साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ह्याप्पी बर्थ डे रस्मिला

कथा

Chovar Blues Mobile Size

शनिबार सार्वजनिक बिदा भए पनि मेरो काम थियो तर म दुई घण्टाअगावै निस्किएँ । कामचोर नै नभए पनि बिदाका दिन उतिसारो उत्साह हुन्थेन कामका लागि । तैपनि हाजिर लाउन र जिम्मामा परेको काम नगरी धरै थिएन । यसोउसो चलेकै थियो । सहरमा घर मात्र अग्ला हैनन्, महँगी पनि उस्तै अग्लो हुन्। सडकका गल्ली मात्र हैन, अभावका गल्ली पनि उस्तै धेरै हुन्छन्। रहरको नदीमा छाल आइरहन पनि छाड्ने हैन!

कामकै सिलसिलामा भेट भएकी नेपाली केटी हो रस्मिला । रस्मिला पुन। घर पश्चिमतिर हो भन्थी । नेपाली भनेपछि नेपालै घर भन्ने हुन्छ, छेउकुनाको खासै चासो हुन्न ।

पहिलो नजरमै भुतुक्क पार्छे जोकोहीलाई । चम्किला आँखा । त्यसमाथि गाजल । पिपलपाते ओठ । बाक्लोसँग पोतिएको रातो लाली । अनुहार उज्यालो थियो पिठो दलेजस्तो । म जिस्काएथेँ- ‘तिम्ले त पाउडर किन्न पनि पर्दैन होला है ? सरी तपाईंले ।’

उसले पाउडर भन्दा पहिले तपाईंलाई समाएकी थिई । ‘तिमी भने पनि हुन्छ,’ उसले भनेकी थिई, ‘सन पाउडर त युज गर्नैपर्छ नत्र फेस डडिहाल्छ नि !’ ऊ मुसुक्क मुस्काराएकी थिई । मैले कोही केटीको मुस्कानमा जादु हुन्छ भन्ने कुरा थाहा पाएको त्यतिबेलै थियो ।

कम्पनीमा तमाम विदेशी कामदार थिए। केही सिनियर पोस्टमा म थिए । फेरि पुरानो भएपछि कम्पनीले हेर्ने दृष्टिकोण र दिने जिम्मेवारी पनि फेरिँदै र बढ्दै जाने रहेछ । विभिन्न ४/५ देशका कामदारहरू थिए सँगै काम गर्ने । ठूलोले सानोलाई दबाउने वर्ग संघर्ष जीव विकासक्रम सँगै शुरू भएको होला सायद । कम्पनीमा पनि त्यही हुन्थ्यो । काममा छिरेको सुरूवाती समयमा रस्मिलालाई मसँगको निकटताले पनि काममा सजिलो भएको देख्नेले सहजै अनुमान लगाउँथे । दुबो जमिनमा परेपछि फैलिन बेर नलाग्ने रहेछ । रस्मिलासँगको निकटता पनि त्यस्तै भयो । उसो त म प्रमितासँग ब्रेकअप भएर बसेको पनि दुई वर्षै बित्न लागेको थियो । छिटपुट केटीहरूमा नजर गए पनि यति विघ्न निकट महसुस गरेको थिइनँ । रस्मिलाले के लाउँथी, के खान्थी, के गर्थी, हरेक कुरा याद हुन्थ्यो। हरेक दिन यस्तै यस्तै बहानामा बोलिरहेको हुन्थेँ म ।

‘ओहो, आज त नीलो ड्रेसमा ?’ कहिले प्रशंसाभावले जिस्क्याउँथेँ ।

sagarmani mobile size

‘ए, आज त कालो पो !’ नजिकिने प्रयासमा बोल्न खोज्थेँ म, ‘नेलपालिस र लिपिस्टिक पनि कालै ला’को भए हुने नि !

ऊ कहिले किन्दिने हो भनी नाप्न खाेज्थी । कहिले मुसुक्क मुस्कुराउँथी । उसले जे गरे पनि मलाई प्रिय लाग्न थालेको थियो ।

आइतबार सधैँ बिदा हुने । सिमसिम पानी परिरहेको थियाे । उठ्दा मात्रै ९ बजेको थियो । ७ बजेबाट उसले कल गरेकी रहिछ । मोबाइलमा २० कल देखायो । मैले हतारिँदै कल गरेँ । हेलो भन्न नपाउँदै उसले भनी, यस्ता निष्ठुरी मान्छे !

शब्द उनै हुन्, परिस्थिति र समय फरक। कुनै दिन यिनै शब्दले छाती चिरिएको थियो । मुटु भक्कानिएको थियो । टाउको फुट्ला जस्तो भएको थियो र आँखाबाट महिनौँसम्म बर्बरी आँसु खसेको थियो तर आज तिनै शब्दमा कति प्रेम छ! कति आत्मियता छ! कति न्यानो आभास छ ! म छक्क पर्छु । शब्दहरू परिस्थितिअनुसार अर्थ पनि बदलिँदारहेछन् ।

म निरूत्तर भएपछि उसले फेरि बोलाई- ओई मान्छे !

मैले हजुर भनेँ । खासमा उसले सुरूमा मलाई दाइ भनेर बोलाएकी थिई ।अझ पहिलो भेटमा शिर झुकाएर दुई हात जोडेर नमस्ते गरेकी थिई । म चकित परेको थिएँ । परिवेश बदलिए पनि आफ्नो सभ्यता नभुलेकी, कति सुशील केटी भन्ने मलाई लागेको थियो।

दिन बित्दै जाँदा उसले कहिले हेलो मिस्टर, कहिले हेलो सर त कहिले ओ मान्छे अनि कहिले ओए सरकार सम्म भन्थी । म निर्विवाद हजुर भन्थेँ । मैले भन्ने शब्द सधैँ एउटै हुन्थ्यो, रस्मिला । म्यासेजमा कुरा हुँदा डियर लेखेर धेरै पटक डिलिट गरेको छु । गुड मर्निङ डिएर । गुडनाइट डियर । लेखेका म्यासेजहरूसम्पादन गरेर । गुड मर्निङ रस्मिला, गुड नाइट रस्मिला भएर सेन्ड हुन्थे ।

खासमा उसले सपिङ गर्न जाऊँ भन्न कल गरेकी रहिछ । बसाई त नजिक थिएन हामी दुईको तर टाढा पनि हैन । बजारमा गाडीको बाटो ३० मिनट टाढा पनि हैन । खाना बाहिरै खाने गरी भेट्ने कुरा गरी निस्कियौं रूमबाट । ‘घर जाने मान्छे पाइएर केही सामानहरू किनौं कि भनेर,’ उसले भेट्ने बित्तिक्कै यही भनेकी थिई । मैले ठिकै छ नि त भनेँ। उसले आफूलाई हरेक दिन फरक देखाउन खोज्थी या मलाई त्यस्तै लागेको ? आज फेरि चस्मा लगाएर आएकी थिई ।

मैले जिस्काएँ, चस्मेसँग जोडी सुहाउन्न भनेर हो क्या हो चस्मा लाएर आएको ?

“धेरै बोल्ने हैन है ऐले मार्दिन्छु त्यहीँ,” उसले यो वाक्य यति मिठोसँग भनी कि मेरो कानमा पटक-पटक गुन्जिरह्यो।

मैलाई मारे कोसँग गर्छ्यौ त सपिङ ?

म एक्लै सकिहाल्छु नि ! भन्दै ऊ अघि बढी । म लुरूलुरु पछि लागेँ।

उसले स-साना फुच्चेका लागि कपडा किनी । मैले जिस्काएँ- के हो ? बिहे नगर्दै बच्चा पायौ के हो ?

ऊ झसंग भएकी थिई तर मैले नदेखे जस्तो गरेँ । आफैँलाई धेरै बोलेजस्तो लाग्यो । कता कता नमीठो लाग्यो ।

उसले केही भावुक भएर भनी, खासमा मैले दुई अनाथ बच्चाहरूको हेरचाह गर्छु । उनीहरूलाइ बस्ने खाने पढ्ने व्यवस्था गर्छु ।

म दंग परें । मान्छेको रूप र आवरणले उसको आत्मा र व्यवहार नबोल्दो रहेछ । मैले कहिले यस्तो कुरा सोचिनँ । ऊ त्यति व्यवहारिक र त्यति सामाजिक अनि अझ सेवाहृदयकी छ जस्तो कहिल्यै सोचिनँ । उसले गर्वले दुइटा बच्चाको हेरचाह गरेकी छु भन्दा आफैँलाई व्यंग्य गरेजस्तो लाग्यो । आफैँलाई हेरें । कमाई पनि त उसको भन्दा मेरो धेरै थियो । मैले जहिल्यै साथीभाइ र घुमघाममै सिध्याउँथेँ । कहिलेकाहीँ त घरमा पैसा पठाउन पनि नपरे जस्तो लाग्थ्यो । तर रस्मिला ?

घडिको सुई सेकेन्ड सेकेन्ड हिन्दै गर्दा समय कति छिटो बितेछ, पत्तै भएन । रस्मिला मेरो हरेक दुःख र सुख बिताउने चौतारी बनेकी थिई । यसो भए रस्मिला, उसो भए रस्मिला । यहाँ जाउँ रस्मिला, वहाँ जाउँ रस्मिला । हामी घरपरिवारको धेरै कुरा गर्दागर्दै पनि प्रेम, बिहे र सपनाका कुरामा पुग्नै सक्दैनथ्यौँ । मानौँ प्रेमको दैलोमा ठूलो ताल्चा लागेको छ । जसलाई खोल्न हामी दुवैसँग साँचो छैन ।

कम्पनी यौटै भए पनि डिपार्ट फरक हुनाले पहिले जस्तो भेट हुन्थेन । दिनको एक पटक हेलो हाई हुन्थ्यो । खाजा टाइम पनि कहिल्यै सँगै परेन । कम्पनी छिर्ने र बाहिरिने समय भने कहिलेकाहीँ मिल्थ्यो ।

रस्मिलासँग भेट भएको पनि वर्ष दिन पुग्न थालेछ । उसको बर्थडे आएछ । उसले बर्थडे मनाउन रहर गर्छे जस्तोलागेर मैले बिदा राख्ने सोचेको थिएँ । संयोग, बर्थडेको दिन सार्वजनिक बिदा पर्नाले दुवैलाई सजिलो भो । उसले भेटेर लन्च गर्ने मात्र भनेकी थिई तर म भने केक नै काट्ने सोचमा थिएँ । अझ केकसँगै बिहे गरौं भन्ने प्रस्ताव राख्छु भन्ने आँट आएको थियो किनभने हामीले शब्दमा मात्र लभ यु र सेम टु यु मात्र नभनेका हौं, नत्र हाम्रा हरेक व्यवहार क्रियाकलाप प्रेमपूर्ण थिए । मलाई यस्तै लाग्थ्यो ।

केकसँगै बर्थडे गिफ्ट हिराको नेकलेस बोकेर गएको थिएँ । उसले पनि थाहा पाए जसरी एकदम सजिएर आएकी थिई । मनमनै सोचेँ- यी केटीहरू कति चतुर हुन्छन् कति जिद्दी हुन्छन् । मलाई चैं केक पनि नकाटौं भन्नेले आफू चैं सिंगारिएर आएकी ? वास्तवमा हो पनि, हरेक नारीहरू आफ्नो पुरूष साथीले हरेक कुरा ख्याल गरोस्, भावना बुझोस्, थाहै नदिई सरप्राइज देओस् भन्ने अपेक्षा राख्छन् । पुरूषलाई भने कुनै कुराको मतलब हुँदैन । न खुसी हुन जानेको छ, न दुःखी हुन ।

नेपाली रेस्टुरेन्टमा खाना खाने योजनामुताविक हामी भेटियौं । मैले “हेप्पी बर्थ डे रस्मिला” भनेर अंगालो हाल्न खोजेँ। ऊ नर्भस भई, अँगालोमा अन्कनाई । मेरा चिटचिट पसिना आएकालो नीलो भएँ । ग्लानिबोध भयो । विस गरेर पुगिहाल्थ्यो, किन अँगालो हाल्नु परेको होला ? फेरि सोचेँ- मैले अँगालो हाल्छु भनेर सोचेको पनि थिइनँ । एकाएक मबाट कसरी यस्तो भो ? रस्मिलाको मुखमा हेर्न पनि सकिनँ । भुइँमा हेर्दै हातको गिफ्ट उसको हातमा राखिदिएँ । अलिबेर मौनता छायो । न ऊ बोली, न मैले बोलाएँ। खै, अलिबेर के सोची, झ्याप्प अँगालो हाली र भनी- बदमास कहीँको !

अचानक हिउँदमा पनि वसन्त आएजस्तो भयो। कतै पखेरामा कोइली कुहुकुहु गरेजस्तो लाग्यो। बोटविरूवामा भर्खर पालुवा पलाएको, पुतली नाचिरहेको, एकदमै आनन्द र मनोरम प्रतीत भयो । म पूर्ण शून्यतामा पुगेर नयाँ पाइला टेकिरहेछु जस्तो र सबै नयाँजस्तो महसुस भयो। पृष्ठभूमिमा हेप्पी बर्थडेवाला गीत बजिरहेको थियो। टेबलमा विभिन्न परिकार तयार थिए। मैले कैले ड्रिंक्स गर्दिनँ भन्ने कुरा थाहा पाएर रस्मिला दंग परेकी थिई र टेबलमा जुसका गिलासहरू थिए । केक काटिसकेर गिफ्ट लगाऊ न भनेँ। ऊ हतारिंदै प्याक खोली र भनी- वाउ। तपाईंलाई कसरी थाहा भो ? मैले नेकलेस किन्न भनेरै महिना महिनामा पैसा छुट्याएकी छु भन्ने कुरा ? ऊ यसरी उफ्री कि मानौँ उसले संसारकै आठौं आश्चर्य प्राप्त गरी । उसको खुसीमा म पनि उत्साहित थिएँ । आई लभ यू रस्मिला भनेर भनेर निधारमै चुम्बन गरिदिऊँ जस्तो लागेको थियो तर सकिनँ ।

त्यसैबेला मोबाइलको भाइबरमा मेसेज बज्यो । मेसेजले रस्मिला झसंग भई । म छाँगाबाट खसेझैँ भएँ । मानौँ, भर्खर दुईजना प्यारासुटमा उड्नलाई पहाडको टुप्पोबाट दौडिदै थियौँ, त्यसै बेला बेलुन फुटेर ऊ एकातिर, म अर्कोतिर गुल्टियौँ । रस्मिलाले मोबाइल लुकाउन खोजेर पनि सकिन, मैले हेर्न नचाहेर पनि देखेँ ।

रस्मिलाका आँखाभरि आँसु थिए । कोहो, के हो, मैले सोध्न जरूरी नै ठानिनँ ।आफैँसँग घृणा लागेर आयो । केटी देखेपछि प्रेम नै चाहिने ? बिहे नै गर्नपर्ने ? साथै हुनुपर्ने ? सम्बन्धका अरू आयाम हुँदैनन् ? आफैँलाई ब्लेडले चिथोर्न मन लाग्यो । भित्तामा लगेर टाउको ठोक्न मन लाग्यो । अग्लो पर्खालमा गएर हामफाल्न मन लाग्यो। पूरै कालो र अन्धकारमय भयो मेरो वरिपरि । न होस गुमाएर पागल हुन सकेँ, न होसमा रहेर चेतनाले काम गर्.यो । रस्मिलाले जाऊँ भनी । म गलेको केराजस्तो फतक्क गलिसकेको थिएँ । बिल पनि उसैले तिरी । बाहिरसम्म सँगै निस्कियौँ । न ऊ केही बोली, न मैले बोलाएँ। मन-मनले दुवैले दुवैसँग बोलेका थियौँ ।

तर बाहिर आवाज निस्केको थिएन । चोक आएपछि आफैँ छुट्टियौं । मैले गल्ती गरेको थिएँ थिइनँ, थाहा भएन तर छुट्टिएपछि म्यासेज गरेँ, ‘सरी रस्मिला।’

उसले रिप्लाई देली, कल गर्ली केही गरिन । पुगेँ, पुगिनँ पनि भनिन । मैले फेरि म्यासेज लेखेर पनि पठाउन सकिनँ। नम्बर डायल गर्न सयौं चोटी कोसिस गरेँ, सकिनँ । मनमा प्रश्न बारम्बार आइरहे । किन उसले दाइबाट सुरू गरेको सम्बोधनलाई फरक-फरक शब्दले बोलाई ? किन उसले म्यारिड भएर पनि म म्यारिड हुँ भनिन ? किन उसले मेरो निकटतामा प्रेमको आभास पाइन ? किन मजाक गरी उसले मेरो लाइफसँग ? के चाहन्थी ऊ मसँग? के ऊ स्वार्थी हो ? के ऊ धोकेबाज हो ?

मेरो आँखामा त्यही मेसेज चलचित्र जसरी घुमिरह्यो ।

जहाँ प्रष्टसँग लेखिएको थियो, ह्याप्पी बर्थडे टु यु बुढी ।

(सल्लाहकार, अनेसास जापान।)

प्रतिक्रिया
Loading...