“यसलाई कसैले प्याट्टै मारिदिए पनि हुन्थ्यो ।” मैले “दाइ नमस्कार” भनेर हात जोड्नासाथ गोपी दाइले यस्तो तिक्तता पोख्दै थिए । त्यो तिक्तता चानचुने पनि थिएन ।
“नमस्कार, के भयो हौ दाजु ? कसलाई मार्ने कुरा गर्नुभएको ? डर पो लाग्छ तपाईँहरूसँग त ।”
“नमस्कार, हौ सर । डराउनु पर्दैन । त्यो मर्नेमार्ने भन्ने कुरा क्रान्तिको औचित्यका आधारमा हुन्छ ।”
हाम्रो प्रायः भेट हुने गरेको अगाडि कदमको गाछी भएको यही चियापसल हो । हामी आज यहीँ जुटेछौँ । प्लास्टिकका कुर्सीमा हाम्रो सिंहदरवार चल्थ्यो ।
“यो ब्रम्हाण्डको कुनै पनि औचित्यले मान्छे मार्ने इजाजत दिन सक्दैन । जडसूत्रवादबाहेक । यही जडसूत्रवादलाई तपाईँहरू परिवर्तन भन्नुहुन्छ । अग्रगमन भन्नुहुन्छ । मान्छेलाई घृणा गर्ने कुनै पनि दर्शन अमानवीय हुन्छ । एउटा वर्ग, खास गरी पुँजीपतिहरूलाई घृणा गर्न सिकाउने दर्शन कसरी मानवीय हुन्छ ? सबैलाई प्रेम गर्ने चाहिँ मानवीय होइन ? अनि त्यही विज्ञान चाहिएको होइन दाइ हामीलाई ?”
“क्यानसर लागेको अङ्गलाई काटेर फ्याँक्यो भने मात्र बाँकी शरीर बच्छ । यही हो तपाईँले घृणा भन्नुभएको तत्त्व । क्यान्सर पाल्ने कि फ्याँक्न, छुट्याउनुपर्छ । यही हो हामीले भनेको विज्ञान अनि यही विज्ञानलाई तपाईँहरू जडसूत्रवाद भन्नुहुन्छ ।” उनी दृढतासाथ बोले ।
“अनि यही जडसूत्रवाद विज्ञान बन्छ तपाईँहरूको । भनेकाले हुँदैन, व्यवहारमा हेरौँ न, दाइ ।” मैले उनको मन नदुख्नेगरी भनेँ ।
“सामाजिक न्यायका लागि कतिपय कुराहरूमा कठोर हुनुपर्छ । यसलाई बुर्जुवाहरू निरङ्कुशता भन्छन् ।”
“यही सामाजिक न्यायका नाममा तपाईँहरू निरङ्कुश बन्नुहुन्छ । त्यो तपाईँहरू बुझ्न सक्नुहुन्न ।”
“किन?”
“प्रशिक्षणले तपाईँहरूलाई एकपक्षीय बनाएको हुन्छ । न्यायको हवाला दिएर निरङ्कुश बन्ने ठेक्का लिएको छ भन्नुहुन्छ तपाईँका नेताहरू । तपाईँहरू त्यसैका कार्यकर्ता । न्याय सापेक्षित हुँदैन र ?”
“यसको उत्तर म अलिक फुर्सदमा दिन्छु तपाईँलाई । मजा आउँछ तपाईँसँग गफ गर्न । खारिन्छ विचार ।”
नमस्कार भन्दै उनी हिँडे ।
हाम्रो संवादको कुनै निष्कर्ष पनि आएन । उनले न त कसलाई मारिदिए हुन्थ्यो भनेको भनेर उत्तर नै दिए । बिनानिष्कर्षको संवाद । न त यो संवाद कुनै निष्कर्षका लागि थियो किनभने राजनीतिक संवाद निष्कर्षविहीन नै हुने गर्छ । दलका शीर्ष नेताहरूको सहमतिको लागि गरिएका वार्ताहरूजस्तै । निष्कर्षविहीन ।
०००
“दाइ, नमस्कार । पुलिस थानाबाट निस्किँदै हुनुहुन्छ । के थियो ?” मैले थानाबाट निस्किँदै गरेका गोपी दाइलाई एक्कासि प्रश्न गरेँ ।
“आजकल यो ठाउँ मेरो पानीपँधेरो भएको छ ।”
“किन, दाइ?”
“आजका युवाहरू अराजक बन्दै गएका छन्, त्यसैले ।”
“तपाईँहरू राजनीति गर्ने मान्छेहरूले यस्ता केटालाई थानाबाट छुटाउन आउने मात्र होइन, तिनलाई सभ्य व्यवहारको प्रशिक्षण पनि दिनुपर्छ ।”
“ठिकै हो ।”
“ल त दाइ, समाज सुधार्ने जिम्मा तपाईँहरूको हो । हामीलाई पनि यो अभियानमा समावेश गर्नुहोला ।”
“ठिकै हो ।”
गोपी दाइ सत्तारुढ दलको जिल्ला स्तरीय नेता हुनुहुन्थ्यो । सरल स्वभाव भएकै कारणले भिन्न राजनीतिक पृष्ठभूमि हुने महरूजस्ताले पनि उनलाई सम्मान गर्थे । उनको पार्टीले अँगालेका र निर्णय गरेको सबै कुराहरू हुबहु लागु गर्नभन्दा पनि त्यसलाई जीवनको कसीमा राखेर हेर्थे र त्यसको मानवीय औचित्य खोज्थे । उनी जस्तो पार्टीका भए पनि सही नेता थिए । उनी नेता पनि होइनन् । उनको सरलतालाई समाजले सल्युट गरेकै कारणले उनलाई उनको दलले माथिल्लो स्थान दिएको थियो ।
उनीदलको कामको सिलसिलामा धेरै समय घरमा आउँदैनथे । कहिलेकाहीँमात्र घरमा झुल्किने उनी परिवारमा पराईजस्तो भएका थिए । त्यहाँ पुस्ताका बीचमा खाली थियो ।
“यो क्याडर बेस्ड पार्टीमा यही हैरानी छ ।” उनी मसँग गफ गर्दा अनायासै यसो भन्थे । भन्न नहुने थाहा भएर पनि उनी भन्थे ।
“दाइ, पार्टीको कुरा बाहिर गर्दा तपाईँलाई अप्ठेरो पर्न सक्छ ।”
“सर, पहिलो कुरा, तपाईँमा मेरो भरोसा छ । दोस्रो कुरा, यो जनताले पनिबुझ्नुपर्छ कि दलहरू कसरी चल्छन् ।”
“गलत तरिकाले चल्ने दलहरूलाई त यो सह्य नहोला नि ?”
“हाम्रोमा त्यस्तो छैन । द्वन्द्वात्मकता भनेकै मन्थनबाट निस्किएको वैज्ञानिक निष्कर्ष हो । मन्थनमा किन डराउने ?”
“तर त्यो मन्थन त समान विचार राख्नेहरूको बीचमा मात्रै होइन र ? भिन्न राजनीतिक विचार बोक्नेहरूको विचारको त त्यहाँ कुनै मन्थन हुन पाउँदैन नि !”
“अब त्यो पनिबि स्तारै सम्भव हुन्छ । तपाईँका विचार पनि अट्ने समाजवादी परिवर्तन खोजेको हो हामीले ।”
“तर त्यो कहिले ?”
“हामी मरेपछि ।”
“पुष्पलालहरूले पनि हामी मरेपछि……भनेकै थिए नि त !”
दाइगम्भीर बने ।
उनलाई साम्यवादी विचारको सौन्दर्यशास्त्र औधी राम्रो लाग्थ्यो । उनले त्यस विचारका केही पदावलीहरूप्रति हुनसम्म प्रेम राख्थे । कार्ल मार्क्स र माओको नाम सुन्नासाथ उनको शरीरका सारा अवयवहरू एकैसाथ उम्लेर आउँथे । उनको मनमा उभार आउँथ्यो । मान्छेले यति धेरै श्रद्धा त जन्म दिने आमाबाबुलाई पनि गर्दैनन् ।
उनको आर्थिक अवस्थाले उनलाई साथ नदिएको हुनाले संविधान सभाका दुईवटा चुनावमा पनि कुनै उम्मेदवार हुन पाएनन् उनी । आफ्नो पार्टीले समेत पत्याएन । शक्ति र पैसा नहुने कसैले पनि टिकट पाएनन् र समानुपातिकमा पनि परेनन् । पछिल्ला महाधिवेशनहरूमा खान्तेपिन्ते र पैसाको खोलो बग्न थाल्यो । भोटरहरू विभिन्न प्रलोभन र सुविधाको पछि कुद्न थाले । होटलको पैसा तिरिदिनुपर्नेदेखि पेट्रोलपम्पको बक्यौता फर्स्याउनेहरूको भयो पार्टी । त्यो उनले पढेको र पढाइएको राजनीतिक विज्ञान पैसामा स्खलित भएपछि उनको राजनीतिक यात्रा यहीँ आएर अवरुद्ध भइरहेको थियो ।
०००
“यसरी सधैँ हुन्छ ?” एक दिन गोपिनी भाउजूको धैर्यको बाँध टुट्यो । निकै आक्रमक स्वरमा दाइमाथि खनिइन् उनी । मैले परैबाट सुनिरहेको थिएँ किनभने आज शनिवार थियो र मेरो संवादको श्रोत भनेकै गोपी दाइ थिए । म उनकै घरतिर जाँदै थिएँ ।
“के यसरी सधैँ हुन्छ भन्यौ हौ रूपा?” दाइ शान्त पार्ने उद्देश्यले नजानेजस्तो भएर प्रस्तुत भए ।
“पार्टीको काम छ भन्दै घर बिगाऱ्यौ । छोरो बिगाऱ्यौ । मेरा जीवनका कुनै पनि पाटाहरूलाई तिमीले सम्बोधन गरेनौ । महिनौँ दिन हरायौ । घरव्यवहार चौपट भयो । किनेर खाँदै, भएको दुई कठ्ठा जग्गा पनि सक्यौ । एकदिन यो सबै उठ्छ भनेको होइन तिमीले ?कहाँ उठायौ ?खोइ हेरौँ ?”
“पैसा कमाउन राजनीतिमा लागेको होइनौँ हामी, रूपा । देशका लागि, जनतका लागि, न्यायका लागि, मुक्तिका लागि, सभ्य समाजको निर्माणका लागि र अधिकारका लागि ।”
“यी सब चिज तिमीले ल्याएर कहाँ राखेका छौ ? मलाई पनि
देखाऊ ।”
“त्यो प्राप्त हुन त समय लाग्छ ।”
“वाहियात ! आइन्दा मेरो कानले तिम्रा यी बकम्फुसे कुरा सुन्ने छैन । यो घर सपार । छोरो सपार । तिमीले तिम्रा तिघ्रेहरूलाई खुवाएर सकेको त्यो दुई कठ्ठा जग्गा घुर्ता लेऊ ।”
“कसरी घुर्ता गर्नु ?”
“दाम्लो ल्याएर घाँटीमा लाउनु र झुन्डिनु । “
“म झुन्डिँदा त्यो सबै घुर्ता हुन्छ, रूपा?”
“छोराको कहानी सुन अनि झुन्डिएर मर ।”
उहाँहरूको लवजमा श्रीमान्लाई प्रेमले बोलाउँदा पनि “तँ वा तिमी” भनिन्छ । यसरी पनि भाउजू दाइप्रति सम्मानपूर्वक प्रस्तुत भइरहेकी थिइन्, भलै त्यो अशिष्ट देखिन्थ्यो र सुनिन्थ्यो ।
राजनीति गरेर कमाउने धूर्त र अधर्मीहरूको घरमा मासुभात छ, राजनीति गरेर गुमाउने इमानदार र कर्मठ मानिसहरूका घरमा रुवावासी छ । राजनीतिको बाटो पनि कति क्लिष्ट ! कति विरोधाभासपूर्ण ! मलाई पीडाबोध भयो ।
०००
गोपी दाइको एउटा मात्रै सन्तान जन्मिएको थियो; छोरो । उनी त बाहिरै जिल्लामा पार्टीको जिम्मेवारी पाएर गएका हुनाले एकपटक मुस्कुराउन बाहेक केही पनि गर्न पाएनन् छोरो जन्मिँदा । माओवादी सशस्त्र युद्ध सुरु भएको दुई वर्ष बितेको थियो । भूमिगत भएर भाग्दाभाग्दै परिवारजनसँग उनको लामो समय सम्पर्क पनि भएन । कहाँ भूमिगत जीवन बिताए भन्ने कुरा रूपाले थाहा पाउन पनि सकिनन् । थाहान पाउनु उनको लागि श्रेयस्कर थियो किनभने सेनाले सुइँको पायो भने जीवनलीला त्यहीँ खतम हुन्थ्यो ।
हरेक दिन सुरक्षाकर्मी सुराकी गर्न घरमा आउँथे र धम्क्याउँथे —
“तपाईँको श्रीमान् आतङ्ककारी भएको छ, सम्झाउनु । सरेन्डर गरे भने राम्रो हुन्छ । नत्र जहाँ पनि सुट हुन सक्छ ।”
“हवस…” रूपा भाउजू त्यति मात्रै बोल्थिन् ।
सेना गएपछि उनका श्रीमान्का क्रान्तिकारीहरू आउँथे र भएको चामल सबै पकाएर खाएर बोरा रित्तै पारेर जान्थे । कुखुराको खोर रित्तै पारेर जान्थे । टाट्नाका बाख्रा रित्तै पारेर जान्थे । यसरी गोपी दाइलाई रित्याइरहेको थियो उनको आदर्शले, उनको निष्ठाले, उनको इमानदारिले । उनी रित्तिँदै थिए, उनको घर मात्र नभएर संसार रित्तिँदै थियो ।
आफ्नै श्रीमान् कहाँ कुन हालतमा छ भनेर थाहा पाउनुभन्दा थाहा नपाउनु राम्रो थियो त्यो कहालीलाग्दो समय त्रासदीमा । यही भोगिन् रूपा भाउजूले पनि ।
धरै टिप्पणीहरू हुन्थे ।
“गोपीले त आफ्नै पार्टीको सेक्रेटरीसँग चोचोमोचो गर्दै छ रेन्त ।”
“स्वास्नी घरमा राख्या छ । के गरोस् त ?”
“आचरणको पाठ सिकाउँदै हिँड्नेले गर्ने आचरणचाहिँ यही हो ?”
“भूमिगत जीवनमा यो सबै उचितै हुन्छ ।”
“तिमीहरूको यो छाडावाद हो ।”
रूपा भाउजूले दाइको आगमनको पर्खाइमा आफ्नो जीवनको सबै रङ्गहरू उडाइसकेकी थिइन् । तैपनि उनीमाथि अनिश्चित जीवनको भरोसा र सुरक्षित जीवनको भविष्य थियो । उनको यही पर्खाइ मात्र थियो जीवनको । बूढी सासूसँग एक्लै त्यसरी जिउनुको पीडा रूपा भाउजूबाहेक अरू कसलाई हुन्थ्यो होला !
अनिश्चिततामा भरोसा राखेर मान्छेहरू बाँच्ने गर्छन् । रूपा भाउजूजस्तै ।
छोरो जन्मिँदा रूपा भाउजूको जीवनमा आएको असीमित खुसीको कुनै अभिलेखीकरण हुन सकेन । छोराको आगमनले उनको जीवनको सुरक्षा दियो । गोपी दाइको परिवारमा भाउजूको उपस्थिति कमजोर थियो । त्यसमा पनि सन्तान नभएपछि झनै कमजोर भएको थियो । छोराको जन्मले आफ्नो घर पक्का भएको भान रूपा भाउजूलाई परिरह्यो ।
राजनीति गर्दागर्दै जन्मिएको छोरोलाई सबैले उसको नाम “राजनीति” राखिदिए । राजनीति नै भयो उसको नाम ।
अनि त उनले छोरालाई प्रेमले हुर्काइन् । जे भन्यो त्यही जुटाइदिइन् । ऊ हुर्किँदै गयो । नकारात्कता पनि उसमा हुर्किँदै गयो । ६ कक्षामा पुग्दा ऊ विद्यालय जान मान्न छोड्यो । घरबाट स्कुल ड्रेस लगाएर हिँडेको केटो दिनभर कता जान्थ्यो, रूपा भाउजूलाई पत्तो हुँदैनथ्यो ।
राजनीतिले नियन्त्रण रेखा नाघ्दै गयो ।
“मलाई पल्सर मोटरबाइक किनिदिनू ।” कक्षा ६ मा पढ्न थाल्दा उसले यस्तो माग गरेको थियो ।
“एसएलसी नगरी तँलाई केही पनि नकिनिदिने ।” रूपाले प्रतिवाद
गरिन् ।
“मेरो साथीले एक वर्ष भयो पल्सर कुदाएको ।”
“……….” रूपाको गला अवरुद्ध भयो ।
राजनीतिको अनेक चरित्र भएका केटासाथीहरूसँगको सङ्गत सुरु भइसकेको थियो । बेलुका ढिलो घर आउने, आएर पनि कोहीसँग पनि नबोल्ने, कोठामा खिड्कीलगाएर बस्ने, खाना खान नरमाउने, भात खाँदा मासुमात्रै खोज्ने जस्ता अस्वाभाविक रूप देखाउन थालिसकेको थियो । उसका गोजीमा कहिले गाँजा, चुरोट त कहिले सुई भेटिन्थ्यो ।
“तीनपटक भयो पुलिसले छोरालाई पक्रिएर लगेको । “
“लैजाओस् ….”
“उसको देब्रे हातको कुम भाँचिदिए हिरासतमा । मेरो नानी …। तिमीले जन्माएको भएपो मायाँ लाग्थ्यो ।”
रूपा भाउजूले पहिले दुईपटक त आफैँ अग्रसर भएर छोरो निकालेकी थिइन् । यसपटक केस अलिक गम्भीर पऱ्यो । बलात्कारको केस ।
छोरालाई सुधार्न नखोजेका पनि होइनन् । मावल राखिन् भाउजूले । काकाको घरमा भरतपुर पनि राखिन् । पछिल्लोचोटि सुधार केन्द्रमा पनि राखिन् । सुधार गर्ने सबै उपायहरू असफल भए ।
“मलेसियातिर पठाउनुपर्छ काम गर्न । सुध्रिन्छ त्यहाँ गएपछि ।” म पनि बेलाबखत बाठो भई टोपल्थेँ ।
“जीवनलाई बुझेर दुःख गर्नेहरूका लागि मात्र वैदेशिक रोजगार राम्रो हुन्छ नत्र अभिशाप हुन्छ ।”
रूपा भाउजूले छोरालाई विदेश पठाउन गाह्रो मानिन् । काठमाडौँ विमानस्थलमा प्रत्येक दिन आउने बाकसमा पोको पारेर ल्याइएका युवाहरूको चुँडिएको जिन्दगीको चङ्गा पनि देखेकी थिइन् उनले ।
०००
“दाइ, राजनीति कस्तो चल्दै छ आजकल?” चियापसलमा गोपी दाइसँग चियाको चुस्कीसँगै राजनीतिक गफ सुरु गर्ने जमर्को गरेँ । यसै पनि यो राजनीतिको युग हो; हरक्षेत्रमा राजनीति छ । पानीमा राजनीति, स्कुलमा राजनीति, विश्वविद्यालयहरू त राजनीतिका अखडा नै हुन्, स्वास्थ्यमा राजनीति, धर्ममा राजनीति, सुकुम्वासीमा राजनीति, बिहेमा राजनीति र मरुमराउमा राजनीति । समाजका सबै अवयवहरूलाई राजनीतिकरण गरेर मरणासन्न बनाइएको यो समयमा जिल्लास्तरका नेतासँग राजनीतिक गफ गर्न पाउनु अहोभाग्य भन्ठान्थेँ म । गोपी दाइ मेरो यो समयका ‘क्रिटिकल पात्र’ हुन् ।
“केही छैन हौ सर । छैन भनम् भने राजनीति नै राजनीति छ । छ भनम् भने केही छैन तर अब यो देशले निकास पाउँछ ।”
“कसरी ?”
“कम्युनिस्टहरूको सरकार आउँदै छ । देश समृद्धिको बाटामा अघि जान्छ ।”
“दाइ, सरकार त आउँछ नै यहाँहरूको । तपाईँहरूको एजेन्डा समृद्धिको छ तर कम्युनिस्टहरूको सरकार भए ठाउँमा भ्रष्टाचार, निरङ्कुशता र अनियमितता धेरै हुन्छ । कम्युनिस्ट पार्टीहरूमा दल र तिनका कार्यकर्ता ठूलो हुन्छन्, रगतको टीका लगाएर समाजवादको अभियानमा जुटेका कामरेडहरूको लावालस्कर हो कम्युनिस्ट पार्टी भन्या त । देश हेरिन्छ र दाइ ? अरू जनता हेरिन्छ र दाइ ?”
“तपाईँको यो कुरा जडसूत्र कम्युनिज्मको हो । क्रान्ति र आफ्नो पार्टीको सर्वोच्चता नै कम्युनिस्टहरूको अन्तिम लक्ष हो तर यो मिथक भइसक्यो । अब कसैले मार्क्सवाद पढेर तपाईँले भनेजस्तो मात्रै बुझ्छ भने त्यो एक्काइसौँ शताब्दीमा आलु खान्छ । बहुदलीय प्रतिस्पर्धाको विकल्प छैन ।”
“मार्क्सवादमा त बहुदलीय प्रतिस्पर्धा छैन नि त ।”
“त्यसैले त्यो विकास भएर आइसक्यो ।”
“अनि त्यसलाई त तपाईँहरू विसर्जनवाद भन्नुहोला नि त ! अनि मार्क्सको कुरा परिवर्तन गरेर मार्क्सवाद भन्न मिल्ला र दाइ?”
“त्यो पनि समयानुकूल परिमार्जन हुनुपर्छ । तपाईँले विचारको स्थिरता खोज्नुहुन्छ भने तपाईँभन्दा ठुलो विचारविहीन मान्छे यो दुनियाँमा कोही पनि छैन । हामी विचारलाई यसरी सोच्ने गर्छौँ ।”
“सरी दाइ, रेडिकलहरूले तपाईँहरूलाई दक्षिणपन्थी भन्लान् नि त !”
“शास्त्रका हरफहरू मात्रै घोकर राजनीति गर्नेहरू तिनै किताबका पानामा सीमित हुनेछन् ।”
“तर नि दाइ, सर्वहाराको सर्वोच्चताको नाममा समाजमा रहेका अर्को वर्गलाई दुस्मन देख्ने र समाजलाई जहिल्यै पनि जबरजस्ती वर्ग खडा गरेर समाजलाई विभाजित गरेर राजनीति गर्ने तपाईँहरूको कार्यदिशा कहिले परिवर्तन हुन्छ ?”
“भइसक्यो । हाम्रामा अस्सी प्रतिशतभन्दा बढी नेता र कार्यकर्ताहरू पुँजीपति छन् तर जबरजस्त निमुखावर्गको निर्माण नगरे कम्युनिस्टहरूको राजनीति सकिँदैन ? त्यसैले अब हाम्रा वर्गीय दुस्मन कोही पनि छैनन् ।”
“सुन्दर । तपाईँ अब संविधान निर्माणपछिको संसद्को चुनावमा उम्मेदवार बन्नुहोस् । भोट दिने मात्रै होइन, तपाईँलाई जिताउन एउटा इँटा म पनि थपौँला ।”
“हाहाहाहा तर सम्भव छैन हौ सर !”
“किन?”
“दुईवटा कारण छन् जसले म अघि जान सक्दिनँ ।”
“हे नारायण ! के होलान् नि त कारण ?”
“पहिलो, मसँग पैसा छैन चुनाव लड्न । मेरो त अलि-अलि भएको पनि भूमिगत राजनीति गर्दा सबै सकियो । चुनाव लड्नेले पार्टीलाई चन्दा दिनुपर्छ । कार्यकर्ताको भिडलाई एक महिना पाल्नुपर्छ । पेट्रोलपम्प, होटल, प्रेस, कपडा पसलको एक भारी बिल तिर्नुपर्छ । नगद र जिन्सीपनि बाँड्नुपर्छ । विकृतिपूर्ण भइसक्यो हाम्रो चुनावी संस्कार अनि जितेर गएपछि त्यो सबै पैसा असुल्न भ्रष्टाचार नगरी हुँदैन । यो काम मबाट कुनै हालतमा सम्भव छैन ।”
“अनि दोस्रो कारण ?”
“कसरी भनूँ !”
“अँ दाजु, एउटा कुरा झट्ट सम्झिएँ । अस्ति तपाईँ भन्दै हुनुहुन्थ्यो कसैले यसलाई प्याट्टै मारिदिए हुन्थ्यो । कसलाई भन्नुभएको ? उस दिन त केही नभनी कुरो बटारिएको थियो नि ?”
“……….”
“किन चुप लाग्नुभयो ? कसलाई त्यसो भन्नुभएको थियो उस दिन तपाईँले ?”
“छोरालाई ।”
“कसको छोरालाई, दाइ?”
“कसको हुनु ? ..”
“कसको दाइ?”
“मेरै, र अघिको दोस्रो कारण ।”
मेरो गला अवरुद्ध भयो । राजनीतिले खाएको त्यो गोपी दाइको परिवार र उनको भयावह अनुहारलाई मैले नजर लगाउन पनि सकिनँ । ती सबै जनाको सामूहिक हत्या भएको बिम्बमा देखेँ मैले तिनलाई । रूपा भाउजूले आफ्नो सुन्दर भविष्य देखेकी थिइन् त्यही छोरामा, त्यही परिवारमा ।
सुन्दर भविष्यको सपना देख्नु पनि कति भयावह हुँदो रहेछ !
मेरा आँखामा तोरीका फूल उडे । म केही भन्न खोज्दै थिएँ गोपी दाइलाई, उनीजु रुक्क उठेँ र फटाफट बाहिर निस्किएँ ।
मैले परैबाट उनको बिरासत ढल्दै गरेको देखेँ।
दमक, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।