पहिलोपल्ट कलेजको गेटबाट भित्र पस्दा मुतले बेस्मारी च्यापेको थियो ! हान्निँदै शौचालय पुगेको थिएँ ! पुरानो दरबार अहिले हाम्रो कलेज भएको थियो । कुनै बेला दरबारको अँध्यारो कोठाबाट उज्यालो प्रकाश पनि बाहिर निस्कन डराउँथ्यो । अहिले तिनै अँध्यारा कोठाहरूबाट शिक्षाको उज्यालो प्रकाश देशभर फैलिरहेथ्यो ।

हाम्रो कलेज नाम चलेको कलेज थियो सहरको । सरकारी कलेज गाउँबाट सहर पढ्न आएकाहरूको पहिलो रोजाइको कलेज पनि हो । म पनि त मध्य पश्चिमको एउटा गाउँबाट आएको थिएँ यहाँ । हरेक दिन सपनाहरू खेल्ने, कुद्ने, उफ्रने सुन्दर बगैँचाको छेउमा थियो कलेजको शौचालय । बाहिरबाट हेर्दा त्यो पनि त भव्य थियो ! दरबारको शौचालय हामी गाउँलेको घरभन्दा भव्य र ठुलो थियो !

पहिलोपल्ट शौचालय पुग्दा मेरो आन्द्राभुँडी गुजुमुल्टिएर मुखसम्म आएको थियो ! धन्नै पोखिएर भुईँमा झरेको थिएन ! म पहिलोपल्ट नर्कमा पुगेको थिएँ ! नाक थुनेको थिएँ ! मुतले च्यापेको थियो ! रोक्न सकेको थिइँन ! भित्तामा तुर्क्याएर हिँडेको थिएँ !

सहरको भव्य कलेजको शौचालयभित्र दुई मिनेट रोकिँदा मेरो आँखा भित्तामा इट्टाले कोरिएका थुप्रै वाक्यहरूमा सोझिएको थियो । मुखले भन्न नहुने, मनमनै सम्झन हुने वाक्यहरू थिए त्यहाँ ! अरूले देख्नेगरी कोर्न नहुने, सुटुक्क कोर्न/हेर्न मिल्ने दृश्यहरू पनि कुँदिएको थियो इँटाले ! तीन-चारवटा मोबाइल नम्बरहरू भित्तको शोभा बढाउँदै थिए ! मोबाइल नम्बरको मुनितिर लेखिएको वाक्यले बढी तानिएको थिएँ म । त्यहाँ कुनै केटीहरूको नाम लेखिएको थियो र लेखिएको थियो, “सेवामा जुनसुकै बेला हाजिर छु !”

कस्तो सेवा थियो त्यो, मलाई थाहा थिएन ? मोबाइलले टुच्च खिचेर बाहिर निस्केको थिएँ ! आवश्यक परेको कुनै दिन सेवा लिन्छु भन्ने सोचेको थिएँ !

बिस्तारै अभ्यस्त हुँदै थिएँ सहरसँग । बिस्तारै अभ्यस्त हुँदै थिएँ सहरका शौचालयहरूसँग । कलेजको शौचलायसँग थोरै बढी अभ्यस्त भएको थिएँ ! भित्तामा अश्लीलता, भुईँमा फुटेका ढाल नभेटिएको शौचालय छिर्दा मुत नआउला कि भन्ने डर हुन थालेको थियो ! दुर्गन्ध शौचालयको विशेषता थियो ! सहर दुर्गन्धित शौचालयहरूको केन्द्र थियो !

गाउँमा शौचालय भर्खर बन्न लागेका थिए । हामी बारीका कान्लातिर बोडी चपाउँदै सुइक्याउँथ्यौँ ! दुर्गन्ध थिएन ! नर्क थिएन ! खुला थियो ! हामीलाई खुलै रमाइलो लाग्थ्यो !

सहरको एउटा कुनामा कोठा भाडामा लिएर बसेको थिएँ । कलेज जानेआउने बाहेक अरू कुनै काम थिएन । मोबाइल साथी थियो । मोबाइल खेलाउँदै जाँदा कुनै दिन शौचालयमा खिचेको फोटामा गएर रोकिएको थिएँ ! जहाँ लेखिएको थियो, “सेवामा जुनसुकै बेला हाजिर छु !”

सहरमा घुलमिल भइसकेको थिएँ । थुप्रै सेवाहरूको बारेमा जानकारी पाइसकेको थिएँ । शौचालय सेवाका बारेमा पनि साथीहरूले जानकारी गराएका थिए ! मलाई किन-किन फोटामा भएका नम्बरहरूमा फोन गर्न मन लाग्यो ! मुटु ढुकढुक गर्दै थियो ! तीव्र गतिमा धड्किँदै थियो ! मैले पहिलो नम्बर डायल गरेँ ।

‘माफ गर्नुहोला तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको सुइच अफ गरिएको छ !’ अर्को नम्मर डायल गरेँ । त्यो पनि सुइच अफ नै रहेछ । त्यही, ‘माफ गर्नुहोला…’ दोहोरियो । मलाई तत्काल अर्को फोन गर्ने जाँगर चलेन । केटाहरूले हुँदै नभएको फोन नम्बर शौचालयको भित्तामा लेखिदिएछन् भन्ने लाग्यो । त्यहाँ लेखिएका नामहरू पनि नक्कली थिए कि ?
एकदिन नचलेको जाँगर फेरि चल्यो ! मैले तेस्रो नम्बरमा पनि फोन लगाएँ । फोन लाग्यो । घण्टी गयो । म खङ्ग्रङ्ग भएँ ! फोन नउठ्दै पसिनैपसिना भएँ ! एकैछिनमा हेलो, हेलो गर्दै गरेको युवतीको आवाज सुनियो ! मेरो कट्टुमा मुत तुरुक्क तुर्कियो !

आवाज परिचित थियो । कलेजमा नाम चलेका मान्छेहरूको आवाज सजिलै सबैले ठम्याउन सकिन्थ्यो । फोनमा सुनिएको आवाज ‘हुरी’ को थियो । ‘हुरी’ कलेजमा चर्चित क्रान्तिकारी नेता थिई । मैले दोहोरो संवाद गर्न सकिनँ । फोन काटिदिएँ । मेरा लागि ‘हुरी’ लाई सेवामा हाजिर गराउने कल्पना भयङ्कर थियो !

डरले लगलग काम्दै मैले केही दिन अगाडिको कुरा सम्झेँ ! त्यो दिन बिहान चाँडै उठेको थिएँ । कलेज पनि चाँडै गएको थिएँ । जाडो महिनाको बिहान उज्यालो भइसकेको थिएन । कलेजको शौचालय नजिक के पुगेको थिएँ, ‘हुरी’ र ‘बतास’ लाई शौचालयबाट बाहिर निस्कँदै गरेको देखेको थिएँ ! यति बिहानै उत्तर र दक्षिण धुव्र एक ठाउँमा भेला भएर के गर्दै थिए ? त्यो पनि महिला शौचालय भित्र ! ‘बतास’ समाजवादी खेमाको नेता थियो । क्रन्तिकारी र समाजवादीको पहिलो प्रहरमा भएको शौचालयभित्रको भेट सामान्य थिएन ! मैले सामान्य लिएँ । नेताहरूका बारे अनर्गल हल्ला फिजाएर कुटाइ खादैँ कलेजबाट बिदा हुन आएको थिइनँ म ! म त गाउँबाट पढ्न आएको थिएँ !

मैले मोबाइलले खिचेको फोटो डिलिट गरिदिएँ । दुई दिनसम्म फोन पनि आफ गरेर बसेँ । धेरै दिनसम्म पनि कलेजमा ‘हुरी’ र ‘बतासको’ नजिक परिनँ ! डर मत्थर हुँदै गएपछि सबै कुरा सामान्य भयो ।

कलेजमा चुनाव आउन लागेको थियो । केटाहरूले उचालेपछि शौचालय सफा गर्ने मुद्दा लिएर ‘हुरी’ र ‘बतास’ लाई बेग्लाबेग्लै भेट्न गयौँ । दुवैले हाम्रो कुरा सुने । आश्वासन दिए । भने, ‘हेर भाइ हो, यो शौचालय सफा गर्ने बेला होइन । चुनाव जित्ने बेला हो । बरु तिमीहरू पनि हामीलाई सहयोग गर । चुनाव जितेपछि शौचालयभित्र मन्दिरै बनाउँला ! अहिले यो बेकारको मुद्दा लिएर नहिँड !’

हामी फर्कियौँ । चुनाव भयो । ‘हुरी’ को पार्टीले जित्यो । ‘बतास’ को पार्टी पराजित भयो । शौचालय सफा भएन । मैले मात्रै होइन, मेरा साथीहरूले पनि झिसमिसेमा ‘हुरी’ र ‘बतास’ लाई एउटै शौचालयबाट निस्कँदै गरेको बारम्बार देखे ! हाम्रो सानो सर्कलले यो कुरा बाहिर ल्याएन । शौचालयभित्र भएको क्रान्ति र समाजवादको फयुजनबाट नयाँ विचार जन्मिने आशा पलायो ! हामी प्रतीक्षामा बस्यौँ ! नयाँ विचारले शौचालय सफा गर्नेछ !

केही समयपछि फेरि शौचालय सफा गर्ने मुद्दा बोकेर कलेज प्रमुखको अफिसमा गयौँ । भर्खरै निमित्तको जिम्मेवारी पाएकी हाम्रो कलेज प्रमुख ‘आँधी‘ ले हाम्रो कुरा अमिलो मान्दै सुनिन् र अजिब पाराले घुरेर हेरिन् । झपार्दै जबाफ फर्काइन् । भनिन्, ‘पढ्न छाडेर यो बेकारको कुरा बोकेर नहिँड तिमीहरू । आफूलाई यहाँ कत्रो तनाव छ । बल्लतल्ल निमित्त पाएकी छु । कसरी कन्फर्म गराउने भन्ने चिन्ता छ । तिमीहरू नचाहिने कुरा गर्दै नहिँड । मेरो कन्फर्म भयो भने शौचालय सफा हुन्छ ।’
हामी फर्कियौँ । कलेज प्रमुख ‘आँधी‘ निमित्तबाट कर्न्फम भइन् । अर्थात्, कलेज प्रमुखमा उनैलाई नियुक्त गरियो । शौचालय सफा भएन ।

एकदिन केटाहरूले नयाँ जुक्ति निकाले । पुरुष शौचालयभित्र ‘सेवामा जुनसुकै बेला हाजिर छु !’ भन्ने वाक्यका मुनि कलेज प्रमुख ‘आँधी‘ को फोन नम्बर लेखिदिए ! एकठाउँमा मात्रै होइन । तीन-चार ठाउँमा !

केही दिनमै क्रियाले प्रतिक्रिया पायो । शौचालय रङ्गरोगन भयो । सफा भयो । हामी खुसी हुने नै भयौँ । सायद हामीभन्दा धेरै खुसी ‘हुरी’ र ‘बतास’ भए होलान् ! सबैभन्दा धेरै शौचालयमा बिताउने उनीहरू नै थिए !