मान्छेहरू अरूसँग सम्बन्ध बिग्रिएको कुरा गर्छन्, मेरो त शरीर र मनबिच पनि मिलेको सम्बन्ध छैन शरीरले एक थोक माग्छ, मनले अर्कै थोक ताक्छ ।
आज आफ्नै कथा लेख्छु म । कथा पूरा त नहोला तर आधा हुनुको सौन्दर्य पनि त कम हुँदैन । म जन्मेको सुदुरपश्चिमको बझाङमा । म जन्मिँदा बाले अँध्यारो मुख लगाए रे, छोरी जन्मिई भनेर । पछिसम्म पनि आमा भन्थिन्, “बरु मैले बाख्राको पाठो जन्माएको भए तेरा बा खुsI हुन्थे होला, महिना दिनसम्म तेरो अनुहारतिर फर्केर हेरेनन् ।”
मलाई पनि हो जस्तो लाग्थ्यो । बा त्यस बेला खसी व्यापार गर्थे । सात गाउँ डुलेर खसी पार्ने बेला भएका बोका भेला पार्थे, खसी पारेर अलि समय पाल्थे र अलिकति दाम फाइदा हुने गरी बेच्थे । घर यसरी नै चलेको थियो हाम्रो । पहिलो सन्तान छोरो होस् भन्ने आमाको पनि इच्छा थियो, घरपरिवारको पनि तर म छोरी भएर जन्मिएँ त्यसमाथि पहिलो र अन्तिम सन्तान पनि बनेँ । “छोरी भए पनि मेरी छोरी अरूजस्तो हुन्न, छोरोजस्तै तगडा हुन्छे ।” एक महिनापछि बाले यस्तो भनेर मलाई बोकेका थिए रे । हुन पनि बाले छोरीको जस्तो व्यवहार नै गरेनन् मलाई । बोलाउँदा पनि छोरो भनेर बोलाउँथे, छोरीजस्तो नदेखियोस् भनेर मेरो पूरै शरीर नाङ्गो हुँदा पनि कम्मरको भाग जहिल्यै छोपिएको हुन्थ्यो । मलाई थाहा थिएन के गऱ्यो भने छोरा हुन्छ, के गऱ्यो भने छोरी । बस् मलाई जे गर्न मन लाग्यो त्यही गर्थेँ ।
पाँच वर्षको हुँदा मलाई बाले नै स्कुल भर्ना गरिदिए । बा आफूले चाहिँ धेरै पढेनन्, छ कक्षा पढेर भागेर इन्डिया गएका रे गाउँका तन्नेरीहरूसँग । १५ वर्षमा एकपटक पनि घर आएनन्, जहिले आए त्यसपछि फर्किएर गएनन् । “म छोरोलाई चाहिँ धेरै पढाउँछु, डक्टर हुने गरी ।” मलाई काँधमा बोकेर बाले धेरैपटक यस्तो भनेका थिए ।
गाउँमा र स्कुलमा मेरै उमेरका साथीहरू थिए । साथीहरूसँग खेल्दा म बेहुला बन्थेँ, बाबु बन्थेँ । बाबु बनेर इन्डिया जान्थेँ । कोसेली भनेर चकलेटको खोल लिएर आउथेँ । बा मख्ख पर्थे म केटा बनेर खेलेको देख्दा । स्कुलमा केटा र केटी छुट्टाछुट्टै बस्नुपर्थ्यो । म हतार-हतार केटाको बेन्चमा गएर बस्थेँ, केटीहरूले केटासँग बसी भनेर जिस्काउँथे, सर मिसले उठाएर केटीतिर लगेर बसाइदिन्थे । कसैले गाली गर्थे “ कस्तो छक्काजस्तो ?” भन्थे । मलाई रिस उठ्थ्यो, थुप्रैपटक झगडा गरेको छु मैले यस्तै कुरामा ।
६ कक्षामा हुँदाखेरि जाडो बिदामा मेरो पेट छुट्टै तरिकाले सहनै नसक्नेगरी दुख्यो, बाले जुन ठाउँ जहिल्यै छोपिदिन्थे त्यहाँबाट घरिघरि रगत बग्न थाल्यो, मलाई डर लाग्न थाल्यो । सक्नेसम्म सहेँ, सक्दिनँ भन्ने लागेपछि आमाले पो केही गर्न सक्छिन् कि जस्तो लाग्यो र सुनाएँ । म नछुने भएछु, मलाई आमा नछुने भएको थाहा थियो, बा नछुने भएको थाहा थिएन । बाले कसैलेलाई भन्दैनथे जस्तो लाग्यो । आमाले भनेअनुसार मैले छाउपडीमा बस्नुपर्ने भयो । के भएर मलाई यस्तो भएको हो ? भनेर बालाई सोधेँ, उनले भलिबल खेलेकाले हो भनिदिए । मैले काम छोडेर भलिबल खेलको बालाई मन पर्दैनथ्यो । आमा कहिलेकाहीँ जानेगरेको सानो गोठ थियो घरनजिकै । म त्यही बस्नुपर्ने भयो । अरूबेला भए मलाई केही लाग्दैनथ्यो यस्तोमा बस्न, एकपटक बाले गाली गर्दा मैले बारीमा रात कटाएको छु तर अहिले त म बिरामी थिएँ नि । धेरै चित्त दुख्यो बाआमासँग, रिस पनि उठ्यो । सक्ने भए म जिन्दगी यो घरमा फर्केर आउने थिइनँ । छाउपडीमा बस्दाका ती हप्ता दिन सम्झिन पनि मन लाग्दैन । मुटु काम्ने जाडो, पेट दुख्ने अझ उस्तै । मैले खाना खानै मानिनँ । रोएरै सात दिन बिताएँ, रगतभन्दा धेरै आँसु बग्यो त्यस बेला मेरो । कहिलेकाहीँ आमा पनि मसँग आएर रुन्थिन्, मैले खाना नखाएको चिन्ता थियो उनलाई । बाले मलाई मन पर्ने मिठाई ल्याएर दिएका थिए, बेला-बेला त्यो खान्थेँ तर खानाचाहिँ खाइनँ । छाउपडीबाट निस्किएपछि मैले प्रण गरेँ, अब नछुने भएँ भने कसैलाई भन्दिनँ । बाले जस्तै लुकाउँछु । त्यसपछि म कहिल्यै छाउपडी बसिनँ, नभनेरै जितेँ ।
म स्कुलमा केटाहरू बस्ने लाइनको अन्तिम बेन्चमा एक्लै बस्न थालेँ, टिफिनमा केटाहरूसँग पनि केटीहरूसँग पनि भलिबल खेल्थेँ । केटाहरूले पनि सक्दैनथे मलाई भलिबलमा । थुप्रैपटक केटीको पक्षबाट खेलेर केटाहरूलाई हराएको छु मैले । खेलाडी बन्छु पछि भन्ने लाग्थ्यो, नछुने भए पनि सहन्छु तर भलिबल खेल्न छोड्दिनँ भन्ने सोचिरहेँ । कक्षामा म बस्ने ठाउँभन्दा पल्लोपट्टि बस्ने केटी थिई पवित्रा । मलाई पवित्रासँग बोल्न खुब लाज लाग्थ्यो, अरू केटीहरूसँग त म बोल्थेँ पवित्रा भनेपछि रातो भइहाल्थेँ । पवित्रा घरिघरि मतिर हेरेर मुस्कुराउँथी, घरिघरि हाम्रो आँखा जुध्थ्यो । म भुतुक्कै हुन्थेँ, उसलाई खै कस्तो लाग्थ्यो । मलाई धेरै मन पर्न थालेको थियो पवित्रा । एकदिन आँट गरेर मैले चिठ्ठी लेखेँ । सकेसम्म राम्रा शब्द छानेर । भोलिपल्ट स्कुलमा मौका पारेर चिठ्ठी दिएँ ।
अर्को दिन पवित्राको जबाफ चिठ्ठीमै आयो, मैले संसार पाएँ जस्तो लाग्यो । पवित्रालाई पनि म राम्रो लाग्दो रहेछु । यति भए के चाहियो र ? उनको र मेरो घर त्यस्तै १५ मिनेटको दूरीमा होला, त्यस बेला फोन थिएन । म हरेक दिन चिट्ठी लेख्न थालेँ । हामी जति बेला पनि भेट्न थाल्यौँ, पवित्रा घाँस काट्न जान्छे भन्ने थाहा पाएपछि म पनि हिँडिहाल्थेँ, कहिले पधेँरामा कहिले स्कुलनजिक चौतारीमा कहिले अर्को कुनै ठाउँमा भेट्न थाल्यौँ । बिस्तारै म उनको घर पनि जान थालेँ, उनको बा-आमाले मलाई छोरीको साथी भनेर राम्रै व्यवहार गर्थे तर हरेक दिन भेट्न जाने, त्यो पनि पवित्रासँग मात्र भेट्ने गरेको उनीहरूलाई त्यति मन पर्दैनथ्यो, मलाई पनि अप्ठ्यारो लाग्थ्यो । पछि म घरका सबै सुतिसकेपछि सुटुक्क पवित्राकोमा आउन थालेँ, हामी पवित्राको कोठाभित्र घण्टौँसम्म गफ गरेर बिताउन थाल्यौँ, पवित्राको स्पर्शले नै मलाई काउकुती लाग्थ्यो झन् अँगालामा घण्टौँसम्म बस्न पाउँदा, गोडा बोकाएर सुत्न पाउँदाको आनन्दको त के कुरा गर्नु । बिहान उज्यालो नहुँदै म घर आइपुग्थेँ । हामीले कोठाभित्र के-के गर्छौँ भन्ने पवित्राको बा आमालाई थाहा हुँदैनथ्यो त्यही भएर म पवित्राकोमा आउँदा त्यति धेरै नराम्रो चाहिँ मान्दैनथे, त्यही पनि छोरीले यसरी धेरै साथीसँग सङ्गत नगरे हुने भन्ने उनीहरू सोच्थे । कहिलेकाहीँ म अलि ढिलो घर आइपुग्दा घरमा बा आमाले थाहा पाइहाल्थे । उनीहरू भन्थे “केटीसँग यति धेरै सङ्गत नगर, तरुनी भएपछि छोडेर गइहाल्छन् ।” मलाई नराम्रो लाग्थ्यो यस्तो सुन्दा ।
मेरो सबै क्रियाकलाप केटाको जस्तो थियो । केटाहरूसँग झगडा गर्थेँ, झट्ट रिसाउथेँ र बाहुला सुर्किन थालिहाल्थेँ, केटाहरूको अगाडि अपशब्द बोल्थेँ, केटीहरूसँग चाहिँ यस्तो बोल्न सक्दिनथेँ । स्कुल पढ्दा कुनै दिन मैले स्कर्ट लगाइनँ । बाले मेरो कपाल पनि काटिदिन्थेँ । झट्ट देख्ने मान्छेहरूले मलाई केटा भन्थे, गाउँमा र स्कुलमा केटी अनि घरमा चाहिँ छोरा ।
त्यस बेला सदरमुकाममा हरेक बर्ष वीरेन्द्र कप हुन्थ्यो । त्यसमा सहभागी भएर म जिल्लास्तरको हुँदै म सुदुर पश्चिमस्तरको भलिबल खेलाडी भइसकेको थिएँ । हामीले एस.एल.सी. दिने साल म एउटा गेममा सहभागी हुन भनेर दिपायल गएको थिएँ, यता पवित्राको बिहेको कुरा चलेछ । उनका बा आमाले कुरा फिक्स गरिदिएछन् । म घर नआइपुग्दै बाटामै पवित्रा दौडेर आई र मलाई अँगालो हालेर धेरैबेर सम्म रोइरही । अन्तिममा भनी “तिमी माओवादीमा जाऊ ।” त्यस बेला पश्चिमतिर माओवादीले चलाएको सशस्त्र सङ्घर्षको प्रभाव चरम रूपमा पर्न थालेको थियो ।
माओवादीसँग जो पनि डराउँथे, म माओवादीमा लागेँ भने मैले थर्काएर बिहे पनि रोकिदिन सक्थेँ या हुन लागेको दुलाहालाई क्षति पुऱ्याउन सक्थेँ भन्ने उनको बुझाइ थियो तर म माओवादीमा गइनँ, खै केले दिएन मलाई माओवादीमा लाग्न त्यस बेला । “बरु म तँलाई भगाएर काठमाडौँ लैजान्छु तर माओवादीमा लाग्दिनँ ।” मैले खै के सोचेर यस्तो भनेँ, पवित्रा त्योभन्दा केही बोलिनँ । आँसु पुछ्दै फर्किई । म त्यस दिन कति बेचैन भएँ भन्ने भनिसाध्य छैन । भोलिपल्ट पवित्रा फेरि मलाई भेट्न आई र भनी “ल मलाई काठमाडौँ लैजाऊ, म जान्छु तिमीसँग ।” त्यस दिन फेरि मलाई काठमाडौँ लैजान्छु भन्ने आँट पनि आएन । “केही गर्न सक्दैनौ, छक्का हौ तिमी ।” पवित्राले रुँदै यस्तो भनी र गई ।
पवित्राको बिहे हुँदै थियो । म वरबाटै रुँदै मण्डपमा हेरिरहेको थिएँ, आवाज निस्केको थिएन, आँसु घरिघरि आउँथ्यो तर मन अहिलेसम्म त्यति रोएको छैन होला । एकपटक पवित्रालाई भेट्न मन लाग्यो, पवित्राको घरमा गएँ तर कसैलाई केही भनिनँ । उनको शृङ्गारको काम हुँदै थियो । खै कसले हो म आएको खबर पुऱ्याइदिएछ । ऊ दौडेर म भएको ठाउँमा आई र मलाई अँगालो हाली । देख्नेहरूले यसलाई दुइटा केटी साथी छुट्टिन लागेकाले दुःखी भएको देखे तर कुरा के हो त्यो पवित्रालाई र मलाई मात्र थाहा थ्यो । “अझै पनि समय छ ।” पवित्राले यत्तिमात्र भनी । म केही बोल्नै सकिनँ, फेरि छोडेर हिँडी उसले मलाई । यसपटक छक्का भनिन ।
म किशोरावस्थाको उत्कर्षतिर थिएँ । मेरो उमेरका केटीहरू धेरैको बिहे भइसकेको थियो, म भने केटीप्रति नै आकर्षित हुन्थेँ । म केटी हुँ भन्ने भाव ममा कहिल्यै आएन । म केही फरक त हुँ भन्ने मलाई लाग्न थालेको थियो । म छोराजस्तो बन्दा खुसी हुने बालाई पनि म अलि अस्वाभाविक लाग्न थालिसकेको थियो । मेरा छातीको दुई भाग दिनदिनै अग्लो हुँदै गइरहेको थियो, कपाल नकाटेको भए म अरू केटीहरू भन्दा राम्रो देखिन्थेँ होला तर मलाई राम्रो देखिनु नै छैन, बरु डरलाग्दो देखिन पाए हुने । एसएलसी राम्रै भयो । भलिबलमा पनि म राम्रो हुँदै गएँ । एसएलसी दिएको अलि समयपछि मेरो पनि घरमा बिहेको कुरा आएछ, सुर्खेतको केटो भनेर आमाले सुनाउँदा म झस्किएँ । “अनि छोराको बिहे केटासँग गरिदिनुहुन्छ ?” मैले झस्किएरै प्रश्न गरेँ । “यत्रो पढेर पनि तँ ठुली भइनस् है छोरी ?” आमाले पहिलोपटक छोरी भन्नुभयो । बिहे टुङ्गो नै लागिसकेको भनेपछि मसँग दुई वटामात्र विकल्प रहे, कि भाग्ने कि मर्ने । त्यही केटासँग विवाह गर्ने भन्ने सोच्न पनि नसक्ने विकल्प थियो । मैले कोही केटासँग बिहे गरेँ भने ममाथि बलात्कार भन्दा पनि भयानक केही हुने थियो हरेक दिन । बलात्कार बरु दुई फरक लिङ्गीबिच हुने दुर्घटना थियो तर केटाले केटाबाट बलात्कृत हुनु.. यो त सोच्नै नसक्ने कुरा थियो मेरो लागि । मलाई फेरि एकपटक पवित्राले भनेको नमानेकोमा पछुतो लाग्यो । अन्ततः मैले दोस्रो विकल्प रोजेँ । भलिबल खेलेर केही पैसा जम्मा गरेको थिएँ, बाले पैसा राख्ने गरेका ठाउँ पनि थाहा थियो ।
सक्नेसम्म भेला पार्दा ६ हजारभन्दा बढी भयो । यो पर्याप्त थियो मेरा लागि । यो सकिएपछि के गर्ने भन्ने पनि सोचिनँ, किनकि योभन्दा पछिल्लो विकल्प मर्नुमात्र थियो अब अनिकालसँग डर लागेन । भएका अलिकति कपडा पोको पारेँ, सर्टिफिकेटको पनि मायाँ लाग्यो, महिला लेखेको नागरिकता थियो त्यो पनि छोडिनँ । कसैलाई थाहा नदिई गाडी चढेर काठमाडौँ हान्निएँ । काठमाडौँमा कसकोमा बस्ने भन्ने थिएन, अहिलेजस्तो भए फोन गर्थेँ होला कसैलाई । चिनेको मान्छे कहीँ भेटिएनन् । काठमाडौँ जानासाथ थुप्रै अप्ठ्याराहरू खेप्नुपऱ्यो । सार्वजानिक शौचालयको अप्ठ्यारो कहिल्यै भुल्दिन होला । महिला र पुरुषका लागि शौचालय थियो, महिलाकोमा जान मनले दिएन पुरुषकोमा जान तनले ? म के हुँ भन्ने प्रश्न हजारपटक आफूलाई सोधेँ, घरी शरीरले जबाफ दियो घरी आत्माले । अन्तिममा महिला शौचालय नै जाने निर्णयमा पुगेँ । शौचालयभित्र पुग्नासाथ पिसाब फेर्दै गरेकी महिलातिर आँखा पुगिहाल्यो, एकैपटकमा रातो पिरो भएँ । शौच त कहाँ पुग्यो कहाँ त्यहाँ बस्नै सकिनँ र निस्किएँ । पैसा उठाउन बसेको मान्छे म यति छिटो निस्किएको देखेर छक्क पऱ्यो, दुई रुपैयाँ दिएर म त्यहाँबाट निस्किएँ पुरुष शौचालय जाने पनि आँट आएन । अर्को ठाउँको शौचालय गएँ, पुरुष शौचालयमा पसेँ । केटाहरू उठेर पिसाब गर्दै थिए, मैले आफ्नो गुप्ताङ्ग यसरी देखाउन सक्ने अवस्था रहेन, ढोका थुनेर दिसा गर्ने ठाउँमा पसेँ र पिसाब फेरेँ । दिशा गर्ने ठाउँमा पसेर फेरेको पिसाब महँगो पऱ्यो, पाँच रुपैयाँ ।
पैसा सकिँदै गएपछि काठमाडौँको बसाइ झनै सकसपूर्ण बन्दै गयो ।
संयोगवश त्यस बेला शाही सेनाका लागि आवेदन खुलेको रहेछ, मैले पनि फाराम भरेँ महिला भनेर भए पनि । नाम निस्कियो, एउटा सानो भए पनि खुसी मिल्यो उत्रै आशा पनि । तालिम सुरु भयो, बिच-बिचमा अलि-अलि अप्ठ्याराहरू आइपरे पनि बस्न र खानको समस्या नहुने भयो र बाँच्न पनि । तालिम सकियो, अरू केटीहरू भन्दा मलाई सजिलो भयो ।
गणभित्रै बस्दा फेरि कोही मन पर्न थाल्यो । दोस्रोपटक । शर्मिला थियो केटीको नाम । दुवै जना सँगै गेम खेल्थ्यौँ । शाही सेनाबाट हामीले थुप्रैपटक सँगै गेम खेल्यौँ र अधिकांश जित्यौँ । हामी दुवैले एक अर्कालाई मन पराउन थाल्यौँ । हामी आँखा छल्न सक्नेसम्म छलेर सँगै बस्न थाल्यौँ । मैले कहिल्यै पनि प्रेमलाई सीमाभित्र गर्न जानिनँ । यसको संसार त ठुलो हुन्छ, ब्रम्हाण्डभन्दा पनि र आकाशभन्दा पनि । सबै कुरा राम्रो चल्न लागेको थियो तर त्यस्तो हुन पाएन । हामीसँगै काम गर्ने एक जना बहिनीले मेरो विरुद्धमा उजुरी गरिछन् आर्मी क्याम्पभित्रका महिलासँग अनैतिक सम्बन्ध राखेको भनेर । मेरो जागिर टिकेन । शर्मिलासँगको प्रेम यति मै सकियो, फेरि भेट भएन । न त पवित्रासँग भेट भयो ।
जागिरबाट निकालिएपछि म ठुलै मानसिक तनावमा परेँ । जागिर फिर्ता गर्न सक्ने केही पनि ठाउँ बाकीँ रहेन, त्यसो त मेरा लागि बोलिदिने नै को थियो र ।
एकदिन नयाँ बसपार्कछेउ यसै बसिराखेको थिएँ, एक जना दिदी आएर बालाजु कता हो ? भनेर सोध्नुभयो । मैले देखाइदिएँ । पानी खाने भनेर सोध्नुभयो मैले खाइनँ । एकैछिनमा घर सोध्नुभयो, अरू-अरू धेरै प्रश्नहरू सोध्नुभयो । बिच-बिचमा दिदीले भाइ भनेर सम्बोधन गर्दै हुनुहुन्थ्यो, मैले त्यसमा त्यति ध्यान दिएनछु । मेरा बारेमा धेरै कुरा सोधेको मलाई त्यति राम्रो लागेको थिएन यसै पनि मान्छेहरूसँग धेरै नजिक हुन मलाई पुगिसकेको विषय थियो । नाम सोध्नुभयो “लक्ष्मी” मैले भनिदिएँ । “केटा भएर पनि किन केटीको जस्तो नाम राखेको ?” भर्खर भेट भएको दिदीको प्रश्नले मलाई झस्कायो । मैले जबाफ नै दिन सकिनँ । दिदी तेस्रो लिङ्गीसम्बन्धी काम गर्ने एउटा संस्थामा आबद्ध हुनुहुँदो रहेछ । “म पनि तिमीजस्तै हो, बायोलोजिकल्ली केटा तर अरू सबै कुराले केटी ।” दिदीको कुरा चाखलाग्दो बन्दै गयो । अन्य (तेस्रो) लिङ्गीभित्र समलिङ्गी, पारलिङ्गी, अन्तर्लिङ्गी जस्ता फरक-फरक समुदाय हुने रहेछन्, म तीमध्ये ‘ट्रान्सजेन्डर मेल’ उर्फ पारलिङ्गी पुरुषमा पर्ने रहेछु । पहिलोपटक आफूलाई चिन्दाको खुसी बेग्लै हुने रहेछ । त्यसमाथि जन्माउनेहरूले पनि नचिनेको सङ्गत गर्नेहरूले पनि नचिनेको मलाई आफैँले यसरी चिन्न पाउँदा पहिलोपटक मेरो पनि पैताला जमिनमा छ जस्तो लाग्यो । मजस्ता थुप्रै मान्छेहरू संसारमा छन् भन्ने थाहा पाउँदा मेरो पनि आवाज संसारमा छ जस्तो लाग्यो ।
दिदी आफैँले लक्ष्मीबाट मेरो नाम लक्ष्मण राखिदिनुभयो । दिदीकै संस्थामा आफ्ना समुदायकै पक्षमा गर्ने काम पाएँ । कामकै शिलशिलामा एक जनामा तेस्रोपटक मन अडियो, विवाह गऱ्यौँ । परिवारको समझदारीमा हैन, कसैलाई थाहै नदिई ।
कसैले आफूलाई अर्कै बनाउन खोजे भने पनि खुसी हुन नसकिने रहेछ, आफूले आफैँलाई अर्कै सोचियो भने पनि खुसी नमिल्ने रहेछ । खुसी हुन त आफूभित्रको आफूलाई भेट्नुपर्ने रहेछ । मैले भेटेँ, आफूभित्रको आफूलाई । अब म पूर्ण रूपले आफू बन्छु र कथा पूरा गर्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।