मेरो ताप्लेजुङबाट फिदिम, इलाम, बिर्तामोड हुँदै काठमाडौँ जाने साइत आइसकेको थियो । त्यसदिन बेलुका बिर्तामोड आइपुगेर नाइट बसमा काठमाडौँ जाने मेरो समय तालिका थियो । किनकि तीन दिनपछि मेरो विदेशको चौथो यात्रा तय भइसकेको थियो । अर्थात् चौथोपटक म इजरायल जाँदै थिएँ । त्यसैले मेरो मन र तनमा धेरै भिन्नताहरू आएका थिए ।
म सामान्य देखिन चाहन्नथेँ । मेरो जीवन मेरो हो । भिन्न हुनु म हुनु हो । भिन्न नहुनु म अरू हुनु हो ।
मेरो जीवनशैली नचाहेर पनि भिन्न हुन थालिसकेको थियो । मेरो बाँच्ने इरादा र शैली फरक भइसकेको थियो । हिजो मरेका अवयवहरू झट्ट उठेर आएका थिए । जिजीविषाहरू जगमगाएका थिए । म यिनलाई बसमा ल्याउन सक्दिनथेँ र चाहन्न पनि थिएँ । हिजो बाँच्न नपाएको झोकले होला आज मज्जाले बाँच्न मन लाग्यो । उन्मुक्त हुन मन लाग्यो ।
०००
म बाह्र कक्षा पढ्दै गर्दाको एउटा घटनाले मेरो जीवनको बाटो निर्धारण गऱ्यो । आफ्नो मर्जीले बाँच्न पाउने हक खोसिएर निरीह प्राणी भएको दिन थियो त्यो । त्यस्तै लाग्थ्यो ।
“रूश्ना! राम्रै घरबाट केटो आएको छ तेरो बिहेका लागि ।” आमाले एक दिन बिहानै यसो भन्दा म सल्याकसुलुक भएकी थिएँ ।
“किन हतार र ममी ? म पढ्दै छु नि ?”
“पढाइ ?ज्वाइँकै घरमा गएर पढ्दा हुँदैन? पढाउँछौँ भन्दै छन् त तिनीहरू! अघाउन्जेल पढ्नू । छोरी दिने ठाउँ पाइँदैन भन्छन् । साह्रै राम्रो घरानको केटो आएको छ । हँ भन्दे नानी ।”
“त्यो सम्भव छैन । तपाईँले बिहे गरेर कति पढ्नुभयो ?”
“मेरो त छोराछोरी जन्मिए । कसरी पढ्नु ?”
“मैले चाहिँ छोराछोरी जन्माउन पर्दैन, ममी?” ममीको मुख बन्द गर्न मन लाग्यो ।
“इत्रिन्छेस्?”

बाँस्कोटा धनञ्जय

तर बाबालाई पनि यही लागेको रहेछ ।
“राम्रो कुटुम्ब पाइँदैन । असी मन त अलैँची फलाउँछन् । राम्रो छ व्यवहार । “
“मान्छेसँग बिहे हुन्छ, अलैँचीसँग होइन बाबा ।”
धेरै छलफल भएन । मेरो छलफल गरेर आफ्ना मनका कुरा राख्ने हैसियत पनि थिएन ।
अन्ततः त्यही धनी मान्छेसँगको मेरो बिहे भयो । उनकी आमा तेह्रवर्षअघि मरेर बाले अर्को घरबार गरी बिराटनगरमा बसोबास गरेका थिए । उनकी बहिनी र ऊ मात्रै घरमा बस्थे । मेरो श्रीमान् अर्थात् मेरा बाआमाको देवता, मान्छे नभएर देवता थिए !
म कथित सभ्रान्त परिवारकी बुहारी भएँ । अर्थात् मेरो बिहे धनसँग भयो तर समयबित्थ्यो सिर्फ पर्दापछाडि ।
यो कुरा सुन्दा मैले बुझेकी थिएँ मान्छे पर्दापछाडि कसरी जिउँछन् भनेर ? मेरो श्रीमान् पनि त्यही संस्कारको एउटा पात्र थिए, पछि थाहा भयो ।
“ए नानी, तिम्रो श्रीमान् कहाँ जान्छ, के गर्छ, के खान्छ राम्रो ख्याल गर्नू है ।” कान्छी आमाले मलाई बेहुली भित्र्याएकै दिन मुख खोलेकी थिइन् । मैले सौतेनी आमा भएकाले नकारात्मक टिप्पणी गरेकी होलिन् भन्ठानेँ ।
“अब चुक्ता भयो ।” सबै अलैँची भट्टीबाटै उठाउँदै एक व्यापारी बोले ।
“छैन, व्याज बाँकी छ ।” अर्को व्यापारी ।
“एल.सी. खोल्न केही पैसा ट्रान्सफर गरिदिनू ।” मेरा श्रीमान् ती व्यापारीलाई कन्याउँदै थिए ।
अलैँची सबै साउँ तिरेर सकियो । मेरा बाआमाको अलौकिक अलैँची मेरा समीपमा नआई सकियो ।
विगत पाँच वर्षदेखि यही रुटिन चलेको रहेछ मेरा बाआमाका धनी ज्वाइँको ।
“हामी चेन्नाइ जाने केही दिनका लागि ।” श्रीमान्‌ले अनुमति मागे ।
“किन?”
“बिजनेस ।”
“पर्दैन । पहिले पनि त्यहाँ गएर के बिजिनेस गर्नुभयो थाहा पनि भएन कमाइ पनि भएन जस्तो लाग्यो । पैसा यति कमाइयो त्यहाँबाट भनेर देखाउनुभएन त ! भन्नु पनि भएन । घाटाको बिजिनेस नगरौँ । अरू नै कुनै सोचौँला । बरु भोलि माइत जानुपर्छ । मेरा बाआमा तपाईँलाई देवता ठान्छन्, दर्शन गराइदिनुपऱ्यो भन्ने लागिरहेको छ ।” मैले ठट्यौलो पाराले प्रस्तुत गरेँ, एउटी श्रीमतीको यो हक सम्झेर ।
“नजाने । काम छ चेन्नाइमा ।”
“उसो भए म पनि जाने ।”
“डिस्टर्भ नगर ।”
“आफ्नो श्रीमान् भएको ठाउँमा जानु डिस्टर्भ गर्नु हो कि को—अपरेट गर्नु
हो ? कस्तो सोच हौ यस्तो ? हे भगवान् ।”
“बाठी नहो ।”
“पुरुष गह्नाएको !”
“लोग्नेसँग तर्क गर्ने आइमाईहरू……”
उनी तनावमा थिए भन्ने लागेर धेरै तर्क गरिनँ ।
उनी गए, चेन्नाइ भनेर तर कता गए मलाई थाहा भएन ।
उनलाई केही पनि कुराको चिन्ता थिएन । छोरी, स्वास्नी, बहिनी, समाज, आफन्त । सबै भनेको रक्सी र व्यापारको आवरणमा सजिएका रक्स्याहाहरू थिए । उनले रक्सी होइन रक्सीले उनलाई खाइरहेको थियो ।
भोलिपल्ट फोन आयो विदेशी नम्बरबाट ।
“भाउजू, दाइ र भोले सिलिगुढीमा सामानसहित पक्राउ परे । म भागेर जोगिएँ ।”
“के सामान थियो ?”
“भन्नु हुँदैन । फाँसी हुन्छ यहाँ त ।”
मेरो शरीरका सबै अवयवहरू रोकिए । स्वास रोकियो ।
अपराधको दुनियाँमा रमाउनेलाई मेरा बाआमाले देवता भनिरहे । कत्रो विरोधाभाष?
उनका बाबुसमेतले उनको जीवन रक्षाको माग गरेनन् भारतीय राजदुतावासलाई । मैले पनि नगर्ने सोच बनाएँ । कलङ्कित हुन चाहिनँ । अपराधीकी स्वास्नी हुनुभन्दा विधवा हुनु राम्रो । यही निष्कर्ष निकालेँ ।
मेरा बाआमाका देवताका घरमा अलैँची सकिए, धान सकिए, खसी सकिए, कोदा सकिए अब त्यसपछि अलैँचीबारी सकिन
थाल्यो ।
छोरीको पढाइसमेत अवरुद्ध हुन थाल्यो । जग्गा सबै बन्धकीमा बेचिसकेका रहेछन् । उनको जीवनकथाको अन्त्यसँगै मेरो कथाको सुरुवात भयो ।
०००
सुरु भर्खर हुँदै छ भनेँ तर कथा नै पो सकियो तर पनि बाँकी छ यो कथाको अवसान र त्यसपछि मेरो अर्को कथा बाटामा थपियो रमाइलो कथा ।
छोरीलाई बुबाममीका घरमा राखेँ । त्यहीँबाट स्कुल पढ्न जान्छे अहिले र म बाँच्नका लागि इजरायल होमिएँ । चार वर्ष इजरायल बस्दा जेथो जोडेँ, बिर्तामोडमा घर जोडेँ, छोरीलाई होस्टलमा राखेर पढाउँदै उसको भविष्य जोडेँ । घर सबै भाडामा दिएकी छु, महिनाको तीस हजार भाडा उठ्छ, यसबाट मैले मेरो भविष्यको आर्थिक सुरक्षा पनि जोडेँ र सामाजिक हैसियत पनि जोडेँ ।
यी सब कुरा जोडेर म धनी हुन खोज्दै छु । मलाई हिजो बाँच्न मन लाग्दैनथ्यो । आज बाँच्ने रहर जागेको छ । उस बेला बाँच्ने मन थियो, मर्नुपऱ्यो । अहिले कुबेलामा बाँच्नु परिरहेछ । अर्थात् कुबेलामा जीवन बाँच्न खोज्दै छु ; असहज महसुस हुँदो रहेछ ।
बसको चालकको ऐनामा आफूलाई हेरेँ । कुमसम्म आएको स्ट्रेट कपाल, कालो गगल्स र त्यसमुनि चहकिलो अनुहार मुस्कुराउन खोजिरहेको
थियो । पुष्ट शरीरमा लगाएको जिन्स र हिल चप्पलले म साँच्चै राम्री देखिएकी थिएँ ।
मनले भन्यो, “हिजाको उमेर र आजको उन्मुक्त जीवन एकै ठाउँमा राख्न मन छ, सकिएला?” आफैँलाई सोधेँ । यो सम्भव नै थिएन तर म चाहन्थेँ यही । फेरि लाग्यो, कसैलाई शरीर त्यत्तिकै सुम्पिन पनि सकिन्न रहेछ । मेरा बाआमाले त मेरो शरीरलाई भाउमा सल्टाए तर म यसो हुन दिन्नँ । मेरै मर्जीले कसैलाई मेरो पाखुरामा समातेर मलाई समाउने अधिकार दिनेछु तर समय र पात्र मसम्म आइपुगेको छैन । यस्तो पनि लाग्छ, उतै केटो खोजूँ । त्यो पनि ठीक लागेन, उसले आफू र आफ्नो संस्कार बिर्सेर कैयौँसँग वास बसेको हुन्छ । मलाई त मेरै धर्म र संस्कारको मान्छे चाहिन्छ, मलाई बुझ्ने चाहिन्छ, श्रमलाई सम्मान गर्ने चाहिन्छ र नारीलाई मर्यादा गर्ने चाहिन्छ । अनि लाग्यो, यस्तो पात्र त सत्य युगमा जाँदा मात्रै भेटिएला ।
०००
बसमा म महिला सिटमा एक्लै बसिरहेकी थिएँ । बस खुल्लै थियो । मेरो छेउको सिट पनि खाली थियो । “केटीचाहिँ नआओस् । केटै परोस् ।” मनमनै सोचिरहेकी थिएँ तर महिला लेखिएका सिटमा पुरुषलाई राख्दा कारबाही हुने डरले बरु खाली सिटमै गाडी कुदाउँदा रहेछन् यहाँ तर यो नियम पालना भएको छैन । पहुँच हुनेले पालना गर्नु पर्दैन, कमजोरलाई मात्र हो नियम त ।
“गोपेटार, कोही छ ओर्लिने ? ए, बिर्तामोड, बिर्तामोड ।” खलाँसी कराइरहेको थियो गोपेटार चोकमा ।
एकै छिनमा एउटा चालिस वर्षको देखिने मान्छे शान्त भएर ढोकाबाट छिऱ्यो । छालाका जुत्ता लगाएको थियो । कालो प्यान्टमा बुट्टे सेतो सर्ट र पूरा बाहुलामा अटोमेटिक घडी थियो र चस्मा लगाएको थियो । कपाल छोटो काटेर तेल दलेको थियो; चिल्लो देखिन्थ्यो र दाँत पनि टल्किएका थिए । केही पनि बोकेको थिएन; ऊ रित्तै थियो ।
चुपचाप उसको चेहराले बाहिर मात्रै होइन ऊभित्रपनि रित्तो थियो । यस्तै लाग्यो । यहीँतल कतै लोकल झर्ने मान्छे होला भन्ठानेँ । कन्डक्टरले उसलाई मेरो छेउमा बस्ने अनुमति दियो ।
“अहिले यहाँ बस्नू । चेकिङ आएका बेला म सङ्केत गर्छु, उठ्नू अनि फेरि बस्नू ।”
उसले टाउको हल्लाएर अस्वीकृति जनायो र ढोकाका छेउमा उभियो । गाडी कम्पनीले उनलाई मसँगै अर्थात् महिला सिटमा बस्नुपरे पनि बस्नुपर्छ भनेर टिकट थमाएको रहेछ । पछि थाहा भयो बस्ने ठाउँ पाइन्छ भनेर जे पनि हुन्छ भनेका रहेछन् तिनले ।
टिकट बेच्नेले मलाई पनि पहिल्यै अनुरोध गरेका थिए,“दिवा सेवा हो, तपाईँको छेउमा महिला नै हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुन्न नि ! लामो रुटमा खाली सिट गाडी कुदाउन चाहिँ सकिन्न ।”
मैले पनि हुन्छ भनिदिएकी थिएँ ।
बन्धनमा थियौँ हामी ।
ऊ निकै बिस्तारै सबैतिर वरिपरि हेर्दै-हेर्दै हात्ती लम्केको शैलीमा मेरो नजिकै आएर टक्क उभियो र फेरि शान्त भयो ।
“दाइ, बस्नुस् न त्यहीँ । बहिनीको छेउमा ।” कन्डक्टरले बिन्ती बिसायो ।
“………….”
“सुन्नु भएन दाइ?”
“भो, म उभिएरै जान्छु ।”
“यति लामो बाटो कहाँ उभिएर सम्भव हुन्छ ? बस्नुस् ।”
“तपाईँ उहाँ बहिनीलाई चिन्नुहुन्छ कि क्याहो ?”
“अहँ, किन?”
“किन नबस्ने त त्यहाँ?” खलाँसीले हैरान लगाइसक्यो, महाशय गल्ने छाँटकाँट छैन ।
मलाई पनि त्यो मान्छेको नखरा देखेर रिस उठ्यो । कत्रो मान खोजेको ? मान्छे हेर्दा त भलाद्मीजस्तो ! रूप हेरेर मान्छे पढ्नु गोता खानु हो, यस्तै भयो ।
“बस्नुस् न त ! यत्तिको अनुरोध भइरहेको छ ।” मैले मुख नफोरी
भएन ।
“भैगो, मलाई यत्तिकै आनन्द छ ।” उसको नखरा झन् पो बढ्यो त !
“हेलो, मान्छेका छेउमा बस्ने बानी छैन ?” रगत तातेर पनि आफूलाई सम्हाल्दै बोलेँ ।
“सरी……” त्यति भनेर ऊ मेरो छेउको सिटमा बस्यो ।
अब भने ऊ बल्ल-बल्ल मेरो छेउको सिटमा बस्यो । जेट विमान बसाउन जत्तिकै गाह्रो भयो उसलाई बसाउन ।
होइन लोग्ने मान्छेहरू कति चाम्रा ? बोल्दा पनि पैसा पर्ला जत्तिकै । बस्न त बस्यो तर आँखा चिम्लिएर । एक शब्द बोल्दैन ! कतै हेर्दैन ! सिधा बसेको छ, मेरो शरीर छुनबाट जोगिन खोज्छ तर घुम्तीमा हामी तल र माथि परिहाल्थ्यौँ । मेरो छाती उसको टाउकोमा बज्रिँदा पनि प्रतिक्रियाविहीन देखिन्थ्यो मानौँ त्यहाँ केही भएकै छैन ।
यो मान्छे पागल हो कि के हो, सोचेँ । फेरि सोचेँ, होइन यो मान्छेमा साँच्ची नै “खास कुरा” छ ।
त्यो खास कुरा मलाई पनि चाहिएको हैन ? मुख फुटाउनै पऱ्यो ।
“हजुर, म रूश्ना ।”
“……” उसले आफ्नो नामसमेत मलाई भन्न चाहेन ।
“हजुर, अघि किन यहाँ बस्न नचाहनुभएको ?”
“त्यत्तिकै …..” उसको अनुहारको रङ्ग उडेको उड्यै भयो ।
बरु ऊ पो मलाई अन्तर्वार्ता लिनथाल्यो, “तपाईँ वैदेशिक रोजगारमा सम्लग्न हुनुहुन्छ भन्ने लाग्यो, त्यसैले ।”
“कसरी लाग्यो ?”
“तपाईँको शैली ….. ।”
“मतलब?”
“ऐनामा हेर्नू न । मैले के भन्नुपर्छ र?”
“ल, त्यो त ठीक छ । यो सिट अछुत थियो र ?”
“थिएन, त्यही भएर ।”
“त्यही भएर मतलब?”
“बाइ द वे, तपाईँ कुन देश ?”
“इजरायल, तेस्रोपटक जाँदै छु ।”उसलाई किन सही भनूँ भन्ने लाग्यो ।
“त्यही भएर ।”
“क्या, त्यही भएर, त्यही भएर ?”
“…………” ऊ घोप्टो परेको थियो । अनुहारलाई लुकाउन चाह्यो ।
यो पुड्के पनि घाइते हो कि क्याहो ! अब त्यही अनुसारको व्यवहार गर्नुपर्ला ।
“तपाईँकी श्रीमती पनि विदेश जानुभएको थियो, हो ?”
“हो…”
“अनि गाँठ आयो होला राम्रै ।अनि भिजेको मुसाजस्तो चाहिँ किन नि ?”
“त्यही भएर ।”
“के त्यही भएर ?जस्तालाई तस्तै ?बुझेँ ।”
“त्यही भएर ।”
“तपाईँलाई उहाँले धोका दिनुभयो, हो ?”
“त्यही भएर ।”
“यो त सामान्य कुरा हो । विदेश गएका महिलाको जीवनमा यस्तो घटना सामान्य जस्तै हुन्छ, सहज रूपले लिनुपर्छ ।”
“जिन्दगीलाई सामान्य ठान्ने बुद्धि विदेशीका घर र गोडा सुसार्दा आएको हो ।” उसले आफ्नो मलिन स्वरलाई एक्कासि उचो बनायो ।
“पैसा सजिलो ठाउँमा फल्छ भन्ठान्नुभएको छ भने तपाईँभन्दा ठूलो भ्रमित मान्छे यो दुनियाँमा कोही छैन । ल अब च्याप्टर क्लोज ।आज र भोलि म शान्त रहन चाहन्छु ।” मलाई ऊसँग कुरा गर्नुभन्दा वाइयात कुरा दुनियाँमा केही छ जस्तो लागेन ।
र यो कथालाई यहीँ अन्त्य गर्न चाहेँ ।
“पर्सिचाहिँ मर्ने कि क्याहो ?” तर ऊ पो बोल्न थाल्यो । मलाई व्यङ्ग्यको झटारो पो हान्न थाल्यो त बाइ !
“हो ।”
“किन? म यहाँलाई बाँच्न सहयोग गर्न सक्छु ?” ऊ त एनर्जेटिक पो भयो त !
“मर्न सघाउने पुरुषहरू त धेरै देखेकी थिएँ । बाँच्न सघाउने पुरुषचाहिँ आजै देखेँ ।” म पनि के कम ! उसको दिमाग भुट्न थालेँ । साह्रै जोरी खोज्यो क्या !
“थैट् ! यस्तो पनि तर्क हुन्छ ? मैले आजसम्म कसैलाई मर्न सघाएको छैन । बरु अरूलाई बचाउँदाबचाउँदै आफैँचाहिँ धेरैपटक मरिसकेको छु ।” ऊ पनि एनर्जेटिक हुन थाल्यो ।
म यही चाहन्थेँ ।
उसको एनर्जेटिकपन मेरो सम्पत्ति बन्न थाल्यो जस्तो लाग्यो ।
“कसरी ?” मैले उसको इतिहासमा घचेटेर पल्टाइदिएँ ।
“म सपनालाई घृणा गर्छु, त्यसैले ।” ऊ डुबुल्की मार्न थाल्यो उसकै घृणित र अधुरा सपनाहरूमाथि ।
“मेरा पनि धेरै सपनाहरू थिए । प्लस टु पढ्दै गर्दा आफैँले मन पराएकी केटीलाई भगाएर बिहे गरेँ । मेरो थोरै जग्गा र घर थियो । म सरकारी विद्यालयमा सानो कर्मचारी थिएँ । मेरी एउटी आमा र बहिनी थिए । बाको सम्झना छैन । म एक वर्षको हुँदा बित्नुभएको थियो । आमाले आफ्नो बैँसलाई हत्या गरेर हामीलाई हुर्काउनुभयो ।
मैले जीवनमा सबैभन्दा धेरै मायाँ आमालाई गरेँ, त्यसपछि बहिनीलाई र तेस्रोमा मेरी श्रीमतीलाई । मेरा आमा र बहिनीका सपना केही थिएनन् । ती दुवैको सपना म थिएँ । मेरो सुस्वास्थ्य, मेरो खुसी बस् तर मेरी रानीको सपना म मात्रै थिइनँ, सपना भनेको पैसा पनि थियो । अर्थात् उसको सपना ताप्लेजुङ बजारमा आलिसान घर बनाउने र त्यसमा ठूलो होटल गर्ने । त्यो सपना मबाट पूरा नहुने देखिन् मेरी रानीले ।
बिहे गरेको आठौँ महिनामा उसका प्रश्न उठ्न थाले मेरो थाप्लामा र म ती प्रश्नहरूले थिचिएँ श्वास फेर्न नसक्ने गरी ।
“हामी सधैँ यही पन्ध्र हजारको जागिर खाएर हाम्रो जीवनमा परिवर्तनको आशा पाल्नुभएको छ हजुरले ?”
“छैन, फेरि ? के गर्ने त ? अरू घोडामा चढे भनेर आफू धुरी चढ्नु हुँदैन होला नि त ?”
“…….. आफू पनि घोडा किन्ने नि !”
“कसरी किन्छौ त घोडा ?”
“नम्रतासँगै म पनि इजरायल जान्छु । बहिनीको बिहे, आमाको उपचार र हाम्रा सन्ततिको भविष्य यहाँ बसेर बन्दैन ।”
“हुँदैन, बरु एक छाक खाने तर म तिम्रो साथ छोडेर रमाउन सक्दिनँ । यो कुरा नगर अब उप्रान्त ।”
“हजुरको यही एकमाने बुद्धिले हामी जीवनभर यही गरिबीको कथा बेचेर बाँच्नुपर्छ ।”
“के भनेको ? गरिबीको कथा कसरी बेचिन्छ ?”
“आफ्नो कथा अरूलाई सुनाएर सहयोग थाप्ने जीवन । म यसो गर्नेवाला छैन । तपाईँ यही पन्ध्र हजारको जागिरमा रमाइरहनू ।”
मेरो गला अवरुद्ध भयो । म अवाक् भएँ । आमा र बहिनीलाई फकाएँ । मेरी रानी इजराइलतर्फ गइन् पैसा कमाएर हाम्रा सपना पूरा गर्न । अब हाम्रा सपना पूरा हुन्छन्, यही ठानेँ ।”
ऊ टक्क अडियो ।
“अनि के भयो ?”
“पहिलो साल गएको दुई महिनादेखि पैसा आउन सुरु भयो । अलिअलि पैसा आयो तिरोभरो गर्न भनेर । सन्देश आयो, फोनआयो, म्यासेन्जरमा भिडियो पनि आयो, साथमा मुस्कान पनि आयो, मोबायल आयो, छोरीलाई ल्यापटप आयो र आमालाई सुन पनि आयो । हामी तीन जना बेस्सरी मुस्कुराउन थाल्यौँ । हाम्रो जिन्दगीको हुलिया बदलियो । घरको पनि हुलिया बदलिन थाल्यो ।”उसको अनुहारमा मैले खुसी देखेँ र भनेँ, “अब घैँटामा घाम लागेन त ?श्रीमतीलाई कम आँक्ने तपाईँजस्ताहरूलाई यो सबक भएन?”
“कथा अधकल्चो मात्रै भएको हो, खास कुरा तपाईँले सुन्न बाँकी नै
छ ।” ऊ त मलाई उसको कथा भनिरहेको थियो । ऊ कठिन समयको रेखामा हिँडेको मान्छे जस्तै देखियो । ऊ भन्दै गयो, “अनि एक वर्षपछि नआउन सुरु भयो । सुरुमा म्यासेन्जरमा भिडियो कल नआउन थाल्यो अनि पैसा । पैसा त नआओस्, त्यो हाम्रो सपना पनि थिएन । त्यो उसको निजी सपना थियो । मान्छे त आओस्, त्यो पनि आएन । हामी सबैको सपना थिई ऊ । अर्को वर्षबाट फोन पनि आउन छाड्यो, सम्पर्क हुन छाड्यो । फेसबुकको आइडी पनि अर्कै बनाइछे, सबै सञ्जालबाट हामी पराई भयौँ ।
पाँच वर्ष बिते तर हाम्रो सपना आएन; मेरो सपना आएन ।
“म आफ्नो जीवनलाई जलाउँदै खरानी पार्न थालेँ । मेरा जवानीका रसहरू र यसका अवयवहरू सबै जलेर खाक भए । ती कतै फुल्न पाएनन्, कतै बारीमा रोपिन पाएनन् ।
“छैटौँ वर्ष ऊ काठमाडौ झर्ने दुई दिनअघि उसकी साथीसँग मेरो गफ भयो । उसैले मेरी उनी काठमाडौँ बेलुका ७ बजे झर्दै छिन् भनेर सुराक दिई । म हर्षले रातभर सुत्न सकिनँ तर आमा शान्त भएर सुत्नुभयो । उहाँमा कुनै उत्तेजना थिएन । म भोलिपल्टै काडमाडौँ गएँ भद्रपुरबाट विमानमा उसलाई लिन र उसलाई सम्पर्क गरेँ अर्कै नाम र नम्बरबाट । ऊ विमानस्थलमा झर्नेबित्तिकै मैले परैबाट देखेँ । मन फुलेर आयो ।”
ऊ एकाएक मूर्च्छित जस्तो पो भई !
“ए महाशय, अब यहाँभन्दा राम्रो के हुनु थियो यहाँलाई ?श्रीमती पाउनुभयो त ! अनि रडाको किन?”
“यही खराबी महिलाहरूको । मादल नबजी भाका यस्तो र उस्तो भनेर फलाकिदिने ।” ऊ झोक्किन पो थाल्यो !
ऊ भन्दै गयो, “मैले उसको नजिक हतार-हतार गएर हातमा समात्न खोजेँ, आलिङ्गनमा ल्याउन खोजेँ र बाहुमा चेप्ट्याउन खोजेँ …….।”
“क्या मज्जा भयो होला त अनि…..” म पनि बिनापत्तामा रोमाञ्चित पो बनेँछु ।
“तर उसले मलाई उसको शरीरमा स्पर्श गर्न अनुमति दिइन । बरु ऊ ट्याक्सी लिएर आउँछु भनेर बाहिर निस्की । ट्याक्सी पनि आयो । उसका सामान एउटा मान्छेले ट्याक्सीमा हाल्यो र हिँड्यो ।”
“अनि ऊ त तपाईँसँगै बसी नि ! र सँगै एउटै ट्याक्सीमा गई नि ?” मलाई पो रोचक लाग्न थाल्यो उसको कथा !
“सँगै गयौँ हामी एउटै ट्याक्सीमा तर रित्तो ट्याक्सी । बालजुको पाथीभरा होटलमा गयौँ । होटल उसैले बुक गरी । सामान कता छ भनेर सोध्न पनि सकिनँ किनभने मलाई उसको आवश्यकता थियो न कि उसको सामान र पैसाको । हामी बेलुका सँगै बसेर खाना खायौँ तर कोठाभित्र जान आनाकानी गरी । म भने मेरो लामो पर्खाइको सार्थकता देख्दै थिएँ । खानापछि हाम्रो भेट कहिल्यै भएन……।”
“ओ महाशय, यस्तो पनि कतै हुन्छ ?”
“भयो त ! म अघिका सामन लिएर आधा घण्टामा आउँछु भनेर हिँडी तर फोनमात्रै आयो । म काम विशेषले अहिल्यै पोखरा जानुपर्ने
भयो कृपया अब मलाई नपर्खनू, घर जानू भोलि नै भन्दै । त्यसपछि उसको फोन काटियो र सम्पर्क हुन सकेन । आजसम्म सम्पर्क भएको छैन । महाकालीको कथा मज्जाले सुन्नुभयो नि ! महिला महाकालीका कलियुगका पुराण यस्तै छन् !
त्यसपछि म एक्लै घर फर्किएँ भोलिपल्ट । पाठेघरको क्यान्सर थियो मेरी आमालाई । अस्पतालले फिर्ता गरिदिएको थियो । मधुरा आँखाले हेर्नुभयो, छोरो मात्र आयो ।
“नसोध्नू आमा त्यसका बारेमा ।” भक्कानिएँ म ।
“मैले एउटा कुरा मन दुखाउँछस् भनेर गोप्य राखेकी थिएँ, अब भन्छु सुन् नम्रताकी बहिनीले भनेकी मलाई । बिहे गरेकी छ रे तेरी स्वास्नीले पोखराको मान्छेसँग……. ।”
दुई दिनपछि आमा पनि बित्नुभयो । मैले एक्लै उहाँको काम गरेँ । जागिर पनि छोडिदिएँ । जग्गा अलिकति थियो, स्वास्नी इजरायल पठाउँदाको बन्धकी बेचेँ, निखन्न सकिनँ, पास गरिदिएँ । म ममात्रै रहेँ । बाँसको एउटा रूख ।
सबै छिनाल्यो त्यो पैसाको सपनाले । त्यो विदेशको सपनाले । अब मेरो इच्छा आमाको अस्तु गङ्गा नदीमा सेलाएर म पनि उतै बस्छु या के गर्छु, थाहा छैन तर फर्किन्नँ । अब तपाईँले मलाई एक शब्द बोल्ने होइन, चुप लाग्नुस् ।”
यति भन्दै उसले दुवै आँखा चिम्लियो ।
“हजुर, गङ्गा नदी आइपुग्यो ।” काबेली खोलो आउनासाथ मैले उसलाई गिल्ला गरेँ किनभने मलाई उसले बाँच्न सघाउला कि भनेको त उल्टै उसलाई पो बाँच्न सघाउनुपर्ने भयो, थुइक्क मेरो जिन्दगी !
कथा उल्टो दिशामा हिँडेपछि म पनि उल्टो दिशामा “यु टर्न” मार्न बाध्य भएँ । उसले आँखै खोलिरहेको थिएन । उसले मलाई औधी घृणा गऱ्यो र गरिहरेको छ, मलाई थाहा भयो ।
“गङ्गा नदीछेउ आइपुगियो, हजुर ।” हेवाँ खोला आइपुग्दा यसो भनेँ र उसलाई नखरा गर्न थालेँ । उसले पुलुक्कआँखा हेऱ्यो, फेरि
चिम्लियो ।
“ए हजुर, गङ्गाजीमा आइपुग्नुभयो त । ओर्लिने होइन?” माई खोला आइपुग्दा फेरि उसलाई तीरले घोचेँ । मेरो ठट्टा तीर थियो उसका लागि । उसले आँखा खोल्यो, मुन्टो उठायो, मेरा अनुहार र पुष्ट छातिमा हेऱ्यो र मुसुक्क मुस्कुरायो ।
रूश्ना, तेरो तीरले ठाउँमै भेट्टायो । मैले प्रेम दिएर यो मान्छेलाई आत्महत्या गर्नबाट रोक्नुपर्छ । ऊप्रति मेरो सहानुभूति र प्रेमको अजस्र धाराहरू बग्न थाले । मैले तिनलाई रोक्न पनि सकिनँ र चाहिनँ पनि । आखिरी ऊ घाइते हो । मैले नै मलम पट्टी गर्नुपर्छ । नत्र बैदेशिक रोजगार दुनियाँको नजरमा कलङ्कित बन्नेछ । मैले यो रोक्नैपर्छ ।
मैले बिस्तारै उसको कुममा मेरो टाउको राखेँ । हात उसका तिघ्रामाथि राखेँ ।
“त्यही भएर ।”उसको आक्रोश मैले देखेँ ।
“त्यही भएर ।” मैले पनि उसलाई दनक दिएँ ।
ऊ रोक्कियो । मैले उसलाई प्रेम देखाउनु र उसले मलाई घृणा गर्नुको कारण एउटै थियो — “त्यही भएर” ।
सुरुमा असहज माने पनि बिस्तारै ऊ मेरो भरिलो शरीर र प्रेमभावप्रति अकर्षित भयो । मैले एकपटक जे पर्ला भनेर बस घुम्तीमा परेका बेला उसको गालामा मेरो मुख राखेँ । अघि पर-पर हुने ऊ अहिले वर-वर भयो । सिर्फ मतिर हेरेर मुस्कुरायो र सुन्दरतामा रमाउन थाल्यो भन्ने लाग्यो । उसको टाउकाले मेरो छातीमा बेला-बेला हिर्काउँथ्यो गाडीले घुम्तीमा टर्न लिँदा । उसले अन्यथा ठान्न छोडिसकेको छ जस्तो लाग्यो ।
“गङ्गा नदी आइपुगियो त हजुर ।” हँडिया बुधबारे आइपुग्न लाग्दा नजिकैको खोलालाई देखाउँदै भनेँ ।
“महिलाहरू यस्तै मिठो कुरा गर्छन् तर ठाउँमा पुगेपछि ती सबै अर्कै थोक बन्छन् ।”
“सबै होइन, केही । म त्यस्ती होइन । तपाईँको भन्दा मेरो कथा भयानक छ । मेरी छोरी मावलमा बसेर पढ्दै छे र म इजरायलमा । त्यसले बाबुको मायाँ कहिल्यै पाइनँ ।” मैले मेरो जीवनको झन् भयानक कथाको अलिकति कथानक उप्काएँ ।
“जिन्दगी आफ्नै, सुखदुःख आफ्नै हुँदो रहेछ । साट्न पनि नमिल्ने ।”
“साट्न किन मिल्दैन? मन मिलेपछि सबैथोक साट्न मिल्छ, प्रभु । के म तपाईँसँग त्यो दुःख साट्न सक्छु ?” जे पर्ला पर्ला, प्रपोज पो दच्काएँ ।
“मतलब?”
लोग्ने मान्छे ह्याङ्ग भएको कम्प्युटर हो क्या, रिफ्रेस गरिरहनुपर्ने । उसले बुझेन जस्तो लाग्यो मेरो कुरा ।
अनि मुस्कुराउँदै फाइनल रिफ्रेस गरेँ डाइरेक्ट्ली, “तपाईँ मेरी छोरीको बाबु बन्न सक्नुहुन्छ ? यानि…….”
किनभने उसले इन्कार गर्ला जस्तो लागेन र एक कदम अघि बढेर प्रपोज गरेँ । उसको जीवनप्रतिको धारणा लोभ लाग्यो । उसको समर्पण लोभ लाग्यो ।
र उसले नाइँ भनेन । मतिर हेरेर मुस्कुरायो ।
ऊ मर्न हिँडेको मान्छे अनि म बाँच्न हिँडेकी मान्छे । हामीबीचमा अनौठो नाता जोडियो ।