शैक्षिक प्रमूल्यदेखि कैयौँ टाढा रहेको, अन्धविश्वास र कुसंस्कारलाई नै जीवनको आधार मानेको अधम समाजलाई ज्ञानोद्दीप्त प्रकाशले नुहाउन खोज्ने अति उद्यमी मङ्गिराकी छोरीले अन्धकाराशक्त समाजको मस्तिष्कबाट कसिङ्गर निकालेर शिक्षाको मलिलो बीजमन्त्र पसाइदिन सक्षम भई ।
“म पानी लिएर आउँछु खोलाबाट, तपाईँ आराम गर्दै गर्नू ।” आफ्नो बुढालाई त्यति भनेर मङ्गिरा गाग्रो बोकेर पानी ल्याउने खोलातिर लाग्छे । लगभग एकघण्टा हुँदा पनि मङ्गिरा खोलाबाट नफर्किएको देखेर डाफियाको मन अस्थिर हुँदाहुँदै पनि छोरीलाई याद गरेर बस्छ । त्यति बेलै समाचार आउँछ… ।
त्यो एउटा सबै जाति-सम्प्रदाय मिश्रित निरक्षर भित्री गाउँ थियो । चिकित्सा-स्वास्थ्य, शिक्षादीक्षा, बिजुलीबत्ती, बाटाघाटा, सबैतिरबाट पिछडिएको । त्यही गाउँमा मङ्गिरा बिहे भएर आएकी थिई । उसको माइतीघर शिक्षाको प्रभाव परेको एउटा गाउँमा भएकाले गर्दा ऊ पनि विद्यालयसम्म पुग्न सफल भएकी थिई । उसका बाबुले उसलाई दश कक्षासम्म पढाएर डाफियासँग बिहे गरिदिएका थिए । डाफिया कालो अक्षर भैँसी बराबर थियो । त्यसैले डाफियासँग बिहे गर्दिनँ भनी मङ्गिराले बाबुसँग धेरै याचना गरेकी थिई । “राम्रो घरबारी, आफ्नै माटोबारी भएको परिवार भेट्न हाम्रो जस्तो सम्प्रदायमा भाग्य चाहिन्छ । केही दुःख परे तँलाई म हेर्छु नि त । चिन्ता नगर् ” भन्दै बाबुले उसको मुखमा बुजो खाँदिदिएका थिए ।
बिहे भएर आएपछि वरिपरि रक्सीजाँड खाएर मातेका मान्छेहरू देखेर, ठुल्ठुला भट्टीहरू देखेर मङ्गिराको टाउको साह्रै चर्केको थियो । एउटा पिछडिएको जातिकी छोरी भए तापनि ऊ जुन परिवेशमा हुर्किएकी थिई, त्यो गाउँ एकदमै शिक्षित र संस्कारी थियो । रक्सीजाँड कसैले छुँदैन थिए । मङ्गिराको बाबुलाई कहिलेकाहीँ खान मन लाग्दा पनि ऊ परतिरको गाउँमा गएर सुटुक्क पिएर खुत्रुक्कै आएर सुत्दथे । त्यसैले मङ्गिरा यी सबबाट परै रहन चाहन्थी तर यहाँ त्यसको सम्पूर्ण विपरीत थियो । ऊ मौन रही एउटी बुहारीको सबै दायित्वहरू पालन गर्दै दिनरातहरू बिताउँछे । एकदिन अचानक उसकी सासू रगत छादेर मूर्च्छा पर्छे । “अधिकमात्रामा रक्सी-जाँड पियो भनें मान्छेका भित्री तन्त्रहरू सबै नष्ट हुन्छन् अनि यस्तो हुन्छ” भन्दै मङ्गिराले सासूआमालाई डाक्टरकामा लैजानका निम्ति घरकालाई आग्रह गर्छे तर त्यहाँ उपस्थित गाउँका दुई-चार जना पाका मानिसले उसको कुरालाई सोझै नकार्दै धामी ल्याएर झारफुक गर्दा नै राम्रो हुन्छ भन्छन् । “ए! यसलाई त डाइनीले नजर लगाएकी रहिछ, अब खाने परिछ ।” धामीले भन्छ । “डाइनी?” मङ्गिरा छक्क पर्छे । “के को डाइनी! आमालाई अस्पताल लानुपर्छ । छिट्टो ।” ऊ तरखर गर्छे तर एक्लो बृहस्पति झुटो भनेझैँ उसका कुरामा कोही पत्यार पर्दैनन् । बुढीलाई बिमारले झन सारो पार्छ । धामीले रातभरि यता र उता, यस्तो र त्यस्तो गर्दागर्दै चालै नपाई बुढी चिप्लिन्छे । “डाक्टरलाई नदेखाएर व्यर्थै एउटा जीवन गयो” भन्दै मङ्गिराले सबैका अघि शोक व्यक्त गर्छे । “बिमारीलाई डाक्टरले हेर्न पाएको भए यस्तो हुने थिएन होला! अहिलेको दिनमा यति अन्धविश्वास गरेर कहाँ हुन्छ!” ऊ बडबडाउँछे । आफ्ना गलतीहरू सुधार्नुको साटो उनीहरूले उल्टै मङ्गिरालाई नै तथानाम गाली गर्छन् । डाफियाले मङ्गिरालाई चुप्प लाग्न भन्छ ।
सासू बितेका पाँच महिनापछि फेरि ससुरालाई त्यस्तै बिमारले च्याप्छ । अब त डाक्टरको सेवा लिनुहोस् भनेर मङ्गिराले दोबारा हत्तेप्राण गर्दा पनि कसैले नटेर्ने हुँदा ससुराको हालत पनि सासूकै जस्तो हुन्छ र यो संसार त्याग्न बाध्य हुन्छन् । ज्ञानको ज्योति नपरेको अन्धो, कुसंस्कारपूर्ण समाजमा बसेर डाफियाको सोचविचारमा पनि खिया लागि सकेको थियो । त्यसकारणले गर्दा अति चाँडै उसले आफ्ना आमाबाबुलाई गुमाउनुपऱ्यो । गाउँमा पनि त्यस्तै किसिमको कुरीतिको प्रचलनले गर्दा दुई-चार जनाको मृत्यु हुन्छ । दिनदिनै समाजमा यसको खुबै नराम्रो प्रभाव परेको देखिन थाल्छ । कहिलेकाहीँ मङ्गिरा हतासिन्छे, व्याकुल हुन्छे । कहिले जागरुकता आउँछ यो समाजमा, कहिले रुढीवादको अन्त हुन्छ, कहिले मान्छेहरूको दैन्य मानसिकतामा प्रज्ञाको घाम झुल्किन्छ । देशदुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, यिनीहरूलाई थाहै छैन । यहाँ मान्छेहरूको जीवनको कुनै उद्देश्य छैन, कुनै परिमार्जित लक्ष्य छैन । मान्छेहरू यहाँ खानकै निम्ति मात्र बाँचिरहेका छन् । केवल खानका निम्ति । उह! यस्तै पारिवारिक-सामाजिक समस्याहरूको बीचैमा मङ्गिराको कोखबाट एउटा सुन्दर छोरो जन्मिन्छ । दुःखका बेलामा यसले उनीहरूलाई अमृत पान गराउँदछ ।
डाफियाको बाबैबज्यूको पालादेखिकै अलिकति सम्पत्ति र माटोबारी थियो । त्यहाँमाथि मङ्गिराको बाबु पनि सरकारी अफिसमा सानो कर्मचारी थिए । छोरीले दुःख नपाओस् भनेर कमाएको धन धेरैजसो मङ्गिरालाई नै दिने गर्थे । मङ्गिराले पनि आफ्नाो बाबुले दिएको धन फिजुल खर्च नगरेर त्यसबाट बाख्रापाठा, सुङ्गुर, हाँसपरेवा आदि पालेर घरको अझ राम्रो आर्थिक सुधार गरेकी थिई । यस्तो देखेर गाउँका कतिपय पुरूषहरू आफ्ना स्वास्नीहरूलाई मङ्गिराको उदाहरण दिएर मङ्गिरालाई हेर अनि ऊबाट सिक कसरी घर चालउनुपर्छ भनेर पनि भन्न थालेका थिए । आइमाईहरूको आह्रिस बढ्दै जान्छ मङ्गिराप्रति । ऊ अनभिज्ञ भइरहन्छे ।
छोरो तेजा ठुलो हुँदै जान्छ र स्कुल पनि धाउन थाल्छ । तसर्थ मङ्गिराले अर्की छोरी पनि जन्माउँछे । सानो सुखी परिवार । तेजाका उमेरका केटाकेटीहरूले धुलोमाटो, गुलेली खेलेर समय व्यर्थै फालेको देखेर बेला बखतमा उनीहरूका घरमा गई अविभावकहरूसँग पनि केटाकेटीहरूलाई स्कुल पठाउनुपर्छ नत्र उनीहरूको जीवन नरकसदृश हुन्छ भनेर मङ्गिराले सतर्क गरेको देखिन्थ्यो तर मङ्गिराका कुराहरूको केही वास्ता नगरी उनीहरू भन्थे–‘हाम्रा छोराछोरीले पढेर के गर्नु? हामी दिन-हाजिरा गरेर खाने मान्छे यति टाडा स्कुल पढ्न कसले पठाउँछ! हामी यत्तिकै सुखी छौँ ।’
एकदिन तेजाले उसको बाबुलाई “अब ऊ ठुलो भयो, उसलाई स्कुल पुऱ्याउने ल्याउने गर्न पर्दैन, ऊ एक्लै जान र आउन सक्छ र बाबुले घरकै काम गरेर बस्नु” भन्दै स्कुलतर्फ लाग्छ । रात पर्न थाल्छ तर ऊ घर फर्केर आउँदैन । सबैतिर खोजी गर्दा नि उसको पत्तो कतै लाग्दैन । पुलिसलाई खबर गर्न मङ्गिरा व्यग्र हुन्छे तर डाफिया मान्दैन । अलिक दिनपछि तेजाको शव मछुवाले नदीको तिरमा भेट्छन् । मङ्गिराको मन र मुटु छोराको अकाल वियोगले छिन्नभिन्न हुन्छ । गाउँको मुखियाले भन्छ – “यो घरमा डाइनीको बास छ, त्यसकारण एउटापछि अर्को दुर्घटना घटिरहेका छन् ।” “हो हो ठिकै भन्नुभो हजुरले, अस्ति धामीले पनि यस्तै भनेका थिए । अब बिस्तारै सबैलाई खान्छे यो डाइनीले…. । यसको केही व्यवस्था गर्नैपर्छ हामीले ।” डफियाको काकालगायत अरूले पनि कुरामा जोड दिँदै भन्छन् । “डाइनी! डाइनी! डाइनी! के हो यो डाइनी भनेको? कस्तो हुन्छ यसको प्रजाति? मान्छेजस्तै की अर्कै किसिमको हुन्छ डाइनी ? मेरा त कान थोत्रा भइसके सुन्दा सुन्दा ! कस्तो अन्धो समाज रहेछ यो । विज्ञानले सारा विश्व थर्काएका बेला हाम्रो समाजको आँखामा चाहिँ किन यस्तो गोडामीको पर्दा लागेको !” मङ्गिरा सारा समाजका अगाडि आफ्नो वेदना पोखेर रुने-कराउने गर्छे । “के निहुँ पाऊँ कनिका बोकाऊँ” भइरहेका बेला सारा समाज उचालिएर “यही हो डाइनी, यही हो गाउँघरका सबैलाई खाने । मार, मार यसलाई । नत्र यसले हामीलाई नै खान्छे । यसले गर्दा नै गाउँमा रोगव्याधिहरू भइरहेका, मान्छे मरेका हुन् ।” सबैले जे पायो त्यसैले मङ्गिरालाई लक्ष्य गरेर हान्न थाल्छन् । बिचमा डाफिया आएर समाजसँग बिन्ती र माफ माग्दा मात्र मङ्गिराको ज्यान बच्छ ।
मङ्गिराले सम्झाउँदा र भन्दा-भन्दा गरेर डाफियाको सोचविचारमा केही सुधार आउन थालेको हुन्छ । यता छोरीलाई पनि स्कुल पठाउने उमेर हुन्छ । डाफिया मान्दैन स्कुल पठाउन । स्कुल पढन जाने भएर नै छोरो हामीबाट टाढा भयो । अब छोरी पनि… । यस्तो छ उसको युक्ति । मङ्गिराले बुझेकी थिई कि ऊ बसेको समाजमा रिस र डाहा गर्ने मानिसहरूको कमी छैन । उसको घरको सुव्यवस्थाहरू देखेर कतिपयको मन भतभती पोलेको छ । धामीको कुरालाई उसले निन्दा गर्दा नि गाउँका धेरैले “हेरौँला तेरो परिवारलाई बरबाद पारिदिन्छौँ, तँ आफूलाई अनि तेरो परिवारलाई कतिदिनसम्म जोगाएर राख्न सक्छेस्, तँ हामीभन्दा धेरै जान्छु भन्छेस् हैन? लाखेस । ” भनी धम्की दिएका थिए । यस्ता कुरा सुनेर ऊ धेरै विचलित भएर डाफियासँग पनि यसबारे चर्चा गरेकी थिई । डाफियाले तब “केही हुँदैन” भन्दै उसलाई हिम्मत जुटाएको थियो । त्यसपश्चात् मङ्गिराले यो पनि भनेकी थिई की उनीहरूको जस्तै अरू कतिपय जाति-जनजातिहरूमा पनि जहाँ शिक्षाले जरो गाड्न सक्षम भएको छैन, त्यहाँ पनि यस्तै डाइनीबोक्सीको कुरा गरेर निर्दोषी सिधासाधा मानिसहरूलाई दोषी ठहऱ्याएर हत्या गर्छन् । यो कहाँको न्याय हो र! उसको प्रतिवादी मन उग्र हुन्छ अनि फेरि बोलीमा शीतलता ल्याउँदै भन्छे कि अब सबै एकजुट भएर नवजागरण ल्याउन पर्छ । शिक्षाप्रति मानिसहरूको आकर्षण बढाउनुपर्छ । त्यसो हुँदा मात्र मनको मैलो र समाजमा फैलिएको अन्धविश्वास-कुसंस्कार दूर हुनेछ । “कसरी? कोही सुन्नै मान्दैनन् कुरा ।” डाफियाको प्रश्न । अनुहारमा तेजिलो कान्ति ल्याउँदै” हामीले हार्नु हुँदैन, प्रयास गरिरहनुपर्छ । सबै एकैसाथ मिलेर सरकारको घरमा गएर स्कुल, बिजुली, बाटो आदिको लागि माँग राख्नुपर्छ । हाम्रा छोराछोरीहरूले आज पढे भने मात्र भोलिका पिँढीहरूले अरू समस्याका निम्ति गुहार लगाउन सक्छन् । पढेर स्वावलम्बी बन्न सकेदेखि आफ्नो गाउँठाउँ, देशका बारेमा सोच्न सक्छन् । हामीले फेरि समाजलाई डाकेर सबै कुरा सम्झाउनुपर्छ । अवश्यै बुझ्ने छन् ।” ”हो हो ठिकै भन्यौ तिमीले तर म छोरीलाई यहाँ राखेर पढाउँदिनँ । तिम्रै माइत लैजाऊ उतै पढाऊ ।” डाफियाका कुरा सुनेर मङ्गिराले एकछिन सोचेर “हुन्छ” भन्छे । भोलिपल्ट बिहानै गएर मङ्गिराले छोरीलाई माइतमा राखेर पढाउनका निम्ति सबै व्यवस्था मिलाएर आउँछे । छोरी पनि मावलीलाई भेटेर अत्यन्त खुसी हुन्छे ।
सबैथोक राम्रै चलिरहन्छ । दिन-महिना-वर्ष यत्तिकै बितिरहन्छ । उमेरले उनीहरू दुवैलाई पनि च्याप्दै जान्छ । कति दिनदेखि डाफियाको शरीर पनि ठिक छैन र त्यसैले ऊ ओछ्यानमै पल्टिरहेको हुन्छ । छोरीलाई याद गर्छ । छोरी अहिले डाक्टर पढदै छे । सबै खर्चजति मावली र उसले भएरै गर्दै छन् । सानैदेखि मेधावी किसिमकी हुनाले डाक्टर पढ्ने मौका पाएकी छ । छोरीलाई लिएर ठुलो गौरवबोध हुन्छ उसलाई । ऊ शान्तिको श्वास फेर्दै अनि मङ्गिरालाई पनि यताउता चिहाउँछ । त्यति बेलै एउटा सानो केटो हामफाल्दै कुदेर आएको देखेर डाफिलाले रोक्छ ।” समाचार लिएर आएको “भन्दै खोलामा घटेका सबै दृश्यमान घटनाहरूबारे उसले श्वासै नफेरी एकैपटकमा सुनाउँछ । “के? मङ्गिरा कहाँ छे? हाय राम !” केही ठुलो आपदाको आशङ्का गर्दै डाफिया खोलातिर लाग्छ । होहल्ला गर्दै मानिसहरू उसकै घरतिर आएको देखेर ऊ ठिङ्ग उभिन्छ । “के हो त्यो? केलाई त्यसरी बाँधेर घिसार्दै ल्याएका?” डाफियाको स्पन्दनगति झन् झन् तीव्र हुँदै जान्छ । ”ओई डाफिया! आज डाइनीलाई फेला पारियो । यतिदिनसम्म यसले गाउँमा उधुम मच्चाएकी थिई । आज यसलाई खतम गरिदिने हो । हा.. हा.. हा.. ।” सबैको एउटै नारा एउटै किसिमको दानवीयता देखिन्थ्यो । “खै को हो? को डाइनी? डाइनी भन्ने हुँदैन । हाम्रो अज्ञानता हो ।” “ए तँ पनि उसैको भनाइमा लागिस् । तँ पनि लट्ठिइछस् । लौ हेर् त डाइनी को हो” भनेर त्यो गाउँको मुखियाले डाफियालाई एकप्रकार मुन्ट्याएर ल्याएर देखाइदिन्छ । ”मङ्गिरा?” हे भगवान् !के गति गऱ्यौ नि यस्तो तिमीहरूले! ऊ मेरी धर्मपत्नी हो, डाइनी हैन । छोड उसलाई छोड । कस्तो अपठ्यारो पारेछन् हेर..!” ऊ भक्कानिँदै मङ्गिरालाई बाँधेको दाम्लो खोल्न खोज्छ तर सफल हुँदैन । मौकामा उसलाई पनि चार-पाँचजनाले तान्दै लगेर भकुर्नु भकुर्छन् ।
कुनै एक जना सज्जन व्यक्तिले यो घृणित कर्मको कुरा चाल पाएर पुलिसलाई खबर दिएपछि तुरन्तै पुलिस आइपुग्छन् । आएर के हुन्छ र! झन् आगामा घिउ हालेजत्तिकै हुन्छ । उनीहरूले पुलिसलाई पनि आक्रमण गर्न छोड्दैनन् । निकै बेरसम्म लडाइँ गरेपछि पुलिसले सबै अपराधीहरूलाई काबुमा ल्याउन सफल हुन्छन् र पक्राउ गर्छन् । त्यति बेलासम्म राइमुनीले यो संसार त्यागिसकेकी थिई । डाफियालाई चाँडै अस्पताल पुऱ्याउने चाँजो मिलाइन्छ । अज्ञानताले फणा फुलाएको त्यो विषालु समाजमा मङ्गिराजस्ती नारीको मर्मान्तिक अकाल वियोगको केही मूल्य नै छैन त? त्यो समाजले के प्रज्ञानतालाई सहर्ष कहिल्यै अपनाउन सक्दैन र! अवश्य पनि सक्छ, सक्नुपर्छ । डाफियाले आफ्नी छोरीमा राइमुनीलाई देखेको छ । राइमुनीको सपनालाई स्वीकार पार्न अब हजारौँ प्रत्याह्वानका पर्खालहरू नाघ्नैपर्छ डाफियाले चट्टान बनेर समाजका अघि । नत्र यत्तिकै हजारौँ मङ्गिरा दिनदिनै बलि चढिरहन्छन् डाइनी बनाइएर ।
उता डाक्टर पढ्न गएकी छोरीले पनि डाक्टरी पास गरेर भरखरै मावली घरमा आइपुग्छे । आउनेबित्तिकै आमाको खबर सुनेर ऊ अत्यन्त व्याकुल हुन्छे र उसको बाबुले नै गएर छोरीलाई सम्झाउनुपर्ने हुन्छ । दुःखसुख, हर्षविषाद जीवनका पाटा हुन् भनेर उसले मन बुझाउनुपर्ने हुन्छ तर जुन कारणले गर्दा उसकी आमाको त्यो दुर्गति भयो, त्यो सहन गर्न उसका लागि पनि कठिन थियो । अब उसले जागिर पनि भेट्न सक्षम हुन्छे राम्रो ठाउँमा । सबैले एउटा पछौटे गाउँबाट डाक्टरनी भएर आएको देखेर औधी माया र आदर गर्छन् । कार्यव्यस्तताले गर्दा ऊ आमाको नृशंस हत्याकाण्डको पीडाबाट बिस्तारै बाहिर निस्कन्छे ।
छ-सात महिनापछि एउटा महामारी आउँछ । त्यो महामारी सहरभन्दा पनि धेरै गाउँबस्तीहरूलाई अधिक सङ्क्रमित गर्छ । मान्छेहरू भकभकी मर्न थाल्छन् । त्यसरी नै डाक्टरनीको आफ्नो गाउँमा पनि महामारी तीव्र रुपमा फैलिन्छ र सरकारको आदेशअनुसार ऊ त्यहाँ चिकित्सासेवाका निम्ति आफ्नो परिचय गुप्त राखेर पुग्छे । ऊ दङ्ग पर्छे । यत्रो वर्षपछि पनि मान्छेहरूको ध्यानमा उही पुरानो अन्धविश्वासको कालचक्र घुमिरहेको छ । उनीहरू अझै पनि महामारीलाई डाइनीको प्रकोप भन्छन् । डाक्टरनीले पनि सङकल्प गर्छे कि उक्त शारीरिक बिमारीका साथै मानसिक बिमारीको पनि इलाज गरेर मात्र ढुक्कसित बस्नेछु । उसले अति प्रेमभावका साथ सबै रोगीहरूको एकतिरबाट परीक्षा गरेर दवाई दिन थालेपछि बिस्तारै-बिस्तारै सबै जना आरोग्य हुन थाल्छन् । सबैले उसका कुरा मान्न थाल्छन् । तब उसले सबैलाई शिक्षाको महत्त्वबारे विस्तृत रूपमा बिस्तारै सम्झाउँछे । डाइनी-बोक्सी जस्तो केही हुँदैन । निरक्षरताले गर्दा मान्छेको मन कुबुद्धि, कुरचना र कुसंस्कारपट्टि धेरै लाग्दछ । ” मैले लेखेकी र पढेकी थिएँ त्यसैले डाक्टर बन्न सकेँ अनि हजुरहरूलाई निको पार्न सकेँ । यो केले गर्दा हो शिक्षाले गर्दै हैन र? ” हो हो भनेर सबैले सराहना गर्छन् । सबैकुराको चित्त बुझेपछि सबै गाउँवासीले आफ्ना-आफ्ना छोराछोरीलाई पनि पढाएर डाक्टरनीजस्तै पार्न नसके पनि शिक्षितचाहिँ पारेरै छोड्ने वाचाकसम खान्छन् । उनीहरूको कुरा सुनेर डाक्टरनी आमालाई सम्झिँदै भक्कानिएर रुन्छे । सबै छक्क पर्छन् । उसले आफ्नो असल परिचय दिँदै यही सोचविचार यदि चौबिस-पच्चिस वर्ष अघि राखेको भएदेखि यो गाँउको कति धेरै उन्नति हुने थियो, ऊ टुहुरी हुने थिइन भन्छे । डाक्टरनीको असल परिचय जानेर सबै आनन्दले गदगदी हुनुका साथै पश्चात्तापका अग्निमा पनि जल्छन् । डाइनी भन्ने केही हुँदो रहेनछ, यो त मात्र एउटा अशिक्षित कुरूप मनभित्र परेको मित्थ्या र भ्रम रहेछ भन्ने कुरा थाहा पाएपछि डाक्टरनी र डाफियासँग सबैले आफूले गरेको अपराधको क्षमायाचना गर्छन् र मङ्गिरालाई सधैँ एउटी देवी मानेर पूजा गर्ने वाचा गर्छन् जब मङ्गिराको त्याग र बलिदानले नै त्यो गवार समाजमा शिक्षारूपी बत्ती बल्न समर्थ हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।