तेरो त्यो तीन माना अट्ने पेटमा त्यति जाबो कुरा अटेन ? पिँध नभाकी लोटाजस्ती ।

पोइको घर जाने बेला भइसक्यो । बुद्धि अझै आलोकाँचै छ ! कसैलाई नभन् है भनेको कुरो गाउँभरि गाउँदै हिँडिछ ।”

आमा भित्र फत्फताउँदै थिइन् । आमाको त्यो डाँको छल्न सुचित्रा डोको भिरेर बारीतिर हुत्तिई ।

कान्छी, कान्छी !” बाहिर कसैले पुकारेजस्तो सुनिन्थ्यो । भित्र काममा व्यस्त कमली सुनेर पनि नसुनेझैँ गरेर बसेकी थिई । उसलाई कसैका सामु अनुहार देखाउन मन थिएन । नाक काटियो । बुचो नाक अब कसरी देखाउनु ? जो आए पनि आलो घाउमा नुनचुक छर्न आउने नै त हुन् । ऊ चुपचाप बसी । 

घरभित्र मान्छे भएको गन्ध पाएकी रम्तेल्नी साहिँली सरासर भान्छामा छिरी । “एउटा कुरो सोध्छु । नरिसाऊ है कान्छी ! घुइरो-घुइरो कानमा परेको कुरो हो । कान सुनी हो आँखा देखी होइन पत्याउनु पनि कसरी ? कुरो सुन्दा नि म त छाँगाबाट खसेझै भएँ । खासमा कुरो के हो भनेर सोध्नआकी म ?…” “तपाईँलाई पहिले नै थाहा रहेछ त किन सोध्नुपर्‍यो मलाई? सबै कुरो थाहा हुँदाहुँदै बुझ पचाएर सोध्न लाज लाग्दैन ?” कमली उँचो आवाजमा कड्किन थालेपछि बस्दै नबसी ठाडो खुट्टो हिँडी रम्तेल्नी साहिँली ।

पीआर आकाश

आफ्नै आँखाअगाडि छोराछोरीले गल्ती गरे पनि छरछिमेकको गाइँगुइँ कानमा नपर्दासम्म तातो नलाग्ने रहेछ । छरछिमेकको गाइँगुइँले छोराछोरीको मायाँलाई जित्न पनि त सक्दैन । आफूलाई एकछिन फुर्सद हुँदैनथ्यो अरूको चियोचर्चो गरी हिँड्नलाई । सुविस्ताले बस्न पाएको कहिल्यै होइन । घरको काम, राखनधरन निप्टाएर एघार बजे त मेलामा निस्कनुपर्थ्यो । मेला नगएको दिन हुँदैनथ्यो ।” कमली सोच्दै थिई । कराइको भुटुन डढेपछि ऊ झस्किई ।

दूधको गौवा पखालेर कुँडेमा राख्दै गरेका मन्दिराका बालाई झम्टिन थाली कमलीले “छोरी ठूली भई । अब कुरा चलाउँदै राख्नुपर्छ । उति बेला नै हजुरलाई भनेकी हैन मैले ? कानाँ तेल ठोकेर बस्नुभो । अहिले पुर्परामा हात पर्दा बल्ल होस आयो होला नि !”

सुरुमा त संस्कारी नै थिई मन्दिरा । आमालाई हुरुक्कै गर्ने । कहीँ कतै हिँड्न लाग्यो सँगसँगै पाइला मिलाउन खोज्थी । सबै भन्ने गर्थे कति खासाकी छन् नि मन्दिरा, राम्री उस्तै संस्कारी पनि । पछि गाउँका उमेर पुगेका केटीहरूको सङ्गतले बिग्रिएकी हो कि कुन्नी ? बोल्दै नबोल्ने बोल्नै परे पनि कम बोल्ने खालकी केटी पछि जान्ने भएर बढी मुख चलाउने भाकी थिई । कुरा भुईँमा झर्नै पाउँदैनथ्यो । जबाफ त कति छिटो हो कति छिटो ?अह्राइसिकाइ गर्‍यो । मै जान्ने मै सुन्ने भन्ठान्थी । जम्ला हात गरेर नमस्कार गर्न सिकाएदेखि अहिलेसम्मका सबै संस्कार नामका कुरालाई पछि-पछि त पैतालामुनि राख्दै जान थाली ।

कमलीले सुइँको पाएपछि छोरीको मनपेट बुझ्न निकै कोसिस गरी । उसलाई  एकान्तमा राखेर निकै बेरसम्म केरकार गरी । मन्दिराले होइन भनेरै जितिरही, कुरो टारिरही ।

कुरो के थियो भने । मन्दिराकै स्कुलमा एउटै कक्षामा पढ्ने मोहन मन्दिराको घरमा सधैँ आइजाइ गरिरहन्थ्यो । कमलीको मोहनलाई हेर्ने नजरिया अति नै सकारात्मक थियो तर त्यो नजरियालाई समाजले कहाँ पचाउन सक्छ र ? स्कुल जाँदा मोहनको नाम मन्दिरासँग जोडेर साथीहरूले जिस्क्याउँथे । 

दिन बित्दै गयो । 

म जसरी पनि दुनियाँको नजरमा गिरिसकेँ । म राम्रै भए पनि मलाई अब कसैले राम्रो मान्दैनन् । समाजले यसै बिग्रियो भन्ने सम्झनू उसै बिग्रियो भन्ने सम्झनू ।” मोहनले आफ्नो मनस्थिति बदलियो । केटीमा प्रभाव जमाउन उसले अनेक खालका फिल्मी हर्कतहरू गर्न थाल्यो । सुरुमा अनकनाएकी मन्दिरालाई बिस्तारै प्रेमको मन्द विषले गाल्न थाल्यो । उमेर बढेसँगै बढेको एक अर्काप्रतिको आकर्षणका बीचमा बाधक केही नभइदिएपछि निर्बाध रूपमा उनीहरू रङ्गीन संसारमा सयर गर्न थाले । यो कुरो कमलीको कानमा नपरेको होइन तर उसले यसलाई नजरअन्दाज गरेकी थिई । उल्टै यस्तो कुरा सुनाउनेलाई नानाभाँती गाली गर्थी ।

एकदिन मन्दिराको कोठा सफा गर्दै गरेकी कमलीले छोरीको गोप्य रङ्गीन दुनियाँको भेउ पाई । त्यो जोडीले आफूहरूको सम्बन्धलाई केही समय कोठाभित्रै सीमित गर्न खोजेका थिए तर सफल भएनन् । कोठाभित्र भएका मायाँका चिनाहरू आमाको हात लागे । सुरुमा विश्वास गर्नै नमानेकी कमलीलाई पहिले अरूले वास्तविकता खोल्दा कान थुनेको घटनाले मर्माहत बनायो । त्यस दिन घरमा हल्लाखल्ला भयो । भाग्यवश बाहिरकाले थाहा पाएनन् । भोलिपल्ट कमलीकी कान्छी छोरी सुचित्राले घरको कुरा गाउँमा भन्दै हिँडिछ । एक कान दुई कान हुँदाहुँदै कुरो गाउँमा आगाझैँ सल्कियो । 

घरबाट बाहिर निस्कनै नहुने भो । दुई-चार जना मान्छे जम्मा भएको ठाउँमा मन्दिराको घरको कुराले चर्चा पाएन भने अचम्म मान्नुपर्थ्यो । “मान्छे किन यतिविधि खेदो खन्दै हिँडेका होलान् । तिनका पनि छोरीचेली छन् । कसको भविष्य कसले पो देखेको छ र ?” बेला-बेलामा कमलीले भन्नेका मुखमा बुझो कोच्थी ।

केटालाई त मावलीतिरबाट उचालेका थिए । त्यहीँमाथि आफ्नै भनेका छरछिमेक पनि थपिए । यसरी अर्काकी छोरीको इज्जतमा दाग लगाएर ऊ उम्कने बहाना खोज्दै थियो । केटा पक्षकाले हल्ला सुनेपछि उनीहरूबीचको सम्बन्धलाई भाँड्न हरसम्भव प्रयास गरिरहेका थिए । लागे र पुगेसम्म उनीहरूको मिलन हुन नदिने पक्षमा थिए । यस्तो कुलघरानकी केटी उस्तो कुलघरानकी केटी नानाथरी आरोप लगाउन थाले ।

अवस्था सामान्य बन्ला भन्दा झन् जटिल बन्दै जान थाल्यो । दिन दुईगुना रात चौगुना झ्याली पिटिन थाल्यो । कमलीको मन हुँडलियो, मुटु बटारियो । यस्तो बेलामा बलियो बन्नुपर्ने ऊ झन् कमजोर हुँदै जान थाली । उसलाई मरिकाट्टे खाना रुचेन । थालमा भातका डल्ला एकोहोरो हेरिरहन्थी । आँसुसँग मुसिन्थे भातका डल्ला । भाग बस्न मनै नलाग्ने । बल गरेरै भए पनि दुई-चार गाँस पानीले घचेट्थी । सन्चो भइसकेको नौ महिनाको कोखको घाउ झन् बल्झिन थाल्यो । हतेलीमा ज्यान राखेर कति दुःखसँग उसको ज्यान बचाएको सम्झना ताजै थियो कमलीसँग । सानी छँदा आश मारिसकेको मान्छेलाई हुर्काई बढाई यत्तिको बनाउनुको पुरस्कार थियो होला यो उसलाई ।

यत्तिकै पिरिएर कहिलेसम्म बसिराख्ने ?” एकमन उसले सोची अहिले नै जान्छु । वार या पार गरेर आउँछु । पाइलो चालेकी पनि थिई । केटाको घरनजिक पुग्नै लाग्दा उसका गोडा लगलगी काँपेर अघि बढ्नै मानेनन् । जिउ फतक्क गल्यो ।

छोरीले गरेको गल्तीमा छरछिमेकले पनि इबि साँध्न थाले । गाउँकै बदनाम गरी भनेर उसको परिवारलाई नै टोक्न थाले । “दुनियाँ शत्रु जोरीपारी हाँसेको कहिलेसम्म हेरिरहनुपर्ने हो ।” रातभर उसको मनमा कुरा मडारियो । निकै बेर छटपटी भयो । आँखाका ढकनी के बन्द हुन लाग्या थे भालेको डाँकाले ब्युँझाइहाल्यो ।

उसलाई अझै पनि याद छ । पहिलोपटक मन्दिरा बाहिर सर्दा उसले ख्याल-ख्यालमै भनेकी थिई । “नानी अब यही आँगन पोलेर तँलाई अन्माउन पाए पुण्य पनि हुन्थ्यो । नातिनातिनाको मुख देखेर मर्न पाए पनि हुने भन्ने घिट्केसो मनमा छ ।” उसको यो कुराले मन्दिराले दुई दिनसम्म खाना खाएकी थिइन ।

एकदिन कुरैकुरामा कमलीले मन्दिरालाई भनी “कतै लभसभ गरेको भए भन् है फेरि । अहिले त जमाना नै यस्तै छ । के भर हुन्छ र ?” “ह्या मम्मी पनि ! खालि नचाहिने कुरा मात्रै गरिरहनुहुन्छ । म त बुबाआमाले दिएको केटासँगै पञ्चेबाजा घन्काएर कम्मर मर्काई मर्काई नाच्दै जाने हो ।” ती शब्दहरू उसको परिपक्व मुखबाट निस्किएका थिए । उसलाई कमलीले वचनको पक्का मानेकी थिई । कमलीलाई के थाहा उसले गरेको विश्वासमा त्यसरी तुषारापात नै पर्छ भनेर ।