एकाबिहानै लालबहादुरको घरमा केटाकेटीको भीड लाग्यो । गाउँभरिका सबै केटाकेटीलाई साथी बनाएर हिँड्ने लालबहादुरको बानी थियो । बच्चाको बाउ बन्ने बेलामा केटाकेटीसँग खेलेर हिँड्छ भनेर ठुलाबडाले गाली गर्थे । यही बानी देखेर उसकी नवविवाहिता श्रीमती पनि आजित भइसकेकी थिई । विवाह गरिदिइसकेपछि पनि केही बानी सुध्रिएन भन्ने उसकी आमा फूलमायाको पनि आरोप थियो । कहिले त उनी बुहारीले छोरोलाई सुधार्न नसकेको आरोप लगाउन पछि पर्दिनथिन् ।
बुहारी भने “नानीदेखिको बानीलाई यति छिटै कसरी मैले सुधार्न सक्छु त ?” भनेर सासूलाई जवाफ दिन्थिन् । ससुरा पनि “बुहारीले छोरो सधैँ हल्लिएर हिँडोस् भन्ने त कहाँ चाहन्छे र ?” भन्दै सासूलाई हपार्थे । जेहोस् अरुले जसो भने पनि केटाकेटीहरू भने लालबहादुर दाइसँग खेल्न नपाएको दिन झरीले रुझेका मुसाझैँ देखिन्थे ।
रामु, साने, विकास, भरत, जिते आदि लालबहादुरका मिल्ने साथी थिए । उनीहरूलाई स्कुलले वर्षे बिदा दिएकाले पढ्न जानुपरेको थिएन । लालबहादुर त आठ कक्षा फेल भएपछि पढ्नै छाडेको थियो । किसानहरूलाई असारे मेलो भ्याइनभ्याइ हुने समयमा विद्यालयले बिदा दिँदा रमाइलो मान्थे । तर काम गर्न सक्ने उमेरका बच्चाको बिदा भए पो रमाउनु ? मसिना भुराहरू त विद्यालय गएकै वेश भन्ने अभिभावकको धारणा हुन्थ्यो । लालबहादुरका साथीहरू काम गर्न नसक्ने र खेलेर दिन बिताउने समूहका थिए । मुखले जे भने पनि कामको चपेटा भएका बेला लालबहादुरले बालबच्चालाई भुलाइदिँदा मनमनै खुसी हुने पनि थिए । तर प्रशंसा गर्न भने सक्दैनथे ।
“साथी हुन उमेरले नछेक्ने रहेछ” भन्दै गाउँले कोही राम्रै टिप्पणी गर्थे । उमेर बढे पनि चरित्र केटाकेटीको भएकाले लालबहादुरलाई मान्छे नै नगन्ने छिमेकी पनि थिए । “विवाहपछि लालबहादुरलाई थप जिम्मेवारी थपिनुपर्ने हो । ऊ परिवर्तन हुनुपर्ने हो । श्रीमतीलाई आफैँले लाउन खान दिन नसक्ने पनि के मर्द ? स्वास्नीले मेलापात गरेर पाल्नुपर्ने, आफू चाहिँ खेलेर हिँड्ने, दिदी तिम्रो छोरो कहिले सुध्रिएला खै ? मेरो छोरा विकास पनि त्यसैको सङ्गतमा लागेर बिग्रने भयो” भन्दै उपल्लो घरकी गोमाले घाँस काट्न जाँदा लालबहादुरकी आमालाई भनेकी थिइन् । त्यो कुरा सुनेपछि लालबहादुरकी आमाको मनमा भयानक आँधी चल्न थाल्यो । उनले घरमा गएर लालबहादुरलाई केही न केही सजाय नदिइनछाड्ने निधो गरिन् ।
घर पुगेपछि लालबहादुरकी आमाले छोरालाई चर्को स्वरमा बोलाइन् । गोठमा गाईवस्तुलाई कुँडो खुवाउँदै गरेकी बुहारी मनकुमारीको प्रतिक्रिया सुनिन्, “तपाईँको छोरा घरमा भए पो बोल्थे त ! कहाँ पुगिसके खेल्न ? के सुन्थे ?” लालबहादुरकी आमाले जङ्गिदै भनिन्, “अरुले रोपाईँ थालिसके । हाम्रो खेत बाँझै छ । घाँस काट्न गइदिएको भए पनि म घरको काम गर्थेँ । बुहारी मेलापात जान्थी । यही बाउको बेवास्ताले छोरो बिग्रियो । न आफू काम गर्न सक्नुछ, न छोरालाई अह्राउन सक्नुछ ? आफू त बुढो भएर काम गर्न नसक्ने भयौ तर छोरो त लक्का जवान छ नि ! ऊसँग त बाघसँग जुध्न सक्ने बल छ । किन केही भन्न सक्दैनौ ?”
श्रीमतीको गनगन सुनेपछि लालबहादुरको बुबाले भने, “म के गरौँ त ? म कमजोर भएकै कारणले त त्यसले नटेरेको नि ? मुखले भनेको मान्ने भए पो ? पछिपछि लागेर खेद्न सकिनँ ? बुढेसकालमा कति जपेर जन्मेको एउटै सन्तान छ । कुट्न सकिनँ । तैँले नै तहमा ल्याएकी भए पनि त हुन्थ्यो नि ? मलाई के देखिनसकेको ? बिग्रियो मैले गरेर । सप्रियो तैँले गरेर, हैन त ?”
एकछिनपछि खुट्टाभरि हिलो बोकेर लालबहादुर घर आइपुग्यो । विवाह गरिसकेको छोरो भएर पनि आज फूलमायाले आफ्नो छोरोलाई सानो देखिन् । उफ्रिँदै साथीसँग खेलेर आएको उसको स्वभावले पनि उनलाई त्यही महसुस भएको थियो क्यारे । कहिल्यै हात नछाडेकी फूलमायाले आज गोरु जोत्दा गोरुलाई धपाउने लठ्ठी बोकेर लालबहादुरको पिँडौलामा जोडले तीनपटक हानिन् । ऊ दुवै खुट्टा समातेर पिँढीमा थचक्कै बस्यो । आँखाबाट आँसुका धारा बगाउन थाल्यो ।
आमालाई एक शब्द पनि दोहोरो जवाफ नलगाई ओछ्यानमा गएर रोइरह्यो । त्यस दृश्यलाई हेर्न नसकेर उसका बाबुले आँखा चिम्ले । फूलमाया पनि आफ्ना हातलाई हेर्दै निकैबेर नाजवाफ रहिन् । एकछिनपछि “भनेको केही नटेर्ने स्वाँठ ! कहिलेसम्म बच्चा पल्टेर पुग्छ, आफू कमाएर हामीलाई पाल्ने बेलामा ? न पढ्यो ? न कमाउन हिँड्यो ? दुनियाँका छोराले कमाएर बाबुआमालाई सुखमा राखेका छन् । यो भने ? आजबाट त बुद्धि आउला नि ?” भन्दै फतफताउँदै पँधेरातिर लागिन् ।
लालबहादुरको दिमागमा पनि झुल्के घामझैँ एउटा योजना फुर्यो । उसले गाउँकै दाइ हेमकुमारलाई सम्झियो । “ऊ विदेशमा गएपछि परिवार कति सुखले बाँचेका छन् । खेतीपाती पनि अधियाँ लगाएर बसीबसी खान्छन् । उसले अर्को गहिरी खेत पनि किनिसक्यो । घर पनि नयाँ बनायो । उसकी श्रीमतीलाई अप्सरा बनाएर राखेको छ । आफ्नी भने सधैँ मेलापातमा हिँडेर भएको रूप पनि गुमाइसकी । मैले पनि न त पढ्न सकेँ, न आमाबुबा र श्रीमतीको प्यारो नै बन्न सकेँ ! छिमेकी पनि मेरै खोइरो खन्छन्,” भन्ने सोच्न थाल्यो । त्यसपछि कपडा फेरेर श्रीमती र बुबालाई कतै जान्छु पनि नभनी घरबाट निस्कियो ।
लालबहादुर हेमकुमारको घरमा गएर उसको फोन नम्बर मागी सहरतिर हानियो । सहरमा गएर पाँच छ महिना नै हरायो । होटलमा सानोतिनो जागिर खाएरै भए पनि केही रकम जम्मा गरेपछि हेमकुमारकै सहयोगमा विदेश जाने पक्का गरी मात्र गाउँ फर्कियो । गाउँमा आमा भने पश्चात्तापमा परेकी थिइन् । मैले गोमाको लहलहैमा परेर छोरालाई त्यस्तो व्यवहार गर्न नहुने भन्ने चोट मनमा गहिरो रूपमा परेको थियो । छोरो हराएपछि बाबुको पनि मन डराएको थियो । “कतै छोराले पहिलोपटक आमाको थप्पड खाएको पीडामा आत्महत्या त गरेन ?” भन्ने भयले आक्रान्त भएका थिए । आफ्नी श्रीमतीको पश्चात्तापमा पनि कुनै सहानुभूति जनाइरहेका थिएनन् । उता नवदुलहीमा आफ्नो लोग्ने हराएपछि सिर्जित चिन्तालाई कसले नाप्न सक्थ्यो र ?
लालबहादुर घर फर्केको दिन त्यो घर स्वर्गसमान भएको थियो । सबैका अनुहारमा नाचेका खुसीका लहरहरूले अब लालबहादुर दुधे बालक बने पनि सबैले सहजै स्वीकार्ने छन् भन्ने निश्चित गरेको थियो । तर लालबहादुर विल्कुल भिन्न भइसकेको थियो । उसले कसैसँग गुनासो पनि गरेन । ऊ पहिलेको लालबहादुर छँदै थिएन । सबैसँग औपचारिक रूपमा मात्र विदाइ हुन आएको रहेछ । आफू भोलि नै विदेश जाने र सबैलाई सुखी राखेर पाल्ने सपना भने साट्यो । त्यसपछि एउटा झोला बोकेर ऊ विदेशतिर हानियो ।
लालबहादुरले विदेश पुगेपछि घरमा महिनैपिच्छे पैसा पठाउन थाल्यो । सबैलाई मोबाइल पनि पठायो । त्यतिमात्र होइन कोही साथी फर्कने भेट्यो भने गाउँका बालसाथीहरूलाई समेत चकलेट तथा खेलौना पठाउन पनि भुल्दैनथ्यो । आफ्नी श्रीमतीसँग फोनमा मिठामिठा कुरा गर्न रात पर्खन थाल्यो । बाबुआमाको आशीर्वाद पनि पाइरह्यो । यसरी ऊ विदेसिएपछि उसको जीवनको रूप मात्र होइन घरपरिवारको रूपै फेरिएको थियो ।
समाजमा भने अब छोराछोरी सानोमा बिग्रे पनि पीर लिन नपर्ने र लालबहादुर जस्तै ठूलो भएपछि आफैँ सुध्रिने प्रभाव परेको थियो । कसैले आफ्ना बालबालिकालाई गाली गर्न नै छाडेका थिए । गाउँका उसका केटाकेटी साथीहरू भने लालबहादुरसँग खेल्न नपाएर ज्यादै नियास्रिएका थिए । फूलमायाको भाग्यलाई पनि सबैले तारिफ गर्न थालेका थिए । अब सानो दुःख परे पनि फूलमायाको शरणमा पर्ने गोमा, निता, कमलीलगायतका अन्य छिमेकी महिलाहरूको जमात नै बढ्न थालेको थियो । छोरो हुनु त यस्तो पो त, भन्दै लालबहादुरको तारिफमा खुलेरै लाग्न थालेका थिए ।
जताततै कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि विदेशमा गएका युवाहरूमा पनि त्रास बढ्न थालेको थियो । चीनको हुवान प्रान्तबाट फैलिएको यो रोगका कारण बिस्तारै कतारमा समेत मान्छे मर्न थालेको समाचारबाट लालबहादुर निकै भयभीत भयो । तर नेपालमा भने हालसम्म कुनै सङ्क्रमण नपुगेको समाचार पनि थाहा पायो । घरपरिवारबाट उसलाई विदेशमा जताततै रोग फैलिसकेकाले तुरुन्त घर फर्कन आदेश आइरह्यो । परिवारको आग्रहले मात्र होइन दुःखमा परिवारसँगै बसे मात्र पनि पीडा कम हुने अनुभूति उसमा पलाउन थाल्यो ।
पहिले आफूसँगै काम गर्ने साथी अर्को कम्पनीमा खटिएको थियो । उसले आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि हस्पिटलको क्वारेन्टाइनमा बस्दा विदेशमा आफन्तविहीन हुँदा भएको नमिठो पीडालाई साटेको थियो । घरपरिवारको यादले सताएको र कोरोनाले कसैलाई भेट्नै नदिई लैजाने त होइन भन्ने त्रास बढेको पनि सुनायो । यसले लालबहादुरमा झनै स्वदेशप्रतिको मोह बढेको थियो ।
साथीलाई सहयोग गर्ने इच्छा भएर पनि ऊ त्यहाँ गएर सहयोग गर्न सक्ने अवस्था पनि थिएन । हस्पिटलमा कोरोना सङक्रमितका आफन्तलाई भेट्न दिने अवस्था पनि कहाँ थियो र ? कम्तीमा स्वदेश र घरपरिवारकै नजिक रहेको अनुभूति पनि आनन्ददायक हुने उसको साथीको तर्क साँच्चै मार्मिक थियो । त्यसैले लालबहादुर आफूलाई त्यो स्थिति नआउँदै परदेशबाट भगाउन चाहन्थ्यो । भर्खरै मात्र कोरोनाको सङ्क्रमण देखिँदै गरेको हुनाले कम्पनीहरू बन्द भइसकेका भने थिएनन् । अनि घर नगएको वर्षौँ भइसकेको भन्दै कम्पनीमा छुट्टी माग्यो । छुट्टी मिलेपछि ऊ घर आयो ।
हिजो राति लालबहादुर घर आइपुगेको खबर थाहा पाएपछि बिहानै घरमा केटाकेटीको घुईँचो लागेको थियो । उसले सबैलाई विभिन्न खेलौना तथा चकलेट ल्याउन भुलेको रहेनछ । सबैका हातहातमा राखिदियो । सबैले लालबहादुरप्रति आभार जनाए । त्यतिमात्र होइन, गाउँका छिमेकीहरू पनि लालबहादुरलाई भेट्न आएपछि आज दिनभर उसको घरमा कुनै मेला लागेझैँ देखियो । सबैलाई केही न केही थमाउँदै खुसी बाँडिरह्यो । कसैले पनि पुरानो लालबहादुर सम्झेनन् । गाली गरेनन् । यो पैसा भन्ने जात पनि कस्तो रहेछ ? भन्ने प्रश्न उसका मनमा नआएको होइन । तर समयअनुसार चल्न नजान्दा पहिले अरूले आफूलाई खेदो गर्ने गरेको उसले राम्ररी बुझिसकेको थियो । अब विगतलाई भुलेर अगाडि बढ्ने योजना थियो उसको । अब त हेमकुमारकी श्रीमतीभन्दा आफ्नै श्रीमती सौन्दर्यले धपधप बलेकी पनि देख्न थाल्यो । एकपटक ठाँटिएर ससुराली पनि पुग्यो । त्यहाँ त झन् सबैभन्दा बढी सम्मान पाएको महसुस गर्यो । यसरी विदेशबाट फर्किएको पन्ध्र दिनसम्म त जताततै हाइहाइ पाएर रमाइलोका साथ जीवन बितायो ।
ऊ आइसकेको एघार दिनदेखि नै नेपालमा पनि लकडाउन सुरु भइसकेको थियो । एकदुई जना कोरोना सङ्क्रमित देखिनेबित्तिकै सरकारले गरेको लकडाउनलाई राम्रो कामका रूपमा प्रसंशा गर्दै रेडियो र टेलिभिजनबाट प्रसारित भइरहेको समाचार पनि उसले सुनेको थियो । ऊ विदेश गएपछि नै घरमा टिभी पनि भित्रिसकेको थियो । घरको छानो पनि खरबाट जस्तामा रूपान्तरित भइसकेको थियो । अब उसले आफ्नो घर कुनै सहरको महलभन्दा कम ठानेको थिएनँ । तर त्यही टेलिभिजनबाट आएको एउटा समाचारले भने ऊ त्रसित भयो । ऊ आएकै हवाइजहाजमा कोरोना सङ्क्रमित महिला भेटिएकी हुनाले त्यस जहाजमा फर्किएका सबैले होम क्वारेन्टाइनमा बस्नुपर्ने र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्ने खबरले यत्रतत्र फैलिएको थियो । त्यसपछि लालबहादुर पनि तुरुन्त स्वास्थ्य परीक्षण गर्न गयो । नगरपालिकाले सञ्चालन गरेको कोरोनाको स्वास्थ्यजाँचले उसमा पनि सङ्क्रमण भएको देखायो । त्यसपछि ऊ घर फर्किन पाएन । अस्पतालमै उपचार गर्नका लागि त्यहाँबाट उसलाई एम्बुलेन्समा हालेर कुदाइयो ।
यो खबर घरमा मात्र पुगेन गाउँमा समेत आँधी बनेर फैलियो । अब उसलाई भेट्न जाने र सान्त्वना दिने सोच कसैमा पलाएन । उल्टो उसको घरमा गएको पश्चात्तापमा गाउँलेहरू पिरोलिन थाले । उसका परिवारलाई पानी पँधेरोमा भेटिने हो कि भनेर सतर्कता पनि अपनाए । कसैले उसको घरतिर फर्केर हेरेन । उल्टो लालबहादुरको घरबाट गाउँतिर जाने बाटोमा काँडा हालेर बारिदिए । एक हिसाबले लालबहादुरका परिवार गाउँमा बन्दी बने ।
गाउँका सबैले लालबहादुर विदेशबाट फर्किनु नै उसले गरेको ठूलो अपराधका रूपमा निष्कर्ष निकाले । जसको घरमा भेटघाटका लागि लालबहादुर गएको थियो ती छिमेकीले त झन् उसले आफू सङ्क्रमित भएको थाहा पाएरै गाउँलेलाई सार्न आएको भन्ने आरोप लगाउन पनि भ्याए ।
हस्पिटलबाट लालबहादुरको अवस्था गम्भीर हुँदै गएको खबर आयो । कहिल्यै नगएको सहरमा कसरी जाने अनि श्रीमान्लाई कसरी बचाएर घर ल्याउने भन्ने छटपटीमा श्रीमतीको आधाज्यान भयो । समाजमा कोही पढेलेखेको र जान्नेसुन्ने मान्छेलाई सम्झिएर आग्रह गर्न पनि गइन् । तर उनलाई “परैबाट यता नआउनू, हामी यस्तो अवस्थामा केही सहयोग गर्न सक्दैनौँ” भन्ने उपेक्षा मात्र गरे । कसैमा सहयोग गर्ने सोच नै देखिएन । सासू र ससुरा समेत छोराको गल्तीले आफू पनि मरिने हो कि ? भन्ने त्रासमा देखिए । विदेश जानलाई बुहारीले नै नरोकेको र घर फर्किन पनि उसले नै जोड गरेको आरोप लगाउन थाले । यसरी सबैबाट आरोप र असहयोग मात्र मिलेपछि निराश भएर आफैँ एक्लै श्रीमान्लाई भेट्न जान्छु भन्दै लालबहादुरकी श्रीमती बाटो लागिन् ।
मनकुमारी अनेक समस्या झेल्दै हस्पिटल पुग्न सफल भइन् । आफ्नो श्रीमान्लाई भेट्न जानका लागि पनि अनेक सतर्कता अपनाउनुपर्ने डाक्टरहरूको निर्देशनले अलमलमा परिन् । अब कुनै काललाई भेट्न जाँदै गरेझैँ उनी सचेत बन्नु परिरहेको थियो । आइसियुमा थुनिएर उकुसमुकुस भएका श्रीमान्लाई देखेर उसैलाई सास फेर्न गाह्रो भयो । अस्तिसम्म हाँसेर हिँडेको मान्छे आज कुनै मुर्दाझैँ थुनिएको देखेर मनै भक्कानिएर आयो । आफूलाई आँखाबाट बगाएर हस्पिटलभित्रै डाँको छाडेर रोइन् । श्रीमान्को शरीरलाई एकोहोरो हेरिरहिन् । न त कुनै संवाद गर्न पाइयो न त कुनै पीडालाई साटेर हल्ला बनाउन पाइयो । मनकुमारीका मानसिक चोट मनभित्रै थुनिए । घरका, छिमेकका नजर अनि आफ्नो प्यारलाई श्रीमान्सँग साट्ने धोको मनभित्रै कुहिए । उनका घाउलाई मायाले सुमसुमाएर छिटै निको तुल्याएपछि सँगै रमाउँदै घर फर्कने उनको धोको सपना बन्यो ।
यसरी आहात बनेर केवल हस्पिटलको आइसियुमा रहेको श्रीमान्लाई एकोहोरो हेरिरहेकी मनकुमारीलाई कसले बाहिर निकालिदियो थाहा भएन । भोलिपल्ट गाउँमा लालबहादुरको निधनको खबर फिँजियो तर लालबहादुरसँग होइन, कोरोनारूपी कालसँग मलामी जान न त बाबुआमा आए न छिमेकी नै । श्रीमतीले एक्लै लासलाई दाहसंस्कार गरेको खबरले मिडिया ततायो । त्यसको याद समेत रहेन मनकुमारीलाई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।