बाँस्कोटा धनञ्जय

 

“ए डल्ली, यो तिम्रो कान्छो फिजिक्स पढेको भनेर देउतालाई होच्याउँथ्यो । कसले यसको त्यो फिजिक्सको भूत झारिदेछन् ?”

यो कथा मेरो साथीले मलाई दुई वर्ष अघि भनेको हो ।
०००
एउटा अव्यवस्थित सानो बाटोको छेउको चिया पसल मेरो आकर्षणको केन्द्र थियो । कारण आपैmलाई थाहा छैन । जीवनका गतिहरु अकारण अघि बढ्छन् भन्ने महसुस भएको छ अहिले ।
०००
सधैँभन्दा भिन्न, हिजोको निरन्तरताको लागि आज म फेरि त्यही चिया पसलमा पसेँ । सधैँ क्यान्टिनमा खाने गर्थेंँ । आज दुई दिन भयो, म त्यही छाप्रोमा चिया पिउन पस्छु । त्यहीँको चियाले मन तान्न थालेकोे थियो । त्यसमा कुनै खास विशेषता पनि थिएन । तर मिठो लाग्यो । मिठो लाग्न कुनै कारण चाहिँदो रहेनछ । अरु पसलहरुमा झैँ बनेको त्यहाँको चियाको चुस्की किन मिठो लाग्यो ? उही दूध, उही चिया, उही चिनी उही पानी तर यो नै किन मिठो भएको जस्तो लाग्यो ? भित्र पसेर सिटमा थचक्क बसेँ ।
‘यो हजुरको रेनकोटको ब्याग हो ?’ चिया पकाउन चुल्होमा आगो मिलाउँदै उनले सोधिन् ।
‘हजुर…………….’ मेरो मौनताले राज्य गर्न थाल्यो मनमा ।
‘हिजो यहीँ छुटेछ । लिनोस् ।’
चिया पसलकी बहिनी मेरो छुटेको रेनकोट हातमा थमाउँदै थिइन् । म निशब्द भएंँ त्यहाँ । मेरो गला अवरुद्ध थियो । केले मेरो गला रोक्यो, थाहा भएन । म लजालु मान्छे पनि होइन, तर किन हो उनको मुखमा हेर्नै सकिँन ?
दुईपटक मात्र भयो देखेको उनलाई; हिजो र आज ।
यो दृश्य हेर्दा त लाजले मुख देखाउनु नहुनेगरी छुटानाम भएको स्वार्थी र अपराधी मान्छे जस्तो भएँछु म । मानौँ, मैले ठुलो अपराध लुकाएर बसेको छु । अनि मैले मेरा सारा नैतिकतालाई शूली चढाएर यहाँ आएको छु ।
यस्तै ठानेँ । नत्र किन उनलाई राम्ररी हेर्न सकिँन त ? किन मेरो मुन्टो ठाडो हुनै सकेन ?
‘ए ….. ’
‘हजुर हिँडिसकेपछि मात्र देखेँ मैले । हजुर हिँडिसक्नु भएको थियो ।’
‘……..’
‘हजुर हिजो टेन्सनमा हुनुहुन्थ्यो, हो ?’
‘अहँ….’
‘एक शब्द नबोली चिया खानुभो । चुपचाप पैसा तिरेर हिँड्नुभो । हिँड्दा रेनकोटको ब्याग नै छोड्नुभो ।’
‘………..’
‘हजुर यहाँ प्राविधिक शिक्षालयमा पढाउनु हुन्छ ?’
‘हजुर …….।’
‘हामी त यहाँ नयाँ मान्छे हौँ ।’
‘………….’
‘हामी त यो प्राविधिक शिक्षालयका धेरै सर र कर्मचारीलाई चिन्दैनौँ । उहाँहरुलाई चिया र नास्ता अर्डर अनुसार पु¥याइदिन्छौँ । हजुरलाई पनि हामी नामले चिन्थ्यौँ ।’
‘अँ..’
‘हामी आसामबाट आएका । पुर्खा यतै जन्मिनु भएको । मामाको सल्लाहअनुसार यहाँ आएर यो सानो चिया पसल चलाइरहेका छौँ आमा र म । मङ्गलबारे बजार सानै भए पनि राम्रो लागिरहेको छ ।’
‘…………’
‘बुबाले दोस्रोे बिहे गरेपछि हामी छोडियौँ हुटिट्याउँका फुल जस्तै । हाम्रो केही पनि नभएपछि यहीँ आएर यो पसल चलाउंँदै छौँ ।’
‘हजुर…. ।’
‘तर बुबाको व्यवहारले लोग्नेमान्छेप्रति घृणा उब्जाएको छ हामीमा । लोग्ने मान्छेको रङ्ग घरमै देख्न पाइयो ।’
‘अँ…’
‘मान्छेले हाम्रो यो अतीतको तिक्ततालाई ‘गीत’ भनेर होच्याउँछन् । खै, के भयो मनमा र हजुरलाई चाहिँ सुनाइहालेँछु ।’
‘अँ…..’
मेरो लाचारीपनको सायद तिनलाई आभास भयो होला ।
मान्छे कति लाचार बाँच्दो रहेछ !
त्यसपछि उनी नास्ता र चिया बनाउनमा व्यस्त रहिन् । म शरीरमा उत्पन्न कम्पनलाई नियन्त्रण गर्न लागेँ । चारैतिर दृष्टिगोचर लगाएँ । मैले त्यो बसाइलाई गिटारको झङ्कारसँग दाँजेर हेर्न पुगेँ । म गिटार रेट्दै छु भन्ने लाग्यो । म कुनै सङ््गीतको पाठशालामा भर्ना भएको प्रशिक्षार्थी भएजस्तै भान भयो । यहाँका तमाम अवयवहरुले तिनै माधुर्य सङ््गीत रचना गरिरहेका थिए । म तिनै धुनमा लठ्ठिएको थिएँ । म भित्र पस्नेबित्तकै त्यहाँ सन्नाटा छाएकोे महसुस भएको थियो, तर अहिले सङ्गीतमय छ ।
सानो ग्राभेल बाटोको छेउमा रहेको त्यो सानो झुपडी वरिपरि प्लास्टिकले बारिएको थियो । बेन्चहरु साना र भाँचिन लागेका
देखिन्थे । बस्दा नुहियो त्यो बेन्च । ढोकाहरु पुराना काठका भएकाले ती बीचैमा प्वाल परेका थिए । चिया बनाउने टेबुलका पछाडिका खुट्टा डोरीले खम्बामा कसिएका थिए । अनि टेबुलमाथि सेतो प्लास्टिकले ढाकेको थियो । छेउको ट्युवेल काठका दुई वटा फलेक तेस्र्याएर कलको मूल पाइपलाई सपोर्ट गरिरहेको थियो । त्यो लिरिलिरी हल्लिन्थ्यो । भित्र एउटा खाटमा बसेकी केही वृद्ध देखिने महिला त्यसै अल्छी लागेर पल्टिएकी जस्ती देखिन्थिन् । कुच्चिएको हलुङ्गेको जगबाट पानी हालेर दिउरेमा ती चिया बनाउँदै थिइन् । भुइँ पक्की ढलाइ नभएकोले माटोले लिपिएको थियो । पसलको पछाडिपट्टिे फोहोर थुपारेको देखिन्थ्यो । अगाडि कच्ची बाटामा धुलो उडिरहेको थियो ।
तर मलाई त्यही चिया पसल किन आकर्षक लागि रह्यो ? म बिस्तारै बिस्तारै त्यही झुप्रोको विरासतमा आप्mनो सपना साट्दै थिएँ । त्यो छाप्रोमा उत्पन्न शून्यताको मधुर सङ्गीतले मेरा बाँकी जीवनका अवयवहरु यहीँबाट रङ्गीन भएको महसुस गरेँ ।
ती पसल्नी बहिनी निलो बुट्टेदार कुर्तासलवारमा थिइन् । उनको लामो कपालले उनको ढाडमाथि अँगालो हालिरहेको थियो । अगाडि गालामाथि कपालको लुर्को झुण्डिएर चुम्बन गरिरहेझैँ प्रतीत हुन्थ्यो । मैले देखेँ, उनका षोडशी पाखुराहरु हात्तीको सुँढजस्ता देखिन्थे । उनका खुट्टा लामा थिए, तर पैतालामा राखेको प्लास्टिकका चप्पल यताउता गर्दा त्यो शून्यतालाई भङ्ग गरिरहन्थे । बाँसको तामा जस्तै लहलह उनका छेपारी र ढाड मेरो मनलाई ध्वस्त गर्न बारबार नजरमा परिरहन्थे । म नहेर्ने प्रयासमा बाहिर नजर लगाउने गर्थें, तर मेरा बाहिरका भावहरुलाई हुण्डरीले बटारेर ल्याउने गरिरहन्थ्यो त्यही पसलभित्र !
उनको गोलो अनुहार कुनै गहनाले रङ्गिएको थिएन, न त कुनै महङ्गो पहिरन नै थियो । आँखीभुइँ आजकालका कुनै सृङ्गार गृहहरुको पहुँचबाट टाढा थिए । तर त्यहाँ संवाद थियो । त्यहाँ आवाज थियो । उनले तातोपानी एक कप ल्याएर उनकी आमालाई दिइन्, अर्को कप मेरो अगाडि ल्याएर राखिन् र शान्त भएर मेरो मुखमा एक पटक पनि नहेरी गइन् । तर, म सम्वाद गर्न थालेँ उनीसँग । मैले उनका अनेकौँ संवादहरु सुनेँ, म तिनै संवादसँग आपूmलाई साक्षातकार गरिरहेँ । उनको शान्तपन्बाट निस्किएका आवाजहरुसँग म संवाद गर्न व्यस्त रहेँ ।
मैले चुराको आवाज सुनिरहेँँ । ती दिउरे समात्दा, चिया घोल्दा अनि मेरो अगाडि ल्याएर ग्लास राखिदिँदा उनका चुराको आवाजसँग मैले संवाद गरिरहेँ । त्यो भाका बारबार परिवर्तन हुन्थ्यो । म ध्यान दिएर सुनिरहन थालेँ । त्यो आवाजले मेरा अन्तस्करणमा चिसोपानीको भेल कुदाइदिन्थ्यो ।
म पाउजुको आवाजसँग संवाद गर्न थालेँ । उनका पाउका पाउजु बेलाबेला आवाज निकाल्दै मेरो चकमन्नतालाई भङ्ग गर्दै मसंम आइपुग्थे । म त्यही धुनमा नाचिरहेको एउटा कलाकार जस्तै भएँ ।
मेरो सम्वाद जारी रह्यो । मेरो अगाडि चिया राखिदिएर उनी गइन् तर म उनको चप्पलको आवाजसँग संवाद गर्न थालेँ । ती उति पड्किँदैनथे, सर्थे । त्यो चकमन्नतालाई तोड्ने त्यो मधुर आवाजले मेरा कानको नियन्त्रण गरिसकेको थियो । त्यो आवाज घना जङ्गलमा छिपेर हिँड्दै गरेको कस्तूरी जस्तै लाग्यो । जति सुन्यो उति सुनुसुनु लाग्ने । उति मग्मगाएको जस्तो लाग्ने ।
म उनको चालको आवाज सुन्न थालेँ । उनको चाल शान्त थियो । उनी बिस्तारै बिस्तारै गरेर त्यो रातो र सुकोमल गलैँचामा टेकिरहेकी थिइन् । त्यो गलैँचा बहुमूल्य पदार्थले बनेको थियो । त्यसको बास्ना आउँदै थियो । बुट्टा कुनै अर्को ग्रहका प्राणीले डिजाइन गरेझैँ
लाग्थ्यो । त्यो गलैँचामा ती पाइतालाले पदार्पण गर्दै थिइन् । त्यो गलैँचा सपनाले बुनेको हुनाले तिनले बिस्तारै त्यसमा पैतालाले टेकिरहेकी थिइन् । यस्तै लाग्यो । किनभने बेस्सरी कुल्चिँदा त्यो गलैँचा तहसनहस हुनसक्थ्यो । त्यसैले उनका पैताला हल्का भएर भुइँमा स्पर्श गरिरहेका थिए । तिनी टेकिरहेकी थिइनन् । त्यो धुलोको गलैँचा
थियो । त्यहीँमाथि उनी पैताला राखेर यताउता गरिरहेकी थिइन् ।
म उनीसँगको संवादमा हराएँ । उनका हरेक अवयवहरुसँग म संवाद गरिरहेको थिएँ । म उनले समातेका चियाका कपबाट निस्केको आवाजसँग संवाद गर्दै थिएँ । ती बेलाबेला एउटाले अर्कालाई ठक्कर दिँदा आवाज निकाल्थे । ठक्करबाट मात्र निस्कएका ती आवाज मलाई कहालीलाग्दा लागे । ती समुद्रमा छालले हानेपछि मात्र आवाज निकाल्ने समुद्र किनारका गिटी थिए । ती आवाज मेरा थिए । म पनि ठक्कर खाएपछि मात्र आवाज निकाल्ने गर्दोरहेछु भनेर आफैंलाई पढ्न थालें ।
मेरा आवाज र ती चिया कपका आवाज समान रहेछन् । मन खिन्न भयो, त्यो उद्विग्नतामा पनि ।
म निरन्तर ती अवयवहरुसँग संवाद गरिरहेँ । म दिउरेको आवाजसँग सम्वाद गर्न थालेँ । त्यो आवाज मेरो एक कप चिया कपमा खन्याउँदा आयो । अनि तिनले त्यो बिस्तारै चुल्हेमा राख्दा आएको आवाजसँग म वार्ता गरिरहेँ । चिया फिट्दा निस्केको चमेजको आवाजसँग म संवाद गर्न थालेँ । कपको चिया पिएर सिध्याउन्जेल मेरो एकपक्षिय वार्तालाप जारी
रह्यो ।
चिया पिएपछि पैसा तिर्न पर्स झिकेँ । उनले मतिर हेरेको देखिँन । सोध्न पनि मन लागेन । सय रुपैयाँको नोट लिएर उनी उभिँंदै गरेको टेबल छेउमा गएँ ।
‘…………’ केही नबोली त्यो नोट दायाँ हातले दिनलाई पसारेँ ।
‘फिर्ता दिने पैसा छैन । सर, भोलि पनि आउनुहुन्छ भने भोलि नै दिनु न ! आउनु भएन भने सम्झिएर दिँदा हुन्छ, सर ।’
उनी मुस्कुराउन नसकी बोलिन् । यो उमेरमा पनि मुस्कुराएर बोल्न नपाउने उनको जीवन कमलको पूmल थियो, फोहोर हिलोमा फक्रिएको । बास्ना दिइरहेको ।
‘म सधैँ आउँछु ।’
यति भनेर म हिडँे ।
अघिल्लो दिन मैले रेनकोटको व्याग कहाँ विर्षेको थिएँ भनेर सम्झिने कोसिस गरेको थिएँ, तर सकिनँ । कता छुट्यो कता । कसले मेरो त्यो रेनकोटको ब्याग राखिदेलान् ? यही सम्झिरहेको थिएँ ।
आफैँलाई ग्लानि लागेर आएको थियो । मैले त्यो रेनकोट माया मारेको थिएँ ।
बिहानै उठेर म फेरि पढाउन हिँडेँ ।
रेनकोट साथैमा थियो ।
त्यो चिया पसलको भुइँमा निस्किएका धुलोका आवाजहरु अनुभूत गर्दै बाहिर निस्केँ । र देखिरहेँ टल्किरहेको धुलोको गलैँचा ।
बिहान सँधैभन्दा छिटो निन्द्राले छोड्यो ।
‘कुनै कुरा राम्रो त्यसै पनि राम्रो लाग्दो रहेछ । अनि नराम्रो कुरा त्यसै पनि नराम्रो लाग्दो रहेछ ।’ यति गुन्गुनाउँदै बिहानै घरबाट निस्केँ ।
‘कता हिँडेको कान्छा एका बिहानै ? मङ्गलबारेमा तेरो कक्षा त आठ बजेदेखि सुरु हुन्छ भनेको होइन ?’ बाले मेरो आजको एक्कासि उत्पन्न भएको बिहानको फुर्ती देखेर आश्चर्यचकित हुँदै सोध्नुभयो ।
‘पैसा पनि साट्नु थियो पसलमा ।’
‘किन ?’
‘मन्दिरमा जाँदा चाहिन्छ नि !’
‘ए डल्ली, यो तिम्रो कान्छो फिजिक्स पढेको भनेर देउतालाई होच्याउँथ्यो । कसले यसको त्यो फिजिक्सको भूत झारिदेछन् ?’ बा कराउँदै हुनुहुन्थ्यो ।
म फटाफट मोटरसाइकलमा चढेर निस्कें र लागें मङ्गलबारेतिर ।

दमक, झापा