साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : उनी

मनका सारा कुराहरू जो उसलाई भन्न भनेर थाकको थाक बनाएर राखेको छु, सबै बिसाउने छु । भोलि त्यो मृदु मुस्कान फेरि हेर्नेछु, अनि आशा छ पक्कै पनि एउटा प्रेम भरिएको कटाक्ष सुन्न पाउनेछु ।

उनी, अर्थात् मेरी प्रेयसी, जसलाई म रातरातभर सपनीको अन्जान देशमा पागल सरी खोजिरहन्छु बिपनीमा पनि त्यसरी गरी सम्झिरहन्छु । उनी, अर्थात् मेरी प्राण प्रिया, जसमा मेरो यो एक मुट्ठी प्राण अड्किएको छ । उनी, अर्थात् मेरी प्रेमीका, जसलाई म भोलि भेट्दैछु ।

 उसको आफ्नै नाम छ, पहिचान छ । ऊ आफैँमा सक्षम मान्छे हो । तर पात्रको रूपमा उनी नै भनिन रुचाइन् । अबको मुख्य पात्र सार्वनामिक शब्द “उनी” नै हो । म पात्र त केवल कथा वाचक ।

°°°

अन्तिम घण्टीमा विद्यार्थी सधैं शिक्षकको बोलीमा भन्दा धेरै घडी सुइमा ध्यान दिन्छन् । उनीहरूलाई घर जान हतार हुन्छ । अझ ६-१० पढ्ने माध्यमिक तहको विद्यार्थीलाई त भोकले नै हेर्न बाध्य बनाउँछ  । म पनि केही समयदेखि त्यसैगरी अन्तिन घण्टीमा घडीको सुइ हेर्ने भएको थिएँ । आफ्नो हातमा घडी नभएकाले साथीको नाडी तानी तानी हेर्ने भएको थिएँ । तर, चाँडो घर जान पाइन्छ भन्ने लालसाले होइन ।

जसै घण्टी बज्छ, कक्षाबाट सबैभन्दा पहिले निस्कनेमा लगभग म नै हुन्छु । एकछिन ढिला भयो भने भर्‍याङबाट तल झर्न १० मिनेट भीडमा च्यापिन पर्छ । त्यसैले, कक्षाकोठाबाट अन्तिम घण्टी सकिएपछि चाँडो निस्किएर भीडमा नपर्नु र चाँडै तल झर्नु मेरो उद्देश्य हुन्छ । यसो गरेर सजिलै झर्न सकेको दिन कुनै खेलाडीले ओलम्पिक जित्दा आउने बराबरको आनन्द प्राप्ति हुन्छ ।

जीवन

कलेजको आँगनमा एक्लो वर छ । थाहा छैन कति समयदेखि एक्लो छ । मैले पहिलोपल्ट देख्दाखेर नै एक्लै थियो । एक्लै भएर, वियोगमा छट्पट्टिएर होला सायद, वरले प्रेमको महत्त्त्व बुझेको थियो । उसले प्रेमको महानता बुझेको थियो भन्ने कुराम कुनै शङ्का छैन, किनकि उसको छहारीमा धेरै प्रेमिल मन र प्रेम जोडी मैले देखेको थिएँ ।

कक्षाबाट ओर्लिएर वरको छेउमा आएपछि मेरा आँखले ती कयौं प्रेमील मनहरूमध्ये एक मनलाई खोज्न थाल्छ, जुन मन त्यहाँ मेरै प्रतीक्षामा बसेको होस् । नभन्दै यी आँखाले एक जोड आँखा देख्छन्, जुन चिरपरिचित छन्, आफ्नै प्रतिक्षारत् छन् ।

वरको फेदैमा उनी मलाई कुरिरहेकी हुन्छिन् । उनी जोसँग मेरो मन मिल्छ, कुरा मिल्छ र जसको अदामा म मन्त्रमुग्ध भएको हुन्छु । उनी जो सधैँ मलाई प्रेमको आभास दिलाउँछिन् । उनी अर्थात् मेरी प्रेमिका । मेरी हृधाङ्गिनी ।

मन्ध मुस्कानले मेरो स्वागत गर्ने उनले सधैं मेरा पीरमर्काहरू नजाने कसरी ठिक गर्दिन्छिन् ? त्यो पनि क्षणभरमै । उनका कटाक्षहरूले मनमा घाउ बनाउनुका साटो भएका घाउ पुरिदिने गर्छन् । आखिर यी कसरी हुन्छन् त ? यसबारे मैले बुझ्नै सकेको छैन ।

°°°°

त्यस दिन, जुन दिन क्यालेन्डरले २०७८ वैशाख ०९ (बिहिबार ) भनेर आफ्नो छातीमा कालो अक्षरले लेखाएको थियो, त्यस दिन पनि म अन्तिम घण्टीमा घडीको सुइ हेरेर टिङ्टिङ्टिङ्टिङ् आवाज सुन्नलाई व्यग्र भएर बसिरहेको थिएँ । घडीको सुइले अब पाँच मिनेट मात्र बाँकी छ भनेपछि डेक्समा भएका सबै कापी, किताब, कलम झोलामा हालेर ठिक्क परेर बसेको थिएँ । घन्टी लाग्नेबित्तिकै म सदा झैँ ओलम्पिक ल्याउन धावक दौडिएजस्तै गरी कक्षाबाट दौडिएँ ।

भर्‍याङमा भीड थुप्रिसकेको थिएनछ । खालि खालि नै थियो । म चाँडोचाँडो गरेर ओर्लिएँ । साथीहरू पछाडिबाट एकछिन पर्खिन भनिरहेका थिए । तर आजकाल म छुट्टीको घण्टी लागेपछि उनीहरूलाई पर्खिन छाडेको छु ।

सधैँ जस्तै गरी मृदुल मुस्कान छरेर मेरै प्रतीक्षामा एक थान प्रेमको पुजारी उभिएको देखेँ । मतिर तेर्सिएका उनका आँखाहरूले मलाई झट्टै नजिक आउ भनेर डाकिरहेका थिए । म उनको आँखाको भाव बुझेर र आफ्नो मनको व्यग्रतालाई शान्त पार्दै उनी नजिकै लम्किएँ र हात मिलाएँ । हामी भेट्दा सधैँ हाम्रा हातहरू एक अर्कालाई सुम्पिदिन्छौं र हातहरूले निक्कैबेरसम्म प्रेमिल अङ्गालो मार्छन् (त्यत्रो मानिसका अगाडि हामी एकअर्कालाई अङ्गालो मार्न सक्दैनौँ) । र, अङ्गालोमा बाँधिएका ती युगल जोडीले अघिल्लो दिन छुट्टिएदेखि त्यसबेलासम्मको सारा वृतान्त एक अर्कासँग साटासाट गर्छन् ।

यता हाम्रो हाल पनि उस्तै । हिजोदेखि अस्तिसम्मका सारा कुराहरूको पालैसँग बेलीबिस्तार लागिरहेको थियो । आइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सुरु हुन लागेको थियो । परीक्षाको तयारी गर्न भनेर उनले म्युचअल अन्डरस्ड्यान्डिङ्ग फेसबुक बन्द गरेकी थिइन् । त्यसैले हामी बीच सुन्न र सुनाउनका लागि कुराहरूको सङ्गालो टन्नै थिए । परिमाणमा भन्ने हो भने सायद एक ट्रक ।

हाम्रा कानहरू यी सारा कुराहरूलाई बडो चाख लिएर सुनिरहेका थिए ।

त्यत्तिकैमा उसले मेरो खै कुन्नी के कुरामा हो कुन्नि कटाक्ष गर्दै भनिन्, “जान्ने मान्छे साइन्स पढ्दैनन् । मैंजस्तो नजान्ने मात्र हो साइन्स पढ्ने ।” यति भनेर अलिकता फिस्स हाँसो हाँसिन् ।

कटाक्ष र फिस्स हाँसो । हाय ! म कायल भैगएँ ।

खासमा म उनको यस्तै कटाक्ष गर्ने अदामै फिदा भएको हो ।

उनको कटाक्षपछि म त मनभित्रभित्रै कुराहरूको बबन्डर खेलाइरहेको थिएँ । भित्रभित्रै मख्ख परेर उनलाई एकोहोरो हेरिरहेको थिएँ । उनले पनि त्यो अवधिमा केही बोलिनन् । हामी बीचमा मौनसंवादको आरम्भ भयो ।

हामीबीच मौनसंवाद चलिरहेको बेला, एक झोँका हावा आयो र मेरी प्रेयसीको कानमा अडिएको कपाल झारेर गयो ।

“कस्तो लाजसरमबिनाको हावा रै’छ । अर्काको मायालुलाई त्यसै छोएर गइदिने ?” म मुर्मुरिएँ ।

मैले मेरी मायालुको अनुहारमा फेरि हेरेँ । ती कपाल जुन भर्खरै हावाले बिनाअनुमति झरेर गएको थियो, ती कपाल तुन्द्रुङ्ग हल्लिरहेको थियो ।

मैले ती कपालहरूलाई बडो नम्रताका साथ मेरी प्रेयसीको कानमाथि राखिदिएँ ।

मैले मेरा हातलाई उनको हातभन्दा अन्त कतै स्पर्श गरेको त्यो पहिलोपटक थियो । जसरी हरेक पहिलो कुराले एक किसिमकाे झड्का दिन्छ, त्यो स्पर्शले मलाई करेन्ट लागे जस्तो झड्का दियो । मलाई थाहा छैन, त्यतिबेला के भा’थ्यो मलाई । तर नाचौँ नाचौँ जस्तो लाग्यो, गाऔँ गाऔँ जस्तो लागेर आयो ।

त्यसैबेला मैले उनीतिर पुलुक्क हेरेको थिएँ । उनमा पनि मलाई जस्तै करेन्ट लागेजस्तो झट्का परेको रहेछ भन्ने मैले उनको अनुहारबाटै छुट्याउन सकेँ ।

त्यतिबेलै अर्को घण्टी लाग्यो । उनको कक्षामा जाने पालो आयो । हामी फेरि भेट्ने वाचा गरेर त्यहाँबाट छुट्टियौँ । तर मनमा उठेको त्यस अनौठो तरङ्गले छुट्टिएजस्तै लागेन । लागिरह्यो कि हामी साथै छौँ ।

लागेको थियो शुक्रबार भेटेर उनीसँग फेरि त्यो तरङ्गको कुरा गर्छु । तर, म भुलक्कडले बिहान कक्षामा भोलि शुक्रबार परीक्षा तयारीको लागि बिदा भनेर आएको सूचना नै बिर्सिएछु । पछि थाहा हुँदा भेट्न नपाइने भो भनेर थकथकी लाग्यो । लागिरह्यो ।

आइतबारबाट परीक्षा । मनमा थोरै डर थियो । अल्मलिनु थिएन । उनको पनि फेसबुक बन्द थियो । मसँग अब पढ्नुकाे विकल्प थिएन ।

शनिबार दिनभर साथीको घरमा बसेर सामूहिक अध्ययन गरियो । पहिलो दिन नै लेखा भएकाले साथीहरू आत्तिएका थिए । उनीहरूलाई नआएको लेखाको प्रश्न आपसमा मिलेर गर्यौँ । र, परीक्षाको पूर्ण तयारी भयो ।

परीक्षाको तयारी गरेर साँझमा मात्र म कोठा फर्किएँ । खाना पकाएँ र बाबाछोरासँगै बसेर खायौँ । बाबा गल्नुभएको थियो, निदाइहाल्नु भयो । म फेरि तयारी गर्न लागेँ, परीक्षाकाे ।

राती १0 बजे साथीको म्यासेज आयो । त्यतिबेलासम्म म पढिरएकै थिएँ, तर अब सुत्नपर्छ भनेर सोच्दै पनि थिएँ । उसको म्यासेजमा भनिएको थियो,”परीक्षा ४ दिन पछाडिका लागि सर्यो । अब १६ गतेबाट हुन्छ परीक्षा ।”

उसले कलेजको आधिकारिक सूचनाको फोटो पनि पठाएको थियो । झुटो भनेर भन्ने ठाउँ नै भएन ।

°°°°

कोरोना बढेको कारणले भोलिपल्टबाट परीक्षा नहुने कुरो पक्का हो भन्ने बुझेपछि म खाना बनाउनेतर्फ लागेँ । मोबाइलमा म्यासेनको पिटिङ्ग आवाज बज्यो । मैले मोबाइलको छातीलाई बालेर हेरेँ । म्यासेज पठाउने या** (लु नाम थाहा पाउनुस् त !) । म प्रफुल्ल हुँदै म्यासेज खोलेँ र ३ दिनदेखि सुनाउन साँचेका सारा कुरा सुनाएँ, बिहिबारको सहित । उनले पनि त्यसैगरी सुनाइन् ।

हामीले मनका आनन्द साट्यौँ ।

चार दिन विद्यालय बन्द हुने भएपछि म गाउँ जाने भएँ । परीक्षा हुने भन्ने नै कुरा भएकाले तीनवटा अलि गाह्रो विषयवस्तु भएको किताब र नोट पनि लिएरै गएँ । हामीबिच फेरि परीक्षा दिनेबेला म इटहरी आउने र भेट्ने सहमति भएको थियो । तर, न परीक्षा भयो न म इटहरी आएँ । पछि उनी पनि आफ्नै गाउँ गइन् । हाम्रो भौतिक उपस्तिथिमा गाँसिएको प्रेमले अनलाइन माध्यमबाट निरन्तता पाउन थाल्यो । तर, जति नै भए पनि हातले हातलाई अङ्गालो मार्न नपाउँदा, आँखाले आँखाको स्वच्छन्द लय बुझ्न नपाउँदा, ओठहरूले आवाजबिनाकै शब्दहरू भनेर बुझाउन नपाउँदा, अनलाइनले प्रेमको भित्री भावलाई छुनै सकेको छैन । ठिक त्यसरी नै जसरी अनलाइन कक्षाले विद्यार्थीको भित्री मनमा पढाइको चेत मज्जाले दिन सकेको छैन ।।

तर, भोलि म मेरी प्रेयसीलाई भेट्दैछु । मेरी मायालुलाई भेट्दैछु । मनका सारा कुराहरू जो उसलाई भन्न भनेर थाकको थाक बनाएर राखेको छु, सबै बिसाउने छु । भोलि त्यो मृदु मुस्कान फेरि हेर्नेछु, अनि आशा छ पक्कै पनि एउटा प्रेम भरिएको कटाक्ष सुन्न पाउनेछु ।

भोलि पक्का विशेष दिन हुनेछ ।

भोलि के हुन्छ भनेर जान्ने मन भए, पर्खनूस् । यो प्रेमको पुजारीलाई बताउनूस् र सुनाउन लगाउनूस् भोलिका कथा । तर आज भने ३ बजिसकेको छ । आजलाई यी रातै पल्टिन आँटेका नयनहरूलाई लोलाउन दिनुहोस्, भोलि उनका नजरहरूसँग नजर मिलाउनु छ ।

प्रतिक्रिया
Loading...