तीन दिने गोष्ठीको दोस्रो दिनको कार्यक्रम समाप्त हुनासाथ मैले मोबाइल स्वीच अन गरेँ र गोष्ठीहलबाट बाहिर निस्किएँ । दिनभरि क्रियाकलापमा संलग्न हुँदा ज्यादै थाकेकोले अब होटलमा गएर आराम गर्ने सोँच थियो ।
बाटोमा निस्कनासाथ मोबाइलको रिङटोन बज्यो । स्क्रिनमा कमलाको मन्द मुस्कान सहितको तस्विर देखियो । आधा थकान घट्यो । फोन रिसिव गरेँ । “अँ भन कमला ?” आवाज सामान्य र मायालु पाराको बनाएँ ।
“कार्यक्रम सकियो ?” प्रत्युत्तरमा उनले प्रश्न गरिन् ।
“कहाँ सकिनु ! भोलि हो इन्डिङ त ।”
“होइन आजको सकियो भनेको ?”
“ए ! अँ सकियो” मैले छोँटो उत्तर दिएँ ।
“छोरो बोल्छ रे हजुरसँग” कमलाको कुरा सुनेर म केही अचम्भित बनेँ ।
के बोल्छ र छोरो बोल्नु । उही गुँ गुँ गुँ त हो । आज ऊ दुई वर्षको पुग्यो । उसको आज जन्मदिन हो ।
“छोराको जन्मदिन, छोडेर नजानुस् भो गोष्ठीमा” कमलाले भनेकी थिइन् ।
बुबा आमाले पनि नगए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभएको हो । किन नहुनु नाति जो हो । भलै बोल्न नसकोस् । नाति हुनुमात्र पनि आमाबुबाको निम्ति कम खुसीको विषय थिएन ।
“देऊ न त” मैले भनेपछि कमलाले बाबुलाई फोन दिइन् ।
“बाब्बा बड्डे आन्न” मोबाइलमा छोराको आवाज सुनेर आश्चर्यको सीमा रहेन । यही आवाज सुन्न यी कान कहिलेदेखि तर्सेका थिए । विस्वास गरौँ कि नगरौँ जस्तो भयो । तर कसरी म मेरो छोराको आवाज नचिन्न सक्छु र !
+++
म बुबाआमाको एक्लो छोरो । बेलैमाथि बिहे गरिदिने रहर थियो । बाले भन्नुभएको थियो “शंकर हाम्रा हातखुट्टा चल्दै तैँले बिहे गर् । सके नातिनातिना नत्र बुहारीको मुख हेरेर मर्ने रहर छ ।”
मैले मानिन । “ऐले बिहे गरेर कसरी पाल्नु स्वास्नी छोराछोरी ? मेरो पढाइ पनि त सकिएको छैन ।” मेरो तर्क थियो । सुनेर बा निराश देखिनुभएको थियो । थप केही भन्न सक्नुभएन ।
एकदिन आमाले भन्नुभएको थियो, “हेर बाबै, बिहे गर । हाम्रा हातखुट्टा चल्दै सन्तान हुन्छन् । हामी हुक्र्याइदिन्छौँ । कम सास्ती हुन्न बच्चा हुक्र्याउन ।”
मैले आमालाई कुनै जवाफ त दिइन तर आमाले बुझ्नुभयो म आमाको कुरासँग सहमत छैन । फकाएर सम्झाएर सके सकिन्छ; दबाबमा पार्न सकिन्न, जिद्दी छ भन्ने पनि आमाबुबाले राम्रोसँग बुझ्नुभएको थियो ।
भयो त्यही । मैले मानिन । जितेँ भन्नुप¥यो । खुरुखुरु डिग्री पास गरेँ र बैंकमा लागेँ । त्यहीँ कमलासँग भेट भयो ।
परिचय भयो, मित्रता भयो र क्रमशः हामी अति निकट भयौँ । हामी दुवै पढेलेखेका युवायुवती । सङ्कोच मान्ने कुरा भएन । मैले मेरो आमाबुबालाई भनेँ, कमलाले आफ्ना अभिभावकलाई ।
दुवै पक्षबाट परम्परागत औपचारिकता पूरा भयो । नमान्नुपर्ने दुवै पक्षमा कुनै कारण थिएन । छोटो समयकै औपचारिक प्रक्रिया पूरा गरेर हाम्रो विवाह सम्पन्न भयो । विवाह गर्दा म अठ्ठाइस वर्षको थिएँ, कमला पच्चीस वर्षकी ।
उमेर पुगेर विवाह गरेको हुँदा बच्चा जन्माउने विषयमा हाम्रो स्पष्ट मत थियो यदि स्वाभाविक रूपमै बच्चा रह्यो भने पनि ठिक र बिहेको एकदुई वर्ष ग्याप भयो भने पनि ठिक ।
तर संयोगको कुरा बिहे गरेको एक वर्ष पुग्दा पनि हाम्रो बच्चा रहेन । हामीलाई कुनै चिन्ता थिएन, कुनै हतारो थिएन तर आमाबुबाहरूलाई हतारो थियो र चिन्ता पनि । वहाँहरू हामीमाथि संका गर्न थाल्नुभएको थियो, “तिमीहरू त्यसो नगर है”, एकदिन खाना पस्कँदै गर्दा आमाले भन्नुभयो ।
“के नगर भन्नुभएको ? के गर्यौँ र हामीले ?” आमाको अप्रासङ्गिक वाक्यको अर्थ नबुझेर सोधेको थिएँ मैले ।
“कमलाको केही सुरसार छैन । एकवर्ष भैसक्यो ।” आमाको बोलीमा आवेश र चिन्ता मिसिएको थियो ।
मैले बुझेँ आमा के भन्दै हुनुहुन्छ । मैले विस्वास दिलाउने प्रयत्न गर्दै भनेँ “आमा तपाईँले जे सङ्का गर्नुभाछ त्यो केही पनि हैन ।”
आमाले थप केही भन्नुभएन । तर दिनप्रतिदिन आमाबुबाको अनुहारमा चिन्ताका रेखाहरू दौडन थालेका थिए ।
एकदिन माइतबाट फर्किएर आएपछि कमलाले भनिन् “आमाबाले ज्यादै चिन्ता लिनुभाछ, हाम्रो बच्चा भएन भनेर । मलाई गाली गर्नुभयो । “अब के खोज्याछौ तिमीहरूले ? तँ सत्ताइस हुन थालिस् ज्वाई तीस ।” मैले आमालाई त्यस्तो केही होइन भनेर सम्झाएँ ।”
प्रतिक्रियामा मैले कमलालाई केही भनिन । साँच्चै त्यसदिन मलाई रातभरि निद्रा लागेन । हाम्रो बिहे भएको दुई वर्ष त पुग्यो त ! हामीले बच्चा नराख्न केही गरेकै छैनौ, तर पनि किन रहँदैन हाम्रो बच्चा ?
चिन्ताले यसरी पच्छ्याउन थाल्यो कि जहाँ जाँदा पनि छोड्दैन । सल्लाह गरेर एक दिन म कमलालाई लिएर स्पेसलिस्ट डाक्टरकोमा पुगेँ । डाक्टरले आवश्यक थुप्रै टेस्टहरू गर्यो र रिजल्ट दियो “समस्या शंकरजी, तपाईँमा छ । बच्चा रहने सम्भावना अत्यन्त न्युन छ ।”
एकपटक त छाँगाबाट खसेजस्तो भएँ । तर सम्हालिएँ र कमलालाई भने “कमला तिमीले टेस्टबेबी राख । आखिरी बच्चा त चाहिन्छ नै । यो हल्ला हुनुभन्दा तिम्रो बच्चा रह्यो भने कसैलाई थाहा हुन्न । न्याचुरल देखिन्छ ।”
“अँह हुन्न” कमलाले भनिन् “डाक्टरले तपाईँलाई बच्चा हुँदै हुन्न त भनेको छैन क्यारे । म तपाईँको बीज जन्माउन चाहन्छु ।”
मैले कमलालाई सम्झाउने अनेक प्रयत्न गरेँ तर मानिनन् । अन्त्यमा भनिन् “अझ एकदुई वर्ष हेरौँ । अरुलाई भन्नु परेन । भनिदिऊँ ठिकै छ बच्चा हुन्छ । यदि दुई वर्षजतिमा पनि भएन भने सोचाँैला ।”
मैले नाइ भन्न सकिनँ ।
जीवन नियमित प्रक्रिया जस्तै अघि बढिरहेको थियो । यही बीचमा एकपटक कमला र म दुवैले अफिसबाट बिदा मिलाएर केही दिनको भ्रमणमा निस्कियौँ । करिब पन्ध्रदिनको भ्रमण सकेर हामी फक्र्यौँ । कमला माइत गइन् र तीनदिन बसेर आइन् ।
साँझको खाना खाएर म बेडरुममा फेसबुकमा भुलिरहेको थिएँ । कमलाले किचनको काम सकेर कोठामा पसिन् । मेरो हातबाट मोबाइल खोसिन् र टेबलमा राखिन् । उनको यस कार्यबाट बिस्मित मैले उनको मुखमा हेरेँ । केही चञ्चलता हो कि जस्तो उनको अनुहारलाई लक्षित गर्दै भनेँ “के हो ? तीन दिन माइत बसेर आउँदा खुब आसिएजस्तो छ नि ?”
“त्यसो होइन क्या ! तिम्रालागि एउटा सरप्राइज छ ।” कमलाको अनुहारमा अहिले पनि उस्तै चञ्चलता थियो । साँच्चै भनु भने मैले उनमा यस्तो चञ्चलता कहिल्यै देखेको थिइन ।
“के हो त्यस्तो सरप्राइज ? सालाले मोबाइल पठाइदियो र अमेरिकाबाट ?” मैले कमलाले मोबाइल खोसेकोले त्यही अनुमान लगाएँ ।
“त्यो भन्दा पनि ठुलो हो ।”
“के पठायो त त्यस्तो ल्यापटप ?”
“भाइले पठाएको होइन ।”
“कसले त ?”
“मैले आफै दिन खोजेको ।”
“के हो देउ न त ।”
“पहिला सुटुक्क कानमा भन्छु । त्यसपछि दिन्छु ।”
“ल भन” मैले आफ्नो कान कमलाको ओँठनेर पु¥याउँदै भनेँ ।
कमलाले लाडिँदै पहिला कानको लोती टोकिन् ।
“अया ! यही हो सरप्राइज ?” मैले रिसाएझैँ गर्दै भनेँ ।
कमला मेरो मुखमा हेरेर हासिन् र भनिन् “म आज तपाईँलाई यस्तो प्राइज दिन्छु कि तपाईँले सोच्नै सक्नुहुन्न ।”
“भन न त ।”
“कान यता गर्नु ।”
“फेरि टोक्न ?”
“अब टोक्दिन ।” मेरो कानको लोती समाएर आफ्नो ओठनेर लाँदै भनिन् कमलाले “म मिन्स नभएको दुई महिना भयो ।”
मलाई बिजुलीको झट्का लागेझैँ भयो । कैलेकाहीँ खुसीले पनि त्यस्तो हुँदो रहेछ । मैले कमलालाई जुरुक्क काखमा उचालेँ र मुखभरि चुम्बन गरेँ । कतिचोटि यसको कुनै हिसाब रहेन ।
“शंकर भयो अब । यति धेरै खुसी पनि राम्रो होइन ।” भन्दै कमलाले मलाई रोकिन् र आफूले बदला लिएझैँ गरेर मलाई चुमिन् । गालामा, निधारमा, आँखामा, ओठमा ।
“म भर्खरै आमालाई सुनाउँछु ।” कमलालाई पलङमा राखेर बाहिर निस्कन खोजेँ ।
“लाटा आमालाई सुनाउनु पर्दैन । थाहा पाइसक्नुभयो । कमलाले मेरो हातमा समाएर रोक्दै भनिन् ।
“कसरी ?” सोधेँ ।
“आइमाईहरू शरीर देखेरै चिन्छन् । आमाले मलाई अघि सोध्नुभएको थियो । “बुहारी तिम्रो शरीर त … के हो ?”
“मैले ढाँट्न सकिन । लाज लाग्यो भन्न पनि सकिन । आमाले मलाई यति पनि माया गर्नुहुन्छ भन्ने लागेकै थिएन ।” कमलाले भनिन् ।
“बालाई…” मैले यति के भनेको थिएँ । मलाई पलङमा बसाउँदै भनिन् कमलाले “अरे बुद्धु तिमीले भन्नु पर्छ ! आमाले भनिसक्नुभयो होला ।”
यसरी हाम्रो घरमा अपार खुसी लिएर भित्रिएको थियो ऊ ।
क्रमशः कमलाको पेट उचालिन थाल्यो । म हात लगाएर हेर्थेँ चलेको प्रष्ट थाहा पाइन्थ्यो । थाहा पाएर कमलाकी आमा भेट्न आउनुभयो । दुई दिन बसेर जानुभयो । खुसीले वहाँका खुट्टा भुइमै थिएनन्, भित्रबाहिर गर्दा ।
पहिलो सन्तान जे भए पनि चाखकै थियो । त्यो पनि हुन्न कि भन्दाभन्दै भएको यतिका वर्षपछि । कमलाले छोरो पाइन् । खुसीको सीमा थिएन बुबाआमाको । खुसी हामी पनि थियौँ ।
बिस्तारै छैँटी भयो, न्वारन भयो, भात खुवाई भयो । सबै काममा बाले सारा गाउँले र इष्टमित्र बोलाउनुभयो । विस्तारै बाबुले मुखमा हेरेर हास्न थाल्यो, कोल्टे फेर्न थाल्यो, बस्न थाल्यो, सर्किन थाल्यो । चार खुट्टाले टेकेर हिड्न थाल्यो । उभिन थाल्यो । पाइला चाल्न थाल्यो । एकवर्षको हुँदा यी सबै काममा ऊ सक्रिय हुन थाल्यो ।
तर विस्तारै हाम्रो घरमा सानो चिन्ताको लहर दौडिन थाल्यो । एकदिन बाले भन्नुभयो “हँ केटाकेटी हो ! यसले आवाज किन निकाल्दैन ?”
त्यसैदिनदेखि हाम्रो घरमा अर्को चिन्ताले प्रवेश ग¥यो । हो मान्छेले धेरै खुसी हुनुहुन्न भन्ने कमलाको कुरा सम्झना भयो तर चिन्ता कमलालाई कम थियो र । हामीले बाबुलाई डाक्टरकोमा देखायौँ । “सबै ठिक छ ढिलो भए पनि बोल्छ । चिन्ता गर्नु पर्दैन” भनेर डाक्टरले निश्चिन्त गरायो ।
देवी देउता मठ मन्दिर कहाँ पुगेनौँ, कुन उपाय गरेनौँ जो हामीलाई सुझाइएको थियो । जतिजति उपाय गर्दै जान्थ्याँै, जति दिन र महिना घर्कँदै जान्थे चिन्ताले झन् बलियो बास गर्दै जान थाल्यो ।
ढिलो चाँडो ठिकै हो । दुई वर्ष हुँदा पनि छोराको मुखबाट कुनै शब्द फुट्न सकेन । हो त्यही छोराको आज जन्मदिन हो ।
बुबा आमा र कमलाले रोक्न खोज्दा मैले भनेको थिएँ । “बाबु ऐले सानै छ । ऊ बुझ्ने भएकै छैन । फेरि गोष्ठीमा हाकिमहरूसँग भेट हुन्छ । मेरो प्रमोसनमा पनि सहयोग होला” भनेपछि कसैले पनि हुन्न भन्न सक्नुभएको थिएन ।
+++
कमलाको हाँसो बाबुको बोलीसँगै मोबाइलमा सुनिएको थियो । ज्यादै खुसी झल्किएको थियो उनको हाँसोमा ।
मैले कमलालाई भने “तिमी केक तयार गर । म हिँडिहालेँ ।”
“भो छोड्नुस् । रातिको समय फेरि कार्यक्रम सकिएको छैन ।” कमलाले भनेकी थिइन् ।
“होइन कमला तीन घन्टाको बाटो त हो । भोलि बिहानै हिँडेर म कार्यक्रम भेट्न आइहाल्छु” भनेँ । कमलालाई नआओस् भन्ने त कहाँ थियो र, भनिन् “त्यसो भए बिस्तारै आउनु, नआत्तिकनै ।”
फोन काटेर म कोठामा पुगेँ । कपडा चेन्ज गरेँ । होटल साहुलाई भनेँ “साहुजी मलाई पाल्पा पुग्नुपर्ने भयो । साँझको खाना नबनाउनुहोला ।”
मैले बाइक स्टार्ट गरेँ र निस्किएँ पोखराबाट । पृथ्वीचोकमा आइपुग्दा ५.३० बजेको थियो । बिस्तारै सूर्य पश्चिमतिर ढल्किएकोले हिमाली डाँडामा मात्र घामका किरणहरू देखिँदै थिए । मैले आफ्नो सूरमा स्पीडमा वाइक चलाइरहेको थिएँ । आधाआधा घन्टामा फोन गर्थेँ र भन्थेँ “कमला म यहाँ आइपुगेँ ।”
कमला भन्थिन् “स्पीड बढी भयो सुस्त आउनुस् ।”
तर के गर्नु म र मेरो बाइकभन्दा मेरो मन तीव्र गतिमा अगाडि बढिरहेको थियो । कतिचोटि ऊ घर पुगिसकेको थियो । मनलाई हतारो थियो मोबाइलमा सुनेको छोराको आवाज प्रत्यक्ष कानले सुन्न र छोराको गालाभरि, निदारभरि मायाका डामैडाम पारिदिन । तर मन जति तीव्र न म दौडिन सक्थेँ न मेरो बाइक ।
स्याङ्जा बजार पुगेर मैले बाइक रोकेँ एक कप चिया पिएँ र कमलालाई फोन गरेँ । त्यसपछि म अगाडि बढेँ । वालिङ पुगेँ र पुनः कमलालाई फोन गरेँ र भनेँ “अब गलेङ पुगेर फोन गर्छु ।”
कमलाले पुनः भनिन् “छिटो भयो स्पीड कन्ट्रोल गर्नुस् ।”
“हस्” भन्दै मैले फोन राखेँ । अगाडि बढेँ । गलेङमा ट्राफिक चेक थियो । लाइसेन्स र बिलबुक ट्राफिकलाई दिएर पुनः फोन गरेँ । कागज बुझेर अगाडि लागेँ । वरनडाँडा मैले चिनेको ठाउँ । जिरो हिँडिरहेको ठाउँ, मालुङ्गा एउटा सानो बजार साँझ परेर होला बिस्तारै बाटोमा ठूला गाडीको आवागमन पनि कम भएको थियो । टाढाटाढासम्म गाडीका लाइटहरू देखिँदैनथे । त्यसैले पनि होला मेरो स्पीड कम भएको थिएन । मालुङ्गा र राम्दीको बीचमा कुनै बस्ती छैन । गाडीको आवागमन पनि करिब ठप्प जस्तै छ । बाटोमुनि काली एकनासले सुसाइरहेकी छन् । ठिक उल्टो दिशामा मेरो बाइक तीव्र गतिमा बाटोमा बगिरहेको छ निर्वाध रूपमा ।
बाइक स्पीडमा भएरै होला कालीको आवाज जस्तै सीतल हावाको आवाज पनि कानमा एकनास सुसाइरहेको छ । यी दुई ध्वनिको साङ्गीतिक तरङ्गमा तरङ्गगिदै म अगाडि बढिरहेको छु । राम्दी बजारभन्दा करिब एक किलोमिटर पहिलाको ढुङ्गे पहाड काटेर बनाइएको लामो र सोझो बाटो मेरो बाइकको बत्तीले उज्यालो बनेको छ ।
करिब दुई सय मिटर अगाडि बाटाको बीचमा रहेको कुनै सेतो चिजमा मेरो दृष्टि प¥यो । मलाई लाग्यो । कुनै ट्रकले बोरा खसाल्यो होला । तर संयोग करिब सय मिटर निकट आउँदा लाग्यो त्यो बोराजस्तो लाग्ने सेतो बस्तु चलिरहेको छ । एकाएक मनमा भयले प्रवेश ग¥यो । आङ सिरिङ्ङ फुलेर आयो ।
मोटरसाइकलको गति क्रमशः कम गर्दै गएँ । राम्दी घाटको निकट, रात्रीको समय, एक्लो म कतै आत्मा, भूत, प्रेत ! अन्धविश्वास मान्दिन भन्ने मेरो मनमा यसरी एकाएक आत्मा, भूत प्रेतको विचार कुन्नि कहाँबाट आयो । सायद मन कमजोर भएपछि यी सब कुराको विश्वास लाग्दो हो ।
त्यस वस्तुको निकट पुग्दा मेरो बाइकको गति पूर्णतः रोकिएको थियो र मेरो कानमा हावाको आवाज पनि बन्द भएको थियो । बरु त्यसको ठाउँमा कालीको सुस्साहटलाई चिर्दै एक बालकको रोदनको आवाज मेरो कानमा प¥यो ।
यो एकान्तस्थलमा बच्चो ! बाइकको हेडलाइट बन्द नगरेरै म बालकको नजिक पुगेँ । बालक मान्छेको आहट थाहा पाएर होला झन् बढी चिच्याएर रुन थाल्यो । सेतो कपडामा लपेटिएको उक्त बालकको निधारमा काटेर रगत बगिरहेको थियो । रगतले कपडा भिजेको थियो र पिच बाटोमा पनि केही रगत लागेको थियो ।
सोँच्नु के थियो हतपत बालकलाई काखमा लिएँ । मेरो मनमा अनेक विचार र द्वन्द्व उत्पन्न भए । के यो बच्चा कुनै बसबाट खसेको होला त ! तर गलेङबाट यता लागेदेखि न कुनै बस पोखरा साइड गएको सम्झन्छु न मलाई कुनै बसले ओभरट्याक गरेको । कुनै नारी यो रात्रीको समयमा ! सम्भावित अनेक दुर्घटनाहरू मेरो मन मस्तिष्कमा तछाडमछाड दौडिएर आए ।
बच्चालाई एक हातमा समाएँ । मान्छेको काखको न्यानो पाएर होला रुँदारुँदा घाँटी सुकेको बच्चा बिस्तारै रुन कम गरिरहेको थियो । गोजीबाट मोबाइल निकालेँ, मोबाइलको लाइट जलाएँ र ढिकमाथि, तल हेरेँ । परपरसम्म, माथि तलसम्म कुनै मान्छेको सङ्केत थिएन ।
पुरै शक्ति लगाएर चिच्याएँ “यो बच्चा कसको हो ? मेरो आवाजले तर्सिएर होला बालक झन् बढी रुन थाल्यो । तर मैले उसको प्रवाह नै नगरी चिच्याएँ । “कोही हुनुहुन्छ ? मेरो आवाज सुन्दैछ कसैले ? यहाँ एउटा घाइते बच्चा छ । यो बच्चा कसको हो ?”
एकनासले सुस्साइरहेको कालीले बाहेक मेरो प्रश्नको जवाफ कसैले दिएन । मेरो मनमा विचार आयो । यो बच्चाको उपचार त गर्नै पर्छ । यसरी अकालमा मर्न दिनु हुँदैन । सन्चो भएपछि पत्रिका, एफ्. एम्. मा दिउँला । भएन भने ईश्वरको वरदान सम्झिएर आफै पालौँला । मनैमन यही विचार गरेँ ।
झोलाबाट कमलाले राखिदिएको न्यानो उनी सल झिकेँ । बच्चालाई पिठ्युमा राखेँ र कसेँ । बच्चा चिच्याएर रुन थाल्यो । मैले बच्चा नलोट्ने÷नखस्नेगरी कसेँ र बाइक स्टाट गरेर अगाडि बढेँ ।
मेरो मन अब एकतमासले अस्पताल पुगेर बच्चाको उपचार गर्न हतारिएको थियो ।
राम्दी आयो गयो, पिपलडाँडा आयो गयो, अँगाहाखोला आयो गयो । पिठ्युँमा बालक क्रमशः आफ्नो रुवाइलाई कम गर्दै गैरहेको थियो । मेरो बाइक एकनासले सिद्धार्थ राजमार्गको लम्बाइलाई चिर्दै अगाडि बढिरहेको थियो ।
अँगाहाखोलाबाट मास्तिर निस्किँदा बालक रुन बन्द गरेको थियो । मेरो मनमा चिसो पस्यो । कतै बच्चो मर्न त मरेन ? होइन होला ! बिचरा निदायो होला । मैले मनलाई ढाडस दिएँ तर रोकेर हेर्ने फुर्सद कहाँ थियो र मलाई ।
बालकको निधारबाट बगेको रगतले भिजेर मेरो ढाड च्यापच्याप भैरहेको थियो । यी सबै कुराप्रति मेरो ध्यान कम थियो । बस मेरो मूल ध्यान जसरी हुन्छ छिटो अस्पतालमा पु¥याएर बच्चालाई जोगाउनु थियो बचाउनु थियो । मैले आफ्नो उद्देश्यमा सफल हुन सके मानवताको एउटा दृष्टान्त बन्ने थिएँ । के म त्यही प्रलोभनले प्रेरित थिएँ त ।
होइन यी सब कुरामा मेरो कुनै ध्यान थिएन । के कुनै एक सज्जन व्यक्तिले बाटोमा त्यस अवस्थामा एक बालकलाई भेटेपछि यति धेरै कुरा सोँच्न थाल्छ, भ्याउँछ । पक्कै भ्याउँदैन ।
हो मैले पनि यी सब कुरा सोँचिन । मात्र सोचेँ यो बच्चालाई जोगाउन सके हुन्थ्यो अकालमा ज्यान जानुबाट ।
आर्यभञ्ज्याङ आयो । बजार बिस्तारै रात्री विश्रामको सर्जाम जुटाउने सुरमा थियो । पोखराथोक आयो, सायद यतिबेला पोखराथोक प्रथम प्रहरको निद्रामा भर्खर प्रवेश गरेको थियो । गाफ्टुङ आयो, दिनभरि खेत बारीमा खटिएर थाकेका कृषकहरू निद्राको गहिराइमा डुबिसकेका थिए । तर मलाई यी सबको सुर्ता थिएन ।
म चिलाङ्दीको बाटो माथि निस्किएँ । चिलाङ्दीबाट देउराली हुँदै मिसन पुगेँ । अस्पताल अगाडि बाइक रोकेर हतपत म इमर्जेन्सी कक्षमा प्रवेश गरेँ । आज इमर्जेन्सी वार्डमा बिरामीहरूको चाप केही कम थियो । म हतपत एउटा बेड जनिक गएँ । एकजना एच्. ए. र नर्स मेरो नजिक आए ।
“डाक्टर यो बच्चा बाटोमा घाइते भेटिएको हो । यसलाई छिटो हेरिदिनुप¥यो” भन्दै मैले सलको गाँठो फुकाएँ । नर्सले पछाडि हेरेर भनी “तपार्इँको पछाडि त कुनै बच्चो छैन त !”
डाक्टरले पनि पछाडि हे¥यो र भन्यो “तपाईँको सल र सर्टमा रगतका टाटाहरू छन् तर बच्चो छैन ।”
मलाई ठुलो भीरबाट खसेजस्तो लाग्यो । कुन्नि किन बच्चाप्रति मेरो आत्मीयता यति धेरै बढेछ कि म व्याकुल भएँ “हँ बच्चा कहाँ खस्यो त ?”
तर कुन्नि किन मलाई लाग्यो बच्चा मेरो पिठ्युमै छ र मैले भने “होइन डाक्टर, बच्चा मेरो पिठ्युमै छ । एकचोटि राम्रोसँग हेरिदिनुप¥यो ।”
मेरो आग्रहलाई मानेर डाक्टर र नर्स दुवै सँगै आए र हेरे । दुवैले एकैसाथ भने “तपाईँको पिठ्युमा कुनै बच्चा छैन । धेरैबेर बोकेको भएर तपार्इँलाई त्यस्तो लागेको हो । नपत्याए एकपटक आफ्नो बर्को र सर्ट खोलेर विचार गर्नुस् ।”
म निराश मन लिएर अस्पतालबाट बाहिर निस्किएँ । आखिरी कहाँ खसालेँ त मैले बच्चालाई ? कस्तो अभागी बालक रहेछ । एकपटक आफ्ना आमाबाबुको काखबाट खस्यो । मैले बचाउन खोजेँ । मेरो पिट्युबाट पनि खस्यो ।
म अस्पतालबाट बाहिर निस्किएँ । मोटरसाइकल स्टार्ट गरेँ र घरतिर लागेँ । बल्ल मलाई ध्यान आयो । मलाई यतिबेरसम्म घरबाट कसैले किन फोन गरेनन् ।
गोजीमा छामेँ । फोन छैन । यी मैले त फोन पनि खसालेँछु । जसै म अगाडि बढेँ मलाई फेरि पनि लाग्यो बच्चो मेरै पिठ्युमा छ । कुन्नि किन मलाई ऊ पिठ्युमा चल्मलाएजस्तो पनि लाग्यो । खुनखुन रोएजस्तो पनि लाग्यो ।
मलाई लाग्यो डाक्टर र नर्स अस्वस्थ थिए चेतनाविहीन । यथाशीघ्र घर पुगेर कमलालाई घटनाबारे बताउन मन लाग्यो । बच्चाको यथासम्भव प्राथमिक उपचार गर्नुपर्ला भन्ने सोचेँ ।
ए साच्चै यो बालकको चिन्ताले मैले त आफ्नो उद्देश्य नै पो बिर्सेँछु त । आज त छोराको जन्मदिन । हो त त्यसैका लागि पोखराबाट हाम फालेर आएको न हुँ म । आफै इन्वाइड गरेथ्यो छोराले । पर्खिराखेको होला, ढोकामा आएर उभिएको होला बाबाले किन ढिला ग¥यो भनेर । हो त फोन नउठाउँदा के के सोँचिन् होला कमलाले । मन पापी हुन्छ । थोरै तलमाथि हुनासाथ के के नराम्रो सोँच्न थाल्छ ।
अनेक कुरा मनमा खेलाउँदा खेलाउँदै म आफ्नो घर अगाडि आइपुगेको पनि ध्यान नै भएन । तर म घरको अवस्था देखेर अचम्म परेँ । मैले जे सोँचेको थिएँ त्यस्तो केही पनि थिएन । लाग्थ्यो सबै ढोका लगाएर, बत्ती बन्द गरेर सुतिसकेका छन् । आफैमाथि आत्मग्लानि भयो । म भने छोराको जन्मदिन भनेर हाम फाली आएँ । तर …।
फेरि मनलाई सम्झाएँ । होइन धेरै राति पनि त भयो ।
मैले वेल बजाएँ । ढोका कमलाले खोलिन् । “कति रात पार्नुभएको ?” देख्नासाथ कमलाले प्रश्न तेस्र्याइन् ।
म भित्र पसेँ र सारा वृत्तान्त सुनाएँ । घरमा छोराको जन्मदिनको कुनै चिह्न थिएन । “बाबु सुत्यो ?” सोधेँ ।
“अँ अघिसम्म कुरिराथ्यो, निदायो” प्रतिउत्तरमा कमला बोलिन् ।
कमलाले खाना तताउन थालिन् । मैले भनेँ “कमला हेर त पिठ्युमा बच्चो अहिले पनि छ ।”
कमलाले विस्मित आँखाले मलाई हेरिन् । पिठ्युमा हेर्दै “ओहो पिठ्युँभरि रगत छ । कपडा फेर्नुस् र नुहाउनुस् । तर बच्चो त छैन है” भनिन् ।
मैले लुगा खोलेँ । नुहाउन मन लाग्यो । बाथरुम पसेँ । नुहाएर निस्कँदा भात तयार थियो, खाएँ । कमला र म दुवै सँगै वेडरुममा पस्यौँ । बाबु मस्त निद्रामा थियो । निधारमा स्नेहले चुमेँ । कमलाले टेबलमा राखेको केक दिइन् । थोरै निकालेर बाबुको ओठमा र गालामा लगाइदिएँ र अरु केक खाएँ ।
सुतेपछि मलाई पुनः त्यस बालकको सम्झना आउन थाल्यो । बिचरा कहाँ झ¥यो होला ! कस्तो अभागी बालक रहेछ । गुहार गर्न खोज्दा पनि सकिएन ।
म उत्तानो परेर सुेतेको थिएँ । मलाई सुत्नै मिलेन । यस्तो लाग्यो मानौँ मेरो शरीरमुनि केही च्यापिएको छ ।
म कोल्टो परेर सुतेँ । बडो अप्ठेरो तरिकाले रात बिताएँ । मलाई लाग्यो म बिहान पोखरा पुग्न सक्दिन ।
विहान उठ्दा उज्यालो भैसकेको थियो । तर कुन्नि किन बाबु मेरो काखमै आउनु मानेन । मसँग टाढाटाढा हुन थाल्यो । भन्थ्यो “बाबा तपाईँ बिरामी हुनुहुन्छ ।”
बिस्तारै दिनहरू बित्दै जान थाले । मेरो पिठ्युमा बालकको अनुभूति प्रतिदिन बढ्दै जान थाल्यो । मैले सबैलाई घटनाबारे सुनाएँ । मान्छेहरू भन्थे, “बालकको आत्मा तेरो शरीरमा प्रवेश ग¥यो ।”
मेरो शरीर दिनप्रतिदिन कुप्रो हुँदै जान थाल्यो । मेरो कपाल पनि दिन प्रतिदिन सेतो हुन थाल्यो र झर्न थाल्यो । करिब १२–१५ दिनमा म पुरै वृद्ध देखिन थालेको थिएँ । म प्रतिको कमलाको व्यवहार दिनप्रतिदिन परिवर्तन हुँदै गयो । नबोल्ने, झर्किने, चर्को र रुखो व्यवहार गर्ने आदि ।
छोराको व्यवहार पनि पहिलाजस्तो थिएन । अचम्मको कुरा त के थियो भने आमाबुबाको व्यवहार समेत मप्रति सकारात्मक थिएन । यी व्यवहारले गर्दा मेरो बाच्ने इच्छा पनि मर्दै जान थाल्यो । मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, तर संयोग चाहेर पनि त मान्छे मर्न नसक्दो रहेछ । म निराश निरीह भएर बाच्न बाध्य हुँदै गएको थिएँ ।
+++
बिस्तारै मेरा आँखा अगाडिबाट अन्धकार हट्दै गयो । जस्तो प्रातःकालमा पूर्वबाट अन्धकार हराउँदै जान्छ । धेरैबेरपछि मेरो आँखाले केही स्पष्ट देखे । म चारैतिरबाट हरियो पर्दाले घेरिएको थिएँ । मेरो शरीरमा हरियो रङ्गको बन्दी र कट्टु मात्र थियो । हातमा स्लाइन पानीको पाइप जडान थियो ।
अचानक मेरो मुखबाट निस्कियो, “म कहाँ छु ?”
तत्काल मेरो नजिक एक युवती उपस्थित भई । ऊ शिरदेखि तलसम्म सेतो देखिएकी थिई । उसलाई देखेर मैले फेरि सोधेँ “बहिनी म कहाँ छु ?”
“तपार्इँ नबोल्नुहोस् । म सबै कुरा बताउँछु ।” उसले बिस्तारै सानो र मसिनो आवाजमा भनी “तपाईँलाई आज सत्र दिनका दिन होस आयो । तपाईँ एक्सीडेन्टमा पर्नुभएको थियो । ऐले तपाईँ मेडिकल कलेजको आइस्यु वार्डमा हुनुहुन्छ । तपाइँका आफन्तहरूले तपाईँको आस मारिसकेका छन् । तपाईँका बुबा आमा र श्रीमती १६ दिनदेखि अस्पतालको बाहिर हुनुहुन्छ । बिचरी तपाईँकी श्रीमतीको रोएर बेहाल छ । केही खानुहुन्न, सम्झाएर पनि मान्नुहुन्न । तपाईँलाई केही हुन्छ कि भन्नेभन्दा पनि वहाँलाई केही हुन्छ कि भन्ने पिरलो छ । बीचबीचमा बेहोस् भएर सलाइन दिइरहेका छौँ । आँखा सुन्निएर मान्छे चिन्नै नसक्ने हुनुभाछ ।”
नर्सको कुरा सुनेर मेरा आँखाभरि आँसु भरिएर आए । नर्सले आँखा पुसिदिँदै भनिन् “तपाईँ अझ एकदुई दिन अरुसँग भेट्न सक्नुहुन्न । भेटेपछि बोल्नुपर्छ । म झट्टै डाक्टरलाई इन्फम गर्छु र एकपटक तपाईँकी श्रीमतीलाई तपाईँसामु ल्याइदिन्छु ।”
यति भनेर नर्स बाहिर निस्किइन् । यस बीचमा मेरो मनमा अनेक कुरा खेल्न थाले । कमलाको हालतबारे सुनेर खपिनसक्नु भयो । आँखा भरिएर आयो । बिचरा के बित्यो होला उनमाथि ?
एकछिनमै नर्सले कमलालाई डो¥याएर ल्याइन् । कमलाको फुङ्ङ उडेको सुन्निएको अनुहार देखेर मन भरिएर आयो । उनी नजिक आएपछि मैले दबेको बोलीमा “कमला” भनेँ । मेरो मुखबाट यत्ति के निस्किएको थियो कमला मैमाथि घोप्टिएर रोइन् । अन्य नर्सहरू पनि आए र उनलाई तत्काल बाहिर लगे ।
दुई दिन भयो नर्स मलाई बोल्न लगाउँछिन्, मोबाइलमा खिच्छिन् र मेरा आफन्तलाई देखाउँछिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।