म सगुनाको अगाडि पानी पानी भैसकेको थिएँ । सगुनाको मुस्कानलाई मुस्कानले सरोबर तिर्ने हिम्मत बटुल्न समेत सकेको थिइनँ । रित्तो कोठामा एकजना विद्यार्थीसँग बिना प्रयोजन अडिइरहनु पनि मजस्तो नयाँ शिक्षकको लागि हितकर थिएन । सगुनालाई “तिमी बाहिर निस्क, म पछि लाग्छु” भन्ने कुरा पनि थिएन । अतः मैले पुलुक्क सगुनालाई शुष्क नजर लगाएर कक्षाकोठाबाहिर फटाफट निस्किएँ । विद्यालयको आँगन करिबकरिब रित्तो भैसकेको थियो । चहुर त्यहीँ थियो, सुन्दर फूलको बगैँचा पनि त्यहीँ थियो र धुपीका रुखहरु पनि त्यहीँ हुँदाहुँदै पनि वातावरण शून्य शून्य लाग्यो । थकानले चूर शिक्षकहरु फाट्टफुट्ट बाहिरिइरहेका थिए ।
म अफिस-कोठातिर सोझिएँ । मेरो पछिबाट कसैको पदचापको कर्णपृय ध्वनीले कर्णरञ्जन दिलाइरहेको थियो । मैले चालपाइसकेको थिएँ कि मेरो पिछा कसले गरिरहेको छ । सिर्जना मिस मेरो सन्मुख उभिएर नमस्ते भनेको सुनेपछि मात्र मेरो ध्यान कानबाट नजरतिर सर्यो । सिर्जना मिसले हतार गर्दै एकैछिनमा मलाई पछि पारिसकेकी थिइन् ।
“नमस्ते म्याम् !” मलाई यो आवाजले झस्काइदिएको थियो । किनकि यो आवाज सिर्जना म्यामको हुनुपर्थ्यो र उहाँले कसलाई सम्बोधन गर्नुभयो भन्ने बुझ्न म पछाडि फर्किएँ । सगुना र सिर्जना आम्नेसाम्ने थिए । मैले सिर्जना र सगुनाको स्वर व्यक्त्याउन सकिनँ । सगुनाले नै सिर्जनालाई सम्बोधन गरीहोली भन्ने अनुमान गर्दै मैले झटपट आफ्नो नजर उनीहरुबाट सोहोरेँ र अफिस-कोठातिर पुर्याएँ । अफिस-कोठा माथिल्लो तलामा थियो । त्यहाँसम्म पुग्न काठको भर्याङ चढ्नुपर्थ्यो । भर्याङ चढ्दा जुत्ताको आवाज अलि बढी नै बजेजस्तो लाग्यो । अनुमान गरेँ, मेरो पछिपछि कोही छ र उसको
हिलवाला स्यान्डलले मेरो जुत्ताको आवाजलाई प्रतिध्वनित गर्दैं छ ।
“घरतिर नलागेर मलाई किन पिछा गरिरहेकी छ यो केटी ? कतै मैले कक्षामा ऊप्रति गरेको दुर्व्यवहारको शिकायत गर्न त आइन ?” मेरा गोडा घलघली काँप्न थाले । ओठमुख ओबानो भए । मैले आफ्ना नजरलाई यताउता लाग्न नदिई अफिसकोठातिरै सोझ्याइरहेँ । अफिस कोठाको ढोकाबाट भित्र छिरेपछि प्रिन्सिपल मिस्टर जोशी एक्लै देखिए । सशंकित स्वरजस्तो लगाउँदै उनले झटपट सोधिहाले, “सुबोध सर त निकै बेर अलमलिनुभयो नि रित्तो कक्षाकोठामा ?”
कोठाको भित्ता विभिन्न गणितीय सूत्रहरुले पोतिएका थिए । एउटा सजिलोजस्तो लाग्ने सूत्रमा मेरा नजर अल्झिएः शिक्षक=विद्यार्थी ! नजरलाई भित्ता चहार्न दिएर प्रिन्सिपललाई जवाफ दिएँ :
“त्यस्तो केही होइन, प्रिन्सिपल सर । नबुझ्ने बच्चाहरुलाई सम्झाउन खोज्दा केही बेर लाग्यो ।” भन्दै जब मैले प्रवेशद्वारतिर नजर डुलाएँ, त्यो केटी त्यहीँ उभिएर हामीलाई सुनिरहेको भेटिई । म अर्कोपटक तर्सिएँ । मेरो अनुहार बिग्रियो । खुट्टा अरु हल्लिन थाले ।
“तपाईँ त बिनसित्ति सगुनासँग बाझ्दै हुनुहुन्थ्यो त ! प्राक्टिस टिचिङको पहिलो दिनमै यस्तो व्यवहार प्रदर्शित गरेपछि कसरी यो स्कूलमा अट्नुहोला र, खै ?
उनको चेतावनीमूलक कुरा सुन्नेबित्तिकै म झस्किएँ, “कसले गर्यो होला त पहिल्यै उजुरी ? सगुना त मेरो पछि नै थिई । अरु विद्यार्थीहरु पनि निस्किसकेका थिए ।” यही सोच्दै मैले पछिल्तिर हेरेँ । सगुना अझै ढोकामै हामीलाई सुन्दै थिई । मैले तुरुन्त आफ्नो टाउको भित्रतिर भाँचेँ । एकछिनमा सगुना बार्दली बजाउँदै अर्कैतिर लागेको चाल पाएँ । ऊ आफै पन्छिदिएपछि मैले मुक्तिको सास फेरेँ । ऊ सिँढीबाट ओर्लेकी भने थिइन । किनकि उसका स्यान्डलले काठे सिँढीमा संगीत भरेका थिएनन् ।
प्रिन्सिपलले मेरो सफाइलाई बेपरवाह गर्दै जुरुक्क उठे र भित्तामा झुण्ड्याइएको बडेमानको कम्प्युटर स्क्रिनमा औँला खुम्च्याउँदै यताउता सार्न थाले । त्यहाँ पाँच कक्षाको कोठाको दृश्य नाच्न थाल्यो । पृष्ठभागमा विद्यार्थीहरु थिए र अगाडिपट्टि म उभिएको थिएँ । एकछिनमै मैले चक उठाएर सगुनालाई हान्दाको घटनादेखि म कोठाबाहिर निस्केको दृश्य हाम्रो अगाडि पुनः दोहोरियो । तेहरियो पनि । लज्जित हुँदै मैले शिर निहुराएँ । आत्मग्लानीले छाती पोल्यो ।
“सुबोधजी, यता हेर्नुहोस् !” प्रिन्सिपलको आदेशले मैले टाउको उठाउन कर लाग्यो । स्क्रिन अफ भैसकेको थियो । “भन्नुहोस्, भोलिदेखि सच्चिएर आउन सक्नुहुन्छ कि सक्नुहुन्न ? नभए भोलिदेखि तपाईँ नआए पनि हुन्छ !” म उनको आकस्मिक निर्णयले खङ्ग्रङ्ग भएँ ।
यसै बेला अचानक हामी अगाडिको स्क्रिन अन भयो । अन हुनेबित्तिकै स्क्रिनमा सगुना उस्तै सौम्य अनुहारमा झुल्किई र प्रिन्सिपलतिर हेर्दै भनीः
“होइन, होइन, प्रिन्सिपल सर ! उहाँ भोलि पनि आउनुहुनेछ । हामी दिनदिनै शिक्षकहरु फेरिरहन सक्दैनौँ ।”
यति भनेर भित्ताबाट सगुना हटी र स्क्रिन अटोमेटिक अफ हुन पुग्यो ।
तीनछक पर्ने पालो अब मेरो थियो । म दृष्टिविहीनहरुले हात्ती छामेझैँ नजरले रित्तो भित्तो छामेको छाम्यै भएछु । मेरो अलमलाहटलाई सहजीकरण गर्दै प्रिन्सिपल बोलेः “सुन्नुहोस् सुबोध सर । यो स्कूल अरु स्कुलजस्तो परम्परागत शिक्षण विधिले चल्दैन । भोलि क्रियटिभ लेसनप्लानसहित आउनुहोला । लेसन प्लानमा विद्यार्थी र शिक्षकको भूमिका बराबर हुनुपर्नेछ । विद्यार्थीलाई पढाउने होइन, सिकाउने हो ! बुझ्नुभयो ? लेसनप्लानअनुरुप तपाईँले शैक्षिक व्यवहार प्रदर्शन गर्नुपर्नेछ । एक हप्ता तपाईँको व्यवहार र विद्यार्थी सिकाइको मूल्याङ्कन हुनेछ । अनि मात्र तपाईँको जागिर पक्का । जानुहोस् अहिले । “प्रिन्सिपललाई ” हस्, नमस्कार !” भन्दै म बाहिर निस्किएँ । म त निस्किएँ तर मनलाई भने स्कूलबाट बाहिर निकाल्नै सकिनँ । सगुना बार्दली बजाउँदै कहाँ गएकी थिई ? अन नै नगरेको स्क्रिनमा कसरी झुल्किई । प्रिन्सिपलले नआउने विकल्प दिँदा पनि मलाई स्कूलमा आउनुपर्ने सुझाव दिने उसको भूमिका के हो ? के मेरा अगाडि तेर्सिएका काँडेतारजस्ता अवरोधको ताँतीलाई नाघेर यस विद्यालयमा निरन्तरता दिन सकुँला ? कि फेरि अर्को विद्यालय खोज्ने मेरो नियति दोहोरिनेछ ?
म अनेकौँ प्रश्नको बैशाखीमा लडखडाउँदै कोठातिर लागेँ ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।