आज आइतवार हाटको दिन । मीना मिरमिरे उज्यालो हाँस्नुअघि नै उठेर चुलाचौका सकीवरी केश कोर्दै थिई । कृष्णे डल्लो परेर सतिरहेकै थियो । बजार जाने अनुमति हिजै लिइसकेकी हुनाले लोग्नेप्रति ढुक्कै थिई । टेबलमाथि राखिदिएको चिया कृष्णेको प्रतीक्षा गर्दा-गर्दा थाकेर चिसो भैसकेको थियो । “मीना दी! औ मीना दी!!” पर सडकमा रेणुकाको आवाज आउँछ । मीनाले हतार-हतार सिउँदोमा सिन्दुर लाउँदै बाहिर निस्केर चिच्याई- “एकैछिन पर्ख है आइहालेँ ।”

“छिटो आऊ न बस उम्किन्छ ।” रेणुका हतारिन्छे । ‘प्याट्ट’ शब्दको साथै टेबलमा राखेको कप फुटेर दुई फ्याक हुन्छ । मीना हिॅँड्नै के आँटेकी थिई अचानक लोग्नेको व्यवहार देखेर स्तब्ध हुन्छे । “हैन के भयो तपाईँलाई ? हिँड्ने बेलामा जहिले पनि…..” “के हो यो, बरफजस्तो चिया खानुपर्ने ? तँलाई भने घुम्ने हतारमात्र छ होइन ?” कृष्णे ओछ्यानमै बसेर गनगनाउन थालेकाले मीनाको नौनारी गलेर आउँछ । यस प्रकारको व्यवहारले ऊ वाक्कै भइसकेकी थिई । टीका लाउन ऐना मात्र के हेरेकी थिई आँसुको भेल उर्लेर ऐनाको प्रतिविम्बलाई डम्म ढाक्छ । उसलाई आफ्नै घर कैदजस्तो लाग्छ । रेणुका फतफताउँदै आइपुग्छे । मीनाले गहको आँसु पुछी । कृष्णे घुसाले ग्वाम्म टाउको ढाकेर तेर्सिएकै हुन्छ । “तिमी त के सारो ढिलो जी….एकछिन त ऊ अकमक्क हुन्छे, अरे यो के भयो ? भुईँमा फुटेको कप, खाटमा लमतन्न भिनाजु के भो दी फेरि घरमा परालको आगो त सल्केन ?” घरको तनावपूर्ण वातावरण देखेर भनी रेणुकाले । “तिमी जाऊ रेणुका, म जान्नँ ।”

दिलमान राई ‘चोट'(हैदराबाद, भारत)

“किन नजाने ? तिमीलाई त डाक्टरकोमा देखाउन कति जरुरी छ । बरु बजार नगए पनि अस्पताल चैँ जाऔँ न है !”  “होस मरे पनि मै मर्छु । आखिर यस्तो बन्धनमा बाँच्नुभन्दा त मरेकै राम्रो । यसो कतै जाऊँ भन्यो कि कचेडा सुरु भइहाल्छ ।” “आ यस्तो अबुझ भेनाको कुरा सुनेर आफ्नो जिउ नबिगार । हिँड-हिँड झगडा भरेभोलितिर गर्दै गर्नू ।” रेणुकाले जबरजस्ती मीनालाई लिएर जान्छे । कृष्णे मैलो घुसाभित्र मुरमुरिन्छ- “यस्ताको सङ्गतमा लाग्यो भने मान्छे बिग्रिन कति बेर !” उसको मस्तिष्कमा असङ्ख्य शङ्काका कीराहरू सलबलाउँछन् । उसलाई जिउको लुगा च्यातचुत पार्न मन लाग्छ, बर्तनहरू बाहिर मिल्काउने झोक चल्छ तर उसले त्यस्तो केही गर्दैन । उसलाई राम्ररी थाह छ स्वास्नीको अनुपस्थितिमा देखाएको दङ्गाले उसको रिसको आगो निभ्दैन । समय सँगसँगै भरे प्रहार गरिने तीखा वचनवाणहरू तयार हुन्छन् कृष्णेको साँघुरो मानसिकताको ठोक्रामा ।

हतार गरेर जाँदा पनि ती दुईको काम बन्दैन । रेणुकाको पिक्चर हेर्ने आग्रहलाई नकारेर अझ यसो भनौँ लोग्नेको डरले आधा पिल्टो इच्छालाई निमोठेर मीना घर फर्किन्छे अनि रेणुका हलतिर । बाटाभरि मीनाको मथिङ्गलमा रेणुकाले भनेको कथन गुन्जिन्छ- ‘कस्ता हुन्छन् जी यी लोग्ने मान्छेहरू आफूलाई महान् मर्द सम्झिन्छन् । घरकी गाईजस्ती सुधी पत्नीलाई त उपयोगको वस्तुमात्र ठान्छन् कि कसो ! अलिकति विश्वास पनि नभएको, कसैले क्वाप्प खाइदेला जस्तो । कुनै पनि विवाहितालाई आफ्नो घरको इज्जत, मानमर्यादा सिकाइरहनु पर्दैन । उसले त आमाको गर्भबाटै सिकेर आएकी हुन्छे जुनदिन उसले छोरीको रूपमा जन्म लिन्छे । तिमी केटाकेटी छैनौ न कि बद्चलन नै तर कसैकी स्वास्नी हुनु मुट्ठीमा राख्नु त होइन । प्रत्येक प्राणीको आआफ्नै भावना हुन्छ, इच्छा हुन्छ भने स्वतन्त्र बाँच्ने अधिकार पनि बराबर हुनुपर्छ । मर्दको इसारामा नाच्ने कठपुतली हुनुभन्दा त पशुको जिन्दगी बेस हुन्छ । आजको युगमा पनि महिलाले बन्धन भोग्नु आश्चर्यको मात्र नभएर दुःखको कुरा हो । घर साँढे मात्र भएर हुँदैन बाहिर के हुँदै छ सबै बुझेर मात्र कुनै पनि कदम उठाएको सुहाउँछ । हामी महिला जाति नभए आजको संसारको स्वरूप  सायद बेग्लै हुन्थ्यो तर कहाँ बुझ्छन् र नारी सुशिक्षित नभए सभ्य र स्वस्थ समाजको निर्माण हुनु सक्दैन भन्ने सत्य ! सल्केको हृदय रसाएका नयन अनि लथालिङ्ग भएको मन लिएर  कतिखेर घर आइपुगे छ सोचमग्न मीनालाई पत्तै हुँदैन । सँघार टेक्नासाथै लोग्नेका सामु पेट्रोल साबित भई । बस के थियो आगो सल्क्यो । मीनाले अनेक सम्झाउने कोसिस गरी तर कृष्णेले बिहानीकै चिसो चियाको निहुँ झिक्छ- “कुन-कुन दोस्तसित दाँजिएर अहिले मलाई उल्लु बनाउँछेस् !”

यस प्रकारको शब्दप्रहारले मीनालाई अति कष्ट हुन्छ । “हे भगवान्! यो के सुन्नु परेको नि तपाईँलाई ममाथि अलिकति पनि विश्वास छैन? अरूको स्वास्नीले मनपरी गर्दा पनि यस प्रकारको घिनलाग्दो लाञ्छना त लाउँदैनन् तर म मात्र साह्रै सोझी भएर होला सहनै नसकिने वचन सुन्नुपरिरहेछ । यस घरमा एउटा न एउटा घटना नभएसम्म तपाईँको आँखा खुल्ने होइन साथै मप्रतिको अविश्वास, अब भने म हिँडे ।” मीना जसरी भित्रिएकी थिई त्यसरी नै रुँदै बाहिरिन्छे ।

बाहिर घना अन्धकार थियो । कृष्णे आशङ्काले एकपल्ट सानो भयो । भोलिपल्ट मीनाको लास सेतीखोलाको एउटा ढुङ्गाको कापमा अल्झेको भेटिन्छ । मजेत्रोको फेर पानीको बहावमा  फ्याल्ल-फ्याल्ल भइरहेथ्यो । मानिसहरूका बीचमा किङ्कर्तव्यविमूढ भएको कृष्णे स्वास्नीको फुस्स उडेको अनुहारलाई एकटकले हेरिरहेथ्यो । उसको कानमा स्वास्नीले भनोकी अन्तिम वाक्य गुन्जियो- ‘यस घरमा एउटा न एउटा घटना नभएसम्म तपाईँको आँखा खुल्ने होइन साथै मप्रतिको अविश्वास, अब भने म हिँडे ।’ कृष्णेलाई सपनाजस्तो लाग्यो, स्वास्नीको निर्जीव ओठ हल्लेजस्तो देख्यो । कैयौँ आँखाहरूबीच अपराधी ठहरिएको कृष्णे सुँक्क-सुँक्क रुन थाल्यो ।

“जिउँदो छँदा यसरी पश्चात्तापको आँसु झारेको भए आज दिदीले पुछिदिन्थिन् तर बिचरीलाई जिउँदै मारिहाल्यौ अब रोएर कराएर के पाउँछौ ?” भक्कानु रोक्ने असफल प्रयास गर्दै रेणुकाले कृष्णेपट्टि फर्केर थुकिदिई । कृष्णे झन् रुनु न हाँस्नु भएर जिल्लिरह्यो ।