फिक्का निलो रङ्गको सारीमा सजिएकी युवतीले ऊतिर इसारा गर्दै आदेश दिइन्,”सर्ट र गन्जी खोल्नुस् ।”

उसले कथामा सुनेको अप्सराझैँ देखिने ती युवतीको मुहार एकटक हेरिरह्यो । त्यस्ती परम सुन्दरीको आवाजले “कपडा खोल्नुस्” भन्ने निर्देशन सुनेपछि ऊ अक्क न बक्क पर्‍यो । न आफूलाई भनेको होइन कि भनेर यताउती हेर्‍यो पनि । सियोसमेत खसेको आवाज आउने त्यो कक्षमा ऊ र ती युवतीबाहेक कोही थिएन । जीवनमै कुनै युवतीको मुखबाट यस्तो शब्द सुनेको त के कल्पना गरेको पनि थिएन । डर, लाज र उत्सुकता मिश्रित भावमा उसको वाक्य फुट्यो, “ह…हजुर ।”

उनले मुस्काउँदै दोहोर्‍याइन्,”तपाईँको सर्ट र गन्जी खोल्नुस् भनेकी ।”

पूरै सिसा नै सिसाले बनेको भव्य घर भनूँ वा महल । महलभित्रको २० औँ तलाको ठूलो कोठाभित्र एउटा कुर्सीजस्तो काठले बनेको चमकदार आसनमा ऊ बसिरहेको छ । महलबाहिरको ठूलो चौरमा केही थान मृग, केही चराचुरुङ्गी, सेता साना खरायोहरू र गाईका छ/सातवटा जति बाच्छाबाच्छीहरू केही एकमग्न चरिरहेका छन् भने केही उन्मत्त उफ्रिरहेका छन्, ऊ सोच्छ, जीवन बाच्छाबाच्छीझैँ भइदिए…। चौरबाहिरको यति ठूलो जङ्गल सायदै उसले देखेको होस् । पानी पर्ला कि जस्तो वातावरणका बीच कुहिरोका सेता टुक्राहरू हावामा उताउति छरिएका छन् । मानौँ त्यो अर्कै दुनियाँ हो ।

ऊ आज पनि बेहोसीमै छ । यसरी बेहोस हुन थालेको २५ वर्ष भयो तर त्यो बेहोसीमा पनि केही अंश खुसीका पाटाहरूबाहेक कहिल्यै चेत गुमाएन ।

गह्रुङ्गो हातले सर्टका टाँकहरू खुस्काइरहँदा ऊसले आफैँलाई भन्यो, “नाङ्गो छातीमा मनभित्रका गहिरा पीडा देखिन्छ ? भोग्नेले भोगेको भाव कसैले बुझ्ला र ? अनि रोग त पत्ता लगाए पनि रोगका जराहरू पत्ता लगाउन सक्लान् ?”

उनले इसारा गर्दै भनिन्, “उता गएर कपडा फेर्नुस्, यहाँ यहीको “ड्रेस” लाउनुपर्छ ।” ऊ अनकनाएको देखेर फेरि पनि मुस्काएरै भनिन्, “अप्ठ्यारो मान्नु पर्दैन, “एक्सरे” गर्ने हो, केटा मान्छे लजाएको राम्रो देखिन्नँ, फेरि कपडाले मात्रै कहाँ लाज ढाकिन्छ र ?”

नाइट ड्रेसजस्तो कपडामा ऊ उनको नजिकै उभियो ।

अलि पर बिछ्याइएको बेडतिर सङ्केत गर्दै युवतीले अह्राइन्, “त्याँ पल्टिनुस् ।”

अगाडिको पारदर्शी सिसामा देखिन मिल्ने गरी टाउको ठाडो पारेर उनले तकिया मिलाइदिइन् । शरीर जाँच्ने मेसिनहरू घाँटीदेखि कम्मरसम्म जोडिन्, ऊ पूरा बाँधियो ।

“डर लागिरहेको छ ?”

“हल्का” मुस्काउँदै भन्यो ।

“हँसिलो मान्छे मुस्काएकै सुन्दर । असहज मान्नु पर्दैन, यहाँ सबै कुरा खुलस्त भन्न मिल्छ । हामीहरू मन र व्यवहारमा एकैनासका हुन्छौँ ।” उनले व्यङ्ग्य गरिन् कि के हो ? उसले बुझेन र बुझ्नु आवश्यक पनि ठानेन ।

युवतीले हातको रिमोट थिचिन् । अगाडिको पारदर्शी सिसा ठूलो स्क्रिनमा परिणत भयो, त्यो स्क्रिनसँगै दायाँबायाँतिर उसले जिन्दगीभर नसुनेका र नदेखेका अत्याधुनिक मेसिनहरू एकाएक देखापरे । पछि उसले थाहा पायो, ती मेसिनहरूले उमेर अनुसारको शरीरका अङ्गहरूको तौल, रोग, व्यथा, पीडाको मात्रा, दया, मायाँको अवस्थादेखि मुटुको ढुकढुकी, कलेजो, फोक्सो, आन्द्रा, मृगौलाको गति वा भनौँ शरीरका सम्पूर्ण भित्री अङ्गहरू कुन दिन, कुन वर्ष कस्तो अवस्थामा थियो ? सबैको यथार्थ बताउने रहेछन् ।

उसले लामो सास फेर्‍यो, “हैट्ट ! संसार कहाँ पुगिसकेछ । म भने प्रविधिको दुनियाँमा घस्रँदै छु, समय चाहिँ रकेटकै गतिमा दौडिएछ ।”

सानो घडीजस्तो धातु उसको नाडीमा लगाइदिइन् । उसको बेडसँगै राखेको पानी आधा गिलासजति पिउन भनिन् अनि रिमोट थिचिन् । मेसिन चलेजस्तो आवाज उसको कानले सुन्यो । अगाडिको स्क्रिनमा धमिलो केही देखियो ।

“चुरोट खुब पिउनुहुन्थ्यो ?”

“हल्का” जबाफ दियो । जबाफ दिनासाथ उसलाई नराम्ररी चक्कर लाग्यो ।

“यहाँ बिलकुलै ढाँट्न मिल्दैन, जे हो सत्य भन्नुस् । नत्र तपाईँको शरीरले दुःख पाउँछ । साँचोमात्रै बताउनुस्, यहाँ कोही कसैसँग केही कुरा लुकाउँदैन । मिथ्या कुरा बोलेको पत्ता लाउने मेसिन हो त्यो तपाईँको नाडीको !” उनले सतर्क गराइन् ।

“पछिल्लो समय अलि बढी नै खाएँ ।”

“मन्द विष खानुको कुनै कारण त होला ?” उनले जिज्ञासा राखिन् ।

“मान्छे । मान्छेकै कारणले त कलियुगमा बढी दुःख पाउने, धोका खाने अनि पीडा भोग्ने हुन्छ !” झुटो कुरा बोल्दा फेरि झट्का लाग्ला भन्ने सोच्दै डराई डराई आफ्ना कुरा भन्यो ।

अगाडिको स्क्रिनमा देखिएको मधुरो तस्बिर फोक्सोमा परिणत भयो । फोक्सोका सबै भागहरू देखिए । उसको फोक्सो २० वर्षअघि कस्तो थियो, सानो हुँदा कस्तो थियो भनेर पनि देखाइदिइन् । ऊ छक्क पर्‍यो । जीवनमा कुनै हस्पिटल नगएको मान्छे, ती युवतीलाई पहिलोपल्ट देखेको कसरी २० वर्षअघिको फोक्सोको तस्बिर देखाइन् । उनले फोक्सोको यसरी फेहरिस्त बताइन् कि ऊ हेरेको हेर्‍यै भो । चुरोट दिनमा कति खायो ? त्यसले कति असर गरेको छ त्यो पनि आँखैअगाडि देखाइदिइन् । उनले त्यो उचाइ नाप्नेजस्तो मेसिनमा कालो झोल पदार्थको मात्रा देखाउँदै भनिन्, “त्यो कालोजति जम्मै विष हो । चुरोट खानुअघि र पछिको फोक्सोको अवस्था देख्दा बिचरा निसास्सियो ।

“हैट् ! यो कसरी सम्भव छ ? अरू कसैको देखाएर मेरो भनेको होला ।” फेरि झट्का लाग्यो ।

“यो तपाईँकै हो ।” उनले भनिन् ।

हँ ! मनमनै भनेको कुरा पनि थाहा पाइन्, ऊ अब चाहिँ साँच्चिकै डरायो अनि बडो सचेत भयो । उनले उसको कलेजो, आमाशय र मृगौलासम्मको अवस्थाको फेहरिस्त बताउँदै भनिन्, “यति धेरै रक्सी किन पिउनुभो ?”

“मन भुलाउन” उसले सटिक उत्तर दियो । “मन भुलाउन पनि के भन्नु । मन भुल्ने चिजै होइन रेछ । यसलाई त जति अलमल्याउन सक्यो उति राम्रो रैछ । जे होस्, आफैँमा भुल्न भनूँ या यसलाई अलमल्याउन भनूँ ।”

“मन भुलाउने माध्यम रक्सीमात्रै हो ?” अलि आक्रोशको भावले उनले सोधिन् ।

“रक्सीमात्रै नभनौँ । हरेकले केही न केही नशाको सहारा लिन्छ मेले रक्सी छानेँ ।”

मृगौलाको हालत बताउँदा त ऊ मिल्ने भए डाँको छोडेर रुन्थ्यो होला तर लोग्ने मान्छेलाई कहाँ जहाँ पनि रुन छुट छ र ? “समयभन्दा पनि तीन महिना बढी बाँचिसकेछ तपाईँको मृगौला ।” उनले यसो भनिरहँदा उसलाई भाउन्न भयो ।

उसको मुहारको रङ्ग बदलियो । युवतीले बडो प्रेमका साथ उसलाई हेरिन् । मुहारमा उदासीपना छैन । मुहार शान्त छ तर शरीरभित्रका हरेक अङ्ग मक्किएर चुँडिनमात्रै बाँकी छन्, जुन कुरा उसले थाहा पाइसकेको छैन । शरीर हेर्दा कुनै रोग नभएको खाइलाग्दो तर भित्रभित्रै जलेको । हेर्दा सलक्क परेको आकर्षक अनि भित्रभित्रै किराले खाएको आँपजस्तो ।

युवती छक्क परिन् । छक्क पर्नेभन्दा पनि माथि केही हुन्छ भने त्यही भइन् उनी, जब उसको मुटुको रिपोर्ट हेरिन् ।

उसले अगाडिको स्क्रिनमा मुटुको चित्र देख्यो । सफा, एकनास चलेको मुटुको आकार उसले प्रस्ट देख्यो । मुटुको अवस्था कस्तो छ भनेर उनले तीन भागमा देखाइन् । बच्चामा, वयस्क हुँदा अनि हालको । उनले मुटुको चाल मापन गरिन् । अनि उचाइ नाप्नेजस्तो यन्त्रभित्र मायाँको प्रतिशत देखाइन् । जुन हेर्दा उनी आफैँ चकित परिन् ।

“ओहो ! यत्ति धेरै मायाँ कसलाई गर्नुहुन्थ्यो जीवनमा ?”

“किन र ? मायाँ त सबैजसोलाई गरिन्छ नि ।” सटिक उत्तर दियो उसले ।

“यहाँ कौटनीतिक जबाफको कुनै अर्थ छैन । मैले मुटुको मायाँलाई छ भागमा बाँडिसकेको छु । कसलाई कति मायाँ गरेको हो सबै थाहा हुन्छ । पाँच भाग एकातिर र एक भाग एकातिर राख्दा पनि त्यही एक भागको मायाँ बढी देखिएर सोधेकी हुँ ।”

ढाँट्नुको अर्थ थिएन नै, अब घुमाएर कुरा गर्नुको पनि कुनै तुक रहेन । अनि भन्यो “थ्यो कोही ।”

“थ्यो कि थिइन् ?”

“थिइन् भनूँ न ।” झुटो बोल्दाको परिणाम सम्झेर मन नलागी नलागी उत्तर दियो ।

“हामी मान्छेका हरेक अङ्गहरूको रेकर्ड राख्छौँ तर तपाईँको मुटुमा जतन भएको मायाँ आजसम्म मैले राखेको सबैभन्दा उच्च रेकर्ड हो । म आफैँ छक्क परेँ । यस्तो मुटु पनि हुँदो रहेछ ।”

मुस्काउँदैमा मनमा पिरै नभएको वा कुनै घाउ नै नहुने कहाँ हो र ? कतिले देखाउँछन् अनि कतिले दबाउँछन् । फेरि एकान्तमा छटपटाएको आफू अँध्याराले बाहेक कसले चाल पाउँछ र ? जीवन कहिले अँध्यारो, अहिले उज्यालो, कतै समथर, कतै पहाड, कतै चीसो, कतै तातो । कहाँ एकनासको छ र ? एकनास छैन र त मजा छ । नत्र त निरस भैहाल्थ्यो नि !

कैयौँ राप र चाप सहेर कोइला हीरा बनेजस्तै पो भएछ, उसको मुटु त । मायाँ नै मायाँले भरिएको । त्यो मुटुमा कति दर्द, कति पीडा, कति अत्याचार, कति धोका भयो त उही जानोस्, तर, उसको मुटु । कठै ! कति शुद्ध र पवित्र ।

“ओहो !” मुटुको मायाँ मापन गर्ने आफैँ ट्वाल्ल परिन् । मनमनै भनिन्, “कुनै कुनै समयमा एकाध यस्तै जन्मिन्छन्, मुनाको मदन, जुलियटको रोमियो अनि राधाको कृष्ण ।”

उनले उसका सबै भित्री अङ्गहरूको रिपोर्ट त्यही स्क्रिनमा देखाइन् । सबैको अवस्था बताइन् अनि मुटुमै केन्द्रित भएर भनिन्, “यति धेरै मायाँ गर्नुको पनि त कुनै खास कारण वा अर्थ त होला नि ?”

“अब ढाँटूँ भने सबै पत्ता लगाइहाल्नुहुन्छ । तपाईँकोमा मनको कुरा आफैँ बुझ्ने मेसिन चाहिँ छैन ?”

“हामी मनका कुराहरू पनि थाहा पाउँछौं । हामीले थाहै नपाउने भन्ने हुँदैन तर भनेका कुरा यहाँ अटोमेटिक रेकर्ड भएर बस्छन् । रेकर्ड भएको राम्रो हो नि होइन ? मान्छे हो केही गडबड गरिहाल्छ कि भनेर पछि ट्याली पनि गर्छौँ ।” मनका कुरा पोखाउँदा मन हलुका हुन्छ र अर्को कुरा जतन गर्दैमा सबै चिज सुरक्षित हुँदैन र उपभोग गर्दैमा सबैकुरा सकिन्न । गीत जति सुन्यो उति मिठो । मायाँको परिभाषा त मैले के दिनु र ? मुटुभरि मायाँ नै मायाँ भरिएको मान्छेलाई ।” उनले घुर्क्याएझैँ गरिन् ।

“पृथ्वीमा बाँच्ने बहानामा मान्छेले जे गर्न पनि पछि पर्दैन । उस्तै परे आफैँलाई त ढाँट्छ किनकि मान्छे भोको छ । मायाँ, प्रेम, सम्पत्ति, सत्ता र शक्तिको भोको । जति भएपछि भोक नमेटिने । भोक मेट्ने बहानामा कसको मनमा के छ ? बुझेर साध्य पनि लाग्दैन नि । किनकि सबलाई आफ्नैमात्रै चिन्ता छ । उसले युवतीलाई प्रतिप्रश्न गर्‍यो, “किन तपाईँहरूको मनको कुरा चाहिँ सजिलै बुझिन्छ र ?”

“हामी यहाँ त सबैको मनका कुरा बुझ्छौँ तर ‘मान्छे’हरूको बुझ्दैनौँ । मान्छे यति चलाख र धूर्त भइसक्यो कि सत्यलाई नै झुक्याउन सक्ने, मन र व्यवहारमा उल्टो ।” उनले मनको आवेग पोखिन् ।

“सबैलाई एउटै तराजुमा जोख्दा उस्तै भेट्न सकिन्छ । सबै एकै हुँदैनन् ।” ऊ आफूलाई जोगाउने प्रयासमा लाग्यो ।

 

“एकै नहुन सक्लान् ।” उसको कुरा उनले खासै चासो देखाइनन्, अनि अघिल्लो प्रसङ्ग सम्झाउँदै भनिन्, “एकै जनालाई किन धेरै मायाँ गरेको भन्ने प्रश्नको उत्तर दिनु भएन त ?”

“अब भन्नुको केही अर्थ होलाजस्तो लाग्दैन र फाइदा पनि छैन । जसका लागि दिन जतन गरेँ, उसलाई दिने साइत कहिल्यै जुरेन ।” उसको नजर युवतीको छातीतिर टाँसिएको एउटा ट्यागमा अड्डियो । जसमा “रम्भा” लेखिएको रहेछ । उसले सोच्यो यो उनको नाम होला ।

गम्भीर भावमा उसले भन्यो, “म जुत्ता कम्पनीमा काम गर्थेँ । उनको र मेरो काम गर्ने कार्यालय सँगसँगै थियो । हाम्रोसँगै अरू ३/४ वटा कम्पनीहरू एकै ठाउँमा थिए । उनी अर्कै कम्पनीमा एकाउन्टेन्ट थिइन् तर सबै कम्पनीको क्यान्टिन भने एउटै । बिस्तारै हामी नजिकियौँ । मेरो स्वभाव कस्तो भने मनको कुरा सबै खोल्न आवश्यक नठान्ने । अलि गम्भीर खालको ।

एकदिन उनले भनिन्, “नवीन, तिमी हाँसेर बोल्दा साह्रै राम्रो देखिन्छौ ।” ओहो ! मलाई त्यो दिन छटपट भो तर मलाई आफू कहिल्यै ह्यान्डसम लागेन । उनले त्यसो भनेको दिनदेखि म सधैँ उनलाई भेट्दा हाँसेरै बोल्न थालेँ । जुन बानी अहिलेसम्म छुटेको छैन ।

तपाईँ विश्वास गर्नुस्, हुन त यहाँ झुटो कुरा गर्‍यो भने पक्राउ परिहालिन्छ क्यारे । हामीले एक अर्कालाई मायाँ गर्छु कुनै दिन भनेनौँ । क्यान्टिनमा हामी दैनिक भेट्थ्यौँ बिदा र शनिवारबाहेक । उनलाई भेट्दा साह्रै रमाइलो लाग्थ्यो किन हो ? थाहा छैन । नजिकिँदै हामी प्रेमीप्रेमिका भएछौँ ।

जुत्ता कम्पनी मैले एक वर्षपछि छोडेँ । उनकै ऊर्जाले आफैँले कम्पनी खोलेँ । व्यापार पनि यति हुन्थ्यो कि सायद भाग्य भनूँ वा मेरो कर्म । तीसौँ वसन्त पार गर्दा नगर्दै म दसौँ करोडको मालिक बनेँ ।

कम्पनीको कामले गर्दा मेरो व्यस्तता बढ्न थाल्यो र हाम्रो भेटघाट कम हुन थाल्यो तर मायाँ भने बढ्ता ।

तपाईँलाई थाहा छ ? मायाँ नजिकभन्दा टाढा हुँदा बढ्छ नि ! अलि परबाट नदी, झरना र जङ्गललाई हेरे जस्तो पूरा आकारमा देखिने । मायाँ नि त्यस्तै हो । शारीरिक आकर्षणभन्दा पनि मनलाई मायाँ गरेपछि अरू सबै फिक्का लाग्छ । अनि टाढैबाट बढी सुन्दर अनि उत्कृष्ट ।

उनी पनि कम्पनीमा प्रमोसन हुँदै गएकी थिइन् । एकदिन उनले भनिन्, “मलाई नि कम्पनीले बोर्डमा लाने रे ! उनी के खुसी भइन् होला र ? म त्यति खुसी भएँ उनको कुराले ।

भेटघाट नभए पनि हाम्रो एउटै सहमति थियो, अलि व्यवस्थित भएपछि बिहे गर्ने तर जिन्दगीमा व्यवस्थित चाहिँ कहिल्यै हुन सकिएन र सकिँदो पनि रैनछ । यो गरुँला, त्यो गरुँला भन्दाभन्दै जीवन जाने । असन्तोषी जातका हामी । कसैले पैसा कमाएको देख्यो, त्यस्तै बन्न मन लाग्ने । पशुपतिको आर्यघाट गएर हेर्‍यो, पैसाको के काम ? जस्तो लाग्ने । फेरि पशुपतिबाट गौशाला पुग्दा नपुग्दै सब बिर्स्यो ।

एउटै व्यवसाय गर्नेहरूको छाता सङ्गठन हुन्छ, जहाँ सबै व्यवसायी अटाउँछन् । एकदिन एउटा कम्पनीको वार्षिक उत्सवमा सहभागी हुन एउटा तारे होटलमा पुगेको थिएँ । कार्यक्रमका प्रमुख अतिथि एक कुशल व्यवसायी र उक्त सङ्गठनका अध्यक्ष थिए । जब उनको नाम बोलाइयो सबैले ताली बजाएर स्वागत गरे । त्यो भव्य कार्यक्रममा उद्घोषकले भने, “भर्खरै वैवाहिक बन्धनमा बाँधिनुभएका प्रमुख अतिथिज्यू कि जीवनसङ्गिनी पनि हाम्रो साथमा हुनुहुन्छ, कृपया जोडदार तालीले विनीता शर्मा ज्यूलाई पनि स्वागत गरौँ ।” त्यही जोडदार ताली बजाउँदाबजाउँदै मेरो मुटुमा भने कहिल्यै झिक्न नमिल्ने खालको खिल बिझ्यो ।”

ऊ रोयो, भक्कानिएर रोयो । युवतीले सम्झाउने कोसिस पनि गरिनन् । मन अलि शान्त भो उसको । उनलाई कम्पनीले किन बोर्डमा लगिएछ भन्ने कुराको जबाफ सायद यही थियो । आफ्नो कम्पनीसँगै आफ्नै जिन्दगीको पनि मालिक्नी बनाएछ उनलाई उनको कम्पनीको मालिकले !

“प्रविधिको विकास नहुनु पनि राम्रो होइन नि है ?”  उसले प्रश्न गर्‍यो । “अहिलेजस्तो फोन, इमेल इन्टरनेटको सुविधा भएको भए..।” विनाअर्थको एउटा आशाको त्यान्द्रो उसले देखेछ ।

“उनको बिहेपछि मैले कम्पनी सारेँ । त्यसपछि मन भुलाउनु त थ्यो अनि रक्सी र चुरोटले साथ दिएजस्तो लाग्छ । नत्र म कि त डिप्रेसनमा जान्थेँ न आत्महत्या नै पो गर्थेँ कि ! किनकि त्यो घटना मेरो जीवनमा अप्रत्यासित भयो, भन्छन् नि सकिङ जस्तो ।”

“दिनभर काम गर्छु अनि राति अबेरसम्म त्यही रक्सी र चुरोटलाई साथी बनाउँछु । अफिस राम्रै छ । अफिसमा आजका दिनसम्म जड्याहा नै भए पनि रक्सी खाएर गएको छैन ।” उसले नढाँटी बतायो ।

“एकदिन एउटा सुपरमार्केटमा उनलाई देखेँ, उनलाई देख्दा मन डराएको अनुभूति भयो । ओहो ! कति राम्री देखिएकी । भेट होला भनेर म छलिएर हिँडेँ । अनि गाडीभित्र लुकेर उनलाई हेरिरहेँ, उनका अगाडि पर्ने मेरो हिम्मत आएन । आफैँ गाडी हाँक्ने भइछिन् । उनी नफर्किएसम्म हेरिरहेँ ।”

ती युवतीले बडो चासोका साथ उसका कुरा सुनिरहिन् । अनि सोधिन्, “अर्कैकी भैसकेपछि पनि मायाँ गरिरहनु भो ?”

“खै ! जसलाई दिऊँ भनेर जतन गरेँ, उसले पाउनै चाहेन । मायाँजस्तो चिज जोसँग पनि बाँड्न थाल्यो भने कुरूप हुन्छ भन्ने डरले अरू कसैसँग बाँड्न सकिनँ । कुनै डङ्गुरमा फालेजस्तो होला भन्ने लाग्यो त्यही भएर त मुटुमै जमेर बस्यो । जसका लागि सम्हालेर राखेँ उसलाई दिन पाइनँ, दिएको भए यति मायाँ मुटुमा कहाँ भण्डार हुन्थ्यो र ?”

टिलपिलाएका आँसु तप्प भुईँमा खसे । विगत सम्झेर उसका घाउ सायद ताजा भए होलान् । खाटा बसेको भन्दा आलो घाऊले बढी पिरोले जस्तै । आँसु लुकाउँदै ऊ बोल्यो, “यो भाग्य भन्ने पनि मन बुझाउने मेलो मात्रै रेछ । म आफूलाई अभागी त ठान्दिनँ तर मेरो निधारमा त्यो भाग्य भन्ने जिनिस नै थिएन होला !”

“उनकी छोरी छिन्, उनीजस्तै । मायाँ भनौँ वा जे भनौँ । उनकी छोरी पढ्ने स्कुलअगाडी नै मैले घर लिएको छु । हरेक दिन उनकी छोरीलाई हेर्छु । आँखा रसाउँछन् । म ती अबोध बालिकामा विनीता देख्छु, उनी पनि अबोध नै थिइन्, जतिबे ला हामी आँखा जुधाएर कुरा गर्न सक्दैनथ्यौँ । उनको धेरै मायाँ लाग्छ । हप्तामा एकदिन उनीसँग बोल्ने समय मिल्छ । स्कुलको गाडिको रुट मिलाउँदा उनी केहीछिन स्कुलमै बस्नुपर्छ, त्यही बेला म सबै काम छोडेर भए पनि पुग्छु । उनको नासो हो, मन त्यसै भक्कानिन्छ ।”

भावना बग्दै उसैले भन्यो, “मैले किन उनकी छोरीको स्कुलअगाडि किन घर किनेँ थाहा छ ?”

युवतीले भनिन्, “भन्नुस् न ।”

“एकदिन अफिसबाट फर्किने बेला एउटा स्कुल भ्यान बिग्रिएर ती सानी नानी खेलिरहेको देखेँ । ती तोतेबोली बोल्ने सानी नानीले मलाई साह्रै आकर्षित गरिन् । उनी विनीताकी छोरी हुन् भन्ने मलाई थाहा थिएन । मैले उनको परिवारको सबै कुरा सोधेँ, उनले घरको सबै कुरा बताइन् । उनले मामुको नाम विनीता भन्दा म सयौँ मिटरतल छाँगामा खसेजस्तै भएँ । अनि मैले उनको नाम सोधेँ, ‘यति राम्री नानुको नाम पुतली हो ?’

“पुतली त उड्छ नि अङ्कल, म त उड्न सक्दिनँ नि, मामुले त मेरो नाम नवीना राख्दिसेको छ नि ।”

नवीनाले भनिन्, “मामुले धेरै मायाँ गर्सिन्छ, मामुले पनि काम गर्ने भएर मलाई भ्यानले लिन आउँछ, थाहा छ ? अङ्कल, बाबासँग त मेरो भेट पनि कैलेकैले मात्रै हुन्छ, बाबा घरमा ढिला आइसिन्छ अनि मसँग भेट्न नपाउँदै बिहानै गइसिन्छ, मामुले भनिसेको बाबा त ठूलो बिजिनेसम्यान होइसिन्छ रे ।”

“त्यो दिन जति जिन्दगीमा म कहिल्यै रोएको छैन । यति रोएँ कि, विनीताप्रतिको मायाँले झन् मन भरिएर आयो । आँखाभरि आँसुमात्रै आयो । अनि त्यो दिन जिन्दगीमा यति धेरै रक्सी पिएँ नि, होसै गुमाएछु । सायद विनीताले मलाई नभुल्नलाई नै छोरीको नाम नवीना राखिन् होला भनेर म धेरै रोएँ । खै ! किन हो ? उनीप्रति झन् श्रद्धा पो बढेर आयो ।”

उनीसँगको बिछोडपछि बिहे भन्ने चिजसँग मोह भङ्ग भो । जे थियो अब मन बाँड्दिनँ भनेर जीवनको ४६ वर्ष यत्तिकै बिताएँ । अब खासै कुनै चिजको मोह छैन ।

उनले भनिन्, “मोह नभएर के भो र ? यहाँ मान्छेले भोगेका राम्रा नराम्रा सबै कुराको हिसाब हुन्छ ।”

“जस्तै ।” उसले प्रश्न सोध्यो ।

“मायाँको भएजस्तै ।”

“बुझिनँ ।” उनले अनभिज्ञता जनायो ।

“जसरी तपाईँले मायाँ गरेको रेकर्ड हुन्छ, तपाईँले सेवा गरेको, सेवा लिएकोदेखि उपभोग गरेको सबै चिजहरूको यहाँ रेकर्ड हुन्छ । अर्को कुरा तपाईँले उपभोग गरेको कुराको रोयल्टी यहाँ पाइन्छ ।”

“कसरी ?” उनले आश्चर्य मान्दै सोध्यो ।

“नवीनजी, तपाईँ अहिले स्वर्गमा हुनुहुन्छ । म यहाँकी अप्सरा हुँ । पृथ्वीका हरेक मान्छेको रेकर्ड राख्ने जिम्मा हामीले पाएका हुन्छौँ । तपाईँको रेकर्ड मसँग छ, मजस्ता यहाँ धेरै साथीहरू छन् जसले पृथ्वीबाट आएका तपाईँजस्ता मानिसहरूको रेकर्ड हेरिरहेका हुन्छन् ।”

उनले सम्झाउँदै भनिन्, “तपाईँले रोयल्टी पाउने कुराचाहिँ हामी मन्द विष बेच्ने कम्पनीहरू (चिसो पेय पदार्थ, मदिरा, चुरोट, जङ्क फुड, रासायनिक औषधि) लाई रोयल्टी तिराउँछौँ ताकी पृथ्वीमा रहँदा सेवन गर्नेले यहाँ आएपछि केही भए पनि राहत पाओस् । तपाईँले जति रक्सी खाएर कम्पनीको व्यापार बढाइदिनुभो नि, उसले त्यहीबापत अहिले तपाईँलाई रोयल्टी तिर्छ र तिर्नुपर्छ किनकि मान्छेको ‘आयू’ भन्दा ठूलो केही हुन्न । मान्छेले आयु हुँदा नै सबै गर्न सक्छ ।” उनले व्यक्तिको कारण वायुमण्डल कति दूषित भयो, ध्वनी प्रदुषण कति भयो त्यसको पनि सजाय भुक्तान गर्नुपर्ने बताइन् । उद्योग, कलकारखाना चलाउनेहरूले ध्वनी र दूषित हावा बनाएबापत जरिमाना तिनुपर्ने बताउँदा वातावरण जोगाउन भूमिका खेल्नेहरूले रोयल्टी पाउने पनि बताइन् । अरूलाई दिएको पीडादेखि अरूलाई गरेको सहयोगसम्मको रेकर्ड हुने यसले थाहा पायो ।  पृथ्वीमा हुँदा गरेका अत्याचारको सजाय यहाँ भोग्नुपर्ने रैछ भने राम्रा कामको ‘जश’ पनि । उसले धन्य सम्झँदै मनमनै भन्यो, “तब न स्वर्ग !”

“रोयल्टी चाहिँ किन र कसरी तिर्छ ?” उसलाई अनौठो लाग्यो ।

“बजार भएपछि व्यापार हुन्छ र हुनैपर्छ । भौतिकवादी दुनियाँमा उत्पादन र बिक्री नभै रोजगारी हुँदैन । रोजगारी नभै मान्छेले जीवन धान्न सक्दैन तर रोजगारी हुने नाउँमा सबै व्यवसायलाई एकै नजरले हेर्नु पनि हुन्नँ । त्यसैले ती कम्पनीहरूलाई हामीले नाफाको हिस्साबाट रोयल्टी छुट्याउन भनेका छौँ र त्यहीअनुसार गर्छन् किनकि वस्तुवादी दुनियाँमा व्यापार ठूलो हो । कसले कति व्यापार गरिदियो उसको सबै रेकर्ड हेरेर रोयल्टी दिने हो । तपाईँहरूको भाषामा “कमिसन” भने जस्तै ।” उनले स्पष्ट पार्ने प्रयास गरिन् ।

“पृथ्वी र स्वर्गका बीच यो पनि सम्भव भो अब ?” ऊ छक्क पर्‍यो ।

उनले एकै लाइनमा भनिन्, “यो सबै उनैको लीला हो, जसले यो संसारको सृष्टि गरे ।”

ऊ झल्याँस्स ब्युँझियो । घडी हेर्‍यो, बिहानको ४ बजेछ । एक गिलास पानी पियो । उसले थाहा पायो अब बाँच्ने दिन धेरै छैनन् ।

उसले सबै सम्पत्ति नवीनाको नाममा गरिदियो । स्कुल पुगेर उनलाई छातीमा टाँसेर धित मरुन्जेल अँगालो मार्‍यो, यसअघि उसले यस्तो कहिल्यै गरेको थिएन । उनलाई मन पर्ने केही थान कपडा, केही चकलेट, “धेरै मायाँ” लेखिएको तकियाजस्तो कपडा र गुडिया हातमा दिँदै भक्कानिँदै भन्यो, “तिम्रो मामुलाई नवीन अङ्कलले धेरै सम्झेको छ भन्दिनू है छोरी ।” नवीनालाई पहिलोपल्ट छोरी भनेर सम्बोधन गर्‍यो अनि आँसु पुछ्दै उनको नजरबाट धेरै टाढाको बाटो लाग्यो ।