२००५ सालमा छम्पाङमा चैतमा जन्मेकी रे ! चैतमा गाउँमा काफल पाक्थ्यो । काफल चरा आउँथे । काफल खाँदै गीत गाउँथे, काफल पाक्यो । त्यही वेला जन्मेकीले चरीमाया नाम राखिदेका रे बाउले !
चरीमायाको आठ वर्षको उमेरमा विवाह गरिदिएका थिए तल तित्रीबोटमा । अठार वर्षको हुँदासम्म बसेकी हो पोइको घरमा । तर, दुःखले जहिल्यै थिचिदिने । चैत सुरु भएपछि भदौ अन्तिममा मकै नपाकेसम्म अनिकाल । बर्खामा मिहेनत गरेको कमाइ आधा त बाँदरले खाइदिने । बाँदरबाट जोगिएको अन्नले चार महिना पनि खान पुग्दैनथ्यो ।
चैतपछि आँपको कलिलो चिचिला ढुंगामा किच्याएर ढिके नूनसँग खाएर पाखो भित्तो कोदालोले खोस्रन थाल्थिन् । अलि पछि आँप पाक्न सुरु गथ्र्यो । तीन महिना आँपले धान्थ्यो । आँप सकिन लाग्दा फडिन र जमुना पाक्न सुरु गथ्र्यो । त्यसपछि खनिया पाक्न सुरु गथ्र्यो । आरिंगलसँग जुध्दै खान्थिन् । खोरिया खन्थिन् ।
चौध वर्ष मात्रै पुगेकी थिइन्, पहिलो बच्चा तुह्यो उनको । त्यसैवेला मुलघरबाट छुट्टिइन् पोइसँग । सानो गोठ बनाएर एउटा लामकानी बाख्रा र कोरली गाइसँग सरे । मुलघरबाट छुट्टिएपछि दुखको पहाडले फेरि थिच्यो । एक वर्षले जेठा पोइ त्यही वर्ष जयनगरतिर गए, रेलको सामान बोक्ने काम पाउँछ भनेर ।
चरीमायाले जसोतसो घर थामेकै थिइन् । उमेर पुग्दै थिइन् ।
अठार वर्षकी भइन् । चार वर्ष भइसकेको थियो, रेलको सामान बोक्न गएको पोइ फिरेन । न पोइ साथमा थियो, पोइलाई पर्खने बहाना केही । एकादशीको बजार लाग्थ्यो तित्रीको फेदमा । माथि छम्पाङ, जारबुंकु, तल तुइम्बु र थुम्कीतिरबाट बजार भर्न आउँथे मान्छेहरु । चरीमाया पनि बजार भर्न गइन् । बजारमा तल तुइम्बुबाट खरीबहादुर पनि आएको रहेछ । खरीबहादुर चरीमायाकै उमेरमा थिए । पोइलाई पर्खिरहेकी चरीमाया र जोईले छाडेर गएका खरीबहादुरको आँखा जुध्यो । खरीबहादुरले चरीमायालाई जुलबी किनेर दियो ।
जुलबीको गुलियोभन्दा ज्यादा गुलियो खरीबहादुर लाग्यो चरीमायालाई । त्यसैरात गोठबाट केही थाङ्नाथुङ्नी बोकेर, लामकानी बाख्रा, त्यसको तीनवटा पाठा र ब्याउन लागेको कोरली छाडेर तुइम्बु झरी खरीबहादुरको पछि लागेर ।
बजारमा खरीबहादुरसँग पोइलो जान लागेको हल्ला चलिसकेको थियो । तर, गाउँलेले रोक्न सकेनन् । पोइ जयनगरतिर भासिएको थियो । उसलाई खरीबहादुर मनप¥यो, अन्तिम फैसला यति नै थियो । चेलीलाई मनपरेपछि माइतीको साथ चेलीलाई नै हुन्थ्यो । भयो नै त्यस्तै ।
जारी तिर्नुपर्थ्यो खरीबहादुरले, चरीमायाको पोइ नै बेपत्ता भएपछि केका जारी !
खरीबहादुरको पछि लाग्दा तल सुनकोसी स्वाँइ स्वाँइ कराइरहेको थियो । खरीबहादुर र उसका साथीहरुले बोकेको राँकोको उज्यालोमा ओरालैओरालो झरी चरीमाया ।
तुइम्बुमा पनि सुख कहाँ थियो र ! कोसीले वर्षैंपिच्छे बगाउने दुई चोइटा बारी थियो । जुनेलो मात्रै फल्थ्यो । जुनेलोकै भात, जुनेलोकै जाँड र भुटेको जुनेलोकै खाजा । दाउरा, घाँस, पानीको चिन्ता थिएन । घरबाट चार पाइला हिँडेपछि जस्तो घाँस काटे पनि हुने । चरीमाया यसैमा खुसी थिई ।
खरीबहादुरले आफ्नी अघिल्लो जोई लानेसँग तेह्र रुपैयाँ र एक माउ भैंसी जारी उठाएको थियो । चरीमाया तुइम्बु झरेको डेढ वर्षपछि भैंसी ब्यायो । तेह्र रुपैयाँमध्ये सात रुपैयाँ एक मोहरमा खरीबहादुरले अलि पर चारकान्ला बारी थप्यो । जुनेलो मात्रै फल्ने भए पनि तित्रीबोटमा जस्तो कलिलो आँपले छाक टार्नुपर्ने बाध्यता थिएन ।
सबै सुखबीचमा चरीमायाको दुःख एउटै थियो, कोख बसेको थिएन । तीन वर्ष भइसकेको थियो खरीबहादुरसँग पोइला आएको । अघिल्लो जोईले पनि बच्चा नबसेकोले छाडेको भन्ने गुइँगुइँ सुनेकी थिई । बूढो केराको पात आफैं चिरिँदै गए झैं चरीमायाको मन चिरिँदै गयो । एउटा सन्तान भए पनि हुन्थ्यो, सोचिरहन्थी । वेलावेला माथि डाँडाको टुप्पोमा माइत पुग्दा उनलाई आमाले कराइरहन्थिन्, ‘नानी कैले पाउँछस् हौ ? बूढी भइसकिस् त ?’
चरीमाया केही बोल्दिन थिइन् । आमा नै थप्थिन्, ‘कि नानी नपाउने खालको होस् ?’
चरीमायासँग जवाफ हुन्थेन । मन अमिलो बनाएर भूइँ हेर्थिन् । आमाको घरबाट दुई चार पाथी कोदो लिएर फिर्थिन् । भुम्जु डाँडाको टुप्पोबाट तल ओरालो लाग्दा चरीमायाको नानी पाउने रहर पनि ओरालै लाग्थ्यो । तल कोसी किनार पुगेर घरभित्र छिर्थिन्, नानी पाउने रहर भने स्वाँइ गरेर बगेको सुनकोसीसँगै ओरालो लाग्थ्यो ।
राईहरुको घरमा जहिल्यै कोदो चाहिने । कोदो नभए घरको कूलपूजा नै नहुने । कूलपूजा नभए पित्री रिसाउने ।
‘म माथि जारबुंकुतिर जान्छु, जुनेलोसँग कोदो साटेर आउँछु,’ चरीमायाले पोइलाई भनिन् । माघ महिनाभरि नङ्गी गरिसक्नुपर्ने थियो ।
माछालाई सुनकोसीमा सुर्केनो लाग्थ्यो, चरीमायाको त जीवनमै सुर्केनो लागेको थियो, आमा हुन सकेकी थिइनन् । अरुको काखमा नानी देखे ह्वात्त खोसेर भगाउन पाए पनि हुने सोच्थी ।
‘जा न त, तर धेरै जुनेलो बोकेर नजानू, उकालोमा गाह्रो हुन्छ,’ हिउँदमा माछा मार्ने पासोको सुर्केनो बनाउँदै भने खरीबहादुरले । माछालाई सुनकोसीमा सुर्केनो लाग्थ्यो, चरीमायाको त जीवनमै सुर्केनो लागेको थियो, आमा हुन सकेकी थिइनन् । अरुको काखमा नानी देखे ह्वात्त खोसेर भगाउन पाए पनि हुने सोच्थी ।
आफ्नो रहर भने पोइलाई भनेकी थिइनन् । पोइले कहिल्यै सोधेनन् पनि । न त चरीमायाको रहर बुझेजस्तो नै गरे । कामको वेला खोरिया खन्न र फुर्सद मिल्नसाथ कोसीमा बल्छी, जाल हान्नमै फुर्सद थिएन खरीबहादुरलाई ।
चरीमाया जुनेलो बोकेर उकालो लागिन् । तित्रीबोटभन्दा तल रिदामाको बाटो हुँदै भुटेखोला पुगिन् । त्यहाँबाट उकालो लागेर रमिते हुँदै आहाले आइपुगिन् । आहालेमा एकछिन बिसाई । ओरालो हेरी, दुई घण्टाअघि घरछेवैमा बगेको त्यति ठूलो सुनकोसी सानो कुलो जत्रो मात्रै देखिन्थ्यो ।
सिम्बले हुँदै भन्ज्याङ आइपुगिन् । त्यहाँ बुच्चेकी आमाको घर थियो ।
‘छिम्चा ! लौन, म त पाँच पाथी जुनेलो बोकेर आएको छु । नङ्गी गर्नुछ । कोदो नभई हुन्न, साट्न आएको,’ बुच्चेकी आमालाई भनी । बुच्चेकी आमाको माइत तित्रीबोट थियो । पहिलेको पोइको साइनोले फुपू पर्थिन् । पुरानै साइनोले ढोगभेट गरेर जाँड खाँदै जुनेलोको प्रस्ताव गरिन् ।
‘मलाई धेरै चाहिएको छैन । उता तित्रीबोटबाट आमाले पनि पठाइदिएको छ । एक पाथी चाहिँ राख्छु, तिमीलाई उकालो हलुको हुन्छ,’ बुच्चेकी आमाले भनिन् ।
चरीमाया मनमनै खुसी भइन् । अब चार पाथी बोकेर मात्रै गाउँतिर जानुपर्ने भयो ।
एक पाथी कोदो फिर्दाखेरी लिने भनेर बुच्चेकी आमासँग बिदा भइन् । बाहिर सिकुवामा निस्किइन् । सिकुवामै थियो भारी । निकालिन् । जुटको बोरा खोलिन् । भूइँमा मान्द्रो ओछ्याएर एकपाथी जति राखिन् । भर्न थालिन् ।
‘ए, पख त चरीमाया । कालाकी आमाले पो लिन्छ नि ?,’ चरीमायाले जुनेलो भर्दै गर्दा बुच्चेकी आमाले भनिन् ।
सिकुवाबाट घुर्यानतिर छेउमा गइन् । ‘ए कालाकी आमा ?,’ घुर्यानमा अंश जोडिएको कालाकी आमालाई बोलाइन् । बारीमा भर्खरै मलको थुप्रो बिसाएकी कालाकी आमाले उकालो हेरी । खेतालाहरुसँग कालाकी आमाले माथि देविथानबाट मल बोकिरहेकी थिइन् ।
‘यहाँ आऊ त एकै छिन ! खाजा पनि खाएर जाऊ !,’ बुच्चेकी आमाले भनिन् । कालाकी आमाले वाल्ल परेर हेरी । बुच्चेकी आमाले हातको इशाराले बोलाउँदै भनी, ‘आऊ न आऊ एकैछिन ।’
‘ल ल,’ तलबाट कालाकी आमाको आवाज आयो । बुच्चेकी आमा सिकुवातिर फिरिन् । चरीमायाले पाथीमा चुली बनाइसकेकी थिइन् जुनेलो ।
‘ल हेर है छिम्चा ! ठ्याक्कै एक पाथी छ ।’
‘ल ल यहाँ नाङ्लोमा राखिदेऊ,’ सिकुवाको छानोमा अडाइराखेको नाङ्लो निकाल्दै बुच्चेकी आमाले जुनेलो थापी । मान्द्रोमा बाँकी रहेको जुनेलो जुटको बोरामा हालिन् । खरको पोयाले कसिन् ।
‘ल छिम्चा, म गाउँतिर जान्छु अब । भरै आउँछु है,’ डोको बोक्न ठिक्क परेकी चरीमायाले भनी ।
‘ए पख न, कालाकी आमा आउँदैछ । उसले पनि राख्छ कि !,’ चरीमायाले आशलाग्दो अनुहारले हेरी बुच्चेकी आमाको अनुहारमा । बुच्चेकी आमाले नै थपी, ‘उनीहरुको जहान ठूलो छ । दिउँसो खाजा चाहिन्छ । मकैभटमास, जुनेलो भए राम्रो हुन्छ ।’ थाप्लोमा लाउन लागेको नाम्लो निकाली चरीमायाले । त्यहीँ सिकुवामा टुक्रुक्क बसी ।
‘ए आइपुग्यौ कालाकी आमा,’ घुर्यानको उकालोबाट सिकुवा चढ्न लागेकी कालाकी आमालाई हेर्दै भनी बुच्चेकी आमाले ।
‘अँ है आइपुगेँ । आज बिहानदेखि मल बोकेकोले गलेर भूइँमा झरेको छ जीउ ।’
‘चरीमायाले तुइम्बुबाट कोदोसँग साट्न पाँच पाथी जुनेलो बोकेर आएको रैछ । एक पाथी मैले राखेँ । तिम्रो त जहान ठूलो छ, तिमीलाई पनि चाहिएला कि भनेर बोला’को । अनि अलिकति कोदोको खाजा बाँकी छ, एक डबका खाऊ भनेर पनि,’ बुच्चेकी आमाले दुवैलाई घरभित्र छिर्न इशारा गर्दै आफैं मात्रै बोलिरही ।
जाँड खाए तीनजनाले । चरीमायाको ठूलो दारको ज्यान देखेर लोभिई कालाकी आमा । ठूलो भारी बोक्न सक्ने, खोरिया खन्न सक्ने ज्यान देखेर त तित्रीबोटमै बुच्चेकी आमा लोभिएकी थिई ।
बाँकी चारैपाथी कालाकी आमाले राखिदिेने भई । चरीमाया मख्ख परी ।
बुच्चेको आमासँग छुटेर चरीमाया र कालाकी आमा तल बारी झरे गफ गर्दै । कालाकी आमाको मल थुपारेको रित्तो डोको त्यही थियो । त्यसलाई टिपी । माथि घरतिर हेरी, खेताला घर पुगेर पनि मल बोकेर सार्की बाउको घर ओरालो झरिसकेछ ।
‘ए है, भुसुक्कै ढिलो भएछ । लु छिटो जाऊँ,’ कालाकी आमाले भनी ।
उनीहरु बाटो लागे । तल बूढा पँधेरो माथि पुग्दा मल बोकेकाहरुसँग त्यहीँ भेट भयो । कालाकी आमाको चार भाइ छोरा, एक छोरी र तीनजना खेताला मलसँग थिए ।
‘म घर गएर के गर्नु काला ?,’ मल बोकिरहेको जेठो छोरोलाई सोधी कालाकी आमाले ।
मलले थिचेको निधार खुम्च्याएर कालाले भन्यो, ‘घर गएर भात तिहुनमा लाग । दुईचोटि ओसार्दा अब सकिन्छ ।’ कालाले चरीमायालाई पनि पुलुक्क हेर्यो । डोकोमा जुनेलो बोकेरै चरीमायाले पनि हेरी । दुई जनाको हेराहेर देखेर कालाकी आमा मुसुक्क हाँसी ।
‘ल ल, मल बोकेर छिटो आऊ । आज त्यो सिकारीको भाले पूजा गर्नुपर्छ ।’
कालाकी आमाको कुरा सुनेर कालाबाहेक सबै सुइसुइ कराए । गाउँमा मासु खान दशैं नै कुर्नुपर्ने । आज खेताला हुँदामै मासु खान पाउनु सबैका लागि दशैं नै थियो ।
चरीमाया र कालाकी आमा बाटोभरि कुरा गर्दै आए । चरीमायाको घर सोधी, परिवार सोधी । बिहे सोधी । चरीमायाले केही केही नढाँटी भनी । चरीमायाले झुटो नबोलेकाले कालाकी आमा खुसी थिई । जाँड छानेर दिई । चरीमायाले जुनेलो पाथीमा भरी । तीन पाथी पूरा र बाँकी पाँच माना रहेछ । कालाकी आमाले जुनेलो घरभित्र लगी । बाहिर निस्किई । चरीमाया कोदो कुरेर बसेकी थिई ।
‘आज रात पर्न लागिसक्यो । अब तुइम्बु पुग्छौ त ?’
‘आज त पुग्दिनँ आबो । तल भन्ज्याङमा छिम्चाकोमा बसेर बिहानै जान्छु ।’
‘भोलि जाने हो भने त यतै बसे भइहाल्छ नि ।’
‘होइन, म छिम्चाकैमा बस्छु,’ अप्ठ्यारो मान्दै भनी चरीमायाले ।
‘यतै बस । यो पनि छिम्चाकै घर सम्झ । भोलि जाऊ न ।’
अप्ठ्यारो मान्दामान्दै, इन्कार गर्दागर्दै पनि कालाकी आमाको जिद्दीअघि चरीमायाको जोर चलेन । त्यस रात त्यहीँ बस्ने भई । खेताला मल पुर्याएर आए । मल भारी लगाउन थाले ।
‘ए काला यहाँ आइज त !,’ कालाकी आमाले घरभित्रैबाट बोलाई ।
काला आयो, ‘किन मामा ?’
‘पापा पूजाको सामान लिन जारबुंकुतिर गा’को छ । खेतालाहरुलाई तलबाट फिर्दा एक एक गाग्रो पानी ल्याउनु पनि भन् ।’
कालाले चरीमायालाई हेर्यो । चरीमायाले पनि हेरी । अन्जान केटाले त्यसरी हेरेकाले चरीमाया लजाई । काला विनाकारण लजायो ।
‘ग्रागो लिएर जान्छ होला भनेको त यो त लजाइबस्छ पो त,’ अघिदेखि ख्याल गरिरहेकी कालाकी आमाले छोरोलाई जिस्काई । काला झनै कालो भयो ।
आमाले कालालाई जिस्काउन थालेपछि चरीमायाले कालालाई सीधा हेर्न छाडेकी थिई । चरीमायालाई कसरी हुन्छ, छिटो निस्कौँ झैं लाग्यो । तर, भोलि जाने वचन दिइसकेकी थिई ।
दुईवटा गाग्रो बोकेर काला गयो । अर्को गाग्रो लिन आयो । गाग्रो टिप्दै भन्यो, ‘अलिकति जाँड खाएर जाऊँ न मामा !’
‘वेला न कुवेला फेरि किन जाँड चाहियो यसलाई,’ कालालाई हेरेर हाँस्दै भनी । काला फेरि लाजले चुम्रियो । आमाले कालालाई जिस्काउन थालेपछि चरीमायाले कालालाई सीधा हेर्न छाडेकी थिई । चरीमायालाई कसरी हुन्छ, छिटो निस्कौँ झैं लाग्यो । तर, भोलि जाने वचन दिइसकेकी थिई ।
काला चुम्रिएको अनुहार लिएर रित्तो गाग्रोसँग मूलढोकाबाट बाहिरियो ।
भान्सामा खटिँदै कालाकी आमाले कालाबारे सुनाई । सानैमा बिहे गरिदिएका थिए कालाको । तर, १५ वर्षमै घाँस जाँदा जोडारेको भीरमा लडेर मरेकी थिई बुहारी । त्यसको एक वर्षसम्म काला रोएर मात्रै बस्यो । अहिले त घाउ पुरानो भएकाले बिर्सिसक्यो ।
साँझमा पानी लिएर आए सबै । आँगनमा बसे । गीत गाए । कालाकी आमाले खेतालालाई जाँड ओसारिरही । बाहिर मुरलीको मीठो धून बज्न थाल्यो । हल्ला ठप्प भयो । मुरली बजेको मात्रै सुनियो ।
‘सुन्यौ चरीमाया ? त्यो मुरली कालाले बजाएको हो नि । मेरो कालाले कस्तो राम्रो मुरली बजाउँछ,’ अँगेनामा पटपट पड्किरहेको सालको दाउरा झोस्दै कालाकी आमाले भनी । दाउरा झोस्दा दाउराबाट झिल्कोहरु भार उकालो लागे । चरीमायाको मनमा पनि मुरलीको धूनको झिल्को बस्यो । मनैभरि झिल्कै झिल्को भयो ।
मुरलीको धुन बजेको हो कि चरीमायाको मन ? आफैंले खुट्याउन सकिन ।
‘चरीमाया, म च्याख्ला मस्काउछु । जाँड छानेर खेतालालाई लगिदेऊ न,’ कालाकी आमाले प्रस्ताव राखी । चरीमाया अक्क न बक्क परी । भर्खरै गाउँबाट पूजाको सामान लिएर आएका कालाको बाउले सामान मिलाउँदै भन्यो, ‘लगिदे नानी, केही हुँदैन ।’
घरमूलीले नै भनेपछि चरीमायाले नमान्ने कुरै रहेन । जाँड छान्न थाली । कुनामा कालाको बाउआमा खासखुस गरिरहेका थिए । चरीमायाले पुलुक्क हेरी, दुवै हेराहेर गर्दै हाँसिरहेका थिए । चरीमायाको आँखा कालाकी आमासँग जुध्यो, आँखालाई भूइँतिर सोहरेर जाँडको भाँडामा ल्याई । भाँडाभित्रै ट्याप्प थुनिदिई ।
थपनी जाँड लिएर चरीमाया बाहिर निस्किई । ऊ आँगनमा पुग्नसाथ मुरलीको धून बन्द भयो । वरिपरि रहेका सबैले सुई सुई गर्दै कालालाई जिस्काए । चरीमाया लाजले रातो भई । तर, अँध्यारोमा कसले देख्ने र ! आफ्नो लाज आफैंले मात्रै देखी । आफैंले मात्रै देखेको लाजले झनै साह्रो लजाई ।
सबै लहरै बसेका थिए डबका लिएर ।
छेउतिर गई । छेउको डबकामा जाँड हाल्न लागेकी थिई, कोही करायो, ‘होइन, पहिला जेठालाई हाल्दिनू । नत्र शिर ढल्छ ।’ सबैजना हाँसे । चरीमाया बिस्तारै गएर कालाको डबकामा जाँड हालिदिई । फेरि सबैले सुइँ सुइँ गरे ।
चरीमायाले जाँड हालिदिएपछि कालाले फेरि बाँसुरी बजाएन । न अरुले गाइरहेको गीतमा उसको स्वर पनि सुनियो ।
सिकारी पूजा सके कालका बाउले । भालेको मासु खाए सबैले । सबै सुत्न गए खोल्मतिर । घरछेउमा वस्तुको गोठमाथि एक तला थियो, त्यहीँ सुत्थे सबै केटाकेटी । गोठलाई खोल्म भन्छन् गाउँतिर ।
कालाकी आमाले जाँतोछेवैमा ओछ्यान लगाइदिई चरीमायालाई । बूढाबूढी भने तलामाथि टाँडमा सुत्न गए । तर, चरीमायालाई निद्रा लागेन । खरीबहादुर उसको आँखाअघि आइरह्यो । खरीबहादुरले जालमा पारेको असला माछा आफैं बनाएर चरीमायाको भागमा राखिदिन्थ्यो । ठूलो र काँडा नभएको माछा चरीमायालाई दिएर आफू काँडा भएको माछा खान्थ्यो जुनेलोको भातसँग ।
खरीबहादुरसँग बाहेकका रात चरीमायाको माइतमा मात्रै सकिएको थियो । पहिलोपटक अन्जान मान्छेको घरमा खरीबहादुरविना सुतेकी थिई । कोल्टे फेरी । उसको कानमा गाउँलेको गुनगुन गुन्जियो, ‘खरीबहादुरको त नानी हुँदैन रे । त्यही भएर अगाडिकोले पनि छाडेको रे । अब चरीमायाले पनि कुन दिन छाड्छ ।’
नानीको सम्झना आउनसाथ चरीमायाले तित्रीबोटमा तुहिएको बच्चा सम्झी । त्यो बच्चाको बेस्सरी याद आयो । छाती छामी, मनमनै सोची, ‘नानीलाई खुबाउन पाए पनि त हुने ।’ चरीमायालाई रिस उठ्यो खरीबहादुरसँग । उठी, सालको पातमा बिँडी बेरी । चकमक पारेर डुङडुङ धुवा उडाई । अँध्यारोमा बिँडीको धित मरेन उसको । मुखमा त स्वाद थियो, तर धुवाँ नदेखेसम्म चित्त बुझ्दैनथ्यो । तर, अँध्यारोमा धुवाँ कहाँ देख्नु ! खरीबहादुर त थियो, तर नानीलाई कहिले काखमा लिनु !
घरिघरि कालाको अनुहार पनि आइरह्यो । मनमा कुरा खेलाउँदै निदाई ।
बिहानै कालाकी आमा टाँडबाट झरी । एक डालो मकै लिएर आएकी रहिछे । चरीमाया सुतेकै छेवैको जाँतो घुमाउन थाली । जाँतोको आवाजले चरीमाया पनि ब्युँझिई । अप्ठ्यारो त चरीमायालाई पर्यो, मकै पिन्न सघाउन जाउँ कि ! फेरि के साइनोले जाने ? अरुको घरको जाँतो छुनुले त धेरै अर्थ राख्छ । चरीमाया अलमलमा परी ।
करै लाग्यो, सघाउन । उठेर कालाकी आमापारी बसी । जाँतोको हतासो समाइ ।
‘आच्या कसको हात हो ?,’ कालाकी आमा कराई ।
‘मेरो,’ सानो स्वरमा एक शब्द मात्रै बोल्न सकी ।
‘ए चरीमायाको हो ?’
‘हो ।’
‘सुतेको भए हुन्थ्यो नि । म आफैं पिन्थेँ ।’
चरीमायाले केही बोलिन । हतासोमा हात अलि माथी सारी कालेकी आमाले । अलि तल चरीमायालाई समाउन दिई ।
बिहान राम्रोसँग उज्यालो हुन पाएको थिएन, आँगनमा दाजुभाइ जम्मा भइसकेछन् ।
‘के पो भयो हौ ?,’ कालाकी आमा ढोका बाहिर निस्किई ।
‘अनि कालाले त बुहारी भित्रायो रे त । दाजुभाइ हो मर्दा पर्दा चाहिन्छ । पित्रमा आएको मान्छे हामीलाई नचिनाई घरभित्र हुल्नु हुँदैन है कालाकामा !’ ढ्याकुर्याको बाउ बोल्यो । तल पल्याङखोलाबाट चाउरेको बाउ पनि आएको रहेछ । भेला भएका सबैले होमा हो थपे ।
‘नचाहिने कुरा नगर है । जो पायो त्यही नबोल,’ कालाकी आमा कराई । घरभित्र बसिरहेकी चरीमायाको मुटुले ठाउँ छाडिसकेको थियो ।
‘आबो गाउँभरि हल्ला छ तौ,’ चाउरेको बाउ बोल्यो ।
‘कसले हल्ला फिँजाएछ ?’
‘हिजो तिम्रो काम गर्ने खेतालाहरुले देखेका रे ।’
बित्यास पर्यो । कालाकी आमा मनमनै त खुसी भई, यतिको केटीले कालासँग गरी खान्छ । तर, प्रक्रिया त लामो हुन्छ । हल्ला चलेछ, ठीकै भएछ भने झैं गरेर भनी, ‘पख है, कालाको बाउलाई बोलाउँछु ।’
घरभित्र आत्तिइसकेकी थिई चरीमाया । लागिसकेको बातले पोलिरहेको थियो उनलाई । कालाकी आमा सरासर टाँडमा गई । सुतिरहेका कालाको बाउलाई घटना सुनाई ।
‘हैन के भन्छ यो ?’
‘के भन्नु र मैले । दाजुभाइ खलक आँगनमा थुप्रिसकेका छन् । बाहिर गएर कुरा गर,’ कालाकी आमाले पोइलाई भनी । कालाकी बाउ बाहिर निस्किए ।
‘के भयो रे ?,’
‘हाम्रो कालाले बुहारी भित्रायो भन्छ । कुरा के हो, बुझ्नु आको हामी । भित्राएकै भए त रीत पूरा गर्नुपर्यो नि,’ ढुकुर्याको बाउ बोले ।
‘कसले हल्ला फैलायो ?’
‘हन, हिजो राति नै हल्ला भएको थियो त । तिमीले त भाले काटेर पनि खुबाइसक्यौ रे, खेतालाहरुले भनेको !’ कालाको बाउ छटपटिए । टाउकोको टोपी फुकाले । कुरकुरे बैंस आएका केटाहरुले हल्ला फिजाइसकेछन् ।
‘आबो बात लागिसक्यो, हल्ला चलिसक्यो । सत्यतथ्य के हो, त्यो पत्ता लगाउनुपर्छ,’ चाउरेको बाउ बोले, ’अनि केटी गइसक्यो कि छ ?’
‘यतै छ, जुनेलोमा कोदो साट्न आएको थियो । रात परेपछि कालाकी आमाले यतै बस्नु भनेर बसेको,’ कालाको बाउ निरीह भएर बोले ।
‘लौ ज्या है ! मान्छे पनि यतै पो रहेछ त ! काला कहाँ छ, त्यसलाई सोध्नुपर्छ पहिला,’ अम्बिरेको बाउ बोले, ‘यत्रो हल्ला चलेपछि यत्तिकै जान दिनु हुँदैन । कुटुम्बको पनि इज्जत हुन्छ ।’
घरभित्र चरीमायाले जुनेलो र कोदो नै बिर्सिसकेकी थिई डरले । बाहिर गोठमा सुतिरहेका कालालाई पापजेठा, पापकान्छाहरुले उठाएर आँगनमा झारे । सबै सविस्तार बताए । काला छक्क मात्रै परेन, डरले निलो पनि भयो ।
‘के कुरा हो भन् जाँठा । हाम्रो खालको बैजत हुन्छ, रात छिपेपछि अग्राख पलाउँछ,’ चाउरेको बाउ जंगियो ।
कालाले सबै घटना बतायो ।
‘अनि मान्छे मन परेको हो त ?,’ ढुकुरेको बाउ बोल्यो । कालाले कपाल कन्यायो । निधार छाम्यो । फेरि कपाल कन्यायो ।
‘कपाल कन्याएर पो बस्छ त ए यो ? मान्छे मन परेको हो कि होइन भन् ?,’ धन्सरीको बाउ जंगियो ।
कालाले सिकुवामा उभिइरहेको बाउतिर पुलुक्क हेर्यो । बाउले केही भनेन । कालाले भन्यो, ‘मान्छे त ठीकै छ ।’
‘ल हाम्रो सन्तानलाई मन परेपछि सक्कियो । तर, केटीलाई पनि मन पर्नुपर्यो, जबरजस्ती हुन्न,’ ढुकुरेको बाउ दम्भसहित बोल्यो, ‘कालाकी आमालाई भन्नु, कुटुम्बकी छोरीलाई सम्झाओस् । भरैसम्म खबर पुगिसक्छ कुटुम्बसम्म । उनीहरु आउँछ । त्यसवेला उनले के जवाफ दिन्छ, त्यही अन्तिम फैसला हो ।’
सबै दाजुभाइ मान्छे आएपछि खबर गर्नु भनेर गए ।
दिनभर कालाकी मन स्थिर रहेन । गोठाला गए भैंसेटारतिर । साथीहरुले जिस्काएर हैरान । न बिहे गरेको भन्नु, न गरेको छैन भन्नु । गाउँभरि हल्ला चलिसकेको छ । कालाको इज्जतको कुरा पनि छ । वनमा तनावले मुरली मात्रै बजाएर बसिरह्यो काला ।
कालाको प्रशंसा गरी । कालाको मुरलीको धूनको गुनगान गाई । कालाले सधैं छैला खेल्दा साथीभाइलाई जितेको कथा सुनाई ।
यता चरीमायाको हाल उस्तै थियो । केही सोच्न सकेकी थिइनन् । खरीबहादुरको यादले सताउँथ्यो । गाउँलेको गुनगुनले दुखाउँथ्यो । घरिघरि त सोच्थिन्, खरीबहादुरभन्दा काला नै ठीक छ । मान्छे थोरै कालो भए पनि ज्यान परेको छ । ठूल्ठूला पाखुरा छन् । हेर्दा चलाख जस्तो पनि देखिन्छ । कालाकी आमाले चरीमायालाई दिनभर सम्झाई । कालाको प्रशंसा गरी । कालाको मुरलीको धूनको गुनगान गाई । कालाले सधैं छैला खेल्दा साथीभाइलाई जितेको कथा सुनाई ।
कालाकी आमाको कुराले चरीमायालाई लोभ्याउँथ्यो । तर, खरीबहादुर, तुइम्बु, भैंसी सम्झिन्थिन् । जुनेलो, खरीबहादुरले जालमा पारेको असला माछा सम्झिन्थिन् । चरीमायाको मन घरि तुइम्बु पुगेर खरीबहादुरमा ठोक्किन्थ्यो, घरि कालामा ।
गाउँमा चलेको हल्ला तुइम्बु पुगेर पनि खरीबहादुर मान्छेले लिएर आइसकेछन् ।
घाम डुब्न लागेको वेला कालाको घरमा ठूलो कचहरी बस्यो । दाजुभाइ भेला भए । कालाको बाउ, आमा, काला सबै आँगनमै बसे । चरीमाया पनि भूइँ हेरेर बसेकी थिई । जुनेलो साट्न आएकी चरीमायाको कथा नै अर्कै बनिसकेको थियो ।
सबैले खरीबहादुरको कुरा सुने । चरीमाया जुनेलो साट्न आएको बताए । मायामा कम नगरेको बताए । यताबाट कालाकी आमाले पनि सबै सविस्तार सुनाई । बुच्चेकी आमाले पनि सबै सुनाई ।
अन्तिम निर्णय लिने समय आयो ।
चाउरेको बाउ नै अघि सर्यो, ‘हामीले सबै सुनिसक्यौँ । अब के चाहनुहुन्छ त कुटुम्ब हजुर !’
खरीबहादुरले कालालाई हेर्यो । कालाको बाउआमा, दाजुभाइ सबैलाई हेर्यो । आँखाले भूइँ ठुँगिरहेकी चरीमायातिर हेर्यो । चरीमायालाई निकैबेर हेरेपछि कालातिर आँखा लग्यो र भन्यो, ‘मलाई २० रुपैयाँ र एक माउ भैंसी जारी चाहिन्छ ।’
कालाले आँखा रन्काएर खरीबहादुरतिर हेर्यो । गोठालो जाँदा बोकेको खुकुरी कम्मरमै थियो । दापबाट स्वाट्ट खुकुरी निकालेर खरीबहादुरतिर झन्टदै भन्यो, ‘के भनिस् रे जाँठा ? तँलाई आफ्नो मान्छेको ज्यानभन्दा ठूलो जारी लाग्छ ? तँलाई ऐले नै दुई गिँड पार्छु ।’
तर, वरिपरिकाले रोके कालालाई । खरीबहादुर ङिच्च परेर बसिरहेका थिए ।
‘तँलाई ज्यानभन्दा ठूलो जारी लाग्यो,’ भन्दै उफ्रिन छाडेन काला । चरीमायाले उफ्ररहेको कालालाई हेरी । हातमा खुकुरी बोकेर उफ्रिरहेको काला देखेर चरीमायाको मनमा अर्कै सुनकोसी सुसायो । अजंगको, ठूल्ठूला पाखुरामा खुकुरी समातेर उफ्रिरहेको कालाले चरीमायाको मन चोरिदियो । खरीबहादुर कालाजति बलियो थिएन । तर, काला त पहाड नै फोडुँला झैं गरेर उफ्रिरहेको थियो ।
चरीमायाले आँखा एक झिमिक नगरी कालालाई हेरी । काला उफ्रिरहेकै थियो । चरीमाया पनि उठी । कालालाई नै हेरी । अरु क–कसले चरीमायालाई हेरिरहेको छ, सबै बिर्सिई । एकोहोरो कालालाई हेरिरही ।
कालाको आँखा चरीमायासँग जुध्यो । कसैले शान्त पार्न नसकेको काला चरीमायासँग आँखा जुधेपछि शान्त भयो । ‘छोड् मलाई’ भन्दै खुकुरीलाई दापभित्र हाल्यो । बसिरहेको खरीबहादुरतिर हेर्दै भन्यो, ‘मान्छेलाई सोध्, ऊ के भन्छ फैसला उसकै हो ।’
कालाको कृुरामा सबैले ‘हो मा हो’ मिलाए । कालाका दौंतारीहरुले सुई सुई पारे । चरीमाया भने कालालाई नै हेरिरहेकी थिई । काला चरीमायालाई हेर्न नसकेर भूइँतिर हेर्न थाल्यो ।
‘तँ के भन्छस् चरीमाया ?,’ खरीबहादुरले सोध्यो ।
चरीमायाले कालाबाट आँखा खरीबहादुरतिर फर्काई । केही नसोची सीधै भनिदिई, ‘म तिमीसँग जान्नँ खरीबहादुर । यही बस्छु कालासँग ।’ आवेगमा बोलेको वाक्य सम्झेर चरीमाया लजाई । यति कडा उसले कहिल्यै बोलेकी थिइन ।
चरीमायाको कुरा सकिनसाथ भेला भएका गाउँलेहरुले फेरि सुइ सुइ पार्न थाले । चरीमायाको फैसलाले मख्ख काला हात पछाडि बाँधेर सबैले सुन्ने गरी भन्यो, ‘मान्छेले मानिसक्यो । अब चुलामा भित्राउने काम गर्नुपर्छ ।’
कालाको कुरा सुनेपछि आँगनमा फेरि सुई सुई सुरु भयो । सुई सुई गर्ने कालाकै दौँतारीहरु थिए । काला चाहिँ कुनै भयानक युद्ध जिते झैं गरेर हात पछाडि बाँधेर आँगन वरिपरि घुमिरह्यो ।
खरीबहादुर आफ्ना मान्छेसँग ओरालो लागे ।
आँगनको डिलमा उभेर खरीबहादुरतिर हेर्दै कालाले भन्यो, ‘अब जारी भनेर फेरि आइस् भने तँलाई दुई गिँड पारेर तिते खोलामा पुरिदिन्छु । छोरी मान्छेले जे भन्छ, त्यही हुन्छ । तिरो तिरे यै मान्छेलाई तिर्छु म कति पर्छ ।’ चरीमायातिर पुलुक्क हे¥यो । चरीमाया फिस्स हाँसी । कालाको रिस सबै चरीमायाको हाँसोले खाइदियो ।
बेलुका घरमा सात धार्नीजतिको सुँगुर काटियो । सबै दाजुभाइ भेला भए । चरीमायालाई चुल्होमा भित्राए ।
बिहे गरेको चार वर्षपछि मूलघरबाट छुट्टिएर तिते खोलामाथि घर बनाए । चरीमायाले ढुंगा ओसारी, कालाले घर बनायो । दुई तले चिटिक्कको घर बनाएपछि दाजुभाइ र गाउँलेलाई बोलाएर घरपैसा गर्दै सुँगुर काटेर भोज खुवाए ।
चरीमायासँग सबैथोक थियो । ठूल्ठूलो पाखुरा भएको बलियो, अनि चलाख काला थियो । चरीमायाको संसार यही थियो । कालालाई खुसी बनाउन लागिपर्थिन् । तर, चरीमाया दुःखी एउटै कुराले थिइन्, उनको नानी जन्मेको थिएन । तीनवटा कोख तुहिसकेको थियो । खरीबहादुरलाई जसरी गाली गर्ने ठाउँ थिएन कालालाई । चरिमायाकै पेटमा बच्चा तुहिरहेको थियो ।
सधैं ‘छोरा चाहियो’ भन्थे काला । उदयपुरको कटारी पुगेर नूनको भारी बोकेर सोलुको नेले पुर्याउँथ्यो ऊ । १५ दिनपछि घर फिर्दा केही नभए पनि एउटा पटुका लिएर आउँथ्यो चरीमायाका लागि । यति नै काफी थियो चरीमायालाई खुसी हुन ।
छुट्टिएको एक वर्षपछि कालाले भारी बोकेरै दुई सय दश रुपैयाँमा पल्यांकुमा बारी किन्यो । अंशभन्दा डबल बारी थपियो । घुर्यानमुनि पनि तीन सय दशमा किन्यो सबै डाँडो । खानका लागि अनिकाल टर्यो ।
उसको पेटमा भने सधैं बच्चा तुहिरह्यो । कालाले कहिल्यै गाली पनि गरेन । बरु छुट्टिएको तीन वर्ष भित्रमा तल ढाँड र धानखोरे पनि किन्यो । तर, एक्लै कति ठाउँमा भ्याउनु चरीमायाले ! काला हिउँद पर्नसाथ भारी बोक्न जान्थ्यो ।
सातौँ बेत तुहिसकेको थियो चरीमायाको । आठौं नानी उनको पेटमा बसेको थियो । आठ महिना कटिसकेको थियो । काला भारी पुर्याउन सोलुको नेले गएको थियो ।
काला फर्कँदा चरीमायाले छोरो पाइसकेकी थिई । छोरो पाएको दोस्रो दिन काला घरमा आइपुग्यो । हातमा भाले लिएर आएको थियो । बाटैमा थाहा पाएछ । बास नबसी घर आइपुगेकी थियो रातारात हिँडेर । खुसीले उत्तेजित बनेको कालाले कम्मरबाट खुकुरी निकालेर मकैको थाङ्ग्रालाई, सिकुवाको खाँबोलाई काटेको थियो चुस्स चुस्स ‘सह आयो’ भन्दै ।
साँझमा चुल्होमा भाले काटेर पितृ पूजा गर्यो । चरीमायालाई भालेको सुप खुबायो । पल्याङखोला खेतको धान कुट्यो, भात खुबायो । पाँच दिनपछि न्वरान गर्यो । छोरोको नाम राख्यो, ‘गौतन ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।