अमेरिका आएर फिजिक्समा पिचएडी गरेको एक वर्षभित्रमा नै मैले नासामा वैज्ञानिकको जागिर पाएँ । मेरो काम सौर्यमण्डलबारे अध्ययन गर्नु थियो । अध्ययनको क्रममा मैले केही नयाँ कुराहरू पनि पत्ता लगाए । जस्तै समयको माप हुँदैन । साल, महिना, गते, बार केही पनि हुँदैन । समयको माप त्यस बेला मात्र हुन सक्छ जब हामीलाई यो थाहा होस् समय कहिले प्रारम्भ भयो र यसको अन्त्य कहिले हुन्छ । अर्थात् कुनै पनि कुराको सुरु र अन्त्य थाहा पाएपछि मात्र त्यसको नाप हुन्छ भन्न सकिन्छ । मैले यो पनि थाहा पाएँ, समयबारे हामीमा ठूलो भ्रम छ ।

विश्वराज अधिकारी(अमेरिका)

यस्तै यस्तै जिज्ञासाका माझ मेलै समयलाई उल्टो दिशामा घुमाउने विधि आविष्कार गरे । अर्थात् सूर्यलाई उल्टो घुमाउने विधि पत्ता लगाएँ । पृथ्वीलाई पनि उल्टो घुमाउने विधि पत्ता लगाएँ । मैले समयलाई उल्टो घुमाउँदा, मैले चाहे भनेँ २०, ४०, ६० वा चाहेजतिको वर्षको पछाडि यो पृथ्वीको समयमा जान सक्ने भएँ । त्यो बेलाका यो पृथ्वीका घटनाहरू हेर्न सक्ने भए ।

यो चमत्कारी विधि पत्ता लागेको एक महिनापछि म नेपाल पुगेँ । वीरगन्ज पुगेँ । मैले समयलाई चालिस वर्ष पहिले पुऱ्याएँ । आजभन्दा चालिस वर्ष पहिलेको वीरगन्ज देखेर म दङ्ग भएँ ।

चालिस वर्ष पहिले समयलाई पुऱ्याउनु र वीरगन्ज जानुको उद्देश्य अब म तपाईँहरूलाई भन्छु । उद्देश्य र कारण यस्तो थियो-

म सरासर वीरगन्जस्थित ठाकुर राम क्याम्पस पुगेँ । दिन सोमवार थियो, समय दिउँसोको दुई बजेको थियो । मैले समयलाई ठिक त्यहाँ पुऱ्याएँ जुन बेलमा त्यस क्याम्पसमा म आइ.कम. पढ्थेँ । अर्थात् २०३३ सालको एक दिनमा समयलाई उल्टो घुमाएर पुऱ्याएँ । त्यस दिन म कक्षा कोठाबाट बाहिर निस्केँ । बाटामा अञ्जुलाई भेटेँ । अञ्जुलाई मैले भने, “ऊ त्यो रूखको तल जाऔँ न । तिमीसँग एउटा महत्त्वपूर्ण कुरा गर्नु छ ।” अञ्जुले मेरो कुरा मानिन् । हामी दुवै त्यो रूखको तल पुग्यौँ ।

मैले अञ्जुलाई भनेँ, “एक हप्ता पहिले, प्रथम भेटमा, मलै तिमीसमक्ष प्रेमप्रस्ताव राखेको थिएँ । एक हप्तासम्ममा पनि तिमीबाट कुनै जबाफ आएन । त्यसो हुनाले आज भेटेर तिमीसँग तिम्रो मप्रतिको धारणा सोध्न आएको हुँ ।”

अञ्जुले भनिन्, “तिमी त कायर रहेछौ । मलाई प्रेमप्रस्ताव राखेको भोलिपल्ट, पर्सीपल्ट तिमीले मलाई सोध्नु पर्थेन मेरो धारण कस्तो छ भनेर ? उल्टो हरायौ । म कसरी भन्न आऊँ? नरेश म पनि तिमीसँग प्रेम गर्छु भनेर ! तिमीहरूलाई जस्तो हामीलाई भन्न सजिलो हुँदैन । हामीले त धेरै कुराहरू विचार गर्नुपर्छ ।”

अञ्जुको त्यो कुरा सुनेर मैले उनको दुवै हात समाते । उनलाई अँगालामा बेर्न मन लाग्यो तर क्याम्सभित्र र अन्य व्यक्तिहरूले हेर्ने गरी त्यस्तो गर्नु मर्यादा विपरीत थियो । क्याम्पसमा भएका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरूले हामीलाई हेर्न सक्थे ।  त्यसकारण यथास्थितिमा रहेँ ।

त्यस दिन साँझ म र अञ्जु आदर्शनगरस्थित एउटा स्टुडियोमा गयौँ । हामी दुवै जना टाँस्सिएको दुई-तीन पोजको फोटो खिच्यौँ । डोसाका लागि प्रख्यात आदर्शनगरको एक होटलमा डोसा चाट र समोसा खायौँ ।

म चढेको बस डालसमा रोकिएपछि म झल्यास ब्युँझेँ । मैले त अचम्मको सपना पो देखेको रहेछु । म अमेरिकाको ओक्लहोमा राज्यको नरमन सहरबाट टेक्सास राज्यको डालस सहर जाँदै थिए । डालसस्थित एक साहित्यिक संस्थाले कथावाचन कार्यक्रम राखेको थियो । त्यही कार्यक्रममा मैले भाग लिनु थियो । कार्यक्रम जुलाई महिनाको ३१ तारिख २०२१, शनिवारको दिन थियो ।

तपाईँहरूलाई एउटा कुरा भने भनिदिऊँ है । मैले देखेको त्यो सपनामा म वैज्ञानिक बनेको सपना थियो । मैले अञ्जुलाई दोस्रोपटक वीरगन्जस्थित ठाकुरा राम कलेजमा भेटको पनि सपना नै थियो तर मैले अञ्जुलाई पहिलोचोटि भेटेर प्रेमप्रस्ताव राखेको भने यथार्थ हो, सपना होइन । अनि पहिलो भेटमा मैले अञ्जुलाई प्रेमप्रस्ताव राखेर अञ्जुले गाली गर्ने हुन् कि भन्ने डरले फेरि उनीसँग भेट्न नगएको पनि यथार्थ हो । सपना होइन ।

विश्वराज अधिकारी

हाल: अमेरिका