“बीस रुपियाँमा यी सबै नासपाती दिन्छु भाइ, लानू न ।”
यो आवाजले मलाई झस्कायो ।
फर्किएँ पछाडि । खोजेँ त्यही अन्जान आवाजलाई ।
“भाइ यता ।”
एउटा दुब्लो मान्छेले मलाई हेर्दै बोलाएको देखेँ ।
“आ,,, यी फुटपाथका व्यापारीहरू यस्तै हुन् । सबैले बोलाउछन् । यिनीहरूलाई सामान बेच्नु छ । किन्दिनँ म त ।”
म आफ्नो बाटातिर दुई पाइला के अगाडि बढेको थिएँ फेरि आवाज आयो, “क्याप लाउने भाइ, ए, भाइ ।”
म बाध्य भएँ फर्किन । हेरेँ, त्यही नासपाती बेच्ने मान्छे बोलाइरहेको थियो ।
उसको छेउमा पुगेँ म । ऊ मुमुस्क हाँस्यो तर उसको हँसाइमा कुनै उत्साह देखिनँ मैले । सोचेँ, यो व्यापारी हाँसोमा पैसाको संविधान छ, मायाँको होइन ।
सँगै बसेका अन्य पसलेहरू पनि मेरो मुखमा हेरिरहेका थिए । उनीहरू पनि चाहन्थे मैले उनीहरूको केही सामान किनिदिऊँ ।
“दाइ, तपाईँ नयाँ हो यो विष्णुमती पुलमा पसल थाप्ने ? म सधैँ ताहचलबाट सुनधारा यहीँबाट जान्छु तर मैले देखेको थिइनँ तपाईँलाई ।” मैले सोधेँ
ऊ बोलेन । टाउको हल्लायो मात्रै । हो भन्ने सङ्केतले ।
नासपाती ताजा थिएनन् । पोलिथिन झोला पनि पुरानो थियो । मैले मनमनै सोचेँ, “यी नासपाती लगेर के गर्नु मैले ?”
तर मैले किनेँ नासपाती । उसलाई बीस रुपियाँको नोट दिँदै भनेँ, “कहाँ बस्नुहुन्छ दाइ ?”
ऊ बोलेन ।
“कहाँ बस्नुहुन्छ दाइ ?” मैले फेरि सोधेँ । अहँ, बोलेन ।
मैले तेस्रोपटक सोध्ने आँट गरिनँ । सोचेँ, यो व्यापार हो मैले भावुक हुनुको कुनै अर्थ छैन ।
तर पनि उसको अनुहार भने एकछिन नियालिरहेँ । रङ र बैँस सकिएको कुनै बगैँचाजस्तो उसको अनुहार । उज्यालो भन्ने कुरा अघि एकैछिन आएको थियो । मलाई बोलाउँदा ।
“यो मान्छे ठिक त छ ?” मैले सोचेँ मनमनै ।
म आफ्नो बाटो लागेँ । दश पाइला जति अगाडि के बढेको थिएँ मोबाइलमा म्यासेज आयो । म्यासेज दिपेन्द्र दाइले गर्नुभएको थियो, दही लिएर आऊ है भनेर ।
परोपकार स्कुल कटेपछि उकालामा रहेको डेरी पसलमा छिरेँ । साँझको बेला डेरीमा ग्राहकको भिड निक्कै थियो । केहीछिनको पर्खाइपछि आधा लिटर दही लिएर डेरीबाट बाहिर निस्कनु पनि त्यही मान्छे अगाडि देखेँ ।
मेरा आँखा सिधै उसकै आँखामा ठोकिए तर उसले अन्तै आँखा दौडायो, मानौँ मेरो हेराइ उसका लागि वर्जित छ ।
मन ढक्क फुलेर आयो मेरो । डर लाग्यो कता-कता ।
“अघि बोलाएर नासपाती किन्न लगाउने यो मान्छे को हो ? यसले मेरै त पिछा गरेको होइन ?” फेरि मैले मनमनै सोचेँ ।
“मलाई आधा लिटर दूध” उसले माग्यो । म परबाट उसलाई हेर्न थालेँ ।
डेरीवालाले दूध दिएपछि ऊ पनि बाहिरियो । ऊ म भएतिर आएन । पुलतिरै फर्कियो । मलाई केही हलुका महसुस भयो । मनमनै भनेँ, “मलाई पछ्याएको होइन रहेछ यसले ।”
ऊ गएको बाटो हेरिरहेँ टक्क अडिएर । मानौँ म मूर्ति हुँ केही समयका लागि ।
ऊ पुलनजिक पुग्यो । म मूर्ति बनिरहन सकिनँ । त्यो मान्छे अब कता जान्छ भन्ने कुतूहलताले मलाई पिरोल्न थाल्यो । मनमा उठेको डरसँगै ऊ कता जान्छ ? के गर्छ ? भन्ने ज्वालामुखीले अलमल्याइरह्यो मलाई ।
मेरा आँखाले उसको ठेगाना खोज्न चाहे । ऊ गएको बाटातिरै म हिँडेँ कछुवाको हिँडाइमा । साँझ परिसकेको थियो । मान्छेहरूको ओहोरदोहोर बाक्लै थियो । पुलमा पुगेर त्यो मान्छेलाई यताउति हेरेँ । देखिनँ, अनि भनेँ, “आ होस्, जतासुकै जाओस्। त्यो को हो र मेरो ? न बाउपट्टिको न आमापट्टिको ।”
अचानक मेरा आँखा खोला किनारमा पुगे । त्यो मान्छे खोला किनारमा उभिएको थियो । म पुलको बिचमा गएँ जहाँबाट उसलाई नजिकै देख्न सकिन्थ्यो ।
“आखिर यो मान्छे हो को ? किन यसको फरक व्यवहारले मलाई डोहोराइरहेको छ ?” म दर्शक बनेर सोच्न पनि थालेँ ।
ऊ थचक्क बस्यो बगरमा । लाटोकोसेराले जस्तै वरिपरि शिर घुमाएर हेऱ्यो । उसलाई लाग्यो होला देखेको छैन कसैले तर मैले देखिरहेको थिएँ, जसरी देख्छ आकाशले धर्तीको गतिविधि ।
ऊ एक्कासि रोयो । मैले आँखा अन्तै मोडेँ । भनेँ मनमनै, “के देख्नुपऱ्यो आज ?”
एकछिनपछि रोकियो रुन ऊ । मैले आँखाहरू हटाउनै सकिनँ ऊभन्दा पर । सोचेँ, “यो मान्छेले आत्महत्या त गर्दैन ?”
जुरुक्क उठ्यो ऊ र साह्रो-साह्रो आवाजले छोरी छोरी भन्दै चिच्यायो । उसको चिच्याहटले कुकुरहरू भुके । परेवाहरू उडे । मेरो मन पनि चिसो भयो, मैले आँखा मिचेँ ।
साथमा लगेको दूधको पोको खोल्न थाल्यो । पानीको नजिक गयो र एकछिन आँखा चिम्लियो । आँखा खोलेर दूध पानीमा बगाइदियो । केहीबेरपछि सलाई कोरेर अगरबत्ती बाल्यो । बलेका अगरबत्ती उसले भुईँमा राखेन । पानीमा फालिदियो । निभेका बत्ती पानीसँगै बगे ।
त्यति गरेर ऊ पुलतिरै सुरुसुरु आयो । मेरो नजिक आएपछि मैले बोलाउने साहस गरेँ
“दाइ सुन्नू न ।”
बोलेन ऊ । घोसे मुन्टो लगायो । मेरो सोधाइलाई बेवास्ता गरेर ऊ हिँड्यो ।
ऊ मभन्दा केही पर पुगिसकेको थियो । म पनि ऊ गएतिरै दौडिएँ तर मैले भेट्न सकिनँ । ऊ कता पस्यो पस्यो ।
को होला त्यो मान्छे ? यही प्रश्न खेलाउँदै फर्किँदै थिएँ । डल्लुतिरबाट आएको टेम्पोले मलाई धक्का दियो ।
“ओइ खाते तेरा आँखा छैनन् ? धन्न बाँचिस् । साला आँखा हेरेर बाटो हिँड् ।” ट्याम्पो चालक मलाई गााली गर्दै आफ्नो बाटो लाग्यो ।
म चुपचाप लागेँ । गल्ती मेरै थियो, बाटो काट्दा सवारी साधनको ख्याल गरिनँ ।
मैले बोकेको नासपातीको झोला हुत्तिएर पर पुग्यो । नासपातीहरू तितरबितर हुँदै गुडे । केही नासपाती ढलमा खसे । केही नासपाती ट्याक्सीले किचिपिची पारिदियो ।
ट्याम्पुको धक्काले खुट्टामा हल्का घाउ लागेको थियो । मनभरि त्यही मान्छेका बारेमा अनेक थरी सोच्दै कोठा पुगेँ । दाइ भाउजू मेरै प्रतीक्षामा हुनुहुन्थ्यो । भाउजूले खाना पस्किनुभयो । थोरै खान्छु म त भनेर अलिकति लिएँ भात मैले ।
खाँदा खाँदै दाइले भन्नु भयो, “एउटा कथा चाहियो तिम्रो । लेख है । तीन दिन छ म्याद । हाम्रो अफिसबाट निस्कने पत्रिकाका लागि ।”
“हुन्छ दाइ ।”मैले यति मात्रै भनेँ ।
दाइ भाउजू र भतिजीहरू सुते । म पनि सुतेँ तर निदाउन सकिनँ । त्यही नासपाती बेच्ने मान्छेको आकृतिले मलाई सताइरहयो ।
को हो त्यो मान्छे ? किन बगायो पानीमा दूध र अगरबत्ती ? यो रातमा ऊ जीवित छ या गरिसक्यो आत्महत्या ? सोच्दा सोच्दै उज्यालो भो आँखा काँचै रहे ।
बिहान त्यही बाटो स्कुल गएँ । पुलमा पुगेपछि आँखा चारैतिर घुमाएँ । त्यो मान्छे थिएन । खुसी पनि लाग्यो, आत्महत्या गरेनछ त्यसले ।
दिनभरि बोर्डिङ स्कुल पढाएर गल्ने म तर आज किन किन थकाइ थिएन । थियो त त्यही नासपाती बेच्ने मानिसको बिम्ब आँखामा र दिमागभरि उसले गरेका क्रियाकलापहरू । स्कुल छुट्टी भयो । म हिँडेँ कोठातिर पैदल नै । “आज त्यो मान्छे भेटियोस् । बोलोस् पनि मसँग । बरु म उसलाई केही सहयोग गर्छु । बिरामी हो भने बरु उपचार खर्च जुटछाउँछु ।” कल्पना यस्तै-यस्तै गरेँ मैले ।
पुलको बिचमा पुगेपछि म रोकिएँ । हेरेँ बगरतिर । अगरबत्तीको मुठो बालेर एउटा ठूलो नासपातीको दानामा गाडेको देखेँ । नासपाती र अगरबत्ती देखेपछि मैले मनमनै भनेँ, “त्यो मान्छे आज पनि यतै कतै छ । सायद नासपाती बेच्न बसेको होला । उसले बोलाएन भने पनि म सबै किनिदिन्छु र फकाएर सोध्छु उसभित्रको कथा ।”
पुलभरि तरकारी र फलफूल पसलेहरूको भिडभाड आज पनि थियो ।
“लानू भाइ यो काउली तीस रूपैयाँमा ।” एक जना बूढी आमैले मलाई हेर्दै भनिन् ।
म चुप लागिरहेँ । किन्छु पनि भनिनँ किन्दिनँ पनि भनिनँ । सामानभन्दा पनि त्यो मान्छेलाई भेट्न आतुर थिएँ म । यता उता सबैतिर हेरेँ, त्यही मान्छे थिएन जसलाई म खोज्दै थिएँ । सोचेँ, “दिउँसै आएर गइसकेछ ।”
मन खल्लो भयो । खल्लो मन लिएर म आफ्नो बाटो लागेँ । परोपकार स्कुल कटेको मात्र के थिएँ मान्छेको भिड देखेँ । सोचेँ, “बाइक दुर्घटना भयो क्यारे ।” म भिडको नजिक गएँ र सोधेँ एउटा मान्छेलाई, “के भयो दाइ यहाँ ?”
“बहुला मरेछ । सुतेकै ठाउँमा ।” त्यो मान्छेले भन्यो ।
मैले बगरको अगरबत्ती र नासपाती सम्झिएँ र सम्झिएँ त्यही मान्छेलाई । कतै त्यही मान्छे त होइन ? म भिडभित्र पसेँ ।
मेरो अनुमानले मेल खायो । त्यही नासपाती बेच्ने मान्छे मरेको रहेछ । म केही बोल्न सकिनँ । हेरिरहेँ लासलाई ।
“यो लासलाई कसले जिम्मा लिन्छ अब ? यो त बहुला हो । यसका आफ्ना मान्छे कोही छैनन् यहाँ ।” एउटी महिलाले भनिन् ।
ती महिलालाई मैले सोधेँ, “कहिलेदेखि यो ठाउँमा यो मान्छेलाई देख्नुभएको हो तपाईँहरूले ?”
“दुई तीन महिना भो । कालिमाटीतिरबाट केही तरकारी र फलफूल मागेर ल्याउँथ्यो अनि यहाँ पुलमा आएर बेच्थ्यो । बेचेका पैसाले दूध किनेर खोलामा बगाइदिन्थ्यो । एकैछिनमा सज्जन हुन्थ्यो एकैछिनमा पागल हुन्थ्यो । सामान बेच्ने बेलामा मात्र बोल्थ्यो नत्र बोल्दैनथ्यो ।” ती महिलाले भनिन् ।
त्यति नै बेला प्रहरीको भ्यान आयो । भ्यानबाट तीन जना मान्छे ओर्लिए । एक जनाले भन्यो “यो लास मेरो दाइको हो ।”
“तपाईँहरूले किन यसरी छोडिदिनुभएको ? मानसिक सन्तुलन गुमाएको मान्छेलाई छोड्नै हुन्नथ्यो ।” ती महिलाले भनिन् ।
“पागल मान्छे घरमा बस्दैनथे कहिल्यै । मरे अब ढुक्क भो ।” त्यो मान्छेले भन्यो ।
सँगै आको अर्को मान्छेले भन्यो “अब हामी लैजान्छौँ लास ।आजै जलाउने हो पशुपतिमा ।”
प्रहरीको गाडी गयो त्यहाँबाट । भेला भएका मान्छेहरू पनि आआफ्नो घर फर्किए । मैले दिपेन्द्र दाइलाई फोन गरेर बाइक लिएर आउन भनेँ ।
नभन्दै दाइ केही समयमै आइपुग्नुभयो ।
“पशुपति जाऔँ न दाइ ।”
“किन ?”
“एउटा साथीको दाइ बितेछन् ।”
एकैछिनमा हामी पशुपति पुग्यौँ ।
हामी त्यहाँ पुग्दा ती मान्छेहरूले लास चितामा राखिसकेका थिए । चिता दनदनी बलिरहेको थियो ।
मलामी खासै थिएनन् । सात जना मात्रै ।
दिपेन्द्र दाइलाई पुलपारि नै छोडेको थिएँ मैले र म तिनै अन्जान मान्छेका छेउमा गएर उनीहरूसँगै चिताको धुवाँ नियालिरहेको थिएँ ।
मलाई अलि अनौठो लागिरहेको थियो मलामीहरूको अनुहार देख्दा । मानौँ उनीहरू त्यहाँ मान्छे जलाइरहेका छैनन् । कुनै उत्सव अथवा पर्वको रौनक छ उनीहरूका आँखामा । नजिकै जल्दै गरेका अरू चिताको छेउमा बसेका मान्छेहरू छाती पिटीपिटी रोइरहेका थिए । मैले मनमनै भनेँ, “मर्दाखेरि रुने मान्छे नभए त नहुँदो रहेछ ।”
चिता सकियो बलेर । उनीहरूले त्यहाँ आउने सबैको नाम र मोबाइल नम्बर टिपे । मेरो दाइको लास हो भन्ने मान्छेले “आउनुभो धन्यवाद है” भन्यो मलाई ।
“मर्दापर्दा त हो नि मान्छेले सरसहयोग गर्ने ।” मैले भनेँ ।
खासमा तपाईँको दाजु बहुलाउनु र मर्नुको कारण के छ भनेर सोध्न चाहन्थेँ म तर सोध्नै सकिनँ । दुई-तीनपटक निकालिसकेको आवाजलाई पनि दवाएँ । सोध्नुहुन्थ्यो वा हुन्थेन म अलमलमा परेँ । खासमा म पशुपति जानुको कारण नासपाती बेच्ने मान्छेलाई चिन्नु थियो । अन्त्यमा नसोध्ने नै निर्णय गरेँ र त्यो मान्छेको नम्बर मागेँ । उसले भिजिटिङ कार्ड दियो । मैले खल्तीमा राखेँ र हिँडेँ त्यहाँबाट दिपेन्द्र दाइ भएतिर ।
“साथीको दाइको रोग चैँ के थियो क्षितिज ?” गौशालामा आइपुगेपछि दाइले सोध्नुभयो ।
“ब्लड क्यान्सर ।” मेरो मुखबाट एक्कासि यो वाक्य फुत्कियो ।
मैले दाइलाई किन ब्लड क्यान्सर भनेँ मैले पत्तो पाइनँ ।
हामी कोठा पुग्दा दश बजिसकेको थियो । भाउजू र भतिजीहरू सुतिसकेका रहेछन् ।
“मलाई केही खान मन छैन दाइ । तपाईँ खानुहोला । म आराम गर्छु ।” यति भनेर म अर्को कोठामा गएँ ।
सोफामा बसेर गोजीबाट मोबाइल निकालेँ । मोबाइल निकाल्दा सँगै आयो त्यो मान्छेले दिएको भिजिटिङ कार्ड पनि । फोन गर्ने आँट गरिनँ । रात निकै छिप्पिसकेको थियो । फेसबुकमा उसको नाम खोजेँ, भेटेँ पनि । मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ । एकैछिनमा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भयो ।
मैले च्याटमा डराइ डराइ सोधेँ, “सर हजुरको दाइलाई भएको खास के हो ?”
“ऊ मेरो खास दाइ होइन । पर्ने दाइ मात्रै ।” उनले उत्तर पठाए र लगत्तै उनको म्यासेज आयो ओके गुडनाइट ।
मेरो जिज्ञासा पूरा भएन । सोचेँ, केही कुरा रहस्यमै सकिँदा रहेछन् ।
बिहान उठ्दा थाह भो मोबाइलमा डाटा अफ गरेको रहेनछु । तीन वटा लामा म्यासेज देखेँ । त्यही मान्छेले पठाएको रहेछ । उसले यसरी लेखेको थियो ः
“धादिङको मैदी हो उसको घर । ऊ सानै छँदा बाबाआमा गाडी दुर्घटनामा परेर बिते । उसको हेरचाहका लागि फुपूले उसलाई काठमाडौँ लगिन् । फुपाजु बैङ्कमा जागिरे थिए । आर्थिक अवस्था राम्रो थियो । एउटा कुराको मात्रै अभाव थियो, उनीहरूका छोराछोरी थिएनन् ।
ऊ छोरोजस्तै भयो त्यो घरको । फुपू रोगी । ऊ दश कक्षामा पढ्दै गर्दा फुपूको निधन भयो ।
उसले दश कक्षासम्म मात्रै पढ्यो । फुपूको निधनपछि पढाउन मानेनन् फुपाजुले । भने, “बिहे गर् अब ।”
फुपाजुको कुरा काट्न सक्दैनथ्यो ऊ । फुपाजुले एउटी केटी भिराइदिए । उसले आफ्नो बिहे पनि फुपाजुको रहर र रोजाइमा गऱ्यो ।
उसकी छोरी जन्मिई । छोरी जन्मिएपछि उसकी श्रीमतीको व्यवहार उसप्रति फरक हुँदै गयो । उसलाई अगाडि देख्नेबित्तिकै ऊ झर्किन्थी, रिसाउँथी । भन्थी पनि, “तिमीलाई देखेपछि मेरो टाउको दुख्छ ।”
ऊ सुनेको नसुनेझैँ गर्थ्यो ।
फुपाजु कहिलेकाहीँ मात्रै घर आउँथे । घर आएका बेला छोरीलाई बोक्थे । माया गर्थे । उसप्रति भने फुपाजुको व्यवहारमा फरकपन आएको थियो । बोल्न पनि चाहँदैनथे । आँखा तरेर हेर्थे ।
एक साँझ फुपाजुले भने, म यो घर बेच्दै छु । आफ्नो व्यवस्था आफैँ गर् कमलेस अब । सानो छैनस् तँ ।
ऊ छक्क पऱ्यो फुपाजुका कुराले । भन्यो, “फुपाजु मेरो केही त छैन यो घरबाहेक । मेरो बुवाआमा जो भने पनि हजुर नै हो ।”
“कस्तो हुतिहारा तिमी ? लोग्ने मान्छे भएर पनि यस्ता कुरा गर्ने ? अरूको दया मायामा मात्रै जीवन चल्दैन । फुपाजुले भन्नुभएको ठीक हो । हामी बेग्लै बस्नुपर्छ ।” उसकी स्वास्नीले पनि फुपाजुकै कुरामा सही थपेकी थिई ।
“तर सबै व्यवस्था गर्ने कसरी ?” कमलेसले भनेको थियो ।
“एक महिनासम्म पास हुँदैन यो घर । ढुक्क हुनू । डेरा सर्दा सामानको व्यवस्था म गरिदिन्छु । डेरा सरेपछि विदेश जानू तँ । मैले मेरो साथीको मेनपावरमा कुरा गरिसकेको छु ।” फुपाजुले भने ।
ऊ अलिक सम्हालियो, फुपाजुले म व्यवस्था गरिदिन्छु तँ विदेश जा भन्ने कुराले ।
उसकी श्रीमती केही बोलिन, मानौँ उसले लोग्नेको पीडालाई बुझ्दिन ।
खाना खाएर ऊ ओछ्यानमा पल्टियो । “पलाएका जुँगा र टाँसेका जुँगामा फरक हुने नै रहेछ । आफ्नो बुवाआमा भएको भए आज मेरो यो अवस्था हुने थिएन ।” उसले मनमनै भन्यो ।
आमाछोरी अर्को खाटमा सुतेका थिए । उसलाई निद्रा परेको थिएन । उसकी स्वास्नीले सोधी, “निदाका छैनौ तिमी?”
ऊ बोलेन । सुनेको त थियो ।
जुरुक्क उठी उसकी स्वास्नी । उसले थाहा पाएर पनि थाह नपाएझैँ गऱ्यो । स्वास्नी बाहिर निस्केपछि उसले छोरीतर्फ आँखा लगायो ।
छोरी थिइनन् त्यहाँ ।
ऊ जुरुक्क उठ्यो । उसकी स्वास्नी छोरी च्यापेर तेस्रो तल्लामा पुगिसकेकी थिई ।
कसैले थाहा नपाउने गरेर ऊ पनि तेस्रो तल्लाको ढोकामा पुग्यो ।
उसकी स्वास्नी फुपाजुको बैठक कोठामा पुगिसकेकी थिई । छोरीलाई सोफामा सुताएर फुपाजुसँग ऊ कुरा गर्न थाली । कतिचोटि उसले आफ्नी स्वास्नीलाई फुपाजु सँगसँगै देखेको थियो । घण्टौँसम्म फोनमा कुराकानी हुन्थ्यो ।
फुपाजुले भन्न थाले –
मसँग एउटा कुराको कमी रहयो, त्यो पनि तिम्रो र मेरो सल्लाहबमोजिम कमलेसलाई प्रयोग गऱ्यौँ र तिमी आमा बन्यौ, म बाबु । अब कमलेस मलेसिया जान्छ । म पनि अफिसको कामका लागि छ महिना इन्डिया जाँदै छु । मसँगै तिमी र छोरी पनि जानेछौ ।”
उसकी श्रीमती फुपाजुको काखमा लुपुक्क भएकी थिई ।
कमलेसले अन्य दृश्य हेर्न चाहेन । सरासरी आफ्नो कोठामा आयो । खाटमा पल्टियो र लामो सुस्केरा सुसेल्यो ।
पन्ध्र मिनेटपछि स्वास्नी पनि आई कोठामा । उसले भन्यो, “तिमीहरूको बाँकी जीवन सफल बनोस् ।”
“के रे ?” ऊ आँत्तिई ।
“आत्तिनु पर्दैन । देखेर पनि मैले नदेखेझैँ गरेको छु ।” उसले भन्यो ।
उसकी स्वास्नी आँत्तिई । मानौँ केही भएको छैन जस्तो गरेर कराउन थाली र फुपाजुलाई बोलाउन तेस्रो तल्लातिर दौडिई ।
कमलेसले छोरी टिप्यो र बाहिरियो अँध्यारोतिर ।
कलङ्कीदेखि भाग्दै-भाग्दै ऊ ताहचल पुग्यो रातको एक बजे । एउटा घरको गेट ढकढकायो उसले । संयोगवश मान्छे उठे । उसले आफ्नो यथार्थ कह्यो । त्यहाँका मान्छेले बास दिए ।
आमा खोजेर राति छोरी रोइन् । फकाउन खोज्थ्यो कमलेस तर रुन छोड्दिनथिइन् छोरी । छोरीका लागि ऊ कहिले आमा हुन्थ्यो त कहिले बाबा । हप्तादिनसम्म त छोरीले रोएर भाँडभैलो मच्याइन् । त्यसपछि क्रमशः कमलेससँग रत्तिइन् छोरी ।
छोरी चार वर्ष पुगेर पाँच लाग्ने तरखरमा थिइन् । दिनभरि घरभेटी आमासँग खेल्थिन् । ऊ मजदुरी गरेर डेरा पुगेपछि छोरीको हाँसोले दिनभरिको थकाइ बिर्सन्थ्यो ।
“आज मेरो ह्याप्पी बर्थडे हो नि बुवा । बेलुकी चाँडै आउनू है ।” छोरीले ऊ हिँड्ने बेलामा भनेकी थिइन् ।
“हुन्छ छोरी” भन्दै ऊ घरभेटी आमालाई छोरी छोडेर सात बजे बिहानै काममा निस्किएको थियो ।
न्युरोडमा एक्कासि मान्छे कराए । घरहरू भत्किएको प्रत्यक्ष उसले देख्यो । ऊ पनि भाग्यो भूगोलपार्कतिर ।
“धरहरा भत्कियो रे ।” कसैले भन्यो
“काठमाडौँका सबै घरहरू भत्किए रे ।” फेरि अर्कोले भन्यो ।
उसले छोरी सम्झियो र कुद्यो ताहाचलतिर ।
मान्छेहरूको रुवाबासी छिचोल्दै ऊ छोरीका लागि कुदिरह्यो । छोरीको आज जन्मदिन पनि सम्झियो उसले ।
ऊ कुदिरहँदा कति चोटि त लड्यो तर छोरीको सम्झनाले त्यो लडाइको मतलब भएन उसलाई । घरहरू भत्किइरहेका थिए तर ऊ आफ्नै गतिमा कुदिरहेको थियो । ऊ त्यहाँ त पुग्यो तर घर देखेन । घरहरू पूरै भत्किएको देख्यो । उसले छोरीको जन्मदिन सम्झियो । भत्किएका घरको धूलो आकाशमै उड्दै थियो । उसले धूलाको मुस्लाभित्र छोरीको अनुहार खोज्यो तर भेटेन । अनि बहुलायो र खोलामा गएर छोरीका नाममा दूध चढाएर अगरबत्ती बाल्ने त्यो विदारित मान्छे नै रहेन ।”
मैले यही कथा छपाएँ दिपेन्द्र दाइको पत्रिकामा ……।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।