साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अस्पताल

कथा

म अस्पतालमा थिएँ । अस्पतालमा हुने गतिविधि, कुराकानी नियाल्दै थिएँ । कोही उपचारमा भएका गल्तीका कुरा सुनाउँदै थिए । कोही अस्पतालमा बस्नुको दिग्दारी । कहिलेकाहीँ यहाँ झगडा पर्छ, कहिले चाँडै कुरा मिल्छ, कहिले लम्बिन्छ । फेरि कुरा सल्टाइन्छ र पूर्ववत् कामकुरा चलिरहन्छ ।
‘महँगो उपचार रहेछ । म त आत्तिएँ जेठा । उपचार नगरी पनि भएन । के गर्नु ?’ म बसेको छेउमा पुरानो लवेदा, सुरवाल, टोपी र मैलो इस्टकोट लगाएका वृद्ध गुनासो गर्दै थिए ।
‘डाक्टर अनुभवी छैनन् पिजी र विद्यार्थीले उपचार गरिदिन्छन् अनि कहाँ राम्रो उपचार हुन्छ ? लापरवाही भैहाल्छ नि!’ अर्काले थपे ।ुुु
यी कुरा सुन्दै गर्दा कोही भने सन्चो भएर फर्किरहेका थिए । तिनको अनुहार निकै हँसिलो देखिन्थ्यो । मनमा लागेको हुँदो हो अब कहिल्यै अस्पताल बस्न नपरोस् ।
प्रसूति कक्षको बाहिर भित्र ओहोरदोहोर गरिरहेकी थिएँ । मुनालाई भर्ना गरेकी थिएँ । मुना र मेरो माइती गुल्मी थियो । उनको घर दैलेखमा छ । मेरो भने कोहलपुर । गर्भवती भएपछि उनले दैलेखको सरकारी अस्पतालमा चेक जाँच गराएकी थिइन् । ‘नानी तिम्रो बच्चा उल्टो छ, गाह्रै हुन्छ होला !’ अन्तिम समयमा डाक्टर स्वेताको बोली सँगसँगै मुना निकै डराएकी थिइन् ।
‘दिदी मलाई अपरेसन गर्नुपर्छ भन्छन् डाक्टरहरु,’ केही दिनअघि मुनाले मलाई फोन गरेकी थिइन् ।
‘किन के भयो र ?’
‘बच्चाको हेड हाई छ रे!’
‘नडराऊ, केही हुँदैन । अपरेसन चाहिँ गर्नुपर्ने भयो ।’
‘अपरेसन ?’
‘बच्चा निकाल्ने अपरेसन कहाँ गाह्रो हुन्छ र ?’ मैले ढाडस दिँदै भनेकी थिएँ ।
‘मलाई त निकै डर लागिरहेको छ,’ उनको काँतर स्वर मैले फोनमा स्पष्ट अनुभव गरेकी थिएँ ।
‘बजारका महिलाहरु आजकल डेट आउनुअघि नै अपरेसन गरिहाल्छन् । व्यथा सहन त झनै गाहृो हुन्छ नि !’ मैले सम्झाउने प्रयास गरेँ ।
‘अपरेसन कहाँ गर्ने होला दिदी ? यतै गरुँ कि ?’ उनले सोधेकी थिइन् ।
‘अस्पताल र डाक्टर राम्रो हुनुपर्छ नि !’
‘खै दिदी, जिल्ला अस्पताल हो, के राम्रा डाक्टर होलान् र ?’
‘त्यसो भए यतै आऊ न त,’ उनको कुरा बुझेर मैले कोहलपुरतिरै बोलाएकी थिएँ ।
पहाडमा सुविधा सम्पन्न अस्पताल थिएनन् । उनका नजिकका अरु आफन्तहरु कोहलपुरमा थिएनन् । माइतीको कुकुर त प्यारो हुन्छ भनिन्छ, उनी त झन् मेरी छिमेकी बहिनी । त्यसैले उनलाई यतै बोलाएकी थिएँ ।
उनी एक्लै आइन् । लिएर आउने जस्तो घरमा आफन्त पनि कोही नभएरै होला सायद । अस्पतालमा एकल अभिभावक बन्दै थिएँ म । डाक्टर लीलाको सल्लाहबमोजिम आज उनको अपरेसन हुँदै थियो ।
म जस्ता सयौं बिरामीका आफन्तहरु ओहोर दोहोर गरिरहेका थिए, सायद सबैलाई हतार हुँदो हो । बेचैनी हुँदो हो मलाई जस्तै । नर्सले कागजी प्रक्रिया पूरा गर्दै थिइन् । लेबर रुममा रहेका लगभग सबै बेडमा लस्करै गर्भवती महिलाहरु थिए । कोही उमेरले पचास नाघेजस्ता र कोही कलिला पनि ।
‘मरे आमा….ऐया…।’
‘हे भगवान….उस्..।’
‘लौन डाक्टर मेरो अपरेसन गरिदिनु …..।’
‘मेरो बच्चा भ्याकुम लगाएर निकालिदिनुस् न सिस्टर ….।’
‘ऐया बा…, मरें आमा…, उस्…, अँ…अँ…।’
क्रमैसँग यस्ता आवाज सुनिरहनु पर्थ्यो ।
बच्चाहरु जन्मदै गरेका आवाजहरु पनि सुनिदै थिए ।
मैले सबैको दुःख नियालिरहेकी थिएँ ।
पृथ्वीभित्रको सिंगो सृष्टि सायद त्यही कोठाभित्र थियो । आमा बन्नुको पीडा नियाल्ने पुरुषहरु ढोका वरिपरि थिए । सानो छटपटीमा मलाई प्रशव पीडा भयो भन्ने पुरुषहरुले वास्तविक प्रशव पीडालाई नियालिरहेका थिए । उनीहरुको मन पनि भरिलो थियो । आँखा रसिला थिए । आफ्ना मान्छेको पीडा सुन्न उनीहरुलाई पनि गाहृो भएको हुँदो हो ।
म भित्र बाहिर गरिरहेकी थिएँ । कुनै कुनै बेडमा त रगतको भेल बगिरहेको देखिन्थ्यो । सबै आमाको अनुहारमा अथाह पीडा देखिन्थ्यो । आफू मरेर नयाँ सृष्टि जन्माउन खोज्दै थिए ।
‘तपाई मुनाको मान्छे हो ?’ नर्सले मलाई कोट्याउँदै बोलाइन् ।
‘हजुर हो,’ म अलि अघि सरेँ ।
‘उनको श्रीमान् कहाँ हुनुहुन्छ ?’
‘विदेश जानुभएको छ ।’
‘तपाईं ?’
‘म उनको दिदी ।’
‘त्यसो भए यो कागजमा सही गरीदिनुस् ।’
मेरा हात काँपिरहेका थिए ।
‘बिरामीलाई अपरेसन गर्दा तलमाथि भएमा म आफैँ जिम्मेवार हुनेछु,’ लेखिएको तलपट्टि हस्ताक्षर गर्नुपर्ने थियो । मुनाको अनुहारमा पुलुक्क हेरें । ल्याप्चे लगाएका दुबै बुढी औँलाको मसी सुकेको थिएन । भावुक भइन् उनी । आँखा रसिला थिए । खासमा बेडमा चिच्याएका महिलाहरु देखेर उनको होस उडिसकेको थियो । त्यसैले मानसिक रुपमा अपरेसनका लागि तयार भएकी थिइन् । अब मनको डर मैले पन्छाउनु पर्ने थियो । पछि हटेर हुनेवाला थिएन । आज म उनको एकल अभिभावक थिएँ । यस प्रक्रियामा मलाई सहयोग गर्ने कोही थिएन । एकपटक भगवान सम्झिएँ । सायद अप्ठेरोमा पर्दा सबैले सम्झन्छन् मैले जस्तै । नर्सले मुखमा हेरिरहेकी थिइन् । मेरो अनुहार पढेर होला मलाई सम्झाउँदै भनिन् ।
‘केही हुँदैन, डराउनु पर्दैन ।’
सहीछाप गरिदिएँ । मनमा हुटहुटी चल्दै थियो ।
मुनाको बेड नजिकै एक महिला थिइन् जानकी । जानकीको अवस्थाले मेरो ध्यानाकृष्ट गरिरहेको थियो । उनी बिस्तारामा लडिरहेकी थिइन् । बेलाबेलामा बटारिन्थिन् । अनुहारमा चिटचिट पसिना थियो । अनुहार रातो रातो थियो । नर्सहरुले स्टेथेस्कोप लगाउँदै थिए । ज्वरो नाप्दै थिए । डाक्टर जाने आउने क्रम चलिरहेको थियो । जानकीको अवस्था देखेर मैले मुनाका सबै कुरा बिर्सिएँ । यसो भनूँ, मुनालाई भन्दा म बढी जानकीलाई ध्यान दिइरहेकी थिएँ ।
‘अहिले कस्तो छ दिदी ?’ नर्स र डाक्टरले सोध्थे ।
‘ठिकै छ’ जानकीको जवाफ हुन्थ्यो । तर केही समयपछि अवस्था परिवर्तन भइहाल्यो ।
‘तपाईंको ज्वरो नै घट्दैन । प्रेसर पनि २०० नाघिसकेको छ । खै के गर्ने होला ? दिदी …’ नर्सले काउन्टरतिर फर्केर चिच्याइन् ।
अलि पाकी जस्तो लाग्ने नर्स उनको अगाडि आइन् । ‘तपाईंको अन्तिम महिनावारी कहिले हो दिदी ? डाक्टरले अन्तिम डेट कहिले दिनुभएको थियो ?’
‘एक हप्ता नाघिसक्यो ।’
‘उमेर कति नि ? चालीस वर्ष ।’
‘कतिवटा बच्चा छन् ?
तीनवटा ?’
‘के के छन् ?
‘छोरीहरु’
‘बरु बहिनी मलाई जे सुकै होस्, मेरो अपरेसन गरिदिनुस् । कर्ममा भए म पनि बाँचुली, मेरो पेटको सन्तान बाँच्नुपर्छ,’ उनले बोली दबाउँदै बोलिन् । अन्तिम बोली बल्ल बल्ल सुनिएको थियो ।
‘त्यसो भनेर कहाँ हुन्छ ? तपाईंको यस्तो अवस्थामा डाक्टर अपरेसन गर्नुहुन्न । आमाको शरीरलाई खतरा हुन्छ,’छेउकी नर्सले सम्झाउने प्रयास गरिरेकी थिइन् ।
यसैबीच डाक्टर लीला पनि आइपुगिन् । नर्ससित जानकीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा सोधपुछ गर्दै थिइन् ।
‘पेटको बच्चाले दिशा खायो भने मर्छ भन्छन्, लौन छिटो गरम् नानीहरु,’ बाहिरबाट अन्दाजी ६५ वर्षकी वृद्धा भित्र पसिन् । उनलाई निकै हतार थियो । बच्चा समाउने नयाँ कपडा उनको हातमा थियो । ओल्टाइपल्टाइ हेर्दै थिइन् । उनीहरुका धेरैजसो आफन्तहरु जम्मा भैसकेका थिए ।
डाक्टर लीलाले श्रीमान्लाई बोलाइन् । उनको शरीर मोटो र छोटो कदको थियो । झुस्स दाह्री पालेका थिए । टाउकोको आधा कपाल झरिसकेको थियो भने बचेको कपाल तिलचामले भैसकेको थियो । सेतो हाफ पाइन्ट र रातो टिर्सट लगाएका थिए । अनुहार गम्भीर थियो । डाक्टरसित केहीबेर कुराकानी गरे ।
‘अवस्था निकै जटिल छ के गर्ने ?’ डाक्टरले श्रीमान्को अनुहारतिर हेरेर भनिन् ।
उनले जवाफ फर्काएनन् ।
‘छिटो बच्चा जन्माउनका लागि व्यथा बढाउने औषधि चढाउन सकिन्छ तर बच्चालाई अप्ठेरो पनि पर्न सक्छ । कि अपरेसन गर्नुपर्छ तर आमालाई गाह्रै हुनसक्छ ।’
उनी फेरि पनि बोलेनन्, ‘खै ???’ भन्ने इसारामा टाउको मात्र हल्लाए ।
वृद्धा अगाडि सरिन् र डाक्टरतिर फर्केर भनिन्, ‘बच्चालाई खतरा हुन्छ । अपरेसन गर्ने निर्णय त तपाईंले लिने होला नि ? हामी डाक्टर कि तपाईं हँ ?’
‘होइन आमा बिरामीको अवस्था एकदमै जटिल छ । सजिलो भए त बच्चा आफैँ जन्मिहाल्थ्यो नि ? नर्मल अपरेसन भए पनि म गरिहाल्थेँ । तपाईंहरुसँग कहाँ छलफल गर्नु पर्थ्यो र ?’
‘हामीलाई सोधेर, छलफल गरेर समय मात्र किन बर्बाद गर्छौ हँ डाक्टर ? सक्दैनौ भने अन्तै लैजान्छौं,’ वृद्धा च्याँठ्ठिइन् ।
‘जानकीलाई हाई फिवर छ । प्रेसर ओभर छ । नाडी पनि कडा चलिरहेका छन् । हात खुट्टा पूरै सुन्निएर खम्बा बनेका छन् । बच्चाको धड्कन कम सुनिएको छ । ब्लिडिङ पनि भैरहेको छ । अवस्था सबै जटिल छ, के गर्ने के गर्ने ?’ डाक्टरले जानकीतिर फर्केर आफैँसँग बोलेझैँ गरिन् ।
यस्तो बिरामीलाई नर्मल सुत्केरी गराउन सम्भव थिएन । अपरेसन गर्नु पनि सजिलो थिएन । डाक्टर लीलालाई वृद्धाको बोली सुन्दा जानकीलाई निकालिदिऊँ जस्तो पनि नलागेको होइन ।
डाक्टर लीलाले फोन गरेर डाक्टर क्षितिजलाई बोलाइन् । उनीहरु दुवैले एकछिन सल्लाह गरे ।
‘डाक्टर क्षितिज म यो बिरामीको अपरेसन गर्न पनि सकिरहेको छैन । के गर्ने ? आफन्तको बोली सुन्दा राख्न मन पनि छैन । केही भैहाल्यो भने पनि अस्पताललाई मात्र होइन हामीलाई पनि खतरा छ । यही शहरमा बस्नुपर्छ ।’
‘तर अस्पतालबाट निकाल्न पनि त सम्भव छैन । हाम्रो धर्म नै यस्तै अप्ठेरोमा परेकाको सेवा गर्ने नै हो,’ क्षितिजको आवाज सुनियो ।
‘खै आज मलाई कता कता डर लागिरहेको छ । आफ्नो हातले गरेका अनगिन्ती अपरेसनको सम्झना आइरहेको छ । गर्भवती महिलामा केही समस्या देखिनु स्वभाविक हो तर यहाँ त धेरै समस्या छन् । फेरि अहिले नै आफन्तहरु थर्काउन खोज्दैछन् । पछि के होला के ? कि रिफर गरिदिऊँ भेरी अस्पतालमा ?’
‘डाक्टर लीला, हाम्रो धर्म बिरामी बचाउनु हो । उनीहरुलाई जीवनदान दिनु हो । यही हातले छुरी चलाएर अनगिन्ती सपनाहरु जन्माएका छौं हामीले । धेरै बच्चालाई आमा बचाएर दिएका छौं । हाम्रो अगाडि शरण लिन आएकालाई यसो भन्नु हाम्रो धर्मले दिँदैन,’ डाक्टर क्षितिज दार्शनिकझैँ सुनियो यतिबेला ।
‘बूढी आमा धम्कीको भाषा बोल्दैछिन् । मलाई त पठाउँ कि जस्तो लागिरहेको छ अझै पनि,’ डाक्टर लीला चिन्तित सुनिइन् ।
‘होइन डाक्टर, त्यसो गर्नु हुँदैन । हामीलाई पढाउने प्रोफेसरले के भन्नु हुन्थ्यो ? तपाईंलाई अझै सम्झना होला नि ? हातमा अपरेसनको केश आइसकेपछि बिरामी जस्तोसुकै आउन् । भगवान् सम्झेर अपरेसनका लागि जुट्नुपर्छ । शरण गर्नेको मरण गर्नु हुँदैन । पछि जे हुन्छ, हुन्छ । बिरामीलाई नेपालगंज पठाउँदा बीचमा ओभर ब्लिडिङ भएर ज्यान पनि जान सक्छ । हाम्रो आक्रोशको सजाय बिरामीलाई दिनुहुँदैन ।’
वृद्धाले फेरि चर्को स्वरमा बोलिन्, ‘अपरेसनको तयारी गर्नुस् डाक्टर । मेरो नातिलाई केही भैहाल्यो भने …. ?’
छोरालाई कुमले घुच्याइन्, ‘कति हिम्मत नभएको तेरो हँ ? तेरी जोइलाई केही हुँदैन । लामो आयु लिएर आएकी छ । बाँच्छे । बरु बच्चा………….। कागतमा छिटो गर् सिक्नेचर, लेखिदे तेरो नाउँ । छिटो । मेरो नाति चाहियो मलाई ।’
नर्सले कागज अगाडि सारिदिइन्, उनले चुपचाप हस्ताक्षर गरिदिए ।
डाक्टर लीलाले क्षितिजलाई अपरेसन थिएटरमा सँगसँगै जान अनुरोध गरिन् । बिरामीलाई तयार गरी थिएटरमा ल्याउन आदेश दिइन् र आफू अगाडि बढिन् ।
कपडा र गहना खोलिए । लगाएको स्लाइन मुनाको हातमा थियो । म पनि के गर्ने के नगर्नेमा थिएँ । कसैको बच्चा बेडमै जन्मिएको सूचना बच्चाको रुवाइले दियो
‘तपाईंहरु सबै बाहिर जानुस् । अपरेसन थिएटरतिर संकेत गर्दै नर्स कराइन् । हामी सबै बाहिर निस्कियौं । मुना र जानकी दुवै जनालाई पालैपालो ह्वील चेयरमा राखियो ।
उनीहरु निशब्द थिए । ढोकासम्म सँगसँगै निस्किएँ म ।
‘बेस्ट अफ लक मुना,’ म उनको अनुहारमा हेरेर खिसिक्क हाँसिदिएँ । उनी पनि बाध्यात्मक हाँसो हाँसिन् र भित्र पसिन् । सँगसँगै जानकीलाई पनि भित्र लगियो ।
अपरेसनको बाहिरपट्टि बसेर पर्खनु सिवाय अरु विकल्प थिएन । दोस्रो तलामा रहेको अपरेसन कक्ष भर्याङनजिकै थियो । जानकीका आफन्तहरु थियटरबाहिर भरिँदै थिए । भुइँमा पिफर्म ओछ्याएर बसिरहेका थिए । ठूलो-ठूलो स्वरमा कुरा गरिरहेका थिए । उनीहरुलाई अस्पतालका अन्य बिरामीसँग कुनै सरोकार थिएन । चिच्याएर गफिदै थिए । ओहोरदोहोर गर्नेहरु जो कोही पनि उनीहरुतिर हेरेर फर्किन्थे ।
ती वृद्धा हातमा बच्चा समाउने नयाँ कपडा समातेर मेरो नजिकै आएर बेन्चमा टुसुक्क बसिन् ।
‘तपाईं ?’
मेरो वाक्य पूरा हुन नपाउँदै उनी बोलिहालिन् ।
‘जानकी मेरी बुहारी,’ उनको नजर ढोकातिर थियो । उतै फर्केर जवाफ फर्काइन् ।
ढोकामा नर्स देखिइन् । ‘जानकी रावतको मान्छे ?’
उनी अगाडि सरिन् ।
‘ल कपडा ल्याउनुस् त ।’
उनले हातको नयाँ कपडा नर्सलाई थमाइन् र भनिन्, ‘बच्चा के भयो नानी ? नर्सले सुनिनन् कि सुनेर पनि उत्तर दिइनन् । उनले ढोका बन्द गरिसकेकी थिइन् । आमा फेरि बेन्चमा फर्किन् र मतिर हेरेर भनिन् ।
‘अहिले त डाक्टरले छोरा छ भनेका छन् । लखनऊ जँचाएर आएका ।’
मैले ए मात्र भनेँ । मेरो उनीप्रति चासो कम देखेर होला उनी उठेर आफ्नै भिडमा मिसिइन् । एकैछिन उनै नर्स ढोकामा देखिइन् । वृद्धा नसकेर पनि दौडिन् । बच्चा च्याप्प समातिन् ।
‘के जन्मियो नर्स नानी ? नाति त होला ! ’ नर्सले टाउको मात्र हल्लाइन् । जानकीकी सासू आफन्तहरुको बीचमा छिटोछिटो पुगिन् । ढोकाबाट नर्सले केही भन्न खोज्दै थिइन् तर उनीहरु कसैले ध्यानै दिएनन् । सबै नवजात शिशु वरिपरि गोलो लगाए ।
‘ल बधाइ छ जेठी आमा ! नातिको हजुरआमा भयौ,’ बूढी खुशी देखिइन् ।
‘मैले त भनेको थिएँ नि, कान्छी छोरीको अनुहार छोरा जस्तै छ, अबको पालि नाति नै हुन्छ भनेर !’
‘हात हेर्नेले पनि यसपालि छोरा नै हुन्छ भनेको थियो रे त !’
‘लखनऊ जचाउँदा डाक्टरले पनि छोरै छ भनेको थियो ।’
सबैले पालैपालो नवजातको पुरानो भविष्यवाणी सुनाइरहेका थिए । एकअर्कालाई बधाइ दिँदै अंकमाल गर्दै थिए । हाँसोको फोहरा छुटिरहेको थियो । म घरिघरि ढोकातिर हेर्दै थिएँ भने उनीहरुको खुशीलाई समेत नियालिरहेकी थिएँ ।
एक हातमा मिठाइको प्याकेट र अर्को हातमा प्लाष्टिकको पोको समातेर नानी देखिइन् । अन्दाजी पन्ध्र वर्षकी हुँदिहुन् उनी । बच्चाको मुखमा पुर्लुक्क हेरिन् ।
‘बधाइ छ बाबा,’ उनले अंकमाल गरिन्, ‘तपाईंको सपना पूरा भयो ।’
लड्डु निकालेर बाबुको मुखमा राखिदिइन् । बाबाले छोरीको पछाडि हात राखेर धाप लगाए ।
जेठी छोरी होलिन्, मैले अनुमान लगाएँ । उनको अनुहार गम्भीर थियो । ढोका अगाडि आइन् ।
‘आन्टी कति बेला भेट्न पाइन्छ मम्मीलाई’ म तिर फर्किन् । मलाई पनि कुनै अनुमान थिएन ।
‘अझै एक छिन लाग्ला,’ उनको बेचैनी अनुहारलाई केही ढाडस दिन खोजें । उनी आमाको प्रतीक्षामा उभिइन् ।
हजुरआमा नातिको अनुहार हेर्दै थिइन् । नातिनीतिर हेरेर फतफताइन्, ‘घरमा फोन गरिदे नानी ! खसीको मासु फ्रिजमा छ । बनाउन लगा । ज्वानोको झोल पकाएर ल्याउन पठा । घिउ पनि र्याकमा छ झिक्न पठा । फेरि बच्चालाई दुध आउँदैन ।’
उनको बोलीतिर भन्दा नानीको ध्यान ढोकातिर थियो । अरु कसैले उनको कुरामा वास्ता गरेनन् ।
केही छिनमा उनै नर्स ढोकामा देखिइन् ।
‘मुनाको मान्छे को हुनुहुन्छ ?’
‘म म,’ हातको कपडा नर्सको हातमा थमाइदिएँ ।
नानी केही सोध्न खोज्दै थिई तर नर्सले उत्तर नदिई गइन् । एकैछिनमा नर्सले बच्चा च्यापेर आइन् र मलाई दिइन् । बच्चा समाएँ ।
‘मुनालाई कस्तो छ ? अपरेसन सकियो ? रगत चढाउनु त परेन ? होशमा त छिन् नि ?’ उनले टाउको हल्लाएर मेरा प्रश्नको उत्तर दिइरहेकी थिइन् तर उनका आँखा वृद्ध महिलाको काखतिर थिए । नर्सको अनुहार पनि हँसिलो थिएन । उनको मलिनतामा म डराउँदै थिएँ । मुनाका लागि प्रार्थना गरिरहेकी थिएँ । काखे बच्चालाई स्वागत गर्न पनि बिर्सिएछु । अनुहार हेरेँ । अबोध परीले टुलुटुलु हेरिरहेकी थिइन् । मेरो त मिठाइ पार्टी गर्ने पनि कोही थिएनन् । बच्चालाई स्वागत गर्न पनि एक्लै थिएँ म ।
मुनाको मोबाइल बज्यो । ज्वाइँसाबको फोन थियो । मैले उठाएँ ।
‘लक्ष्मी भित्रिइन् बधाइ छ ज्वाइसाब्,’ मैले नसोधिकनै उत्तर दिएँ ।
‘मुना नि ?’
‘अपरेसन चलिरहेको छ । बेडमा पठाएको छैन ।’
‘ए ए । छोरी कस्ती छिन् ?’
‘ठ्याक्कै तपाइँजस्तै,’ त्यसो भन्दै गर्दा म पनि मुस्कुराएँ । भर्खरै जन्मिएकी सानीको अनुहार खै कसरी तुलना गरिदिएँ ! फोन राखेँ र मुनाको प्रतीक्षा गरिरहेँ ।
जानकीका आफन्त बढ्दै थिए । उपाहार बोक्नेहरुको पनि कमी थिएन । खुसियाली थपिंदै थियो ।
नर्सहरु पालैपालो बाहिर निस्किदै थिए । ‘मुनाको अपरेसन सकियो ?’ नर्सको नजिकै पुगेर सोधेँ । उनी नबोली अगाडि बढ्न खोजिन् । मैले उनको हात च्याप्पै समाएँ ।
‘सकियो । पोष्टअपमा सिफ्ट भैसक्यो । एकछिन पछि भेट्न पाउनुहुन्छ,’ नचाहेरै उत्तर दिइन् । मेरो सास फुलेर आयो । जानकीकी छोरीले पनि मेरो प्रश्न दोहोर्याइन् तर नर्स निरुत्तर भइन् तर बल्लतल्ल आवाज निस्कियो, ‘पर्खनुस्, डाक्टर आउँदै हुनुहुन्छ ।’
एकाएक ढोकामा हल्ली खल्ली सुनियो । डाक्टर लीला देखिइन् । उनका वरिपरि सबै झुम्मिए ।
‘सरी तपाईंकी जानकीलाई बचाउन सकिएन् ।’
‘के भयो डाक्टर नानी ?’ नाति समातेकी हजुरआमाले बच्चा नातिनीको हातमा थमाएर अगाडि पुगिन्।
‘तपाईंहरुले भनेको मान्नुभएन । मैले भनेकै थिएँ, यस्तो अवस्थामा आमालाई बढी खतरा हुन्छ भनेर । उनको चौथो सन्तान भएकोले पाठेघरको अवस्था पनि राम्रो थिएन । त्यसैमाथि हाई प्रेसर र उच्च ज्वरो थियो । अपरेसन गर्न नमिल्ने थियो । औषधि चढाउँदा बच्चा बिग्रिने सम्भावना बढी भए पनि आमालाई बचाउन सकिन्थ्यो । बच्चाले दिशा पिसाब खान सक्छ भनेर तपाईंहरुले मान्नु भएन । जस्तो अवस्था आए पनि अपरेसनका लागि तयार हुनुभयो,’ डाक्टर गम्भीर भइन् ।
‘बच्चा र आमामध्ये एकलाई मात्र बचाउन सकिने अवस्था आयो । जानकीले बच्चा बचाइदिन आग्रह गरिन् । अपरेसन गरियो तर रक्तस्राव रोक्न सकिएन । आमा बेहोस भइन् । अक्सिजनले पनि काम गरेन । जानकीले हामी सबैलाई उछिनिन् । हाम्रो कुनै पनि उपकरण र औषधिले काम गरेन । प्रयास विफल भयो । सरी । डेड बडी केही प्रक्रिया पूरा गरेपछि पाउनुहुनेछ ।’
काखमा बच्चा लिएकी सानी नानीका आँखा छताछुल्ल भए । आँशुको भेल गाला हुँदै अबोध बालकको अनुहारमा पोखिए । बच्चा चिच्याउन थाल्यो । नानीले आफूलाई थाम्न सकिनन् । बेहोश भइन् । बच्चा हजुरआमाले लड्दालड्दै समातिन् र मुखमा पुलुक्क हेरिन् । चारैतिर सन्नाटा छायो । कोही डाक्टरलाई गाली गर्दै थिए । कोही अस्पताल फुटाल्नुपर्छ भन्दै थिए । जानकीका श्रीमान् भूइँमा थुचुक्क बसे । म भने अबोध बच्चा समातेर मुनालाई भेट्न निस्किएँ ।

सम्बन्धित पोस्टहरु

उमेरको कथा: आमाको डायरी

कोहलपुर–१२, बाँके

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...