“श्रीमान् ! मलाई न्याय चाहियो ।” दशाननले रोस्टममा उभिएर भन्यो ।
“तिमीलाई न्याय चाहियो ? दशाननलाई न्याय चाहियो ?” आश्चर्यपूर्वक धर्मराजले न्यायाधीशको आशनबाट सोधे ।
“हो श्रीमान् ! मलाई न्याय चाहियो; म अन्यायमा परेको छु ।”
“अनि तिमीले न्यायपैरवीका लागि वकिल गरेनौ ?”
“गरिनँ महाराज ।”
“किन ?”
“मलाई अरूमाथि विश्वास छैन; वकिलमाथि पनि ।”
“वकिलमाथि विश्वास छैन ! किन ? के भन्न खोज्दैछौ तिमी ?” आश्चर्य मान्दै धर्मराजले सोधे । उनी दशाननको मनोभाव बुझ्न खोज्दै थिए । उसको अनुहारमा आफू अन्यायमा पर्नुका तनावपूर्ण भावहरू स्पष्ट दृष्टिगोचर भैरहेका थिए । आखिर कारण के रहेछ ? भन्छ, “वकिलमाथि पनि विश्वास छैन ।”
“वकिलहरू त न्यायका विश्लेषक हुन् । तिमी किन विश्वास गर्दैनौ उनीहरूप्रति ?” धर्मराजले सोधे ।
“श्रीमान् क्षमा चाहन्छु ।” दशाननले घुटुक्क थुक निल्यो । उसको घाँटीबाट थुकको घुट्को बिस्तारै तल झरेको देखे धर्मराजले । “तपाईँका दृष्टिमा होलान् उनीहरू न्यायका विश्लेषक तर मेरो विश्वास छैन उनीहरूमाथि” भन्यो उसले ।
“तिम्रो तात्पर्य ?” स्पष्टीकरण मागे धर्मराजले ।
“उनीहरू सत्यको पक्षमा बहस पैरवी गर्दैनन् श्रीमान्; सत्यलाई जिताउँदैनन् ।” दशाननले भन्यो, “उनीहरू यथासम्भव पक्षलाई जिताउँछन्, सत्तालाई जिताउँछन् र शक्तिलाई जिताउँछन् । नितान्त स्वार्थबाट अभिप्रेरित भएर बहस गर्छन् ।”
धर्मराज थप आश्चर्यमा परे । उनले भने, “तिम्रो कुराले त झन् अस्पष्ट बनाउँछ । तिमीजस्तो शक्तिशाली र तिमीजस्तो शासक …।”
“क्षमा पाऊँ श्रीमान् मैले हजुरको कुरा काटेँ ।” दशाननले हात जोड्यो र भन्यो, “तर म आज न शक्तिशाली रहेँ न शासक ।”
“परन्तु…”
“यहाँ हिजो के थियो त्यो महत्त्वपूर्ण नहुँदो रहेछ श्रीमान् । विगतलाई कसैले सम्झिँदो रहेनछ । यहाँ आज को शक्ति र सत्तामा छ भन्ने कुरा महत्त्वको हुँदो रहेछ ।”
“ल भो भो” धर्मराजले भने । उनले दशाननको आशय बुझिसकेका थिए तर न्यायका प्रतिमूर्तिहरूप्रतिको आक्षेपका विषयमा न्यायालयमा विस्तारपूर्वकको अभिव्यक्ति उनलाई सह्य थिएन । उनले भने, “मानौँ तिम्रो कुरामा आंशिक सत्यता छ । यदि न्यायप्रति नै विश्वास छैन भने न्याय खोज्न न्यायालयमा किन आयौ त ?”
“श्रीमान् मलाई हजुरको न्यायप्रति विश्वास छ । हजुर न्यायको सर्वोच्च हुनुहुन्छ तर यी बहसपैरवीका ठेकेदारहरू सत्यतथ्य हजुरसम्म पुग्दै दिँदैनन् । त्यसकारण म चाहन्छु मप्रतिको अन्याय म स्वयं प्रस्तुत गरूँ ।” दशाननको अभिव्यक्तिमा दृढता थियो । ऊ आत्मविश्वासले भरिएको थियो ।
“तिमीलाई कहाँनिर अन्याय भयो ? मृत्युपछि मनुष्यलाई प्राप्त हुने सर्वोच्च स्थान तिमीले पाएकै छौ । कस्तो अन्याय भयो तिमीमाथि र कसले गऱ्यो तिमीप्रति अन्याय ?” धर्मराजले सोधे ।
“मेरो यशमाथि श्रीमान्, मेरो कीर्तिमाथि”, उसले भन्यो, “मेरो कीर्ति र यश नाश गरियो, अपकीर्ति फैलाउने कार्य भयो ।” दशाननको अभिव्यक्तिमा अत्यन्तै करुणा थियो ज्यादै भावुक बनेको थियो यसो भन्दै गर्दा ऊ ।
“कसले गऱ्यो तिम्रो अपकीर्ति ?”
“वाल्मीकिले ।”
धर्मराज आश्चर्यमा परे दशाननको कुरा सुनेर “को ? कवि वाल्मीकि ?” सोधे ।
“हो श्रीमान् !” दृढताका साथ भन्यो दशाननले ।
“तिमी कविमाथि आरोप लगाउँदै छौ ! जो काव्यमर्मज्ञमा पूज्य छन् ।”
“अरूका लागि पूज्य होलान् श्रीमान् मेरा लागि त उनी एक अपराधी हुन्, मेरो अपकीर्ति गर्ने ।” उस्तै थियो दशाननको अभिव्यक्ति ।
दशाननको कुराले धर्मराजको न्यायालयमा कोलाहल भयो । न्याय हेर्न आएका सारा व्यक्ति देव, गन्धर्व, यक्ष, नाग, किन्नर/किन्नरी, योगी र मानवहरू आश्चर्यमा परे र एकआपसमा आशङ्कापूर्ण अभिव्यक्ति प्रकट गर्न थाले ।
धर्मराजले सबैलाई शान्त हुन निर्देश दिए र भने, “आज दशाननले आफूमाथि वाल्मीकिले अन्याय गरेको र आफ्नो यश नाश गरी अपकीर्ति फैलाएको आरोप गरेका छन् । दशाननले दिएको उजुरीमाथि अवश्य न्यायपैरवी हुनेछ । परन्तु प्रतिवादीको अनुपस्थितिमा वादीका अभिव्यक्तिका आधारमा मात्र न्याय असम्भव हुन्छ । त्यसकारण म अर्को इजलासमा प्रतिवादी वाल्मीकिलाई समेत उपस्थित हुन आदेश दिँदै आजको यो न्यायसभा यहीँ स्थगन गर्दछु ।
×××
धर्मराजको न्यायसभा पुनः आरम्भ भयो । दोस्रो सभामा वादी दशानन र प्रतिवादी वाल्मीकि दुवै उपस्थित थिए ।
न्यायसभालाई सम्बोधन गर्दै न्यायको आशनबाट धर्मराजले भने, “दशाननले आफूमाथि अन्याय भएको, मानहानी भएको, यश र कीर्ति क्षय गरी अपकीर्ति पैलाएको भन्ने आरोप लगाउँदै वाल्मीकिमाथि उजुरी गरेका छन् । वकिलमाथि अविश्वास प्रकट गर्दै स्वयं आफैँले आफ्नो बहस पैरवी गर्ने दशाननले इच्छा प्रकट गरेपछि सोहीअनुरूप वाल्मीकिले पनि आफ्नो कुरा स्वयं प्रस्तुत गर्ने इच्छा प्रकट गर्नुभएको छ । यसर्थ म वादी र प्रतिवादी दुवैलाई न्यायको कठघरामा उपस्थित हुन निर्देश गर्दछु ।”
धर्मराजले आदेश दिएपछि दशानन र वाल्मीकि दुवै ठिक विपरीत ध्रुवमा रहेका कठघरामा उपस्थित भए ।
धर्मराजले दशाननतिर फर्केर भने, “दशानन तिमीले कवि वाल्मीकिप्रति जुन आक्षेप लगाएका छौ त्यसलाई पुष्टि गर ।”
धर्मराजको आदेश सुनेर दशाननले भन्यो, “श्रीमान् व्यक्तिगत रूपमा वाल्मीकिसँग मेरो कुनै शत्रुता छैन र उनीप्रति मेरो कुनै आग्रह वा दुराग्रह पनि छैन । वहाँ एक कवि मनीषी हुनुहुन्छ । मेरा पिता प्रपिता पनि महर्षि हुनुहुन्थ्यो । म कविवरलाई पनि त्यही स्थान दिएर सम्मान प्रकट गर्दछु । परन्तु कविवरले सत्ता र शक्तिको आड लिएर मेरो कीर्ति क्षय हुने कार्य गर्नुभएको छ ।”
दशानन रोकिएपछि धर्मराजले वाल्मीकितर्फ फर्किएर भने, “दशाननले तपाईँप्रति लगाएका आक्षेपको सफाइमा तपाईँ केही भन्न चाहनुहुन्छ ?”
वाल्मीकिले न्यायमूर्तिलाई सम्बोधन गरे । उनको ओठमा आत्मविश्वाससहितको मन्द मुस्कान प्रकट भइरहेको थियो । उनले त्यही मुस्कान सहितको मुखमुद्रा र दृष्टि दशाननमा पुऱ्याए । दशाननको अनुहार गम्भीर र उदासीन थियो । उसको उदासीनतामा घनीभूत पीडा दृष्टिगोचर भैरहेको थियो । वाल्मीकिले भने, “श्रीमान् ! म त एउटा कवि हुँ, निरन्तर काव्यसाधनारत रहने । ममा काव्यको लत छ । कसैले यो आरोप लगाउँछ भने म सहर्ष स्वीकार गर्छु । भन्छन् कवि सत्य द्रष्टा हुन्छ र भविष्यद्रष्टा हुन्छ । यो सतत सत्य हो भन्ने मेरो मान्यता छ । म कविका रूपमा जति सम्मानित छु मेरो यही कविकर्मको परिणाम हो भन्ने मेरो ठम्याइ छ । रह्यो दशाननले मद्वारा आफ्नो कीर्ति क्षय गरिएको भन्ने आरोप गर्नु । म ठान्छु दशानन आफ्नो अपकीर्ति गरेको आरोप लगाएर स्वयं मेरो अपकीर्ति गर्दै छन् ।”
परिस्थिति उल्टिएको थियो । न्याय खोज्न आएको दशानन स्वयं अन्याय गर्ने पात्रको रूपमा आरोपित भैरहेको थियो । धर्मराजको न्यायसभा स्तब्ध थियो । न्याय बहसमा प्रसिद्धि कमाएका वकिलहरू पनि आजको बहस हेर्न उपस्थित थिए । उनीहरू पनि वाल्मीकिको कुरा सुनेर आश्चर्यमा परेका थिए ।
वाल्मीकिले अगाडि भने, “श्रीमान् दशानन मलाई लगाएको आरोप पुष्टि गरून् । अन्यथा म उनीमाथि मेरो अपकीर्ति गरेको आरोप लगाउनेछु र उनले दण्डित हुनुपर्नेछ ।”
“म तयार छु”, उही गम्भीरता र आत्मविश्वासका साथ भन्यो दशाननले ।
“तिमी वाल्मीकिप्रतिका आफ्ना आक्षेपहरू प्रस्तुत गर दशानन”, धर्मराजले दशाननलाई आदेश दिए ।
“श्रीमान् म कविवरसँग केही संवाद र प्रश्न गर्ने अनुमति चाहन्छु ।” दशाननले धर्मराजलाई हेरेर शिष्टतापूर्वक अनुमति माग्यो ।
“अनुमति छ”, धर्मराजले भने ।
अनि दशानन वाल्मीकितिर फर्कियो । ऊ गम्भीर थियो । वाल्मीकि मन्द-मन्द मुस्कुराइरहेका थिए । उनको मुस्कानमा विजय हुन्छु भन्ने आत्मविश्वास थियो ।
“कविवर !”, दशाननले सम्बोधन गर्दै भन्यो, “के तपाईँले रामलाई जति आदर्श पुरुष बनाउनुभएको छ, उनी त्यति नै आदर्शवान् छन् ?”
“अवश्य !”, दशाननलाई हेरेर वाल्मीकिले यत्ति भने र धर्मराजतिर फर्किएर भने, “परन्तु श्रीमान् दशाननले मैले उनको कीर्ति क्षय गरेको विषय प्रस्तुत गरून् । उनी विषयान्तर हुँदै छन् ।”
धर्मराजले केही भन्नुपूर्व नै दशाननले उनीतर्फ फर्किएर भन्यो, “क्षमा पाऊँ श्रीमान् ! तर म विषयान्तर भएको होइन । म विषयमै छु ।”
“ठिक छ; तिमी आफ्नो कुरा राख्न सक्छौ”, धर्मराजले स्वीकृति दिए ।
र दशाननले अगाडि भन्यो, “तपाईँले म एक ऋषिपुत्रलाई दानवीकरण गरेर प्रस्तुत गर्नुभएको छ ।”
“मान्छे स्वभाव र कर्मले देव, दानव वा मानव हुन्छ दशानन । वंशले होइन ।”, आत्मविश्वासका साथ भने वाल्मीकिले ।
“त्यसो हो भने ऋषिवर”, दशानन केही आवेशमा आएको थियो । उसले भन्यो, “हजुरले मलाई दानवका रूपमा प्रस्तुत गर्नुका आधारहरू प्रस्तुत गर्नुहोस् ।”
दशाननको कुरा सुनेर वाल्मीकि पुनः मुस्कुराए । उनको मुस्कान देखेर धर्मराजलाई लाग्यो वाल्मीकिसँग यस्तो बलियो आधार हुनुपर्छ; यस्तो बलियो तर्क हुनुपर्छ जसबाट उनी सहजै आफ्नो अभिव्यक्तिलाई सही सिद्ध गर्नेछन् । अदालतमा उपस्थित अन्य यक्ष, गन्धर्व, मानव आदिका मुहारमा पनि त्यही विश्वास उपस्थित थियो ।
जनमानसमा वाल्मीकिका काव्यकलाको यस्तो प्रभाव थियो कि सबै यही ठान्दथे कि वाल्मीकिले आफ्नो काव्यमा जे भनेका छन् त्यो पूर्णतः सत्य छ ।
संभवतः धर्मराज पनि वाल्मीकीकृत विचार समाजमा स्थापित रहोस् भन्ने नै चाहन्थे । यद्यपि उनी न्यायमूर्ति थिए । सत्य निरूपण र न्याय सम्पादनमा आजपर्यन्त आफूले दिएको निर्णयको जुन सम्मान थियो उनी त्यसलाई यथासम्भव सुरक्षित कायम गर्न प्रयत्नरत थिए र पनि वाल्मीकिले प्रस्तुत गरेका अभिव्यक्तिले रामलाई जुन रूपमा आदर्श पुरुषोत्तम स्थापित गरेको थियो र रावणलाई दानवका रूपमा । यो एउटा शाश्वत सत्य र मानक स्थापित भएको थियो । रावणको तर्क बलियो हुनु भनेको समाजमा स्थापित मान्यता खण्डित हुनु थियो । उनका विचारमा समाजमा स्थापित बुझाइको शृङ्खला भङ्ग हुनु थियो । यसले एउटा लयमा गतिशील व्यवस्थामा तरङ्ग उत्पन्न हुनेछ र व्यवस्थामा अस्थिरता व्याप्त हुनेछ भन्ने धर्मराजको बुझाइ थियो । यसको परिणाम अकल्पनीय हुनेछ र समाज व्यवस्था दुर्घटित हुन सक्नेछ भन्ने उनलाई लागेको थियो ।
सबैको दृष्टि वाल्मीकिमा केन्द्रित थियो । उनी कुन तर्कद्वारा आफ्ना विचारको रक्षा गर्लान् भन्ने जिज्ञासा सबैको मनमा थियो । धर्मराजले पनि आफ्नो आशनबाट वाल्मीकितर्फ नै दृष्टि घुमाएका थिए । दशानन त अघिदेखि नै वाल्मीकिलाई हेरिरहेको थियो ।
वाल्मीकिका मुहारको मुस्कानले सबैको मनमा एक प्रकारको आत्मबलको, आत्मविश्वासको उदय गरिदिएको थियो कि वाल्मीकि अवश्य बलिया तर्क प्रस्तुत गर्नेछन् र विजय हासिल गर्नेछन् । न्यायालयमा उपस्थित प्रायः धेरैलाई यही लागेको थियो कि वाल्मीकिको विजय सत्य र धर्मको; मानवताको विजय हो भने दशाननको विजय असत्य, अधर्म र अमानवताको विजय हो ।
“दशानन !”, वाल्मीकिले आत्मविश्वासका साथ भने, “तिमी कामपुरुष हौ ।”
“कुनै आधारविनाको मिथ्या आरोप नलगाउनुहोस् कविवर ।”, दशानन गम्भीर थियो ।
“आधार प्रस्तुत गर्नुहोस् कविवर”, धर्मराजले तटस्थ रूपमा भने ।
“तिमीले बहुविवाह गऱ्यौ । के यो त्यसको प्रमाण होइन ?”
“त्यसो भए मभन्दा अधिक कामपुरुष दशरथ थिए । उनलाई त तपाईँले न्यायप्रेमी सम्राट्को दर्जा दिनुभएको छ”, दशानन उत्तेजित नभईकन बोल्यो । उसले बुझेको थियो उत्तेजनाले तर्क बलियो हुँदैन र न्याय प्राप्त हुँदैन । गम्भीरताका साथ प्रस्तुत गरिएका तर्कहरू नै न्यायका आधारशिला हुनेछन् ।
“तिमी जनकपुर पनि गएका थियौ । जानकी स्वयंवरमा सहभागी हुन । जबकि तिम्रा पत्नीहरू थिए र सन्तान पनि ।”, वाल्मीकि उही मुस्कानका साथ बोलिरहेका थिए ।
“हो आमन्त्रण गरिएको सभामा अतिथिका रूपमा जानु कुनै अपराध होइन ।”, दशाननले भन्यो ।
“तिमीले आर्यव्रतमा आतङ्क मच्चाएका थियौ । ताडका, मारिच, शङ्खचुण आदिका माध्यमबाट ।”
“यो मिथ्या आरोप हो धर्मराज, मिथ्या ।” दशानन केही आवेशमा आएको थियो यसो भन्दै गर्दा । ऊ पुनः सम्हालियो र भन्यो, “हो उनीहरू मेरा गुप्तचर थिए, जसलाई विश्वामित्रले आतङ्क फैलाएको मिथ्या आरोपमा हत्या गराएका थिए ।”
“त्यसो भए तिमीले खर र दूषणको नेतृत्वमा चौध हजार सेना आर्यव्रतको दक्षिणी तटमा पञ्चवटी निकट राखेको कुरा पनि मिथ्या हो ?” व्यङ्ग्य थियो वाल्मीकिको अभिव्यक्तिमा ।
न्यायालय शान्त थियो । सबै सचेत भएर यी दुई वादी र प्रतिवादीका तर्क वितर्कहरू सुनिरहेका थिए । जब वाल्मीकि दशाननमाथि आरोप लगाउँथे । उनीहरूको मनोभावना बन्थ्यो, “हो त !” तर जब दशानन त्यसको खण्डन गर्थ्यो उनीहरूको मनोभाव परिवर्तन हुन्थ्यो, “ए साँच्चै !”
“यो सत्य हो”, दशाननले कुनै सङ्कोच नगरी भन्यो । “मेरो सानो तर सुवर्णमण्डित सम्पन्न लङ्कामाथि सदैव आर्यव्रतका सम्राट्हरूबाट आक्रमणको सम्भावना थियो, सो मैले सीमा रक्षाका लागि सैनिक गण आफ्नो सीमामा तैनात गरेको हुँ ।”
वाल्मीकिले जुन तर्कलाई बलियो सम्झिरहेका थिए ती तर्क कमजोर सिद्ध भएको महसुस भयो उनलाई । कमजोर मान्छेलाई क्रोध उत्पन्न हुन्छ । सायद यही अवस्था सिर्जना भएको थियो वाल्मीकिको र उनले उत्तेजनामा आएर भनेका थिए, “दशानन के अर्काकी श्रीमतीको अपहरण गर्नु पनि उचित हो ? एक अवला नारीमाथि शक्तिप्रयोग गर्नु पनि उचित थियो ? के जनकपुर स्वयंवरदेखि नै माता सीताप्रति तिम्रो कुदृष्टि थिएन ? तिमी वासनायुक्त थिएनौ ?”
“हो ! हो !”, उपस्थित यक्ष, गन्धर्व, मानव आदिले वाल्मीकिको समर्थनमा भने । वाल्मीकिको अभिव्यक्ति सुनेर दशाननमा क्रोध उत्पन्न भयो । वाल्मीकिको शासकप्रतिको दास मनोवृत्तिलाई देखेर ऊ हैरान भयो तर उसलाई लाग्यो क्रोधमाथि नियन्त्रण गर्नुपर्छ र शान्त भावमै मैले आफूलाई प्रस्तुत गनुपर्छ । उसले केहीक्षण शिर झुकायो र आफू उभिरहेको रोस्टमको भुईँमा हेरिरह्यो । सबैलाई लाग्यो दशाननले लज्जित भएर शिर झुकाएको हो । अब ऊसँग वाल्मीकिका प्रश्नको कुनै जबाफ छैन ।
“भन दशानन किन चुप भयौ ? छ तिमीसँग जबाफ ?”, शान्त तर विजयको भावमा भने वाल्मीकिले तर पनि कुनै प्रतिक्रिया नजनाई दशानन उसैगरी शिर तल गरेर उभिएको थियो । उसले आफ्नो रिसलाई नियन्त्रण गर्न रोस्टमको काठेबारलाई बलियोगरी कसेर समातेको थियो ।
धर्मराजले ज्यादै शान्त स्वरमा सोधे, “दशानन कविका आक्षेपको खण्डनमा तिमीलाई केही भन्नु छ ?”
दशाननले विस्तारै शिर उठायो । उसले वाल्मीकिप्रतिको आफ्नो आक्रोशलाई शान्त गरिसकेको थियो । उसका ओठहरूमा मन्द मुस्कान थियो । सम्भवतः यो मुस्कानमा वाल्मीकिप्रति व्यङ्ग्य हुँदो हो । उसले सर्वप्रथम न्यायासनमा विराजमान धर्मराजको अनुहारमा हेऱ्यो र भन्यो, “मलाई भन्नु छ न्यायमूर्ति । भन्नु छ मलाई ।”
“भन दशानन ! तिमी आफ्ना कुराहरू राख्न सक्छौ” धर्मराजले स्वीकृति दिँदै भने ।
तत्पश्चात् दशाननले दर्शकदीर्घातिर हेऱ्यो । एकप्रकारको सन्नाटा छाएको थियो त्यहाँ । सबैका अनुहार र आँखामा एउटै प्रश्न थियो, “अब दशाननले आफूप्रतिको कविवरले लगाएको आक्षेपको रक्षामा के भन्ला ?”
“कविवर म लङ्काको राजा हुँ । कुनै सामान्य व्यक्ति होइन !”, दशाननले वाल्मीकिको आँखामा हेरेर भन्यो ।
वाल्मीकिलाई दशाननको तर्क सुनेर हाँसो उठ्यो, ज्यादै कमजोर लाग्यो उसको तर्क । उनले विजयको भावमा मुस्कुराउँदै भने, “दशानन यो तिम्रो राज्य होइन, धर्मराजको न्यायालय हो । यहाँ राजा र रैती सबैलाई एउटै न्याय प्रदान गरिन्छ”, यो अभिव्यक्ति प्रतिवादी भएका नाताले वाल्मीकिले भन्नु उचित थियो वा थिएन तर उनले विजय भावको आवेशमा आएर भनिदिए ।
दशाननले धर्मराजतिर हेऱ्यो र भन्यो, “अवश्य, न्याय सबैलाई समान हुनुपर्छ न्यायमूर्ति । कानुनका दृष्टिमा राजा र रैती सबै समान हुन्छन् र हुनुपर्छ ।”
“त्यसो भए तिम्रो राजा हुँ भन्ने अभिव्यक्तिको तात्पर्य ?”, उही विजयभावमा सोधे वाल्मीकिले ।
दशाननले भन्यो, “मैले जानकीको हरण अवश्य गरेको हुँ, परन्तु त्यो कार्य प्रतिशोध हो न्यायमूर्ति प्रतिशोध ।”
“तिमीले भन्न खोजेको के हो ? स्पष्ट पार”, धर्मराजले भने ।
दशाननले अगाडि भन्यो, “मेरी बहिनी शूर्पणखा पञ्चवटीमा विचरण गर्दै थिइन् । उनलाई राम मन परे । मन परेपछि आफ्नो कुरा भन्नु, प्रेमप्रस्ताव राख्नु के नारीको अधिकार होइन ?”
“हो; अवश्य हो”, धर्मराजले समर्थन जनाए ।
“अनि प्रेमप्रस्ताव राखेको बदलामा लक्ष्मणले मेरी बहिनीको नाक काटेर कुरूप बनाइदिए ।”
“तिमी मप्रतिको आरोप पुष्टि गर दशानन । यो कथा किन सुनाउँदै छौ ?” बीचमै वाल्मीकिले भने “फेरि तिमीले भनेको कुरा तिमीले भनेजस्तो पनि होइन । शूर्पणखाले माता सीताप्रति आक्रमण गर्न खोजेपछि लक्ष्मणबाट प्रहार भएको हो ।”
“कविवर यो सत्य हो कि शूर्पणखाले जानकीमाथि प्रहार गर्न खोजिन् तर सूचना पूर्ण गर्नुहोस् । पूरा घटना बताउनुहोस् । के राम र लक्ष्मणको दोष थिएन ? र रह्यो आरोप पुष्टि गर्ने कुरा । म त्यही गर्दै छु कविवर । तपाईँले भनेको कथामै दोष छ र त्यहीँ मप्रति अन्याय भएको छ” दशाननले भन्यो ।
“तिमी नै भन न त सत्य के हो ?” आक्रोशित मुद्रामा वाल्मीकिले भने ।
“भन दशानन घटनाको तथ्य के थियो ?” धर्मराजले निर्देश दिए ।
“मेरी बहिनीलाई थाहा थिएन राम र लक्ष्मण विवाहित छन् र उनीहरू एकपत्नीव्रत छन् । रामसित प्रस्ताव राख्दा उनीहरूले बनावटी कुरा गरेर बहिनीलाई जिस्क्याएछन् । राम भन्दा रहेछन् म विवाहित छु, तिमी लक्ष्मणसँग जाऊ । लक्ष्मण भन्दा रहेछन् म त दास हुँ, तिमी मालिकसँग जाऊ । त्यसरी एक नारीलाई दुई पुरुषले जिस्क्याइरहँदा सहानुभूतिपूर्वक सम्झाउनुपर्नेमा जानकी पनि शूर्पणखाप्रति हाँस्न थालेपछि बहिनीलाई रिस उठ्नु स्वाभाविक हो । राम र लक्ष्मणले आफ्नो दोष नदेख्ने अनि जानकीलाई आक्रमण गरेको आरोपमा उनको नाक काटेर कुरूप बनाउन पाइन्छ ?”, तीव्र आक्रोश थियो दशाननको अभिव्यक्तिमा ।
“परन्तु यस घटनासँग सीता अपहरणको के सम्बन्ध ?”, धर्मराजले शिष्टतापूर्वक सोधे ।
“छ न्यायमूर्ति छ”, दशाननले पुनः शान्त हुँदै भन्यो, “त्यसैले भनेको हुँ म एक राजा हुँ । एक राजाले प्रजामाथि कसैले आक्रमण गर्दा त्यसको प्रतिकार गर्नुपर्छ र प्रजाको रक्षा गर्नुपर्छ । त्यसमाथि शूर्पणखा मेरी बहिनी हुन् । त्यसो भन्दा विभेदको आभास देखिएला परन्तु मेरो अभिव्यक्तिको तात्पर्य के हो भने जुन राजाले बहिनीमाथिको आक्रमणको प्रतिकार गर्न सक्दैन त्यस राजामाथि प्रजाले कसरी विश्वास गर्ने ? के आश गर्ने ? मप्रति मेरा प्रजाको विश्वास कसरी कायम रहन्छ न्यायमूर्ति ?”
“तिम्रो तर्क आफ्नो ठाउँमा ठिक छ”, धर्मराजले भने र वाल्मीकितिर फर्किएर सोधे, “दशाननका विचारको खण्डनमा तपाईँलाई केही भन्नु छ कविवर ?”
सायद वाल्मीकिसँग दशाननका अभिव्यक्तिको खण्डन गर्ने बलियो आधार थिएन । त्यसैले उनी मौन थिए । उनले शिर हल्लाएर ‘छैन’ को सङ्केत गरे ।
धर्मराजले दशाननलाई हेरेर भने, “दशानन तिम्रा तर्क ठिक छन् । त्यसैले कविवरले यसलाई स्वीकार गर्नुभएको छ; परन्तु यतिले कविवरले तिम्रो कीर्ति क्षय गरेको आरोप पुष्टि हुँदैन ।”
धर्मराजको कुरा सुनेर दशाननले भन्यो, “हो न्यायमूर्ति म स्वीकार गर्छु । यत्तिले कविवरलाई मैले लगाएको आरोप पुष्टि हुँदैन । कविवर त स्रष्टा हुनुहुन्छ । वहाँ सुनेको आधारमा लेख्नुहुन्छ, त्यसैले वहाँको स्वविवेक पुगेन होला । म त भोक्ता हुँ । त्यसैले मेरा अरू पनि भन्नुपर्ने केही विषयहरू छन् । म ती राख्ने अनुमति चाहन्छु ।”
दशाननले वाल्मीकिलाई विवेक पुगेन होला भनेर गरेको व्यङ्ग्यले ज्यादै प्रभाव पारेको थियो । आफू अपमानित भएको बोध गरेका थिए वाल्मीकिले, तर बोल्ने आधार थिएन ।
“भन दशानन”, धर्मराजले स्वीकृति दिए ।
“मलाई जानकीको अपहरणको आरोप लगाउनुभएको छ कविवरले । तर यो बुझ्नु आवश्यक छ कि म जुन ठाउँमा, जुन जिम्मेवारीमा थिएँ अरूले पनि गर्नुपर्ने त्यही हो”, दशाननले लामो सास फेऱ्यो र पुनः वाल्मीकितिर फर्किएर भन्यो, “परन्तु कविवर मलाई नारीजातिको प्रतिष्ठा, उनीहरूको इज्जतको राम्रो ख्याल छ । एक पुरुषद्वारा अपहरित हुनासाथ नारीमाथि उठ्ने अनेक प्रश्नको पनि मलाई ध्यान छ । यसैले मैले जानकीको चरित्रमाथि प्रश्न नउठोस् भनेर दरबारबाहिर अशोकवाटिकामा उनको बस्ने व्यवस्था मिलाएको हुँ र उनको रक्षामा त्रिजटाजस्ता चरित्रवान् र जिम्मेवार नारीहरूलाई खटाएको हुँ । यसका प्रत्यक्षदर्शी त स्वयं पवनपुत्र पनि थिए ।”
“कुरा त सत्य हो”, उपस्थित सबै यही भन्दै थिए ।
“यतिमात्र होइन न्यायमूर्ति मलाई सीता हरणको दोषारोपण गर्ने कविवरले यो बिर्सिनुभयो कि स्वयं वहाँका नायकले नै सीताका चरित्रमाथि आशङ्का व्यक्त गर्नुभएको हो र अग्निपरीक्षा लिनुभएको हो । एक पतिपरायणा नारी जसले राज्यको सुखभोग समेत त्यागेर चौध वर्षसम्म पतिलाई वनवासमा साथ दिने निर्णय मात्र गरिनन्, लगभग ती दुःख र कष्टका चौधवर्षसम्म कुनै गुनासो नगरी वनको कष्टपूर्ण जीवनमा पतिको सुसार र सेवा गरेर बिताइन् उनै पत्नीमाथि आशङ्का व्यक्त गर्ने पुरुष दोषी हुन्छ कि म ? अग्नि परीक्षा मात्र होइन न्यायमूर्ति एक धोबीका अभिव्यक्तिका कारण अग्निपरीक्षामा उत्तीर्ण भएकी पत्नीलाई दरबारबाट निकाल्ने कविवरका नायक दोषी हुन् कि म ?”
दशाननका कुरा सुनेर न्यायालय स्तब्ध भयो । त्यहाँ उपस्थित भएका सर्वसाधारण मात्र होइन न्यायपैरवी गर्ने वकिलहरूसमेत दशाननका तर्कसँग सहमत थिए । वाल्मीकिका ओठको मुस्कान र आँखाको चमक हराइसकेको थियो ।
दशाननले आफ्नो कुरा राखिसकेपछि धर्मराजले वाल्मीकिलाई आफ्ना कुरा राख्ने अनुमति प्रदान गरे । वाल्मीकिले दशाननका विचारको खण्डनमा बलिया तर्क प्रस्तुत गर्न सकेनन् ।
अब न्यायालयमा उपस्थित सबैको दृष्टि धर्मराजतिर केन्द्रित थियो । सबैको यही जिज्ञासा थियो कि न्यायमूर्ति कस्तो न्यास सुनाउलान् ! किन कि सबैलाई यो थाहा थियो कि जुन मुद्दामा बहस भयो र वादी र प्रतिवादीले जसरी आआफ्ना कुरा राखे त्यसका आधारमा न्याय गर्न सजिलो छैन ।
धर्मराजले न्यायमूर्तिको आशनबाट निर्णय सुनाउँदै भने, “बादी दशाननले न्याय पाऊँ भनी दिएको निवेदनमाथि प्रतिवादी कविवरका समेत विचार सुनेपछि प्रस्ट भएको छ कि कविवरले काव्यसाधनाका क्रममा अतिशयोक्तिपूर्ण अभिव्यक्ति प्रकट गर्नुभएको हो । इतिहास वस्तुतथ्यको लेखिन्छ वा लेखिनुपर्छ भन्ने तथ्यलाई बिर्सिँदा इतिहास जित्नेको लेखिन्छ भन्ने मान्यता स्थापित हुन गई कालान्तरमा इतिहासप्रतिको विश्वास नै कमजोर हुन जाने देखिन्छ र पनि जनसाधारणलाई लाग्न सक्छ यो त इतिहास होइन काव्य हो । काव्यमै पनि सत्यताबाट माग्नु हुँदैन । सत्यतथ्यलाई नै कलात्मक बनाउनुपर्छ भन्ने स्रष्टाहरूले ध्यान राख्नुपर्छ र कसैको पनि चरित्रहत्या हुने विचार अभिव्यक्त गर्नु हुँदैन भन्ने ध्यान राख्नुपर्छ । त्यसकारण म आगामी दिनमा स्रष्टाहरूलाई यस विषयमा सचेत भएर सिर्जनामा प्रवृत्त हुन निवेदन गर्दछु ।”
“निवेदन किन प्रभु ?”, दशाननले प्रश्न गऱ्यो ।
गम्भीर मुद्रामै दशाननलाई हेर्दै धर्मराजले भने, “संसारमा सबैभन्दा स्वतन्त्र स्रष्टाहरू हुन्छन् । उनीहरू विचारका साधक भएकाले उनीहरूमाथि कसैले पनि आदेश वा प्रतिबन्ध गर्न सक्दैन । त्यसकारण उनीहरूलाई अनुरोध मात्र गर्न सकिन्छ ।”
दशाननले स्वीकारोक्तिमा हात जोड्यो ।
धर्मराजले अगाडि भने, “दशाननले न्याय पाऊँ भनी दिएको निवेदनउपर मनन गरी न्यायसभा यो निर्णयमा पुगेको छ र यो घोषणा गर्दछ कि एउटा यस्तो समय आउने छ जहाँ आजका विषयहरूमाथि कवि स्रष्टाहरूबाट पुनर्विचार हुनेछ र दशाननको निर्दोष चरित्रलाई उजागर गर्ने उद्देश्यले सिर्जनाहरू हुनेछन् । त्यस समयका स्रष्टाहरूले नै दशाननमाथि वास्तविक न्याय गर्नेछन् ।” यति भनेर धर्मराजले न्यायसम्पादन सम्पन्न गरे ।
×××
त्यस दिनदेखि दशानन यो कथा कहिले लेखिएला भनी प्रतीक्षारत थियो ।
आज ऊ मुस्कुराइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।