कुशल र विनिता एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेछन् । एक अर्काबिना त बाँच्नै नसक्ने रे ! कुशलकी आमाले पछि मात्रै थाहा पाउनु भयो, यी दुईको प्रेम प्रसङ्ग । त्यसै त छिमेकी, त्यसमाथि पनि विनिता ! कुशलकी आमा स्तब्ध हुनुभयो । विनिता केवल नाम मात्रकी विनिता थिई । न त उसमा विनम्रता थियो, न त शिष्टता । पढाइको त कुरै छोडौँ ! स्कूले उमेरदेखि नै चञ्चल अनि उत्ताउली ! उसको ध्यान पढाइमा भन्दा पनि श्रृंगारमा बढी थियो । पढ्ने विषयवस्तुमा भन्दा पनि कसको प्रेम कोसँग छ भन्नेमा ।
फेसनको कुरा गर्ने हो भने वरपर ऊ जति जान्ने सायदै कमै थिए होलान् । मध्यम वर्गीय घरपरिवारमा जन्मिएको भए तापनि उसले आफ्नै बुवाआमाको श्रम र पसिनाको कदर गर्न कहिल्यै जानिन । सहयोगको त झन् कल्पनै नगरे हुने ।
निम्न वर्गीय कुशल पढाइमा निकै अब्बल थियो । साथै, रुपमा पनि । उसको रुप सौन्दर्यमै आकर्षित भएकी थिई विनिता । विवाह नगरे मर्छु भन्ने विनिताको धम्कीका सामु ती दुवै परिवारको केही लागेन । त्यसैले नचाहँदा नचाहँदै पनि उनीहरुको विवाह गरिदिन बाध्य भए ।
विनिता घरकी कान्छी बुहारी । कामको नाममा सिन्को भाँच्नु परे पनि के के न गरे जस्तो मान्थी । खाना बनाउन त परै जाओस् । खानासमेत खानका लागि अरुले नै बोलाउनु पर्थ्यो । प्रायः ऊ फेसबुक र टिकटकमै ब्यस्त हुन्थी । धन्न, बाह्र कक्षा भने पास गरिछे !
परिवारका सदस्य सबैले मिलेर समानरुपमा एक अर्कालाई सहयोग गरे पो मेलमिलाप हुन्छ । तर त्यो भाव विनितामा पटक्कै थिएन । यस्ता कुरामा वास्तै गर्दैन थिई ऊ । विनिताको यस व्यवहारबाट परिवारका सबै सदस्य आजित भएका थिए । कुशलका अन्य दाजुभाइले छुट्टिएर बस्ने निर्णय गरे । छुट्टिए पनि । छुट्टिँदा धन त बाँढियो बाँढियो । मिलेर सँगै बस्ने दाजुभाइको मन पनि बाँढियो । कुशलका बुवाआमा कुशलसँगै बस्ने हुनुभयो । विनितालाई त्यो कुरा मन परेको थिएन । ऊ चाहन्थी, आफ्नै पाराले जीवन जिउन । स्वतन्त्रता चाहन्थी ऊ । ऊ ठान्दथी सासू-ससुरासँगै बस्नु भनेको स्वतन्त्रतामा अंकुश लाग्नु हो । तर कुशल उसको त्यो कुरामा पटक्कै सहमत थिएन ।
समय बित्दै गयो । ऋतुहरु परिवर्तन हुँदै गए । अब विनिता र कुशल पनि एक छोराका अभिभावक भैसकेका थिए । सानोतिनो व्यापारबाट आफ्नो घरपरिवार जसोतसो कुशलले धानी रहेकै थियो । विनिताले पनि ब्युटीपार्लर चलाएकी थिई । विनिताकी एउटी साथी त्यहाँ आइरहन्थी, कहिले राम्री हुन त कहिले त्यसै गफगाफ गर्न । त्यही साथीले उसलाई आफ्नो श्रीमान् विदेशमा भएर नै आफूलाई पैसाको खाँचो नभएको कुरा सुनाइरहन्थी । विनिताको मन मस्तिष्कमा पनि उसको श्रीमान् विदेश जाओस् र पैसा पठाओस् भन्ने चाहना बढ्न थाल्यो । ऊ दिनदिनै कुशललाई विदेश जानका लागि कचकच गर्न थाली । भर्खरै तोते बोली बोल्न लागेको त्यो सानो छोरा, ती वृद्ध बुवाआमालाई अनि विनितालाई नै छोडेर जानुपर्ने कुराको ऊ कल्पनासमेत गर्न सक्दैनथ्यो ।
विनिताको हठको अगाडि उसको केही जोर चलेन । आखिरमा उसले विदेश नगई धरै पाएन । बाह्र कक्षास
म्म मात्र पढेकाले युरोप अमेरिकाजस्ता देशमा गएर जागिर खान त सम्भव नै थिएन । ऊ मजदूरको रुपमा खाडी मुलुक जान विवश भयो ।
कुशलले तातो मरुभूमिमा श्रम र पसिना बेचेर भए पनि घरपरिवारलाई पैसा पठाउन थाल्यो । कहिले आफ्नो घरपरिवार नछोडेको उसलाई विरक्त लाग्थ्यो । त्यो विरानो देशमा न त धर्म मिल्थ्यो, न भाषा, न त संस्कार नै । कहिलेकाहीँ अत्तालिन्थ्यो । तर के गरोस्, ऊ लाचार थियो । एकातिर बैंकको ऋण, अर्कोतिर विनिताको हठ ।
उसले पठाएका पैसा विनिताले आफ्नो मोजमस्तीमा खर्चिएकी थिई । ऊ फेसनमा आएका लुगा कपडा लगाएर ठाँटिएर हिँड्थी । उसलाई के थाहा, कुशलले कति दुःखले पैसा कमाएको छ । पैसा पठाउन केही समय ढिला भयो भने पनि छिटो पठाउनका लागि बारम्बार फोन गर्थी ऊ । विनिताको खुशीका लागि अनि छिट्टै घर फर्किने आशले ऊ अहोरात्र खटिन्थ्यो ।
विनिताकी साथी इजराइल जाने भइछ । विनितामा पनि विदेश जाने भूत सवार भयो । ऊ सासू-ससुरा अनि कुशलसँग विदेश जान्छु कि जान्छु भनी ढिपी गर्न थाली । अन्त्यमा, त्यो सानो छोरालाई सासू-ससुराको जिम्मा लगाएर ऊ इजरायल गई । ब्युटीपार्लरसमेत बेचेर ।
उसलाई के थाहा, विदेशी भूमिमा पैसा कमाउन कति कठिन हुन्छ ! विदेशमा बसेका मान्छेहरुको सुन्दर तस्वीर अनि क्यामरामा कैद मनमोहक दृश्य हेरेर सुखसयलको कल्पना गरेकी थिई उसले । तर त्यो यथार्थ हैन भन्ने बुझेकै थिइन । ती तस्वीरहरुले मानिसको हृदयको आवाज पनि व्यक्त गर्ने हो भने बाध्यताले नभई रहरले विदेशिनेहरुको संख्यामा पक्कै केही कमी आउँथ्यो होला । त्यो त केवल आकृति हो, मन होइन ।
एक वृद्ध महिलाको सम्पूर्ण स्याहारसुसारको जिम्मा पाएकी थिई उसले । आफ्नो शरीर नै थेगेर हिँड्न नसक्ने ती महिलालाई उठाउने, हिँडाउने, बेला-बेलामा खुवाउने त उसको दिनचर्या नै बनेको थियो । सँगै गएकी साथी विनितालाई बरु आफ्नै देशमा बसेर ती बुढा सासूससुराकै सेवा गरेकी भए त तिमीले धर्म नै कमाउँथ्यौ होला । ती बुढाबुढी र त्यो सानो बालकलाई रुवाएर यहाँ आउन रहर गरिहाल्यौ । मेरो पो बाध्यता थियो । श्रीमान् अपाङ्ग भएर घर फर्किनु भयो । आयस्रोत केही थिएन । ती बालबच्चा कसरी थेग्नु ? केही त गर्नैप¥यो, त्यसैले आएँ । तिमी फर्क बरु । घरै जाऊ’ भन्ने गर्थी । प्रत्युत्तरमा आएँ, अब त जसरी पनि पैसा कमाएरै जान्छु’ भन्थी ऊ ।
पहिले पहिले कुशल र विनिताको बारम्बार कुराकानी भैरहन्थ्यो । आफ्ना आफ्ना काम अनि दुःखसुखका कुराहरु साटासाट गरिरहन्थे । त्यो सानो छोरा सम्झेर कहिलेकाहीँ गहभरी हुन्थे उनीहरु । पछि पछि त विनिताले सम्पर्क नै गर्न छोडी । कुशलले चाहिँ बारम्बार सम्पर्कमा रहने कोसिस गरिरह्यो । त्यही पनि विनिता कुनै न कुनै बहाना बनाएर कुशललाई पन्छाउने गर्थी । कुशललाई के थाहा, विनिताले त विराटनगरबाट इजरायल गएको सुलभलाई पो मन पराउन थाली भन्ने कुरा ।
विनिताले बिर्सी, आफूलाई माया गर्ने श्रीमान् । मामू…मामू …भनेर सम्बोधन गरिरहने त्यो सानो छोरा । बिर्सिई परिवार अनि समाज नै । त्यति मात्र कहाँ हो र सुजल र विनिताले नेपाल फर्केर छिट्टै विवाह बन्धनमा बाँधिने वचन पनि दिइसकेछन् एक अर्कालाई ।
केही महिनापछि कुनै खबरबिना विनिता अचानक घर गई । अब त छोराले आमाको न्यानो स्नेह पाउने भयो भनी सबै खुशी भए । छोरालाई माया गरेझैँ गरे पनि त्यो केवल विनिताको ढोंग मात्र रहेछ । अब कुशललाई ऊ बारम्बार छिट्टै नेपाल फर्कनका लागि आग्रह गर्न थाली । यसरी विनिताको फोन आइरहँदा कुशल निकै खुशी हुन्थ्यो । अनि कल्पनाको महल सजाउन थाल्दथ्यो । नभन्दै कुशल फर्कियो पनि अनेकन खुशी बुन्दै । तर त्यो खुशीले मुना पलाउन मात्रै के खोजेको थियो, मुर्झाउनु प¥यो ।
विनिता न त खुसी मुद्रामा देखिन्थी न त पहिलाझैँ प्रेमपूर्ण भावमा प्रस्तुत हुन्थी । केही भन्न खोजेझैँ गर्थी कुशलसँग । उसको छटपटी देखेर कुशल आफैँ छक्क परिहेको थियो । पक्कै पनि विनिताको मनमा केही छ भन्ने शंका ग¥यो उसले । मनका कुरा स्पष्ट भन्नका लागि अनुरोध ग¥यो । आफूले सुजललाई मन पराएको र उसैसँग विवाह गर्ने निधो गरी नेपाल फर्किएको कुरा विनिताले बताउँदा कुशल छाँगाबाट खसेझैँ भयो । उसको कल्पनाको महल क्षणभरमै चकनाचुर भयो ।
“मलाई डिभोर्स देऊ ।”
“तिम्रा वृद्ध बुवाआमा स्याहारेर बस्नु छैन, मलाई,” विनिताका यी वाक्य कुशल को मुटुमा भाला जस्तै गरी रोपियो । उसले यी कुराहरु सपना वा विपनामा हुँदैछन् ठम्याउनै सकेन ।
छोरालाई लिएर जान असम्भव भन्दै उसले आफ्नै कोखबाट जन्मिएको सन्तानलाई पनि छोडेर जाने निधो गरी । यो कुरा सुनेको रात छटपटीमै बितायो उसले । त्यो अबोध छोरालाई सम्झियो, वृद्ध बुवाआमा सम्झियो । अनि भक्कानिएर रोयो ।
श्रीमान्ले अर्की श्रीमती ल्याई परिवारकै विचल्ली पारेका कतिपय कथा त उसले सुनेको अनि देखेको पनि थियो । तर यसरी आफैँमाथि यत्रो बज्रपात होला भन्ने त उसले कल्पना पनि गरेको थिएन ।
मैले तिमीलाई घरपरिवारको इच्छा विपरीत भए पनि प्रेम गरेँ । विवाह गरेँ । तिम्रै इच्छाले विदेशिएँ । के गरिनँ र तिम्रा लागि ? के कमी भयो मबाट? तिमीलाई त्यो अबोध बालकको माया लाग्दैन? भनी प्रश्न ग¥यो । तर विनिताबाट केही जवाफ आएन ।
आज पनि म तिमीलाई उत्तिकै माया गर्छु, अझै केही बिग्रिएको छैन । उहाँ जे भयो, ती सबै सपना हो भनी भुलिदेऊ, विनिता भनी ऊ एकोहोरो बोलिरह्यो । निकै बेरको मौनतापछि विनिता झर्किएर बोली, “म अरु कुरा केही सुन्दिनँ । मलाई डिभोर्स देऊ । तिमीले नदिने जिद्दी ग¥यौ भने म पनि जे पनि गर्न सक्छु । मर्न अनि मार्न पनि ।”
सारै माया गर्थ्यो कुशल विनितालाई । अनि त्यो सानो छोराकी आमा र आफ्नो प्रेमलाई गुमाउन चाहँदैनथ्यो ऊ ।
कुरा अदालतसम्म पुग्यो । कुशलले डिभोर्स नदिई धरै पाएन । डिभोर्स पेपरमा सही गर्नुअघि निकै भावविभोर भयो । ऊसँगै गएका परिवारका अन्य सदस्यले सम्झाउँदा पनि उसको मन मानिरहेको थिएन । ऊ धेरैबेर रोयो । विनितासँग बिताएका पलहरु सम्झेर रोयो । अनेकन वाचा कसम सम्झेर रोयो । यति मात्र कहाँ हो र, त्यो सानो छोरो सम्झिएर त झन् भक्कानिएर रोयो । आखिरमा डिभोर्स भई छाड्यो ।
डिभोर्सपछि विनिता र सुजल वैवाहिक बन्धनमा बाँधिए । केही दिन होटलहरुमै बिताए । विनिताले सुजललाई आफ्नो घर लैजान पटक-पटक आग्रह गर्थी । सुजल विभिन्न बहाना बनाएर टारिरहेको थियो । केही नलागेपछि एकदिन सुजलले विनितालाई विराटनगर लिएर गयो । उसका घरभरि मान्छे रहेछन् । उनीहरुका बारेमा गाइँगुइँ सुनेका घरपरिवारमा उनीहरुलाई सँगै देख्दा सन्नाटा छायो । स्वागत अनि खुशीको बदला तिरस्कार पाई उसले । सुजलको घरमा त झण्डै विवाह गर्ने उमेरकी त उसकी छोरी नै रहिछे । विनिताका सुखमय जीवनका सपना क्षणभरमै विलिन भयो । ऊ घरकी न घाटकी भई । पश्चातापको भुमरीमा रुमलिनु सिवाय उसँग अरु कुनै विकल्प नै रहेन ।
आजभोलि कुशललाई विवाहको प्रस्ताव आउने गरेका छन् । यति लामो जिन्दगी एक्लै बिताउन कठिन नै हुन्छ भनेर बुवाआमा पनि उसलाई विवाह गर्न सल्लाह दिनुहुन्छ । विवाह नगरौँ, आराम गर्ने बेला पनि आमालाई सधैँको बुहार्तन, गरौँ फेरि त्यही कथा पो दोहोरिने हो कि ! कुशल दुविधामा परेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।