दिनानाथ साहूको पछिसम्म पनि बच्चा भएनन् । देवी भाके, देउरालीमा पाठी चढाए, जान्नेलाई हेराए । हरिवंश यज्ञ लगाए तर पनि बच्चा भएनन् ।

चिना हेर्नेले तिम्रो त तीन बिहा लेखेको छ भन्यो । तेस्रोबाट मात्रै बच्चा हुन्छ भन्यो, त्यसैले ढिलाइ नगरी दोस्रीपछि तेस्री श्रीमती भित्र्याए । बिहे भएको छ महिनामै तेस्रो श्रीमतीबाट बच्चा भयो र छोरै भयो । गाउँमा ‘साहूले सधैँ ब्याजको चिन्ता गर्थे, त्यसैले ब्याजसहित भित्र्याएका रहेछन् कान्छी’ भनेर कुरा काटिरहे तर बुढाले ‘आफ्नो
सम्बन्ध उनीसँग पहिलेदेखि नै थियो, जायजन्म रहिहाल्यो त्यसैले भित्र्याएको हो, नत्र के मेरो घरमा भित्र्याउने खालको कुलघरानकी हो र त्यो ?’ भन्दै गाउँगाउँ हिँड्थे । ऊसँग आफ्ना रोमान्सका कथाहरू पनि बुने । घरमा श्रीमती बाहिर प्रेमिका राख्ने खालको हुँ भन्ने देखाउने प्रयत्न गरिरहे ।

छोराको न्वारान भयो । नाम पनि जुट्यो- जगत्‌ । बुढेसकालमा जन्मेको छोरा चिजको हुन्छ भन्छन् तर दिनानाथले खासै वास्ता गरेनन् उसको । पढाइमा पनि खासै लगानी गरेनन् । गाउँकै स्कुलमा दिउँसो पढ्न जाने, साँझबिहान घरकै काममा जोताए । बच्चामा पनि छोएकोसम्म पनि देखिएन भन्थे उनका छिमेकीहरू । त्यसो त
उसको अठार महिनापछि जन्मेकी बहिनी रमाका सबैजसो मागहरू त कहाँ पूरा गरिदिन्थे र ! फलतः बालसुलभ जिद्दी, चाहबिना नै ऊ अठार वर्ष पुग्यो । बिहे गरिदिए अनि विदेश पठाइदिइहाले ।

त्यसो त राधालाई उनका बाउ नारायणले जगत्‌लाई छोरी दिन मानेका थिएनन् । उनलाई थाहा थियो तीन-तीनवटा सासूको बुहार्तन गर्नु एकदम गाह्रो कुरा हो ।

त्यसमाथि जगत् कुनै जिम्मेवारीबिनाको छोरा हो भन्ने लागेको थियो । लामो समयसम्म आनाकानी गरिरहे तर लमीमार्फत दिनानाथले फकाइहाले । बिहेपछि राधालाई सासूसँग बस्नु नपर्ने, छुट्टै ठाउँमा रहेको घरबारीको मालिक्नी बनाएर राख्ने सर्तमा सहमति भयो । त्यत्रो सम्पत्तिको एकमात्र हकदार, नारायण राजी भए ।

चोपनारायण बन्जाडे

बिहे धुमधामका साथ नै भयो । बिहेको दुई महिना त नवविवाहित जोडी घरमाइत, घरससुरालमा बित्यो । तेस्रो महिमा बित्दा नबित्दै दिनानाथले छोरालाई उडाइहाले मलेसिया ।

राधा धेरैजसो एक्लै मूलघरबाट झन्डै आधा घण्टाको दूरीमा पर्ने घरबारीसहित बसिन् । कहिलेकाहीँ नन्द रमा आउँथिन् शुक्रबार र शनिबार साँझ फर्कन्थिन् ।

एकदिन ससुरा आएका बेलामा कुरा उठाइन् राधाले, “मलाई अति सुनो भयो । एउटा बाख्रो पालेर मात्रै के बसूँ । यत्रो डोरोफेरो छ मल पनि चहिएला, घाँसपातको पनि सदुपयोग होला । मैले त किनिदिने हो भने एउटो भैँसी लिन्थेँ ।”

“हो, तँलाई नै त्यस्तो लागो भने यसो गर्, घरमा लाहुरे भैँसीको पाडी छ । त्यही ल्याइदिन्छु, त्यही पाल् । दुहुनो पनि भन्ने मात्रै हो, डबल काम हुन्छ । बरु तैँले दिनको पाँच मुठी दूध बेसाएर खा”  ,दिनानाथले सुझाए । सहमति भयो ।

सर्लक्कको तर राम्ररी नपालिएको दुब्लो पाडी आयो छिट्टै राधाका जिम्मामा । प्रशस्तै डोरोफेरो, डाले घाँस पर्याप्त भएकाले एउटा बाख्रो र थोरेले कति खाउन् ?
थोरैधेरै थाहा भइसकेको थियो राधालाई कि उनले श्रीमान्‌लाई भन्दा घरकालाई खुसी पार्नुपर्छ । तीन महिनाकै अवधिमा थाहा पाइसकिन् ऊ कुनै आग्रह, रुचि, चाह भएको मान्छे होइन; एक छाया मात्रै हो बाउको, एक दब्बु । चार महिना भयो एक कल फोन छैन, खोजखबर छैन । उसको बाउको मुखबाट सुन्नुपर्छ सन्चो बिसन्चोको कुरा ।
त्यसपछि त्यति माइती पनि गइनन् राधा, साथीसङ्गी पनि भेट्न मन लाग्दैनथ्यो उनलाई । उनीहरूलाई सुनाउने कुरै केही छैन त के भेट्नु जस्तो लाग्थ्यो उनलाई ।

उनलाई आफ्नो बिहे एउटा जवानसँग होइन कि डोकोनाम्लोसँग भएको हो कि जस्तो लाग्न थालेको थियो तर पनि पाडीको पालनपोषण र स्याहारमा तल्लीन रहिन् । छ महिनामा नै पाडी ठूलो थोरे भयो । समतुल्य भयो राधाको हातको स्याहारसुसारले । चिना हेर्नेले पनि भन्थ्यो रे, “यिनी नानीलाई डिँगाबाच्छाले खुब शुभ्छ ।”
“खुब राम्रो पालिछस्, यस्तै हो भने त कार्तिकसम्ममा राँगो लाग्छ यसमा । लाहुरेभैँसीको पाडी हो । यसलाई बेच्ने होइन ।” दिनानाथले यसको नस्लको बखान गर्दै गए, “यसको आमा ब्याउँदा गाउँलाई नै बिगौती पुग्थ्यो । दिनमा तीनपटकसम्म पनि दुहुनुपर्थ्यो । पूरै तेइस बेत ब्याएर चौबिसौँ बेतमा पाडो फाल्न नसकेर भकारमा मरेको हो । यो तेइसौँ बेतको पाडी हो । त्यो भैँसीको एकमात्र जिलो यही हो ।”

ससुरा हप्ता पन्ध्र दिनमा आउँथे । यसो बाहिर सबै निरीक्षण गर्थे । गाह्रोसाँगुरो के छ सोध्थे । आवश्यक निर्देशन दिन्थे । “अब धेरै अन्न नखुवाएस् है बुहारी यो थोरेलाई । बढी मोटाएपछि बाँठेको बाँठे रहन सक्छ ।” भन्थे त कहिले “यो बाख्राले चा-रचारवटा पायो तँलाई पाल्न धौ भयो भने पाठापाठी बेचिदिन्छु” ,भन्थे ।

“नाइँ पर्दैन बुबा अहिले, अलि ठूला भएपछि बेचौँला । अलिकति बढी पैसा पर्ला । फेरि घाँस पनि नोक्सान हुन्छ” ,कृतज्ञता प्रकट गर्थिन् राधा ससुराप्रति ।
“लौ तो मैले के भनूँ, पाल्ने दुःख गर्ने तैँले नै हो । गाह्रो भए भनेस्” ससुराले जाने बेलामा भन्थे ।

नन्द रमा प्रत्येकजसो शुक्रबार आउँथिन् र शनिबार साँझपख फर्कन्थिन् । अघिल्लो वर्ष एस.एल.सी पास गरेकी । सहर पढ्न जान दिएनन् । पढिरहेकै स्कुलमा कक्षा एघारमा कमर्समा भर्ना भइन् । भाउजूकोमा आउन मन पराउँथिन् ।

घरमा उनको उमेरका कोही थिएनन् । तीनवटा बुढीहरू र तिनीहरूको एउटा भाले- बाउ । निर्देशन, आदेश, उपदेश एकोहोरो दिने पुरुष । दोहोरो संवाद सम्भव थिएन ।

उनी बिहान खाना खाएपछि बाहिर हिँड्थे र साँझ खाना खाने बेलामा मात्र आउँथे घरमा । दिउँसाको कार्यविवरण माग्थे स्वास्नीहरूसँग । सबै कुरा रुटिनमा चल्नुपर्थ्यो ।

माइती वर्षको एकपटक पाँच दिन । लुगा वर्षको एकपटक तीजमा । जाडाका लागि प्रत्येक दुई-दुई वर्षमा एकएक बर्को र स्वेटर । मासु साउने सङ्क्रान्ति, दुईवटा दसैँ, तिहार र होली । खिर साउन पन्ध्र । प्रत्येकका लागि रुटिन र नियम । नियम, नियम र फेरि पनि नियमहरू । पट्यारलाग्दा नियमहरू ।

साथीहरूकोमा जाँदा `यो बाबामम्मी सुत्ने कोठा´ हो भन्थे । उनी अचम्म मान्थिन् । बाबामम्मी पनि सँगसँगै सुत्छन् र जस्तो लाग्थ्यो उनलाई । कहिल्यै आफ्नो बाउको कोठामा कुनै आमा सुतेको त के , दस मिनेट पनि बसेको देखिनन् उनले । “ए, के हेरेको ? ऊ त्यहीँ टेबुलमा राखिर जा” उनको कोठामा तम्बाखु, चिया लिएर जाँदा कोठामा यस्सो अलमल गरेजस्तो लाग्यो भने हप्काइहाल्थे ।

घर-बेँसी गर्दा होस्, सदरमुकाम नागरिकता बनाउन जाँदा होस् कहिल्यै कुनै श्रीमतीसँग हिँडेका देखिएनन् उनी । माइली श्रीमतीको नागरिकता बनाउन जाँदा, “तँ आउँदै गरेस्, म जान्छु । सदरमुकाम पुगेपछि डेमेको दोकाननेर उभिएस् । म त्यहीँ आउँछु तँलाई लिन, त्यसपछि सिडियो कार्यालय जाम्ला” ,भनेका थिए । पछि माइलीलाई दोकानबाहिर बेन्चमा बसेर डेमलालसँग कुरा गरिरहेको हालतमा फेला पारे । केही भनेनन् । नागरिकता बनाइदिए ।

“तँ हिँड् म आउँदै गर्छु” भने अनि करिब सय मिटरको दूरी कायम राखेर हिँडे बाटाभर । घरमा पुगेपछि, “तँलाई डेमेको दोकाननेर उभिनु भनेको कि उसको दोकानमा बस्न ?” भनेर हातै छोडे रे । उनले “म त वरै उभिएकी थिएँ, उनैले बोलाए देखेर- भाउजू के नचिनेको ठाउँमा झैँ परै उभिनुहुन्छ । यहाँ आएर बेन्चमा बस्नू न भने । मैले तपाईँको दाइलाई पर्खेको, नागरिकता बनाउन आएको भनेँ । उनले दाइ यहीँ आइहाल्नुहुन्छ नि भनेर बोलाए । मैले क्यारूँ त?” स्पष्टीकरण दिइन् । यसपालि उनको स्वरमा डरभन्दा पनि रोष थियो । दिनानाथ अलिकति हच्किए ।
आमाहरू आपसमा मिलेजस्ता देखिन्थे । त्यसको विकल्प पनि थिएन तर आमाको विपक्षमा अरू आमाहरू ब्याजी, ब्याजी भन्थे उनलाई । “ब्याजी भई, कान्छी भई, छोराछोरी भएकी भई हाम्लाई के हेर्थ्यो ? हाम्रा कुरा के सुन्थ्यो ? फुँडो बुढाले” ,भन्थे । के भनेको हो ? उनी बुझ्दैन थिइन् । उनी दुईवटी एकातिर आफ्नी आमा एकातिर
छन् जस्तो लाग्थ्यो उनलाई तर बाउले आफ्नी आमाको सपोर्ट गरेको कहिल्यै देखिनन् रमाले । बरु सबैभन्दा बढी उनैलाई हप्काउँथे । दुइटी आमाहरू पहिले-पहिले बाउलाई गाली गर्दा “फुँडो बुढो” भन्थे तर पछिपछि “बाँझो बुढो” भन्न थाले ।
दिनानाथले प्रायःजसो खेताला खोज्दैनथे ।

श्रीमतीहरूलाई नै सबै काममा दलाउँथे तर खोज्नै पऱ्यो भने पनि महिला नै खोज्थे । दाउरा काट्न र निर्माणका काममा पुरुष खोज्नै पऱ्यो भने उनी त्यो दिन घर छोडेर कहीँ जाँदैनथे । नास्ता बोकेर आफैँ मेलामा गएकोसम्म पनि देखिएको छ कहिलेकाहीँ ।

राधाले थोरेको र चारवटा पाठा पाउने बाख्राको स्याहार रेखदेखबाट राम्रो स्याबासी पाएकी थिइन् । उनलाई थोरे ब्यायो भने थप स्याबासी पाउने लोभ थियो ।
त्यसलाई राँगो खोज्ने बनाउन सुनेका जति सबै उपायहरू गरिन् ।
“ख्याल गर्नू है बुहारी, थोरेले अब राँगो खोज्छ खोज्छ जस्तो छ । फेरि बात गयो भने जाडो काटेपछि मात्रै हुन्छ, बाँठे पाल्नुपर्ने पनि हुनसक्छ” ससुराले सजग पार्थे । किसान परिवारमा हुर्केकी भैँसीले राँगो खोजेका सामान्य लक्षणहरू सुन्दै आएकी हुन् उनले । निरीक्षण गर्दै गइन् ।

असोजको सुरुमा मकै स्याहार्दा हरिया मकैका घोगाहरू पनि ख्वाइन् उनले थोरेलाई केही दिनसम्म । थोरेले सेप निकालेको देखिन् । बेग्लै किसिमको छटपटी, कसैको आवाज आयो भने उतैतिर हेरेर कराउने गर्न थाल्यो । उनलाई थोरेले राँगो खोजेको हो जस्तो लाग्यो तर कसलाई सोध्ने ? कसलाई भन्ने ? छिमेकीकामा जान पनि
कता-कता लाज लाग्यो । यस्तैमा एक दिन त बित्यो नै । दोस्रो दिन साँझपख नन्द रमा आइन् । उनलाई देखाइन् । रमाले भनिन् , “मलाई पनि हो जस्तो लाग्यो भाउजू ।”

“कहाँ छ यो गाउँमा राँगो ?”
“ऊ त्यो मकैडाँडाको घनश्याम भन्नेले पालेको छ” ,रमाले चोरऔँलाले ठिक पश्चिमतिरको डाँडालाई बताउँदै भनिन् । राधाले राँगो लिन जानुपर्ने भयो । नन्दलाई पठाउने कुरा भएन । एक मन त ससुरालाई नै गुहारूँ जस्तो लाग्यो । पछि सोचिन् , “हा! यति सानो कामलाई पनि के खोजिरहनु ? हरेक कुरामा सोध्न थाल्यो भने कसरी गरिखाली भनेर झन्‌झन् हेप्छन् । आफैँ जान्छु । ”

.. ….
घनश्याम लीलाधर शर्माको साइँलो छोरा । लीलाधरका अरू तीनभाइ छोरा पहिले पढाइ र पछि जागिरको शिलशिलामा सहरिया भए । अहिले त गाउँको धेरैजसो जमिन बेचेर सहरमा नै बसाइँ गरेका छन् । साहिँलाले पढ्न सकेन सहरमा गएर के गर्न सक्ला र ? भनेर मकैडाँडाको पाखोबारी बेचेनन् । सहरमा लगेर सानोतिनो व्यवसाय दिन पनि खोजेका हुन् तर ऊ सहरअनुकूल बन्न सकेन । पारिवारिक सल्लाहानुसार एउटा राँगो किनिदिए । त्यसैको शुल्क उठाउँदै जीविकोपार्जन गरिरहेको छ उसले । आमाबाबु हिउँदमा एक-दुई महिना आएर बस्थे । उसको आम्दानी खोज्ने त कुरै भएन । बरु अरू भाइहरूबाट लुकाई छिपाई राखेको केही हजार नगद छोडेर जान्थे उनीहरू ।
यो दुनियाँले जस्तोलाई चलाख भन्छ त्यस्तो थिएन घनश्याम । केही स्वभावहरू अस्वाभाविक थिए र बोली पनि स्पष्ट थिएन । भद्दा-भद्दा लाग्ने शरीर र महिला स्वर भएकाले चौँतीस वर्षको उमेरसम्म पनि बिहे भएको थिएन
। स-साना केटाकेटीसम्मले पनि जिस्काउँथे उसलाई । केटाकेटीहरू उसलाई “घने” भन्थे । उसले “तेरो बाउ घने, तेरी आमा घनेकी स्वास्नी” ,भन्थ्यो । “घने, घने….. ” भन्दै केटाकेटीहरू दौडन्थे । उसले लखेट्थ्यो तर भद्दा शरीर भएकाले भेटाउन सक्दैनथ्यो ।

शारीरिक र प्रस्तुतिमा कमजोरी हुनेले समाजमा भोग्ने सजायहरू भोगिरहेको थियो घनश्यामले । बिहेका कुरामा पनि जिस्काउँथे । “घनुले त करिष्मालाई बाहेक अरूलाई बिहे नगर्ने रे नत्र बुढोकन्या बस्ने रे” ,भन्थे कसैले त कसैले, “नाइँ उसको त चेन्टीसँग लभ छ रे उसैलाई कुरेको” ,भनेर जिस्काउँथे । बिहे गरिदिने बहाना बनाएर
कसैकसैले त खुबै फाइदा लिए रे ।

राधा पुग्दा घनश्यामले भरखरै राँगो बाँधेर मकैका ढोड खुवाइरहेको थियो । “मेरो थोरे धागिएको छ, राँगो लगिदिन परो”,सिधै आग्रह गरिन् उनले ।

“नाइँ भैँसी यहीँ लिएर आऊ ।”
“फुकुवा होइन बँधुवा हो, आजसम्म नफोएको आउन्न होला ।”
“आज चारवटा भैँसी नाघिसक्यो, थाकेको छ राँगो ।”
“उतै पनि जति पनि घाँस छ, लगिदिनुपऱ्यो , घरमा लोग्नेमान्छे छैनन् क्यारूँ ।”

बल्ल सिधै हेऱ्यो घनश्यामले राधालाई र भन्यो, “यहाँ पनि त आइमाई छैनन् ।”
“त्यसो भए हजुरले पनि खाना खाएर फर्किनुहोला ।”
“कहाँ हो ? को हौ तिमी ?”
“ऊ पारि …, दिनानाथ साहूकी बुहारी ।”
“ए ! जगतेकी जहान हौ ? यस्ती दुलही एक्लै छोडेर विदेश जान किन परेको त्यसलाई ?”
बल्ल लाज लाग्यो राधालाई ।
घनश्यामले राँगो फुकायो, डोऱ्यायो । घर बन्द नै गरेको थियो । राधा पच्चीस तीस मिटरपछाडि नै हिँडिन् । हेरिन् राँगामा कुनै चाह थिएन जस्तो लाग्यो । राँगा त अल्लि चम्काइला देखेकी थिइन् । त्यही राँगो भनाउने लिङ्ग पहिचान हुने एउटा डल्लो हल्लिरहेको छ यताउता हिँड्दाखेरि । थपक्कै जगतेजस्तो । जगते, उही के उनकै श्रीमान् । उनलाई भेट गराइएको थियो जगतेसँग, उनले पनि थोरेलाई भेट गराउँदै छिन् जगतेजस्तै राँगोसँग ।
गोठको तगारो पार गर्दासाथ थोरेले थाहा पाइहाली र “आईँ……ऽऽऽ” गरेर कराई, राँगाले कुनै प्रतिक्रिया नै देखाएन । घनश्यामले राँगो डोहोऱ्याएर लगाइदियो । राँगाले यसो सुँघ्यो र पछाडी फर्कियो । बारीतिर लाग्यो र चर्न लाग्यो । राँगालाई फर्कायो घनश्यामले । राँगो फेरि फर्कियो । पर उखुको गाँजमा गयो र उखु खान थाल्यो । भोक
लागेर होला भनेर कुटमेरो खसालिदियो । राँगाले कुटमेरो खान थाल्यो ।

त्यतिन्जेल रमाले चिया तयार गरिसकेकी थिइन् । नास्ता बनाएर खाएर पनि सिध्दियो । राँगो लगाउन खोजे तर न त थोरेले चाख लियो न त राँगाले ।
“खै के भएको हो के ?” घनश्यामले भन्यो, “कि त यो थोरेको बात गयो ? कहिलेकाहीँ नाता परे भने पनि यस्तो हुन्छ । राँगो थाकेर हो कि? …………यस्तो त नहुनुपर्ने ”

राँगो घरतिर लाग्न थाल्यो मालिकलाई सम्म पनि पर्खिएन । तगारानेर गएर उभियो ।
रातभर राँगो थोरेसँगै बाँध्दा केही हुन्थ्यो कि ! आगाको नजिक नौनी राख्यो भने जसरी पनि पग्लन्छ भन्छन् ।
“जहाँ जाला जोगी भातै खाला, म त बस्छु”, घनश्यामले भन्यो र राँगालाई बाँधिदियो थोरेसँगै ।
राधाले खाना खुवाइन् घनश्याम र रमालाई, आफूले खाइन् । बैठक कोठामा रमाले पढ्दै थिइन् । धेरै गृहकार्य छ भन्थिन् । पल्लैपल्लो कोठामा घनश्यामलाई सुत्न पठाइन् । चुलोचौको सकेर आफू सधैँ सुत्ने बिचको कोठामा पसिन् तर निद्रा लागेन । राँगाको लगाव, चाहलाई जगत्‌सँग तुलना गरिन् । उसको र आफ्नो नाता त लोग्नेस्वास्नीबाहेक अरू केही होला र ? भनेर छुट्याउन खोजिन् । अहँ, भएजस्तो लागेन ।

यस्तै-यस्तै सोचमा आउँदाआउँदै उनी झकाइछन् तर केही बेरमा नै झस्किएर जागिन् । कोही बरन्डामा हिँडेजस्तो आभास भयो उनलाई । घनश्याम पिसाब गर्न उठेको होला जस्तो लाग्यो तर फेरि पटक-पटक ओहोरदोहोर गरेजस्तो लाग्यो । कतै घनश्यामले पाप त चिताएन ! गल्ती गरिएछ कि क्या हो, महिलामात्रै भएको घरमा एउटा लाठे अविवाहित पुरुषलाई बास बसाएर ! साँच्चै, ढोका ढकढक्याउन थाल्यो भने के गर्ने होला ?
एकछिनपछि घनश्याम सुतेको कोठाको ढोका बिस्तारै लगाएर चुकुल लगाएको आवाज आयो । अब ढुक्क भइन् । त्यो राँगो र उसको मालिक उस्तै त होलान् नि !

खिसिक्क हाँसिन् र आफ्नो अघिको शङ्कालाई खिसी गरिन् । साँच्चै ऊ ढोक अगाडि आएको बेला घरक्क ढोका खोलेर भित्र तानेको भए के गर्दो हो ! आउँदो हो कि डराएर भाग्दो हो ? आफैँसँग प्रश्न गरिन् । यति बेला उनी पसिनाले निथ्रुक्कै भिजेकी थिइन् ।

बिहान फेरि राँगाको दाम्लो खोलियो तर चाख नै राखेन । थोरे र राँगाले एकअर्कालाई सुँघे झन्डै थुतुनो जोडे र छुट्टिए, यसपालि यस्तै भो भन्ने भावमा । “बात गइसकेछ कि क्या हो, अब ठन्डीभरि राँगो खोज्दैन, एकैपटक फागुन अन्तिममा खोज्ला, अलि तातेपछि …” राँगो डोहोऱ्याएर पर जाँदासम्म बोल्दै गयो घनश्याम । राधाले उपलब्धि देखाउन सकिनन् ।

जगत् मलेसिया गएको डेढ वर्ष भइसक्यो, एकपटक पनि फोन गरेन राधालाई । उनी आफैँले दुईपटक फोन गरिन् । जे भन्यो, “बासँग सोध्नू, बालाई सोध, मलाई होइन बालाई भन्नू ” भन्थ्यो । तेस्रोपल्ट फोन गर्दा काममा हुन्छु पटकपटक फोन गर्नुपरेको छैन भनेर हप्कायो नै । राम्रो कमाइ भएन आइज फेरि अर्को देश जाने गरी भनेर भने रे बाले ।
जगत् दसैँमा घर आयो ।
सबैलाई केही न केही बोकेर आएछ तर राधालाई केही ल्याएनछ । ठिकै छ अरूलाई सामान बोकेर आयो, मलाई त मेरो लोग्ने आयो । चित्त बुझाइन् राधाले । झन्डै दुई महिनाको बसाइँमा एक रात राधाले प्रेमको आग्रह गरिन् । आग्रह त टारेन तर उनीमाथि केही घृणा भावले हेरेजस्तो लाग्यो । उनले हीनताबोध गरिन् ।
कतारको भिसा लाग्यो र ऊ उड्यो । झन्डै अपराधी दरार गर्ने आफ्नै पतिको उनलाई हुनु र नहुनुको के पर्बाह !
सबैजसो कुरामा उनले कुनै पर्बाह गर्न छोडिन् राधा तर दुईवटा कुरामा उनको लगाव रहिरह्यो – थोरे र नन्द रमाको प्रेमप्रसङ्ग ।

थोरे भैँसीलाई उनले प्रेम गरि नै रहिन् । त्यसलाई ब्याउने गराउनुमा आफ्नो सफलता ठहर्थ्यो । यसैबीच एघार कक्षा पढ्दापढ्दै एक युवकसँग नन्दको प्रेम सुरु भयो ।
प्रत्येक शुक्रबार नन्द बडो उत्साहका साथ सबै कुराहरू उनीसँग सेयर गर्थिन् । कोरियामा काम गर्ने उनको प्रेमीले गरेका एसएमएस, म्यासेज र उसले पठाएका फोटाहरू, ऊ यहीँ हुँदा खिचेका सेल्फीहरू, ऊ गएपछि उसले एडिट गरेर दुइटाको फोटालाई एउटै बनाएर म्यासेन्जरमा पठाएका फोटाहरू उसैले पठाइदिएको चाक्लो मोबाइलमा कति सुन्दर देखिन्थे !! कहिलेकाहीँ उसको कललाई स्पिकर अन् गरेर दोहोरो संवाद पनि सुनाउँथिन् रमाले राधालाई । थोरै ईर्ष्या त लाग्थ्यो नै तर कति भाग्यमानी हुन् रमा ! जस्तो लाग्थ्यो राधालाई ।
उसले फोन पठाइदिएपछि त हो रमाले आफूले प्रयोग गरिरहेको सामसुङको स्क्रिन टच मोबाइल राधालाई दिएको । नत्र त भाइले दस वर्षअगाडि फालेको नोकिया ११०० मोडेलको मोबाइल चलाइरहेकी थिइन् । आखिर किन पो चाहियो उनलाई मोबाइल जस्तो लाग्थ्यो माइतीबाट आउने हप्तामा एक-दुई कलबाहेक अन्त कोही थिएन फोन गर्ने । रमाले फेसबुक अकाउन्ट पनि खोलिदिइन् राधाको, तर प्रयोगमा आएन ।

रमाले फोन दिँदै भनेकी थिइन्, “भाउजू अहिले यही मेरो फोन चलाउनू, पछि हजुरको हुनेवाला ज्वाइँलाई भनेर मगाइदिम्ला अर्को राम्रो फोन ।” कृतज्ञताका साथ भनेकी थिइन् राधाले, “नाइँ नानी पर्दैन, धेरै माग राख्नु हुन्न, मलाई यत्तिको भएपछि दौलत हुन्छ ।”

जाडाका महिनाहरू बित्दै गए । फागुनको अन्तिममा थोरेले राँगो खोजेजस्तो सङ्केतहरू देखिन् राधाले । करायो, डोहोड्यायो । उनी फेरि गइन् घनश्यामकामा ।

यसपालि जाँदा ऊ बाटातिर हेरेर मस्त पल्टिरहेको थियो । उनलाई बाटामा देख्नासाथ ऊ जुरुक्क उठ्यो र सोध्यो, “थोरेले राँगो खोजेको हो ?”
“हो, डोहोड्याएको छ । लग्दिइहाल्न परो राँगो फेरि पहिलेजस्तै बात गयो भने त …!”

“दुई-दुईवटा आएका थिए, मैले आज कहीँ लान्न भनेर फर्काइदिएँ, तिमी आयौ हार्न सकिनँ” ,भन्दै राँगो फुकायो उसले ।
बाटामा कुरा केही भएन । उनीहरूभन्दा बीस मिटरजति पछाडि हिँडिन् राधा । यसपालि राँगाको चालढाल फुर्ती अर्कै लाग्यो राधालाई । सोचिन् मनमनै, “कहाँको जगते कहाँको यो !”

गोठको तगारामा पुग्नासाथ थोरेले थाहा पायो । हेए, हेए गऱ्यो, पिसाब गऱ्यो । राँगाले घनश्यामलाई उछिन्यो र दनादन उक्लियो तीनपटक । थोरे खुसी भयो ।
घाँस राखिदिए । थोरे र राँगाले सँगसँगै खाए । राधाले चियानास्ता बनाइन् र खुवाइन् घनश्यामलाई र आफूले पनि खाइन् ।
फेरि अर्को दुईपटक नाघ्यो राँगाले ।
“ल अब भयो, लानुपर्छ” डोहोऱ्याउन खोज्यो घनश्यामले तर राँगो डेग डगेन । पछाडिबाट छडी लगाउँदै खेदेर तगारासम्म पुऱ्याएको थियो, फरक्क फर्कियो र फेरि नाघ्यो थोरेलाई । अहँ, हिँड्नै मानेन राँगाले । कुनै उपाय लागेन त्यसलाई हिँडाउने । दिन बित्दै गएपछि त रात न हो पर्ने । रात पनि पऱ्यो ।

“ठिकै छ यहीँ बाँध्नुपऱ्यो, बाँठ मारेको थोरे हो भोलि एकपटक लगाइदिएर लैजाम्ला” ,महिला स्वरमा घनश्यामले भन्यो, “लौ म भोलि बिहानै आउँछु ।”

“एक्लै तपैँ, यहाँ बसे भएन ?” भन्न त भनिन् तर मुटु ढुक्क गऱ्यो राधाको ।
बस्न राजी भयो घनश्याम । खाना खाइसकेपछि अघिल्लो पटक सुतेको कोठामा पठाइन् उसलाई सुत्न । आफू पनि आफ्नै कोठामा पुगिन् तर निद्रा लागेन । राति कोही बरन्डामा यताउता गरेजस्तो लाग्यो यसपटक पनि उनलाई । श्रीमान् भनाउँदाले मारिदिएको चाहना आज फेरि उजागर भएजस्तो लाग्यो उनलाई । केही सोच्नै सकिनन् । जुरुक्क उठिन्, ढोका खोलिन्, च्याप्प समातेर आफूतिर तानिन् भित्रबाटै र ढोका ढ्याम्म लगाइन् । ठूलो शरीरले झन् जोडले उनलाई अँगालो हाल्यो । आग्रह गर्नु परेन कसैले कसैलाई, अनुमति लिनु परेन कसैले कसैको । जीवन्त रह्यो रात तर संवाद भएन मुखले । साटिए के-के रातभर । बिहान फोन नम्बर साटासाट गरे । राँगो खोलिदियो, एकपटक मात्रै उक्लियो राँगो । मन त दुईवटा नै थोरेहरू पनि लिएर जाने थियो घनश्यामलाई तर सोच्यो अर्काका मालहरू हुन् । प्रत्येक रातजसो फोन गर्थ्यो घनश्याम । कलर ट्युन त उही थियो तर उसको फोन आउँदा उनलाई कलरट्युनमा ‘म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी’ बजेजस्तो लाग्थ्यो ।
कुराकै क्रममा बिहेका निम्ति पहिल्यैदेखि घनश्यामले गहना बनाएको, पैसा जुटाएको, यहाँसम्म कि कतिवटा बच्चा जन्माउनेसम्मको योजना बनाएको थाहा लाग्यो राधालाई । घनश्यामले घर र ग्राहककामा लग्दा त्यो बाटो पऱ्यो भने राँगो झन्डै उसलाई पनि मिच्ने गरि त्यो घरको गोठमा पस्थ्यो ।

थोरे धानिएको लक्षणहरू देखा पऱ्यो साथै थोरेको मालिक पनि !
एकाबिहानै हिँडेका उनीहरूको बस केराबारीमा रोकियो । उनीहरूलाई जुटाइदिने थोरे र राँगालाई बेवारिसे छोड्नु हुँदैनथ्यो त्यसैले राधाले पूर्वससुरा दिनानाथलाई फोन गरिन्, “थोरे धानिएको छ, उतै घर लानुहोला, म छैन ।” घनश्यामले पनि अस्ति मात्रै घरमा आएका बाआमालाई फोनमा भन्यो, “खेतारो खोजेर भा पनि राँगाको ख्याल गर्नू है, म केही दिन हुन्न ।” फोन राख्दै राधालाई हेरिरह्यो । राधाले पनि उसको आँखामा हेरिरहिन् । उसको आँखा बोले, “म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी…।”