दिउँसै झरी परिरहेको छ । म एक साधारण पहिरनमा सजिएकी सुन्दर युवतीसँग क्याफेको छेउपट्टिको क्याबिनमा छु। जहाँबाट तल कालीपुल बसपार्क, अलि पर अग्लो भीरबाहेक अरू देख्न पाइँदैन ।

अग्लो भीरले मलाई गिज्याइरहेको छ । म भुइँमान्छे त्यो भीरभन्दा अग्लो उचाइ हासिल गरेर पनि फेरि भुइँमै झरेको एक मनुवा ! झर्नुको मजा पनि बेग्लै हुँदो रहेछ, जबसम्म भुँइमा पछारिनु पर्दैन । तर म पछारिएर उठ्ने कोसिस गर्दैछु । र त मलाई त्यो भीरको उचाइसँग लाज लागिरहेछ ।

यतिकैमा मेरो अगाडिकी युवतीलाई कफी अफर गरेँ, तर उनले पहिल्यै अर्डर गरिसकेकी रहिछन् । म त टोलाएर पो केही पनि थाहा नपाउने भएकाे रहेछु । खै उनी के के बोल्दै थिइन्, यतिकैमा कफी आयो ।

“कफी पिऊँ है ?” भनेर कफीको प्याला समाउन नपाउँदै ऊसँग रेडरोज क्याफेमा चिया खाएका जुठा कपले टेबल भरिए । हो महोदय, रेडरोज क्याफेबाट इलामको चिया बगान हेर्न पाइन्थ्यो । यहाँ जस्तो कहाँ थियो र त्यहाँ मलाई गिज्याउने भीर ? त्यहाँ त स्वर्गको अनुभूति हुने प्राकृतिक दृश्य थियो । साथमा मेरी एन्जल । म त अग्लो पहाडको चुचुरोमा थिएँ । यतिकैमा एन्जिला खिस्स हाँस्दै भनिन्, “कोल्ड कफी मन पर्छ हो ? चिसो हुँदासम्म किन समाएर मात्रै बसेको ?”

रमेश गुरुङ विप्लव

जबर्जस्ती म पनि खिस्स हाँस्दै भनेँ, “अघि यति हट युवती भएपछि मलाई सबै ताता चिज बेकार लाग्छन् । चाहिँदैनन् । तिमीलाई हेरेर टोलाएछु नि लाटी !”

झन्डै १ घन्टाको बसाईमा एन्जिलाले के के सुनाइन् के के, तर म त्यति एक वाक्यमात्रै बोलेछु, त्यो पनि झुट । र, यो झुटमा पनि खुब खुसी देखिन्थी एन्जिला ।

झुट यो मानेमा कि एन्जिला हट छे या छैन म जान्दिनँ । मलाई त मेरी एन्जल नै बोल्ड लाग्छ ।

एन्जिला ‘हगि’ भन्दै छेउमै बसेर रोमान्टिक हुन खोज्दै थिई, तर मलाई मेरी एन्जलको याद तीव्र आइरहेको थियो । दश वर्षको रिलेसनमा सात वर्ष गहिरो प्रेमसम्बन्धमा थियौँ म र मेरी एन्जल । तर पनि उसले ‘हगि’ कहिल्यै भनिन । तर म विगतलाई झन् झन् सम्झिँदै गइरहेकाे छु ।

कुरा दस वर्षअघिको हो । म साथीको घर गएको थिएँ । उसको घरमा सानोतिनो पूजा थियो । मेरी एन्जल पनि पूजामा आएकी थिई । उसलाई देखेर म मन्द मुस्कुराउँदै हेरिरहेको रहेछु । साथीले याद गरेछ, आएर जिस्काउने शैलीमा खुसुक्क कानमा भन्यो, “राम्री लाग्यो ?”

“होइन । मेरै लागि भगवानले बनाइदिए जस्तो लाग्यो !” मैले भनेँ । मेरो कुराले साथी हाँस्यो मात्र ।

ऊसँग पूजाघरमै सामान्य परिचय र मोबाइल नम्बर साटासाट भयो । र म भोलिपल्टै घर फर्किएँ । बाटोमा उसले ४/५ पटक फोन र मेसेजमा मेरो खबर सोधिरही । सुखद यात्राको कामना पनि गरी । तर म घर आएपछि मन कतै अडिएन । न साथी न कलेज न घर परिवार ! उसैको मात्र याद आउन थाल्यो । घरमा काठमाडाैँ कलेज रोज्न जाने बाहाना बनाएर उसलाई नभनी लागे इलामतिर । आधा बाटो कटेपछि बल्ल खबर गरेँ उसलाई । हाम्रो भेट भयो, उसैको रोजाईको रेडरोज क्याफेमा ।

म उसलाई सम्झिरहेको बेला एन्जिलाले भनी, “म ढिलो गरेर रिसाएको हो ? सरी कालू ।”

“होइन होइन” मैले भनेँ ।

कति छिटो सरी भन्न सकेकी एन्जिलाले ? मेरी एन्जलले सात वर्षमा एकपटक पनि सरी भनिन या केही गल्ती नै गरिन ।

हामी कालीपूल क्याफेमा छौँ । यसका सन्चालक मेरा मित्र हुन् । उनीसिवाय यस क्याफेमा अरू काेहीसँग पनि चिनजान छैन मेराे । तर रेडरोज क्याफेका कटेज, केही थान प्याला प्लेट र स्टाफ सबैले चिन्छन् हामीलाई । यदि हामी आज पनि त्यही क्याफेमा हुन्थेऔँ भने फर्निचरहरू, जुठा प्यालाहरूले अचम्म मान्दै कानेखुसी गर्थे होला – “मान्छेहरू मान्छेलाई नै त जुठो हाल्दै हिँड्ने रैछन् । हामी प्यालाहरू त कति जुठो बनाए होलान् ?”

मेरा मित्रले म क्याबिनमा भएको थाहा पाएपछि बिनाअर्डरको कफी ल्याइदिए । अब भने मैले एन्जिलालाई हेरेँ र कफी लिन आग्रह गरेँ । ऊ पनि मलाई नै हेरिरहेकी थिई । मन्द मुस्कान थियो उसकाे ओठमा । म भने कफी पिउँदै मेरी एन्जललाई सम्झिरको छु । उसले मलाई कफी खानै दिन्नथी । भन्थी, “निद्रा आउँदैन कफी सेवन बढी गर्यो भने ।”

मेरो मन रेडरोज क्याफेमै थियो, त्यही बेला एन्जिलाले नन्भेज आइटम मेरो मुखमा राखिदिइन् । केही वर्ष पहिले चिकेन म:म खाँदा उसले “कति खान सकेको मासु ? राक्षस जस्तो !” भनी कराएकी थिई । त्यतिमात्र कहाँ हाे र ! मलाई शाकाहारी बनाइसकेकी थिई उसले ।

मलाई उसले आफ्नो सहरको कोठामा लगेर पनिर खुवाएको याद आयो । रूखो सुनिने बोलीमा माया मिसाएर मलाई खाना खुवाउँथी ऊ ।

“साँझको चार बजिसक्यो, अब हिँड्नु पर्छ । कतिबेर बस्ने ?” एन्जिलाले सोधी ।

“तिमी आफैँ विचार गर न लाटी !” भनेर म फेरि रेडरोज क्याफेमा फर्किएँ । त्यही क्याफेमा रात परेपछि उसको कोठामा गएर बिताएका केही दर्जन रातहरू मलाई ताजै लाग्छन् । उसले कसरी भुल्न सक्दी हाे र ती क्षणहरू !

यसरी चलिरहेको थियो हाम्रो प्रेमपूर्ण जिन्दगी, तर दुबै जनाको पढाइ बिग्रेकाले भविष्य अन्धकार हुने निश्चित थियो ।

हामी निधो गर्याैँ – विदेश जाने ।

बेल्जियम जाने र उसलाई पनि लग्ने सपना पूरा नभएपछि बाध्यतावश म साउदी अरेबिया पुगेँ । र, केही समयपछि बिहे गर्ने योजनामा म फर्किएँ । तर आउँदा केही पनि पहिलेजस्तो थिएन । मेरी एन्जलकाे व्यवहार फरक थियो । गाउँमा अर्कै हल्ला भएको कुरा साथीले सुनायो । ऊ अरू कसैसँग प्रेममा थिई भन्ने सुनेपछि मेरो हाल खराब हुने नै भयो । तर ऊ रुदै थिई, र मैले अङ्गालो हालेर सम्हालेको थिएँ । हो, त्यहीबेला उसले गल्ती भएको स्वीकारेर एकपटक सरी भनी, र सबै भुलेर हामी फेरि रमाउन थाल्यौँ । तर सात वर्षको प्रेममा त्यहाँबाट तिक्तता आउन थाल्यो । झगडाहरू बढिरहे । मैले उसको पुरानो गल्तीलाई लिएर सधैँ टर्चर गर्ने क्रम धेरै चल्यो । नियमित भेटघाट हुन्थ्यो हाम्रो, तर सम्बन्ध चिसो हुने क्रम तीव्र थियो । न छाडेर हिँड्न सक्ने, न पहिलेजस्तो प्रेम नै गर्ने, निकै अप्ठेरो अवस्था सिर्जना भयो हाम्रो प्रेममा ।

बिस्तारै हामीले एकअर्काको केयर गर्न छाड्याैँ । झन्डै झन्डै प्रेममा म पागल भएको थिएँ । मेरा साथीहरूले मलाई उसकाे यादबाट छुटकारा दिलाउन, यौन प्यास मेटाउनलाई यौनकर्मी कहाँ नपुर्याएका पनि होइनन्, तर मलाई मूड आएन । अझै भनौँ, ती यौनकर्मीप्रति घृणा लाग्यो । उसैको याद आयो । पूजा नगरी भेटी चडाएर फर्किएँ ।

यसै क्रममा फेसबुकमा मेरो भेट एन्जिलासँग भयो, र हामीबीच कुरा हुन थालेको थियो ।

त्यसैबेला उसको मोबाइलमा पनि कसैको मेसेज देखेपछि झगडाले चर्को रूप लियो । यद्यपि हामी अलगिएका थिएनौँ । मैले उसलाई कुनै बेला माफी दिएको निहुँमा बारबार उसकाे अपमान गरिरहेँ । यतिसम्म भयो, सँगै बसेर उसैलाई मेरो फोन रिचार्ज गर्न लगाएर मैले एन्जिलालाई फोन गरेको छु । ऊ सुध्रिदै जाँदा म आफू बिग्रेको पत्तै पाइनँ, र अहिले उसकाे अन्तै बिहे पनि भैसकेकाे खबर पाएको छु ।

आज एन्जिलासँग भेट हुँदा पनि मन उहीँ माथि छ । मनमा छे ऊ । मनमनै सोचिराछु, “प्रेम भनेको स्टिकरजस्तै रैछ कि ? जहाँ चिप्कायो उहीँ बस्ने । निकालेर अन्त चिप्काउनै नमिल्ने । सामाजिक या भौतिक रुपमा तिमीलाई एक जुनीभर पनि पाउन सकिनँ, तर सात जुनीमा पाउने प्रेम सात वर्षमा पाएँ । र, मैले पनि उति नै प्रेम गरेको छु । सरी मेरी मनकी एन्जल, अब बिदा हुनै पर्छ ।”

यतिकैमा एन्जिलाले बोलाइन्, र भनिन्, “छ बज्नै आट्यो । बस छुट्ने समय भयो, लाग्नु पर्छ ।”

यतिकैमा उसकाे बाबाको फोन आयो । ऊ बाबासँगै हिँडी काठमाडौँकाे यात्रामा । म उसलाई बिदाईको हात हल्लाउँदै केहीछिन एकोहोरिएँ । र, फर्किएँ आफ्नै कोठा ।