
अजित क्षेत्री
गाउँघर दशैंको आगमनले उल्लसित छ ।
हिँजैदेखी देशभरका सरकारी र सार्वजनिक बिधालयहरु दशैं बिदा भएर बन्द छन् । घरपाई बाट टाढा रहेका शिक्षक बिधार्थीहरु धमाधम घर फर्किँदै छन् । गाउँमा पिङ् हाल्ने र बाटोघाटो सफा बनाउने चटारो छ । देशभरी जस्तै स्याङ्जा कोल्माको एक बिधालय पनि दशैं बिदामा बन्द छ भने गाउँलाई दशैंको आगमनले घपक्कै ढाकेको छ ।
बिहानको खाना घरमै खाएर मास्टर जीप चढेर मास्टर सदरमुकाम जान्छन् । सदरमुकाम स्याङ्जा बजारमा उनले दिनभरमा खरिदारी सिद्याउँछन् भने बिभिन्न संघसंस्थाले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाउँछन् ।
मास्टरलाई जतिसक्दो चाँडो घर पुग्नु छ । भरे सदा झैं नौ बर्षिया छोरी र सात बर्षिय छोराले बाबुको थालबाट भात निकाली खाने छन् अनि बाबुको हातले भात खान उनीहरु खोसाखोस गर्नेछन् । त्यसो त कहिलेकाहीँ छोराछोरीले नदेख्ने गरी उनले आफ्नी मास्टर्नीलाई पनि एक गास खुवाउन भ्याउँछन् । त्यसो गर्दा उनलाई मास्टर्नी आफ्नी पत्नी नभएर प्रेमीका जस्ती लाग्छिन् । मास्टर्नीलाई पनि श्रीमानको जुठो हात आफ्नो ओठ हुँदै पुन श्रीमानको ओठसम्म पुगेको दृश्य संसारकै सुन्दर र अलौकीक दृश्य लाग्दछन् । राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् । अझ धेरैजसो रातहरुमा त निदाएका छोराछोरी बाबुको काखबाट अर्को बिस्तरामा सारेर सुताइन्छन् र उनको पुरै बिस्तरा र शरिरमाथी मास्टर्नीले अधिकार जमाइसकेकी हुन्छिन् ।
आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।
बाडखोला र स्याङ्जा बजारमा घटस्थापनाको दिनदेखि नै जुवाडेहरु म्यारिज खेल्नमा र कौरा हान्नमा मस्त छन् । गल्लीका भित्री घरहरूमा पुलिस प्रसासनको आँखा छलेर जुवा खेलाईएका छन् । कोही हारेका छन् कोही जितेका । जुवाडेहरुलाई कुखुराका साँप्रा, काँक्राको सलाद र बियर ठाउँको ठाउँ सर्भिस दिइएको छ ।
दसैँको बेला छ, लाहुरेहरु र बिदेशीएकाहरु धमाधम गाउँ फर्केका छन् । देशमै भएकाहरु पनि दशैंको बोनस र मासिक तलब जेबमा राखी धमाधम घरतिर हिडेका देखिन्छन् । कोही पेन्सन थापी किनमेल गरी घर फर्केका छन् । मान्छेको चापलाई गाउँका जीपले थेग्न सक्दैनन् । त्यसैले मानिसहरू पैदलै पनि हिंडिरहेछन् कोही समुहमा कोही एक्लै आफ्नै सुरमा । जुवामा हारेका जीतबहादुर र रीते कार्कीको मनमा कुबिचारले स्थान ग्रहण गर्छ, दशैंमा घर फर्केकालाई लुट्ने र पैसा कमाउने । गत बर्ष यै समयमा यिनिहरूले तीन ठाउँमा लुटी करिब सवा लाख पचाएका थिए । लुटेराको सुईंको सम्म कसैले पाएनन् । यो जोडीले आज लुट्न योजना बनायो । सकेसम्म लुट्ने मात्र तर लुटिनेले आँफुहरुलाई चिनेको अवस्थामा मारिदिने योजना बन्छ ।
झिमिक्कै साँझ परिसकेको छ । एक काँधमा ब्याग र हातमा टर्च लाईट अनि अर्को हातमा सामानले भरिएको पोलिथिन ब्याग लिएर मास्टर देबिथान हुँदै अरौंदी गाउँतिरको बाटोमा लम्किरहेछन् । बाटोको माथीतिर घना जंगल र तलतिर लहलहाउँदा धानका बाला छातीमा टाँसेर अरौंदी खोलाको फाँट मुस्कुराई रहेछ । अलितल सानो अरौंदी खोला एकतमासले सुसाई रहेकोछ । झ्याउँकिरी र भ्यागुताको टर्रटर्र आवाज कानमा गुन्जिरहन्छ । “यो दशैंमा म आइन भनेँ..निष्ठुरीलाई दाई तिम्ले नभने” दिउँसो रेडियोमा सुनेको यो गीत गुनगुनाउँदै मास्टर अगाडि बढिरहेछन् । बाटो निस्पट्ट अँध्यारो छ चुक पोखेजस्तो । पहाडको खोंच र कुईनेटो परेकाले यहाँ आईपुग्दा रातको समयमा मान्छे डराउँछन् ।
जीत बहादुर र रिते कार्की यसै कुईनेटोमा बटुवा लुट्न ढुकी बसेका छन् । काँधमा र हातमा गह्रौं सामान बोक्दै एक मानिस टर्च लाईट बालेर आफ्नै नजिक आएपछि जीतबहादुर र तिते हौसिन्छन् । मास्टर नजिकै आईपुगेका छन् । एक्कासी रिते मास्टरमाथी जाई लाग्छ र हातको टर्च खोसेर खेततिर मिल्काई दिन्छ । उसैमौकामा जीत बहादुरले मास्टरको ब्याग खोस्छ । “ओई को हौ तिमीहरु ? के गरेको यो ?”- घबराउँदै मास्टरले भने ।
” हामी चोर” एउटाले भन्यो ।
“चुपचाप सबै सामान हामीलाई दे”-अर्कोले भन्यो ।
“सबै खोसी सकिस् अब के दिउँ ?
“कति पैसा छ निकाल !”-चोरले फेरी भन्यो
“छैन पैसा सैसा, खोई मेरो ब्याग दे ?”मास्टरले रिस, आक्रोश र डर मिसाउँदै भने
“बढ्ता बोल्छस् ?, ल खा….” रीतेले कम्मरको खुकुरी मास्टरको टाउकोमा बजार्छ । ढुनमुनिंदै मास्टर खेतमा लड्न पुग्छन् । रगतको छर्रा रिते र जीत बहादुरको मुखभरी पर्छ । छटपटाएका मास्टरको मुखभरी खेतको पानी जान्छ र बिस्तारै उनी चलमलाउन बन्द गर्छन् । चोरले उनको शरीर छामछुम गरेर झोला बोकेर जंगलतिर भागीसकेका छन् । झ्याउँकिरी र भ्यागुता कराउन बन्द गरे । उता खाना पकाएर पतिको पर्खाईमा बसेकी मास्टर्नीको छाती अचानक भारी भएर आयो । बाहिर निस्कन्छु भन्दा ढोकामा ठोक्कीएर हातको एउटा चुरा फुट्यो, छोराको टाउकाको टोपी खस्यो ।
“भगवान्, के अलल्छिन हो यस्तो !!” मास्टर्नी डरले चिच्याईन् । खोरमा थुनी राखेका कुखरा तर्से, बसिराखेको भैँसी जुरुक्क उठ्यो ।
———
“उफ्, कस्तो नराम्रो सपना देखेछु, बुढी एक गिलास पानी लेऊ त”-उठ्नासाथ मास्टरले भने । “छि, हजुर पनि ! चाडबाडको बेला के के सपना देख्नुहुन्छ ।”- एक गिलास पानी पतिको अगाडि राख्दै मास्टर्नीले भनिन्-“बिहानपख देखेको सपना पुग्छ भन्छन् ।”
‘के गरम त नि, मैले देख्छु भनेर देखेको होइन के रे’-मास्टरको ओंठे जवाफ फर्कन्छ ।
”ल भै गो, पानी पिउनुस्, त्यो सपना शौचालय बस्दा आँफैलाई सुनाउनु, दोष काटिन्छ रे” यति भनि मास्टर्नी गोठतिर लागिन् । मास्टर पानी पिईसकेर शौच जान्छन् अनि आफ्नो सपना सुनाउन थाल्छन् आफैलाई । हुन पनि यति नराम्रो सपना उनले कहिल्यै देखेका थिएनन्, आँफै मारिएको सपना ।
उज्यालो भएको छ, भर्खरै उदाएको घाममा चाँदिको घेरो सरी बादलले हल्का छोपेको छ । तल फाँटतिरबाट निस्केका हुस्सु आकाश छुन दौडेका छन् । हल्का चिसो मौसम छ । घरमा चिया पाकिसकेको छ मास्टर्नीले पति, बच्चा र सासुलाई चिया दिन्छिन् र आँफू पनि पिउँछिन् ।
मास्टर्नी एकोहोरो टोलाए जस्ती हुन्छिन् केही जवाफ दिन्नन् ।
एकैछिन् पछि उनी भन्छिन्: “छिमेकाँ यस्तो नराम्रो घटना घटेसी चाडबाड आएको के सार भो र? अब सदरमुकाम क्यार्न जानु पर्यो र बरू गए हुन्छ हेडसरको घरतिर,..रुवाबासी होला कठै !”
“नमस्कार मास्टर साप, गाउँमा त साह्रै नराम्रो घटना घटेछ है ! राम राम राम..” कोही मान्छे यति भन्दै उनको आँगनतिर आउँदैछ । उही जीतबहादुर रै’छ जसले सपनामा उनको हत्या गरेको थियो । मास्टर झस्के ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

