
कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएर तङ्ग्रिने क्रममा रहेका पचहत्तर वर्षीय नारायण बहादुर थापा आफैले बनाएको आलिशान घरको वैठक कोठामा आराम गरिरहेका छन् । दम र सुगर रोगबाट ग्रस्त श्रीमती उनको छेवैमा छिन् । थापा सरलाई भेट्न आएका उनीसँगै सरकारी सेवाबाट निर्वृत्त तीन जना वृद्धहरू पनि साथैमा छन् ।
नेपाल सरकारको सहसचिव पदबाट सेवानिर्वृत्त थापासरले जागिरबाटै राम्रै कमाए । आलिशान घर बनाए, दुई छोराहरूलाई अमेरिकाको स्तरीय विश्वविद्यालयबाट उच्च शिक्षा दिलाए । छोराहरूको प्रगतिमा उनी अत्यन्तै गौरव गर्छन् । छोराहरूलाई जसरी पनि अमेरिकामा सेटल गराउने उनको उत्कट चाहना थियो । सहकर्मीहरूसँगको कुराकानीमा उनी आफ्ना छोराहरूको प्रगतिको व्याख्या घुसाइहाल्छन् । कान्छालाई पनि अमेरिका पठाउन निकै कोसिस गरे तर कान्छोले अमेरिका जाने चाहना देखाएन । एकदिन साहस बटुलेर बाबुलाई भन्यो, “बुबा म अमेरिका जान्न, घरमै बसेर हजुरहरूको सेवा गरेर बस्छु, म यसैमा धेरै खुसी छु ।” थापा सर विघ्नै रिसाए । त्यसपछि तरिसले झन्डै एक महिना कान्छाको मुखै हेरेनन् ।
कोरोनाबाट मुक्त थापा सर र उनका सहकर्मीहरूबीच कुराकानी चलिरहेको छ । “अनि हजुरका

कति जना छोराछोरी नी?” एक जना सहकर्मीको प्रश्न । “तीन जना छोरा छन् भन्नुपऱ्यो”, थापा सर । “बुझ्नुभो, मेरो जेठा अमेरिकाको नासामा काम गर्छ । महिनाको १२ लाख त तलबै पाउँछ”, सरको मुहारमा मुस्कान झल्किन्छ ।
यत्तिकैमा सरको कान्छाले बावुलाई औषधि र पानी ल्याइदिन्छ । आमा खोक्न थाल्छिन् । कान्छो हत्तपत्त आमालाई तातोपानी ल्याइदिन्छ र आमाको साथैमा बस्छ ।
“अनि माहिलो के गर्छ नि ?”, दोस्रा सहकर्मी सोध्छन् । पुनः थापा सरको मुहारमा रौनक थपिन्छ । उनी सुरु गर्छन्, “माहिलाको त तीनवटा पेट्रोलपम्प छ बोस्टनमा, उसलाई पानी पिउने पनि फुर्सद छैन, जे होस् समय मिलाएर महिना– दुई महिनामा फोन गर्छ बिचरा, गज्जबको प्रगति गऱ्यो त्यसले पनि ।”
जेठा र माहिला गएदेखि नेपाल फर्केका छैनन् । बेला-बेलामा फोनचाहिँ गर्छन् । दुई हप्ता अघि बाबु कोरोनाबाट सङ्क्रमित भएर अस्पताल बस्दा मेसेन्जरमा ‘के गर्ने, के खाने, सबै लेखेर पठायो । कान्छाले दाजुले बुबालाई पठाएको मेसेज देखाएपछि उनी निकै खुसी भएका थिए । “बुझ्नुभो, अस्ति जेठाले आफ्नो डाक्टरलाई सोधेर कोरोनाबाट बच्न गर्न हुने–नहुने सबै लेखेर पठायो, धेरै ट्यालेन्ट छ त्यो” ,थापा सरले बेलीविस्तार लगाए ।
थापा सर कान्छोलाई हकार्छन्, “ए जा त, चिया पकाएर ले ।” कान्छो भान्सामा गएर चिया पकाएर ल्याउँछ र सबैलाई दिन्छ ।
“भनेपछि हजुरको त सबै छोराको राम्रै बन्दोबस्त भएको रहेछ”, अर्का सहकर्मी भन्छन् ।
“केको सबैको राम्रो हुनु नि”, थापा सरको मुहार चाउरिन्छ । थप्छन्, “यो कान्छो बेकार निस्कियो, अमेरिका पठाउन धेरै प्रयास गरियो जान्न मात्रै भन्छ । लौ अमेरिका नभए अस्ट्रेलिया जा भनेँ । फिटिक्कै मानेन । यहीँ बसेको छ, योचाहिँ हुतीहारा निस्कियो, छोरो भन्नै दिक्क लाग्ने !”
“धेरै नबोल्नुस बा, शरीर अझै पूरै तङ्ग्रिएको छैन, भरखरै मात्र कोरोना हराएको” कान्छाले ब्ल्याङ्केटले बाबुको खुट्टा छोपिदियो । बाबुको पारा झनै बढ्यो, “जा तँ, मेरो अगाडि बस्नै पर्दैन, निकम्मा साले ।”
छोरो बावुआमाका लागि खाना पकाउन भान्सातर्फ लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 





