‘असिलमर्द त्यही हो, जसले खेतीकिसानी गर्छ । जब म जिन्दा थिएँ, मैले सधैं खेतीकिसानी गरेको सपना देख्थें । सोच्थें, ससुरालीसित उधारी लिएर भए पनि दस कट्ठा जति खेतिहर जमिन किन्छु र मजाले खेती गर्छु । मैले पैसा लिएर जग्गापास गर्न अड्डामा पनि गएको थिएँ । तर, गाउँको सिमाना नाघ्नासाथ मेरो बोल्ती बन्द भइहाल्यो । मैले बोल्नै नजानेपछि अड्डाले मेरो नाममा जग्गापास गरिदिएन । मैले आफ्नो सपना पूरा गर्न पाइनँ ।’

मरिसकेका होसीलालले जिउँदा गाउँलेहरुलाई आफ्नो जीवनकथा बरोबर सुनाइरहन्थे । यसरी भूत बनेर आएका होसीलालसित कोही डराउँदैनथे । बरु, सबैलाई उनका कुरा रुचिकर लाग्थ्यो । उनीसित गाउँलेहरुले खेतीपातीका सल्लाह लिइरहन्थे । उनी सिकाउँथे, ‘गौरैयाले गरदामा नुहायो भने बहुत जल्दी पानी पर्छ । खेती अच्छा हुन्छ । फेरि यो साल नीमको पेडमा बहुत फूल फुलेको छ । जौंको फसल अच्छा हुन्छ । तर, हामी खेती गर्न नपाउने दैमारालाई गौरैया गरदामा नुहाए पनि के मतलब ! नीमको पेडमा फूल फुले पनि के मतलब ! पोहर पनि त मदार बहुत फुलेकोले अगलबगलको गाउँमा कोदोको फसल कति अच्छा भएकोे थियो ! तर, तिमीहरूले भने माटो छुन पनि पाएनौ ।’

होसीलालका कुरा सुनेर गाउँलेहरू जिल्ल पर्थे । होसीलाल उनीहरूलाई भविष्यवेत्ता जस्ता लाग्थे । एकदिन कसैले सोध्यो पनि, ‘दादा, तिमीलाई यो सब कुरा कसरी थाहा भयो ?’

उनले जवाफदिए, ‘म अनपढ जरुर छु । तर, बादलबिजलीको रङ्गढङ्ग, चौपायाको आनीबानी र फसल

नयनराज पाण्डे

नयनराज पाण्डे

को सेहतआरामले पढ्न सक्छु । मेरो एउटा कुरा गाँठो बाँधेर राख तिमीहरु । खेतमा देसीमल धेरै हाल्यो भने त्यसले जमिनलाई ऊसर बनाइदिन्छ । नागफनी उम्रिन थाल्छ । त्यसैले गोबर, खरानी र पातपतिङ्गर मिसाएर बनाएको पाँस नै जमिनमा छर्किनु पर्छ । जमिन त बुढी महतारी हो, बहुत हेरचाह गर्नुपर्छ । अनि पो महतारीले पनि सन्तानलाई सनेह गर्छिन् ।आशीर्वाद दिन्छिन् ।’

खेती लगाइसकेपछि पनि वरिपरिका गाउँलेहरु यसरी नै औंसीको रात भेला भएर पैलागी दादा भन्दै आशीर्वाद लिन आउँथे ।उनी यसरी नै आफ्नो चिहानबाट व्युँतेर आउँथे ।गाउँलेहरूसित भलाकुसारी गर्थे र फेरि आफ्नौ चिहानमा फर्किनुअघि भन्थे, ‘सरकारले हाम्रो आवाज आउने कुनै किताब निकाल्यो भने तिमीहरूले मेरो चिहानमा ल्याएर राखिदिनू । मलाई त्यो किताब पढ्ने बहुतै इच्छा छ ।’

होसीलाललाई मात्र किन, सिंगै गाउँलाई त्यस्तो शब्दकोशको प्रतीक्षा थियो । तर, गाउँलेहरू बोल्नै नजान्ने त थिएनन् । उतिबेला उनीहरु सबैसित आफ्नो गाउँको सरहदभन्दा बाहिर गएर पनि बोल्न सक्ने आवाज थियो ।

तर, एकदिन एकजना राजाले ऊर्दी जारी गरे र भने, अब सबैले एउटै भाषा बोल्नु पर्छ ।

बस्, त्यसरी ऊर्दी जारी भएकै दिन उनीहरूको घाँटीमा समस्या उत्पन्न भयो । उनीहरु गाउँभन्दा बाहिर बोल्नै नसक्ने भए ।
००

त्यतिबेला हिन्दुस्तानमा अङ्ग्रेजहरुको शासन थियो । एकपटक अङ्ग्रेज र नेपालबीच भयङ्कर लडाइँ भयो । लडाइँमा नेपालले भोगचलन गरिरहेको मधेसको ठूलो भूभाग गुमायो ।

पछि सन् १८५७ मा अङ्ग्रेज शासनविरुद्ध लखनऊमा सिपाही विद्रोह भयो । त्यो विद्रोह दबाउन जङ्गबहादुर राणाले नेपाली सेना पठाएर अङ्ग्रेजलाई सहयोग गरे ।

होसीलालका बराजु जगतलाल यस भेगका प्रख्यात जादुगर थिए । भनिन्थ्यो, उनी जीवित मान्छेलाई जनावर या चराचुरुङ्गीमा बदल्न सक्थे । जङ्गबहादुरले पनि उनको जादुगरीको बारेमा सुनेका रहेछन् । त्यसैले उनले आफ्ना सिपाहीहरुसँगै जगतलाललाई पनि लखनऊ गदरको बेला भारत पठाएका थिए ।

जियरा-नयनराज पाण्डे-Jiyara-Nayan Raj Pandey

जियरा-नयनराज पाण्डे

जगतलालले बिद्रोहमा लागेका सिपाहीका बन्दुकलाई जादू गरेर साँप बनाइदिए । साँपले टोकेर धेरै विद्रोही सिपाहीहरु मरे ।

सिपाही बिद्रोह सामसुम भयो । तर, जङ्गबहादुर भने जगतलालसँग डराए । किनभने उनले जसरी भारतीय सिपाहीको बन्दुकलाई साँपमा परिणत गरिदिए, त्यसरी नै नेपाली फौजका हतियारलाई पनि काम नलाग्ने बनाइदिन सक्थे । यही डरले आफ्नो गाउँ फर्किने बेलामा बाटैमा उनले जगतलालको हत्या गरिदिए ।

सिपाही बिद्रोहमा सहयोग गरेकोले अंग्रेजहरुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिए ।

यहाँ बजार बसेकै थिएन । बस्, सर्दीको मौसममा सोनार, बाँकी गाउँ अनि जैसपुरमा कानपुर, रायबरेली, लखनऊसम्मका सेठहरु आउँथे । अनि हाट लाग्थ्यो । बाह्रै मास यहीं बसेर व्यापार गर्ने सेठहरुलाई सरहदिया र हिँउदभरि व्यापार गरेर गर्मी चढ्नासाथ भारततिरै फर्किहाल्ने सेठहरुलाई मुगलानियाँ भनिन्थ्यो । पहाडबाट टिनका टिन घिउ बोकेर हटारुहरू आउँथे । घिउ बेचेर आएको पैसाले सेठहरुसित लत्ताकपडा, नून, चिनी र सलाईदेखि सियोधागोसम्म किनेर पहाड फर्किन्थे ।

लू चल्ने भएकोले काठमाडौँमा बस्ने राजामहाराजाहरूले आफ्ना दुश्मन या अपराधीहरुलाई सजायदिनुपर्यो भने यता पठाइदिन्थे । पहाडबाट झेरेका कति त लू लागेर मर्थे । लूबाट जसोतसो जोगियो, कालाजारले सिध्याउँथ्यो । कालजारबाट जोगिए, करेतले डसेर मार्थ्यो । यस्तो ठाउँमा आएर पनि बाँच्न सफल हुनेको पञ्चखत बाहेकको सजाय माफ हुन्थ्यो ।

यहाँ शहर बसाल्न जङ्गबहादुर राणाले काठमाडौँबाट सुब्बा पद्मनाभ जोशीलाई पठाए । सुब्बा सपरिवार आए र नगर निर्माण शुरु गरे । तर, अचम्महुन्थ्यो । दिनभरि शहर निर्माणको काम हुन्थ्यो र राति भने दिनभरि निर्माण भएका सबै कुराहरु बिलाउँथे । भोलिपल्ट फेरि नयाँ निर्माण थाल्नु पर्थ्यो । तर, राति त्यो पनि विलीन हुन्थ्यो ।शहर बन्नै सकिरहेको थिएन । पछि एक जना नामुद तान्त्रिकबाट सुब्बा पद्मनाभले यो सबै अनाहकमा मारिएका जगतलालको जादूको कारणले भएको हो भन्ने थाहा पाए ।

त्यतिबेला पनि होसीलालका बराजु जगतलाल पनि हरेक रात आफ्नो चिहानबाट व्युँतेर गाउँलेहरूसित भलाकुसारी गर्न आफ्नो घरको आँगनमा आउँथे । यो कुरा थाहा पाएर सुब्बा पद्मनाभ पनि औंसीको रातमा गाउँमा आए । उनले स्वर्गीय जगतलाललाई भेटे र भने, ‘जगतलाल, पहिला जे भयो सो भयो । बिर्सिदेऊ । नेपाल तिम्रो पनि देश हो । तिम्रो मातृभूमि यही हो । त्यसैले नेपालगन्ज शहर बसाउन मलाई तिमीले सहयोग गर । त्यसबापत तिमी जे भन्छौ, म गर्न तयार छु । बरु, तिम्रो मुक्तिको लागि म यही गाउँमा ठूलो पुराण पनि लगाइदिन्छु ।’

देश र मातृभूमिको कुराले होसीलाल भावुक भए । उनलाई पनि लाग्यो, जंगबहादुरसितको रिस नेपालगन्जसित के पोख्नु !

‘ठीक छ, अब तिमी आरामले नेपालगन्जमा बजार बसाउन सक्छौ । म कुनै लफडा गर्दिनँ ।’

त्यसपछि सुब्बा पद्मनाभलाई नेपालगञ्ज शहर बसाल्न सहज भयो । उनले यहाँ सयौं ब्यापारिक कोठीहरु बनाए ।

बिस्तारैबिस्तारै इण्डियातिरका व्यापारीहरु यहीं बसेर व्यापार गर्न थाले । बजारको रौनक बढ्दै गयो ।

भारतका मुस्लिम शासकहरुले शहरको नाममा प्रायः गञ्ज जोड्थे । त्यसैको सिको गरेर उनले यो शहरको नाम राखे— नेपालगञ्ज। उनले शहरमा वरिपरिका दैलेख, सल्यान, रुकुम, जाजरकोट लगायतका पहाडबाट मान्छे ल्याएर बसाले । अब समाजमा अरु व्यवसायका मान्छेहरु पनि आवश्यक भए । त्यसैले सुब्बाकै प्रयासमा घाँस बेच्ने घँसियाराहरू आए । बाख्रा पाल्न गडरियाहरु आए । लाखका चुरा र गहना बनाउने लखेरहरु आए । पित्तल र काँसका भाँडाकुँडा बनाउने ठठेरहरू आए । नुनको कारोबार गर्ने लोनियाहरु आए । माटाका भाँडा बनाउने कुम्हालहरु पनि आए । यसरी बजारमा धेरै घर बन्न थाले ।मन्दिर र पाटी पौवा बन्न थाले । मस्जिदहरु पनि बने । नेपालगञ्ज बजार बिस्तारैबिस्तारै आवाद भयो । गुल्जार भयो ।
००

गाउँका फुच्चाफुच्चीहरूले डढेर कालो भएको माटाको कहतारोलाई टाउकोमा घोप्ट्याएर आफ्ना साथीहरुका अगाडि मिल्ट्रीले झैं तनक्क छाती तन्काउँदै धाक लगाइरहेका थिए, ‘हेर हेर गुइँयाहरु, हामीले मल्टरी टोपी लगायौं ।’

त्यहीबेला एकजना सरकारी अधिकारीले गाउँलेहरूलाई बोलाएर खबर गरे, ‘प्रधानमन्त्रीलाई चैते दशैंमा उडाउन नीलकण्ठ चाहिएको छ । उहाँ यो गाउँमा नीलकण्ठ लिन आउँदै हुनुहुन्छ ।’

खबर सुनेर गाउँलेहरु खुसीले भुइँमा न भाँडोमा भए । कहतारोको टोपी लगाएका फुच्चाफुच्ची पनि खुसी भए ।

‘हेलिकप्टरमा आउनु हुनेछ प्रधानमन्त्रीज्यू ,’ यति जानकारी दिएर सरकारी कर्मचारी फिर्ता गए ।

राति होसीलाल चिहानबाट आएको बेलाउनको भग्नावशेषजस्तै भइसकेको घरको आँगनमा सतपुतिया काकी पनि आइपुगिन् । नाम त उनको लालमती हो । तर, सातजना पुत्रकी आमाभएकीले उनलाई सबैले सतपुतिया काकी भनेर चिन्छन् । उनी गर्भवती महिलाहरुको सुत्केरी गराउने काममा पोख्त मानिन्थिन् । त्यसैले गाउँमा सबैले उनलाई आदर गर्थे । उनका बारेमा भन्थे, ‘आजसम्म गाउँका सबै औरतहरुको अच्छासित जनाई गराएकोले सबको आशीर्वाद पाएकी छिन् उनले । त्यसैले त सतपुतिया काकीले सात सात पुतलाई जन्म दिने सौभाग्य पाइन् ।’

थोरै सन्तान जन्माउने आफ्नी जनानीसित खसमहरूले गुनासो गर्दै भन्छन्, ‘सतपुतिया काकीको खातामा सात–सात पुत जमा छन् । तँभने जम्मा चार सन्ता नजन्माउँदैमा टें भैसकिस् ।’

उमेरले साठी कटे पनि र जिउकुप्री परे पनि सतपुतिया काकीको सक्रियतामा कुनै कमी आएको छैन । उनी राति नै नजिकैको अर्को गाउँमा गएर जसोमतीकी नातिनीबुहारीको सुत्केरी गराएर फर्कँदै थिइन् । प्रधानमन्त्री आउने कुरा सुनेर उनी त्यहीँ रोकिइन् र गाउँलेहरूका कुरा सुन्न थालिन् ।

‘परधानमन्तरी नै पामरपुरमा आउन लागेपछि अब हाम्रा सबै समस्या समाधान हुन्छन् । अब तिमीहरुले उनीसित आफ्नोलागि किताब माग्नु पर्छ । अनि गाउँबाहिर जाँदा पनि हामी बोल्न सक्छौं । हाम्रो आवाज गायब हुँदैन,’ होसीलालले गाउँलेहरूलाई सिकाए ।

‘चिलगाडीमा परधानमन्तरीमात्र त आउँदैनन् होला । डरेबर र खलासी पनि हुन्छन् होला । सरकारी हाकिमहरु पनि आउँछन् होला । हामीलाई कसरी परधानमन्तरीको पहिचान हुन्छ ? साला, हामी सबै कनफुजियाई जान्छौं होला,’ बब्बनले गम्भीर कुरा उक्काए ।

यसको जवाफ कसैसित थिएन । सबै ट्वाँ परेर एकअर्काको अनुहार हेर्न थाले । चिहानबाट आधा घन्टाअघि मात्र आएका होसीलालले जमानाको कुरा सुनाए, ‘एकपटक गाउँमा ऊँट आयो । सबैले ठाने परमेसुर आए । हतार हतार प्रभु की जय भन्दै ऊँटको पाउ समाते । ऊँटले जिउभरि मुतिदिएपछि मात्र सबैले थाहा पाए, परमेसुर हैन, जनावर आएको रहेछ ।’

गाउँलेहरु अलमलमा परे ।

‘ऊँटकै जस्तो किस्सा भयो भने त गाउँको साह्रै फजिती हुन्छ,’ गाउँलेहरुले शंका प्रकट गरे ।

‘तर, परधानमन्तरी र ऊँटमा त फरक हुन्छ नि ।उनी अरुभन्दा जरुर बिलग देखिन्छन् होला । हरेक दिन दहीमक्खनले नुहाएर सुफेद भएका होलान् । उनको शरीरबाट गुलाबजलको बास्ना आउँछ होला । उनी आउना साथ फूलको बास्ना लिएर आउने फुलबसिया हावा पनि चल्दो होला । अरुभन्दा मोटा तगडा र अग्ला पनि होलान् । पैरहन पनि अरुको भन्दा अच्छा होला । जुता पनि अरुको भन्दा चमकौआ होला । त्यसैले चिलगाडीबाट ओर्लिने सबैभन्दा सुफेद र सुग्घर जो दिखाइपर्छ, सम्झनू उही परधानमन्तरी हुन् । अनि हामीले फटाक से उनैको पाउ समात्नु पर्छ ।’

बब्बनले गजबको उपाय निकाले । त्यसमा सबै सहमत भए । बब्बन आफ्नो चतुर्याईंमा मख्ख परे । उनले मनमनै आज साँझ आफ्नी बुढी चिखुरीलाई चप्पलले हिर्काउने पनि निश्चय गरे । किनभने आज बिहानै मात्र उनले भनेकी थिइन्, ‘तेरो खोपडीमा अकिल होइन, आँतकट्टु रोग लागेको भैंसाको गोबर भरिएको छ ।’

बटेसरले अलिक फरक धारणा राखे, ‘अबे, तिमीहरु सब बेकारको गप्प गरिरहेका छौ । परधानमन्तरीको पाउ मात्र समातेर काम चल्छ ? उनी त्यति दूरबाट आउँछन् । उनको पाउमा दर्द पनि त होला । धनेसको तेलले मालिस गरे मात्र उनको पाउ ठीक हुन्छ । उनको परेशानीमा हामीले साथ दिनुपर्छ । तब न हाम्रो परेशानीमा उनले साथ दिन्छन् । तब न उनीहरुले हामीलाई आवाज आउने किताब दिन्छन् ।’

ओहो, कत्रो समझदारीवाला कुरो गरे बटेसरले ! सबै जिल परे ।

‘उनको पाउमा कमसे कम एक कुरुवा कडुआ तेलले मालिस गर्नुपर्छ । त्यो पनि मिल हैन, कोल्हूमा पेलेको कडुआ तेलले । तब न उनी खुस हुन्छन्,’ बटेसरले तेलको आवश्यक मात्रा समेत बताए ।

कुरो एकआध छटाक तेलको थिएन । पूरै सोह्र छटाक अर्थात एक सेर तेलको कुरा थियो । बाली नभित्र्याउँदै खेतमा बाढी पसेजस्तै सबै निराश भए । वातावरण मौन भयो । बब्बनले नै मौनता भङ्ग गरे, ‘त्यति तेल त हामी पूरा गाउँका मनईलाई पेल्यो भने पनि निकल्दैन ।’

सबैको अनुहारमा मलामी अँध्यारो छायो ।

यो सबै दृश्य हेरिरहेकी सतपुतिया काकीलाई साह्रै छटपटी भयो । अन्तमा उनै अघि सरेर बोलिन्, ‘तिमीहरू सब नामर्द हौ । बस्, बोलीमा मात्र ठकुरई देखाउन आउँछ तिमीहरूलाई । कुनै सङ्कट पर्यो भने तिमीहरुको चेहरामा मुर्दनी छाइहाल्छ ।’

सतपुतिया काकीले यति भन्दा पनि कसैले चुइँक्क बोलेन । शिर निहुराएर बसिरहे । त्यसपछि अलिक नरम भएर बोलिन् काकी, ‘दिनमा आठ–दस घरमा जनाई भएकाहरुलाई तेल लगाउन जान्छु । हात जोडेँ भने सबैले एक आध पसेरी तेल जरुर दिन्छन् । एक कुरुवा तेलको व्यवस्था म जसरी भए पनि गर्छु ।’

तेलको समस्या समाधान भयो । बल्ल साँस फेर्न सके गाउँलेहरुले ।

‘सतपुतिया काकीकी जै’

सबैले नारा लगाएर फुर्क्याए काकीलाई ।

‘छोड छोड, मलाई फुसलाउनु पर्दैन । अब म रमेसरीकी भौजाईको जनाई गराउन हिँडेँ ।’

उनी आफ्नो उदारतामा आफैं मख्ख परेर रजहाँसझैँ ठिमिकठिमिक गर्दै हिँडिन् ।

‘हामीले त कुकुरको पनि दिन आउँछ भन्ने मात्र सुनेका थियौं । हामी गरिपको पनि दिन आउने रहेछ,’ दुखनीले मख्ख परेर भनिन् ।

वास्तवमा सबै मख्ख थिए । आजको औंसीको रात पनि उनीहरूलाई उज्यालो बोकेर आएको पुरनमासी जस्तै लागिरहेको थियो । खुसी भएर गाउँलेहरुले आआफ्नो खेतबाट जरासितै उखेलेको चनाको हरियो बोट ल्याए र परालमा पोल्न थाले ।

‘आज सब मिलेर गरम गरम होरहा खानु पर्छ ।’

होसीलाल लगायत सबैले तात्तातो होरहा खाए । त्यसपछि पालैपालो कक्कड ताने । आफ्नो चिहानमा फर्किने बेलामा होसीलालले भने, ‘हामीले समयलाई पक्डिन जानेनौं । त्यसैले दुखियारी भयौं । समयलाई जसले अगाडिबाट समात्छ, समय त्यसको दास हुन्छ । जसले पछाडिबाट समात्न खोज्छ, समयले त्यसलाई घोडाले जस्तै दुलत्ती हानेर लडाइदिन्छ । हामी आजसम्म त्यही दुलत्ती सहेर बसिरहेछौं । तर, यसपालि समय बलवान भएको छ । भगवान्ले पनि हामीमाथि दया गर्न खोजेजस्तो छ । त्यसैले त परधानमन्तरी नै हाम्रो गाउँमा आउँदैछन् ।’

गाउँलेहरु खुसीथिए र यसपटक समयलाई अगाडिबाट समात्न आतुर थिए ।