पानी परेको साँझ थियो । म अफिसबाट निस्कँदा सात बजेको थियो । त्यस दिन सरले मलाई ‘यति काम चैँ सकेर जानू नि’ भनेर आदेश दिनुभएकाले त्यस दिन मैले हतारहतार हुरीबतासझैँ मेरा दुई हातका औँलाहरु किवोर्डमा यसरी रफ्तारमा दौडाएको थिएँ जस्तो कि, मलाई त्यो पन्ध्र पेज टाईप गर्न पन्ध्र दिन अवधिकै सबैभन्दा जटिल काम लागेको थियो । कसैको आदेशमा चल्नु ज्यादै कठिन कार्य रहेछ । म यति डराएथेँ, त्यो डरकै कारणले, मैले छिनछिनमा समय हेर्न भ्याइनछु । यधपि, साँझमा ढोकाबाट बाहिर निस्कँदा म यहि कुरामा सन्तोष गरेथेँ, ‘आजको जिम्मेवारी त पूरा गरेँ । त्यसमा म खुसी पनि त छु नि ।’ त्यस दिन छाता थिएन मसँग । जोडजोडले मोटर छल्दै र बतासिँदै, सिमसिम पानीमा रुझ्दै बसपार्क पुगेर गाडी चढेँ, । अन्तत: नौ वजेपछि मात्र, म मेरो कोठामा पस्न सकेँ र साँझको खाना बनाउन सुरसार गरेँ ।

काठमाडौँको बसाई, खर्च जुटाउन जागिर गरेकी थिएँ । सम्पन्न परिवारकी छोरी भए मैले यति दु:ख किन गर्नुपर्थ्यो र ? न कामको बोझ बेहोर्नुपर्थ्यो, न रातीराती सुनसान भइसकेको निकेतनमा थालबटुका ठटाउनुपर्थ्यो । मेरा साथीहरु इन्दू, अस्मी जस्तै डुलेर खान र पढ्न मलाई पनि त रहर नि । तर, रहरले मात्र हुँदो रहेनछ, भाविले निधारमा दु:ख

विमल सिटौला

को मार्गतिर लेखेर हुत्याइदिएपछि ।

भोलि विहानको कलेज थियो । पुस्तक पल्टाउन भ्याएकी थिइनँ, विगत पन्ध्र दिनदेखि अर्थात जागिरे भएदेखि । खाइसकेर, थान्कोमुन्को सकेर आजचैँ पाँचै मिनेट भएपनि पुस्तकका गाता छौऔँला भनेर योजना बुन्दै थिएँ । यसरी मलाई समयको ज्ञात हुँदैजाँदै थियो । समय के रहेछ भन्ने कुरा व्यस्त भएपछि समयले नै सिकाउने रहेछ । त्यस साँझ आँखा मोबाईलमा गाडिएका थिए भने मेरो दायाँ हात, मुखमा गाँस हाल्न तल र माथि गरिरहेथ्यो ।

त्यतिखैरै तिनै सरले फोन गर्नुभयो । मनमनै रिसको ज्वारभाटा एकैचोटि उठेर आयो । म त्यति रिसाउने मान्छे त होइन तर त्यस दिन अप्रत्यासित तवरले अविश्रान्त रिस उठ्यो । हो, म खुसी नै थिएँ, काम सकेर निस्कँदासम्म । कोठामा आइपुगेपछि मात्र मलाई तातो रिस उठेको थियो । फलस्वरुप, सरको फोन आएपछि त झन्झन् थामिनसक्नु भयो । मेरो उनीप्रतिको रिस अव्यक्त रुपमा भित्रभित्रै उकुसमुकुसियो, ‘यिनैले गरेर आज रातीराती दु:ख पाएँ, आजसम्म कहिल्यै नभोगेको, किन उठाउथेँ म तिम्रो फोन ? मरे उठाउँदिनँ ।’ केही समयको अन्तरालमा दुई चोटिसम्म फोन आयो । मैले उठाइनँ । मथिङ्गलमा यो प्रश्न पनि घुमिरह्यो, ‘काम भए सखारै गर्लान्, एघार बजे फोन गर्नुको के अर्थ ? दया भए कामको बोज दिनैपिच्छे थप्थे र ?!’

भोलिपल्ट कलेज सकेर म आफ्नो अफिस बागबजारतिर लागेँ । मनमा हिजो खेलेका तिनै पुराना कुराहरु सल्बलाईरहेका थिए । तसर्थ, म सिटभित्र बसेर एकोहोरो भएछु । खलाँसिले ‘दिदी, तपाईँ कहाँसम्म जाने हो र ?’ भन्दा मात्र होस् पाएँ । म हिजोजसरी बतासिँदै अफिस पुगेँ र आफ्नो कम्प्युटर अगाडि बसेँ । सर आफ्नो कक्षमा अघि पाल्नुभएको रहेछ । मैले मेरो कार्यकक्षको दरबाजा छिर्दा पुलुक्क हेर्न भ्याएकी थिएँ । कम्प्युटर अन गरेँ र सरको आदेश पर्खिरहेँ । निकैबेर कम्प्युटरलाई रिफ्रेस गरिरहेँ । एकछिन अनलाईन मिडिया चाहारेँ । अन्तत: सर कार्यकक्षमा प्रवेश गर्नुभयो ।

मभित्र डर छिप्पिरहेको थियो, पल पलमा, मिनेट मिनेटमा । ‘के भन्ने हुन् हिजो फोन नउठाएकोमा ? कि जरुर काम पो थियो कि न ?’ उनी सरासर आएर भने, ‘ए तिमी आयौ ? हिजोको टाइप गरिसक्यौ होला नि ? आज चैँ यो किताबबाट जस्ताको त्यस्तै टाईप गर । धेरै छैन, बिस पाना छन् । अब तिम्रा हात बसिसक्या छन्, गार्हो हुँदैन । अँ…… साँच्चै हिजो किन फोन नउठाएकी ?’

कति सजिलै भने तिनले । भन्दिनेले गर्नुपर्ने होइन क्यार । मैले दिएको पुस्तक समाएँ । मैले आफ्नो निलो सलले वारपार बेरेकी थिएँ शिर, बधुले जग्गेमा घुम्टो ओढेजस्तै । आँखामा चश्मा थियो । छड्के आँखाले हेर्न पुगेछु, कटाक्ष गरेजस्तै भयो । हुन त उनी मेरो दायाँ थिएँ । मुन्टो बटारेर सिधा हेर्न मेरो जाँगर आएनँ । उनी मलाई त्यति काम दिएर बाहिर निस्कने तरखरमा थिए । म मेरो काममा दत्तचित्त भएँ । डराएकी म दोब्बर डराउन पुगेछु । तर धेरै त भनिहालेनन् उनले, हिजोको विषयमा । फगत केही त भनेजस्तो लाग्यो उनले परोक्षरुपमा, ‘फोन उठाउने बानी गर्नु लोसिना, कहिलेकाहीँ त इमरजेन्सी पर्छ ।’ उनले नभने पनि कताकता यो वाक्य मेरो मनमा सलबलायो । सायद उनले यो सोर्ह दिनको अवधिमा कहिलेकाहीँ यस्तै भनेका हुनुपर्छ ।

उनी गए । उनी गएसँगै मभित्र विचारको पिउरी अनेक कोणबाट तन्किन थाल्यो । ‘हिजोको भन्दा बढी काम आज त । यस्तै हो भने, एक महिना त के ? बिस दिन पुर्याउन पनि सक्दिनँ म, मरे सक्दिनँ !’ अनेकन विचार स्वचालित रुपमा कोरलिन थाले । उनी फेरि छिरेँ कार्यकक्षमा र एउटा कोकाकोलाको बोत्तल दिँदै भने, ‘ल यो पिउँदै काम गर्नू । म अहिले बाहिर निस्किएँ, फोन चैँ उठाउने बानी गर्नु नि, कहिलेकाहीँ त इमरजेन्सी पर्छ के ।’ केही दया गरेजस्तो लाग्यो । मैले ‘हस् सर’ भन्दै मस्तक हल्लाएँ । उनको भनाई मेरो मनसिजसँग आकस्मिक मिल्न गएको देखेर हठात आत्तिन पुगेछु । तर, त्यो अत्यासलाई उनले हेक्का पाएनन् । ‘कस्तो संयोग हो यो ? यो कस्तो निकटता, मेरो मनसिज र उनको मप्रतिको वर्तमान तसल्लको ?’

अन्तत: उनी गए तर कहाँ गए ? किन गए ? अब कुन समय आउलान् ? के आज आउलान् र ? उनी गएसँगै प्रश्नहरु सलबलाउन थाले । सोध्ने कुरा पनि होइन त्यो । म त्यति खुलेर वा मुखरा भएर बोलेकी थिइनँ त्यस दिनसम्म । अपर्झट झ्यालपट्टि तन्किएर हेरेँ, उनी गएको निर्क्योल गर्न । उनी त्यो साँघुरो गल्लीमाँझबाट रोडतिर लागे । अनिमात्र, म स्वतन्त्र भएँ एकछिन । तर, किताब पल्टाइहालेँ । अनि औँलाहरु किबोर्डमा दौडाउँन सुरु गरिहालेँ । मैले फेरि आफूलाई बाँध्न थाले समयको जन्जिरमा ।

दुई घण्टापश्चात,,,,

एकैचोटि समय हेर्दा बार्ह बजेछ । तर चार पेज मात्र टंकन गर्न भ्याएछु । अब मसँग बाँकि पाँच घण्टा थियो । ‘के पाँच घण्टामा सोर्ह पेज सकुँला र ? यो सक्ने कुरा हो ?’ म अत्तालिएर तत्क्षण लामो उच्छवास लिन पुगेँ । पुन: मनमा धेरै कुराहरुले पिङ खेल्न थाले । गाउँमा काकाले भनेको झल्यास्स संझनामा आयो, “बरु दुई पैसा आम्दानी किन नहोस् छोरी, आफ्नै केही इलम गर् । सन्तोष मिल्छ । कम्सेकम तनावको जिन्दगी त हुँदैन ।’’ हो रहेछ काका । सलले पसिना पुछेँ र पुन थालेँ- टंकन गर्न ।

दुई घण्टापश्चात,,,,

समय हेरेँ दुई बजेछ । पाना गनेँ, जम्मा साढे छ पेज । डरले हो या बढी कामको चापले हो, त्यस दिन त झन् औँलाहरु द्रुत गतिमा चल्नै मानेनन् । ‘अरे । किन यस्तो आज !?’ म घरीघरी आश्चर्यताको भुमरीमा पनि धकेलिएथेँ र त्यहाँबाट निस्कन पनि प्रयासरत थिएँ । शौचालय पुगेँ र हतारहतार कम्प्युटर अगाडि आइपुगेँ । एक दिदी टुप्लुक्क आइपुग्नु भयो र मलाई नियाल्नुभयो, पछाडिबाट । अपरिचित दिदी । मैले कहिल्यै देखेकी र भेटेकी सम्झनामा आएन ।

‘अफिसभित्र छिर्दा अनुमति लिनुहोला । अनुमति लिनु भनेको औपचारिकता निर्वाह गर्नु हो ।’ तर उनले त्यो नियम बाहिर पढेर पनि सोझै नजिकै देखापरिन् र मलाई पनि औपचारिकतातिर ढल्किरहँन खाँचो परेन । मैले सिधै सोधेँ, ‘दिदी कस्लाई खोज्नुभा होला ।’ उनको आगमनलाई बढ्दा ध्यान दिएर होइन, उनको तलासपूर्ण दुई चक्षुको माया लागेर मैले सोधेकी थिएँ । उनले भनिन्, “कहिलेबाट आउँनुभएको बहिनी यहाँ ? हाम्रो भेट भएको रैनछ । म पनि गाउँ गएको थिएँ, अस्ति भर्खर आएकी ।”

मैले स्कृनमा आँखा दौडाउँदै भनेँ, ‘आज ठ्याक्कै सोर्ह दिन भयो ।’ कताकता मलाई उनले नकारेजस्तो भान भयो उनले आफ्ना कुरामा जोड दिइरहँदा । त्यसपछि, न त मैले उनलाई निबिढ दृष्टिले हेरिरहेँ, न उनलाई मैले कुनै कोतुक पृच्छाहरु फ्याँकिरहेँ । मलाई लाग्यो उनी म शौचालयबाट आउँदा मलाई देखेर पछिपछि आएकी हुन् । यिनी पक्कै तल्लो वा माथ्लो अफिसतिरकी हुनुपर्छ । एक क्षण मैले पुलुक्क हेर्दा उनी उभिरहेकी पाएँ र मैले लगतै अनुरोध पनि गरेँ, ‘आउँनु दिदी खुट्टा गले तपाईँका, बस्नुहोस् यहाँ ।’ तर उनी सरासर बाटो लागिन् । मैले पुस्तकका अक्षहरुलाई ओठमा हिन्दोल गर्दै सोच्न भ्याएँ, ‘उनलाई म यहाँ आएर बसेको मन परेनछ क्यार ।’

तीन घण्टापश्चात,,,

पाँच बज्यो । नियमले त मेरो छुट्टि हुने बेला भयो । तर, दिएको काम आधा मात्र सकियो । मैले हारेँ सम्पूर्ण रुपमा अब । प्रश्न जन्मियो, ‘के भन्ने हुन् सरले ?’ मन खिन्न भयो । मेरो अगाडि एउटा बिसम्भार अचानक सृजित भयो । घुटुक्क थुक निलेँ । सुस्तरी सुस्तरी बाहिरी वातावरण निरवताको साम्राज्यमा परिसकेको थियो र पलापला झाट बढाउँदै लग्यो । लगभग सबै अफिसहरु बन्द भए । अफिसहरुमा, कोठाहरुमा यदाकदा बत्ति बल्न शुरु भए । कारिन्दाहरु आफ्नो झोला बोकेर गल्लीहुँदै मूल सडकतिर हतारिए । सायद सडकमा मोटर बाईकहरुको ठट झाँगिएर गयो । झ्यालबाट यसो गौर गर्दा साँघुरो गल्ली निकै व्यस्त देखियो । तर म ? म अल्झिरहेँ दुई चार मिनेट वातावरणलाई नियाल्दै, किकर्तव्यविमूढ मुद्रामा ।

मैले सरलाई फोन गर्न जरुरत ठानेँ । मैले भनेँ, ‘सर कता हुनुहुन्छ ? मेरो जाने समय भयो । म गएँ अब ।’ सरले भन्नुभयो, ‘म आउँदै छु, एकछिन बस ।’

‘अचानोको पीर खुकुरीले कहाँ जान्नु र ? एक त कपन जाने गाडी नै पाइँदैन । पाए पनि सिट पाइँदैन । यसो उभिनै पाएपनि सन्तोषले उभिन पाइँदैन । प्रदहरु कारिन्दाप्रति कति अनुदार ! मेरो हाल बुझे र तिनले ? सत्ते ! यस्तो हिसाबले काम गर्न सक्दिनँ ।’ म हारेँ एकछिन उनीसँग । अमर्षी भइरहेँ उनीसँग । झ्यालबाट मुन्टो निकालेर उनको आगमन हेरिरहेँ गल्लीतिर । तर, उनी आइपुगेनन् बिस मिनेटसम्म ।

मैले हिजोको हाल सम्झेर छटपटिदै फेरि गरेँ फोन र भनेँ, ‘सर कहाँ आइपुग्नु भयो ? मलाई त ढिला हुन्छ क्यारे । हिजो पनि त्यस्तै भयो ।’ उनले तातिएर सोधे, ‘मैले भनेको काम गरिसक्यौ त ?’ यो प्रश्न कानमा ठोक्किनसाथ म आफ्सेआफ् लाजले जडवत भएँ । एकछिन केही बोल्न सकिनँ । सन्नाटा छायो । मैले चटक्कै फोन काटिदिएँ ।

त्यसपछि म पल्लो कुनामा राखेको झोला बोकी हतारहतार निस्किएँ । वातावरणमा आलोक केही अंश जीवित रहेपनि मलाई सबै निस्तेजझैँ लाग्यो । बतासिँदै पुगेँ बसपार्क । हिजोजस्तै कोचिएर गाडीभित्र उभिएँ । फलस्वरुप, म निर्धारित समयभन्दा केही ढिला कोठा आइपुगेँ । खाना खाएँ । तर, मन स्थिर थिएन । रिसले परिछन्न थिएँ । कुनै स्मितता ओठमा थिएन । एक किसिमको खैचाखैचिले जेलिएकी थिएँ । आफ्नै कोठामा आइपुग्दा पनि ज्यादै उपरत । न कसैसँग बोल्न मन, न चैनसाथ सुत्न मन, न त पुस्तक पल्टाउँन मन ।

चौबिस घण्टा घुमेर घडिको सुई हिजोकै समयमा आइपुग्यो । मानौँ, एउटा अडिग प्रतिबादी इजलासमा भर्खर उपस्थत हुन आइपुग्यो । मसँग खेल खेल्न रुचाइरहेछ ऊ । यता, मलाई कुनै एक रहर पनि उठेका छैनन् । च्याप्प समाएँ फोनलाई रिसले जडवत हुँदै । हेरेँ नम्बरलाई । मैले अविलम्ब नगरी उठाएँ तर बोलिनँ । सुरुमा बोल्ने शब्द नै आएन भनौँ । उनले पनि त्यहि जोगामेसो कुरेका रहेछन् । म नबोलेपछि काटेर पुन: गरे । मैले सुरुमै कड्किएर भनेँ, ‘भन्नू सर ।’ उनले भने, ‘काम नसकी गएछौ तिमी त होइन ?’ यति सुनेर मैले धक मानीमानी बढो नम्र भएर भनेँ, ‘सर… हिजोपनि रात पर्यो, त्यै भएर बेलैमा हिँडेकी हुँ आज । सकेसम्म त कोसिस गरेकी हुँ क्यारे तर सकिनँ त ।’ उनले फेरि थपे, ‘आज त हिजो जति नि गरेनछौ नि त । ठिकै छ त, केही छैन भोलि गरौली । अनि के गर्दै छौँ ?’

‘अनि के गर्दै छौ ?’ प्रश्नले एकाएक कदाचारिता बोकेर ल्याएको अनुमान मेरो नैतिक मनको इजलासले गर्यो । सुत्ने बखत रातको एघार बजे, ‘कस्तो प्रश्न हो यो ?’ मैले आफैँसँग सोधेँ । मनले उनैलाई सोध भन्यो । तत्काल उनलाई सोध्ने तागत आएनँ । जवाफ दिएँ, ‘खाना खाएर सुत्न लागेकी सर ।’ ‘अनि यति छिट्टै ?’

‘फेरि कस्तो प्रश्न हो यो ?’ आफैँसँग पनि उत्तर नभएको । मैले विलखबन्दमा पर्दै जब्बरजस्त भनेँ, ‘सर निद्रा लाग्यो, म सुतेकी ।’ मैले चटक्कै फोन काटिदिएँ, रिसाएर होइन निन्द्रा लागेको प्रवचना गरेर । शरीर शिताङ्ग भयो । फलस्वरुप, म विस्तारामा जागै भइरहेँ आधा घण्टासम्म । त्यसपछि, उनले फोन गर्ने आट गरेनन् ।

मनमा आयो त्यो सरको असामान्य लाग्न थालेको तस्बिर र बोली । र, म उनकै गिद्दे नजरको शिकार भएपनि आफू अदबसाथ उम्कन खोजिरहेको प्रसंगले मलाई तानिरह्यो मझधारबाट किनारपट्टि । ‘तिमी कुदृष्टिको घडा बोकेर केही दिनदेखि आखेटिक हुन खोजिरहेछौ, त्यो मलाई प्रष्टसँग थाहा भइसकेछ । तिम्रो उच्छटता म टुलुटुलु हेरिरहन लाचार छु । तरपनि, म आफ्नो समयको मार्गमा तिमीसैपरी यसरी नै सधैँ अडिग छु ।’

मनमा आयो त्यो दिदीको तस्बिर र म उनैको विषयमा रुमल्लिरहेँ । आखिर त्यो दिदी को हुन् ? किन र के उदेश्य बोकेर टुप्लुकिएकी थिइन् ? किन उनी बस्न मानिनन् ? किन उनले मलाई नियालेर हेरिरहिन् ? उनी अफिसकी परिचित दिदी हुन् र ? मैले उनलाई उनको आगमन हुँदा त्यति ध्यान नदिएकोमा पश्चताप भइरह्यो ।

मनमा आयो भोलिपल्टको कलेजको दैनिकी । ‘कसरी छिचोल्नु होला सात सात वटा पुस्तकलाई यस्तो चालाले ?’ परीक्षादेखि एकदम डर लागेर आयो ।

मनमा आयो इन्दू, अस्मी इत्यादिको चालामाला । ‘कति चैनसाथ काठमाडौँमा बसेर पढ्दै छन् केटीहरु । केहीको खाँचो रहेन उनीहरुलाई । म व्यस्त भएदेखि उनीहरुसँग छिनछिनमा सम्पर्क टुट्या सत्य हो ।’

म घरतिर पनि पुगेँ । आमालाई सम्झिने बित्तिकै आँखा रसाए । ‘आमा, तिमी यस धर्तिमा बाँचेकी थियौ भने म मेरो हाल तत्काल सुनाउँने थिएँ । कसलाई सुनाऊँ मेरो नाजुक अवस्था ? सायद मेरो हाल तिमी टुलुटुलु हेर्दै छौ पनि होला ।’

कर्मदिने काकालाई सम्झिएँ । काकाका वाणीहरु अविरल सम्झिरहेँ । मध्यरातमा फोन गर्ने बर्कत आएनँ मेरो । उनी फेरि बोलेजस्तो लाग्यो- ‘होसियार हुनु नि कदम कदममा छोरी । सहरमा त झन् सारा रैयत मतलबी छ ।’

भोलि कलेजसकेर नियमित समयमै अफिस पुगेँ । सरासर हिजोकै काम सिध्याउन हतार गरेँ । उनी त्यस दिन मलाई कामको चाप थुपार्न छिरेनन् मेरो कार्यकक्षमा । तीन बज्नुभन्दा अगाबै सकियो काम । पूर्ण हलुङ्गो भयो मन मानौँ, सम्पूर्ण बोझ बिसाएजस्तै । कुनै तनाब बाँकी रहेन तत्क्षण ।

एकछिनपछि हिजोकै दिदी टुप्लुकिन्, औपचारिकतालाई पन्छाउँदै । मनमा त्यस मध्यान्ह त्यस दिदीका बारेमा विचार आएथ्यो । कस्तो संयोग ! उनी आइपुगिन् त । मैले उनलाई सम्पूर्ण कसर प्रयोग गरेर स्वागत गरेँ । मैले सोध्न हतार गरेँ, ‘तपाईँले काम गर्ने ठाउँ चैँ तलको अफिस कि माथिल्लो छापाखाना दिदी ? उनले भनिन्, ‘म दुबैतिर गर्छु बहिनी ।’ हिजो मैले तपाईँलाई त्यति ध्यान नदिँदा तपाईँ रिसाएर बाटो तताउनुभयो कि जस्तो लगेथ्यो दिदी, तपाईँको बारेमा मैले साँझमा कोठा पुगेर नसोचेको पनि होइन, आखिर किन त्यो दिदी आउँनुभएको होला र विशेष केही नबोली जानुभयो भनेर ।’

उनले हाँसेर भनिन्, ‘होइन, मलाई माथिबाट बोलाइबक्स्यो सरले, अनि हिँडेकी थिएँ नि । तपाईँ त कलिली हुनुहुँदो रहेछ बहिनी, कति वर्ष पुग्नुभयो ? कतिमा पढ्नुहुन्छ ?’ ओठ मात्र निस्वरमा हल्लिए, ‘कलिली ?’ । मैले भनेँ, उमेर त बल्न सुरु गरेको बत्तिजस्तै त हो नि दिदी । मलाई जीवनमा खासै उमेरको फिक्री कहिल्यै भएन । पढ्न र पेट पाल्नमै ध्यान दिएकी छु सानैदेखि । तरपनि, खै किन हो जागिरदेखि सत्रै दिनमा वाक्क लाग्न थाल्या छ । जागिर बाध्यता नभए म यता फर्किने थिइनँ दिदी । अँ, म स्नातक तहमा पढ्दै छु, पशुपति क्याम्समा ।’ दिदी यति सुनिनसक्दै दौडिन् त्यहाँबाट । म हेरेको हेरै भएँ । मलाई लाग्यो- उनलाई एक्कासि त्यो सरले चिच्याएर बोलायो ।

उनको दौडाई प्रत्यक्ष देखेपछि मलाई थाहा भयो, उनको अगाडि मेरो कामको चटारो त केही पनि पो होइन रहेछ । म कुर्सिमा बस्न आइपुगेँ । दुई मिनेट नबित्दै उनी फेरि आइपुगिन् । मैले भनेँ, ‘हामी महिलाहरुलाई काम गर्न धेरै गार्हो दिदी । म त वाक्कै भइसकेँ । साँच्चै तपाईँ यस अफिसमा कति भयो ?’ मैले आफ्नो मर्मान्तक पीडाको केही अंशलाई ओकेल्दै उनको बारेमा चासो दर्शाएँ । उनले भनिन्, ‘म त गाउँबाट आएदेखि यहीँ छु बहिनी । दश साल भयो नि, छैसठ्ठी सालमा आएकी । खासै पढेकी छैन् । यहाँ आएपछि त झन् कहाँ पढ्न पाउथेँ र ? जीवन धान्नु परिहालो । यस्तै साधारण के, कहिले हेल्पर गरेर, कहिले क्यानटिन चलाएर बित्दै छ ।’ मैले उनलाई बस्न अनुरोध गरेँ, भित्र आएर । उनी तोरणद्वारमा उभिएर उत्तर दिइरहेकी थिइन् । उनी ‘पख्नुहोस् म आइहाल्छु’ भनेर फेरि दौडिन् ।

म पुन: कम्प्युटरको स्कृनतिर फर्किएँ । आँखा स्कृनमा भएपनि मन ती दिदीतिर गएथ्यो । कति छिट्टै नजिक भयौँ हामी ? कति सोझी दिदी, कति फरासिली, कति मीठो बोल्ने । म उनको विषयमा एकछिन हराएँ आफ्नो काम बिर्सेर ।

बिहे गरिन् कि छैनन तिनले ? कहाँ बस्छिन् ? कस्तो काम गर्छिन् दुबैतिर ? किन आउँन मन गरिरहेछिन् म भएतिर ? यो अफिसको सरको विषयमा के धारणा छ उनको ? के मैले चासो दर्शाउँदा उनले मेरो जिज्ञासालाई नामेट पार्छिन् त ?

म उनको आगमनलाई बढो ब्यग्रसँग कुर्न थालेँ । सोध्ने प्रश्नहरुको चाङ चुलिएर गयो । दिदी आइपुगिन् । मैले सोधिहालेँ, ‘दिदीको क्यान्टिन छ हो तल ?’ उनले सलज्ज मुस्कुराउदै जवाफ फर्काइन्, ‘कसरी थाहा भयो बहिनीलाई ? क्यान्टिनमा मैले भदैनी राखेकी छु, म चै यी दुई/तीन अफिसतिर सरसफाईको काम गर्छु के । आजलाई बल्ल फुर्सद भयो । जाऔँ चिया खान, तल के ।’

मीठो अनुरोध गरिन् दिदीले, आफ्नै आफन्तीजस्तै गरेर । लाग्यो, मेरी दिदी हुन् भगवानले मेरो हाल सम्झेर जुराइदिएको । कसले यो विरानो सहरमा यसरी माया दर्साउन सक्छ ? यो पापी सहर र पाश्विक व्यवहारहरुको भिडमा एउटा मनपसन्ध सदृदयताले मलाई ढिला गर्न दिएन । घडि हेरेँ, चार बजेछ । म झोला बोकी दिदीसँगै निस्किएँ । दिदीले ढोकामा ताल्चा झुन्ड्याउनुभयो । त्यसपछि, मलाई एउटा यथार्थको ज्ञात भयो । म झस्किएँ ।

तल पुग्यौँ- क्यान्टिनमा । अध्यारो कोठा, माथिपट्टि एउटा रातो प्रकाश दिने चिम । एउटा कुनाको माथिल्तिर कुनै आकार नभएको, नमिलेको मैलैमैलो धुवाँकस, दुई चार वटा प्लास्टिकका कुर्सी । र, एक कुनोमा भान्सा । भान्साको छेवैमा उनकी भदैनी मोबाइलमा अल्झिरहेकी थिइन । दिदीले आफ्नी भदैनीसँग परिचयको सिलसिला अघि बढाइन्, ‘माथि त्यो के रे ?… लिक्तेको कम्प्युटरमा आएकी नयाँ बहिनी के यिनी ।’ सायद उनले परिहासले बेरिएर आफ्नी भदैनीतिर फर्किएर भनिन् । उनले ‘लिक्ते’ शब्द सानो आवाजमा उच्चारण गरेकी थिइन् तर मैले सुनिहालेँ । त्यसपछि, उनी मुसुमुसाउँदै अन्त लागिन् । मलाई लाग्यो, ज्यानअनुसारको नाम राखिदिएछन् यि फुपू र भदैनीले । कति जान्ने ?

भदैनीले एकै छिनमा चिया तयार गरिन् । ‘अनि कहिलेबाट यहाँ दिदी ? खाजा खान आउँनुहुन्न त तल ? खै त्यो सरलाई चिन्नै सकिएन । मेरो एउटी साथीलाई पनि फुपूले त्यहीँ काममा लगाइदिनु भा’थ्यो । तर, दश दिन पनि टिक्न सकिन केटी । भन्थी- कस्तो लम्पट रैछ साला, गर्न नसक्ने काम दिएर, गरेनौ त भनेर रातीराती फोन गर्ने ? फुपूसँग चर्चरी बाजेर हिँडेकी, आजसम्म चिया पसलमा फर्केकी छैन त्यो संगी ।’ ऊ यति भनेर हाँस्न पुगी ।

तर यता, मेरा आँखा तेजमय भए । कान तीखा भए । मन पिँजडाबाट फुत्केर उडेँजस्तै भयो । आवाज आएन, शब्द बोलिहाल्न । म सुन्नमै तन्मनस्क भएँ । उनले भनिन्, ‘यस्तो गर्मीमा पनि किन यो सल ओड्नुभएको नि । साँच्चै चिया कस्तो छ ? फुपूलाई सघाउँन आएकी । मीठो चिया पकाउँन सिक्दैछु के ।’ म कप हातमा अठ्याउए एकोहोरो भइरहेँ उसको कुरामा । उसकी फुपू मलाई त्यहाँ छोडेर फेरि माथि चढेँकी थिइन् । मलाई आजको काम सकियो भन्ने उसकी फुपू मलाई आफ्नो होटलमा ल्याइपुर्याएर किन चढेँन् ? मैले केही सोच्न सकिनँ ।

उनकी भदैनी चैँ म बोलोस् भन्ने भावमा मेरो मुखाकृतिलाई परोक्षरुपमा पर्खिरहेकी थिइन् । मैले एकदम दौर्बल्य भएर भनेँ, ‘कस्तो डर लागिरहेछ बहिनी मलाई । भित्र शरीर कापिरहेछ, अप्रियझैँ लागेर । चिया पिउन पनि जाँगर आएन मलाई त ।’ कुन भावमा बगेर हो, आफ्नो हाल पनि सुनाउन हतार गरिछु उसलाई । ‘कुन दशाले गर्दा काठमाडौँ पढ्न भनेर आएछु । लाग्दैछ, हामीजस्ता निर्धन मानिसहरु यहाँ टिक्न मुस्किल छ । छोरी मान्छेलाई जागिरमा पनि सुरक्षा छैन । चैनसाथ पढ्नलाई पैसा छैन । आफन्तहरुलाई दु:ख बिसाऊँ, ‘आमा मरेर दु:ख पाई यो छोरीले’ मात्र भनेको भेट्छु । अब छन् मेरा एक काका । काकालाई पनि सपना देखाएर आएकी हुँ । म केही गर्छु काका, इलम गर्दै उच्च शिक्षा पूरा गर्छु भनेर ।’

माथिबाट दिदी झरिन् र म रोकिएँ । उनले भनिन्, ‘लौ रात पर्यो बहिनी, कहाँ पुग्नु पर्नेथ्यो कुन्नी ? यो मोरीले चिया कस्तो बनाउँदी रैछे त ? सिकाउँदै छु ।’ उनले मेरो भरिएको चियाउपर नजर लगाएर बढो अदबसाथ फेरि थपिन्, ‘ल बहिनी, भोलिदेखि आउँनू नि, खाजा खान । फोन गर्यौ भनेपनि म माथि कोठामै ल्याइदिहाल्छु नि ।’ अनि, भदैनीतिर हेरेर भनिन्, ‘ओए मोरी, कति च्याटिङ कि फ्याटिङ गर्छेस् त्यो नाठोसँग । अब सारा बन्द गर्ने इन्तजाम गर् ।’

म छक्क परेँ ती दिदीको कुरा सुनेर । कति असभ्य र पाखे रैछे । शुरुमा त्यति मीठो बोली, अहिले यति घिनलाग्दो, यति विकट, यति असार बोली । साँझले छपक्कै छोप्यो । बहिनीसँग बिदा मागेर म हिँडे त्यहाँबाट । ती दिदी पनि त्यहीँ थिइन् तर उनले मेरो हिँडाईउपर केही पनि संकेत दिइनन् । उनी काममा निकै व्यस्त भएको रफत गर्दै थिइन् । लागेथ्यो, हिँड्ने बखत केही त भन्लिन् । तर, त्यो त भएन ।

अब म विरक्तिएर साँघुरो गल्लीबाट निस्किएँ । रोडमा पुगेँ । सरको बाईक गल्लीतिर मोडिएको झल्यास्स देखेँ । मैले हत्तपत्त निलो सललाई मस्तक वरपर घुमाएर आफू छलिने प्रयास गरेँ । मलाई लागेन, उनको निगाहा मतिर परिरहेछ । धन्य, म छलिएर पास भएँ । तर, दश पाहिला टेकेपछि फोन बज्यो, उठाएँ । उताबाट प्रश्न तेर्सियो ‘कहाँ पुग्यौँ ?’ मैले भनेँ, ‘सर मैले हिजोको काम सबै सकेकी छु । भर्खर निस्किएर बसपार्कतिर मोडिँदै छु ।’

‘गाडी पाउँछ होला कि नाईँ ? पाइएन भने भन्नू ।’ मैले फोन काटिदिएँ । के भन्नु अब तिनलाई ? कुन नामले बोलाऊँ तिनलाई ? के बाँकी रह्यो अब । सबै अनुमान साबित भइरहेछन् । म भागिरहेछु, ऊ लखेटिरहेछ । कति दिनसम्म यस्तो मूक भएर बासौँ, थाहा हुँदाहुँदै, अनुभव हुँदाहुँदै । गाडीभित्र आफैँसँग विश्वस्त भएँ- अठार दिनको तलब त देलान् ।

तर, उनले एक महिना नपुगी तलब दिने प्रावधान नभएको बताए । कम्पनी उनको, नियम उनको, हैकम उनको, आदेश उनको, सबै उनको । फगत, काम गर्ने वा नगर्ने निर्णय मेरो । मैले भोलिपल्टैबाट आफू सचेत बनी बागबजार नफर्कने गरेँ । र, सत्र दिनको परिश्रमलाई सोझै तिलाञ्जली दिएँ । फलस्वरुप, म मनपसन्द तर सुरक्षित जागिरको खोजिमा फेरि भौँतारिन थालेँ ।