बाहिर निरन्तर झरी बर्सिँदै छ । म ती झरीका आवाजहरू एकोहोरिएर सुन्दै छु । मलाई ती आवाजहरू ज्याँदै माफिक लाग्छ । ती आवाजहरूले मलाई यो झरीको आहानहरू सुनाउँछन् र ती आहानहरूले मलाई अझ झरीप्रेमी बनाएका छन् । म दिनभर यही झ्यालनजिकैको कुर्चीमा बसी झरीकै प्रतीक्षामा रहन्छु । मानौँ म अब बाँच्नुको एकमात्र सार भनेकै यही झरी हो । मैले यी झरीको प्रत्येक प्रवाहका निम्ति थुप्रै कविताहरू पनि लखेको छु । म बेलाबखत यिनीहरूलाई ती कविताहरू सुनाउँछु पनि । सायद मेरा कविताहरू यिनीहरूलाई मन परेको हुनुपर्छ त्यसैले त कैयौँ दिनहरूदेखि निरन्तर वर्षा भइरहेको छ ।

कोही समयको वर्षापछि झरीले केही घडीका निम्ति त्यस निरसतालाई रुकाव दिने अठोट गर्छ र झरी बर्सिन रोकिन्छ । म कुर्चीदेखि उठेर झ्यालबाट देखिने खुल्ला दृश्य नियाल्दछु । चराचुरुङ्गी बाँसदेखि निस्किएर चिरबिराउन थाल्छन् । हरिया रूखका पातहरू भरखरै नुहाएर विशद देखिन्छन् । पहाडहरूदेखि निर्मल बाफहरू आकाशसम्मको गन्तव्य बनाएर उड्दै हुन्छन् । अब मेरो दृष्टि निलो आकाशमा गएर अडिन्छ । निलो आकाश मलाई हेरेर मुस्कुराउँछ । ती सेता बादलहरू मलाई देखेर लजाउँछन् । मेरा नयन अगाडिको यो प्राकृतिक सुन्दरता नै अहिले मेरो अस्तित्वहेतु बनेको छ र म जिवित छु । म बाँचिरहेको छु । यसै त्यसै केवल बाँचिरहेको छु ।

म मेरो सिरानी मुनीबाट चुरोटको बट्टा निकाल्छु र मेरो कोठाभित्रको एक्लोपनमा सामेल हुन खोज्छु, या मेरै आफूभित्रको एक्लोपनमा उसको यादहरूलाई सामेल गराउन खोज्छु । चुरोटका हरेक सर्कोहरूमा म आनन्दाभास गर्छु र यी हरेक आभासहरूमा म केवल उसको सम्झनाहरू पाउँछु ।

म एकोहोरिएर धुवाँ लिँदै र उडाउँदै हुन्छु । आधी धुवाँहरूले मेरो मुटुलाई स्पर्श गर्दै हुन्छन् त बाँकी धुवाँ मेरो कोठाको परिवेशमा मुफत उडिरहन्छन् । ती उडिरहेका धुवाँहरूले भिन्न-भिन्न आकृतिहरू कोर्दछन् । म ती आकृतिहरू नियाल्दछु । मलाई ती आकृतिहरूले जिस्काए लाग्छ । मलाई आजकाल यी चुरोटहरूका धुवाँहरूसँग पनि प्रेम हुन थालेको छ । यी धुवाँहरूले मेरो मुटुलाई स्पर्श गर्दा म मेरो मुटुले काम गर्दै गरेको थाहा पाउन सक्छु र मलाई लाग्छ मेरो मुटु अझै बिग्रेको छैन र म छिटै पनि मर्दिनँ । म बाँच्छु केवल म बाँच्छु किनकि म जिउन सक्तिनँ । जिन्दगीमा म जिउने सपना सजाउँथे तर अहिले म बाँचिरहेको छु ।

विनोद परियार

(तीन महिना पहिले)

मेरो मोबाइलको रिङ्गटोन बज्यो । मैले हतासिँदै फोन उठाए “हेलो सुबिना! भन न । ”

“मदन! भेट्न मिल्छ?” ऊ बोली ।

“कहाँ भेट्ने?” मैले सोधेँ ।

“कल्याण डाँडाको क्याफेमा, सक्दो छिटो है!”

खुसीले मेरा ओठमा मुस्कानहरू यसरी लरबराउँछन् कि मानौँ केही समयपछि म सुबिनाको बेहुला हुँदै छु र ऊ मेरो बेहुली हुँदै छे । सुबिनाले छिटो बोलाएको हुँदा म हतारिँदै छिटो-छिटो तयार भएर निस्किएँ ।

सुबिना मेरो स्कुलदेखिको साथी हो । ऊ सानैदेखि सुशील,मिलनसार, सुरूप र लजालु थिई । सिरफूलले दुई चुल्ठो कपाल बाटी ऊ स्कुल पोसाकमा सजिएर स्कुल आउँदा म उसलाई हेरेकै हेऱ्यै हुन्थेँ । साँच्चिकै ऊ मलाई ज्यादै मन पर्थी । सायद ती फूलहरूभन्दा पनि राम्री थिई ऊ । ती खोलानालाभन्दा पनि निक्खर थिई । ती पवनभन्दा पनि पावन थिई । म उसलाई लुकी-लुकी हेरिरहन्थेँ । ऊ पनि कहिलेकाहीँ आफ्नो सफा नजरले मलाई चिहाउँथी र बेला-बेला हाम्रो अन्योलमै नजर पनि जुध्थ्यो र म लाजले भुतुक्कै भएर रातोपिरो हुन्थेँ । अध्यनमा पनि ऊ एकदम असल थिई । परीक्षाको प्रायः नजिताहरूमा ऊ नै प्रथम हुन्थी । कक्षाकोठाको अरू कसैलाई आफूभन्दा अगाडि हुन पनि दिँदैनथी । उसको बुवा हामी पढेकै स्कुलको प्रिन्सिपल हुनुन्थ्यो त्यसैले पनि ऊ खासै केटाहरूसँग नजिक हुन चाहन्नथी तर पनि उसको नजर ममाथि अडिग हुँदा म आफूलाई खुबै सौभाग्यवान् सम्झन्थेँ । मलाई कहीँकतै लाग्थ्यो कि सुबिनाले पनि मलाई मन पराउँछे त्यसैले मैले उसलाई प्रेमप्रस्ताव राख्ने निधो गरेँ । झन्डै २ वर्षपछि कक्षा ९ को वार्षिक परीक्षा सकेको दिन उसले मेरो प्रेमप्रस्ताव स्वीकार गरी र हामी प्रेमसम्बन्धमा रह्यौँ । आज झन्डै ७ वर्ष हुन आँट्यो हामी प्रेमसम्बन्धमा रहेको । यी ७ वर्षका पलहरूभित्र हामीले थुप्रै सम्झनाहरू सँगालेको छौँ । सँगै भएर सुखले जिएका छौँ र सँगै भएर दुःख झेलेका छौँ । वास्तवमा म उसलाई मेरा कविताहरूभन्दा धेरै प्रेम गर्छु र ऊ मेरा निम्ति मेरा कथाका पात्रहरूभन्दा पनि लोकप्रिय छे ।

केही समयमको हिँडाइपछि म क्याफे पुगेँ । ऊ मलाई हामी सधैँ सँगै बस्ने गरेको कुनाको क्याबिनमा कुर्दै थिई । म उसको नजिक पुगेँ । मलाई देख्नसाथ उसको अनुहार उज्जर देखियो । ऊ मलाई हेर्दै मुस्कुराउन थाली । मैले पनि उसलाई हेरेर देब्रे आँखा झिम्काइदिएँ र ऊ हाँसी । केही समयमै वेटर दाइ आइपुग्नुभयो र मैले आफ्ना लागि कफी अर्डर गरेँ । उसले केही नखाने भनी । हामीबीच केहिबेर शून्यता छायो । ऊ केही बोलिन, मौन रही । उसको अनुहारमा निराशाका भावहरू स्पष्ट देखिन्थे । मैले उसलाई मेरा नजरको कापहरूबाट अवलोकन गर्न थालेँ । उसका ललाम लोचन, मिलेको नाक, नशालु ओठ, लामो सुभग केश, गर्दनको कालो कोठी; सबैले मलाई हेर्दै थिए । उसका आँखा मलाई साह्रै मन पर्छ । अझ मलाई उसले गाजल लगाएको खुबै मन पर्छ त्यसैले पनि मलाई भेट्न आउँदा अक्सर आँखामा मिलाएर गाजल लगाई आउँथी तर त्यो गाजल उसका आँखामा त्यस दिन भने सजिएको थिएन ।

केही समयमा कफी आइपुग्यो र मैले कफीको पहिलो चुस्की लिँदै उसको मौनतालाई नियाल्ने आयास गरेँ ।

“के भयो र? सबै ठीक त छ नि?” मैले सोधेँ ।

ऊ बोलिन ।

“नबोल्ने भए किन भेट्न बोलाउनू?” म रिसाएझैँ गरे । ऊ फेरि पनि बोलिन ।

मैले उसको कपाल केलाउन थालेँ र उसको देब्रे हातमा मेरो दाहिने हात खपाएर मायाँले फेरि सोधेँ, “के भयो भन त?”

त्यसपछि उसले लामो सास फेरी र निरन्तरताको स्वर निकालेर बोली, “बुवाले मास्टरका लागि काठमाडौँ जाने भन्नुभएको छ । सायद पर्सि नै म काठमाडौँ जाँदै छु । मैले मेरो पढाइ सबै यतै सक्ने भनेर सोचेकी थिएँ तर बुवाले काठमाडौँ नै जाने भन्नुभयो । ”

मलाई अचानक उदासीनताको मनोवेग हुन थाल्यो तर म मुस्कुराउन प्रयास गर्दै थिएँ, “के भयो त?राम्रो कुरा हो त । पढाइजस्तो ठूलो कुरा केही पनि त छैन । तिमी जानु पनि पर्छ । ”

“तर हामी टाढा हुन्छौँ नि त । ” नियास्रो अनुहार बनाउँदै ऊ मलाई हेरिरही ।

मैले उसको मन बुझाउन खोजेँ, “काठमाडौँ कति नै टाढा छ र? त्यही नि के तिमी सधैँका लागि जान लागेकी हो र? अझ आजकालको जमानामा फोन छ, फेसबुक छ । कुरा भइहाल्छ नि हाम्रो । ”

ऊ हाँस्न खोज्छे तर उसका आँखामा बेचैनीका संवेदहरू स्पष्ट देखिन्थे । ऊ पक्कै पनि खुसी थिइन । मेरो मनमा पनि कहीँकतै भय उत्पन्न भयो, कतै दूरीले हाम्रो सम्बन्ध टुट्छ कि भनेर तर म विश्वस्त भएर दाबी गर्न सक्थेँ उसलाई म आफूभन्दा धेरै विश्वास गर्थेँ भनेर ।

निराशाका भावले बोल्दै ऊ मेरो काँधमा आफ्नो मुन्टो बिसाउँछे, “तिमी एकदम मिस हुनेछौ । ”

मलाई समय यहीँ रोकिएको भए हुन्थ्यो भन्ने लागेको थियो तर केही समयमै हामी त्यहाँबाट निस्कियौँ ।

बेलुकीको समय, दक्षिणबाट शीतल बतास बतासिँदै थियो । ती बताससँगै उसका केशहरू उडिरहेका थिए । उड्दै गरेका केही केशले मलाई स्पर्श पनि गरे र मैले ती केशहरूलाई हेरिरहेँ । ऊ ती उडिरहेका केशहरू सिमल्न खोज्दै थिई । अरू बेला त्यही केश बताससँगै बतासिएको मन पर्ने उसलाई त्यो दिन भने मन परेको थिएन । सायद मबाट टाढिने कुराले उसका मनोभावना एकदम निराश भएको थियो त्यसैले मैले उसलाई केही बेर त्यहीँ बस्न अनुरोध गरेँ र हामी चौतारातलको एकान्तमा गएर बस्यौँ । त्यहाँबाट बेलुकीको सूर्यास्त ज्यादै राम्रो देखिन्थ्यो । सुबिनालाई सूर्यास्त पनि साह्रै मन पर्छ र हामी त्यही सूर्यास्तबाट उर्जिएका विकिरणहरू हेर्दै थियौँ । मलाई ती विकिरणले बनाएका त्यो रङ्गीन दृश्य पनि रङ्गहीन लाग्दै थियो । सुबिना भने सूर्यास्तको सुन्दरतामा हराइरहेकी थिई । ऊ यसरी एकमग्न भएर टोलाउँदा ज्याँदै मायालाग्दी देखिन्थी । मलाई उसैबखत ऊप्रति प्रेम जागेर आयो र मैले मेरो हात उसको कम्मरमा लगेर बिस्तारै राखेँ । सायद मेरो हातको स्पर्श उसलाई महसुस भयो । ऊ मतर्फ फर्केर एकोहोरो मलाई हेरिरही । मैले पनि उसका नयनमा गहिरिएर हेरेँ र उसलाई मतर्फ खिचेँ । एक्कासि हाम्रा स्वास एकदम उत्तेजित हुन थाले र बिस्तारै मैले मेरो ओठ उसको ओठतर्फ बढाएर चुम्बन गरेँ । उसले मेरो गर्दनमा उसका हातहरूले छुन थाली । मैले उसका केशहरू खेलाउन थालेँ । हाम्रा ओठहरू एकअर्काप्रति प्रेम प्रकट गर्दै थिए । म सुबिनाबाट मतर्फ आएको न्यानोपन पनि आभास गर्दै थिएँ । उसका हरेक स्पर्शले मलाई कमुक बनाइरहेको थियो र मेरो हात उसको केशदेखि उसकै गर्दन भएर उसको स्तनमा गएर अडियो । सुबिना सुखभोगले उन्मादित हुन थाली र मलाई बेस्सरी अँगालो हाली । त्यो मौन सन्ध्यामा हामी बेसुरमै मात्तिन थाल्यौँ र यसै त्यसै बैँसको उपभोगमा लुप्त भयौँ ।

बेलुकीको उज्यालो बिलाउँदै थियो । सुबिनाले त्यसपछि घर फर्किन आग्रह गरी र हामी हात समाएर बेलुकीको पर्यावरण नियाल्दै उसको घर जाने गोरेटामा पाइलाहरू बढायौँ । हामी बोलेनौँ, हामीबीच मुफतमा मौनता छाउँदै थियो तर हामीबीचको त्यो मौनताले भने अधिक भावहरू बटुलेका थिए । सायद ती भावहरू बोल्न खोज्दै पनि थिए । मनभित्र जेरिएर गाँठो हुन पुगेका ती भावहरू तर ती भावहरूका गाँठा फुक्न पाएनन् । सायद एकदम कसिलो हुँदो हो यसै त्यसै त्यतै कतै जेरिएर हराए र हामी फगत हिँडिरह्यौँ ।

केही समयको हिँडाइपछि उसको घरनजिकको मोडमा हामी पुग्यौँ । मलाई मेरा औँलाका कापहरूबाट उसको हातको स्पर्श हट्दै गएको महसुस भयो । उसले त्यही हातले आफ्नो कपाल मिलाई र मलाई बिस्तारै अँगालो हालेर बोली, “केही समयका लागि हाम्रो अन्तिम भेट यही हो । मलाई बसपार्कसम्म छोड्न बुवा जानुहुन्छ । हामी भेट्न मिल्दैन ।”

मैले केवल मुन्टो हल्लाएँ । मसँग बोल्नका निम्ति शब्दहरू थिएनन् । म केही बोलिनँ । मलाई बोल्न मन पनि थिएन । त्यसपछि ऊ पनि केही नबोलीकन उसको घरतर्फ लागी । म एकछिन त्यहीँ एकाग्र भएर टोलाएँ । एक्कासि मलाई मेरा पाइलाहरूले झस्काए र म पनि त्यही मोडदेखि फर्किएँ ।

शनिबारको दिन थियो । बिहान १० बजेको समय । असारको महिना । बादल गड्याङगुडुङ गर्दै गर्जिएको थियो । हावाहुरी तीव्र गतिमा बतासिँदै थिए । म बिहानै धोएको कपडा उठाउन घरको छ्ततिर उक्लिँदै थिएँ । त्यही समयमा नरेन्द्रको फोन आयो । नरेन्द्र मेरो केटासाथीहरूमध्येको एकदमै मिल्ने साथी हो । म र सुबिना प्रेमसम्बन्धमा रहेको कुरा ऊबाहेक कसैलाई पनि थाहा थिएन ।

“के छ हल्लिचल्ली नरेन्द्र?” मैले फोन उठाएँ ।

“मदन…” ऊ हडबडाएझैँ गऱ्यो र रुन्चे आवाज निकालेर बोल्न खोज्यो ।

“भन् न यार! के भयो? सबै ठिकै त छ नि नरेन्द्र ?” मैले सोधेँ ।

“सुबिना चडेको बसको मुग्लिनमा दुर्घटना भएछ । भे. १७४५ नम्बरको गाडी…”

मलाई एक्कासि डरलाग्दा अन्दाजहरूका लौराले मेरो मस्तिष्कमा लागेको भान भयो । मैले वरिपरि धमिलोमात्र देख्न थालेँ र मेरो शरीर एकदम कमजोर हुन थाल्यो । मैले केही पनि सोच्नै सकिरहेको थिइनँ तर मनमनै भने अपेक्षाको याचना गर्दै थिएँ, त्यो एउटा नचाहेको धरापिलो सपनामात्र होस् भनेर तर त्यो बिपना थियो; अवाञ्छित बिपना ।

नरेन्द्र फोनमा बोल्दै थियो । मैले फोन त्यहीँ फ्याँकेर सुबिनाको घरतर्फ दौडिएँ ।

मेरो खुट्टा एकदम रफ्तारको गतिमा थियो । मेरा हातहरू थरमराउन थालिसकेका थिए । म काँप्दै थिएँ । मुटु बेजोडले धड्किन थाल्यो । आँखा अगाडि सुबिनाकै मोहडा झल्कियो । म रुन पनि सकिरहेको थिइनँ, केवल म दौडिरहेको थिएँ । बादलहरू नितान्त आवाज निकालिरहेका थिए सायद त्यस दिन बादलहरू पनि खुसी थिएनन् र त्यही समयमै झरी पनि बर्सियो । मलाई झरीले अँगाल्यो । मलाई लाग्दै थियो, “यस झरीका प्रत्येक प्रवाहहरू मेरी सुबिना हुन् र मलाई उसले अँगाल्दै छे । उसलाई केही पनि भएको छैन । मैले उसको हरेक कमजोरीलाई आफ्नो शक्तिले परिवृत्त गरेको छु त्यसैले ऊ एकदम शक्तिशाली छे र उसलाई केही हुन पनि सक्तैन । ”

केही समयमै म सुबिनाको घरअगाडि पुगेँ । त्यहाँ मान्छेहरूको हुलजस्तो देखिन्थ्यो । नरेन्द्र पनि त्यहीँ थियो । मलाई त्यहाँ देख्नेबित्तिकै ऊ मसामुन्ने आयो । उसका आँखा रसाएका थिए र ऊ मलाई केही भन्न खोज्दै पनि थियो तर मलाई केही सुन्न मन थिएन । म केवल मेरा आँखाअगाडि सुबिना मुस्कुराएको हेर्न चाहान्थेँ । म केवल यो हुलमा सुबिनाको उपस्थिति होस् भन्ने चाहान्थेँ । म केवल चाहान्थेँ कि ऊ मेरा अगाडि आओस् र भनोस् “मदन! म ठिक छु । हेर त,मलाई केही भएको छैन । तिम्रो प्रेमले मलाई एकदम शक्तिशाली बनाएको छ । मलाई केही हुनै सक्तैन ।”

तर नरेन्द्र बोल्छ “सुबिना हामीबाट टाढा भई मदन । यो दुर्घटनामा उसको निधन भयो ।”

म एकलासले सुनिरहेँ । नरेन्द्र बोल्दै थियो, “सुबिनाको बुवा लास लिनका लागि जानुभएको छ । अब केही घण्टीपछि लास आउँछ होला । ”

मलाई उसको कुरा सुनेर हाँस्न मन लाग्यो । म हाँस्न पनि थालेँ । उसले नचाहिने कुरा गरेको जस्तो मलाई लागेको थियो । उसका कुराहरूमा भरोसा नभएकाले नरेन्द्रसँग रिस पनि उत्तिकै उठिरहेको थियो । मलाई उसले बोलेका शब्दहरूप्रति घृणा जागेर पनि आयो । अन्त्यमा मलाई नरेन्द्र नै मन पर्न छोड्यो र म त्यहाँबाट हिँडेँ ।

अब म कहाँ जाने, के गर्ने म आफैँलाई थाहा थिएन । म फगत हिँडिरहेको थिए । हिँड्दै गर्दा मेरा पाइलाहरू अगाडि बढ्न मानेनन् । मेरा गोडाहरू कमजोर भएको मलाई महसुस भयो । मैले त्यही गोरेटाबीचमै आफ्नो देहलाई विश्राम गराएँ । त्यसै क्षण सुबिनाको अनुहार मेरो आँखाअगाडि यसरी झल्कियो कि म भक्कानिएर रुन थालेँ । मलाई चिच्याएर रुन मन थियो । म चिच्याएरै रोएँ । मलाई सुबिनालाई अँगालेर रुन मन थियो तर म त्यसरी रुन सकिनँ । मलाई एक्कासि भगवान्‌सँग गुनासो पोख्न मन लाग्यो । मैले पोखेँ तर भगवान्‌ले सुनेनन् । म फेरि रुन थालेँ । यसबाहेक मसँग अरू केही विकल्प थिएन; म केवल रुन सक्थेँ ।

आज झन्डै ३ महिना हुन आँट्यो सुबिनाको प्राणले सास फेर्न भुलेको र त्यस दिनदेखि म यही कोठाभित्र यसै गुम्सिएको छु । म अब मात्र मृत्युको प्रतीक्षामा छु । मैले खुसी हुन पनि बिर्सिसकेँ । म बाँच्नुको हेतु के हो त्यो पनि मलाई थाहा छैन । म आफूभित्रै यसरी हराएको छु कि म आफूले नै आफूलाई भेटाउन सक्तिनँ । यो झरी, बादल, आकाश, चुरोट र यी धुवाँहरू नै यी दिनहरूमा मेरा सहारा बनेका छन् । म दिनभर ओछ्यानबाट मुन्टो तल झुकाएर कोठाको भुईँ हेरिरहन्छु । झ्यालबाट कोठाभित्र बतास बतासिँदा भुईँका कसिङ्गर उड्छ्न्, म त्यही एकोहोरिँदै हेर्छु; ती कसिङ्गर मेरो कोठाभरि उड्न पाउँदा खुसी देखिन्छन् । कोठाका भित्ताहरू पनि मलाई बाहिरी दुनियाँभन्दा कम लाग्दैन । म यसै भित्ताहरू हेरेर भए पनि दिनहरू बिताउँछु । म मेरो गुम्सिएको भावहरू यही भित्ताहरूलाई सुनाउँछु । यिनीहरू केही नबोलीकन मेरा कुराहरू सुनिरहन्छन् त्यसैले पनि हाम्रो सम्बन्ध आजभोलि गाढा बन्दै गएको छ ।

म कहिलेकाहीँ सुबिनालाई सपनामा देख्छु । ऊ मलाई सपनामा आएर खुब जिस्काउँछे । उसले कैयौँपटक हामी हिँडेका गोरेटाहरूमा सँगै हिंड्न आग्रह पनि गर्छे । यी सपनाका कुराहरूले मलाई बिपनामा साह्रै पिरोल्छन् । मेरो मन एकदम भारी भएर पनि आउँछ । म धेरैपटक सपनादेखि बिउँझेपछि सुबिनाको सम्झनामा रोएको पनि छु । वास्तवमा म उसलाई ज्याँदै सम्झन्छु । मलाई ऊसँगै हिँडेका ती गोरेटाहरूले बोलाएझैँ लाग्छ । ती हाम्रा बेलुकीहरूले मलाई याद गरेका छन् कि भनेर पनि म सोच्छु । सुबिना र मबिना कल्याण डाँडाको क्याफे अहिले एकदमै सुनसान होला । सायद अब सुबिना मेरो स्मरणदेखि हराउन पनि सक्तिन र म हराउन पनि दिन्न । उसको भौतिक शरीर मसँग नभए पनि उसका सम्झनाहरू मभित्र छन् । जब म आँखा चिम्लिएर ओछ्यानमा पल्टिन्छु तब मलाई सुबिनाको सम्झनाले छोपेझैँ लाग्छ । उसको शरीरको न्यानोपन मभित्रै आभास हुन्छ उसको बोलीको मिठास यहीँ मेरो कोठाभित्र गुन्जिरहेको म सुन्छु अनि मलाई सुबिना मसँगै छे झैँ लाग्छ । ऊ मभित्र बाँचिरहेकी छे र सधैँ मभित्र बाँचिरहने छे ।

सुर्खेत ।