
शब्दलाई धोएर कविताको खाकाभित्र छिराउन आउँदैन थियो मलाई । न त अहिले नै आउँछ सोचेजस्तो गरी । कविता र आख्यानको भाषा अलग-अलग हुन्छ भन्ने पनि थाहा थिएन । साँच्चै भन्नुपर्दा अहिले पनि यति नै फरक हो भन्ने थाहा छैन । के चाहिँ थाहा छ भनेँ हरेक सिर्जनामा कवितात्मक भाषाको प्रयोग हुन सके रचना सुमधुर बन्छ, लालित्यमय बन्छ । सिर्जना सरल, सरस तथा बोधगम्य हुनुपर्छ र यसले विचार, भाव र कला बोक्नुपर्छ भन्नेचाहिँ थाहा थियो पहिले नै र थाहासँगै थपिँदै गयो पछि कि तिनका अतिरिक्त सकारात्मक र सञ्चारयोग्य चेत पनि बोक्नुपर्छ रचनाले भन्नेँ । समयको नदी बग्दै जाँदा सँगसँगै बग्न बाध्य अनेकौँ अवयवहरूले सिकेझैँ थोरबहुत कुराहरू मैले पनि सिक्तै गएँ होला तर पनि सिकारुहरूमध्ये साह्रै कम सिक्ने मन्दपात्रमा पर्दो रहेछु म ।
आफ्ना तर्कप्रति कसैले प्रतिवाद गर्न खोजेमा ‘तैले के जानेको छस् ?’ भनेर अरूलाई होच्याउने चलन थियो रामनाथको । जोसुकैले जेसुकै विषय उच्चारण गरे पनि मानौँ त्यो विषयका ज्ञाता उनी नै हुन् भनेझैँ गरी विचार प्रस्तुत गर्थे रामनाथ । कतिपय अवस्थामा उनका विचारले विषयसँग भेट नै हुँदैन थियो तर अरूले त्यसो होइन भन्यो भने ‘तैले के जानेको छस् ?’ भनेर उल्टै रिसाएर हिँड्थे उनी । जो उनको विचारलाई ठीक हो भनेर सही थप्थ्यो त्यसलाई भने रामनाथ असाध्यै माया गर्थे । स्वभाव जस्तोसुकै भए पनि रामनाथका सिर्जनामा भनेँ केही दम थियो । विशेषतः उनी कविता, निबन्ध र कथा विधामा कलम चलाउँथे ।
कलेजको सूचना पाटीमा पूर्वाञ्चलस्तरीय अन्तरक्याम्पस निबन्ध प्रतियोगिताको सूचना टाँसिएको रहेछ । देख्नेबित्तिकै रामनाथ, अनुजा, वेदप्रकार र केही साथीहरू मिलेर च्यातचुत पारेछन् । मिति र लेख्नुपर्ने निबन्धको शीर्षक टिपेर पन्ध्रदिनसम्म तयारी गरी निर्धारित समयमा लेख्न क्याम्पसको हलमा उपस्थित भएछन् । कलेज बर्खे बिदामा भए पनि प्रशासन भने खुल्ला नै थियो । म पनि अफिसको कामले क्याम्पसमा टुप्लुक्क पुगेछु । कापी बाँडिसकेपछि सहायक क्याम्पस प्रमुख गङ्गाधर कट्टेल सर बाहिर निस्कनुभएको बखतमा मलाई देख्नुभएछ र ‘विष्णु निबन्ध लेख्छौ ?’ भनेर सोध्नुभयो । कस्तो, किन, कहिले, के शीर्षकमा भनेर सोध्दा ‘भित्र बस न, शीर्षक त म कालोपाटीमा प्रस्टै लेखिदिइहाल्छु नि’ भनेर हाँस्नुभयो । म पनि धक मान्दै-मान्दै भित्र पसेँ । दश-बाह्र जना साथीहरू कापीमा नाम ठेगाना लेखिसकेर घण्टी बज्ने समय कुरिरहेका रहेछन् । मलाई देखेर उनीहरू फिस्स हाँसे । गङ्गाधर सरले शीर्षक दिनुभयो ‘आजका युवा देश निर्माणका आधारशिला’ ,समय जम्मा एक घण्टा निर्धारित थियो । साथीहरूका कलमका बेगले तीव्रता पाएको देखिन्थ्यो । उनीहरूले पातो पल्टाए तर मेरो भनेँ चार लाइनको पहिलो अनुच्छेद पनि राम्ररी बनिसकेको थिएन ।
घण्टा बित्यो । साथीहरू कापी बुझाएर अघि नै निस्किसकेछन् तर गङ्गाधर सरले ‘लेख लेख तिमीलाई अझै पाँच मिनेट पर्खिन्छु म’ भन्नुभयो र मैले पनि टुङ्ग्याउन भ्याएँ ।
दुई दिनपछि डेरामा फोन आयो । यज्ञ गुरागाईँ सरले बधाई दिँदै कलेजबाट तिम्रो निबन्ध उत्कृष्ट भयो र अब यसलाई क्षेत्रमा पठाइँदै छ भन्नुभयो । म चकित भएँ । रामनाथ, तनुजा, वेद सबैलाई सम्झेँ । उनीहरूको तयारी पनि सम्झेँ । अनायास प्राप्त शीर्षकलाई परिभाषित गरी जाँचकीको हृदय जित्ने गरी लेख्नुपर्ने पहिलो अनुच्छेद लेख्न आफूलाई परेको सकस र निर्धारित अति कम समयलाई सम्झेँ । गङ्गाधर सरले मभित्र प्रतिभा छ भन्ने कुरा कसरी थाहा पाउनुभयो र लेख्न निकै कर गर्नुभयो त भनेर घोत्लिएँ । अनि आफूभित्र पनि केही प्रतिभाचाहिँ रहेछ नै भन्ने लाग्यो र हर्षित बनेँ ।
साता दिन नबित्तै कृष्णप्रसाद वस्ती गुरुले बधाई सहित ‘दोस्रो पुरस्कारका लागि क्षे.शि.नि. धनकुटामा उपस्थित हुने सूचना दिनुभयो । पहिलो भएछन् महेन्द्र मोरङ, विराटनगरका मित्र । भव्य समारोहबीच एउटा लामो खाम र ठुलो फ्रेमसहितको प्रमाणपत्र ग्रहण गरेँ । खामको बाहिर लेखिएको थियो ‘दोस्रो पुरस्कार– रु.२०००।–’ यो पुरस्कारराशिले पढाइमा देखिएको ठुलो आथिक गर्जो टार्यो भने उता प्रमाणपत्रले कलेजमा मलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याइदियो ।
यो जितलाई अरू साथीहरूले सहजै पचाए तर रामनाथले पचाउन सकेनन् । उनी भित्रभित्रै भुसको आगाझैँ जलेका थिए । नतिजाले उनको आशा, भरोसामा मात्र होइन अहंमाथि नै पानी फ्याँकिदिएको थियो । पन्ध्र दिनदेखिको मेहनत गङ्गाधर सरको एक बोलावटले चकनाचुर बनाइदिएको थियो । त्यसपछि रामनाथले मसँगको सम्बन्धलाई नजिकमा राख्नै चाहेनन् तर मलाई भने आफ्नो प्रतिभाको पहिचान भएको त्यो अविस्मरणीय क्षणलाई जीवित राख्न सबै साहित्यिक मित्रहरूलाई नजिकमा राख्नु थियो ।
केही समयपछि मैले मन्दाक्रान्ता छन्दमा एउटा देशभक्तिपूर्ण कविता लेखेँ । त्यो कविता प्रसारणका लागि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र देब्रेबास धनकुटा पुगेँ । त्यहीँ रामनाथसँग जम्काभेट भयो । उनी एउटा गीत लिएर पुगेका रहेछन् । सुरुमा त उनी तर्कन खोजे तर मैले बोलाइ नै हालेँ । उनी झसङ्ग भएको अभिनय गरी फर्किएर आए र साधारण कुराकानीकै क्रममा आफूले चौबिस वर्ष अगाडिदेखि साहित्यमा योगदान दिएको समेत भन्न भ्याए जबकि अहिले उनको उमेर नै चौबिस वर्षको थियो । रेडियो नेपालको बाहिरी चौरमा हामी पाँच-सात जना रचना वाचकहरू भेला भयौँ । त्यो मौका छोपेर साथीहरूले उनको योगदान कसरी भयो त ? भनेर उडाउने हिसाबले नै सोध्न थाले । उनी भने साँच्चिकै कस्सिएर यसरी प्रस्तुत भए ।
जब उनी जन्मे, उनका बाबु, काका ,छिमेकी आफन्त आदिले उनको चर्चा परिचर्चा गरे रे । अझ उनी गर्भमा आउँदा नै उनकी आमाको कुभिन्डो जत्रो पेटको पनि परिचर्चा भएको थियो रे । उनी हुर्कँदै गए । उनको तोतेबोली, उनको बालसुलभ क्रियाकलाप, मस्तिष्क र हाउभाउहरूको चर्चा परिचर्चा पनि भएकै थियो रे । अझ खास कुरा त उनका बाबु कवि थिए रे । उनका क्रियाकलापहरूका कविता लेखिएका थिए रे । यदि उनी नजन्मिएका हुँदा हुन् त ती कविताहरू लेखिने थिएनन् रे । त्यसैले उनी जन्मनुभन्दा पहिलेदेखि नै उनको योगदान साहित्यमा सुरु भइसकेको थियो रे ।
जब उनी पढ्न थाले उनले धेरै साहित्यकारका पुस्तक, लेख रचना आदि पढे रे । कसैले लेखेर र कसैले पढेर साहित्यको उत्थान हुने भएकाले उनले पढेर योगदान दिए रे । उनी तर्क गर्छन् कसैले पढिदिएन भने लेखक कसरी लेखक बन्न सक्छ ? कविले कसरी सम्मान पाउन सक्छ ? डक्टरी पढेर मात्र के काम कोही सेवा नै लिन आउँदैनन् भनेँ । शिक्षक बनेर के काम जसको ज्ञान नै कसैले लिँदैनन् भने । त्यसैले अरूका रचना पढ्नु साहित्यमा ठुलो योगदान गर्नु हो र मैले त्यो गरेँ । जब उनी दश वर्ष नाघे तब उनले साहित्यको रचना पनि गर्न थाले । त्यसपछि त उनी प्रत्यक्ष रूपमा कुनै साहित्यिक कार्यक्रममा भाग लिन जान थाले र आजसम्म पनि यो क्रम चलि नै रहेको छ भने के यो चौबिस वर्षको योगदान हैन ?
उनले अर्को कुराको पनि खुलासा गरे । त्यो के रहेछ भने केही वर्षअघिदेखि उनलाई कसैले कार्यक्रममा बोलाएमा उनी आउजाउ खर्च, मायाको चिनो, खादा, आफ्नो दिनभरिको भरणपोषण र थप पारिश्रमिकको समेत माग पहिले नै गर्छन् रे । आयोजकले कुनै जिज्ञासा उठाएमा उनी त्यही कुरा तेर्स्याउने गर्छन् रे कि चौबिस-चौबिस वर्ष त सित्तैमा योगदान गरियो नि, अझै कति गर्ने हामीहरूले मात्र ? अब पनि पारिश्रमिक नमाग्ने ? हाम्रोचाहिँ जीवन होइन ? चल्नु पर्दैन ? हाम्रो योगदानको मूल्याङ्कन खोइ ? मूल्य खोइ ? आफू धेरै हलुका भइयो भने आफ्नो मूल्य हराउँछ । के अरूले आफूलाई सधैँ प्रयोग मात्र गरिरहने ? हामीले उपभोग गर्ने दिनचाहिँ आउँदैनन् ?
साहित्यमा योगदान दिने मानिस निश्चय नै लोभी हुँदैन, पापी हुँदैन, दम्भी, घमण्डी हुँदैन भन्ने सोचाइ थियो मभित्र । सोचाइ सत्य नै हुनुपर्छ भन्ने पनि होइन र हुनु हुँदैन भन्ने पनि छैन तर आफ्नो बनिबनाउ दृष्टिकोणभन्दा यथार्थ निकै भिन्न पाउँदा मन निकै शिथिल भयो । समयले मान्छेलाई चिनाउँदै जाँदो रहेछ र चिन्दै गइँदो रहेछ पनि । चिन्ने क्रम बढ्दै जाँदा आफूलाई समाजको अग्रपङ्क्तिमा उभ्याएर नैतिक ज्ञानको प्रशिक्षण दिने प्रशिक्षकहरू, साप्ताहिक पत्रिकाका स्तम्भकारहरू, महाकाव्यसहित दर्जनबढी कृति प्रकाशित गरिसकेका क्रान्तदर्शी भनाउँदै हिँड्ने महाकविहरूलाई पनि यही कोटिमा पाएपछि मन झसङ्ग भयो । प्रश्न नै प्रश्न उब्जिए मनभरि । वास्तविकता यदि यही नै हो भने साहित्यकार बन्नुभन्दा राजनीतिज्ञ बन्नु श्रेयस्कर रहेछ भन्ने लाग्यो मलाई । किनकि राजनीतिज्ञहरूमा कमसेकम साहित्यकारहरूमा भन्दा त केही फराकिलो सोच पाइन्छ ।
एक पित्को दिमागभित्र साम, दाम, दण्ड, भेदका अतिरिक्त ईर्ष्या, दम्भ, घमण्ड र चाप्लुसीसमेत बोकेर पैसा पैसा पैसा, पुरस्कार पुरस्कार पुरस्कार, सम्मान, मान, हजुरी जप्तै खुलेआम हिँडिरहेका छन् साहित्यकारहरू किन ? साहित्यिक संस्थाका सिरानीमा सिमको किलाजस्तो भएर बस्ने र मागेर भेला गरेको कोष दुरुपयोग गर्दै पुरस्कार साटासाट गरिरहेछन् किन ? कसैको पुस्तकमा शुभकामनाका दुई शब्द लेखिदिन घुँडा टेकेर अनुरोध गर्दा पैसा दिए पन्ध्र मिनेटमा नदिए वर्ष दिन बितिसक्ता पनि भ्याउँदैनन् किन ? कम्प्युटरमा फरम्याट तयार गरेर राख्ने र जसले भूमिका लेख्न लगाए पनि कारिन्दाबाट व्यक्ति र पुस्तकको नाम परिवर्तन गराई तोकिएको दाम लिएर आफ्नो हस्ताक्षर बेच्छन् किन ? मन परेको, दाम चढाएको छ भनेँ स्तरहीन लेखक भए पनि देवताको कोटिमा उकालेर खोपीमा राख्ने र नपरेको, दाम नचढाएको, हजुरी नगरेको तर स्तरीय लेखक छ भनेँ पनि मञ्चबाट नै नाङ्गेझार बनाएर, खाल्डो खनेर कहिल्यै नउठ्ने गरी माटामुनि पुग्छन् किन ? वास्तविक साहित्यकार पुरस्कारको मुख नदेखी मृत्युवरण गर्छ तर दबदबा भएका गैरसाहित्यिक व्यक्तिहरूलाई पनि भएभरका साहित्यिक पुरस्कारहरूको ओइरो लगाइन्छ किन ? सेवा गर्न उद्यत सक्रिय व्यक्तिलाई लात हानेर पाखा फालिन्छ र जाति, धर्म, लिङ्ग, वर्ण, मोलाहिजा, दौलत, राजनीति, नाता आदिका आधारमा साहित्यिक संस्था नामका झुण्डहरू खडा गरिन्छन् किन ? पुरस्कारको राशि धेरै पैसाको देखे अनेक तिकडम अपनाएर हात पार्ने तर थोरै पैसाको देखे अनेक बहानाबाजी गरेर तिरस्कार गर्छन् किन ? दौलतले भरिपूर्णभएका स्तरहीन लेखकहरूबाट पुरस्कारको रकमभन्दा बढी घुस भित्रभित्रै लिएर पुरस्कार बेच्छन् साहित्यकारहरू किन ? नाजायज तरिकाबाट कुम्ल्याएको धन संस्थामा हुलेर पुरस्कारका नामबाट आफैँ ग्रहण गर्छन् साहित्यकारहरू किन ? साहित्य विकासका नाममा सरकारले छुट्याएको रकम मनमोजी विनियम तयारगरी आफैँमात्र छनौटमा पर्ने व्यवस्था गरी कप्लक्क कप्लक्क खान्छन् साहित्यकारहरू किन ?
रामनाथका कुराले मलाई साहित्यभित्रका विकृतिहरू पहिल्याउने आँखा दिएको थियो । त्यही आँखाले हेर्दा मैले उपर्युक्त प्रश्नहरूका अतिरिक्त सयौँ विकृत अनुहारहरू पनि जहाँ पुग्यो त्यहीँ देख्न सकेँ तर उनको आँखाले हेर्नुभन्दा पहिले मैले मेरै आँखाले हेर्ने प्रयत्न गरेँ । हेर्दै जाँदा सबै साहित्यकारहरूमा रामनाथ प्रवृत्ति देखिएन । मेरो मस्तिष्कमा बनिबनाउ साहित्यकारको परिभाषाजस्तै साहित्यकारहरू पनि प्रशस्त पाएँ मैले । उनीहरू यस्ता कुकृत्यहरूतिर कहिल्यै फर्किएर हेर्दैनन् । कल्पना पनि गर्दैनन् । निरन्तर आफ्नो कर्ममा लागिरहन्छन् । साहित्यकै अनुष्ठान गर्छन् । त्यहीँ रमाउँछन्, हाँस्छन्, खेल्छन् र खुसी हुन्छन् । सेवाबाहेक उनीहरूको अन्य कुनै ध्येय छैन, लक्ष छैन उद्देश्य छैन तर रामनाथहरू अझै पनि पैसा पैसा भनिरहेछन् । कसको पुच्छर समाउँदा कहाँको पुरस्कार हात पार्न सकिन्छ उनीहरू त्यही दाउमा लागिरहेका छन् र तिनीहरूको गोडा मोलिरहेका छन् । तिनीहरूलाई मोटरसाइकलको पछाडि राखेर बर्सौँ पहिलेदेखि हजुरीमा दौडिरहेका छन् । लक्ष पूरा हुनेबित्तिकै तिनीहरुलाई तिलाञ्जलि दिइरका छन् र अर्का मुन्सीको पुच्छर समाउन पुगिरहेका छन् । अहिले मात्र थाहा पाउँदै छु, यस्ता रामनाथहरू त साहित्यमा मात्र होइन समाजका हरेक क्षेत्रमा उत्तिकै छ्यापछ्याप्ती दौडिरहेका रहेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

