खोइ किन हो कुन्नी ! मलाई बुझ्ने भएदेखि नै ‘घर’ शब्दसँग निकै आकर्षण थियो, आत्मियता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला तर मलाई अलिक बेसी नै आत्मिय लाग्थ्यो शायद ।

त्यही कुनै दिनको केही न्यानो घाम अनि बाँकी सेपिलो त्यही घरलाई मैले जीवनमा प्रथमपटक घर भनेर चिनेको थिएँ ।

समयको पैया घुम्दै गयो । म ठूली भएँ । झन् प्यारो हुँदै गयो घर । आस्थाको, आस्रयको र आफ्नोपनको मियो थियो । सायद त्यही भएर होला, मलाई अन्माउँदा मेरासँगै आमाका आँखाबाट पनि आँसु बगिरहेको थियो ।

त्यो दृश्य सम्झँदा अहिले पनि भक्कानो छोडेर रुन मन लाग्छ । मलाई हेक्का छ, छोरीलाई यसरी अन्माएर कर्मघर पठाउँदा आमा दुःखी हनुभएको थियो । आमा, अहिले पनि त तपाईंलाई बिर्सेकी छैन ।

आमाबुबाको एउटी छोरी म । दुई भाइ अर्थात् दुई भाइकी एउटी चेली । म घरमा एकप्रकारले राज गरेरै बसेकी थिएँ । घरको राखनधरन, पाहुनापात र इष्टमित्र सबै मलाई नै सुम्पिएको थियो । केही सानो चिज चाहियो भने मलाई सोध्ने गर्थे ।

म जन्मिदा आमाबुबा घरमा लक्ष्मी आइन् भन्दै धेरै खुशी हुनुभएको थिए रे ! नसनाताले मलाई नै पछिसम्म पनि सुनाउने गर्थे ।

आज पनि सम्झना आउँछ । आमाले पानीझरीमा जुत्ता भिजेर ज्वरो आउँछ । भन्दै पिठिउँमा मजेत्रोले बाँधेर बोकी स्कुलको कक्षासम्म पुर्याउनु हुन्थ्यो । कहिले बुबाले काँधमा बोकी हिँडेको आज जस्तो लाग्छ ।

मैले स्नातक गर्नेबित्तिकै डाक विभागमा जागिर पाएँ । मदेखि आमाबुबा खुशी हुनुभयो ।

एकदिन कामबाट आउँदा घरमा नयाँ पाहुना आएको देखेँ । आमाले उहाँहरूसँग मेरो परिचय गराउँदै गर्वसाथ भन्नु भयो– ‘यिनी हाम्री एकमात्र छोरी, लक्ष्मी ।’

मैले पाहुनाहरूलाई पालैपालो नमस्ते गरेँ ।

पाहुनाले थपे– ‘जस्तो नाम उस्तै रूप । लक्ष्मी नै जस्ती ।’

मलाई लाज लाग्यो । म फटाफटभित्र पसेँ । लुगा फेरेर चाय र नास्ता लिएर जाँदै थिएँ ।  आमाले भन्नु भएको कुरा मेरो कानमा झट्ट पर्यो । म त्यहीँ उभिरहेँ ।

आमा भन्दै हुनुहुन्थ्यो– ‘छोरी त पराय धन, अरुको घर जानु नै पर्छ । उहिले त आमाबाबाले हेरेपछि हुन्थ्यो । आजभोलि त त्यस्तो चलन छैन । पहिला केटाकेटी हेराहेर गरुन् । त्यसपछि कुरा गरौँला ।’

आमाले छोरी पराय धन अरुकै घर जाने जात हुन भनेको सुन्दा धेरै दुःख लागेर आयो । किन त्यसो भन्नु भएको होला ? मेरा मनमा अनेक कुरा खेल्न थाले ।

‘चाय लिएर आऊ नानी ।’ बुबाले भन्दा पो झसङ्ग भएँ ।

चिया दिएर आफ्नो कोठामा पसेँ ।

मेरो एक मनले सोच्यो– ‘मलाई यत्रो माया गरेको त पराय सम्झेर पो रहेछ ।’

‘छोरी भनेको पराय धन ।’ यस भनाईले मेरो मन बिचलित पारीदियो । मन मडारिएर आयो । भावनामा आँधी चल्यो । मेरा आँखाबाट आँशु बग्न थाले ।

पाहुनाहरूलाई बिदा गरेर आमा मेरो कोठामा पस्नु भयो ।

‘किन रोएकी यसरी ? सन्चो छैन नानी ?’ आमाले भन्नु भयो ।

मलाई भक्कानो फुटेर आयो । रूँदै भनेँ– ‘आएका पाहुनाहरूसित मलाई पराय धन किन भन्नुभएको ? के म हजुरहरूकी छोरी होइन ?’

‘ए, त्यसैले पो रोएकी यसरी ? उहाँहरू मन्त्रीपोखरीबाट तिमीलाई माग्न आउनु भएको रहेछ  । उहाँको छोरो पनि दुरसञ्चार विभागमा इञ्जिनियर छन् रे ।’ आमाले भन्नु भयो ।

‘उनीहरू माग्न आउँदैमा हजुरहरूले मलाई थपक्क दिनु हुन्छ ? अनि कस्तो अचम्भको कुरा, उनीहरूको छोरो इञ्जिनियर भएर हामीलाई के हुन्छ ?’ मैले भनेँ ।

‘माग्नुको अर्थ त उनीहरूको छोरासित बिहे गर्नु पो हो त । थोडी तिमीलाई झाडु पोचा गर्न माग्नु आएका हुन् त । यसरी छोरी ठूली भएको देख्दा सबै माग्नु आउँछन् नी नानी ।’ आमाले मलाई सम्झाउँदै भन्नु भयो ।

‘म कसैसित बिहेसिहे गर्दिन । मेरो घर यही हो ।’

‘हेर छोरी, तिमी कसैसित बिहे गरेर जानु नै पर्छ । तिम्रा साथीहरू पनि त बिहे गरेर गइसके । बिहे नहुँदा मान्छेहरूले नाना थरीका कुरा लगाउँछन् । तिम्रा भाइहरूले पनि अरुकै छोरी बिहे गरेर ल्याउनु पर्छ ।’

‘यो घर मेरो होइन आमा ? म हजुरको कोखबाट जन्मिएको होइन र ?’

‘मेरै कोखबाट जन्मिएकी मेरो मुटुको टुक्रा हौ छोरी । तर नियम अनुसार यो तिम्रो माइत हो । तिम्रो पतिको घर नै तिम्रो घर हुन्छ नानी । यो आइतबार केटा लिएर तिमीलाई हेर्न आउने रे ! मन प¥यो भने त बिहे गर्नु पर्छ छोरी । जबरजस्ती गर्नु हुन्न है !’

‘म त हेर्दै हेर्दिन । बिहे नै गर्दिन । के को माइत र घर । जोसुकैले जे सुकै भनुन् ।

आमाले मलाई धेरै बेरसम्म सम्झाउनु भयो । म बोल्न छोडेँ । आमा कोठाबाट बाहिर निस्कनु भयो ।

मलाई रातभरि निन्द्रा लागेन । त्यही घरमा जन्मिएकी, हुर्किएकी, पढेकी आज त्यही घर, घर होइन, माइत रे ! गरी खाने भएपछि अर्काको घर । कस्तो माइतमा छोरीको हक नलाग्ने । पराय घर आफ्नो घर ।… कस्तो बिडम्बना नारीको जिन्दगी.. सोची रहेँ ।

भोलिपल्ट बिहानै बुबाले बोलाउनु भयो ।

‘हेर त छोरी, तिम्रो आमा पनि त तिम्रा हजुरबा हजुरआमाकी छोरी हो नी । तिम्री आमा, मेरी धर्मपत्नी । अनि तिमीहरू हाम्रा छोराछोरी । यसरी नै संसार चल्छ । विवेक असल छन् रे ! तिम्रो ऊसित बिहे भयो भने तिमीहरूको जीवन राम्रो हुन्छ छोरी । राम्रोसित सोच छोरी ।’ बुबाले भन्नु भयो ।

म अफिसमा भए पनि बुबाले भनेका कुरा मेरो मनमा खेलिरहे ।

आइतबार विहानै विवेक र अन्य व्यक्तिहरू आए ।

आमाले चाय र नास्ता लिएर आउन सङ्केत गर्नु भयो । म चाय र खाजा लिएर गएँ । विवेकले मेरो खुट्टादेखि टाउको सम्म हेर्दै गरेको देखेँ । मेरो हात र खुट्टा कापीँ रहेका थिए । चियाको ट्रे नै खस्छ जस्तो लाग्यो । टेबलमाथि चिया राखेर हतारहतार मभित्र पसेँ । मेरो मुटुको धड्कन तेजसित चल्दै थियो ।

एछछिन पछि आमा आएर सोध्नु भयो– ‘विवेक कस्तो लाग्यो छोरी ?’

मेरो वाक्य फुटेन । केही भन्न सकिन । केही भनिन पनि । म तन्ना मिलाउन थालेँ ।

‘केही बोलिनन् । मन परे जस्तो छ ।’ बाहिर गएर आमाले भन्नु भएको मैले सुनेँ ।

आज मलाई अचम्म लाग्यो । मलाई हिजोसम्म रिस उठ्थ्यो । तर आज मेरो मन..। बिहेको पक्का भयो त्यसैदिन ।

माघ १६ गतेको दिन थियो । आमाबाबाले धुमधामसँग विवाह गरिदिनुभयो । त्यो पनि रीतिरिवाज सहित । मेरो जन्मघरबाट कर्मघरको लागि कन्यादान भयो । मलाई अन्माई दिनुभयो । त्यस दिनदेखि म नौलो घर बसाउने जमर्कोमा जुटिरहेकी छु ।

हिजोआज कहिले काहीँ माइत जाँदा मलाई अनौठो लाग्छ । सायद समयको खेल होला । जुन घरमा कुनै दिन राखनधरन मेरो थियो । कहिले सासूको पालो, कहिले बुहारीको पालो भने झैँ आज त्यही घरमा बुहारीहरूको छ । म पाहुना अनि सत्कार गरिनु पर्ने ।

समयसँगै जिन्दगीको मान्यता बदलिँदोरहेछ । आदर्श बदलिँदोरहेछ । रहर र चाहना पनि पो उलटपुलट हुँदोरहेछ । समयले खोइ कस्तो कस्तो लुकामारी खेल्दै रह्यो जीवनमा अभाव र अप्ठ्याराको झाङमा अल्मलिँदै अल्मलिँदै बाँच्दै त छु । घरअनुसार नारीको रूप लिएर ।