‘राजन मेहता हा¥यो भने के हुन्छ ?’
चार वर्षअघि मैले यही शीर्षकको सेरोफेरोमा एक हजार ६ सय शब्द खर्च गरेको थिएँ । यहाँ खर्च शब्द यसकारण प्रयुक्त छ कि मैले जुन समयमा, जुन भावना र आवेगका साथ त्यो आलेख सार्वजनिक गरेको थिएँ, त्यो अहिले पनि बहुमतमा उस्तै छ ।
खासमा म, सङ्केत अगस्ती, किशोर कोइराला, दिनेश लम्सालहरू इनरुवा स्थायी रूपमा फर्किन चाहन्थ्यौँ । बीचमा किशोरजी त फर्किनुभयो । तर म, सङ्केत र दिनेशजीहरू लाखापाखामै छौँ ।
खासमा हामी इनरुवा फर्किनु भनेको के ? इनरुवाको कि आफ्नो आवश्यकताले ? प्रश्न यो आफैँलाई कि इनरुवाबासीलाई ?
तिमी त्यस्तो प्रश्न गर, जुन प्रश्नको उत्तर तिमीसित छैन । विचारक युजी कृष्णमूर्तिको यो भनाइको पृष्ठभूमिमा उल्लिखित दुई प्रश्नहरूको वजन कति छ ?
त्यसो त आवश्यकताबारे पछि ककस गरौँला । अहिले भने राजन मेहतालाई सहयोग गर्नुपर्छ भन्ने निष्कर्षमा म पुगेको समयलाई फर्केर हेरौँ ।
सुरुमा तपाईँलाई स्पष्ट भनिदिउँ कि म त्यति धेरै भावुक पनि छैन, जति प्रचारित छ । कम से कम कामको सवालमा व्यावसायिकता र सचेतनाको मात्र निके छ मभित्र ।
राजन मेहताको घोषणा–पत्र लेख्ने काम एक घोस्ट–राइटरका रूपमा पूर्ण व्यावसायिक थियो र त्यस कामका लागि उनीसँग ६५ हजार रुपैयाँमा सम्झौता भएको थियो, जुन जगजाहेरै छ । कबोल गरेको पैसा पछि उनले किस्ताबन्दीमा सधाए । साथमा सात–आठ हजारको एउटा स्क्रिन–टच मोबाइल पनि दिए ।
यो अलि पछिको कुरा भयो । सुरुमा घोषणा–पत्र लेखेरमात्र नपुग्ने जस्तो लागेर मैले निर्वाचन अवधिमा तीनवटा अतिरिक्त लेख लेखेको थिएँ । जसको शीर्षक क्रमशः राजन मेहताले जित्यो भने के हुन्छ ?, मौन अवधिमा घोषणा–पत्रको प्रुफ रिडिङ र नरुनु छविनाथ सर ! भन्ने थियो ।
उल्लिखित लेखाइका क्रिया–प्रतिक्रिया आफ्ना ठाउँमा छन् । लेखहरू थिए पूर्ण रूपमा लेखिएका छपाइएका । तिनैमध्ये आज पहिलो लेखाइको चर्चा गरौँ, जसको उठान प्रश्नहरूबाटै भएको थियो–
राजन मेहताले जित्यो भने के हुन्छ ? र, हा¥यो भने के हुन्छ ? अनेकौँ प्रश्नहरूको भिडमा मलाई यतिबेला यही प्रश्नले सताइरहेको छ । भनिन्छ, प्रश्नहरू तीन किसिमका हुन्छन् । पहिलो, सोध्नैपर्ने प्रश्न । जस्तै, मेरो बुबाको नाम के हो ? दोस्रो, सोध्दा राम्रो हुने प्रश्न । जस्तै आकासमा कति ताराहरू होलान् ? र, तेस्रो, सोध्न सकिने प्रश्न । जस्तै तपाई असफल कसरी हुनुभयो ?
यसरी, वर्गीकृतमध्ये इनरुवाका शुभेच्छुकको हकमा राजन मेहताले जित्यो भने के हुन्छ ? र, हा¥यो भने के हुन्छ ? भन्ने प्रश्न दुई दशकपछि हुन गइरहेको स्थानीय निर्वाचनका सन्दर्भमा सोध्नैपर्ने प्रश्न बनेको छ ।
म हिजोआज इनरुवामा फेरि बाक्लिएको छु । व्यक्तिगत कुरा गर्दा यो प्रश्न मेरा लागि यसकारण पनि महत्वपूर्ण भएको छ कि राजन मेहता जानी नजानी मेरो ड्रिम प्रोजेक्ट ‘फन्टुस फिक्सन’को एउटा अङ्ग बनिसकेको छ । एउटा विचार बनिसकेको छ । जसले जित्यो भने कुनै एक ठाउँमा शान्त बसेर ‘फन्टुस फिक्सन’ चाँडै पूरा गर्न पाउने वातावरण बन्नेछ । हा¥यो भने पनि केही छैन, इनरुवामा हामीभित्रको मले गर्न सोचिरहेको के छ, गर्न चाहिरहेको के छ, त्यो दस्तावेजीकरण भइ नै सक्यो ।
यस अर्थमा राजन मेहताको पछाडि रहेको एउटा विचार समूहले आफ्नो कार्ययोजना सबभन्दा अगाडि बजारमा ल्यायो । विजयको पहिलो पाइला त यही नै भयो । अङ्ग्रेजीमा एउटा निकै प्रसिद्ध भनाइ छ– वेल बिगेनिङ इज हाफ डन । अर्थात् राम्ररी गरिएको सुरुवात नै आधा काम सम्पन्न हुनु हो ।
हामीले इनरुवाको नारा लेख्यौँ, ‘समृद्ध इनरुवा बसोबासयोग्य हाम्रो नगर । सामाजिक सद्भावयुक्त आधुनिक कृषि सहर ।’ यसमा आलोचना गर्नुपर्ने कुरा के छ ? एमालेको एउटा विज्ञापनमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा, इनरुवा नगरको समृद्धि यसै पालामा,’ लेखिएको देखेँ । म कन्फ्युज छु, यो नारा वास्तवमा हो कसको ? नयाँ शक्तिको कि एमालेको ? यदि नयाँ शक्तिको हो भने ठिक छ राम्रो कुरा, राम्रो उद्देश्यका लागि जसले पनि कपी–पेस्ट गर्न पाउँछ । तर कपी–पेस्ट गर्दागर्दै एमाले समर्थक साथीहरूले जानेर होस् वा नजानेर, मलाई चित्त नबुझ्ने एउटा काम गरिहाले । उही ठाउँमा नजिकै नजिकै ‘हाम्रै पालामा’ र ‘यसै पालामा’ लेखे । यो हाम्रै पालामा र यसै पालामा भन्ने पदावलीको अन्तर्यमा तात्विक फरक के छ ? कृपया कसैले बताइदेओस् । यदि फरक छैन भने उही अर्थ आउने पदावली एकै ठाउँमा किन प्रयोग गरिएको ? जानी–जानी कि भुलवश ?
कतिलाई लाग्दो हो सुविदजस्तो पत्रकारले यस्तो के कुरा गरेको ? यति सानो कुरामा किन अल्झेको ? तर हाम्रो मनलाई थाहा छ यस्तै सानातिना कुरामा नै जीवन र सुख–दुःखको सन्दर्भ लुकेको हुन्छ । म चाहन्छु, एमाले, काङ्ग्रेस, फोरम वा कुनै पनि पार्टीको प्रेस सल्लाहकार भनिने मान्छे विषयमा बुझेको होस्, भाषामा सचेत होस् । किनभने ऊ मेरो ठाउँको राजनीतिक संस्कार सिकाउनेमध्येको एक व्यक्ति हो । ती पार्टीभित्र यदि त्यस्तो मान्छे छ भने उसले काम गर्ने ठाउँ, वातावरण पाउनुपर्छ । यदि छैन भने कुनै एउटा पात्र छानेर उसमा त्यस्तो योग्यता हुर्काउनु पर्छ । आ, ह्रस्व–दीर्घमा कति टाउको दुखाइराख्ने काम चलेकै छ भन्नु हुँदैन । बरु उसले इनरुवाका सबै नागरिकलाई ह्रस्व–दीर्घमा सचेत बनाउने योजनाहरू बुन्नुपर्छ ।
कुरा सुन्दा सानो लाग्छ, तर मेरो मनमा अर्को पनि प्रश्न बेलाबेलामा आइरहन्छ । कि, इनरुवामा इनरुवा डेटलाइनमा कान्तिपुरका लागि समाचार लेख्ने संवाददाता किन छैन ? कान्तिपुर मिडिया हाउसले इनरुवामा छँदाखाँदाको संवाददाता हटाएर आजसम्म अर्को मान्छे किन नियुक्त गरेको छैन ? यदि इनरुवाको समाचार कान्तिपुरमा नछापिएर के भो भन्ने कसैलाई लागिरहेको छ भने त्यो कुतर्क हो । अरू केही नभए पनि कि इनरुवाको एउटा पत्रकारले काम पाउँछ कि एउटा समाचार लेख्न जान्ने मान्छे इनरुवामा थपिन्छ । आज इटहरी त्यसै बनेको होइन । कृष्ण अधिकारी, कृष्णविनोद लम्सालहरूले इटहरी डेटलाइनबाट लेख्न थालेपछि, काठमाडौँले इटहरी चिन्न थालेको हो ।
सूचनामा शक्ति हुन्छ भन्ने कुरा आज हरेक गाउँले बुझ्नुपरेको छ । हरेक नगरले बुझ्नुपरेको छ । यो हरेक गाउँ–नगरको पहिचानसँग जोडिएको प्रश्न पनि हो । इनरुवामा पत्रकारिताको विकासका लागि राजन मेहताको घोषणा–पत्रमा महासङ्घको कार्यालय बनाइदिने, पत्रकारिता पढ्न चाहने युवालाई स्नातकसम्मको खर्च ब्यहोरिदिने, ब्रोडसिट डेली निकाल्न वातावरण बनाउने, सहयोग गर्ने भनिएको छ । हरेक महिना स्थानीय रेडियोमा ‘सिधा कुरा मेयरसँग’ सञ्चालन गर्ने, पत्रकारिता र इनरुवाको इतिहास लेख्ने आदि कुरा गरिएको छ । राजन मेहता हार्दा यी र यस्ता अनेक प्रस्तावहरू कम्तीमा पनि पाँच वर्ष ‘सक्ड’ हुन्छन् । मैले इनरुवामा पत्रकारिताको विकास सबै मिलेर गरौँ भन्दा–भन्दै छोडेर हिँड्नु प¥यो । जाने बेलामा मैले मेरा साथी, शुभ–चिन्तकहरूसँग हात जोडेर भनेको थिएँ, ‘म हिँडेपछि अरू के हुन्छ थाहा छैन, तर म जत्तिको पत्रकार उत्पादन गर्न इनरुवाको माटोले कम्तीमा १० वर्ष कुर्नुपर्नेछ ।
आज १० वर्ष बितिसकेको छ । यसबीचमा इनरुवाको पत्रकारितामा हामीले हिँड्नुपर्ने बाटो कुन थियो र कुन बाटो हिँडिरहेका छौँ, त्यो जगजाहेरै छ । हाम्रा पत्रकारहरू इनरुवामा के गर्छन् र उनीहरूले गर्नुपर्ने के हो ? यो प्रश्न पनि यतिबेला समीचिन नै छ । इनरुवामा छापिएको पत्रिका मधेसा आबादीमा बोकेर लग्यो भने देख्न पाइन्छ, नत्र पाइन्न । अर्ता, सीतपुर, सत्तेरझोरा, सत्तेरबबिया, नरसिंह, कालीथानतिरका मान्छेले बिहानै आफ्नो ठाउँको पत्रिका दर्शन गर्न पाउने कहिले ? अब इनरुवाका मान्छेले कुरा बुझिसकेका छन् । हामी सधैँ विवाद गरेर, साना–साना कुरामा मन दुखाएर बस्ने होइन । कि, इनरुवामा अहिले भएका कुनै एउटा पत्रिकालाई ब्रोडसिट डेली बनाएर निकाल्ने वातावरण बनाउनु प¥यो कि कुनै नयाँ पत्रिका दर्ता गरेर ब्रोडसिट बनाउनुप¥यो । स्लोगनमा चियाको चुस्की लेखेर मात्र हुँदैन, पाँच बजे बिहान हरेक दिन हरेक वडाका केही न केही समाचार छापिएर कम्तीमा दुई सय पत्रिका हरेक वडाका घरदैलोमा पुग्नुप¥यो । यो गर्न सकिन्छ । गर्नुप¥यो । राजनीतिक, आर्थिक वा व्यक्तिगत कुनै कारणले यो योजना सुनेको नसुनै गर्नुभएन । इनरुवाको हितका लागि बोलिएका हरेक शब्द, लेखिएका हरेक वाक्यमा इनरुवाको सरोकार हुनुपर्छ ।
तपाईलाई कत्तिको थाहा छ, कि धरानले इटहरीलाई छुन्छ, इटहरीले इनरुवालाई छुन्छ । अब दुई–दुई वटा उप–महानगरसँग सिमानाको नजिकको साइनो जोडिइसकेपछि पनि धरान र इटहरीको विकासको मोडललाई छुन सकेनौँ भने हामी जस्तो उल्लु को हुन्छ ? इनरुवाको घोषणा पत्रमा लेखिएको मुख्य नारामा ‘हाम्रो’ शब्दको ठाउँमा ‘राम्रो’ लेखिएको भए अझ बेस हुन्थ्यो कि भन्ने मित्र पङ्कज महतोको सुझाव रह्यो । हुन त हो । तर यसमा मेरो के तर्क रह्यो भने आज इनरुवाको मुख्य चुनौती भनेकै साबिकको इनरुवा बजार मात्र होइन, समाहित भएका जल्पापुर, बबिया, मधेसा, चाँदबेला र डुम्राहाको आधा भागका जनताको मनमा म पनि इनरुवाको नागरिक हुँ भन्ने भावना जगाउनु छ । डुम्राहामा त आधा डुम्राहाका जो–जो रामधुनीमा मिसिन सहमत भए, उनीहरूमा ‘हैट्, हामी पनि इनरुवामै मिसिनुपर्छ,’ भन्ने भावना जगाउने गरी काम गर्नुपर्छ । यो सवालमा म मेरा मित्र रुद्र बस्नेत कमरेडलाई धन्यवाद भन्छु, जसले अन्तिम समयसम्म पूरै डुम्राहा इनरुवामा मिसिनुपर्छ भन्ने अडान लिइरहेका थिए भन्ने सुनेँ । यतिबेला म रुद्रजीलाई के भन्न चाहन्छु भने, ‘रुद्रजी यो अभियान तपाईको मात्र होइन, मेरो पनि हो । र, यो अभियानमा म जति सक्छु, त्यति सहयोग मिसाउँछु ।’
थोरै राजन मेहता रूपान्तर प्रक्रियाको चर्चा गरौँ । केही दिन अघि राजन मेहता इटहरीमा पूर्वाञ्चलका मिडियासामु थिए । त्यहाँ दुहवी र रामधुनीका मेयरका उम्मेदवार पनि थिए । सबैले आ–आफ्नो चुनावी एजेन्डाहरू राखे । त्यसमा राजन मेहताले जे बोले, जे प्रस्तुत गरे त्यो सुनेर सबै पत्रकारहरू छक्क परे । उनले भने, अहिले सरकारले पठाउने भनिएको पैसामा शिक्षक र अरू कर्मचारीलाई दिएको तलबभत्ता गाभेर पठाइएकाले परिमाण ठुलो देखिएको मात्र हो । यो पैसामा भौतिक विकास गर्छु भन्यो भने त्यो हावादारी गफ हुन्छ । बरु अनुपातिक रूपमा झन् कम विकास हुनेवाला छ । त्यसैले मैले विदेशमा बस्ने इनरुवाबासीसँग सहयोग माग्ने प्रस्ताव गरेको छु । यही हो, देर आए दुरुस्त आए भनेको । कम से कम कसैले त सम्झियो यार आज विदेशमा रहेका हरिवंश दुलाल, वेद काफ्ले, सञ्जय आचार्य, सञ्जय लुइटेल, रोहित रेग्मी, शैलेन्द्र नेपाल, सञ्जीव अर्याल, उत्तम चाम्लिङहरूलाई एउटा प्रस्तावसहित । यहाँनेर निहित छ, राजन मेहता र उसको टिम काम गर्न पाउने ठाउँमा हुनु नहुनुको फरक ।
इनरुवाको इतिहाससँग जोडिएको सुनसरी प्राविको नाम आज हराएको छ । तर के पुरुषोत्तम घिमिरे, हिमाल मगर, शारदा पोख्रेल, गोपाल काफ्ले, बबन मिश्रलगायतले जयन्त भट्टराईलाई बिर्सन सक्छन् कहिले ? जयन्त सर, यतिबेला हामीले सोचेको कुरा उति बेलै सोच्थे । अहिले विद्यालयको कक्षा–कोठामा सिसि क्यामेरा राख्ने कुरा सोचिँदै छ । जयन्त सरले २०३४ सालतिरै सिसि क्यामेराको अभ्यास गरेका थिए, सुनसरी प्राविमा । हरेक कक्षाकोठामा माइक्रोफोन र साउन्ड बक्स राखिएको थियो । त्यसको नियन्त्रण कक्ष मन्दिरतिरको नयाँ भवनमा थियो । ऊ बेला सरले फ्रेडा आर्टिस्टलाई बोलाएर विद्यालयको नाम र लोगो यसरी बनाउन लगाएका थिए, त्यस्तो राम्रो लोगो र साइनबोर्ड नेपालभरिका कुनै विद्यालयमा आज पनि छैन जस्तो लाग्छ । त्यस्तो प्रतिभालाई इनरुवाले राख्न सकेन । हुँदा–हुँदा उनको कृति र योगदानलाई पत्रु हुने स्थितिमा पु¥याइयो । त्यसलाई रोक्न मैले पनि कुनै योगदान मिसाउन सकिनँ । सायद जयन्त सरको आत्माले मलाई धिक्कारिरहेको छ । थुक्क ! आफू पढेको स्कुल बचाउन तिमीले पनि केही गर्न सकेनौ, भन्दो हो । तर रोएर काम छैन । यसबारेमा आत्मालोचित हुँदै मैले राजन मेहतामार्फत् सुनसरी प्राविलाई छुट्टै ठाउँमा जग्गा व्यवस्थापन गरी जयन्त भट्टराईको प्रतिमा पनि राख्ने र विशेषगरी सबैभन्दा हेपिएका डोम जातिका केटाकेटीलाई पढ्ने व्यवस्था मिलाउने प्रस्ताव राखेको छु । मलाई लाग्छ राजन मेहताले जितेन भने अहिलेका लागि यो प्रस्ताव पनि मुल्तवीमा जान्छ ।
घोषणा–पत्रमा इनरुवामा टायर र प्लास्टिक बाल्न निषेध गरिनेछ भन्ने पदावली पढेपछि कैलाश पञ्चारियाले भने, अनि त्यो डिजे साउन्डवाला समस्या छ नि त्यसका बारेमा त कुनै पार्टीले घोषणा–पत्रमा लेखेजस्तो लागेन । साह्रै राम्रो सुझाव हो यो । समेट्न खोज्दाखोज्दै पनि समेटन नसकिएको । अब यसबारेमा यति चाहिँ भन्न सकिन्छ कि इनरुवामा कोही पनि पेसमेकर र कमजोर मुटु भएको नागरिकले निर्धक्क घुमफिर गर्न पाउने वातावरण बनाउनु पर्छ । यसका लागि राजन मेहता हारे पनि जिते पनि हामीले काम गर्नुपर्छ । किनकि इनरुवा हामीले सिमानातिर अनुभव गरेको बिहारको कुनै गाउँ होइन, यो त हाम्रो रगत–पसिना मिसिएको ठाउँ हो । यहाँ हामीले जे सोच्यो, त्यो हुनुपर्छ । इनरुवा विभिन्न सूचकहरूमा अब्बल काम गर्ने नेपालकै उत्कृष्ट नगरपालिका हुनुपर्छ । १० वर्षमा उपमहानगर हुनुपर्छ । र, त्यसका लागि केके गर्नुपर्ने हो, त्यो हामीले गर्नुपर्छ ।
गर्नुपर्ने कति कुरा छन् कति । तर यो एउटा बसाइमा सबै कुरा सम्भव भएन । सायद कथाले यसरी नै क्रमशः लेखाउँदै जानेछ । यो लेखाइको अन्तमा यति चाहिँ भन्छु – यदि राजन मेहताले इनरुवा नगरपालिकाको मेयरमा चुनाव जित्यो भने सुविद गुरागाई जस्ता धेरै इनरुवा फर्किनेछन्, हा¥यो भने के हुन्छ थाहा छैन ।
त्यो बेला यसरी आलेखको बिट मारिएको थियो ।
बीचमा केही भौतिक परिवर्तनहरू भए तर पात्र र प्रवृत्ति उही छ । परिस्थिति उही छ । इनरुवा र हाम्रो तृष्णा उही छ ।