्नेबित्तिकै भूमि सरको दिमागमा भुकम्प आयो । कारण उनी वनका कर्मचारी थिए तर त्यहाँ अहिले वन थिएन । पहिले थियो । अहिले वन नहुनुको कारण फ्याट्ट भन्न सकिन्न । सप्रसङ्ग व्याख्या चाहिन्छ जुन दिन भाट गाउँमा पहिरो गयो एकै घरका सात जनाका आत्मा सहित अरू विभिन्न वर्गका आत्माहरू कालको पत्रको बेहोराअनुसार हिँडे । यदि हिम्मत गरेर कोही भाटगाउँमा बसिरहे भने काल उनीहरू नाममा पनि पत्र लेख्न बाध्य हुन्थ्यो । जसको नाममा पत्र आउथ्यो उनीहरू पृथ्वीमा बस्न पाउने थिएनन् । ठाउँ-ठाउँमा धसेको जमिन हेर्दा यस्तो लाग्छ पत्र पूरै गाउँको नाममा आउन सक्थ्यो त्यसैले साबिकको रुप्साको भाटगाउँ एकैपल्ट सुगर खालमा सऱ्यो अनि जङ्गलमा आगो लाग्यो । हामी पुग्दा पनि आगो लागिरहेकै थियो । त्यही भएर भूमि सरको मनमा भूकम्प आएको थियो ।
मनमा भूकम्प आएपछि मान्छे पनि चलायमान हुनु स्वाभाविक हो । त्यसैले युद्ध भूमिमा गएझैँ गरी भूमि सर, अगाडि-अगाडि लाग्नुभयो लक्ष्मी सर र उज्ज्वल सर नापी कार्यलयबाट आएका हुँदा भूमि सरको पछि -पछि लागे । उनका पछि-पछि उजाड बस्तीभरिका लगभग आधाआधी मान्छे लागे । वन कार्यलका कर्मचारीको अनुहारमा आएको परिवर्तनले गाउँको अनुहारमा डर देखिएको थियो तर इन्जिनियरसहित नापी कार्यलयका मान्छे आएको देखेर एक आधुनिक बस्ती यहीँ बस्नेछ भन्ने आश पनि देखिन्थ्यो । उनीहरूको अनुहारले भनिरहेका थिए डर र आश एउटै हो, एउटै हैन ।
म जहाँको त्यहीँ उभिरहेँ । धन्न मेरा दशा करारको कर्मचारीलाई हतार भएन । जताततै धुवाँ नै धुवाँ थियो । मेरो काम आउन बाँकी नै थियो । लगभग त्यो बस्तीका आधाआधी मान्छे मेरा वरिपरि नै उभ्भिरहे । खै के सोचेर हो । म जहाँको त्यहीँ उभिनु भनेको त्यो उजाड बस्तीका लागि अशुभ सङ्केत हुन सक्थ्यो । मेरा पाइला चल्दै गए मेरा आँखामा बन्दै गरेका छाप्रा परे । खेलिरहेका नानीहरू, अलिकति उठेको पहाड पढ्यो । वारिपारि तल पाखातिर बसिरहेका बस्ती परे । अनुहार चिसो, धुवाँ र धुलाले फुटेका मान्छेहरू । खुल्ला आकाशमुनि पढिरहेका देशका भविष्यका कर्णधार परे ।
म पाइला चाल्दै गएँ । मैले त्यो ठाउँ चिने-चिनेझैँ लाग्यो । कतै देखेको हुँ लाग्यो । एक दृश्यमा आँखा पर्ना साथ मैले सम्झेँ ठिक यहीँ दृश्य मैले सपनामा देखिरहन्थेँ । मेरा सपना पनि निश्चित छन्, प्रायः ती पालैपालो दोहरिरहन्छन् । यसो भनौँ उसो त म सपना देख्ने मान्छे नै हैन देखे नि त्यही दोहोरिरहने सपना देख्छु । मैले देख्नेमध्येकै सपना दोहरिन्छन् । यसरी मैले देख्नेमध्येकै सपनामध्ये मेरो जिन्दगीको विपनामा परिणत भएको यो दोस्रो सपना हो । यहाँनिर तपाईँसँग दुइटा विकल्प छन्, पहिलो – तपाईँ मेरो सपना दोहोरिने कुरालाई पत्त्याउन सक्नुहुन्छ र दोस्रो – “नपत्त्याई एक काल्पनिक कथा हो भन्न सक्नुहुन्छ ।” पढ्ने नपढ्ने आगे तपाईँको मर्जी ।
सपनामा मबाहेकका चार जना मानिससँग अनौठो उकालो चढिरहेको हुन्छु तर मैले आज मात्र होस गरेँ ती चार मान्छेको अनुहार मैले कहिल्यै याद गरेको रहेनछु । त्यतिपल्ट सपना दोहोरिँदा पनि ती मान्छेका अनुहार किन याद गरिन होला ? आजदेखि म त्यो सपना देख्ने छैन । किनकि मेरो पहिलो सपना बिपनामा परिणत भएपछि पहिलो सपना कहिल्यै दोहोरिएन । के ती सपनाका चार जना लक्ष्मी, कमल, उज्ज्वल र भूमि सर नै थिए त ?
मेरो सपनाको मेरो हुलिया मलाई याद छ । मैले सपनामा लगाएको जस्तै लामो ओभरकोट मैले आज पनि लगाएको छु । यो ओभरकोट किने को दिनदेखि नै म पछुतोमा थिएँ । यति भारी कोट मैले किन किनेछु लागिरहन्थ्यो । म सपनामा पनि ओभरकोटको चेन खुल्लै राखेर हिँडिरहेको हुन्थेँ । उकालो चढिरहेको हुन्थेँ । एक्कासि उकालो सकिन्थ्यो अनि आँखामा यस्तै उजाड बस्ती पर्थ्यो। ठिक आजको जसरी नै मान्छेहरू हाम्रो वरिपरि झुम्मिएका थिए र भिडबाट एक वृद्ध हामीसामु आइपुग्थे । ठिक आजको जसरी नै उनको बायाँ हातमा एउटा पात हुन्थो र पातमाथि रातो रङ्ग हुन्थ्यो । ती बुढाको काँप्दै गरेको हात हाम्रो निधारसम्म पुग्थ्यो र उनी हात जोड्दै केही कुरा फुसफुसाउँथे तर सपनामा म उनको गनगन बुझ्न सक्थिनँ भनूँ वा बुझ्न चाहन्थिनँ तर आजका बुढाले हात जोढ्दै फुसफुसाएको सुनेको थिएँ – “सरको पाइलो पढ्याको हो भन्न पाऊँ हामी । चौ जुगे देव सरका दाइने हुन् ।” र मलाई सपनाका बुढाको अनुहार पनि याद छैन । सपनामा म केही नबोली भिडबाट बाहिर निस्कन्थे र सरासर अगाडि बढ्थे मेरा पछि-पछि केही मान्छे हुन्थे । उनीहरू पनि चुपचाप मेरा पछि-पछि लाग्थे । आजको फरक यत्ति हो कि मैले ती मान्छेहरूसँग केही बेर कुरा गरेको थिएँ ।
ठिक बिपनामा झैँ मेरो सपनामा पनि बन्दै गरेका छाप्रा मेरा आँखामा पर्थे । खेलिरहेका नानीहरू, अलिकति उठेको पाहाड पर्थे । वारिपारि तल पाखातिर बसिरहेका बस्ती पर्थे । अनुहार चिसो र धुलाले फुटेका मान्छेहरू पर्थे । खुल्ला आकाशमुनि पढिरहेका देशका भविष्यका कर्णधार पर्थे । टिनले बनाएको लामो स्कुल पर्थ्यो । मैले सम्झिनै बिर्सेछु सपनामा त्यसपछि के हुन्थ्यो ? सपना आफैँ सकिन्थो कि । म बिउझिन्थेँ कि ? मलाई यतिसम्म सम्झना छ म लामै समयसम्म त्यस ठाउँमा बन्दै गरेको ढुङ्गाको घर हेरिरहेको हुन्थेँ । जसरी आज हेरेको थिएँ । सपनामा जस्तै आज पनि ढुङ्गाको घर बनाउने मान्छे ठिक सपनामा जसरी नै काम गरिरहेका हुन्थे । त्यस बेला लाग्यो मलाई अस्थायी ठाउँमा स्थायी घर बन्दै छ । जस्तो कि अस्थायी मान्छे स्थायी कर्मचारी बन्। र एउटा वर्ग निमार्ण हुन्छ । सुगरखालका मान्छेले भन्न थालिसकेका छन्-” बान्ने घर वालो “।
मलाई कहिल्यै लागेन म यसरी कुनै ठाउँ आउला र ती सपनाका दृश्य दोहरिएलान् भन्ने तर सब सपना साकार भयो । मैले अघि नै भनिसकेको छु । यसरी यो लगाएर दुइटा सपना साकार भएका छन् ।
अर्को सपना छोटो छ । सपना यस प्रकारको छ । (एकछिन है यो कुरा पनि तपाईँलाई पत्त्याउने छुट र नपत्त्याउन छुट पनि छ ।)
अर्को सपनामा म दगुर्दै जान्थेँ र दुईओटा बससँगै रोकिएका हुन्थे र ती दुईबिचको खाली ठाउँमा उभिएर रोइरहेको हुन्थेँ । आँसु एक नासले बगिरहेका हुन्थे । मेरो आवाज बाहिर न आओस् भनेर म मुखमा रुमाल कोच्थेँ । त्यसपछि के हुन्थ्यो मलाई सम्झना छैन । म मुखमा रुमाल कोचेर रुँदारुँदै सपना सकिन्थ्यो कि म बिउँझिन्थे ? अहिले बिर्सेँ ।
यो सपना साकार नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा भयो । त्यस दिनभन्दा केही पहिले के भएको थियो भने मैले प्रेममा धोका पाएको थिएँ । धोकाभन्दा पनि मैले म पूर्णतया प्रयोग भएको जानकारी पाएको थिएँ । धोकाभन्दा प्रयोग भएको जानकारी हुँदा बढी पीडा हुँदो रहेछ । मेरो त्यस बेलाको हालत कल्पना गर्नुस् है तपाईँसँग कसैको दिनु छैन । कसैबाट लिनु छैन । कसैसँग प्रतिस्पर्धा छैन । कसैमाथि रिस छैन । मात्र प्रेम छ । मानिलिनुस् प्रेम तपाईँ छोरो हुन सक्छ, छोरी हुन सक्छ, श्रीमान् हुन सक्छ, श्रीमती हुन सक्छ, असल भनिएको साथी हुन सक्छ । उसैले तपाईँलाई प्रयोग गरिसकेपछि ऊ आफ्नो बाटो लागे कस्तो हुन्छ कल्पना गरिसक्नुभयो ? हो म ठिक त्यही हालतमा थिएँ ।
वसन्त ऋतुमा म शिशिर भएर काठमाडौँदेखि कैलाली फर्केको थिएँ । मेहदी हसनबाहेक अरू कसैका कुरा सुन्थिनँ तर मेहदी हसन मेरा कुरा सुन्थेनन् । उनी बिच -बिचमा कुनै बन्द शब्द कुनै रागको कुरा गरिरहन्थे फेरि गजल सुनाउँथे । म सुन्थेँ ।
एक साँझ तारा गन्दै । मेहदी हसन सुन्दै थिएँ । आमा चिच्याउनुभयो – “जातै परी मनोजकन क्या पो भयो ?”
– “किन के भयो र ?” मैले आफैँलाई सम्झे मलाई जस्तो भएको होला र ?
– “छाती धड्किएको छ अरे रोकिन्नै नाइँ अरे ।”
छाती धड्किनु मेरो पर्थो उसको धड्किरहेको थियो हतार-हतार गएँ । उसको हालत देखेर मैले मेरो हालत बिर्सिए । ऊ, म र आन्टी एम्बुलेन्सको पछाडि थियौँ । एम्बुलेन्सको गति, मनोजको छाती र मेरो दिमागको गति एउटै थियो ।
डाक्टर देवेन्द्र आचार्यको त्यस बेलाको सहयोग सम्झन्छु । उनले मध्यराति पनि दिउँसो गर्न सकिने बराबरको सहयोग सम्झन्छु । भाइको छाती धड्कन कम भैसकेको थियो । ऊ नर्मल अवस्थामा आइसकेको थियो । म उसलाई हेर्दाहेर्दै एबनर्मल हुन थालेँ । झिसमिसे उज्यालो भएको थियो म बाहिर निस्केँ । मेडिकल कलेजको होस्टेल जाने बाटाछेउमा दुइटा बस रोकिएका थिए । म एक्कासि दगुर्न थालेँ । म चाँडै ती दुई बसबिचको खाली ठाउँभित्र पुगेँ एउटा बसमा अढेस लागेँ । आँखाबाट आँसु एकनासले झरिरहे । मुखबाट आवाजको मात्रा बढ्दै गैरहेको थियो । बसमा अडेस लागेरै गोजी छामछुम पारे । म रुमाल खोजिरहेको थिएँ । मैले रुमाल भेटिन रुवाइको स्वर बढ्दै गैरहेको थियो र अन्त्यमा मैले मेरो दायाँ हातको बुढी औलाको फेदतिरको भाग मुखमा हालेर रोइरहे । दातले गर्दा हात दुख्न थालिसकेको थियो तर आँसु बगिरहेकै थिए ।
सपनामा म किन रोइरहन्थेँ, मैले त्यस दिन थाहा पाएको थिएँ र अचेल लाग्छ म प्रेमको नाममा अब चाहिँ प्रयोग भएर रुन पर्दैन ।
मसँगै हिडिरहेका बुढालाई मैले सोधेँ- “बा सुइना साँचा हुन्छन् कि नाइँ ?”
उनले मलाई हेरे । उनको अनुहार रातो भयो । मानौँ उनको कुनै सुइना साँचो भएको छ । बिस्तारै भने -”ब्यान तारो आइसक्या पछिका सुइना साँचा हुन्छन् भन्नाछन् सर । म केही राउनैन ।”
मैले मुस्कुराउँदै सोधे -”हजुरले आज बिहान सुइना देख्नुभयो कि नाइँ ?”
उनी केही बोलेनन् ।
फेरि मैले सोधेँ – “यी रुख यसरी कसले ढाले र आगो किन लगाए ?” सायद मबाट त्यस्तो प्रश्न आउन सक्छ कसैले सोचेको थिएन र आयो ।
त्यहाँ भएका सब मान्छे एकअर्कालाई हेर्न थाले । म केही नबोली सरासर गएर एक छाप्राबाहिर राखिएको खाटमा गएर बसेँ । खाट पनि हरियो काठले बनेको थियो ।
बिस्तारै-बिस्तारै मान्छेहरू आएर मेरा वरिपरि बस्न थाले । मैले मेरो निधारमा टीका लगाइदिने बालाई सोधेँ – “बा हाट जानुभयो कि नाइँ ?” बुढाले हाटको कहानी सुनाउन थाले । बाँकी सब सुन्न थाल्यौँ । बुढा भनिरहेका थिए-
“हाट सम्झिनु भनेको दहीमान्छे हुनु हो । दहीमान्छे हुनु भनेको अहिलेको समयमा फ्रेसर हुनु हो । हाटसँगै ऱ्यागिङ खेप्नु हो । पहिलोचोटि हाट जानेको डोकामा घरबाट सातुसामल राखिदिन्थे तर जब खाना खाने बेला हुन्थ्यो । डोकामा सातु सामलमाथि ढुङ्गा हुन्थे ।
दहीमान्छे चकित पर्थे । कहाँबाट आए ढुङ्गा ? साथकाले उसलाई अगाडि हिँड् पछाडि हिँडिस् भने छुट्छस् भन्थे र ऊ अगाडि हिँड्न थाल्यो भने उसको डोकामा ढुङ्गा छोडिदिन्थे ।
दहीमान्छेले साँझबिहान अनिवार्य नुहाउनैपर्थ्यो । ननुहाए जुनसुकै बेला ऊमाथि पानीको हमला हुन सक्थ्यो । उसका लुगा भिज्न सक्थे डर बाँकी नै रहन्थ्यो त्यसैले त्यो चिसो मौसममा उसले कर्णालीमा डुबुल्की मारेर आफू हाटका लागि योग्य छु भनेर देखाउनुपर्थ्यो । डुबुल्की मार्दाको सर्त हुन्थ्यो – “जिउमा एउटा पनि लुगा हुनुहुँदैन । सँगै हाट हिडेका बा, काका, दाइ जो भए पनि यही नियम लागु हुन्थ्यो । मानौँ कि महाभारतअगाडि गान्धारी दुर्योधनलाई नाङ्गै हेर्न चाहन्छिन र परिणत गर्न चाहन्छिन् आफ्नो सन्तानलाई फलाममा । जुन छोरो नाङ्गो भएर पस्यो कर्णालीमा त्यो बाच्यो । जसले दुर्योधनझैँ लाज मानेर लँगौटी लगाएर पस्यो त्यो छोरो बाहिर निस्किँदा बालुकाको गधाजसरी उसका तिघ्रामा गएर बज्रिन्थे र दहीमान्छे दुर्योधनझैँ लुक्न पुग्थ्यो कर्णालीमा । फेरि उहीँ फेरि उहीँ । अन्त्यमा नाङ्गो भएर निस्किथ्यो कर्णालीको चिसो पानीबाट । अनि सुरु हुन्थ्यो उनीहरूको *जीको सम्मानमा केही भजनहरू
एक पुतली दुई पुतली पुतली पुतली
दहीमान्छेको ………………. मुतली
माथि भन्थानका घण्ट बजे घनन
दहीमान्छेको ……………..ठनन ।
( बुढाले यी गीत भनिरहँदा, हामीभन्दा पर बसेकी आइमाईतिर मेरो नजर गएको थियो । उनीहरू आफ्नै कुरामा मस्त थिए । )
जब दहीमान्छे चिसापानी पुग्थे । देउकीलाई साँची राखेर उनीहरू नारिन्थे जुवामा र कुनै पुरानो हटारु हली बन्थ्यो र सोध्यो -” कहाँ जानै बहड ?”
दहीमान्छेले उत्तर दिनुपर्थ्यो -” बाहन जि बाहन ।” त्यसपछि दहीमान्छे दहीमान्छे रहन्थेन । उसले सब चरण पार गरेर आफूलाई हटारुमा परिणत गरिसकेको मानिन्थ्यो ।”
बुढालाई मैले बिचमा रोक्दै, त्यस्तो प्रश्न कसरी गरेँ ?
के मलाई बुढाको राजापुर खेपेको हाटले सोध्न लगाएको थियो ?
कि थियो दहीमान्छेका कथाले ?
कि थियो उनले भनेको – “ए सर अहिले त प्रीति बाइगो गाड ( प्रेम खोलामा गैसक्यो ) । प्रीति हाम्रा जमानाउनी (जमाना ) हुन्थ्यो ब । मध्यरात काछौ ( कहाँ छौ ) मेरी सुवा ( सुगा) भन्नाइ ( भन्दै ) कर्णाली तत्दा छियौ ( तर्थ्यौ ) । अहिले त प्रीति क्या हुन्या छियो । हलो (ह्यालो ) भन्यो भेटन आइजा भन्यो । खुइइ बाइगए ( तुरुन्तै भेट भैहाल्छ ) । अचेल मान्छेका घरबार यति किन बिग्डिना (बिग्रिरहेका ) छन् ? दुनियाँको आखो लागीकन ( नजर लागेर ) हो । हाम्रा पालामा त दुई छोराछोरी भइसक्ता छिए र पन ( हुँदा पनि ) मान्छ्या अगाडि बोल्लाइनौ छियौ । अ… आजका त ।” कि उनको यो परिभाषाले मलाई सोध्न लगाएको थियो ? खैर मैले सोधेको थिए, – “बा तपाईँको जीवनको अलिकति अनुभव मलाई दिन मिल्छ ?”
बुढाले मैले भनेको बुझेछन् । उनले केही बोलेनन् । म खिसिँदै मुस्कुराए ।
कुरै कुरामा एउटी आइमाईको आवाज कानमा पऱ्यो – “यहाँ आएदै रक्सी पाड्न । बेच्न केही पाइनैन ।”
बुढाले सही थपे – “यहाँ आएदै एक थोक त्यै त निको भया छ ।”
मैले सोधे – “किन र बा यहाँ आएदेखि कोही रक्सी खान्न र ?”
उनले उही शान्त स्वरमा भने – “नाइँ सर, जति ठुला मान्छे आए पन या खान पाइनैन । आजकाल झगडा, लफडा सबै बन्द भया ।” बाडीपहिराले मान्छेलाई गाउँ मात्र छोड्न लगाएको रहेनछ, रक्सी पनि छोड्न लगाएको रहेछ । यो शुभ सङ्केत नै मान्छु म तर आज सरलाई त खुवाउनुपड्यो भन्ने एक सुझावले हाटका कथालाई बिस्थापित गराइदियो ।
गाउँ दुई हिस्सामा विभाजित भयो ।
पुरुषहरूको तर्क थियो । आज सरहरूलाई खुवाइदिऊँ भोलिबाट बन्द अनि आइमाईहरूको तर्क थियो -”मासु, फाडो भात खुवाए पनि त हुन्छ । दारुमा के राख्या छ र ?”
अन्तिममा आएर रक्सी नखुवाने निर्णयमा गाउँ पुग्यो । तर ……
यत्तिकैमा मेरो मोबाइल बज्यो । बुढा चुप भए । फोन उठाए मेरी अहिलेकी प्रेमिकाको थियो ।
फोन उठानसाथ मैले भन्न सुरु गरिहाले – “म यस्तो ठाउँमा छु जहाँबाट वारिपारि सब देखिन्छ । थाहा छ हजुरलाई मैले के देखेँ ?” मैले एक्कासि मेरो सपना सम्झेँ । अब सपना पनि के भन्नु । मैले मेरो बिपना सम्झेँ । म केही बोल्न सकिनँ । किन त्यस्तो भयो ? त्यो कुरा त मैले झन् सुनाउनुपर्ने थियो । किन सुनाइन र कसैलाई पनि सुनाऊँ लागिरहेको छैन । मभित्र के भएको थियो, त्यो कुराको वास्था हुँदाहुँदै पनि किन बेवास्ता गरिरहेको थिएँ ? एक हिसाबले भन्ने हो भने माथिको उखान शतप्रतिशत लागु भएको थियो । अरू बेला यस्तो हुँदैन म मुखले मात्र वास्ता छैन भन्छु । मनले उसैको वास्ता गर्छु ।
यही धाराको पानी खाएर जब म टुक्रुक्क बसेको थिँए मैले त्यो पुसको घाम सम्झेको थिएँ । आमाभन्दा पनि प्यारो थियो, त्यो घाम । हस्तकलालाई आफ्नो प्रेम प्यारो थियो । उसलाई घामको खासै वास्ता थिएन ।
ऊ बोलिरहेकी थिई – “गलि गलि भन्नू नाइँ सर । …… यी भाइ मैले तैकन किन मन पाड्या हुँ ।… म राड पन ।” ( अनुरोध गर्नु छैन । मैले त्यसलाई किन मन पराएँ होला । म राण पनि ।)
मलाई भन्न मन थियो हस्तकला मिस । म तपाईँभन्दा बढी प्रेममा थिएँ । मैले त गलि गलि नछोड पनि भनेको । मैले के भनेको थिइन र ? – “तेरा लुगा मै धोउँला । खाना मै पकाउँला । घाँस मै काटुँला ।”
मैले भन्न बाँकी के राखेको थिए र ? तर उसले यत्ति मात्र भनी – “डिभी परेपछि यस्ता केटाहरू कति आउँछन्, आउँछन् । म त चिन्दिनँ ।” केटीको यस्तो कुरा सुनेपछि लमी बन्न हिँडेका अङ्कलले मेरो अनुहारमा यसरी हेरेकी सायद अनुहार निलो भएको थियो । त्यसपछि घर नगैई काठमाडौँको गाडी समातेको थिए ।
हस्तकला मिस फेरि बोल्न थालेकी थिइन् – “सर यी तराईका काम गर्ने सप्पै मान्छे मेरा हुन् लाग्दो ?”
मैले हस्तकला मिसका आँखामा हेरेँ । उनले मेरा आँखामा हेर्दै भनेकी थिइन् – “आजकाल यिनीहरूलाई कल्लै(कसैले) देशी भन्यो भने भैरी ( खुब) रिस उठ्ठो छ । उल्लाई ( उसैलाई ) भन्या जस्तो लाग्दो भन्नु र । तेलाई पन भन्ना छिया बजारौना मापराडी । भन्या सुने भन्या मुख च्यात्दिऊँ लाग्दो ।”
त्या बेला मलाई लागेको थियो विभेद प्रेमले हटाउन सक्छ । एक पहाडिया केटी, एक मधेसी केटासँगको आफ्नो प्रेम सुनाइरहेकी थिई । त्यो पनि आफूभन्दा दुई पोस्ट माथिको कर्मचारीलाई । त्यसो भन्दा पनि, ऊ आफूभन्दा अगाडिको एक असफल प्रेमीलाई आफ्नो असफल प्रेम सुनाइरहेकी थिई । मैले त्यसरी घरको छतमा बसेर हस्तकला मिसको प्रेमकाहानी प्रोटोकलअनुसार सुन्न नहुने हो तर सुनेँ । किनकि प्रोटकलअनुसार मैले उहाँको बदनामी पनि त सुन्नु हुन्थेन तर सुनेको थिएँ ।
“पहिला गोरो छाला भएका खुब मन पड्डा छिया । अचेल कालो छाला भया मान्छे देख्यो कि बैरी माया लाग्दैन । थाहा छ सर ऊ त्यै (उहाँले एक कामदारलाई देखाउँदै) काम गर्नेलाई डेली म एउटा चाउचाउ ल्याएर दिन्छु । तैका आँखा उईका (उसैका) आँखा जस्साई (जस्ता) छन् ।”
मैले हाँस्दै भनेको थिए – “त्यो सोचिरा होला तपाईँ त्यसलाई मन पराउनुहुन्छ भनेर ।” हस्तकला मिसले मेरो अनुहार तिर हेर्नुभयो र त मेरा ओठको हाँसो उहाँको ओठमा पनि सऱ्यो ।
फेरि उदास अनुहार लगाएर भन्नुभयो -”ज्या प सोचौँ, धन्न मेरा दशा, मायाँ त त्यो पनि गर्छु भन्नो छ । पच्चीस लाख दाइजो माग्यो । म बेचिए पन पच्चीस लाख आउने नाई भन्नू । आजकाल बुवा आमा छोड्न सक्तैन भन्नोछ । *ण्डीको छोरो ।”
के मेरी साबिककी प्रेमिका मलाई माया गर्छु भन्थिन् र ? सब भन्थी, उसलाई डिभी पर्नासाथ भन्न छोडेकी होइन । ऊ त भनिरहेकी थिई । भनिरहेको कुरा सत्य हैन भनेर थाहा पाउन वैशाख तीन नै कुर्नुपऱ्यो । धन्न मेरा दशा ।
“सर तराईमा जहाँ पनि दाइजो माग्छन् हो ? रातभरि सुत्तैन भाइ सर । लहर लाग्दा भन्नू । उई रुनो, उई फोन हद्दो भन्नू । मन क्या हरि भलो होला है । ऐइ म पनि का गैइ फस्या ।”
मन भलो हुन पनि कम टाइम लागेको हो र ? मध्यराति फेवातालको बिचमा बसेर दुई बोत्तल बियर कसरी पिएको थिएँ ? मेरो त्यो हालत हेरिरहेका त्रुपकका दुई आँखा थिए । पैतला उपन्यासको त्रुपक हैन । मेरो साथी त्रुपक । मध्यरातमा उसलाई सुत्नु थियो होला । मलाई निद नै आउँथेन र त्रुपक एक त्यस्तो व्यक्ति हो जसका दुई आँखाले मेरो टुट्दै गरेको पुरानो प्रेम र मेरो उम्रँदै गरेको नयाँ प्रेम एकैसाथ देखेको हो । जस्तो कि उसले वसन्तमा पात झर्दै गरेको र टुसाउँदै गरेको पात एकैसाथ देखेको हो तर उसले यो कुरा वास्ता गर्यो होला कि नाइँ ?
हस्तकला मिस गाह्रो अवस्थामा थिइन् । प्रेमले गर्दा आफ्नो प्रेमीबाट टाढा हुन सकिरहेकी थिइनन् भने पच्चीस लाख दाइजोका कारण उसको नजिक हुन सकिरहेकी थिइनन् । प्रेमको मूल्य पच्चीस लाख तोकेको थियो उनको मान्छेले । मनको मान्छेलाई बिर्सिन त्यति सजिलो छैन पनि ।
भनिन्छ फोटो हेर्नुहुन्न, भुल्ने कोसिस गर्नु हुन्न । अनि मात्र बिर्सिनेलाई बिर्सिन सकिन्छ ।
तर हस्तकाला मिस पटक-पटक आफ्नो मोबाइलमा रहेका उसको फोटो हेरिरहन्छिन् र उसलाई भुल्ने कोसिस गर्दै छिन् । यसरी कसरी हुन्छ, हस्तकला मिस ?
“नेपालगन्ज देखि बर्फी ल्याइदिनो ( ल्याउथ्यो ) म त मायाँ हद्दो छ ( गर्छ ) सोच्तो ( सोच्थेँ ) ।
क्या मायाँ हर्ने छियो ( गर्थ्यो ) देशी, पैसाउनो त पड्या भैगो ।” – यति भन्दै हस्तकला मिस मौन रहिन् ।
प्रेममा जब मौनताको क्षण आउँछ त्यस बेला नै मान्छेसँग अनगिन्ती प्रश्न हुन्छन् । म त्यही मैनतालाई बोकेर सिन्धुपाल्चोक हिँडेको थिएँ । त्यो मौनता बहुत भारी थियो मेरा लागि ।
” हस्तकला मिस यो झोला कहाँबाट पाउनुभयो ?” भन्ने सानो प्रश्नमा हस्तकला मिसले लामो उत्तर थियो -” रुप्सा देई बैनिले पठाइदियै हो । त्यैइ बिचारीकन पन कम्ती भएन दुःख । ब्या हरेई छिई । बाल बिबाह भनी सबै मिली ब्या छुटाइदिए । पुग्न त सत्र वर्षै पुग्याकी छिई । ढेल (हिप) दमाहाजत्रा छिया, छाती कदुजत्रा छिया । जत्काल ( गर्भवती ) बसी भन्या एकैपल्ट दुई निकाल्ने जसी छ । बाल विवाहको मुद्दा बनाएर बिचरीको घर उजाडिदिए । पढ भनी झोला दियो हऱ्या । एक यै नेपालका केटा छन ब्या हरूँला भनी लब पाडी छोडी जाने । त्यौनाई यी सँस्था आया बस्या घरबार उजाडिदिने । धन्न तैका दसा । केटो कस्तो राम्डो छियो रौतला ज । क्या हरौ बिचरी अब । केटी बिग्डिने यसरी हुन् सर । अब त्यो पन बिग्डिनी भैई । अब भन्नू पोइ चाहियो र ब्या हऱ्यै हो ।” सायद योभन्दा अगाडि बोलेँ भने *जीमाथि नै कुरा हुने सोचेर होला हस्तकला मिस चुप लाग्नुभएको थियो ।
( कथा बल्ल सुरु भएको छ । पात्रहरूसँग तपाईँको परिचय भयो होला । )
– एमपी केयरलेस ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।