सभागृह दर्शक, श्रोता, लेखक, साहित्यकार र चिन्तकहरूको उपस्थितिले टन्नै भरिएको थियो । प्रतिभा पनि आजको कार्यक्रममा सहभागी हुन आएर मञ्चको निर्दिष्ट आसनमा बसेर आकाशपातालका कुराहरू सोचिरहेकी छिन् ।
यसपालि साहित्य विधामा राष्ट्रिय पुरस्कार थापेकी प्रतिभा, प्रतिभा देवी चापागाईँ ।

कति नानीहरू घिच्रो तानेर ती त्यत्रो ठूलो पुरस्कार पाउने हाम्रै गाँउकी, उनीहरूको कक्षामा सँगै पढ्ने सहपाठी निर्मलकी आमा हुन् भन्ने थाह लागेर पनि उनलाई हेर्न तम्सिएको भान हुन्छ । यत्रो ठूलो सभामा कस्तो-कस्तो राम्रो साडीमा सजिएर दामी गरगहना पहरिएका भारी ज्यान भएका स्रीपुरुष छन् । सबैले तिनै मर्न आँटेजस्तो च्याखुरे ज्यान भएकी प्रतिभालाई हेर्छन् । गुनगान गर्नमा व्यस्त रहेका छन् । ससाना विद्यार्थीहरूको कौतुहलता मनमनै मडारिएको छ । पछि-पछि धेरै पढेर म पनि यस्तै सबैले मानसम्मान गर्ने, समाजका बीचमा सबैका निमित्त आदर्श मानिएको मानिस हुन्छु भन्ने कति-कति कल्पना गर्नेहरू त्यहाँ भित्रै थिए । एउटा  मौन आन्दोलन तीव्र छ तर शान्त छ । आजको सभामा पनि उनै चापागाईँ महाजन सभापतिको आसनबाट बोल्दै छन् ।  अनपढ भए पनि सभा समिति अनुष्ठान प्रतिष्ठानलाई मोटो रकमको आर्थिक सहयोग गरी आएका चापागाईँ परिवारको मुखिया गाँउका पनि मुखिया नै हुन् । आज फेरि उनकै बुहारी प्रतिभालाई छुट्टै सम्मान गर्ने कार्यक्रम रहेको हुँदा आयोजक समितिका संयोजक एवं कार्यकर्ताले उहाँलाई सभापतिका रूपमा राख्नु अझ राम्रो हुने सोचेको हो ।

पूर्णकुमार शर्मा (असम)

सभापतिको आसनबाट कार्यसूची सञ्चालन हुँदै आएर विशेष संवर्द्धना ग्रहणका निम्ति प्रतिभालाई निर्दिष्ट स्थानमा उभ्याएर खादामाला र प्रशंसा पत्रादि दिएर सम्मान गरियो । उद्घोषकको भनाइ र विशिष्ट समाजकर्मी चापागाईँ महाजनको भनाइमा प्रतिभा हाम्रो गाँउ, सहर, जिल्ला, राज्य मात्रैको नभएर हाम्रो राष्ट्रकै निम्ति पनि गौरव हुन् । यति कुरा भन्नुपर्दा महाजनले मुटुमा दह्रो चप्लेटी ढुङ्गो थामेको कसैले नदेखे पनि प्रतिभाले अनुभव गरेकी थिइन् । उनको सहनशीलता, धैर्य, लगनशीलता मेहनती कलमले आज हाम्रो जाति समेत देशको शिर उचा भएको छ भन्दै मन्त्री र एमएलएहरूले पनि धेरै गुनगान गरेर गए । पुरस्कारप्राप्त प्रतिभाको परिचय राष्ट्रव्यापी भयो । नानीहरूले यत्ति कुरा छर्लङ्ग बुझे सभामा । सभाको समापनपछि आयोजक समितिका पक्षबाट प्रतिभालाई ससम्मान गाडी चढाएर घर पुऱ्याइयो । घर पुगेर धेरै वर्ष छातीको पोखरीमा जमेको दुःखकष्ट र पिरमर्का आँसु भएर बगे, बगिरहे बगिरहे । छोरो निर्मलले भोक लाग्यो आमा भन्दा मात्रै ऊ थाम्मिएकी थिइन् ।

प्रतिभाले जीवनको एउटा युद्ध जितेकी छिन्, एउटा दुःखी जीवनभित्र पालिएको उनको गर्भको प्रतिभाले आज स्वीकृति पाएको छ । उनका निम्ति सबैभन्दा ठूलो उपलब्धि यही हो आजको दिनमा । पुरस्कारमा कति लाख रकम रहेको छ, पुरस्कारप्राप्त समाचार छरिएपछि कतिले फोन गरे, कतिले आजन्म नदेखेको उनको घरको सिकुवा टेके, बधाई र आशीर्वाद दिने कति आए गए त्यसको लेखा जोखा रहेन, समाचारपत्र र टेलिभिजनका मानिस पनि उत्तिकै आएर फोटो खिचेर लगे । यी कुनै कुराले प्रतिभालाई असर पारेको छैन जति उनको प्रारम्भिक साहित्य चर्चा गर्ने समयमा विपरीतधर्मी विचार, अत्याचार र कटुवचनयुक्त बाधाहरूले विगतमा असर गरेको थियो ।

एकदिन मास्टर छोराका निम्ति चापागाईँ महाजनले बुहारी रूपमा प्रतिभालाई यस घरमा भित्र्याएका थिए । संस्कारपूर्ण परिवारबाट धनी सम्पन्न परिवारमा शिक्षक पति पाएर आएकी प्रतिभा उस बेला सबैका नजरमा भाग्यमानी ठहरिएकी थिई । समयमा सन्तान पनि भए तर प्रतिभा यी सबै कुरा पाएर पनि सन्तुष्ट थिइनन् । उनी आफ्ना मनमा जुर्मुराएका भावना पोख्न चाहन्थिन्, घरको काम सकेर कविता र कथा कोर्ने माइतीघरको अभ्यासलाई निरन्तरता दिन चाहन्थिन् । उनको शिक्षाको  देन अरू सबैमा काम लागोस् भन्ने चाहना राख्थिन् । उनले बेहुलीका रूपमा आँउदा उनको लेख र कविता लेखिएको पुरानो डायरी लिएरै आएकी थिइन् । समय पर्दा लुकाई छिपाई त्यो डाएरी पल्टाएर हेर्ने र नयाँ सिर्जना गर्ने गर्थिन् । प्रतिभाभित्र एउटा कवि साहित्यकार कतै न कतैबाट प्रकाशित हुने झ्यालको मुखमा हुन्थ्यो तर यो कुरा धेरै दिन लुकीछिपी रहेन । क्रमशः सबैमा जानाजान भयो । प्रतिभाको लोग्ने मास्टर त हुन् तर चापागाईँ परिवारमा भएको एकमात्र शिक्षित र  बाबुको महाजनगिरीमा मास्टरी पाएको हुँदा, स्कुलमा मात्र हैन, तास जुवा,जाँड रक्सी सबै खाले कुरामा मास्टर हुँदै गएको थियो । आफ्नो पतिको यो रूप बदल्न उनले यस लेखनको माध्यमबाट पनि सुधार गर्न सकिन्छ कि भन्ने सोचेकी थिइन् तर उनको मास्टर लोग्ने भने स्वास्नीको यस्तो लोलोपोतो कविता र के के यी पटक्कै मन नपराउने । कुवचन र दुर्व्यवहार मात्रै होइन,प्राय दिनहुँ प्रतिभाले बिनादोषै कुटपिट खपेकी थिइन् । कसैलाई भन्नु उपाय थिएन । सासू उनलाई झन् देख्नै नसक्ने । आइमाईले पढ्न स्कुल जानै हुँदैन भन्ने समयकी बुढी, बरु जगटा छर्ने मौकामा हुन्थिन् । ससुराले प्रतिभा माइत गएको मौकामा त्यो कविता र के के कोरेको डायरी एकदिन जर्सी गाईको खोले पकाउने अगेनामा आगो दन्काएर स्वाहा पारिदिएछन् । त्यो डायरी हराएपछि प्रतिभा  आफ्नो कोखको सन्तान हराएको जस्तो बौलाही भइसकेकी थिइन् तर धैर्य धारण गरिन् । त्यस्तैमा एकदिन जहरिलो रक्सीको सराप परेर प्रतिभाको सिन्दुर पुछियो । चापागाईँ महाजन र आफन्तले मिलेर समाजकर्मी, शिक्षक, होनहार व्यक्तित्व, यस्तै धेरै उपाधि थोपरेको ठुलो स्मृति ग्रन्थ निकालेर रक्सिया छोराको वार्षिक श्राद्ध गरे । मानिलिऊँ उसको पतिको मानसिक सुस्वास्थ्यको उत्तरदायित्व वहन गरेको छ त्यस स्मृतिग्रन्थले ।

यता यस अलच्छिनाले हाम्रो छोरो टोकेर खाई भनेर घरमा सधैँ घोक्राइमुन्ट्याइ गर्न थाले । अन्त्यमा प्रतिभालाई छुट्टै बस् तैँले हामीलाई बिहानबेलुकी  तेरो कुलच्छिनी अनुहार नदेखाउनू भनेर छुट्याइदिए । साह्रै दुःखकष्ट गरेर त्यो सानी नानी लिएर  प्रतिभा गाईगुहालीको एकाछेउमा बारिएको कटेरोमा  बसेर जीवन धान्न बाध्य भएकी थिएन् । माइतीबाट एउटा कपडा सिलाउने कल ल्याएर त्यसकै भरमा एक छाक खाएर जीवन धान्नुपरेको थियो हिजोसम्म प्रतिभाले । उसको मनमा मानिसको जीवन पनि एउटा कपडा, एउटा कैँची र सियो धागोसँग सम्बन्धित छ भन्ने लाग्छ । कसैले यस जीवनमा कैँचीले झैँ सिङ्गो घरपरिवार कपडाझैँ च्यारच्यार काटेर टुक्रा-टुक्रा पारिदिन्छन् त कसैले टुक्रा-टुक्रा कपडा जोडेर भत्किएको घरबार जोडिदिन्छन् । मेरो त टुक्र्याउने कैँची सिँदुरमै आएको रहेछ । यस्तै सोचेर प्रतिभा डराइनन्, दुखहरू खपिन् । उनले सोचिन्  मलाई जति दुःखकष्ट परे पनि यो टुक्रेको घर यिनै सियोधागोले सिएर जोडी छाड्नेछु भन्ने कुरा मनमा गुनेर काम गरिरहिन् ।

मनको वह, समाजको विसङ्गति, बाहिर ठुलो समाजकर्मी शिक्षित भलाद्मी देखाउने यस्तो उस्तो गर्नुपर्छ भन्ने र निजी जीवनमा भ्याए र सकेसम्म शोषण र अत्याचार गर्ने मुखुन्डाधारीमाथि उनले कलम चलाउने काम दिनरात गरि नै रहिन् । प्रत्येक अत्याचार र उत्पीडनको उनीमाथि हानिएको ढुङ्गामा प्रतिभाले प्रतिशोध हैन बरु मानिसको जीवनका लागि मुक्तिको अक्षरमार्ग निर्माण गर्ने प्रण गरेकी थिइन् । उनको लक्ष्य र उद्देश्यले आज एउटा स्थान बनाउन सफल भएको छ । आजको राष्ट्रिय स्वीकृतिमा उनका सासूससुराको पनि कतै भलो हुन्छ कि भन्ने भावनाले प्रभुको स्मरण गर्दै छिन् ।  अब उसो यो यात्रा प्रतिभाको अनन्त प्रतिभा यात्रा तय गरेकी छिन् प्रतिभाले।