आज कस्तो प्रकारको खुसी मनभरि छाएको छ प्रतीकको ह्रदयमा । डरले पनि भरिएको, अलिकति दुःखको, लाज लागेको, बेचैन जस्तो, कस्तो कस्तो !
“नानी, भोलि फर्स्ट डे हो नयाँ स्कुलको । नयाँ साथीहरू बनाउनू । बदमासीचाहिँ नगर्नू ल । राम्रो व्यवहार देखाउनू “- उसका नजिककाहरूले सुनाए ।
यही नै उसका निम्ति आँट भयो । बसमा चढेर जाँदै छ ऊ । पुरानो स्कुलमा र साथीहरूसँग खेल्नु नपाउने कुरा सोच्दै निराश बनेको थियो । नयाँ कुराहरू भने जहिल्यै पनि मनपर्छ उसलाई । सायद मन नपराउने को पो छ होला र ? तर आज पुरानो कुराहरूको प्रभाव निकै गहिरो देखिन्छ उसको अनुहारमा । खुसी हुँदाहुँदै पनि मनमा कता-कता के-के कस्तो-कस्तो लागिरहेछ प्रतीकलाई ।
ठूलो स्कुल । ऊ सातौँ श्रेणीमा गएको थियो नयाँ स्कुलमा । छक्क पर्छ कारण उसले यस्तो ठूलो बिलडिङ कहिले देखेको थिएन । बाबुको नयाँ ठाउँमा पोस्टिङ भएका कारण उनीहरू यो नयाँ ठाउँमा सर्नुपरेको थियो । नयाँ ठाउँमा भएपछि अलिकति अप्ठ्यारो, अलिकति छुट्टै लाग्नु पनि ठिकै थियो । नयाँ सम्बन्ध पनि हुने नै हो तर कस्तो हुने हो, त्यसको अलिकति चिन्ता थियो उसको मनभरि ।
ऊ र अरू कति जनाले स्कुल ड्रेस लगाएका थिएनन् । हेडमिस्ट्रेसले बाहिर निस्कने र आज क्लास बस्न नपाउने कुरा सुनाउँछिन् । उसलाई खल्लो लाग्छ कारण नयाँ स्कुलको फर्स्ट डे उसले मिस गर्नुपरेको थियो र अरूलाई हाँसेको देख्दा आफैँमाथि हाँसेजस्तै लागेको पनि थियो ।
अर्को दिन- हिजो ड्रेस नलगाई आएकोमा कति जना क्लासमेट्सहरूले जिस्काए । हल्ला, गिल्ला, जिस्किने,जिस्काउने सुरु भयो क्लासमा टिचर नहुँदा । उसलाई अचम्म लाग्थ्यो किनभने पुरानो स्कुलमा त्यस्तो थिएन । ऊ कम बोल्ने स्वभावको थियो । त्यस कुराले पनि उसलाई साथीहरूले एकलकाटे र घुसघुसे भन्थे । नयाँ स्कुलको साथीहरूको व्यवहारले उसलाई सुरु-सुरुमा नराम्रो लागे पनि केही महिनमा ऊ त्यस नयाँ परिवेशमा भिज्छ र नयाँ साथीहरू पनि बनाउँछ तर उसलाई जहिले पनि आफू कहीँकतै छुट्टै उभिएको पाउँछ ।
स्पोर्ट्स डे- साथीहरूले फोन लिएर आएका हुन्छन् तर उसकामा भने फोन हुँदैन । त्यत्तिकैमा साथीहरूले उसलाई, “तँलाई गेम खेल्नु मन पर्दैन? मोबाइल किन नकिनी मागेको? यस्ता थुप्रै थुप्रै कुराहरू सोध्छन् ।
“मलाई तिमीहरूले जहिल्यै फोन नभएको र पैसा नभएको जिस्काउँछौ, के यी सब हुनेहरू मात्र तिमीहरूको साथी हुन् त? के यो सब हुनै पर्छ साथी बन्नलाई?”- उसलाई जबाफ दिन मन लाग्छ तर दिँदैन ।
एकदिन साथीहरूले घुम्न जाने भनेर सल्लाह गर्छन् । उसलाई घुम्नु मन पर्दैन र जान्न भन्छ । साथीहरूले जङ्गली भनिदिन्छन्। प्रतीकले भन्छ-” तिमीहरू गएर आऊ न । म पछि जान्छु ।”
अर्को महिना एक जना साथीले उसलाई भन्छ, “ओइ! त्यो केटी कस्तो मनपर्थ्यो कि ! मैले प्रपोज गरेको कि, यस भन्यो नि।”
अनि अझै थप्छ,”ओइ ! तैँले पनि गर्लफ्रेन्ड बना न, के हरेसलाग्दो भएको !”
प्रतीकले भन्छ, “मलाई यस्तो कुराहरूमा ध्यान दिनु छैन । हौरा कुराहरू।”
साथीले ‘डरछेरुवा’ भन्छ ।
फेरि अर्को दिन साथीसँग घर फर्किँदै गर्दा एकछिन ल भनेर साथी नजिकैको दोकानमा पस्छ र चुरोट किन्छ । अलि पर एकान्तमा पुगे पछि- “ओइ तान्छस् ?” भनेर चुरोट निकाल्छ ।
प्रतीकलाई भित्रबाट डर लाग्छ र साथीलाई “ओइ! तैँले कैलेदेखि सुरु गरिस् ? घरमा थाहा पायो भने मार्ला नि !” भन्छ।
साथीले भन्छ, “माऱ्यो भने त जेल पो जान्छ त । अन्त थाहा पाउँदैन हौ, केही हुँदैन । कसले भन्छ र? बरु ला ट्राइ गर् ।”
प्रतीकलाई झट्ट याद आउँछ, “जुन कुरा खराब छ, त्यसलाई घृणा गर र जुन कुरा असल छ त्यसमा लाग” भनेर बाइबलमा पढेको ।
उसले भन्छ, “नाइ, म खान्न”, भनेर नकार्छ ।
“तँसँग हिम्मत छैन रहेछ के । साला डरपो क। किन यति साह्रो डराएको ? तँलाई इन्जोइ गर्नु नै आउँदैन रहेछ । यो त “स्व्याग” हो। नरमल कुरा । फन । तँ अबनर्मल त होइनस् नि?” साथीले ठट्टा गर्दै भन्छ ।
प्रतीकले उत्तर दिन्छ, “म आफैँसँग र आमाबाबासँग झूट बोल्न सक्दिनँ । यो गलत हो । तँलाई पनि थाहा छ र नै त लुकेर खान्छस् हैन र? खराब कुराहरू लुकेर गर्नुपर्छ तर राम्रो कुरा गर्दा डराउनु पर्दैन । मैले सिग्रेट नतान्दा, गर्लफ्रेन्ड नबनाउँदा, मोबाइल नचलाउँदा म अबनरमल हुन्छु र?”
“रब्बिस्” – भन्दै प्रतीक को साथी जान्छ।
प्रतीकले यति भन्छ-“सक्छस् भने तैँले पनि छोड्दे!”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।