“दिदी ! दिदी !! भिनाजुलाई साँपले ठुँग्यो रे । रमेश दाजु र विक्रम मामा भएर अस्पताल लाँदै छन् ।”

“ साँप कस्तो रङ्गको थियो ?”

“ कुन्नि थाह भएन तर भिनाजु बेहोस छन् रे ।”

“ बाँच्छ के त्यो मान्छे !”

डराएर बोली ऊ । आत्तिएकी पनि थिइन ऊ, जस्तो हुनुपर्थ्यो । खाँदै गरेको  थाल पनि भुईँमा राखी  । खाइरही अन्तिम गाँस नसकुन्जेलसम्म । अनि मात्र उठेर ऊ चलमलाई । हात धोई, पुछी अनि फेरि मुख खोकली, मुख पुछी अनि अर्को कोठामा गई । उसका हेर्न लायकका लुगाहरू झिकी । जुत्ता निकालेर धुलो टकटकाई तर उसलाई निस्केर हिँड्न मन छैन बाहिरतिर । किन जान्थी ऊ त्यो मान्छेको पछि-पछि ?

“ बाँच्छ के त्यो मान्छे ?” प्रत्यक्षमा साँच्चै बरबराई ऊ । साँपको ठुँगाइले मान्छे मर्छ नि । के उसलाई त्यही विषालु साँपले डस्यो होला जसको विषले तत्कालै मान्छेको ज्यान जान सक्छ ! के त्यो मान्छे पुनः होसमा फर्कन सक्छ ?

निकालेर बाहिर राखेको सेन्डल उसले यथास्थान मै थनक्याई । लुगा जो लाउन भनी तयार गरेकी थिई त्यो पनि डल्लो पारेर दराजमै घुसारी । मोबाइल फोन उठाई । कुनै नम्बर डायल गर्न कन्ट्याक्ट लिस्ट खोली । धेरै नामहरू एकपछि अर्को निहारी … रमेश, दिनेश, रघु, विक्रम, चन्द्रमाया, दीपक, किशोर, विनीता, रूपेश…!!! अनि उसको पनि जसको नाम ड्याड भनेर सेभ गरेकी थिई । कहाँ छ होला त्यो मान्छेको फोन ? किन त्यो फोनबाट अहिलेसम्म कुनै कल  आएन ?

युवा बराल ‘अनन्त’ (सिक्किम)

“ घरमा बेसी अशान्ति भा’को पनि राम्रो होइन रहेछ ।” उसको सोचले त्यो विगतको रातलाई दोस्यायो । त्यो रात त्यो मान्छे निकै पिएर आएको थियो । उल्टासुल्टा निहुँ निकालेर उसँग झगडा गरिरह्यो । उसलाई लछारपछार पनि पाऱ्यो । शक्तिको प्रयोग गर्दै उसको सतीत्वको हरण गरिरह्यो अनि त्यो मान्छेको झुम्रे आगो निभेपछि  बिहान अबेलासम्म सुतिरह्यो । ऊ रोइरही रातभरि तर बिहानै नानीहरू स्कुल जान्छन्, उठेर  तयार पारिवरी पठाई । उसको पति दिउँसोतिर उठेर त्यत्तिकै बाहिरिएको थियो । “जतासुकै जाओस् त्यो, म त अब मरे पनि त्यो सँग बोल्दिनँ, खोज खबर पनि लिँदिनँ ।” अनि ऊ नआएको  नआएकै भयो ।

“बाँच्छ के त्यो मान्छे ?”

साँच्चै मऱ्यो भने मान्छेले के भन्छन् !  ऊ सोच्छे । “म भन्छु तर मान्छेलाई – त्यो मान्छे मेरा निम्ति मरेतुल्य थियो ।” त्यो मान्छे हुनु नहुनुले म अनि मेरा दुई सन्तानलाई कुनै फरक पर्ने छैन । निर्जीव उपस्थिति थियो उसको यो घरमा । बलेको आगाभित्र होमिएको भान थियो उसको सामीप्य । काँडायुक्त प्रेम ! प्रेमको नाममा नरपिशाचीय स्वामित्व !  अर्थहीन वैवाहिक आधिपत्य !! पीडादायक शारीरिक सम्बन्ध !!!

‘कसरी बेऱ्यो होला साँपले त्यो मान्छेलाई ! कति आवेशमा थियो त्यो साँप ? आफ्नो प्रतिरक्षामा डस्न पुग्यो कि अचानक अत्तालिँदा घट्न पुग्यो त्यो घटना ! कति दुख्यो होला उसलाई या दुख्दै दुखेन ? कि ऊ बेहोस भइहाल्यो ! निकै दुख्नुपर्थ्यो उसलाई…हो असह्य । जसरी उसको निर्मम व्यवहार र कठोर प्रहारले म आधारातसम्म मर्माहत बनेकी थिएँ । बिर्सन कहाँ सक्छु र म ती सब कर्तुतहरू !’ हृदयका औडाहाहरू एकलै बरबराइरही ऊ । सिकार हो ऊ । अचानो । चोट उसलाई लागेको छ आलो । घाउ उसको मासुमा उब्जेको छ । दुख्दो ऊ छे । यति प्रतिशोध अनि आक्रोश त उसको स्वीकारीय छ । ऊ जसरी पनि प्रतिक्रियाशील हुन स्वतन्त्र छे । त्यो उसको नितान्त व्यक्तिगत अधिकार हो ।

विगतको त्यो खाली समय –‘एउटा ठूलो खानदानको केटो छ, तँलाई सुखसयलसँग राख्नेछ, परीजस्तै सुनचाँदीले सजाउनेछ, महलको रानी बनाउनेछ’  भनेकी थिइन् उसकी आमाले । ती सब मोहलाई लत्याएर, ती सुनौला प्रलोभनीय आग्रहहरू सम्पूर्ण त्यागेर, प्रेमविवाह गरेकी थिई त्यो हेर्दै आकर्षक नवयुवकसँग । पहिलो भेटमै प्रेम बसेको थ्यो त्यो सुडौल शरीरधारी मान्छेसँग । त्यसले पनि कस्तो नजरले हेरेको थियो उसलाई । साँच्चै संरक्षकजस्तो ।  तीन वर्षसम्म चलिरहेको थियो त्यो प्रेमको अन्धो प्रसङ्ग अनि अन्तमा भागेर बिहे गरेका थिए ।

अघिल्लो एक वर्ष सुनौलो बितेको हो उसको । प्रेमैप्रेमको मखमली समय । रूप, रङ्ग अनि रमाहटको  अनौठो सङ्गम । यौन, पैसा अनि जवानीको अनुपम मेल । फूलका दिन अनि वासनाका रातहरू ।  बिते ती रमाइला पल खेल खेलमै । खेलाँचीजस्तै ।

जब पहिलो सन्तान जन्मियो…त्यसपछि बिस्तारै विकराल रूप लियो त्यो वैवाहिक सम्बन्धले । ऊ सदैव मातेर अर्धमृत घर आउन थाल्यो । त्यो अर्धहोस मान्छेले घरमा ताण्डव मच्चाउन थाल्यो । त्यो मदहोस मान्छेले आफ्नो असलियत देखाउन चुकेन । अनि दिनहुँको तनावमा त्यो पहिलो सन्तान विकट परिस्थितिको मार झेल्दै हुर्कन थाल्यो । ठिक डेढ वर्षपछि पुनः अर्को सन्तान जन्मियो । नचाहँदानचाहँदै पनि बसेको गर्भ, धारण गर्नैपर्ने बाध्यतामा परी ऊ । उसको जीवनमा एउटा अर्को बोझ अकस्मात् लादियो ।

अत्याचार अनि लाञ्छना सहेर पनि जीवन धानिरहेकी उसको जिन्दगीमा वर्तमानको बाटो पहिल्याउँदै एउटा अँधारो भविष्य अनिश्चितता बोकेर आइपुग्यो । एकदिन अचानक पुलिस आएर त्यो मान्छेलाई  पक्रेर लछारपछार पार्दै निर्दयतापूर्वक  लिएर गयो- नशालु पदार्थ सेवन तथा ओसारपसारको अभियोगमा । तीन वर्षको जेल भएको थियो । तीन महिनापछि उसैले त्यो मान्छेको जमानत तिरेर घर ल्याएकी थिई । त्यो मात्ने मान्छेले घरपरिवार सबै शनैः शनैः भुल्दै गयो । बिर्सियो त्यसले उसको उत्तरदायित्व । अनि कहालीलाग्दो स्थितिमा ती दुई सन्तान हुर्काउने बढाउने पढाउने जिम्मा त्यो कोमल काँधमा लादियो ।

त्यो मान्छे बाँचेर के हुन्छ र !

अनि  त्यो मरेर जाँदा उसको केही नोक्सान हुनेवाला पनि छैन । बरु एउटा गह्रुङ्गो बोझ नै हट्छ । ऊ हुनुमा जति बेमजा छ, विरक्ति छ, ताडना छ त्यो सब ऊ नहुनुले अर्कै नयाँ दिनको उदय हुनेछ । नानीहरूका निम्ति खुसीयालीको (?)  सृजना हुनेछ । एउटा स्वच्छ परिवेश । ऊ नभएको नितान्त शान्त घर ।

सायद ऊ मरेर गए के हुन्छ ?  ऊ सोच्छे- ‘म एकली हुन्छु…विधवी… साधवी… यस्तै के के । जवान छु । केही दिनपश्चात् मेरो एक्लोपनको फाइदा उठाउँदै टोलका पट्ठाहरू के-के निहुँ पार्दै जिस्कँदै, इत्रिँदै, मस्किँदै आउलान् । तीमध्ये कुनै एउटा मनमिल्दोसँग म पनि लहसिँदो हुँ । के थाहा समयले कस्तो करवट लेला । प्रेम पनि बग्ने वस्तु हो । यसले पनि निकास खोज्दो हो । अधिकदेखि कमतिर ! या कमदेखि ज्यादातिर ।  यो पनि उन्मादित हुँदो हो । उच्छृङ्खल बनेर अन्य पुरुष मित्रहरूसित इत्रिँदो हो, छिल्लिँदो हो । कति उत्तौलो क्रियाकलाप गर्न तम्सिँदो हो । बदमास मन !  हृदयको खबरदारि  नटेरेर उल्लास गर्दो हो ।  छिः छिः कस्तो पापी विचार यो,  अनर्गल !

‘कस्तो थियो होला त्यो साँप – लामो ? मझौलो ? झिनो ? छोटो ? रातो ? कालो? छिर्केमिर्के ? या सेतो ? के त्यो साँप नै थियो ?  हत् ! सम्झँदै डरलाग्दो !

किन ठुँग्यो त्यो मान्छेलाई त्यसले ? कता गयो होला त्यो ?  कि कसैले मारिदियो ? या त्यो ज्युँदो छ ?  छिः कस्तो सोच ? के-के सोच्दै तन्द्राजस्तो अवस्थामा उसले आफ्ना निश्चल नानीहरूलाई खिलाई, पिलाई अनि सुताई ।

जे गऱ्यो त्यो साँपले ठिक गऱ्यो । मज्जा आयो । एकलै रमाई ऊ । तर मन ?  कहाँ मान्छ र !

टोल छिमेकबाट पनि कोही आएनन् त्यो मान्छेको हालखबर बिचार्न । न उसले नै कुनै खोज तलास गरी । फोन बजेकै छैन धेरै लामो समयदेखि । यो पनि एउटा रहस्यै बनेको छ । कुनै वज्र पर्नुभन्दा अघिको निष्प्राण सन्नाटाजस्तो । कुनै आँधी बेहरी आउन अघि मडारिएको कालो मेघजस्तो कल्पना – घरी कस्तो घरी कस्तो । थाहा छ, त्यो आउँछ तर कुन्नि कस्तो !!

त्यो मान्छे बाँचेर पनि त आउन सक्छ !

उसले प्रार्थना गरेजस्तो त्यो मान्छे नमर्न पनि त सक्छ । उसले प्रार्थना नगर्दा पनि त्यो मान्छे सकुशल बाँचेर फर्कन सक्छ । फर्केपछि त्यो मान्छेको अवस्था देखेर मुर्झाएको स्नेह पुनः पलाउन सक्छ । प्रेमको नयाँ मुना टुसाउन सक्छ, झाँगिन सक्छ, बड्न सक्छ, फुल्न सक्छ, फल्न सक्छ ।   त्यो साँपको विष त्यति विषालु नहुन पनि त सक्छ । केही क्षणलाई त्यो मान्छे बेहोस बनेको हुन सक्छ । मान्छे मर्नु त्यति सजिलो कहाँ छ र !

होस खुल्नासाथ त्यो मान्छेले उसलाई कसरी खोज्यो हो । ‘ बिनु ! बिनु !!’ भनेर बोलायो हो । “तिम्रो रोशन म ज्युँदै छु ” भन्दै चिच्च्यायो हो । अस्पतालमा ‘म घर जान्छु ‘भनेर सायद जिद गऱ्यो हो । या ‘मेरी प्रियतमा खोइ ?’ भनेर भित्रभित्रै रोयो हो । भक्कानियो हो । मन दुखायो हो । त्यो पत्थरजस्तो छाति पनि पग्लियो हो । सम्झेर ऊ यस बेला मायासरी भएकी थिई ।

ज्ञात थिएन उसलाई त्यो मान्छेको कुलत त्यतिखेर । बिहे भएपश्चात् पनि शङ्का उब्जेन उसमा । अनि थाहा नहुनु नै सुगम थियो सुखमय वैवाहिक जीवनका निम्ति । यसै ऊ रमाइरही एकतमासले अनि चाटेरै राखी त्यो मान्छेलाई । त्यही आडमा, त्यो मान्छेले अझ त्यो पदार्थ सेवन गर्ने मौका पायो । अझ अधिक मात्रामा खान थाल्यो हो । कति लाटी ऊ … ।

हो नि, जीवनका लगभग सात-आठ वर्ष एउटै पलङमा सुतेका छन् तिनीहरू । कम्ती हाँसेर धेरै रोएका पनि छन् । अधिकतर रिस राग द्वेश अनि आवेगको रापिलो आगो तापेका हुन् तिनीहरूले । खुसीका क्षण रमाएर अनि दुःखका क्षण रोएर पनि बिताएका हुन् । हर्ष अनि विमर्शका आँसु एउटै रुमालले पुछेका पनि हुन् । त्यो मान्छेको माया लाग्छ नि उसलाई, किन लाग्दैन  र ! तर उसको त्यो कुबानीले ती मायाका लहलह बाली सबै नष्ट पारिदिएको हो । बस एउटै भयावह आदत । नशालु पदार्थको सेवन । हो त्यसैले जलाएर खाक पारिदियो  मायाको त्यो सानो संसार । संहार पारिदियो सबै-सबै ।

छुटाउनका निम्ति त्यो लत उसले हजार उपाय नलगाएको होइन । पैसा बगाएर त्यो मान्छेलाई मान्छे बनाउन उसले लाखौँ कोसिस गरी । जडीबुटी, धामीझाँक्री, माताओझा, डाक्टरवैद्य जे पायो त्यही उपाय लगाई । दुई वर्ष नशा मुक्ति केन्द्रमा भर्ना पनि गराई  तर त्यो मान्छेको मन बाँध्न सकिन उसले । फर्केर आएपछि चोरेर खायो, ढाँटेर खायो, छलेर खायो अनि अन्तमा धमास दिएर हाकाहाकी खायो । खान पाइन भने मर्छु भन्यो । काट्छु मार्छु भन्यो । कुट्यो पनि… तर  उसको जिद छोडेन त्यसले ।  त्यो नशालु साँपले सग्लै निल्यो उसलाई । समाजबाट एउटा उज्ज्वल लाग्दो नक्षत्र गहिरो खाडलमा झऱ्यो अनि त्यहीँ दलदलमा भासियो । त्यो निभ्यो ।

त्यो मान्छे बाँच्न पनि त सक्छ !

बाँचेर त्यो हाँस्दै-हाँस्दै फर्की आउन सक्छ ! अनि त्यही विषको पुरिया डल्लै निलेर मृत्युलाई जितेर आएको विजयोत्सव मनाउन सक्छ । फेरि त्यसले आफ्नो पराय कोही नचिनी एकलै मनमानी गर्न सक्छ । उसलाई अनि  उसका नानीहरूलाई अकारण  कुट्न पिट्न सक्छ । त्यो मान्छे नभए झोक्रिएर कैयन् दिन त्यत्तिकै बसिरहन सक्छ । घरमा बिनाबित्थामा तनावको स्थिति स्रृजना गर्न सक्छ । त्यो मान्छेको के भरोसा !!

यसपल्ट झसङ्गै पार्ने गरी फोनको घण्टी बज्छ । ऊ तरङ्ग ब्युँझन्छे त्यो दिवास्वप्नबाट । हृदयको धडकन तेजले धड्किन्छ – ढुकढुक गर्दै । थर्थर काँप्दो हातले त्यो फोन उठाउँछे ऊ । झिनो स्वरमा बोल्छे –‘हेलो … हेलो…को बोल्नु भयो…!!!

प्रत्युत्तरमा पुरुष स्वर गुञ्जन्छ – ‘ तपाईंको श्रीमान अब यो दुनियाँमा रहेनन् ।  नशिली दवाईको ओभर डोजले गर्दा उसको ज्यान गुम्यो । तपाईं अस्पताल आएर आफ्नो दिवंगत पतिको लाश लान सक्नुहुनेछ…’।

हाँसौं कि रोऔंको अन्यमनस्क स्थितिमा ऊ पत्थर जस्तो अचल बसिरही । यतिखेर ती अबोध नानीहरू खेल्ने क्रममा बोलेको ऊ स्पष्ट सुन्दैथिई – ‘भरे मेरो बाबाले मलाई यत्ति धेरै खेल्ने कुरा ल्यादिनुहुनेछ’ । ‘इस नापेर ल्यादिनुहुन्छ ! हाम्मो बाबा त खालि मातिबस्छ … न मिठाई ल्याइदिन्छ ,न खेलाउने कुरा …आमालाई पनि कुटिबस्छ …मलाई त मनै पर्दैन’…।”

“ दिदी ! …दिदी !!…। सुन्नु भो …सुन्नुहुँदैछ ??  भिनाजुलाई त साँपले ठुङ्गेको होइन रहेछ … सुन्नु भो…” त्यो केटो आएर घर बाहिर कराउँदै थियो । अझ के के बर्बराउँदै थियो ।

त्यसभन्दा ज्यादा अब ऊ सुन्न सक्दिन थिई … सुनिन पनि…!