नाइँ हुँदैन के!
उनको यो विरोधपूर्ण वचनले ले पक्कै पनि मेरो सोचलाई केही ठोस पुऱ्याएको थियो । उनीसँग कुरा गर्दा उनका हरेक शब्दहरूमा म मोहित थिएँ । उनको सामीप्यमा कहिले खान बिर्सिन्थेँ त कहिले नसुती बिहान हुन्थ्यो पत्तै पाउँदैनथेँ । म उनीभित्र आफूलाई खोजिरहेको थिए । सायद गलत ठाउँमा आफूलाई खोजेर होला कहिले भेट्न सकिनँ । उनी, सन्ध्या; मेरो मुटुको टुक्रा ।
खै किन!
सर्वप्रथम फेसबुकमा देख्नेबित्तिकै,
उनको तस्बिरले नै मेरो मनमा हलचल ल्यायो । पहिलोपटक कोही अन्जानलाई फ्रेन्डसिपको प्रस्ताव पठाउँन मन लाग्यो । उनी छिमेकी गाउँकै भए पनि हाम्रो कहिल्यै भेट भएको थिएन यस कारण चिनजान गर्न पनि गाह्रै पऱ्यो । फ्रेन्डरिक्वेस्ट पठाएको दश दिनसम्म पनि एसेप्ट नहुँदा विचलित नै भएको थिए । आखिर जून “२५” मेरो जन्मदिन”, उपहारस्वरूप उनले साथी बन्ने अनुरोध स्वीकार गरिन् । साथीहरूले आफ्ना प्रेमसम्बन्धका कहानी सुनाउँदा मलाई खल्लो लाग्थ्यो । म कहिले भेट्छु आफ्नो प्रेमलाई? अक्सर यही प्रश्न मनमा आइरहन्थ्यो । कतै एक्लै भएको आभास हुन्थ्यो । मनले कसैलाई खोजिरहेको थियो, आज पाएजस्तो आभास हुन लागेको थियो । प्रेमकहानीले भरिपूर्ण चलचित्रहरू असाध्यै मन पर्छ । साउथ इन्डियन चलचित्र डियर कम्रेडका हरेक घटनामा म आफूलाई उहीँ बोबीको ठाउँमा राखेर हेरेको थिए । कथाहरू पढ्दा म आफूलाई पूरै त्यही विषयवस्तुभित्र डुबेको अनुभूति हुन्छ । शाब्दिक रूपमाकापीका पानाहरूमा मेरा भावना जति यथेष्ट रूपमा उत्रिन्छन् मौखिक रूपमा दश प्रतिशत पनि उत्रिन सक्दैनन् । यसैले होला बोलीले भन्दा कलमले घटनाको व्याख्या गर्न सजिलो हुन्छ । भनिन्छ, “जब आवाजहरू दबिन्छन् या कसैले सुन्दैनन् तब कलम बोल्न थाल्छ र कलमले बोलेका आवाज बुलन्द हुन्छन् ।” र त मेरो मनभित्र गुम्सिएर बसेका तिम्रा यादहरूलाई यहाँ प्रस्फुटन गर्दै छु ।
केटीहरूसँग बोल्न हिचकिचाउने म, उनीसँग बोल्न लागेपछि अलि सजिलो महसुस हुन लागेको थियो । यसै त म खुलेर बोल्दिन, अझै केटीहरूको कुरा लुकाउने बानी । हामी दुवैको एउटै बानीले गर्दा कुराकानी फरक ढङ्गको हुन्थ्यो । समय बित्दै गयो कुराकानी लम्बिँदै गए ।
कहिले “हेल्लो” हुन नपाउँदै सकिने हाम्रा शब्दहरू कहिले भविष्य चिन्तनमा गएर पनि समाप्त हुँदैन थिए । कुराकानी मरुभूमि जस्तो भए पनि उनलाई आफ्नो जीवनको मैदानमा पलाउँदै गरेको दुबोसरहमान्न लागेको थिए । हाम्रो यो सम्बन्धलाई तिमीले कसरी लिइरहेकी छ्यौ मलाई थाहा छैन तर म तिमीलाई आफ्नो सपना, भविष्यमान्न लागिसकेको छु ।कोरोना कहरले निम्त्याएका विभिन्न समस्याहरू पनि उनीसँगको संवादमा चटक्कै बिर्सिदिन्थेँ ।
यस्तै गरी समय बित्दै गयो । उनीसँग नबोली नहुने एउटा यस्तो बानी बसिसकेको थियो । उदार हुँदै गएको हाम्रो कुराकानीको फलस्वरूप मेरो मनमा एउटा प्रेमनामक वृक्षको मुना पलाउन लाग्यो । हतार थिएन मलाई, त्यो मुनाको वृद्धिका लागि बिस्तारै मलजल गर्दै थिए ।
उनको मनमा मेरा लागि कस्तो विचार छ जान्ने इच्छा जाग्दै थियो । आफूलाई सम्हालेर उनीसँग सा मान्य रूपमा कुराकानी गर्दै गए । सायद यहाँ पनि गल्ती भयो कि! मेरो । आफूलाई राम्रोसँग बुझ्न सकेको छैन, म उनलाई बुझ्न निस्किएको थिएँ । नहुने बिरुवाको खस्रो पात भनेझैँ हाम्रो संवादमा सुरुदेखि नै केही कमी महसुस भइरहन्थ्यो । अरूले जस्तो झट मग्नी चट बिहे गर्नु थिएन मलाई । म कल्पनामा डुबिरहेको रहेछु । वास्तविक जीवनमा त्यो असम्भव रहेछ सायद ।
उनको तस्बिर मेरो, “मोबाइलको वालपेपर”मा बसिसकेको थियो । अरू कसैले देख्छन् कि भनेर मोबाइल सधैँ सम्हालेर राख्थेँ ।
उनको मनभित्र आफ्ना लागि स्थान बनाउन चाहन्थेँ । मेरो मनभित्र उनका लागि एउटा कुनामा घर बनाइसकेको थिएँ । मैले कल्पना गरेका कुराहरू त मात्र चलचित्रमा सम्भव रहेछन् ।
हिरो जहाँ भए पनि उही हिरोइनसँग नै मायाँ बस्छ । यो त रियल जिन्दगी हो । यहाँ आफ्नो कथा आफैँ लेख्नुपर्छ । विधाताले नै लेखेको भए पनि सायद मेरो जीवनको कथामा तिमी अटाउन सकिनौ क्यारे!
हामी एकअर्कासँग त्यति खुल्न सकेनौँ जति खुल्नुपर्थ्यो । जस कारण हाम्रो वार्तालापमा शब्दहरूको अभाव प्रस्टै अनुभूति पनि हुन्थ्यो ।
उनका हरेक शब्द मेरा लागि प्यारा थिए । उनको रिप्लाईलाई नै मायाँ सम्झिन्थेँ ।
उनी अनलाइन नआउन्जेल प्रतीक्षा गरिरहन्थेँ । तिम्रो प्रतीक्षामा मेरो अमूल्य समय खेर गएको पत्तै पाइनँ । यो केही गर्ने अथवा भविष्यका लागि पूर्यतयारी गर्ने उमेर हो तर म तिमीमा नै आफ्नो भविष्य देख्दै थिएँ । म ज्योतिष भएको भए सायद आउने समयका बारेमा जानकार हुन्थेँ होला अनि यसरी समय नष्ट पनि गर्दैनथेँ होला ।
एकदिन कुरैकुरामा सोधिहालेँ तिम्रोकोही ब्वाइफ्रेन्ड छ कि नाइँ भनेर?
अहिले सम्झिँदा अचम्म लाग्छ, मैले नौ-दश महिनासम्म सोधेको थिइनँ त्यो कुरा ।
बल्ल-बल्ल हिम्मत आयो ।
उनको परिवारमा प्रेमविवाह स्वीकार्य नभएको कुरा बताइन् तर पनि आशा मरेको थिएन ।
नाइँ, किन र?
उनको प्रश्नमाथिको उत्तर सोचिसकेको थिएँ,
म पनि सिङ्गल नै हो नि !
ए, हो र?
यस्तो ह्यान्डसम पनि सिङ्गल रे नपत्याउने कुरा ।
उनको यो कुराले मलाई झन् हिम्मत दियो,
यो अभागीलाई कसैले पत्याएनन्, सबैले राम्रो छौ मात्र भन्छन् !
हाँसेको इमोजी पठाउँदै जबाफ दिएँ तर म भावुक भैसकेको थिएँ सायद । अक्सर जिन्दगीका केही महत्त्वपूर्ण घटनाहरूमा मात्र म भावुक हुन्छु, चिन्तन गर्छु अनि हल निकाल्छु । तिमी पनि मेरा लागि महत्त्वपूर्ण थियौ । चिन्तन कम भयो कि मायाँ थाहा छैन तर आजसम्म पनि मैले तिम्रो हल निकाल्न सकिनँ ।
खै होला ,
उनको यो जबाफका लागि के शब्द टक्र्याऊँ ?
तिमीले पत्याउँछ्यौ कि मलाई !
प्रत्युत्तर दिएँ ।
के पत्याउनुपऱ्यो र?
उनको यो प्रश्नमा मौका खोजिरहेको थिएँ ।
हिम्मत गर्दै लेखेँ,
तिमी मेरी गर्लफ्रेन्ड बन न त ।
ओहो गफाडी !
उनको यो जबाफको पनि अर्थ मेरो शब्दकोशमा भेटिएन ।
मनमा दबाएर राखेका शब्दरूपी भावना उतार्न लागे ।
तिमीसँग कति बेला मायाँ बस्यो पत्तै भएन । सपनाबिपना जताततै तिमीलाई नै देख्न लागेको छु आजकाल ।
तिम्रो फोटो नहेरी न निद्रा लाग्छ न खान मन लाग्छ । मलाई तिमी चाहिएको छ मात्र तिमी । म झुटो आशा देखाउन चाहन्नँ । न त म जूनतारा टिपी ल्याउने वाचा गर्न सक्छु न त जिन्दगीभरि खुसी राख्छु भनेर कसम खान सक्छु । जिन्दगी हो कहिले खुसी त कहिले दुःख भइरहन्छ । तिम्रो खुसीमा मात्र हैन दुःखमा पनि तिम्रो समीपमा रहेर हरेक पल साटासाट गर्न चाहान्छु । हरपल तिमीसँग जीवन बिताउन चाहन्छु । मलाई आशा छ तिमीले मेरो कुरा बुझ्नेछ्यौ । एकपटक त्यो मुटुको कुनाभित्र मलाई राखी हेर न प्यारी । आइ लभ यु ।
स्वच्छ र सत्य रूपमा आफ्नो प्रेमको बिरुवालाई सँगै मलजल गर्ने प्रस्ताव टक्र्याएँ ।
उनलाई मान्य भएन । किन मान्य भएन भनेर सोध्ने मौका पनि नपाउदा भित्रभित्रै प्रेमको कलिलो वृक्ष एकाएक ज्वालाझैँ दन्किएर हृदयलाई जलाउन लागेको थियो ।
नाइँ हुँदैन के!
चाहेको सबै पाइँदैन । उनको यतिमात्र जबाफ आयो ।
सोध्न मन थियो, किन?
कल गर्ने प्रयास गरेँ, ब्ल्क भइसकेको रहेछु ।
अन्तिमपटक भन्न मन थियो, ‘म तिम्रो प्रतीक्षा जिन्दगीभर गरिरहनेछु ।’ भन्न पाइन ।
उनको हृदयमा भावनारूपी मसी सकिएर होला शब्दहरूलाई पनि भित्रै कैदी बनाइन् ।
बाध्य त मेरा शब्दहरू पनि भएका थिए तर मेरा शब्दहरूलाई न त मसीको कमी थियो न त कोर्ने हातको । बस् कमी थियो त केवल उनको । एकोहोरो प्रेमकहानी त मैले खासै कतै पढेसुनेको छैन तर आज आफैँ भोगिरहँदा अन्तरात्मामा बादल बनेर बसेका प्रेमरूपी पानीका थोपाहरूलाई चाहँदाचाहँदै पनि बर्साउन सकिरहेको थिइनँ ।
त्यसपछिका दिनहरू बिताउन गाह्रो महसुस हुँदै थियो । मायाँ नामको रोगले थलिएको म उनलाई औषधिका रूपमा पाउन चाहन्थे । खै यो कस्तो मायाँ हो!
भनिन्छ मायाँ प्रेम एक समयको माग मात्र हो । यो भन्ने मान्छे या त प्रेमको अनुभूति नै गरेको छैन या नजानिँदो तरिकाले प्रेममा डुबेको छ र धोका पाएको छ । प्रेमको कुनै परिभाषा मसँग छैन । तर दुनियाँमा पनि प्रेमको केही भुमिकाचाहिँ पक्कै छ ।
फेसबुकबाट पलाएको मायाँ फेसबुकमै बिलाएर गयो । उनले सयौँपटक इन्कार गर्दा पनि मन उनलाईचनै खोजिरहन्थ्यो । करिब एक वर्षसम्मको संवादमा पनि मैले तिमीप्रतिको मायाँ बुझाउन सकिनँ या तिमीले बुझ्न चाहिनौ । मिलन हुन नपाउँदै बिछोडिँदाको पीडा यतिसम्म हुँदो रहेछ, यहाँ मिलनपछिको बिछोडलाई कति प्रेमीप्रेमिकाहरूले भोगेका छन् । उनीहरूलाई कस्तो हुन्छ होला?
बाहिर भन्न सजिलो हो एकोहोरो मायाँ मै मजा हुन्छ न मिलनको आशा न बिछोडको चिन्ता । मनभित्र के बितिरहेको हुन्छ यो मनले नै बुझ्न सक्छ । मैले मायाँलाई शब्दरूपी मैदानमा उतार्न सकिनँ या उतार्नका लागि शब्द नै थिएनन्?
यो प्रश्नले सताइरह्यो ।
घरी आफैँलाई प्रश्न गर्थेँ त घरी ती पुराना कुराकानी ले भरिएका म्यासेज बक्सका शब्दहरू नियाल्थेँ ।
तिमी मेरो पहिलो मायाँ,
तिमीसँगको सामीप्यले केही हदसम्म हिम्मत दिएको थियो, केही समयमै फुटेको सिसाजस्तै चकनाचुर हुन बाध्य भयो ।
यहाँ हिम्मत मात्र चकनाचुर भएको थिएन,
तिमीप्रतिको मायाँ, आशा अनि सामीप्य पनि चकनाचुर भएको थियो ।
सायद म नै मूर्ख हुँ कि!
कहिल्यै नदेखेको नभेटेको केटीसँग यसरी सामीप्य बढाउनु हुँदैन थियो कि । म्यासेन्जरमा भएका तितामिठा कुराकै भरमा मायाँचाहिँ कसरी बस्यो?
सँगैको साथीलाई यो कुरा सुनाउँदा खितिक्क हाँस्दै भनेको थियो, काला गए गोरा आउँछन् तँ चिन्ता नगर् । यदि केटीलाई इम्प्रेस गर्नु छ भने केही झुट पनि बोल्न सक्नुपर्छ ।
म केही बोलिनँ ।
सोच्न लागेँ, म झुट नबोलेकै कारण तिमी टाढा भयौँ कि!
मेरो सत्यता तिमीलाई किन स्वीकार्य भएन?
म झुट बोलेर तिमीलाई आफ्नो बनाउन चाहान्नथेँ तर सत्यको मार्गले मलाई पराजयतर्फ धकेलिदियो ।
कुनै साहित्यकारको प्रेमकहानीमा जस्तै, मेरा आखाबाट आँसु झर्दा तिम्रो गाउँमा पानी पर्छ कि पर्दैन थाहा छैन । म भावुक हुदा तिम्रो गाउँमा बादल छाउँछ कि भन्ने आशा पनि राख्दिनँ ।
घरी सोच्छु मेरा आफ्नै जिम्मेवारी छन् कसैको यादले मेरो घर चल्दैन तर जब तिम्रो तस्बिर देख्छु फेरि तिम्रै यादले सताउन थाल्छ ।
समय न हो हामीलाई कहाँ पर्खिन्छ र ।
आफ्नो गतिमा चलिरह्यो । उनको प्रतीक्षामा एक वर्ष बित्नै आटेछ । यसबिचमा लाखौँपटक उनको तस्बिर नियालेँ, हजारौँपटक पुराना म्यासेज पल्टाएँ अनि सयौँपटक सम्पर्क गर्ने प्रयास गरिरहेँ ।
बस उनको याद मुटुमा काँडा बनी बसिरह्यो ।
आखिर अतीतलाई बिर्सेर वर्तमानमा बाँच्नु नै त जीवन रहेछ नि । यही कुरा मनन गर्दै आफ्नो दैनिकी परिवर्तन गरिरहेको थिएँ तर मेरो फोनको वालपेपरमा भएको उनको फोटो कहिल्यै परिवर्तन भएन ।
वैशाखको महिना, फेसबुकका भित्ताहरू नवजोडीहरूका तस्बिरले रङ्गिँदै थिए । मेरो आत्मीय साथी रामे, उसले पनि आफूले बिहे गर्न लागेको कुरा सुनायो । त्यो पनि प्रेमविवाह ।
भर्खर युरोपबाट फर्किएको थियो । प्रेममा असफल भएर बसेको म । मन नै कटक्क बनायो उसको प्रेमविवाहले । बिहेमा आउन कर गरिरहेको थियो, विभिन्न बहाना बनाएर नआउने कुरा बताएँ ।
ओके जे भए पनि छिट्टै भेट्नुपर्छ भन्दै फोन काट्यो ।
केही दिनपछि उसका बिहेका तस्बिरहरूले फेसबुकका भित्ता रङ्गाउन लागे ।
यत्तिकै तिनै तस्बिरहरू हेर्ने इच्छा जाग्यो । सबै चिनजानकै मान्छेहरू थिए तर एउटा अन्जान अनुहार बेहुलीको । बेहुलीलाई कतै चिनेजस्तै लाग्यो । अन्य तस्बिरहरू नियालेँ । झसङ्ग भएँ म!
बिर्सिन लागेका यादहरू अगाडि आउन लागे ।
उही सन्ध्या, बेहुली बनेर उभिएकी थिइन् । मोबाइल फ्यात्त खाटमा फ्याकेँ ।
आत्मीय साथी रामे जोसँग मेरा जिन्दगीका सबै पानाहरू साटासाट भएका छन् । बस् एउटा पाना बाँकी थियो त्यो पनि जलेर खरानी भयो कहिल्यै नसाटिने गरी । “भाउजू भनूँ कि मायाँ”!
सन्ध्याका बारेमा ऊसँग कुरा गरेको थिइनँ । अब कहिले गर्दिनँ पनि । उसले पनि मसँग यो कुरा किन गोप्य राख्यो थाहा छैन । डियर सन्ध्या, अब तिमी मेरा लागि नौलो हौ । न मैले तिमीलाई चिन्नेछु न त पुराना यादहरूलाई ताजा बनाउने प्रयास गर्नेछु । बस् एउटा सपना सम्झेर बिर्सिने प्रयत्न गरिरहने छु । थाहा छैन अब हुने हाम्रो पहिलो भेटमा तिमीसामु कसरी आफूलाई प्रस्तुत गर्छु । आज बुबा सोध्दै हुनुहुन्थ्यो, दुई वर्ष हुन लाग्यो घर कहिले आउँछस् ?
कोरोना शान्त भएपछि आउँला नि, अहिले यात्रा गर्न असुरक्षित हुन्छ भन्दै सम्झाएको थिएँ ।
बुबालाई के थाहा, म घर नाआउनुको कारण कोरोना भन्दा पनि अरू केही छ । म तिमीलाई अर्कैको सिउँदो रङ्याएको अवस्थामा कसरी देख्न सक्छु?
मलाई आत्मीय साथीको मन पनि दुखाउनु छैन । “डियर सन्ध्या” तिमीलाई मेरो यादबाट पनि पर राख्न चाहन्छु ।
तिम्रो मुहारको हाँसो नै मेरो खुसीको कारण बन्नेछ ।
विभिन्न खयालहरूले मनलाई विचलित बनाइरहेका थिए ।
आज यो उमेरसम्म आइपुग्दा मभित्र केही परिवर्तन भए । मलाई आफ्ना गल्तीहरूको अनुभूति हुन लागेको छ । सायद तिमीलाई मेरो जीवनकथाको पात्र बनाउने प्रयास पक्कै पनि गलत बुझाइले नै भएको हो । आज थाहा भयो मैले तिमीलाई कत्ति पनि बुझ्न सकेको रहेनछु । यदि कुनै समयमा मेरो मुखबाट निस्केका वाणीहरूले चित्त दुखेको भए मलाई माफ गरिदेऊ । यो भन्दै गर्दा म तिमीलाई मायाँ गरेको थिइनँ र गर्दिनँ भन्ने हैन तर तिमीलाई म आफ्नो बनाउन सक्छु भन्ने कुराचाहिँ भ्रम रहेछ । तिम्रो अन्तरात्मामा पस्ने प्रयास नगरेको हैन तर तिम्रा वचनरूपी छेकाबारहरूले कहिल्यै पस्न दिएनन/ । आज आफूलाई सम्झाउने एउटा बाटो भेटेको छु । भनिन्छ पाउनु मात्र मायाँ हैन गुमाउनु पनि हो । हो मैले तिमीलाई गुमाए यसको पश्चात्ताप सधैँ रहिरहने छ । अर्कैको सिन्दूरले सिउदो रङ्ग्याएकी तिमीमाथि न त मेरो हक छ न त अधिकार । ‘रात गया बात गया’ भनेझैँ हाम्रो यो अधुरो सम्बन्धलाई नमिठो सपना सम्झेर बिर्सिने प्रयास गरिरहनेछु । मनैमनमा भए पनि उसलाई वैवाहिक जीवनको शुभकामना दिएँ ।
यति सुनाउँदै गर्दा हरिका आँखा रसिला भएका थिए । सुन्दासुन्दै कति बेला म पनि भावुक हुन पुगेछु । सके जति सम्झाउँदै सम्हालिन आग्रह गरेँ ।
साँझ खाना खाँदै गर्दा यही कहानीले मेरो मनलाई कता-कता पुनः भावुक हुन बाध्य बनायो । हरिले बोलेका हरेक शब्द उसको अन्तरात्माबाट निस्किएका थिए । म चुपचाप बस्नै सकिनँ ।
अनि डायरिमा उतार्न लागे । “एक अधुरो प्रेमकथा” ।
प्रयास जारी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।