प्रकृतिमा पालुवा पलाएर फेरिएर वनभरि खुसीको लहर र नयाँ आशा छरिएको छ । सानाभन्दा साना बुटामा पनि फूल फूलेका छन् । केहीमा भने फलको चिचिलासमेत लागेका छन् ।

प्रकृतिको राग र रङ्ग देख्दा मन त्यसै-त्यसै पुलकित भएर आउँछ ।

सन्तोषी र रोमनको बिहे भएको दश वर्ष बितिसकेको थियो तर पनि उनीहरूको बारीमा न कुनै फूल नै फुल्न सकेको थियो, न त फल नै लाग्न सकेको थियो ।

सन्तोषी र रोमनले प्रेमविवाह गरेकाले होला धेरै मेलमिलाप थियो । अझै पनि फलको पलपल आशा र पर्खाइमा बसेका छन् । कुनै दिन त अवश्य पनि जीवनरूपी करेसाबारीमा फूल फुल्नेछ भन्ने विश्वास अझै मरिसकेको छैन उनीहरूमा ।

परिवारको एउटै मात्र छोरा रोमन; उनीहरूको जयजन्म नहुँदा सबै दुःखी छन् ।

बुहारी सन्तोषी साक्षात् लक्ष्मीजस्ती; पेसाले शिक्षिकका हुन् ।

“डा. गुप्ता महिला विशेषज्ञ हुन् । धेरै राम्रो छ भन्छन् तिमीहरू पनि एकचोटि गएर जचाई हेर्नू नि ।” देखेका र जानेकाले उनीहरूलाई सल्लाह दिने गर्थे ।

हिजोआज विज्ञानले गर्दा जमाना कहाँ पुगिसकेको छ । असम्भव भन्ने केही छैन ।

“जिते बिस्ट नामी धामी छन् । कति जनाको जयजन्म गराइसकेका छन् । गएर देखाउनू है ।”

“ज्योतिष पाण्डेसित गएर चिना देखाउनू । केही ग्रह बिग्रिएको छ भने उपचारका लागि राम्रो सल्लाह दिन्छन् ।”

यसरी भनेको र सुनेको कुन ठाउँ र कसलाई पो भेट्न बाँकी राखे होलान् र ! भनेको र सुनेको जति ठाउँमा सल्लाह र उपचार गर्न गए तर अहिलेसम्म केही पत्तो छैन ।

सीतादेवी छेत्री (मणिपुर)

वैशाखको महिना मात्र एक महिना इष्ट देवता कौब्रु (महादेव) को दर्शन गर्ने नियम हुँदा यो एक महिना सबै भक्तगण कौब्रु पहाडको टुप्पामाथि दर्शन गर्न जाने गर्दछन् । धेरैजसो शनिबार चढेर आईतबार दर्शन गरी फिर्ता हुन्छन् । त्यहाँ गएर वर मागे भोलेबाबाले पूर्ण गरिदिनुहुन्छ भन्ने भक्तगणमाथि विश्वास पनि छ ।

वैशाख महिनामा पहिलो चरणको दर्शन गरेर आउनेहरूले सन्तोषीको सासूलाई फूल र प्रसाद ल्याएर दिएछन् । सासूले सन्तोषीलाई बोलाएर फूल र प्रसाद दिँदै भन्नुभयो-

“तिमीहरू पनि यही महिनाभित्रै एकपल्ट कौब्रु पहाड चढी भोलेबाबाको दर्शन गरेर आउन सक्छौ कि बुहारी ? भोलेबाबाले सबैको बिन्ती सुनिदिनुभएको छ । हाम्रो बिन्ती पनि सुनिदिनुहुन्छ कि भन्ने आशा लागेको छ मलाई ।”

“आमा म भरे हजुरको छोरालाई सोध्छु, उहाँले के भन्नुहुन्छ ।”

“यो शनिबार छिमेकी साइँला र साइँली जाने रे । छोराले माने सँगै साथी मिलेर जाँदा सुविधा हुन्छ ।”

“हवस् आमा ।”

सन्तोषीले राति रोमनलाई आमाले भन्नुभएको कुरा सुनाउँदै भनिन्- “मलाई पनि कौब्रु बाबाको दर्शन गर्ने इच्छा छ ।”

“त्यो डाँडामाथि कुनै गाडी जान सक्दैन । मोट्बुङबाट खुट्टाले दिनभरि हिँड्नुपर्छ । त्यत्रो उकालो र लामो बाटो तिमी हिँड्न सक्छ्यौ ?”

“भगवान्‌ले सजिलै वरदान कसरी दिनु हुन्छ त ? दुःख गरे पो भगवान्‌लाई माया लाग्छ होला । दुःख गरेर ठाउँमा पुगेर रुँदै गुनासो पोखे भगवान्‌ले बिन्ती सुनिदिनुहुन्छ भन्ने मलाई आशा छ  । आमाबाबालाई पनि नातिनातिनी खेलाउने कति इच्छा छ ।”

“राम्ररी सोच सन्तोषी, कति जना हिँड्न नसकेर आधा बाटाबाट फर्कन्छन् । धेरै उकालो ओरालो हिँड्नुपर्छ । म त दुईपल्ट गइसकेको छु ।”

“जाऔँ न है । मनले चिताइहालियो । भाकलजस्तो नै भयो । आस्ते आस्ते जाउँला । भगवान्‌ले पनि तँ चिता म पुर्‍याउँछु भन्नुहुन्छ रे ।”

बिहान सबैसित सल्लाह गरी जाने पक्का भयो । जाने दिन आमाले मन्दिरमा चढाउने र खाने सबै तयार गरिदिनुभयो ।

“मैले मकै भुटेर हालिदिएकी छु । माथि डाँडामा कसैलाई लेक लाग्छ रे भन्छन् । ल राम्ररी आस्ते जानू । भोलेबाबासित प्रार्थना गरेर आउनू । अवश्य हाम्रो बिन्ती सुनिदिनुहुन्छ ।” आमाले भन्नुभयो ।

छरछिमेकी गरी नौ जनाले तीर्थधामको यात्रा आरम्भ गरे ।

बाटामा ठूलो जङ्गल थियो । नाना थरीका फूल र रूखभरि सुनाखरी फुलिरहेका थिए । चराचुरुङ्गीका चिरबिर-चिरबिर आवाज सुनेर एक प्रकारको आनन्दानुभूति भइरहेको थियो सन्तोषीलाई ।

साँझ छ बजे उनीहरू एउटा ठूलो तलाउका छेउ पुगे । पहाडमाथि ठूलो तलाउ देखेर छक्क पर्दै वरपर हेरे । कोही कुकरमा भात पकाउँदै त कोही खाँदै थिए । कोही टेपरिकोडरमा सङ्गीत सुन्दै आराम गर्दै थिए । सबैले सानासाना छहारी हालेर बसेका थिए । लगभग तीन चार सय जति मान्छे देखेर छक्क परिरहिन् सन्तोषी ।

रोमनले एकछिन बस्ने ठाउँको निरीक्षण गरे । बस्ने ठाउँका बन्दोबस्त गरी छहारी बनाए । दाउरा ल्याए । एउटै खिचडी पकाए । “भोक मीठो कि भोजन ?” भन्दै सबैले खाए तर सन्तोषीले गलेर हो वा किन हो खानै सकिनन् ।

बिहानै तीन बजेबाट हल्लाखल्ला सुरु भयो । त्यस्तो चिसोमा पनि कोही नुहाउँदै थिए । कोही भने दर्शनका लागि निस्कँदै थिए । रोमनको टोली पनि नुहाएर पूजासामग्री तयार गरी हिँडे । अगाडि हिँडे दर्शनका लागि । करिब डेढ घण्टा हिँडेपछि एउटा सानो समतल सुन्दर ठाउँ आयो  ।

“यो स्थान शिवपार्वती देवीदेवतासित बसेको ठाउँ अरे ।” रोमनले सन्तोषीलाई भने ।

सन्तोषी तीनछक पर्दै कल्पनामा डुबिन्- “न यहाँ कोही माली छन् । यति माथि डाँडा, त्यही पनि यति चिसो ठाउँ तर पनि यति सफा । घाँस पनि काटेर अहिले मिलाएजस्तो । यो सबै भगवान्‌कै कृपा हो कि क्या हो !”

“के भयो ? आऊ पूजा गरौँ सन्तु ।”

दुवैले मन लगाएर पूजाआजा सकेर मूल ठाउँमा दर्शनका लागि प्रस्थान गरे । पहाडको टुप्पोमा एउटा सुरुङ थियो । जहाँ सबै भक्तगण लाइनसित पूजा गरिरहेका थिए ।

“यो सुरुङबाट गए गुवाहाटीको कामाख्या मन्दिर पुगिन्छ भन्छन् । एकपटक एक जना सन्यासी बाबा पुग्नुभएको थियो रे ।” लाइनमा उभिँदा रोमनले सन्तोषीलाई भने ।

रोमन र सन्तोषीको पालो आयो । गर्मीकै मौसम भए पनि जाडाले सलाई बाल्न साह्रो पऱ्यो तर पनि पूजापाठ र अर्चना दुवैले साह्रै भक्तिभावले गरे । केही समय टहलिएर घरतिर फर्के ।

घर आइपुग्दा तीन बजेको थियो ।

कहिल्यै लामो हिँडाइ नहिँडेकाले सन्तोषी घर आएर सुतेपछि उठ्नै सकिनन् । अस्पतालमा भर्ना नै गर्नुपऱ्यो सन्तोषीलाई । भर्ना भएको दुई दिनपछि एउटी डिउटीमा रहेकी नर्स एक्लै बरबराउँदै कोठामा पसिन् ।

“के भयो सिस्टर एक्लै बोल्नुहुँदैछ ? सन्चो त छ नि ?” सन्तोषीकी सासूले सोधिन् ।

“होइन आमा सन्चै छु । हिजो रातभरि सुतेकै छैन । यो अस्पतालमा कस्ता-कस्ता मान्छे आउँछन् । कसैलाई नानी नभएको पीर, कसैका नानी भए धेर, कसैलाई छोरा र कसैलाई छोरी मात्र चाहिने । खोइ..।”

“नानीलाई के पीर परेर रातभरि सुत्नु भएन ?”

“मलाई पीर परेको केही होइन आमा । हिजो राति टाढा खै, कुन गाउँबाट तीन दिनदेखि बिमार लागेर नानी जन्मन नसकेर साँझपख अस्पताल ल्याएका थिए । आमाले पोसिलो खानेकुरा खान नपाएकाले होला धेरै कमजोर थिइन् । हामीले धेरै कोसिस गऱ्यौँ, नानी त जन्म्यो तर आमालाई चाहिँ बचाउन सकिएन ।”

“ओहो !”

“बिचरा…… !”

“अनि गइसके उनीहरू ?” सासूबुहारीले एकैचोटि भने ।

“आमाको गर्भमा नानी तीन महिनाको हुँदै उसको बाबा बित्नुभएको थियो रे । घरमा अरू तीन जना नानीहरू छन् रे । हजुरआमा बुढी हुनुहुँदो रहेछ ।” नर्स भन्दै थिइन्- “डाक्टरहरूलाई धेरै बिन्ती गर्नुभयो उहाँले, यो नानी म स्याहार्न सक्दिनँ । कोही पाल्ने भेटे दिनुहोस् भन्दै बिन्ती गरिन् । डाक्टरहरूले नानी यहीँ राख्नुभएको छ । अहिले मेरो डिउटी छ नानी हेर्ने । बिचरा ! ऊ रातभरि रोएकाले म पनि सुत्न सकिनँ ।”

“अनि आएका मान्छेहरू खोइ त ?”

“उनीहरू त राति नै गाडी खोजेर लास मात्र लिएर गए ।”

“नानीका अरू कोही आएका थिए ?”

“दुई जना छोरा मान्छे र एक जना आइमाई थिइन् । आज डाक्टरहरूले नानी पाल्न चाहने इच्छुकले सम्पर्क गर्नू भनी नोटिसबोर्डमा सूचना प्रकाशन गर्नुभएको छ ।”

सासूले एकचोटि सन्तोषीको अनुहारमा हेरिन् र नर्सलाई भनिन्- “एकचोटि त्यो नानी हेर्न पाइन्छ नानी ?”

“अवश्य पाइन्छ नि । बच्चाको डाक्टर आएपछि नानीलाई पनि जन्डिस छ कि जचाउनू भन्नुभएको छ डाक्टरले ।”

बच्चालाई देख्दा धेरै माया लाग्यो सन्तोषीकी सासूलाई ।

“मेरा छोराबुहारीको नानी छैन । हामीलाई नानी चाहिएको छ । हामी एकछिन सल्लाह गर्छौँ । त्यति बेलासम्म नानी कसैलाई नदिनुहोस् ।” डाक्टरसित सन्तोषीकी सासूले बिन्ती गरिन् ।

केही समयपछि नानी बोकेर सन्तोषी सुतेको कोठामा पस्दै सासूले भनिन्- “हेर त बुहारी यो नानी त तिमीजस्तै पो लाग्यो मलाई त ।”

सन्तोषी उठेर बसिन् । सासूले नानी काखमा हालिदिँदै भनिन्- “यो त हाम्रो कौब्रु भोलेबाबाको महाप्रसादी र आशीर्वाद होला है बुहारी ?”

सन्तोषीका आँखाबाट हर्षका आँसु झरे । सासूको माया देखेर भावुक बनिन् ।

डाक्टरसितको कुरा सुनाएपछि दुवै सासूबुहारीले रोमनले माने भने नानी गोद लिने निणर्य गरे ।

“रोमनलाई अहिले फोनमा केही नभन्नू है बुहारी ।” भन्दै सासू निस्किएर गइन् ।

 

 

“मैले कुरा छिनफान गरी आएँ डाक्टरसित । बुहारी कस्तो चमत्कार भयो है । भोलेबाबाकै कृपा हो कि यो ? यो बाबु त हाम्रै भाग्यमा आएको जस्तो लाग्दैछ मलाई । अनि बुहारी अघि नर्सले भन्दा तिम्रो मनमा केही विचार आएको थिएन ?”

“आएको त थियो तर अर्काको खुनको वंश भन्नुहुन्छ कि भन्ने डरले चुप लागेर बसिरहेँ ।”

“यति राम्रो नाति भेट्दा कसले खोज्ने वंश । यही नै भो आजबाट हाम्रो वंश ।”

“नर्स आएपछि नानीलाई नुहाउन लगाऊ । म फट्टै पसल गएर नानीलाई चाहिने सामग्री किनेर झट्टै आउँछु । ए… म गएपछि रोमनलाई फोन नगर्नू नि भरे छकाउनुपर्छ ।”

कहिले पाँच बज्छ र रोमन आउँछ भएको छ सासूबुहारीलाई । नर्सले नानीलाई च्याट्ट पारी सन्तोषीका नजिकै रहेको कोक्रामा सुताइदिइन् । नानी भेटेकामा सासूबुहारी खुसी भएका थिए ।

रोमन अफिसबाट सिधै अस्पताल आए । मोबाइलमा कुरा गर्दै कोठामा पसे । कोक्रो देखेर अर्कै कोठामा पसेजस्तो लागेछ क्यार ।

“सरी, गल्ती भयो ।” भन्दै बाहिर निस्के ।

“के को सोरी हौ ! आमा र बुढी पनि चिन्न छोडिस् कि क्या हो ?” आमाले कोठाभित्रैबाट भनिन् ।

दङ्ग पर्दै भित्र पसेर हेरेको हेऱ्यै भए ।

यो नानी ?

“हिजो राति जन्मेको नि बाबु ।” आमाले भनिन् ।

“अनि बिहान म आउँदा त थिएन त ?”

“नर्सहरूले सुई लगाउन लगेका थिए होला नि ।” आमाले छोरालाई जिस्काउँदै भनिन् ।

रोमन कहिले आमातिर त कहिले सन्तोषीतिर हेर्थे । अनि नानीलाई हेर्दै छक्क पर्थे । मनभित्र हजार प्रश्न चलिरहेका थियो तर वाक्य फुट्नै सकेको थिएन रोमनको ।

“के हेरिरहेको ? यसो नोट निकालेर नानीको नजर उतारेर छोरोको मुख हेर्दैनस् ?”

“हैन आमा यो कसरी ? मेरो त दिमागले नै काम गर्न छोड्यो । भन्नुहोस् न आमा प्लिज ।”

“यो त भोलेबाबा कौब्रुको महाप्रसाद हो ।” भन्दै नानी कोक्राबाट निकालेर आमाले रोमनलाई दिइन् ।

“त्यही त भन्नुहोस् न कसरी यो सबै ?”

रोमनलाई साह्रो पऱ्यो भनेर आमाले सोचिन् र बिहानदेखिका सबै वृत्तान्त सुनाइन् र भनिन्- “बाबु के हामीले गलत निणर्य लियौँ कि ?”

“आपुइ होइन नि आमा, हजुरले त कति हो कति उत्तम कार्य गर्नुभयो । यो बाबु त हाम्रो भाग्य हो । भगवान्‌को आशीर्वादले हाम्रो झोलीमा हालिदिनुभयो । म त कति हो कति धेरै खुसी छु । सन्तु तिमीलाई कस्तो लाग्दै छ ?”

“नानी मेरै छेउमा सुतेको छ र पनि सपनाजस्तो लागिरहेछ  । अब घरमा बाबा र बहिनीलाई पनि सुखद खबर सुनाइदिनुहोस् । कुदेर आइपुग्नुहुन्छ । मेरो बिमारी पनि अब त सबै निको भयो ।”

डाक्टर र नर्स कोठामा आएर रोमन र सन्तोषीलाई छोरो गोद लिएकामा बधाई दिए र भने- “नानीलाई जन्डिस भएको रहेछ । अझै तीन-चार दिन जति अस्पतालमै राख्नुपर्छ जस्तो छ ।”

“अघिको कागजमा उहाँहरूले सही गरिदिनुभयो ?” डाक्टरले नर्सलाई सोधे ।

“ल म त नाति भेटेको खुसीमा बिर्सेछु । कागज त मसँगै छ ।” भन्दै आमाले कागज निकालेर दिनुभयो । दुवैले सही छ छैन हेरी डाक्टरले जिम्मा लिए ।

रोमनले खुसी हुँदै भने- “यो सबै हजुरहरूको आशीर्वादले हो । म बिहानको नास्ता सबै स्टाफलाई खुवाउन चाहन्छु छोरो पाएको खुसीमा, हुन्छ होला सर ?”

“हुन्छ नि । खुसी बाँड्न किन नहुनु । धेरै खर्च नगर्नुहोस् चिया भए भइहाल्छ ।”

पाँचौँ दिनको बिहान उनीहरू अस्पतालबाट डिस्चार्ज भई घर फर्किए । घरमा सबै जना खुसी देखिन्थे ।

एघार दिनका दिन धुमधाम न्वारन गरे । शिवजीको वरदान भन्दै नानीको नाम शिव नै राखे ।

“आमा बाबालाई ठूलो भएर धेरै पढेर माया गरी पाल्नू है बाबु ।”

“आफ्नै छोराछोरी त आफ्ना हुँदैनन् । पालेकाले के गर्ला !

अर्काको बाच्छा चाटी मुखभरि रौँ । यो के को दुःख बिसाएको हो ?”

“निरोगी हुनू धेरै पढ्नू र बिगार कहिल्यै नगर्नू ।”

“आफ्नो रगत भए पो माया हुन्छ । के को दुःख बेसाएको ।”

“सन्तोषी यो नानीको साँच्चै माया लाग्छ ?”

न्वारनमा आएर यसरी आशीर्वाद दिने र कुरा काट्नेहरू पनि देखिए ।

आशीर्वादका वचनले मन खुसी भए पनि कुरा काटेको सुन्दा सन्तोषीको मनभित्र ज्वालामुखी फुट्न आँटेको थियो ।

पाहुनाहरूलाई यो नानीको महत्त्व के थाहा ? यो घरको नानी चिराग हो भनी ।

रोमनकी आमा कसै-कसैलाई भन्दै थिइन्- “यो त वंश हो हाम्रो । हजुरहरूले के ठान्नुभएको । यो मेरो नाति हो । हजुरहरूले आशीर्वादमा दिएका वचनहरूले हामीलाई घायल पक्षीजस्तो बनाइरहेको छ । यो बाबु हाम्रा निम्ति सबैथोक हो ।”

यसरी समय बित्दै गयो ।

शिव चार वर्षको भयो ।

शिवलाई स्कुलमा भर्ना गरे । शिवलाई स्कुल ल्याउने लाने सबैको घरमा हानथाप हुन्थ्यो । घर आइसक्दा शिवले टुटेफुटेको रायम्स सुनाएर सबैलाई गदगद पार्थ्यो । रौनक छाएको थियो रोमन र सन्तोषीको जीवनमा पनि ।

समयको बहावसँगै शिव कक्षा चारसम्म पुगिसकेको थियो । एकदिन सन्तोषी र शिव स्कुलबाट खुसी हुँदै आउँदै थिए । बाटामा एक परिचित महिलासित भेट भयो ।

महिलाले भनिन् –“यो हजुरले पालेको, मेरो मतलब तपाईँले नजन्माएको छोरो होइन ? कति छिटो यत्रो भइसकेछ ।”

सन्तोषीलाई दुःख र रिस एकैचोटि उठ्यो ।

सन्तोषीले भनिन् –“के बोल्नुभएको बित्थ्याको कुरा । मेरो छोरो भन्दा भएन ?”

शिवले छक्क परेर आमाको मुख हेरिरहेको थियो । शिवको हात समाउँदै सन्तोषीले रिसाएर मुरमुरिँदै कड्किएर भनिन्- “के के सोध्न मन लाग्छ बीच सडकमा मान्छेलाई !”

घर आउनेबित्तिकै बाथरुममा पसेर धेरै रोइन् सन्तोषी । भारी मन बनाएर भान्सामा पसेर ग्याँस बालिन् ।

एक्लै बोलिरहिन्- “मैले जन्म त दिइनँ तर के एउटा आमाको जिम्मेवारीमा कमी भएको छ र ? कति रात अस्पतालमा बाबु बिरामी हुँदा आँखा झिमिक्क नगरी काटेकी छु । के त्यसमा आमाको ममता थिएन र ? बाबुलाई सानो चोट लाग्दा यो मुटु चिरिन्छ आज पनि । यो आमाको ममता होइन र ? किन त्यो कलिलो हृदयमा जहर भरिदिन्छन् मान्छे ? मेरो छोरा भनिदिँदा के हुन्थ्यो होला र ?”

अचानक रोमनले पछाडिबाट झकझक्याउँदा मात्र आत्तिँदै “हँ” भनिन् ।

“के गरेकी ? ग्यास बालेर उभिरहेछौ त । कतिचोटि बोलाएँ । कान नै नसुन्नेजस्तो । के सोचिरहेकी छौ ?”

“केही होइन । हजुर फ्रेस हुनुहोस् म नास्ता लिएर कोठामा आउँछु ।”

चिया नास्ता लिएर कोठामा पस्नेबित्तिकै रोमनले सोधे -“किन आज सन्चो छैन कि ? मुखै अँध्यारो देख्छु त सन्तु ।”

“हैन । मलाई सन्चै छ तर धेरै दुःख र डर लागेको छ ।”

“किन, कसैले के भन्यो र डराएकी ?”

आज स्कुलबाट आउँदा एउटी महिलाले बाटोमा भनेका कुरा सबै सुनाइन् रोमनलाई ।

“भन्न देऊ न, भनेर के हुन्छ ? छोरो त हाम्रै हो ।”

“कति सहजै भन्नुभएको । शिवले सधैँ यस्तो सुनिरह्यो भने उसको मन बदलिन सक्छ, हामीलाई माया गर्दैन । अनि हामीलाई एकछिन खेल्न जाँदा कति बेला देख्नुजस्तो हुन्छ । उसले घृणा गरे हजुरलाई पीर लाग्दैन र ? यही सोच्दा डर लाग्छ ।”

“भन्नेको मुख थुन्न सकिँदो रहेनछ । मैले कतिलाई त भनिसकेँ, तैपनि भन्छन् । हजुरको छोरो कस्तो छ भन्दा के हुन्छ ? हजुरले पालेको, नासो, नजन्माएको छोरो कस्तो छ भनी सोध्ने गर्छन् मसँग पनि । अब कसो गरौँ त बसाइँ सरौँ कि ?”

“हामी आमाबाबा भएर छोराको भलाइ सोच्नुपऱ्यो । अन्तै टाढा होस्टेलमा राख्नुपर्छ होला ?”

“बाबुबेगर बस्न सक्छौ तिमी ? आमाको झन् कस्तो हालत हुन्छ होला ? एकछिन नाति नदेख्दा रक्तचाप बढेर रोगी हुनुहुन्छ ।”

“हामीले शिवको भविष्यबारे सोच्नुपर्छ । मलाई किन पालेको भनेको मम्मी ? मलाई आज शिवले सोध्दै थियो । तिमीलाई जिस्क्याउनुभएको हो । तिमी त हाम्रो प्यारो छोरा हौ भनेर मैले भनेँ तर उसले चित्त बुझाएको थिएन । राति शिव सुतेपछि आमाबाबासित सल्लाह गरौँ । अहिले त खेलेर आउने बेला भयो ।”

आमाले कुरा सुन्नै मान्नु भएन । “भन्न देऊ न कति दिन भन्दछन् । त्यस्ता पछि आफैँ चुप लाग्छन् । मान्छेले भने भन्दैमा आफ्नो कर्तव्य भुल्न हुँदैन ।”

धेरै लामो बहसपछि शिवलाई खरसाङको होस्टेलमा राख्ने निणर्य भयो । जसोतसो गरी शिवलाई होस्टेलमा राखेर आए पनि तर घरमा सबै मणि हराएको सर्पजस्तै भए ।

सबै निस्ताएको देखेर रोमनले सम्झाए- “तिमीहरू यसरी भातै नखाई बस्ने हो भने म भोलि नै गएर शिवलाई ल्याउँछु । मायाँ मलाई लाग्दैन र ? उसको भविष्य पनि त हेर्नुपर्छ ।”

“हामी पनि बाबुको भविष्य राम्रो चाहन्छौँ तर के गर्नु र यो मन मान्दैन नि । अलिक दिनपछि बिस्तारै बानी पर्छ ।”

उनीहरू छुट्टीका बेला शिवलाई घर ल्याउने गर्थे र धेरैजसो उतै गएर छुट्टी बिताएर आउने पनि गर्दथे सन्तोषी र रोमन ।

सेवानिवृत्त भएपछि उतै शिवसित बस्ने हिसाबले एउटा घर बनाइसकेका थिए । अहिले छुट्टीमा जाँदा बस्न सुविधा भएको थियो । सबै लुकाउन सकिन्छ तर डर लुकाउन अत्यन्तै गाह्रो पर्दो रहेछ ।

दिन बित्न कति लाग्दो रहेछ र । शिवले बाह्र कक्षा पास गरे ।

“अब के पढ्ने विचार छ ?” रोमनले शिवलाई सोधे ।

“एलेक्ट्रोनिक इन्जिनियरिङ पढ्ने विचार छ ।” शिवले भने ।

सबैले सल्लाह गरी चेन्नाइमा पढ्न पठाउने पक्का गरे । अगाडिबाटै टिकट गरी सन्तोषी र रोमनले शिवलाई लिएर चेन्नाइ गए । शिवका लागि बस्ने व्यवस्थापन गरे । अलिक दिन घुमघाम गरी कलेजमा भर्ना पनि गरे । शिवका लागि आवश्यक सामान किन मेल गरिदिए । शिवलाई छोडेर सन्तोषी र रोमन मणिपुर फिर्ता भए ।

“सत्य लुकाउन साँच्चै गाह्रो हुँदो रहेछ । चोरको खुट्टा काट् भन्दा खुट्टा तानेजस्तो छ हाम्रो हालत । छोरा घरमा आउँदा त खुसी लाग्छ नि । मनको डर लुकाउनु कति गाह्रो पर्छ नि आमा । धन्न यसपटक कसैले केही भनेनन् । अब अझै दुई वर्ष छ सिलगढी सर्न पनि त्यसपछि त ढुक्क हुन्छ । ना रहेगी बाँस, न बजेगी बाँसुरी, होइन आमा ?” रोमनले घरमा आएर ठूलो स्वास फेर्दै आमालाई भने ।

आफूले खाइ नखाइ गरेर भएपनि छोरालाई महिना बित्दै पैसा पठाउन बिर्सिँदैनथे । गर्मीको छुट्टी भएको थियो शिवको । कसैलाई घरमा नभनी शिव घर आए । सबैले शिवलाई देखेर छक्क परेर हेरेको हेऱ्यै भए ।

“के भयो बाबु ? यसरी केही खबर नै नगरी आयौ । सबै ठिकै छ नि ? कलेजमा पो केही भयो कि ?” रोमनले सोधे ।

“त्यस्तो केही भएको छैन । कलेजले पच्चीस दिनको गर्मीको बिदा दियो । हजुरहरूलाई किन दुःख दिनु भनेर साथीहरूसँग आएको । यसरी म आएको हजुरहरूलाई खुसी लागेन त ?” शिवले सोधे ।

“लाग्यो नि । अब त छोरो ठूलो र समझदार भएछ है, हाम्रो दुःख बुझ्ने ।” सन्तोषीले भनिन् ।

रातिको खाना खाएपछि एकछिन कलेजको कुरा गरेर शिवले आमासँग भने- “आमा, यही वर्षको अन्तिमतिर हामी सिलगढी सर्ने अरे ?”

“कसले भन्यो तिमीलाई ?”

“अस्ति आमाले फोन गर्दा भन्नुभएको थियो ।”

“किन तिमीलाई सिलगढी मन पर्दैन ?” रोमनले भने ।

“मेरो भनाइ त्यो होइन बाबा । म त खुसी छु जहाँ बसे पनि तर हाम्रो हजुरबुबा र हजुरआमालाई त्यहाँ मन पर्छ होला जस्तो मलाई लाग्दैन । उहाँहरू यहीँ जन्मिनुभयो । यहीँ साथीभाइ अनि आफन्त सबै छन् । त्यहाँ गएर नौलो ठाउँ । कता साथीभाइ, कता आफन्तहरू । यो बुढेसकालमा त्यहाँको गर्मी खप्न गाह्रो हुन्छ कि ?”

परिवारका सबै शिवको कुरा सुनेर छक्क परे तर बाध्यता पनि छ ।

छोरालाई यथार्थ सुनाउन नसक्ने, एक मनले शिवलाई सत्य कुरा भनिहालौँ लाग्दै थियो । आखिर कति दिन लुकाउनु ? अब त शिव जवान भए । परिवार अनि अधिकार र कर्तव्य उसको पनि त छ । सुनाउँदा अब त बुझ्ने पनि त भयो । यसरी रोमनका मनमा अनेक तर्काना आए ।

“हाम्रो नाति अब बुद्धिमानी भएछन् । हजुरबा र हजुरआमा गर्मी खप्न सक्दैनन् भनी पीर लागेछ ।” आमाले नातिको कपाल सुमसुम्याउँदै भन्नुभयो ।

धेरै बेरसम्म कोठामा सन्नाटा छायो । शिवले त बुझेका छन् । अब कुरा कहाँबाट सुरु गरौँ शिवले सोच्न थाले ।

“हजुरहरू कसैलाई त भित्री मनले सर्न रहर छैन । यो मजबुरी त म हुँ जस्तो लाग्छ मलाई ।” शिवले भने ।

शिवको कुरा सुनेर सबैको मुटु कसैले च्याप्पै निमोठिदिएजस्तै भयो । सबै छक्क परेर हेरिरहे ।

शिवले शिर ठाडो पारेर भनिरहे- “मलाई सबै कुरा थाहा छ । म स्कुल पढ्दै सबैले भन्थे- तँ किन फुटानी गर्छस्, तँलाई त भेटेर पालेको हो । यो सुनेर मेरो मन आतङ्कित हुन्थ्यो । त्यस बेला उनीहरूसित झगडा पनि गर्न पुग्थेँ । यसरी स्कुलमा सधैँ झगडा गर्दा प्रिन्सिपलले स्कुलबाट निकालिदिन्छन् भनी साथी विकासले मलाई एकदिन सम्झायो । त्यस दिनदेखि म चुप नै बस्न थालेँ । जब हजुरहरूले कालेबुङ होस्टेल राख्ने भन्नुभयो, त्यस बेला म हजुरहरूको छोरा होइन रहेछु भन्ने लाग्यो । त्यति बेलाको मेरो सोचाइ केटाकेटीकै थियो । अहिले म बुझ्न सक्छु हजुरहरूको मायाँ । मलाई केही थाहा नहोस् भनी यत्रो खर्च गरेर टाढा राखेर पढाउनुभयो । मेरो छुट्टी हुँदा त्यहीँ गएर धेरै ठाउँ घुमाई मलाई खुसी राख्ने कोसिस गर्नुभयो । जन्म दिने मात्र आमा हुँदैनन् कर्म दिने पनि सर्वश्रेष्ठ आमा हुन् । मलाई नजन्माए पनि मेरी आमा त सन्तोषी नै हुनुहुन्छ । जन्मेकै दिनदेखि मैले यी आँखाबाट आमाबाबाका रूपमा हजुरहरूकै दर्शन पाएको हुँ । यति धेरै माया गर्ने हजुरआमा, हजुरबाबा अनि आमाबाबा, फुपू हुँदाहुँदै मान्छेले जे भनुन् मलाई केही मतलब छैन । म हजुरहरूकै छोरो शिव हुँ । कसैले भन्दैमा के म हजुरहरूको हुन्न र ?”

शिवको कुरा सुनेर वर्खाको आकाशजस्तै गरी सबैका आँखाबाट अविरल धारा झरिरहेका थिए ।

शिव अझ भावुक हुँदै भन्दै थिए- “कालेबुङ राज्यको कलेजबाट पढाइमा म दोस्रो नम्बरमा आएको थिएँ । त्यो पुरस्कार समारोहमा जब उद्घोषकले मलाई सन्तोषी र रोमनका छोरा शिव छेत्री भनी बोलाउँदा मैले हजुरहरूको अनुहारभरि छरिएको मप्रतिको ममता देखेर मेरो गर्वले छाती ठूलो भएको थियो ।”

शिवले सन्तोषीको छेउमा गएर आँसु पुछिदियो ।

“होइन आमा कसैले कसैको भाँडामा चामल हालिदिन्न । सबैले आफ्नो मानो खान किन रुनु र किन डराउनु होइन त आमा ? म हजुरहरूको छोरो हुँ । तपाईंहरू नै मेरो भगवान्‌ हुनुहुन्छ । मैले थाहा पाउँछु भनेर हजुरहरूले आफ्नो छातीको धड्कन पर सार्नुभयो । कसैले भन्दा नाता तोडिने र जोडिने होइन । त्यो त कर्म, कर्तव्य र भावनाको कुरा हो । हाम्रो सम्बन्ध जन्मजन्मान्तरको छ ।”

सबै अँगालोमा बाँधिएका थिए । सबैका आँखा हिमनदीजस्तै रसाइरहेका थिए ।