किशोर : ए शिव ! गङ्गापूर्ण पोस्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि । शत्रुमाथि विजय प्राप्त गर्ने तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ । फेरि मेरो शत्रु मभन्दा धेरै बलियो छ । ल भन्, अब कसरी विजय प्राप्त गरुँला त्यो शत्रुमाथि? बरु उसैले पो ममाथि विजय प्राप्त गर्ने भो । अनि आजको यो मेरो राशिफल मेरै लागि शत्रु हुने भयो कि भएन?

शिव : हैन, कसलाई शत्रु बनाइस् र शत्रुविजयको कुरा गर्दैछस् ए किशोर ?

किशोर : छ नि , त्यै छुल्याहा कनकसिंह । सा…ले हुँदै नभएको कुरा हाकिमलाई सुनाउँछ मेरा बारेमा अनि हाकिम जहिले पनि मसँग आगो । हेर् न शिव, त्यो एकोहोरे हाकिमको आजको राशिफल पनि “शत्रु पराजय हुने” भन्ने रै’छ । ल भन् त, आजको मेरो एक्लो राशिफलले ती दुई शत्रुमाथि विजय प्राप्त गर्ला त?

शिव : ए किशोर ! हिजोको मेरो राशिफलमा के लेखिएको छ, थाहा छ? पुराना साथीसँग भेट हुने, भयो पनि । शिवमन्दिरमा पुराना साथीसँग भेट भयो । मेरी श्रीमती छक्क परिन्, कस्ता जान्ने ज्योतिषी भनेर । मचाहिँ छक्क परिनँ । मेरै धनु राशिका अरू कुनै साथीको पनि पुराना साथीसँग भेट भएन । मैले भने नि! मेरा जुन पुराना साथीसँग भेट भएको थियो, तिनको राशि नै अर्कै । उनको तुला । तुला राशिमा पुराना साथीसँग भेट हुने कुनै उल्लेख थिएन ।

हेर किशोर! ज्योतिषीहरूको विद्या नै शब्दजाल फ्याँक्ने हो , मिलोस् कि नमिलोस् । सुन् , एउटा ज्योतिषीको कथा ।

म बाह्र वर्ष हुँदाको एउटा रमाइलो घटना अझै ताजा छ । एक दिन त्यस्तै दिउँसोको एक बजेको थियो होला, गेरु वस्त्र लगाएको एउटा जटाधारी जोगी भासिएको स्वरमा अलक निरञ्जन भन्दै हाम्रो घरको पिँढीमा आएर थचक्क बस्यो अनि पिँढीकै खम्बालाई अँगालो हालेर खुइय्य गर्दै खम्बामै टाउको अड्यायो । मेरो बाले बोल्नुभन्दा पहिल्यै जोगीले सकिनसकी बोल्यो – “घरधनी बाबु ! हिजोदेखि यो पेटमा चाइमाइ केही चारो परेको छैन । लौ न केही खाऊँ” । मेरा बा जोगी संन्यासी भनेपछि मानभाउ गरिहाल्ने । आमालाई अह्राइहाल्नुभयो – “ए शिवकी आमा ! मोहीमा सक्खर हालेर एक ठूलो गिलास झट्टै ल्याइहाल् । दूध पनि तताइहाल् । गुरुलाई दूध-चिउरा-केरा ख्वाइहाल्नुपऱ्यो ।”

मोही खाइसकेपछि जोगीका आँखा ताजा र झरिला देखिए । बाले गुन्द्रीमाथि राडी ओछ्याउनुभयो र जोगीलाई आरामसँग बस्न अनुरोध गर्नुभयो । दूध-चिउरा-केरा पनि आइपुग्यो । दूधमा बा’ले नै चिउरा हाल्नुभयो र बोक्रा छोडाएर पाँच कोसा मालभोग केरा दूध चिउरामै हालिदिनुभयो । जोगीले पनि दूध चिउरा केरा मुछेर मज्जासँग खायो । खाइसकेपछि ॐ भन्दै ढ्याउऽऽ डकारेर मुख चठ्यो अनि “घरधनी बाबु ! चाइमाइ एकछिन पल्टन्छु है” भनेर आफ्नो कुटुरालाई सिरानी बनाई सुत्यो । जोगी चार बजेतिर बिउँझ्यो अनि उठेर बस्यो । बाले कुरा कोट्याउँदै सोध्नुभयो, “गुरु ! तपाईँले कहिलेदेखि संन्यास ग्रहण गर्नुभयो ?”

“घरधनी बाबु ! म संन्यासी भएको चाइमाइ तीन वर्ष भयो । कति मायामोहको जन्जालमा अल्झी रहनुभनेर चाइमाइ मन बिरत्तिएर आयो अनि सबै सांसारिक मायामोह त्यागेर संन्यासी भएँ” जोगीले भन्यो ।

“गुरु त्यसोभए तपाईँको घर कहाँ हो र घरमा को को छन् ?” बाले सोध्नुभयो ।

“घरधनी बाबु ! चाइमाइ मेरो घर पूर्व २ नं. मा छ । तीन भाइ छोरा र चाइमाइ दुई बहिनी छोरी छन् अनि मेरी बुढी पनि छ… भन्छु भन्न त… चाइमाइ तीन वर्षदेखि मरेबाँचेको केही थाहा छैन” ,जोगीले तरक्क आँसु चुहाएर भन्यो ।

“संन्यासी हुनुअघि के गर्नुहुन्थ्यो त गुरु ?” बाले सोध्नुभयो ।

“घरधनी बाबु ! चाइमाइ म ज्योतिषी हुँ । बनारसमा चाइमाइ ज्योतिषशास्त्रमा आचार्य गरेको मान्छे । गाउँघरमा चाइमाइ आफ्ना सन्तानको राशिफल हेरिदे, जन्मकुण्डली बनाइदे, ग्रहदशा हेरिदे भनेर आमाबाबु आइरहन्थे । राम्रै थियो” जोगीले भन्यो ।

“गुरु ! तपाईँ त ज्योतिषी पनि हुनुहुँदो रैछ । मेरो छोरो शिव बाह्र वर्षको भइसक्यो र पनि जन्मकुण्डली बनाएको छैन । ग्रहदशा हेराएको पनि छैन । अब यो सबै काम गरिदिने तपाईँको जिम्मा । मेरो घरमा तपाईँ मन लागुन्जेल बस्नुहोला” ,बाले जोगीलाई भन्नुभयो ।

“घरधनी बाबु ! चाइमाइ यो जोगी एकै ठाउँमा त के बसिरहन्थ्यो । भोलिदेखि चाइमाइ म तपाईँको छोराको जन्मकुण्डली बनाउने र ग्रहदशा हेर्ने काम सुरु गरिहाल्छु” ,जोगीले भन्यो ।

भेलिपल्टदेखि मेरो जन्मकुण्डली बनाउने र ग्रहदशा हेर्ने काम सुरु भयो । जन्मकुण्डली बनाउँदै जाँदा र ग्रहदशा हेर्दै जाँदा एकाएक जोगीले बरर्र आँखाबाट आँसु झार्दै रुन्चे ओठ हल्लाउन थालिहाल्यो । जोगी रोएको देखेर मेरो बाको ओठतालु नै सुकेर आएछ । जोगीले बकिहाल्यो – “घरधनी बाबु ! चाइमाइ शिवको ठूलो खड्गो आउँदै छ । चाइमाइ यो वर्षभित्रै आउँदै छ ।” जोगी किन रोयो भनेर बाले बल्ल बझ्नुभएछ अनि त बा पनि रुन थाल्नुभयो । बा रोएको देखेर आमा पनि रुन थाल्नुभयो । बाआमाको म एक्लो छोरो । खपि नसक्नुको पीर त पर्ने नै भयो । बाआमा रोएको देखेर म पनि रुन थालेँ । चार जनाको या रुवाबासीले छिमेकीलाई पनि निम्त्यायो । मान्छे जम्मा हुने भैगए । एकछिन पछि बाले आँसु पुछ्तै सोध्नुभयो –“गुरु ! शिवको यो खडगो कसरी टर्छ त ?”

“टरिहाल्छ नि । चाइमाइ पूजापाठ, शान्तिस्वस्ति गरेपछि खड्गोयतेसै टर्छ । चाइमाइ पीर गर्नु पर्दैन । मेरो त चाइमाइ मेरी बुढीले दिनका दिन कति खड्गो काट्ती हो भनेर पो चाइमाइ आँसु झरेको । बुहारीले चाइमाइ राम्रोसँग खान दिन्छन् दिँदैनन् ? चाइमाइ छोराले लाउन दिन्छन् दिँदैनन् ? यस्तै सम्झनाले चाइमाइ मन चरक्क चिरिन्छ” ,भन्दै मायामोह त्यागेर हिँडेको जोगी भक्कानिएर रोयो ।

हामी केटाकेटीलाई त्यो जोगीको चाइमाइ थेगो सुन्दा खुब रमाइलो लाग्थ्यो अनि चाइमाइ जोगी भन्न थाल्यौँ । हाम्रो गाउँमा त्यस्तै पच्चीस घरधुरी थिए । चाइमाइ जोगी झन्डै एक महिना जति हाम्रो गाउँमा बस्यो । केटीहरूको चिना वा जन्मकुण्डली बनाउने चलन थिएन तर दश जना केटाहरूको जन्मकुण्डली बनायो र भविष्यमा कसले के गर्नुपर्छ भनेर राम्रोसँग अर्थ्यायो । गाउँबाट बिदा हुने बेलामा नगद र जिन्सी आएको भेटीमा बोक्न सक्ने जति चिउरा र सक्खर राखेर बाँकी जिन्सी गाउँकै साहूलाई बेच्यो ।

तर हेर किशोर ! त्यो ज्योतिषी जोगीले यी पनि धेरै बाँच्छन् भनेका तीन जना केटा आठ वर्ष नपुग्दै बिते ।

किशोर : ए शिव ? तँ कताको म कताको । कामको सिलसिलामा हाम्रो भेट भयो । मिल्ने साथी पनि भयौँ । काठमाण्डूमा बसुन्जेल हाम्रो भेटघाट हुने नै भयो । चाइमाइ जोगीको कथा सुनाइस् भने म पनि एउटा जोगीको विचित्र कथा सुनाउँछु , सुन् ।

पशुपतिको कैलाश डाँडाको चौरमा एउटा जोगी सानु कुटी बनाएर बस्न थाल्यो । गाउँका केही गँजडी केटाहरू गाँजा खाने लोभले जोगीकहाँ गए । जोगीले गजडी केटाहरूलाईसम्झाउँदै भन्यो – “बाबु हो ! म गाँजा, सिगरेट, रक्सी, भाँग, धतुरो, अफिम आदि कुनै पनि लागुपदार्थ खान्न । यी खाने चिज पनि होइनन्, खानु पनि हुँदैन । तपाईँहरू पनि नखानोस् । यो अनमोल जीवनलाई राम्रो-राम्रो काममा लगाउनुस् ।”

गँजडी केटाहरू ‘यो त अर्कैखाले जोगी परेछ’ भन्दै फर्के । गाउँका साथीभाइ र मान्यजनहरूलाई पनि जोगीले भनेको कुरा सुनाए । त्यसपछि गाउँका केही मान्यजनहरू जोगीकहाँ गए । कुरा गर्दै जाँदा यो कुनै चानचुने जोगी होइन रहेछ भन्ने निष्कर्षमा पुगे । मृदुभाषी, वाक्पटुता र गहन अध्ययनको धनी यो जोगीको चर्चा सबैतिर हु नथाल्यो । एकदिन वार्तालापकै सिलसिलामा एक सज्जनले सोधिहाले – “गुरु महाराज ! तपाईँ कहाँदेखि आउनुभयो र संन्यास लिएको कति भयो ?”

जोगीले भन्न थाल्यो – “बाह्र वर्षको उमेरदेखिनै म जोगी संन्यासीको सङ्गतमा लागेँ । उनीहरूबाटै मैले अर्ती, उपदेश र शिक्षा पाएको हुँ । पछि गएर मैले आदरणीय, श्रद्धेय एवम् परमपूज्य गुरुदेव बाल ब्रह्मचारी श्री १००८ स्वामी ज्ञानानन्द सागरजी महाराजबाट दीक्षा प्राप्त गरेँ । परमपूज्य गरुदेवले मलाई पनि बाल ब्रह्मचारी श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती जस्तो गरिमामय सम्मानबाट विभूषित गर्नुभयो । आज आसामका भक्तजन र जनसमुदायले पनि मलाई यसरी नै चिन्दछन् । अहिले म परमपूज्य गुरुदेवकै आज्ञाअनुसार देवादिदेव महादेवबाट संरक्षित यस पावनभूमि नेपालमा श्री पशुपतिनाथ भोलेबाबाको दर्शन गर्न आसामबाट आएको हुँ ।”

जोगीका भक्तहरू दिनप्रतिदिन बढ्न थाले । भक्त भएका साहूमहाजनले त्यो साधारण कुटीलाई सुविधासम्पन्न भव्य आश्रममा परिणत गरिदिए । अब जनसाधारण र भक्तहरूको भिड थाम्न नसकेर जोगीले समय निर्धारण गऱ्यो । बिहान ९ बजेदेखि १० बजेसम्म जम्मा एक घण्टा साधारण भक्त र सर्वसाधारणलाई धार्मिक प्रवचन दिन थाल्यो । अरू गण्यमान्य र साहूमहाजनलाई भने तोकेको विशेष समयमा भेट दिन थाल्यो । आश्रमको सम्पूर्ण देखभालका लागि थुप्रै चेलाचेलीमध्येबाट तीन वटी चेलीलाई मात्र चयन गऱ्यो । आश्रमको गतिविधि अब यिनै तीनटी चेलीको चाँजोपाँजोमा चल्नथाल्यो ।

बुझिनस् के शिव ! एकदिनको कुरा हो । म विहान घुम्न जाँदा कैलाशडाडामा पुगेँ । त्यस्तै सात बजेको थियो । आश्रममा ठूलो भिड देखेँ । केको भिड रहेछ भनेर हेर्दा त जोगीको मृत शरीर पो देखेँ । चौबीसै घण्टा आश्रममा बस्ने जोगीकी ती खास तीनटी चेली छाती पिटी-पिटी रोइरहेका थिए । आँसु त अरूका आँखामा पनि थियो तर ती चेलीको हृदयविदारक विलाप अचम्मैको थियो । पहिली चेली विलाप गर्दै थिई – “कहिल्यै नमर्ने गुरु आजै मर्नुभो ।” दोस्री चेलीको विलाप त झन् के भन्ने – “गुरुलाई मरेको कहिल्यै देखेको थिइनँ आजै देखेँ”, भनेर मुड्कीले छाती पिट्तै थिई । तेस्री चेली पनि के कम थिई – “गुरु कहिल्यै मर्दिनँ भन्नुहुन्थ्यो, आजै मर्नुभो, बेक्सीकै बानले मर्नुभो ।” भन्दै छाती पिटेर अघिल्ली दुई चेलीलाई आँखा तर्दै थिई ।

प्रहरी टोलीले पनि जोगी कालगतिले मरेको हो कि भवितव्यले मरेको, हो जाँच बुझ गर्न थाल्यो । एक-एक चिज हेर्न थाल्यो जोगीको दराज खोलेर हेर्दा नोटका बिटा फेला परे । गन्दा १५ लाख रुपैयाँ रहेछ । केही औषधि पनि फेला परे । पढेर हेर्दा परिवार नियोजनका खाने चक्की रहेछन् । एउटी चेलीले मुख खोलिहाली – “यो ओखती त गुरुले हामीलाई खान दिर्इ राख्नुहुन्थ्यो । यो ओखती खाएपछि कुनै रोगव्याधि लाग्दैन, तिमीहरू सधैँ निरोगी हुन्छौ भन्नुहन्थ्यो । बुझ्नेहरू मजासँग हाँसे । पाचकको गोली पनि भेटियो । “यो ओखती गुरु आफैँ खानुहुन्थ्यो । यो ओखती खाएपछि मर्नु पर्दैन भन्नुहुन्थ्यो, आजै मर्नुभो । हामीलाई अनाथ टुहुरी बनाएर जानुभो” भन्दै तेश्री चेलीसँगै अरू चेली पनि विलाप गर्न थाले । खोज्दै जाँदा प्रहरी टोलीले केही कागजपत्र भेट्टायो । पढ्दा एउटा शैक्षिक प्रमाणपत्र रहेछ । टीकादत्त भट्टले संस्कृत साहित्यमा आचार्य उतीर्ण गरेको प्रमाणपत्र भएको पुष्टि भयो । नागरिकताको प्रमाणपत्र पनि भेटियो । यस प्रमाणपत्रमा अछाम जिल्लाको मङ्गलसेन बस्ने टीकादत्त भट्ट भनी उल्लेख गरेको रहेछ । ए कजना प्रहरीले दुवै प्रमाणपत्रको विवरण उपस्थित भिडलाई पढेर सुनायो । भिडबाट दुई जना प्रहरीको अगाडि आए । “टीकादत्त भट्ट भन्ने मान्छेलाई हामी राम्ररी चिन्दछौँ । यो बदमास मान्छे हो । यो चण्डालले मङ्गलसेनकी दई इसर्किनी केटीलाई बिगारेर बेपत्ता भएको हो । बेपत्ता भएको पनि दश वर्ष भयो । एउटी सर्किनी केटीको त गर्भ तुहाउँदा ज्यानै गयो । अर्कीले छोरो पाएर बसेकी छ । यसको श्रीमती र दुई सन्तान पनि छन् ।” अब शङ्का गर्ने ठाउँ नै रहेन । यो जोगी भनाउँदो मान्छे भारत आसामको नभएर हाम्रै नेपालको अछाम जिल्लाको मङ्गलसेन निवासी रहेछ ।

ए शिव! आजको राशिफलमा यो जोगी मर्छ भनी लेखिएको छ कि क्या हो? पत्ता लगाउनु यसको राशि ।

शिव : “ए किशोर ! यहीँ बत्तिसपुतलीमा एउटी माता बस्छिन् रे । उनको नाम गोमती भट्टराई हो रे । बहुत जान्ने हुन रे । भूत, वर्तमान र भविष्य तीनै कालको कुरा जान्दछिन रे । जाऔँ हामी पनि उनीकहाँ । सोधौँ न आफ्ना कुरा । हेरौँ कत्तिको जान्दछिन् ।

किशोर : शिव ! देखिहालिस् बाल ब्रह्मचारी सच्चिदानन्द सरस्वतीको चर्तिकला । अब माता गोमतीको चर्तिकला हेर्ने भए जाऔँ ।

दिन र समय मिलाएर किशोर र शिव दुवै माता गोमतीकहाँ पुगे । त्यस्तै १२, १३ जना अटाउने कोठा रहेछ । माताचाहिँ जालीदार कुर्सीमा बसेकी थिइन् । सबैले देख्ने गरी दानपात्र लेखिएको एउटा खुत्रुके राखिएको थियो । खुत्रुकेको सिसाभित्र हजारको नोटमात्र देखाइएको थियो । किशोर र शिव पुग्दा त्यहाँ दुई जोडी दम्पती अ-आफ्ना बच्चाका साथमा र अरू तीन जना महिला थिए ।

पहिलो जोडीको श्रीमान्‌ले दुखेसो पोख्तै थियो – माता ! यो मेरो छोरो मात्र चार वर्षको भयो । यति सानै उमेरमा यसलाई रक्तक्यान्सर भएछ । नेपालमा उपचार हुन नसकेपछि बम्बइ लगेँ । त्यहाँ पनि डाक्टरले निको पार्न सकेनन् । फेरि यसलाई बैङ्कक लगेँ । त्यहाँ पनि डाक्टरले हामीलाई निराश नै बनाए । माता ! अब हामी तपाईँकै शरणमा आएका छौँ । खर्चको के कुरा भो र छोरो निको भए हुन्थ्यो ।” श्रीमतीले पनि गहभरी आँसु पारी श्रीमान्‌को परिचय दिँदै भनिन् – “माता ! मन्त्रीज्यूलाई त के भो र । अरू पनि छोरा छन् । मेरो त यत्ति एउटा छोरो हो । यो गयो भने त म निःसन्तान भइहालेँ नि । बरु मेरा सबै सम्पत्ति जाओस् तर छोरो निको होस् । सम्पत्ति भनेको आज जान्छ भोलि आउँछ । छोरो त गा-गएै हुन्छ । माता ! शरणको मरण नगरी दिनुहोला ।”

श्रीमान्‌ श्रीमतीको बिलौना सुनिसकेपछि माता गोमतीले थालमा अलिकति चामल हालिन् र चोर औँलाले चामलका गेडा यताउति चलाईन् र एकछिन पछि भनिन्- “मन्त्रीज्यू ! मैले जोखाना हेर्दा देखिसकेँ । तपाईँले गरेको भाकलको त यहाँ पहाड नै भैसकेछ । त्यसमा दक्षिणकाली माईलाई कालो बोको भोग चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ तर भाकल आजसम्म पूरा गर्नु भएनछ । त्यसैले दक्षिणकाली माईको कोपभाजनमा तपाईँको छोरो परेछ । भाकल पूरा गरिहाल्नोस्, छोरो निको भइहाल्छ ।”

मन्त्रीले पनि भने – “माता ! हामीले दक्षिणकाली माईलाई कुनै भाकल गरेको सम्झना छैन । गरेको भए पूरा गरिहाल्थ्यौँ नि ।”

माता गोमतीले फेरि भनिन् -“मन्त्रीज्यू ! जोखाना हेर्दा मैले सबै कुरा देखिसकेँ । तपाईँको भाकलको यो पहाडले नै भन्छ –“म मन्त्री भइराखूँ” भनेर तपाईँले देवीदेवतालाई म यो चढाउँछु त्यो चढाउँछु भन्दै कतिपल्ट हो कति, भाकल गर्नुभएछ । सम्झना छ ? जनतामा गएर मलाई चुनाउमा जिताउनोस्, म तपाईँ जिल्लाबासीलाई बाटोघाटो बनाइदिन्छु, स्कुलकलेज खोलिदिन्छु, उद्योगधन्दा खोलिदिन्छु, बिजुलीपानी ल्याईदिन्छु, अस्पताल बनाइदिन्छु , जिल्लाबासी तन्नेरीहरूलाई जागिर दिन्छु, अरू बेरोजगार युवाहरूलाई रोजगारको व्यवस्था गरिदिन्छु भनेर जनतालाई गरेको भाकलको छ सम्झना ? ल भन्नोस् मन्त्रीज्यू ! आजसम्म कतिवटा भाकल पूरा गर्नुभो ? जोखानाले भन्छ एउटा पनि छैन ।”

माता गोमतीको व्यङ्ग्य सुनेपछि मन्त्री दम्पती आफ्नो बाटो लागे ।

त्यसपछि अर्को दम्पती अघि सऱ्यो र लोग्ने भन्न थाल्यो –”हजुर ! यो मेरो छोरो दिनका दिन दुब्लाउँदै छ । राम्रोसँग खाँदा पनि खाँदैन । जिङरिङ्ग भइसक्यो । सरकारी अस्पतालमा देखाएँ । डाक्टर भन्छ – दिशापिसाब जचा, खकार जचा, रगत जचा, छातीको एक्स्रे गरा । कति लाग्छ भनी बुझेको त हजुर ! मेरो त सातो गयो । त्यत्रो पैसा म जाबो भरियाले कताबाट ल्याउनु ? बन्दहडताल भएको दिन भरियाले काम पनि पाउँदैन, भोकै बस्नुपर्छ । धन्न यो मेरी जहानले दश घरको धन्दा गर्छे र पेट पलिराछौँ । अब यो मेरो छोरो हजुरकै शरणमा छ । यो गरिबमाथि दया गर्नुहोला ।”

माता गोमतीले जोखाना हेरिन् र भनिन् -“तिमीहरूले त दक्षिणकाली माईको भाकल पूरा गरेनछौ नि । त्यसैले माई रिसाएकी रैछन् ।”

भरियाकी जहानले भन्न थाली – “हजुर ! कति भो कति दक्षिणकाली माईको दर्शन गरूँ र पूजा गरूँ भनेको । मनको धोको मनमै रह्यो, कहिल्यै पूरा भएन । गरिबले त मनमै भाकल गऱ्यो बस्यो । त्यसैले हो कि छोरामाथि माई रिसाएकी ।”

माता गोमतीले भनिन् – “मनले जान्छु भन्नु नै भाकल हो । लौ तिमीहरूले दक्षिणकाली माईलाई कालो बोको चढाउनू, भोग चाहिँ नदिनू । तिमीहरूको छोरोलाई जाती भइहाल्छ ।”

अबको पालो एउटी महिला अघि सरिन्, “माता ! म ममता राई हुँ । मसँग दुइटी छोरी छन् । सौता ल्याएदेखि लोग्नेले हामीलाई हेर्नै छाड्यो । हामीलाई अलपत्र पाऱ्यो । हाम्रो त बिजोग हुनेभयो । लौ न माता! हामीमाथि लोग्नेको दया जागोस् ।”

माताले जोखाना हेरिन् र सल्लाह दिइन् – “ममता ! तिमीले पशुपतिनाथ मन्दिरको दक्षिणपट्टि रहेको उन्मत्त भैरवलाई नबिराई दश दिन पूजा गर्नू । तिम्रो लोग्ने तिमीसँगै फर्केर आउँछ ।”

यो सुन्नासाथ ममताले माता गोमतीको पाउ समात्तै भनिहालिन् – “माता ! यो बुद्धि मलाई पहिल्यै किन आएन ? मेरी सौता त सब दिन पशुपति जान्छे र उन्मत्त भैरवको पूजा गर्छे । मेरो आँखा खोलिदिएकोमा माताको जय होस् ।”

अर्की महिला अघि सरिन् – “माता ! म रेखा आले हुँ । मेरो बिहे भएको पाँच वर्ष भयो । मबाट सन्तान भएन भनेर लोग्ने र सासूससुराले यो त बाँझी रैछ भन्न थाले । लोग्ने अर्को बिहे गर्छु भन्छ । म के गरूँ अब ? मबाट कसरी सन्तान होला ? माता ! मेरो उद्धार गरिदिनोस् ।”

माता गोमतीले जोखाना हेरिन् र भनिन् – ” रेखा ! तिम्रो पेटमा पिसाचले बास गरेको छ । त्यसैले तिम्रो सन्तान नभएको । अब म मन्त्रेको यो जन्तर तिम्रो घाँटीमा बाँधिदिन्छु । पिसाच पुच्छर लुकाएर भागिहाल्छ अनि तिमीलाई सन्तानको सुख प्राप्त हुनेछ । अँऽ रेखा ! सुन, यो जन्तर बाँधेर पनि तिम्रो सन्तान भएन भने तिम्रै लोग्नेमा दोष छ, तिम्रै लोग्ने बाँझो छ भनी जान्नू । दशवटा बिहे गरे पनि तिम्रो लोग्नेबाट सन्तान हुँदैन ।”

माताको यो कुरा सुनेपछि रेखा दङ्ग पर्दै बिदा भइन् ।

किशोर र शिवको पालोकी अन्तिम महिला आइन् र भन्न थालिन् – “माता ! म तारा बस्नेत हुँ । छोराको आश गर्दागर्दै पाँचवटी छोरी भैसके । यसले छोरा नपाउने भई भनेर लोग्ने अर्को बिहे गर्छु भन्न थाल्यो । अर्को बिहे गऱ्यो भने त मेरो र पाँचवटी छोरीको बिचल्ली भइहाल्यो नि । छोरा पाउने कुनै उपाय छ भने आज्ञा पाऊँ माता ।”

माता गोमतीले जोखाना हेरिन् र तारालाई राम्रोसँग नियाल्दै भनिन् – “तारा ! तिमीले लोग्नेलाई अति छाडा छोडेकी रै’छ्यौ । यसरी छाडा छोड्नै हुँदैनथ्यो । लोग्नेलाई छाडा छोडेपछि त छोरा अन्तै जाने भैहाले नि अनि तिमीले छोरी नपाए कहाँबाट पाउँछ्यौ त छोरा ? बुझ्यौ त कुरा ? ल अब तिमी लोग्नेस्वास्नीले पशुपतिनाथ मन्दिर दक्षिणस्थित कामदेवको मूर्तिमा नबिराई दश दिन पूजा गर्नू । कामदेव भगवान्‌को कृपाले तिमीले छोरो पाउनेछ्यौ ।”

अब किशोर अगाडि आए । “माता ! म किशोर भुर्तेल । माताको महिमा, दैवीशक्ति र गुणगान सुनेर नै हामी दुईसाथी माताको दर्शन गर्न आएका हौँ । माताको अद्भुत दैवीशक्ति प्रत्यक्ष दर्शन गर्न पाउँदा हामी धन्य भएका छौँ । म माताको यो दैवीशक्तिलाई ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ भन्दै वन्दना गर्छु । माता ! म मेरा तीनै कालका केही जिज्ञासा लिएर उपस्थित भएको छु । माता समक्ष मेरा जिज्ञासा राख्न आज्ञा चाहन्छु ।”

“किशोर ! तिमी आफ्ना जिज्ञासा खुलेर राख । माता दुर्गाको अनुकम्पाबाट म तिम्रा सबै जिज्ञासा शान्त पार्नेछु । तिमी मेरा परमभक्त रहेछौ, खुसी लाग्यो । अपठ्यारो मान्नु पर्दैन । धक फुकाएर सोध” भन्दै माता गोमतीले आश्वासन दिइन् ।

माता ! मेरा जिज्ञासा यस्ता छन् –

मेरो जन्म कुन ठाउँमा, कुन साल, कुन महिना र कति गते भयो ?
मेरो बाल्यकाल कहाँ बित्यो ?
मेरो शिक्षा दीक्षा र व्रतबन्ध कहाँ भयो ?
मेरा बिहे कुन कुन साल र महिनामा भयो ?
मेरा दुईगुँडबाट कति सन्तान भए ? कति खेर गए ? अब कति छन् ? तिनमा कति छोरा र कति छोरी छन् ?
सौतासौती मिलेर मलाई सुख दिइरहेका छन् कि भुत्लाभुत्ली गरेर दुःख दिइरहेका छन् ?

“माता ! मेरा यी जिज्ञासा शान्त भएपछि म आफ्नो भविष्यको जिज्ञासा राख्ने आज्ञा माताबाट पाउने नै छु”, भन्दै किशोरले दुई हात जोडेर माता गोमतीलाई राम्रोसँग हेरे ।

माता गोमती त किशोरको जिज्ञासा सुन्दासुन्दै काली-निली हंशले ठाउँ छोडेकी जस्तै भइ सकिछन् । हेर्दाहेर्दै जालीदार कुर्सीबाट माता गोमती भट्टराइको मुत्रधारा झरेको पो देखियो । किशोरले पनि हत्तपत्त भने, ‘ए शिव ! एक अम्खोरा शीतलजल ल्याइहाल्, मातालाई ख्वाइहाल्नुपऱ्यो’ । शिवले पनि नजिकै रहेको गाग्रीबाट ढलोटको एउटा ठूलो ग्लासमा पानी ल्याएर दिए ।

“माता ! शीतलजलले मन शान्त पार्छ । भुलेका सबै कुरा मनसपटलमा फुरेर आउँछन्”, भन्दै किशोरले त्यो सबै पानी माता गोमतीलाई ख्वाए । माता बौरिनन् । “शिव ! अर्को एक ग्लास शीतलजल ।” शिवले अर्को ग्लास पानी पनि दिए । “माता ! अर्को एक ग्लास शीतलजल ज्युनार होस् । यसले माताको दैवीशक्ति एकैछिनमा प्रकट हुनेछ । मेरा सबै जिज्ञासा शान्त हुनेछन्” भन्दै त्यो ग्लासको पानी पनि ख्वाए । तैपनि माता बौरिनन् । त्यसपछि किशोरले ऊ र शिवपछिका आगन्तुकलाई सुनाउँदै भने– “मातालाई आराम भएन । माताले आज कसैसँग भेटघाट नगरीकन आराम गर्नुपर्छ ।” अनि माता गोमती भट्टराइलाई सुनाएर भन्यो – “माता ! यो भक्त नयाँ-नयाँ जिज्ञासा लिएर मातासमक्ष भोलि फेरि उपस्थित हुनेछ । आजलाई बिदा चाहन्छु ।”

माता गोमतीले पनि बोल्नै नसक्ने भासिएको स्वरमा भनिन् – ‘ भैगो तपाईँ अब नआउनोस् ।’

शिव– “किशोर ! तैँले माता गोमतीको आजको आधादिनको राशिफल त चौपटै बनाइस् । होस् गर, मौका पऱ्यो भने तेरो पूरा दिनको राशिफल माताले चौपट पारिदेलिन् । खुब बाठो भएर मेरा दुईगुँडबाट कति सन्तान भए भनिस् । भाउजूले सुन्नुभयो भने खोज्नुहोला तेरो अर्को गुँड ।’

किशोर – “ हुँदै नभएको गुँड कताबाट फेला पार्लिन् र । बरु गोमती माताको चर्तिकला देखिहालिस् । तँ आफैँ भन्, रेखा आले र उसको लोग्नेको अब तँ बाँझो र तैँ बाँझी भनेर कति मारामार हुने हो । तारा बस्नेतकै कुरा गर् । तँ छाडा दशतिर गएर आउँछस् अनि छोरीमात्रै पाइस् भनेर मलाई दोष दिन्छस् भन्दै लोग्नेस्वास्नीको कति झगडा हुने हो । मैले सोधेका कुरा गर्छस् भने त्यहाँ झुट बोल्ने कुनै ठाउँ नै थिएन अनि त मुत्नपुगी त्रिकालदर्शिनी माता गोमती । त्रिकालदर्शिनी माता गोमतीमात्र होइन, मै हुँ भन्ने त्रिकालदर्शी ज्योतिषीले पनि मेरो प्रश्नको उत्तर दिन त सात जन्म तपस्या गरे पनि त्यत्तिकै हो ।’

हेर् शिव ! यी फटाहा ज्योतिषीहरूले तेरा जीवनमा घटिसकेका घटनाहरू भन्नै सक्तैनन् तर भविष्यमा तेरा जीवनमा यस्ता-यस्ता घटना घटछन् भनेर तँलाई छाती ठोकेर भनिदिन्छन् । घटून् नघटून् के मतलब, बकिदिए लेखिदिए पुगिहाल्ने । विश्वास गर्नेले गरी पनि हाल्ने ।

शिव – ए किशोर ! गङ्गापूर्ण पोस्टमा निस्केको आजको राशिफल पनि हेरिहालौँ न । राशिफलको लेखक कोहो थाहा छ ? पं. पुरुषोत्तम जमरकट्टेल । उनको राशिफलको कमाल हेर । मिथुन राशिमा सन्तान सुख प्राप्त हुनेछ भन्ने छापिएको छ । ए किशोर ! तँ अब आफैँ भन्, के अरू एघार राशि हुनेहरूले आज सन्तान सुख प्राप्त गर्ने छैनन् त ? कस्तो निस्कृष्ट तर्क हो त्यो जमरकट्टेलको । अझ सिंह राशि पढिहेर् परिवारमा माधुर्य छाउनेछ । विद्यामा प्रगति हुनेछ । मन कमजोर हुनेछ । आश्चर्य ? अरू एघार राशि हुनेहरूको परिवारमा माधुर्य छाउने छैन त ? विद्यामा प्रगति पनि हुने छैन त ? हैन कस्तो तर्क हो त्यो जमरकट्टेलको । परिवारमा माधुर्य र विद्यामा प्रगति भैसके पछि मन कसरी कमजोर हुने ? भन्न खोजेको के ? कि परिवारमा माधुर्य नभए, विद्यामा प्रगति नभए मात्र मन कमजोर हुदैन भन्या हो ? ए किशोर ! तैले माता गोमतीलाई मुताएजस्तै, गएर त्यो पं. पुरुषोत्तम जमरकट्टेललाई पनि मुत्नेगरी झापड हानौँ न । वृश्चिक राशि हेर् त – सोचेको कुरा पुग्नेछु । के अरू एघार राशि हुनेहरूको सोचेको कुरा पुग्दैन त ? कुम्भ राशि हेर् -फसेको धन उठ्नेछ । अरू एघार राशि हुनेहरू हेऱ्याहेऱ्यै पुर्पुरामा हात लाएर बस्ने भए त ?

ए किशोर ! हुन त म पनि जमरकट्टेलनै हुँ तर त्यो पं.पुरुषोत्तम भन्नेले त जमरकट्टेल थरकै अपमान गऱ्यो । अबदेखि म त त्यसलाई पं. पुरुषेत्तम कुकुरकट्टेल भन्छु । त्यसलाई कुकुरकट्टेल थर नै सुहाउँछ , बुझिस् ।

किशोर – ल ल झापड दिने कुरा नगर, तँ पनि कुकुरकट्टेल नै होलास् तर के गर्छस् ? यस्तै निरर्थक राशिफलमा विश्वास गर्ने पाठक पनि नेपालमा धेरै छन् । यस्तैखाले राशिफलले पत्रपत्रिकाको बिक्री मनग्गे बढाएको छ । पत्रपत्रिकाले सत्यतथ्य भन्दा पनि पाठकको रुचिलाई बढी ध्यान दिन्छन् अनि तेरोमेरो कोठेगफले केही लछारपाटो लाउँदैन । एउटा कुरा विचार गर् शिव ! एउटा मरेको बच्चाको जन्मकुण्डली बनाउन जमरकट्टेल त के ? मै हुँ भन्ने ज्योतिषीलाई भन्, मजासँग बनाइदिन्छ । मरेको बच्चाले भविष्य निर्माणका लागि भविष्यमा के के गर्नुपर्छ, सबै लेखेर दिन्छ । त्यो बच्चा कतिसम्म बाँच्छ त्यो पनि लेखेर दिन्छ । किन भन्छस् भने यी त भविष्यमात्रै देख्तछन् र जान्दछन् । भविष्यवक्ता हुन् । भूत र वर्तमानका वक्ता होइनन् ।

हेर शिव ! अहिले विश्वको जनसङ्ख्या ७ अर्ब २० करोड पुगिसक्यो । हामीसँग जम्मा १२ वटा राशि छन् । भाग लगा एउटा राशि कति जनाको भागमा पर्छ ? एउटा राशि ६० करोड मानिसको भागमा पर्छ । ल भन्, त्यो जमरकट्टेलले लेखेको राशिफल ६० करोड मानिसलाई ट्वाक्क मिल्छ त? असम्भव । एक दुईलाई मिलिहाल्यो भने पनि त्यो काकताली परेको हो । यिनै काकताली परेकाहरूले पं. पुरुषोत्तम जमरकट्टेल ज्योतिषी त कस्ता जान्ने? भनेर डङ्का पिटिहाल्छन् ।

विश्वमा अहिले हरेक सेकेन्डमा दुई सय बच्चा जन्मन्छन् भन्ने अनुमान छ । हरेक सेकेन्डको त एउटै राशि हुन्छ । त्यही राशिमा कति बच्चा मरेका जन्मन्छन्, कति जन्मनासाथ मर्छन्, कति केही घण्टा वा दिन वा महिनामा मर्छन् । कोही अन्धा , कोही बहिरा , कोही लाटा, कोही हातखुट्टा बिग्रेका, कोही अतिरिक्त अङ्ग भएका जन्मन्छन् । कति जुम्ल्याहा, तिम्ल्याहा वा चम्ल्याहा वा सोभन्दा बढी पनि जन्मेका छन् । कति शरीरै टाँसिएर जन्मेका जुम्ल्याहा पनि छन् अनि सद्दे जन्मेका मध्येमा पनि त्यही राशिका कति भिख माँगेर हिँड्छन् भने कति अकुत सम्पत्तिका मालिक छन् । कति कालो अक्षर भैँसी बराबरका छन् भने कति प्रकाण्ड विद्वान्‌ छन् । त्यही राशिमा कति जन्मिरहेका छन्, कति मरिरहेका छन् । यसकारण शिव ! पं. पुरुषोत्तम जमरकट्टेल जस्ता ज्योतिषीले निकालेको आजको राशिफल मात्र कोरा कल्पना हो भन्दा अरू ज्योतिषीहरू पनि रिसाउलान् त?