सानोमा आमासँग बारीमा जाँदा आमा झार-पात गोड़्थिन् । मकै रोप्थी । सिमी रोप्थी । म भने बारीछेउछाउका बनमारा तीतेपातीका झ्याङहरूलाई त भनेको टेर्देनस् । उठ् क ख भन भन्दै भाटाले पिट्ने गर्थे । मेरो हर्कत हेर्दै आमा भन्थी – ‘यो त पछि मिस नै हुन्छ होला हौ !’
म नियमित बालविकास जाने गर्थेँ । बालविकासमा शिक्षकहरूले भगवानहरूको बारेमा भन्नु लगाउँथे । म बर्र.. सोधेका कुराहरू भनिदिन्थेँ । यसरी बोलेको देखेर शिक्षकहरू भन्ने गर्थे – ‘तिमी त पछि गएर टिचर नै हुनु ल !’
त्यही कुराहरूले मेरो मनमा सपना पलाएको हो शिक्षिका बन्ने ।
सबैभन्दा सजिलो काम नै शिक्षक हुनु हो – सबै भन्छन् । न घाम, न पानी । वर्षैभरि छुट्टी । सबैभन्दा इज्जतदार पेसा । सबैले सम्मान गर्ने पेसा।
यही कुराहरू सोचेर मैले अठोट पनि गरेको हो शिक्षिका बन्ने ।
प्राइभेट स्कूलमा नै सही मैले त्यही इज्जतदार पेसा अपनाइरहेकी छु । भनेजस्तो तनखा छैन । तर पनि एक्लो जीवन धान्न काफी छ । यसैले मलाई सन्तोष छ ।
……………….
एक दिन हैमन्ती मेम स्कूल आइनन् । मेमको बद्ली मलाई कक्षा २ मा पठाइयो । मेम नआएकोले हल्लाखल्ला गरिरहेका नानीहरू म कक्षामा पस्दा चुपचाप भए । हेमन्ती मेमको विषय थियो हिन्दी । त्यसैले मैले हिन्दीको किताब झिकेर नानीहरूलाई एउटा हिन्दी कविता माँ की ममता पढ़्न अह्राएँ ।
माँ की ममता करूणा न्यारी
बोलो सब….
विद्यार्थीहरू कराउँदै कविता घोकिरहेका थिए । त्यसैबेला एक जना विद्यार्थी पठनतिर ध्यान नदिएर घोरिरहेको देखेँ ।
‘हे वाट्स रङ विथ यु ?’ म पोइन्टरले त्यो विद्यार्थीतिर इसारा गर्दै भन्छु । त्यसले न मतिर हेरी न त कुनै प्रतिक्रिया नै गरी ।
‘वाट्स योर नेम ?’ म उठेर ऊतिर जाँदै सोध्छु । ऊ अझै पनि बोल्दिन । चुपचाप घोप्टो परिरहन्छे ।
‘मिस तिथिम् हाओकिप !’ त्यसको साटो अरू विद्यार्थीहरूले एकैसाथ भन्छन् ।
‘कविता अच्छी नही लगी ?’, अङ्ग्रेजी समस्या भयो कि भनेर म अलि मलीन भएर सोध्छु । त्यो अझै पनि निरूत्तर घोप्टिरहन्छे ।
‘देट् मिन यु डोन्ट लभ योर मेम ?’ अझै फकाउँदै भन्छु । त्यो अझै पनि घोप्टिरहन्छे । एक शब्द बोल्दिन ।
यसपटक अपमान बोधले हो कि के भएर हो मेरो पनि पारा तात्तिन्छ । र, उसलाई क्लास बाहिर जाने सजाय सुनाउँछु ।
‘क्लास टु को एक जना नानी साह्रै बदमास रैछ, रूड म्यानर भाको’ रिस नमरेको म लञ्च ब्रेकमा सलिमा मेमलाई सुनाउँछु ।
‘धनी बाउको छोराछोरीहरू यस्तै हुन् नि मिस । यो प्राइभेट स्कूलमा त राम्रो टिचर हुन्छु भनेर हैन सिलेबस कसरी खत्तम गर्ने त्यो पो सोच्नुपर्छ ।’ सलिमा म्यामले हाँस्दै भनिन् ।
म पनि हाँसेर उसको कुरालाई समर्थन गर्दिन्छु ।
………..
मेरो क्लास टुमा जाने काम नै पर्थेन । कुनै समय एक्सट्रा क्लास पर्दा गइहाले पनि म त्यो विद्यार्थीलाई याद नै गर्थिनँ ।
क्लासमा जब त्यसलाई देख्थेँ त्यो आफ्नै धूनमा हुन्थी । कि त घोरिरहेको, कि त नक्सा बनाइरहेको कि त एक्लै चुपचाप बसिरहेको । धनी बाउको छोराछोरी… उसलाई देख्ने साथ मलाई सलिमा म्यामको कुरा याद आउँथ्यो । सानैमा पनि यति साह्रो एटिट्युड, उसलाई हेरेर म सोच्थेँ ।
लञ्च ब्रेकको समय एक दिन स्टाफ रूममा कुराकानी हुँदै गर्दा मैले तिथिमको बारेमा हेमन्ती म्यामलाई सोधेँ ।
‘मोस्ट होपलेस गर्ल’ अनुहार बिगार्दै हेमन्ती म्यामले भनिन् ।
………………….
अर्ध वार्षिक परीक्षाको रिजल्टको दिन । विद्यालयमा अभिभावकहरूलाई पनि बोलाइएको छ । त्यो दिन स्कूलमा जहिल्यै पनि चहलपहल अनि व्यस्तता निक्कै हुन्छ । कोही अभिभावकहरूले फिस नतिरेको कारणले गर्दा रिजल्ट पाउँदैनन्। कसैको अभिभावकहरू परीक्षामा अङ्क कम्ति आयो भनेर शिक्षक/शिक्षिकाहरूसित तर्कातर्की गर्छन् । कोही अब्जेक्सन गर्छन्, कोही प्रशंसा गर्छन् । सबै सबै झेल्नुपर्ने हुन्छ त्यो दिन शिक्षकहरूले ।
यस्तै व्यस्तताहरूबीच मेरो ध्यान तिथिमतिर जान्छ । मलाई यसचोटि तिथिमको रिजल्ट अनि अभिभावक दुवै हेर्ने उत्सुकता छ । तिथिमको हात समातेर एक जना खुबै सुन्दर युवक रिजल्ट लिन स्कूल आइपुग्छ । सानो केटा अलि फेसनेबल ।
सानै उमेरमा बिहे गरेपछि जिम्मेवारी लिन नसकेका हुन्, यसैले तिथिम बिग्रियो, म मनमनै अड़कल गर्छु ।
कहिले हेमन्ती म्याम तिथिमलाई स्टाफरूममा नै ल्याएर नगरेको होमवर्क गराउँदै गरेकी हुन्छिन् । कोहीबेला छिम्मी म्याम गल्ती नै गल्तीले भरिएको खाता हेर्दै गन्गनिरहेकी हुन्छिन् । जतिबेला पनि तिथिमको सन्दर्भ आउँछ सलिमा म्यामको मलाई धनी बाउको बिग्रेको छोराछोरी भन्ने वाक्य य़ाद आइहाल्छ । तिथिमको स्वभाव, अटेरीपन, एटिट्युड झल्झली आँखाअघि नाच्छ ।
सायद यही कारण कतै न कतै म घृणा गर्छु उसलाई ।
………………………………………
वार्षिक परीक्षा चलिरहेको छ । खटाइको समय भनेको नै यही हो । क्वइसन सेट गर्नु, सीट एरेञ्ज गर्नु, परीक्षा ड्यूटी, पेपर काट्नु । वर्षभरिकै सबैभन्दा चरम व्यस्तताको समय भनेको नै यही हो ।
परीक्षाको समय सबैभन्दा ठूलो टाउँको दुखाइ भनेको सानो कक्षामा ड्यूटी पर्नु । नानीहरूलाई सम्हाल्नै गाह्रो । बदमास केटाकेटीहरूलाई कराउँदा, दगुर्दा-दगुर्दा हत्तुहैरान । यसैले सानो कक्षामा ड्यूटी नपरोस् भनेर प्रार्थना नै गर्नुपर्ने स्थिति बनिन्छ ।
तर दुर्भाग्यवश योपाली सानो कक्षामा नै मेरो ड्यूटी धेरै पर्यो । त्यहीमाथि तिथिमको कक्षा अर्थात् टुमा । म धेरै दुखी पनि भए। थकित पनि । प्रश्न पत्र बाँडी नसकी केटाकेटी लेख्न सुरू गर्थे । हतार गरेर कतिजनाले ५० मिनट पनि नपुगी लेखी सक्थे । उनीहरूको पेपर चेक गर्दा, कराउँदा, सिकाउँदा नै हत्तुहैरान ।
तर मलाई यसपल्ट सबैभन्दा धेर समस्या बनी तिथिम । साथीहरूले आधाउँधी लेखिसक्दा पनि तिथिम नलेखेर घोरिरहेकी हुन्थी । प्रश्न पत्र पढ़ेर बुझाउँदा पनि उसले लेख्न सक्थिन । सबै हतार गर्दै लेखिरहेको समय ऊ पेन्सिल टोकेर घोरिरहेकी हुन्थी । कराउनु, डर देखाउनु सबै बेकार । प्रतिक्रियाहीन घोरिरहन्थी तिथिम ।
सानैमा खूब एटिट्युड देखाउँछे, ठूलो भएर कस्तो होली, हरेक परीक्षाको दिन नै तिथिमलाई लिएर मेरो मनमा यही कुरा खेलिरह्यो ।
………………
सानो कक्षाका विद्यार्थीहरूको परीक्षा चाँडै सिद्धिन्छ । उनीहरूको उत्तर पुस्तिका जम्मा गरेपछि उनीहरूले घरबाट लिएर आएको खाजा खुवाएर घर पठाइञ्जेलसम्म मेरो ड्युटी रहन्छ। विद्यार्थीहरू परीक्षा सकेपछि आफ्नो-आफ्नो खाजा निकालेर खान बस्छन् । झगडा नगरोस् भनेर म निगरानी गरिहेको हुन्छु । तर तिथिमले कहिल्यै खाजा लिएर आइन । अरूले खाँदा ऊ डेस्कमा टाउको अडेसाएर सुतिरहेकी हुन्थी ।
‘खाना क्यो नही लाया ?’ मैले एक दिन उसलाई सोधेँ ।
सुतिरहेकी उसले पुलुक्क मतिर हेरी, तर जवाफ दिइन् ।
‘मम्मीको बोलना खाजा के लिए’ यसचोटि केही माया गरेर मैले उसलाई भने । उसले मात्र टाउको हल्लाई अनि फेरि घोप्टेर सुती ।
तर उसले कहिल्यै खाजा ल्याइन । डेस्कमा सुतेर नै समय बिताई । त्यसपछि मैले पनि कहिल्यै सोधिनँ, न सोध्ने दरकार नै सम्झेँ ।
…………………….
आज वार्षिक परीक्षाको रिजल्टको दिन । कक्षा टुमा म र प्रतिमा म्यामलाई खटाइएको छ । अभिभावकहरूले फिस तिरेको रसिद चेक गरेपछि नानीहरूको रिजल्ट दिने हाम्रो काम हाे ।
प्रायः प्राइभेट स्कूलहरूको एउटै पोलिसी हुन्छ, फीस नतिरिञ्जेल विद्यार्थीहरूको रिजल्ट लान नपाउने । विद्यार्थीहरूको फिसको भरमा विद्यालय सञ्चालन हुने ती विद्यालयहरूलाई यसो गर्नु बाध्यता पनि हो । बाध्यताले नै हुन सक्छ, यही चलन हाम्रो विद्यालयमा पनि छ ।
अभिभावकहरूबाट फिस तिरेको रिसिभ्ड कपी हेर्दै रिजल्ट दिइरहेका छौँ हामी । परीक्षा राम्रो गर्ने विद्यार्थीका अभिभावकहरू शिक्षक/शिक्षिका साथै विद्यालयको पनि प्रशंसा गर्छन् । धन्यवाद भन्छन् । परीक्षा बिगार्नेका अभिभावकहरू भने गाली गर्छन् । रिसाउँछन् स्कूल बदली गर्ने धम्कीसमेत दिन्छन् । मानौँ, फिस तिरेपछि परीक्षामा उत्कृष्ट माक्स दिनैपर्ने । तथापि प्राइभेट स्कूलले हाँसेरै अपमान सहनुपर्ने हुन्छ त्यो दिन । प्रतिमा म्याम र म त्यसै गरिरहेका छौँ ।
यसचोटि मैले सबैभन्दा धेरै पर्खिएको भनेको तिथिम अनि उसको अभिभावकलाई नै हो । मलाई तिथिमको गार्जेनसित तिथिमको कम्प्लेन गर्नुछ । अभिभावकहरूलाई पनि अलि सुझाव दिनुछ । सबैभन्दा धेरै तिथिमलाई गाइड गर्नुपर्ने कुरामा जोड दिनुछ ।
तर तिथिम अनि उसको अभिभावक आइपुगेको छैन ।
निक्कै लामो समय बितिसकेको छ । प्रायः अभिभावकहरू आइसकेका छन् । तर तिथिमको अत्तोपत्तो छैन ।
‘म्याम तिथिमको गार्जेन त आएन त’ म प्रतिमा म्यामलाई सोध्छु।
‘तिथिमको ?’ म्याम उल्टै सोधेजस्तो मलाई उत्तर दिन्छे । म म्यामतिर हेर्छु ।
‘तपाईँलाई थाह छैन ?’ म्याम उल्टै मलाई प्रश्न गर्छिन् । म अक्कबक्क पर्छु ।
‘तिथिमको आमाबाबा काँ छ र ! ऊ त अर्फेन हो नि !’ प्रतिमा म्याम रिजल्टको थाक मिलाउँदै भन्छिन् ।
‘यहीँ पर एउटा चिल्ड्रेन्स होम छ । नर्थ इस्टका अर्फेन र गरिब नानीहरूको लागि बनाइएको हो त्यो । तिथिम त्यहीँ बस्छे । उनारको पढाइहरूको खर्चहरू पनि सबै स्पोन्सर्ड गर्छ । सायद यसपाली पैसा आएको छैन होला त्यसैले रिजल्ट लिन नआएको ।’ प्रतिमा म्याम यति भनिराखेर चेयरबाट उठी ।
अक्क न बक्क भएर म्यामको कुरा सुनिरहेँ । म्यामले जाने हैन भन्दा झस्केछु । उठेर पछि-पछि हिँड़्छु ।
‘उ.. तिथिम’ प्रतिमा म्यामले हातले इशारा गर्दै प्रिन्सिपल अफिसबाहिर बसिरहेका नानीहरूको हुलतिर इशारा गरिन् ।
अस्तीको त्यही युवकसित तिथिम प्रिन्सिपल अफिसअगाडि उभिरहेकी थिइन् ।
“यिनीहरूले नै चिल्ड्रेन्स होम चलाउने गर्छन् । तिथिमलाई स्पोन्सर गर्ने मान्छे हिजोअस्ति मर्यो भनेको सुनेको थिएँ । सायद. यसैले प्रिन्सिपलसित कुराकानी गर्न आएका होलान् ।” प्रतिमा म्याम मलाई सुनाउँछे।
म तिथिमतिर हेर्छु, तिथिम आज पनि एकोहोरो भएर घोरिरहेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।