निरन्तर दुःखको पीडाबोधले रन्थनिँदै , निचोरिँदै र उत्तेजित हुँदै अनायासै निमित्या स्कटल्यान्डतिर हुत्तिइन् । उनको निर्णयमा साथ दिने उनकै आशा बाहेक कोही थिएन । उज्ज्वल भविष्यको सपना र सन्तानको अभिलाषालाई पूरा गर्ने मातृ भावनाले उनी पलायन हुने निर्णयमा पुगेकी हुन् । त्यो भावनालाई न त उनले रोक्ने चेष्टा गरिन्, न त उनले आफ्नो सहज बाटाबाट नै हिँडाउन सकिन् । बस… मनले भावनालाई नवीनताको यात्रातर्फ धकेलिरह्यो, उत्प्रेरित गरिरह्यो । अरू थोक केही हैन, बस् त्यही दुःखको सागरबाट मुक्त हुने सपना साँचेर उनी नेपालमा आफ्ना प्यारा सन्तति छोडेर युरोपतिर हुत्तिएकि हुन् ।

डिल्ली अम्माई
भावना र भोगाइको पारखी भएकीले निमित्या आफैँमा अपूर्ण भएर पनि सम्पूर्णताको खोजीमा भौतारिँदै युरोप पुगेकी भन्दा हुन्छ । पैतलादेखि शिरसम्म उनलाई सदैव दुःखको तेजाबीरागले पोलिरह्यो । मनको तरङ्गलाई निमित्याले साथी बनाउँदै कहिले ती स्कटल्यान्डका असहाय बटुवाहरूका बीचमा पुगेर प्रश्न सोध्ने कष्ट गर्थिन् त कहिले हिमालको चिसो हावाको स्वादमा आँसुको सितन पिएर बाँचेका आफूजस्तै धर्तीपुत्रहरूको मानववस्तीमा रुमलिन्थिन् ।
स्कटल्यान्डमा उनी पढ्ने कलेज भूमि टेकेको छ महिनामै बन्द भयो । उनी दलाल लगाएर फ्रान्स जान हिँडेकी बेल्जियम आइन् । अनिश्चित गन्तव्यको ठेगान हुँदैन भनिन्छ । ट्रक फ्रान्स नगएर बेल्जियम आयो र एक अन्जान सहरमा रोकियो । मौका छोपेर अरूसँगै उनी त्यहीँ झरिन् । उनीसँग आएका केहीले ब्रुसेलको शरणार्थी भर्ना गर्ने ठाउँमा लिएर गए । उनीहरू पनि त्यही ट्रकमै भेट भएका बङ्गालीहरू थिए । शरणार्थी हेर्ने निकायले बेल्जियमको एक अन्जान क्याममा पठायो । त्यहाँ पनि उनी अन्जान विदेशी साथीहरूकै साथ लागेर पुगिन् । समयको गति क्रमशः अगाडि बढिरह्यो।
भन्न धेरै सजिलो छ यो युगमा । सुखद भावलाई व्यवहारको निर्देशिकाअनुसार चलायमान बनाउने कसको हिम्मत र ! कसैको पीडामिश्रित दुःखलाई कल्पना गरेर भावनाको उत्प्रेरणाले व्यवहारको बाटाबाट बुझ्ने कार्यलाई आजकल झिँजो मानिन्छ । “काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” भनेझैँ मनसँग बाँच्नेहरूको समवेदनाको लहरलाई छाम्नु अचेल पागलपन नै हो ।
यो भनाइ दुनियाँको सुख भोगेर अघाएका र एकाङ्कीको नाट्यशालामा आफ्नो दर्पण हेरेर आफैँसँग रमाउनेहरूका लागि नै राखिएको होला सायद । उनी सबै किसिमका भावनाका प्रसादहरू खाँदै र आफ्नो जीवनलाई सुरक्षित साथै भविष्यलाई सुनौलो बनाउन आएकी थिइन् क्यार युरोप । यो जोडीविहीन काकाकुलहरूको बस्ती वा भनौँ बेल्जियममा । यो मर्नु र बाँच्नुको ठाउँ वा भनौँ महायुद्धका सबै समवेदनाहरू पचाएर भावना र कल्पनाको अथाह भारीलाई झन्झटिलो बनाइसकेको कारखानामा । युरोपको तन्द्रा एकनासको भएर पनि निर्जीवजस्तै भइसकेको छ । त्यही अनुभूतिले निमित्याको मन टोलाएको छ, यात्रा रोकेको छ भर्खर र भावना पनि कारखानाको आवाजसँगै कता हो कता बतासिएको छ ।
उनले आफूलाई एक्लो ठानिन् यो ठाउँमा र धेरै रात एक्लै रोएर बिताइन् शरणार्थी शिविरमा । एक सन्तानकी आमा, नेपालतिर बाबुको पनि पिउने बानीले कर्तव्यको बोझलाई हलुङ्गो बनाइसकेको । तैपनि छिमेकीका छोराछोरी सहरका ठूला विद्याशालाहरूमा पढ्दै गरेका, कपालको अगाडिको रौँ काटेर पातलो चर्मलेपन कपडामा ठाँटिएर नाङ्गोपनमा रमाउने सहरतिरका कोरलीहरूको चाल ढालले आफ्नो सन्तान पनि नमिठो गरी बाङ्गिएको र समय पैसामा बिक्न थालेका तस्बिरहरूले उनलाई अत्यायो । तिनै आधुनिकताका हुन्डरीले उनलाई उडाउँदै उडाउँदै यो ठाउँसम्म ल्याइपुऱ्याएको हो । उनले शिविरका प्रत्येक पाउरोटीको गाँससँगै भविष्यका सुकिला भोजपात्रका दानाहरू निलिरहेकी थिइन् र सङ्लो सुपसँगै सपना पिइरहेकी थिइन् । केवल अनिश्चित भविष्यका सुकिला सपना !
हुन त अलिकति समय स्कटल्यान्डको हावाको स्वादसँगै बुढा पाकाहरूले पचाउन नसक्ने युरोपको रमाइलो मजाबारे हेरेकी र बुझेकी थिइन् । बेलायततिर पनि स्तर नपुगेका कलेजहरू सरकारले धमाधम बन्द गरिदियो । कानूनी रूपमा क्याम्पस पनि सरकारी पत्यारको सीमाबाट बाहिरिएसँगै सबै विद्यार्थीरूपी धनयात्रीहरूको पनि बिल्लीबाँठ भयो । कोही कता लागे, कोही घर फर्के र केही नेपालीहरू खोला तरेर युरोपको यात्रालाई खोजयात्रामा रूपान्तरण गर्दै यो ठाउँसम्म पनि आइपुगे । उनी पनि त्यसैमध्येकी एक थिइन् । सबै युरोप छिर्नेहरूका सपनाकी प्रतिनिधि निमित्या ।
निमित्या सबै यात्राका क्षेत्रहरूलाई केस्रा केस्रा गरेर केलाउथिन्, “के सबै युरोप छिर्नेहरूको सुरुवाती काल यस्तै थियो त ? आफैँलाई प्रश्न गर्दथिन् र आफ्ना चिचिलाको दिनचर्याहरूको छाया र रहरले उनको भावनालाई यात्राको बाटामा लगाम लगाएर पछाडि खिच्दथ्यो । बेल्जियममा शरणार्थी भएपछि एकदिन बजारतिर खुर्सानी किन्न बजार जाँदा अचानक एक नेपाली दाइ भेटिएका थिए । उनै नेपाली दाइसँग हाइ हेल्लो भर्खरै चल्न थालेकाले एक्लोको अनुभूति कम हुँदै गएको थियो । पूर्वेली नेपाली दाइको मायालु स्वरले उनको मनको सुक्खापन क्रमशः हरियो हुँदै गयो।
एक दिनको कुरा हो, उनी तिनै नेपाली दाइको सामान्य परिचयको आधारले हौसिँदै आफ्नो मनलाई आशाले भिजाएर नजिकैको सहरतर्फ आइन् । दाइलाई भेटिन् । नेपाली दाजुको आशमा केही हुन्छ कि र कतै सानोतिनो काम गर्न पाए घरको तिरोभरोको जोहो गर्न सकिन्थ्यो कि ? भन्ने आशामा एक्लै रमाउँदै दाइको कोठासम्म पुगिन् । दिउँसोको खानपिन भयो दाइसँगै । दाइले उनको भावनालाई सम्मानको दोसल्लाले सजाउन कुनै कसुर बाँकी राखेनन् । निमित्या दाइको सत्कारसँगै सुकिलो भविष्यको आशामा रमाएर बेलुका शरणार्थी क्याम्प फर्किन् । दाइले पनि राम्रै व्यवहार देखाएकाले विश्वासको उकाली बेसक्याम्पसम्म पुग्यो ।
शरणार्थी क्याम्पका ती दिन र रातहरू अब क्रमशः नियास्रो लाग्दा हुन छाडे । “यो पृथ्वी हो, यहाँ भावना बोकेकी, दशा बिग्रेकी निमित्यालाई यात्रामा सघाउने महान् आत्मा पनि रहेछन्” ,उनको विश्वासले अविश्वासलाई हरायो । परोपकार र यातनाको दोहोरो मापदण्डलाई अपनाउन सक्ने सम्भावनाको आशङ्कालाई सत्कारको मिठासले दबाएर राख्यो ।
उनी सत्कारको चिल्लोपनले टाँसिइसकेकी थिइन् र हप्तामा दाजुको दर्शन र दिनमा फोनको अभिशप्त आवाजले क्रमशः पाउरोटी खाएर क्याम्पमा बसेको आभासलाई भुल्दै गइन् । आशाले भविष्यको कल्पनालाई जागरुक बनायो । घरको याद र छोरीको पदछायालाई बिस्तारै सपनाबाट अलिक पर पुर्यायो र भोलिको उज्ज्वल ऊर्जालाई शरीरका तन्तुहरूसम्म प्रवाहित गर्दै लग्यो । दाजुको आफ्नोपनमा के थियो ? उनले बुझ्ने लेठा नै गरिनन् । भावनामा कति पवित्रता थियो नाप्ने उनलाई हेक्का नै भएन ।
निमित्या आफैँमा दुःखी, बच्चा र श्रीमान्को न्यानोपनविना सिरानीको सहराले जिउन सिकेकी तर अब त दाइ पनि बाटामा भेटिएका एक खासजस्तै भइसकेका थिए । दाइले एकदिन बहिनीलाई दुई दिन शिविरबाट बिदा लिएर कतै घुम्न जाने र काम पनि खोज्ने प्रस्ताव राखे । उनी अलिकति हच्किइन् र सोचिन्, “हैन दाइले कतै अप्ठ्यारो पार्ने त हैनन् ? कोठामा एक्लै छन्, कतै सजिलोको अनुभूति र सहराको स्वादले पिरो अनुभूति गर्नुपर्ने त हैन ? ”
उनले यो प्रस्तावबारे पछि फोन गर्ने भनेर फोन राखिन् । ‘ठिकै छ त सोच तर मलाई गलत नसोच है” ,भनेर दाजुले फोन राखे । निमित्या भावनासँगै रातभर बगिन् ।
“शुक्रवार आउन अझै बाँकी छ दुई दिन । काम गर्ने अनुमति पत्र पनि सायद अर्को हप्ता आउला । कतै काम खोज्नुपर्ने पनि हुन्छ । फेरि अन्तर्वार्ता भयो भने बेलायतबाट आउनेहरूलाई सबै औंठाछापसहित कागजपत्रहरू दिन्छ रे अनि सकारात्मक निर्णय हुने त चानसै छैन ।” यस्तै के-के सोच्दै बिहीवार बेलुका अबेर सिरकले मुख ढाकेर घुप्लुक्क सुतिन् । उनलाई रातभर निद्रा परेन । खै! घरपरिवार, बाआमा र विवाहको मण्डपमा खाएका कसमहरू पनि सम्झी होलिन् । साथीभाइका हल्ला र युरोप यौन हल्लाका पुराना किस्साहरूबारे पनि सोचिन् होला तर बिनको नास्तापछि उनले दाइको एकल सहारालाई मञ्जुरी दिने निर्णय गरिन् ।
“दाइ पनि त त्यति अभद्र छैनन् । एकल भए पनि कागजवाला हुन् र धेरै मान्छे चिनेका छन् । काम खोजिदिन र क्याम्पले भाडा घर खोज्न अनुमति दिएपछि वासको पनि बन्दोबस्त गर्ने वचन दिएका छन् ।” उनी सुस्ताइन् र दु ईदिनको बिदा लिई क्याम्पबाट नजिकैको सहरतर्फ लागिन् ।
दाइ ट्रेन स्टेसनसम्मै लिन आए र हाउभाउको साथ निमित्याको स्वागत गरे । सन्चो बिसन्चोको कुरा भयो । गफैगफमा कोठामा छिरे दाइबहिनी ! खाना अगाडि नै बनाइसकेका रहेछन् । दाइ खानाको परिकार पस्कन लागे भान्साति र।
बहिनीको भावना कता हो कता बतासियो, कल्पनामा गुलियो भरियो । भावनाको तरङ्ग कल्पना हो । यो पनि त कसैको सहराले बग्न कोसिस गर्छ । एक्लै बाँच्न त सायद सबैलाई गाह्रै पर्छ होला । निमित्या अलिक बेर अनन्त तर केवल सुखद सपनामा बगिन् रेलझैँ सललल ।
बेलुका दाजैले अस्वाभाविक रूपमा खानपान गराए । धेरै लामो कहानी सुनाए – युरोपियन सभ्यताको । पूर्वीय सभ्यताको अलिकति खिल्ली उडाए । बाँच्ने तरिका गोराहरूबाट सिक्न सुझाए र सबै रसरङ्गहरूको स्वादमा रमाउन जान्नुपर्ने उपदेश दिन थाले ।
“अलिकति जाडो हटाउन पर्छ कि, निमित्या बहिनी !” सेतो रक्सीको फाइदालाई स्वास्थ्यसँगै जोडी अङ्गुरको मिठो रसको अलौकिकताको बयानमा केही समय गुजारे । बहिनी पनि ‘हो क्यारे !’ भनेर थोरै लिइन्, बिस्तारै करै करमा अलिक लिइन् र किन हो किन आज उनलाई पनि अलिक उत्ताउली बन्ने धुन चढ्यो ।
राति अबेरसम्म गफको लेखाले जीवनको गीतलाई लयबद्ध बनायो । दुवैलाई मादकताको रागले उराल्यो । रसरङ्गले दाजुबहिनीको नक्कली पर्दा हटायो र भविष्यको धुपिलो सहयोगको आश्वासनले एउटै बिस्तारामा रातलाई खेलायो ।
त्यतिखेरै ढोकाबाट सुसेलीको आवाजजस्तो ‘खै केको हो’ आवाज आयो । दुवै चरनाम साल नाल नकाट्दैको दशामा, ? ढोकाले फेरि आवाज दियो । दाइ पनि तीन-चारपटकको बेहोसी मादकतासहितको रङ्गलीलाले होस गुमाएको बटुवाझैँ छटपटाए र शरीरको नाङ्गो दशालाई तौलियाको पर्दाले बेरेर ढोका खोल्न गए । ढोका खोल्नेबित्तिकै दुई जना पुलिसले आफ्नो पास र एरेस्ट पुर्जी देखाउँदै भित्र छिरे । पुलिसले बनाम दाइलाई कपडा लगाउन भने, उनले डराउँदै कपडा लगाए, सबै कोठाको चेकजाँच भयो, अन्त्यमा हत्कडी लगाएर पुलिसले प्रिय दाइलाई लगे ।
निमित्याको भावनाले मादकताको सुरमा विश्राम लिएको थियो तर त्यो दृश्यले उनको भविष्यसँग जोडिएको रमझमलाई एकैछिनमा फुटेको सिसाझैँ झऱ्यामझुरुम बनाइदियो । “आखिर दाइ पनि उस्तै रहेछन्, गैरकानूनी रूपमा एकछिनको शीतलताले लठ्ठिएर चौपारीमा बसेको भरियाझैँ इलिगल ।” निमित्या स्तबध भइन् र उनको आँखाबाट भर्खरै गरेको मादक सम्भोगको मयल र दाइले दिएको फोस्रो आश्वासनलाई पखाल्दै अनगिन्ती आँसुका थोपा पालो नपर्खीकन भुईँमा भरे । उनको अगाडिको संसार फनफनी घुम्न थाल्यो । चारैतर्फबाट बादल मडारिएर आयो र एक्कासि आँखाको ढक्कनले पर्दा लगायो । विश्वासको आकाश बादलियो, आशामा चट्याङ पऱ्यो, धर्ती चरमरायो । उनी आफ्नै विषाक्त मनोदशा र अधैर्यको चक्रपातले अडिन नसकी भुईँमा ढलिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

