साउनको शनिबार साँझ । झमक्क साँझ पर्न लागेको थियो । कम्प्युटर रुममासमाचारको तयारी चलिरहेको थियो। दायाँ हातको औलाले ल्यापटपको किबोर्डमा हिर्काइरहेको थिएँ । बायाँ हातले मोबाइलमा फेसबुकको पाना पल्टाइरहेको थिएँ । नयाँ जानकारी लिइरहने जिज्ञासाले मोबाइलको स्क्रिन बेला–बेला औलाले सार्थँे । त्यही बीच केही तस्विर, एउटा भिडिओ स्वात्त स¥यो । “जस्टिस फर ज्योति” लेखिएको शब्दमा ध्यान गयो ।
सामाजिक सञ्जालमा चाहिने–नचाहिने कुरा आइरहन्छन् । सबैलाई ध्यान दिएर साध्य पनि छैन । तर ज्योतिको नाम कतै सुने जस्तो लागेकाले विवरण नपढी अगाडि बढन सकिन । मनमा लाग्यो कही उही ज्योति त हैन् । विवरणमा सप्तरीको सुरुङ्गा लेखिएकोले झनै जानकारी लिन मन लाग्यो । हत्तपत्त उपप्रमुख बिन्दा पासवानजीलाई फोन लगाए ।

‘नमस्कार उपप्रमुखजी, अपनेके गाउँमे कोनो घटना भेल की?’ तपाईँको गाउँमा कुनै घटना भएको हो भनेर सोध्न नपाउँदै उनले भनिन्‘जी सर । अहाके कहने छेलु न । साढे एक महिना अगा अहिक सल्लाह आ सहयोगसँ प्रहरी लेजाक होटलस उद्धार क के गाउँ लाबने छेलौ न, हँ ओही ज्योति छिय ।’ म स्तब्ध भए । उनै ज्योति थिइन जसलाई असारको पहिलो साता लहानको पुष्पाञ्जली होटलबाट उद्धार गरेर ल्याइएको थियो ।

म अवाक भए । मेरा बोल्ने शब्द हराएका थिए ।के बोल्ने, के सोध्ने मेसो भएन । कान थापिरहेको थिए । बिन्दाजीले एकपछि एक भएको घटना विवरण बताउँदै गइन् ।

‘कते कहलु मुद्दा कर, घरसमाजमे दिक्कत अछि त सेफ हाउसमे राखि देइछी । मानबे नै केलक कोनो

मनोहर पोखरेल

बात । कहलक आब ठिक छि, धिरेधिरे ठिक भ जायब । मनके गडल घा हमहु सब नही बुझ सकलौ । मनमे पीडा जमा करैत–करैत भरी गेला ।’बिन्दाजी एक साँसमा भन्दै थिइन् । म भने सुन्ने हिम्मत जुटाइरहेको थिएँ,‘पेडा ताकैत छल आ पीडा जमा करैत गेल । जौ बर्दाश्त सँ फाजिल भ गेला, शनिके भोरे घरेमे लटैक गेल ।’

भाउन्न होला जस्तो भयो । म रिसाएँ, कराएँ, अफशोच जताएँ । तर अब यी सबको खासै अर्थ थिएन । लागेको थिएन, घटनाले यती गम्भीर मोड लिन्छ भनेर । अफशोच लाग्यो, ज्योतिलाई जिवितमा न्याय दिलाउन सकिएन् । १९ वर्षकै उमेरमा विवाह गरेकीले विवाह दर्ताका लागि माग गर्न पनि सकिएन । अपहरण तथा शरीर बन्धक र बलात्कारको उजुरी दर्ता गर्न उनी तयार भइनन ।हामीले उनलाई सम्झाउनै सकेनौ, प्रेममा अन्धो भएको आँखा खोल्नै सकेनौ । उनी उनको कन्हैयाप्रति पूर्ण विश्वस्त थिइन् । कन्हैयाले धोका दियो भनेर घरपरिवार, समाजले भन्दा–भन्दा थाके । उनको मनले मानेन । बाटो कुरेर बसिन् । तर कन्हैया आएनन । उनको फोन पनि आएन । लगातार कन्हैयाको फोन स्विच अफ रह्यो । तनाव थपिँदै गएपछि जीवन अँध्यारो लाग्न थाल्यो । ज्योति मलिन हुँदै गयो र निभ्यो । एउटा प्रेमको दर्दनाक कथा ।

आफ्नै घरको धरिन (बलो)मा सलको पासो लगाएर झुण्डिई भनेपछि बिन्दाजील भनेका आधा कुरा सुनें, आधा सुनिनँ । त्यस्तो सुनेपछि म बेहोसजस्तै भए । दुई महिना अघिको कुरा एकएक सम्झिन थालेँ । ज्योति विचल्लीमा परेको घटनाबारे पहिलो पटक जानकारी दिने बिन्दाजी र विश्वेन्द्र पासवानले गरेका कुराहरु सम्झिन थाले । एक महिनासम्म त फ्लोअप गरिरहे । तर ज्योतिले कन्हैया फर्किएर आउने विश्वास दोहो¥याई रहिन् । प्रेमीविरुद्ध कुनै हालतमा उजुरी नदिने अडान पनि दोहो¥याइ रहिन् । हामीले हरेस खायौँ ।

सुरुङ्गाको पोखरिया गाउँको कुरा हो । ज्योतिका बुवा प्रमोद र कन्हैयाका बुवा अकलेश सबैभन्दा मिल्ने साथी थिए । बाल्यकालका लंगौटिया साथी । खानपिन, बसउठ, रोजगारी सबैसँगै हुन्थ्यो । यिनको जोडी गाउँमै कृष्ण र सुदामा जस्तो भनेर कहलिएको थियो । एकले अर्काको लागि ज्यान दिन तयार हुन्थे । रोजगारका लागि भारतको मुम्बई गएपछि अकलेशले प्रमोदलाई पनि उतै बोलाए । खाँडी मुलुक जाने भनेर दुबैले सल्लाह गरेरै विदेशिए । दुबैको आर्थिक स्थिति पनि उकासियो ।सुखदुःखमा दुबैले एकअर्कालाई खुबै साथ दिए ।
यसै क्रममा प्रमोदको कान्छी छोरी ज्योति र अकलेशका छोरा कन्हैयाको बारम्बार भेट भयो । उनीहरु पनि नजिकिँदै गए । हेर्दा आकर्षक थियो कन्हैया । दयालु र कोमल थियो । त्यसमाथि कलिलै उमेरमा बिरगञ्जमा काम गर्न थालेका थिए । ज्योति पनि गाउँमै सुन्दर थिइन् । पुक्क परेको गाला, बाटुलो अनुहार, गहुँगोरी र हँसिलो मुहार थियो । घर एकै ठाउँ । कन्हैयाले खुब पच्छ्यायो । फकायो । माया गर्छु भन्यो । तिमी बिना मर्छु भन्यो । मर्ने प्रयास पनि ग¥यो । ज्योतिलाई पनि माया गरेकै जस्तो लाग्यो । र, दिन–दिनैको टेलिफोन र भेटघाटले उनीहरु दुई जनामा माया बस्यो । प्रेमी, प्रेमिका भए । बिहे गर्ने योजना बन्यो ।सँगै मर्ने, सँगै बाँँच्ने कसम खाए ।
यी सब कुराबाट बेखबर प्रमोदले बढदै गएकी छोरीका लागि केटा हेर्न थाले । राम्री भएकीले धेरैतिरबाट कुरा पनि आउन थाल्यो । जति पटक कुरा चल्थ्यो, ज्योतिले बहाना बनाएर बिहे टार्थिन् । उनको समुदायमा यो उमेरकी किशोरी २ सन्तानकी आमा भइसके भनेर आमा इनरदेबीले चिन्ता गर्न थालेकी थिइन् । बिहेका लागि ज्योतिलाई हेर्न विराटनगरबाट फागुनको पहिलो साता केटा पक्ष आयो । हेर्नासाथ केटा पक्षले मन पराए । फागुनकै राम्रो लगनमा बिहे गर्ने पक्का भयो । यसपटक भने आफूले विहे रोक्ने कुनै बहाना नपाएको र नसकेको भनेर ज्योतिले कन्हैयालाई जानकारी दिइन् । कन्हैया दोधारमा परे । चिन्तामा परेर टुन्न रक्सी धोके । थोरबहुत हिम्मत बटुले । रक्सीले लठ्ठिएकै अवस्थामा सोही राति ज्योतिको घर पुगे । ज्योतिसँग आफ्नो विवाह भइसकेको भन्दै होहल्ला मच्चाए । आफ्नोश्रीमतीसँग अरुले विवाह गर्न पाउँदैन भनेर झगडा गरे । गाउँलेहरुले टाउकोमा हात लाए । कानेखुशी चल्यो । एक कान दुई कान हुँदै रातभरमै कन्हैया र ज्योतिको प्रेम गाउँमा फैलियो ।
जोडी त खुब मिलेको थियो । उमेर, उचाई, बानी, व्यवहार, भाषा, बोली, गाउँ, दोस्ती सबै मिलेको थियो । बुवाहरुको दोस्ती पनि बेमिसाल थियो । मात्र एक थोक मिलेको थिएन, जात । मैथिल ब्राह्मणको छोराकन्हैया र दलित दुसाँधकी छोरी ज्योति। कानुनले आफूले चाहेको व्यक्तिसँग विवाह गर्ने अधिकार दिएको छ, तर समाजले कानुन मान्दैन । यो कुरा बुझेका प्रमोदले सम्झाई बुझाई कन्हैयालाई उनका घर लगेर जिम्मा लगाए । कन्हैयाले बेस्सरी कुटाई खाए । तर पनि कन्हैयाले बोली फेरेनन, आफ्नो अडान छाडेनन् । मिश्र परिवारले अनेकन प्रलोभन, डर, धाक, धम्की देखाए । घरसम्पतिबाट एउटा फुटी कौडी पनि नपाउने भनी अकलेशले धम्क्याए । कन्हैयाले एकहोरो जिद्दी लिएपछि गाउँमा पञ्चायती बस्यो । धनसम्पति र ज्योतिमध्ये एउटा रोज्नु पर्दा उनले हाँसीहाँसी ज्योतिलाई रोजे । प्रेमका लागि गाउँ, समाज, घर परिवार सबै त्याग्न तयार रहेको बताए । वडा कार्यालयमा वडाध्यक्ष शिवनारायण चौधरीको रोहवरमा सम्पत्तिमा कुनै अधिकार नरहेको कागज तयार भयो । कन्हैयाले दुबै औठाले छाप लगाएर हस्ताक्षर गरिदिए ।

घरबाट निकाला भएका कन्हैया ज्योतिको घर पुगे र हात मागे । ज्योतिका लागि आफूले सबै थोक त्यागेर आएकोले अब आफूसँग ज्योतिबाहेक केही नरहेको बताए । ज्योति नभए जीवन पनि नरहने घोषणा गरे । ज्योति ढोकाको चेपबाट सबै कुरा सुन्दै थिइन । प्रमोद र इनरदेबी पासवानले ढोकातर्फ हेरे

“ज्योति एम्हर या” प्रमोदले हपारे । डराउँदै आएर उनी भुईतर्फ हेरेर निहुरिन । अप्ठ्यारो मानेर भुईमा औलाले कोट्याउन थालिन् । एकक्षणको सन्नाटापछि प्रमोदले भने– “लु भन तिम्रो के इच्छा छ छोरी । सामाजिक रितिथिती, चालचलन बुझेका छैनौ । पछि गाह्रो पर्छ ।”

ज्योतिले उत्तर दिनु भन्दा अघि नै कन्हैयाले खुशीसाथ राख्ने प्रतिवद्धता दोहो¥याए । “मेरो विश्वास गर्नुस मैले सबै सोंचेर निर्णय लिएको हुँ, छोराछोरीको खुशीभन्दा ठूलो बुवाआमालाई अन्य कुरा नहुनु पर्ने हो । हामीलाई अलग गराएर हामी बाँच्नै सक्दैनो भने यहाँहरु कसरी खुशी रहन सक्नु हुन्छ । तसर्थ कृपा गरी हामीलाई अलग नगर्नुस ।” हात जोडेर रुन थालेपछि आँगनमा ओर्लेर ज्योतिले प्रमोदको हात समाइन् र धरधरी रुन थालिन् । दुबै जनाले एकले अर्कालाई अंगालो मारेर बेस्सरी रुन थाले ।

छोराछोरीको जिद्दीका अगाडि केही सिप लागेन । भोलिपल्टै कन्हैया र ज्योति विदा भए । गाउँबाट निक्लदै गर्दा काका मिथलेशकहाँ पसे । त्यसपछि सिरहाको जिरो माइलस्थित दिदी रुबीको घरपुगे । दिदीले मिर्चैयामा डेरा खोजि दिइन् । ठूलो अवरोध पन्छाउन सकेकोमा उनीहरु विजयी भावमा थिए । कन्हैयाले प्रेमलाई अमर बनाएरै छाडने अदम्य साहस देखाए । ज्योतिले साथ दिइन् । एकाकार हुन पाउँदा सपना साकार भएको थियो ।कन्हैयाले रत्तिभर चिन्ता नलिन भन्दै मायाले अंगालोमा बेर्थे । यर्ही मायामा ज्योतिले सर्वस्व सुम्पिएकी थिइन् । सउदीमा रहेका ज्योतिका दाजु रामबाबुसँग सामाजिक सञ्जालमार्फत उनीहरु जोडिएका थिए । कन्हैयाले आफ्नो फेसबुकमा ज्योतिले सिन्दुर लगाएको सँगैको सेल्फी तस्बीरहरु बेला–बेला पोस्टाइ रहन्थे । उनलाई बिस्तारै घर परिवारले पनि स्विाकार गर्ला र सब ठिकठाक होला भन्ने आशा पनि थियो । दिन, हप्ता, महिना रमाइलोसँग बितिरहेको थियो ।

साढे तीन महिनापछि साथमा रहेको रुपियाँ पैसा सकिदै गयो । काम नखोजी धेरै दिन गुजारा नचल्ने आभास भइसकेको थियो । नजिकैको ठूलो बजार लहान थियो । ठूलो बजारमा केही काम पाइएला भनेर उनीहरुले मिर्चैयाको डेरा छाडे । लहानमा काम खोज्न केही दिन लाग्ने भएकाले तत्कालका लागि उनीहरुले लजमा बस्ने निधो गरे । पूर्व–पश्चिम राजमार्गस्थित अस्पताल रोडको पुष्पाञ्जली लजको एउटा कोठा बुक भयो । कामको खोजीमा थिए कन्हैया । जेठ ३० गते लजमा आएका कन्हैया दिनभरी हराउँथे । ज्योति भने लजमै रहन्थिन् । काम नपाएर निराश हुँदै फर्किएका उनी रिसाउन थालेका थिए ।कुरा–कुरामा झर्को–फर्को गर्थे ।आर्थिक अभाव अनी कल्पनै नगरेको कन्हैयाको रुखो व्यवहारले ज्योति आत्तिइन् । पैसा अभाव हुँदै गएका बेला लजको भाँडा र होटलको खाना महँगो पर्न थालेकोथियो । यही कारणले तनाव बढेर व्यवहार परिवर्तन भएको होला भन्दै मनलाई सम्झाउँथिन् । दुई दिनपछि काम र डेरा दुबै खोज्नु प¥यो भन्दै कन्हैया लजबाटनिक्लिए ।

यसपटक भने कन्हैया फर्केर आएनन् । बाहिर निक्लदा उनले ज्योतिको मोबाइल समेत लगेका थिए । होटलको नम्बरबाट फोन गर्दा सम्पर्क हुन सकेन भन्ने जवाफ आइरह्यो । मनमा अनेकथरी शंकाले एकैपटक घे¥यो । कतै दुर्घटना पो परे कि, कसैले कुटपिट गरेर घाइते पो बनायो कि वा घरपरिवारले अपहरण गरेर बन्धक बनायो जस्ता आशंकाले मनमा डेरा जमायो ।होटल, लजलाई तिर्ने पैसा थिएन । दुई दिन भोकै सुतिन् । मोबाइल समेत लगेकाले कसैको नम्बर पनि थिएन । एउटा कागजमा दिदी आरतीको फोन नम्बर गाजलले लेखेर राखेकी थिइन् । अघिल्लो दिन कन्हैयाले झगडा गरेर मोबाइल लगेपछि सो रातिउनले आँखामा लगाउने गाजलले दिदीको नम्बर उतारेकी थिइन् ।

झण्डै चार महिनापछि ज्योतिले आरतीलाई फोन गरिन् । होटलको नम्बरबाट गरे पनि आवाज चिनी.हालिन । खुशी हुँदै बहिनीसँग गफिन खोजेकी आरतीको अनुहार तुरुन्तै मलिन भयो । ज्योति हिक्क हिक्क गर्न थालिन् । ज्योतिको सर्वस्व लुटेर कन्हैया कोठाबाट फरार भएका थिए । ज्योतिले फोनमा भनिन्, ‘म अलपत्र छु, होटलमा छाडेर गएको कन्हैया दुई दिनदेखि बेपत्ता छ ।’ पैसाको अभावले खान नपाए पछि र लज मालिकले पैसा तिरेर कोठा खाली गर्न दबाब दिएपछि ज्योतिले माइत सम्झेकी थिइन् । छोरीलाई बिचल्लीमा पारेको कुरा प्रमोदले केही गाउँलेसहित जनप्रतिनिधिलाई सुनाए । लहान पुगेका ज्योतिका परिवारले अधिकारकर्मी र लहान प्रहरीको सहयोगमा ज्योतिलाई उद्धार गरे। अधिकारकर्मीको पहलमा अपहरण तथा शरिर बन्धक र बलात्कारको उजुरी लिन लहान प्रहरीका डिएसपी तयार भए । तर प्रेमीका विरुद्ध उजुरी दिन ज्योति नै तयार भइनन् । त्यसपछि घरसल्लाह गरेर आउँछौ भन्दै प्रमोदले छोरीलाई घर ल्याए ।

फकाई, फकाई विश्वासमा माया गर्छु भनेपछियौवन सुम्पिएकी ज्योतिको सर्वस्व लुटेर होटलबाट फरार भएको थियो, उनको कन्हैया । कन्हैयाले लगेका दुबै फोन अफ ग¥यो । व्हाट्सएप, इमो, भाइबर, फेसबुक सबै ब्लक ग¥यो । आजसम्म पनि सम्पर्कमा आएन । ज्योति झण्डै २ महिना माइतमा उसकै बाटो कुरेर बसिन् । कन्हैया निस्किँदा होटलको भाँडा मँहगो परेकाले कोठा खोजेर आउँछु र बैना पनि दिएर आउँछु भन्दै ज्योतिले लुकाएर राखेको पैसा समेत माँगेर लगेको बताइन् ।कता अलप भए केही अत्तोपत्तो पाइनन् । पर्खिएर बस्छु भनें तर, आएनन । यति भन्दै गर्दा टिलपिल टिलपिल गरेका उनका आँखा बग्न थाल्यो । एक्लो भएपछि माइतले सहारा दिएको थियो । मुद्दा नगर्ने भए अर्को विवाह गर्न सम्झाएको थियो । ज्योति प्रेमीविरुद्ध मुद्दा गर्न तयार भइनन्, अर्को विवाहका लागि पनि उत्सुक भइनन् ।कन्हैयाका बुवा गाउँमै खेतीपाती गरेर बस्छन् । प्रमोदलाई लाग्यो, अहिले बोलचाल बन्द भएपनि अकलेश बालकैदेखिका साथी हुन् । छोराले त्यसो गरेर भागेपनि बुवाले कुरा बुझ्लान्, समस्याको समाधान निस्केला ।

तर उल्टो उनले धम्की पाए ।मेरो छोरालाई फँसाएर बेपत्ता बनाएकोमा बाउ–छोरी दुबैविरुद्ध मुद्दा गर्छु भनेर कुर्लिए । राजनीतिमा पनि लागेका केटाको बा’को कुराले उनको मुटु हल्लियो ।छोराविरुद्ध उजुरी नगरोस भनेर घरी फकाउने, घरी धम्क्याउने गथ्र्यो कन्हैयाको बुवाले ।विश्वास गरेर आफैले रोजेर गएकी थिइन् । अचानक गायब भएको थियो उनको प्रेमी । आफ्नो गल्ती थिएन भनेर सम्झाउन लाख कोशिश गरिन तर, दोष उनकै टाउकोमा थोपरियो । जनप्रतिनिधिबाट पनि सकारात्मक कुरा आएन । उनलाई बुझिदिने र पक्षमा बोलिदिने समाज भएन् ।१९ वर्षीया एउटा युवतीको मन मायाले चिथोरेको देखेर विरक्तै लागेर आयो । अब उनको एउटा मात्रै उद्देश्य रह्यो, कन्हैयालाई पत्ता लगाउने र वास्तविकता बुझ्ने ।

२ महिनाको यो बीचमा उनले कहिल्यै नसकिने शिक्षा पाइरहेकी थिइन् । उनको उमेर २० वर्ष पुग्न ४ महिना बाँकी नै थियो । देख्छु, सुन्छु यो उमेरका कति केटा, केटीका लागि मायाप्रेम सामान्य खेल हो । माया, प्रेम गाँस्नु, छुट्नु सामान्य विषय हो । तर, उनलाई यो कुरो पटक्कै सामान्य लागिरहेको थिएन । अप्रत्याशित र कल्पनै नगरेको कुरा थियो । चार महिनाकै अन्तरालमा प्रेमको साथ पाउँदाको साहस र प्रेमले छोडदा पाएको चोटले पारेको गहिरो प्रभाव, सायद उनलाई मात्रै थाहा छ ।मान्छेलाई लाग्दो हो, घामपानीको जीवनमा प्रेम, विछोडसामान्य हो । शुरुमा त मलाई पनि यस्तै लागेको थियो । तर, गहिरिँदै जाँदा लाग्यो, ज्योतिको प्रतिक्षा, विश्वास, समर्पण आम प्रेमी, प्रेमीकाहरुको लागि हो । उनको प्रेमी धोकेबाज होइन भनेर उनलाई साबित गर्नु थियो । उनको २÷४ कुराले मनमै छोयो । उनले प्रेममा अटुट विश्वास गरिन् । उनले प्रतिक्षा गर्ने आँट गरिन् । के मात्रै भनेनन्, उनलाई गाउँलेले ? उनको नाम जोडेर अनेकथरी चर्चा भइरहन्थ्यो । दुनियाले जे भनोस् प्रवाह गरिनन् ।

गाउँलेहरुले सोझोपनको फाइदा उठायो भने । धोका दिएपनि अmझै विश्वास गरेरहेकी लाटी भने । आफ्नो जातमा विहे नगरेर बडो बाहुनी हुन पल्टेकी भन्ने पनि निक्लिए । परिवारकै संलग्नता र योजनामा कन्हैया लुकेको चर्चा पनि चल्यो । उनले कान थुनिन । तैपनि कानमा यस्ता स्वर गुञ्जिरहे । जातीय विभेदको जरो त भित्रभित्रै लुकेको पो रहेछ । बाहिर हेर्दा नदेखिने तर भित्रभित्रै नरिवलको जराजस्तै फैलिएको । उनले विहान, दिउँसो, बेलुका गरेर लगातार मोबाइल घुमाइन् । मोवाइलले स्विच अफ मात्र भन्यो । तनाव बढन थाल्यो । विश्वासको पीलर धर्मराउन थाल्यो । विजातीय विवाहकै कारण कन्हैयाले छाडेर अलपत्र पारेको र जीवन दलदलमा फसेको महसुस गरिन् । दलितको कोखमा जन्मनुलाई नै दोष दिन थालिन् । कथित उपल्लो जातकी युवतीसँग प्रेम विवाह गर्ने दाजुभाईले जबरजस्ती करणी, अपहरण र शरिर बन्धक मुद्दामा जेल जीवन कटाइरहेको दृष्य आँखामा नाच्न थाल्यो । कथित उपल्लो जातका युवकसँग प्रेमविवाह गर्ने दिदीबहिनीहरूले आत्महत्या गरेको झलझली सम्झना आयो ।

घरभन्दा केही पर गाउँमै उनका बुवा प्रमोदले सानो पसल थापेका थिए । शनिबार बिहान उनका बुवा र आमा पसल गएका थिए । बहिनी अलपत्र परेको घटनापछि विहे गरेकी दिदी आरती पनि माइतमै आएर बसेकी थिइन् । राति सँगै सुत्ने गरेकी आरती पनि विहान पसल गएकी थिइन् । ज्योतिकी भाउजू रन्जु पल्लो कोठामा काखे बालकलाई दुध खुवाइरहेकी थिइन् । पसलबाट प्रमोद घरको पिलर निर्माणका लागि प्लेनसिट लिन नजिकैको कदमाहा बजार पुगेका थिए । साइकलमा प्लेनसिट लोड गरिरहेकै बेला आरतीले फोन गरेर घर बोलाइन् । “बाबु जल्दी घर आ ।” घर वरिपरी गाउँलेहरुको भिंड थियो । उनी कि भेल, कि भेल भन्दै भिंड छिचाल्दै घर पस्दा रुवावासी चलिरहेको थियो । उनलाई देखेपछि इनरदेबी र आरती झनै भक्कानिएर रुन थाले । प्रमोदको होस उड्यो । आफ्नै सलले पासो लागेको अवस्थामा ज्योतिको शव झुण्डिएको थियो ।

यो घटना एउटा आत्महत्या मात्र थिएन, जातीय आधारमा दलितमाथि सदियौँदेखि भइरहेको ज्यादती उस्तै छ भन्ने डरलाग्दो प्रमाण थियो । जातका आधारमा गरिने विभेद दण्डनीय बनेपछि पनि दर्जनौले दलित भएकै कारण ज्यान गुमाउनु परेको दृष्टान्त थियो । कोहीले अन्तर्जातीय प्रेम र विवाहका कारण, त कोहीले पानी र चुलो छोएको निहुँमा विभेद भोग्दै आएका छन् । अन्तरजातीय विवाह गर्ने अधिकांश जोडी गाउँनिकालामा परेका छन् । चुलो छुन र प्रेम गर्न निषेध गरिएको दलित समुदायका किशोरीहरूमाथि बलात्कार र अलपत्र पार्ने काम भने भइरहेकै छ । छुवाछुत प्रथा समाजमा जरो गाडेर बसेकोले दलित मात्र होइन, अन्तरजातीय विवाह गर्नेहरू पनि विभेद खेप्न बाध्य छन् । छुवाछूत र जातीय विभेद उन्मूलन गर्न देशले थरीथरीका कानुन बनाएको छ । पटक–पटक घोषणा गरेको छ । पछिल्लोपटक ०६८ जेठ १० मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको छ । तर, जातीय विभेदविरुद्ध कानुन पास भएको यतिका वर्षपछि पनि दलितमाथिको विभेद कायमै छ । विभेदको पीडा बोकेर चुपचाप, चुपचाप बाँचिरहेका कति होलान् यो गाउँमा ? विश्वासमा घात हुँदा कसलाई दोष दिने ? कुन नियमको फेरो समातेर न्याय माग्ने ? यस्ता पीडाबाट गुज्रिएकाको लागि यो समाजले केही बोल्नु पर्छ कि पर्दैन ? म कल्पनामा डुबे ।

केही दिनपछि जिज्ञासा र समवेदनका लागि पुगे । प्रमोदले ज्योति झुण्डिएको धरिन हेरे, उनको परेली छचल्कियो । छातीमा मुडकी बजारे । हामी नभएको मौका छोपिन भनी चिच्याए । मैले टाउको माथि गर्दै धरिन तर्फ चियाएँ, त्यहाँ ज्योतिको शव देखिन । समाजको चेतना झुण्डिरहेको देखे । वर्षौँअघि अन्त्य भएको छुवाछुत प्रथाको घोषणापत्र त्यहाँ झुण्डिरहेको थियो ।

राजविराज, सप्तरी