केही चाहिने सर-सामान र दवाई किनेर गान्तोकको ‘टाइटानिक’ आइपुग्दा एउटै सीट भएको ट्याक्सीमा गरिमा हत्तारिँदै पसी । छेउमा गेरूवा वस्त्र लाएकी महिलाले अलि पर सरेर ठाउँ सजिलो पारिन् ।
‘अरे, तिमी अमृता होइनौ ? कसरी यहाँ ?’ गरिमाले छक्क पर्दै सोधिन् ।
ट्याक्सी पनि गुड्न थाल्यो । झण्डै २५ वर्षपछि उनीहरूको यसरी अकास्मात् भेट भइरहेछ ।
‘आजकल मलाई सबैले ‘अम्बिका बाईजी’ भनेर चिन्छन् । म डाँडा गाउँमा बस्छु । यता आएको वर्ष दिनजति भयो ।’
‘हरे शिव ! बाँचिरहे यसरी भेट हुँदोरहेछ नि ! म बहाई स्कूल रोडमा बस्छु । अफिसको ड्राइभरलाई अस्पतालमा हेरेर फर्केकी । तिमीलाई देखेर खुसी पनि लाग्यो, अचम्म पनि ।’ गरिमाले भनी।
‘जौं मेरो घरमा । पुराना-पुराना गफ पनि गरौँला ।’
‘दिदी आज मसित धेरै सामान छन् । बरू मसित जौँ । बाटोकै छेउमा डेरामा बस्छु ।’ अम्बिकाले असजिलो मान्दै भए पनि अनुरोध गरी ।
देउरालीको वन विभाग अफिसकै छेउमा एक जना यात्री उत्रियो । अर्को एक जना पसिहाल्यो ।
यति २०/२५ वर्षमा गान्तोकमा धेरै परिवर्तन आइसकेको छ । यही देउरालीका बाटोका दुवैपट्टि काठका एकतले घरहरू मात्र थिए । अहिले त कति राम्रा-राम्रा बिल्डिङ ‘बटरफ्लाई’ (पुतली पुल) फ्लाइओवर-छोर्तेनपट्टि ट्याक्सी स्ट्याण्ड र ‘रोप वे’को स्टेशन । झन् ‘पर्कीजलाई आजकल ‘न्यू केशल’ भने पनि पुराना मानिसहरू ‘पर्किज’ नै भन्छन् । कन्या पाठशालाको अवस्थितिले देउरालीको शान बढ़ाएको छ । सिजन लागेको बेला ट्याक्सी स्ट्याण्डमा गाड़ी पर्खनेहरूको लामो लाइन देख्न सकिन्छ । हल्ला छैन । ट्राफिक पुलिस व्यवस्था मिलाउन इमान्दारीसित तल्लीन देखिन्छ । उसको अनुहार कसैलाई यादै हुँदैन, तर गाड़ीहरू जाममा धेरै फस्दैनन् त्यहाँ । न त कुनै दुर्घटना भएकै सुनिएको छ ।
गाडीभित्र सबै जना अब चूपचाप छन् । देवराली गुम्पा काटेपछि गञ्जु लामापट्टि गरिमाले पुलुक्क हेरिन् । उनलाई आफ्ना मेजर पतिको याद आयो । अम्बिकाले गुम्बालाई पुनः नमस्ते गरिन् अनि सेतो गुरुद्वारलाई पनि । गुम्बा र गुरुद्वार सँगसँगै भएको यो ठाउँ उसलाई कुन्नि किन त्यस्सै मनपर्छ । फेरि कञ्चनजङ्घा पनि कहिलेकाहीँ झलक्क देखिन्छ । आम्दो गोलाइमुनि दुई यात्रीहरू ओर्ले । गरिमाले भनी, ‘बहिनी फेरि भेट हुन्छ हुँदैन, म तिम्रै घरतिर जानु पर्यो । तिमीलाई त म बहिनी नै भन्छु है, बाईजी होइन ।’
ट्याक्सी ड्राइभर पनि मुसुक्क हाँस्यो मात्र, केही बोलेन । उसको ट्याक्सीमा थरिथरिका मान्छे चड्छन्-झर्छन् । कोही टाँसिएरै बस्छन् । कोही फोनमा बात मारेको मारेकै, कोही व्यापारको गन्थन गर्दै, कोही झगड़ा गर्दै । तर आज दुई महिलाको अचम्भको भेटलाई उसले पनि बडो महत्त्वपूर्ण ठानिरहेछ, कुन्नि किन ?
ट्याक्सीबाट ओर्लेर उनीहरू ओह्रालो जाने बाटोतिर लाग्छन् । एउटा बिल्डिङको पछिल्तिरको पहिलो तलाको एउटा कोठामा पस्छन् । अम्बिकाले झ्यालको पर्दा खोलिदिइन्, अलिकति उज्यालो भित्र छिर्यो । गरिमा एउटा चौकीमा बस्न पुगी, अम्बिका आफ्नै पलङमाथि । उखरमाउलो गर्मी भए पनि गरिमाले ‘पानी पिउँदिनँ’ भनिन् र सोधिन्, ‘अन्त बहिनी, यस्तो महँगो जमानामा कसरी गुजारा गर्दैछ्यौ ? राम्ररी पढ्दै थियौ, बीचैमा कता हरायौ ? हामी छात्रावासमा धेरै दिनसम्म तिम्रै कुरा गरिरहन्थ्यौँ ।’
‘बाबाले सानो टुक्रा जमिन दिनुभएको थियो । जमिन बन्धक राखेर खादीबाट ऋण लिएर खुद्रे व्यापार गर्छु । तपाईं पनि केही त किनिदिनोस्न’ भन्दै टिनको सानो बाकसबाट सस्तो सेण्ट, लिपिस्टिक, साबुन, पाउडर, नेलपालिश निकाल्दै देखाउँदै सोध्छे, ‘दिदी तपाईँ चाहिँ के गर्नुहुन्छ ? नानीहरू कति जना छन् ?’
गरिमा ट्वाल्ल परेर अम्बिकालाई हेरेको हेरेकै हुन्छे । गाउन र नाच्न भनेपछि मरिमेट्ने अमृतालाई के भएछ ? ऊ हिरोइन हुने सपना सबैसित साट्ने गर्थी । बाबुआमाकी एउटै छोरी, घरमा उसलाई अपुग केही त थिएन ।
उसले घच्घचाउँदै सोधी, ‘दिदी, के भयो तपाईँलाई ?’
गरिमा झसङ्ग भई । ‘तिमीले के सोध्दै थियौ ? म त स्कूलकै कुरा पो सम्झिदैरहिछु । तिमी कसरी बाईजी भयौ हँ ?’
उनीहरू अहिले प्रौढ भइसकेका छन्, चालीसे उमेर नाघिसकेका ।
‘आः होस् दिदी ! कुरै नगर्नुहोस् । सम्झिँदा पनि आफैँसित रिस उठेर आउँछ ।’
‘भन न भन ।’
‘आफ्नो पहिला भन्नुस्न ।’ उसले फ्रूटी निकालेर दिई । दुवैले चुस्की लिन थाले ।
‘अहिले म सिक्किम सरकार सिविल अधिकारी भएर वन विभागमा काम गर्दैछु । कलेज सकेपछि कप्तान खड्कासित बिहे भयो । हालमा ठूलो छोरा पिडब्लुडीमा एसिस्टेट इञ्जिनियर छ । सानु छोरी नाम्ची कलेजमा प्राध्यापिका काम गर्दैछे । घरमा फुपूकी छोरी आएर सजिलो भएको छ । अर्को वर्ष छोरोको बिहे गरिदिनुपरेको छ ।’
अम्बिका (अमृता) ले रामकहानी छोटकरीमा सुनाई । रानीपुलमा पाइलट बाबा हेर्न गएका साथी रेमिका पनि बाबाको पछि पछि लागेर हरिद्वार आएकी थिइन् । यद्यपि, हामीहरू बम्बई जान खोज्दै थियौँ । बाबाका अनुयायीहरूले ‘बम्बई पुर्याइदिन्छौँ’ भनेर भुल्याउँदै हाम्रो शारीरिक र मानसिक शोषण गरिरहे । अब गाउँघर फर्किसक्नु थियो र ? दीक्षा लिएर बाईजी भएर गुरु र चेलाहरूको सेवा गर्दै ईश्वरको इच्छामा समर्पित भयौँ । गेरूवा वस्त्र लाएरै अमेरिकामा ४/५ वर्ष गुजारेको कथा सुनाएर चुप्प लागी ।
‘ए… अमेरिका त घुमेर आएछौ । अँ, हामीले त तिमी बम्बई गयौ रे भन्ने पो सुनेका थियौँ । जसो होस्, आफ्नो जन्मभूमि सम्झेर आएछौ । मेरो घर बहाई स्कूलकै अघि दुई बिल्डिङ छोड़ेर छ । मेजर खड्काको घर भनेर आऊ ल । दुःख सुखका कुरा गरौँ । अहिले जान्छु । घरमा पाहुना आउने कुरा त भुसुक्कै बिर्सेछु । बस ल ! पक्कै आऊ है !’
अम्बिका तलसम्म पुर्याउन आई । गरिमालाई ट्याक्सीमा चढेकी हेरिरही, अनि भित्र पसी । उसलाई शान्त र संयमित हुन् निक्कै समय लाग्यो । राती पनि धेरैबेर निद्रा लागेन । आफूसित कला भएर पनि ठूलाठालुको विचारको कदर नगरी स्वछन्द बग्ने उन्मादले उसलाई कहाँ ल्याएर पछार्यो !
आउनुपर्ने पाहुनाहरू अर्को हप्तामात्र आउने भन्ने सुनेर गरिमा पनि आश्वस्त भई ।
बरण्डामा बसेर चियाखाजा खाँदै ठूलो छोरो मुकुन्द र सासू अनि श्रीमानसित हरिद्वार पुगेको सम्झना गर्न थालिन् । दिल्लीबाट उनीहरू बसमा गएका थिए । स्थानीय व्यक्तिले गङ्गा नदी पनि राम्ररी देखिने होटलमा पुर्याइदिएको थियो अनि भोलिपल्ट दिनभरि कहाँ-कहाँ घुम्न सकिन्छ भनेर अटो पनि लिएर आउने निधो गरेर फर्केको थियो । यसरी यात्रुहरूलाई बाटा देखाउने मानिसहरू भए नयाँ ठाउँमा अल्मलमा परिँदैन । यो व्यवस्थालाई सबैले मन पराए । यसरी गङ्गा माताले आफ्ना सन्ततिको भरणपोषण पनि गरिरहेकी ज्ञान श्रीमती खड्काले छोराबुहारीलाई बुझाइन् । माताले सधैँ कर्तव्य पालन गरिरहनुपर्छ भनेर बुहारीलाई सम्झाइन् । उनीहरू सबैले गङ्गा मातालाई पुनः नमन गरेर भित्र पसेका थिए । गरिमा पनि विचार श्रृङ्खलालाई त्यहीँ छोड़ेर भित्र पसी । बाहिर निक्कै साँझ झरिसके थियो ।
भान्सा सकेपछि बहिनी हीरासित उनी स्वटेर बुन्दै गफ गर्न थालिन् । ‘आमाले सबैलाई बिहानै गङ्गा स्नान गर्न उठाउनु भयो । छिट्टै तयार भएर पुग्दा असङ्ख्य मानिसहरू गङ्गामा नुहाइरहेका देख्यौँ । हामीले पनि कुनातिर गएर डुबकी लगायौँ । हरे शिव ! कत्ति चिसो पानी ? छुँदै मात्र पनि बिजुली लागे झैँ हुने । मैले आमालाई साङ्लो समात्न लाएँ अनि मगले गङ्गा जल खन्याइदिएँ । उहाँ त टाउकोमा चिसो पानी झर्दा सैं सैं हुनुभो र झण्डै नदीले बगाएर लग्यो । त्यहाँ पुरुषहरू आउन मनाही रहेछ । छिट्टो गरेर लुगा फेर्नपट्टि लाग्यौँ । खालीखुट्टै माथिसम्म पुग्दा खुट्टा ठिहिर्याए उस्तै । जिउ कामेर ‘हर हर गङ्गे’ भन्दै गङ्गा नदीलाई नमस्कार गर्दै आरती भए ठाउँ पुग्यौँ । बाबु-छोरा पनि हाम्रै अघि अघि थिए । नत्र त्यत्रो भीडमा आफ्नो मान्छे भेट्नै गाह्रो ।”
‘अन्त दिदी, हामीले किन गङ्गा नदीमा त्यसरी नुहाउनु परेको ?’ हीराले सोधी ।
‘पुण्य हुन्छ रे, पाप काटिन्छ रे, एकपल्ट भए पनि हरिद्वार काशीमा गएर गङ्गा स्नान गरेदेखि पितृ पनि खुसी हुन्छन् रे !’
‘अन्त नि, सुन न अझै । हामीले पनि सानो टपरामा धूप बत्ती बालेर फूल-अक्षता चढ़ाएर गङ्गा माताको पूजा गर्यौँ । एकैछिनमा आरती गाएको सुनियो । बूढा-बूढा साधुहरूले ठुल्ठूला आरती बालेर भक्तिसहित आरती गाउँदा रहेछन् । घाटैभरि लहरै उभिएर मानिसहरू हातमा आरती लिएर उभिएका अनि, नदीतिर स-साना बत्तीहरू झिलिलिली गर्दै बलिरहेका – कति सुन्दर ! हेरिरहूँ जस्तो । हामी पनि नमस्ते गरेर उभिरह्यौँ । मनै शान्त भएर आयो । सासू आमा त खास्टोले आँसु पुछ्दै हुनुहुन्थ्यो । बिचरी ! त्यसको दुई वर्षपछि त उहाँ स्वर्गे भइहाल्नु भयो । त्यस दिन हामी लक्ष्मण झूला र मन्दिर हेर्न गयौँ । भोलिपल्ट फर्किहाल्यौँ ।’
‘अन्त दिदी ! आज के मन आएर हरिद्वारको गफ निकाल्नु भएको ?’
‘होस् पछि भन्छु । आज निक्कै थाकिएछ, सुतौँ ल ! भोलि फेरि एउटा गाउँले सभामा जानुछ । साई राम !’
‘साई राम दिदी ! राम्ररी सुत्नुहोस् है ।’ भन्दै ऊ पनि आफ्नो कोठातिर लागी ।
घरधन्धा, इष्टमित्र, परपहुना भन्दाभन्दै दुई महिना बितेको उनीहरूलाई पत्तै भएन । छुट्टीमा नाम्चीबाट छोरी आएर हप्ता दिन बसेर गई । छोरोलाई घरि गेजिङ, घरि जोडथाङ गइरहनुपर्छ । श्रीमानको आसामपट्टि सरूवा भएको छ ।
सब्जी किन्न गरिमा एक दिउँसो तादोङ बजारसम्म पुगी । धान पनि मिलमा कुटाउनु थियो । दवाई दोकानमा हरि भाइलाई भेटेर सोधी, ‘भाइ ! धेरै दिनपछि भेट भयो नि ? किन थकित देख्छु ? कहाँबाट आउनुभएको ?’
‘नमस्कार दिदी, साँच्चै ! माथिल्लो र तल्लो गाउँ बस्छौँ । कस्तो भेटै नभएको नि ! अति नै व्यस्त भइएछ । अँ, आज रानीपुल घाटसम्म मलामी गएको थिएँ, त्यतैबाट भर्खर आउँदैछु । अन्त, तपाईंलाई सञ्चै ?”
‘मलाई ठीकै छ । कसलाई के भयो भाइ ?’
उसले छोटकरीमा भन्यो, ‘अम्बिका बाईजीलाई काकाले उनकै मन्दिरमा आश्रय दिएर राखेको महिना दिन भएथ्यो । दिउँसो गाउँका केटाकेटीलाई भजन सिकाउने, मन्दिरको हेरचाह गर्ने गर्थिन्। उनैबाट काकाले सो जमिनको ऋण तिरिदिएर उकासेका थिए, सोही जमिनमा दुइटा बिल्डिङ बनाएका हुन् । काकाकाकीकै परिवारले उनको हेरचाह गर्दै थिए । तीन दिनको जरोले हिजो नै उनको निधन भयो । आफ्नै नेपाली चेलीलाई बिल्लीबाठ हुनदेखि बचाए उनले । मन्दिरमै काम सघाउने सानो ठिटो किरियापुत्री बसेको छ । मान्छेको भाग्य पनि, कहाँदेखि कहाँ गएर मर्नु पर्दोरहेछ नि दिदी !’
‘बिचरी अम्बिका ! म राम्ररी चिन्छु उसलाई । हामी सँगै पढ़्थ्यौँ । मभन्दा दुई श्रेणी कममा पढ्थी । पछि अचानक हराएकी थिई । मैले उसलाई ट्याक्सीमा भेटेर उसको डेरासम्म पनि गएकी थिएँ । बिचराको दुख्खै लुक्यो ।’ गरिमाले न्याउरो मुख लाएर भनी, ‘अब कामको दिन पक्कै आउँछु ल ।’
उनीहरू आ-आफ्नै बाटो लागे ।
हीराले अचम्भित हुँदै सोधी, ‘छिट्टै फर्कनु भयो त ! अम्बिका बाईजीलाई भेट्नु भएन ?’
उसले खुइय्य गर्दै भनी, “बिचराको हिजै मृत्यु भएछ । उसलाई सम्झँदा मलाई सधैँ हरिद्वारकै याद आउँछ ।उनी उठ्दा-बस्दा सधैँ भन्ने गर्थिन्, ‘हरहर गङ्गे ! रक्षे गर !’ उसलाई गङ्गा किनारमा लावारिश मर्नुभन्दा सिक्किम आमाकै काखमा, रानीपुलको घाटमा विसर्जित हुनु थिएछ । रानीपुलको खोला र गङ्गाजलमा के पो फरक छ र, हो कि उसको लागि ?’ भन्दै पछि फर्केर हीरालाई सोधी । ऊ त कहिले त्यहाँबाट आधा कुरा सुनेर भित्र गइसकेकी थिई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।