“चिया खानुहुन्छ ?”
कसैको कुनै प्रतिक्रिया छैन । कारागारबाहिर बहुत इमानदारीका साथ खटिरहेका थिए दुई प्रहरी जवानहरू ।
कारागारका अग्ला पर्खालहरूमाथि हतियार समाएर अरू पनि तैनाथ थिए । ओहोरदोहोर गरिरहेका थिए । म कसरी,
किन यस अवस्थामा यहाँ आइपुगेँ, मलाई ज्ञात थिएन तर यति चाल पाएँ कि अहिले म कारागारको गेटअगाडि छु र
कसैलाई केही प्रश्न गर्दै छु । यसरी यो पुसको ठन्डीमा, त्यो पनि रातिको ११ बजे पहरेदारी गरिरहेका कोही
व्यक्तिलाई चिया खानुहुन्छ भनेर सोध्दा कोही कसरी मौन रहन सक्छ ! यदि चिया खानु थिएन भने पनि सहजै नकार्न
सकिन्छ नि, होइन र ? तर उनीहरूको कुनै प्रत्युत्तर थिएन । मैले कारागारबाहिर गेटमा उभिएका दुई प्रहरी
जवानहरूलाई फेरि प्रश्न गरेँ । “चिया खानुहुन्छ ?”

उनीहरू फेरि पनि मौन थिए । मानौँ उनीहरूले मलाई देखेकै थिएनन् वा सुनेकै थिएनन् । खैर, जेसुकै होस्,
कारागारको गेट खुल्लै थियो । म खुरुखुरु निस्फिक्री भित्र पसेँ । कारागार वरपर, भित्रबाहिर, तलमाथि जहाँसुकै
पनि कोही सुरक्षाकर्मीले मलाई रोकेका थिएनन् । किन रोकेनन्, तँ कोही राजा होस् ? प्रहरीकै उपल्लो
दर्जाको अधिकारी होस् ? कि तँ कोही प्रधानमन्त्री वा राष्ट्रपति होस् इत्यादि भनेर प्रश्न गर्नुहोला तर क्षमा पाऊँ प्रिय
पाठक, यसको उत्तर अहिलेसम्म मलाई पनि ज्ञात छैन । म आफैँ दङ्ग छु ।

मेरो अचम्मित हुने कुराको परिधिक बेजोडले झाङ्गिँदै थियो । कारागारभित्र सम्पूर्ण ढोकाहरू खुल्लै थिए
तर पनि कोही बन्दी भागेका थिएनन् वा भाग्न खोजिरहेका थिएनन् । सबै मस्त निद्रामा थिए । म कारागारका सम्पूर्ण
बन्दी कोठाहरू हेर्दै जेलको चक्कर लगाइरहेको थिएँ । कोही पनि जागा थिएनन् । पर कुनाको एउटा
अन्तिम कोठामा एक जना बन्दी मैनबत्तीको उज्यालामा केही लेख्दै थियो । म उसको समीप गएँ र सोधिहालेँ

– “चिया खानुहुन्छ ?”

अर्जुन आचार्य

हुन त म औधी चिया पिउने मान्छे हुँ तर यो कारागारमा कहाँ यसरी आफ्नो अनुकूल बाँच्न सकिन्छ र ! भैगो मलाई
नअल्मल्याउनुहोस् । मसँग समय कम छ । म काम गर्दै छु भनेर बन्दीले मुख मोड्यो ।

त्यसो होइन म आज तपाईँलाई एक रातको सफरमा लैजान्छु । कारागारभन्दा बाहिर बीच बजारको कुनै एक क्याफेमा बसेर चिया पिउँला नि भनेर आग्रह गरेँ । उसले मेरो आग्रहलाई स्विकार्न त स्विकाऱ्यो तर उसका केही सर्तहरू थिए ।

सर्त नं. १

बिहानीपखको ४ नबज्दै मैले उसलाई त्यही जेलको त्यही सेलमा ल्याएर सकुशल छोडिदिनुपर्ने, र
सर्त नं. २

चिया पनि उसले रोजेको क्याफेमै गएर पिउनुपर्ने ।

मैले उसका सर्तहरूमा सहमति जनाएँ अनि हामी खुरुखुरु कारागारको मूलढोकाबाट बाहिर निस्कियौँ । हामीलाई कसैले रोकेन ।
किन छिरिस् ? किन निक्लिस् ? कसैले सोधेन । तपाईँ फेरि कसैले किन सोधेन भनेर प्रश्न गर्नुहोला तर माफी पाऊँ
प्रिय पाठक, इमानदारीपूर्वक भन्नुपर्दा यसको उत्तर तत्काल मसँग पनि छैन । ऊ बन्दीकै कपडामा थियो । उसले
मलाई बीचबजारबाट अँध्यारो गल्ली नै गल्लीको बाटो हुँदै एउटा अन्डरग्राउन्ड क्याफेमा लिएर गयो । उक्त क्याफेबाहिर कुनै होर्डिङ बोर्ड थिएन । सायद थियो पनि होला तर अँध्याराले मरिजाऊँ केही देखिनँ । क्याफेभित्र पस्नासाथ म
त कुनै एक छुट्टै दुनियाँमा आएको जस्तो भान भैरहेको थियो । क्याफेभित्र पूरै सन्नाटा थियो, एकदम अन्धकार ।
बन्दीले मैनबत्ती जलायो । यो क्याफेको हरेक वस्तु विचित्र थियो तर मलाई सबैभन्दा विचित्र के लाग्यो भन्दा यस
क्याफेभित्र छिर्ने र निक्लिने ठाउँ फरक फरक थिए र ढोका पनि फरक । यस्तो सामान्यतः प्रायः कुनै क्याफेमा पनि हुँदैन ।

उक्त क्याफेको छिर्ने मूलद्वारमा बुद्धको ठूलो भित्तेमूर्ति थियो र बाहिर निस्कने ढोकामा हिटलरको शालिक । क्याफेका
भित्ताभरि विश्वप्रशिद्ध व्यक्तिहरूका तस्बिरहरू टाँगिएका थिए । ती तस्बिरहरू पनि सामान्य थिएनन् । मलाई याद भएसम्म कसैको बलात्कार गरिहेका सेक्सपियर, गोरुलाई जसरी काँधमा हलो र जुवा भिराएर मान्छे जोतिरहेका माओ जे दोङ, कसैको हत्या गरेर रक्ताम्मे भएका गान्धी इत्यादि र हामी बसेको टेबुलअगाडि एउटा व्यस्त सडकको
ल्याम्पपोस्टमा पासो लगाएर आत्महत्या गर्न लागेको कार्ल मार्क्सको तस्बिर टाँगिएको थियो ।

हामी एकअर्कालाई हेर्दै मौन बसेका थियौँ । म मनमनै सोचिरहेको थिएँ, साला बन्दी पनि यस्तै ठाउँमा आउँदो रहेछ अनि
यसको मानसिकता अपराधी नभएर मेरो हुन्छ त ? तर उसलाई केही भनिनँ । अहिले त अलिअलि ऊदेखि डर पनि
लाग्न थालेको थियो । खैर, मैले यो मौनता तोड्न खोजेँ । चिया मगाऊँ भन्ने लाग्यो ।
हेल्लो कोही छ ? म चिच्याएँ – वेटर कोही बोलेन । बन्दी मुसुमुसु हाँस्न थाल्यो । यहाँ कोही वेटर छैन, न त यस क्याफेको साहुजीलाई नै कसैले चिनेको छ ।

के खान मन छ, आफैँ बनाएर खाँदा हुन्छ महोदय । भान्सा भित्र छ भनेर बन्दीले उत्तर फर्कायो । हामी भान्साभित्र
पस्यौँ । क्याफेको मेनुमा भएका सबै चिज बनाउने तरिका लेखेको कुकबुक त्यतै कतै नजिकै जो कोहीले सजिलै
देख्न सक्ने ठाउँमा राखिएको थियो ।

मैले चिया पकाएँ । बन्दीले अलिकति पपकर्न फुरायो र फ्रेन्च फ्राई बनायो । त्यसपछि हामी फेरि आफ्नै ठाउँमा आएर
बस्यौँ । धेरैबेर हामी केही पनि नबोली एकअर्कालाई हेर्दै चिया घुट्क्याइरह्यौँ । यति बेला बिहानी पखको २:३४
बजिसकेको थियो र उसको सर्तअनुसार मैले ४ नबज्दै उसलाई सोही कारागारको त्यही सेलमा पुऱ्याइदिनुपर्ने
छ । मेरो मनमा अनेक प्रश्नहरू थिए । सायद मेरो यो व्यग्रता उसले मेरो अनुहारमा पढ्न सकेको थियो । उसैले आफैँ
कुरा निकाल्यो ।

लाग्दैछ, तपाईँसँग प्रश्नहरू धैरै छन् । सोध्नुहोस्, के जान्न चाहनुहुन्छ तर यसमा पनि मेरो एउटा सर्त छ ।
सर्त यो छ कि तपाईँ मलाई केवल एउटै मात्र प्रश्न गर्न पाउनुहुनेछ ।

उसले कुरा गर्ने बाटो त सजिलो बनाइदियो तर यात्रा कठिन बन्यो । उसको पनि नाम होला, थर होला, घर होला, परिवार होला । जो मलाई केही पनि थाहा थिएन । यिनै प्रश्नहरूमध्ये कुनचाहिँ प्रश्नलाई प्राथमिकतामा राखेर प्रश्न गरूँ ? किनकि मैले उसलाई एउटै मात्र प्रश्न गर्ने अनुमति पाएको छु, म सोचमग्न भएँ ।

अब तपाईँ आफैँ कल्पना गर्नुहोस् । कुनै बन्दी यसरी तपाईँका अगाडि छ र अहिले मेरो अवस्थामा तपाईँ हुनुहुन्छ
भने उसलाई के प्रश्न गर्नुहुन्छ ? ऊ ललिपप मन पराउँछ कि चुइङगम भनेर पक्कै प्रश्न गर्नु हुन्न ।

चिन्ता नलिनुहोस्, मैले पनि गरिनँ । बरु ऊ किन र कुन अपराधका कारण यसरी काराबासको जीवन बिताउँदै छ भनेर
जान्न मन लाग्यो । सायद तपाईँले पनि यही प्रश्न गर्नुहुन्थ्यो होला । अब चैनको सास फेर्नुहोस् । मैले त्यही प्रश्न
गरेँ ।

तपाईँ किन र कुन कसुरका कारण यसरी कारागारमा ?

उसले सुटुक्क गोजीबाट एउटा फोटो निकाल्यो । यी यिनै स्त्रीलाई एउटा वेश्यालयमा जबरजस्ती लगेर मैले बलात्कार
गरेको थिएँ । उसले पीपलबोटमा हिजो झुन्डिएर आत्महत्या गरेको खबर पाएको भनेर ऊ चुप बस्छ ।

त्यसपछि म केही पनि बोल्न सकिनँ । एकदम मौन । क्याफेको काउन्टरमा एउटा बिलको ठेली थियो । मैले आफ्नो
बिल आफैँ काटेर जम्मा रु. ३०० काउन्टरको टेबलमा छोडेर हामी बाहिर निस्कियौँ । उसलाई उसैको सर्तअनुसार बिहानीको ४ नबज्दै मैलै कारागारको त्यही बन्दी कोठामा पुऱ्याइदिएँ अनि म कारागारको गेटबाट सुटुक्क बाहिर निस्कएँ । अब त घर जानुपऱ्यो भन्ने लाग्यो । यसो घडी हेरेँ, ११ बजेको थियो ।

एकैछिन पर्खिनुहोस् । के रे ? ११ बज्यो अरे ?

तँ त अघि कारागार आउँदा ११ बजेको थियो । अघि नै आएर त्यस बन्दीलाई लगेर क्याफेमा चिया पिलाएर फेरि
उसको सर्तअनुसार ४ नबज्दै उसैको बन्दी कोठामा पुऱ्याएर भर्खरै बाहिर निस्केको छस् । यतिबेला बिहानीको ४ वा ५
को वरिपरि बज्नुपर्ने हो । पाठकलाई चुतिया बनाउँछस् जाँठो लेखक भनेर तपाईँलाईँ मेरो कानमा रन्काउन पनि मन
लाग्यो होला तर माफ गर्नुहोला प्रिय पाठक, मैले आकाशतिर हेरेँ, अँध्यारै छ । यति बेला दिउँसाको ११ बज्ने कुरो पनि
भएन । घडीमा प्याट-प्याट हानेँ, त्यो पनि सकुशल छ । कसरी अहिले फेरि रातिको ११ बज्यो, त्यसका बारेमा मलाई
पनि ज्ञान थएन ।

म रन्थनिँदै फेरि बजारको बाटो हिँड्दै घर फर्किने सुरसारमा बाटो नाप्न थालेँ तर हिँड्दै गर्दा एउटा स्त्रीको
चिच्याहट मेरो कानमा पऱ्यो र म टक्क अडिएँ । आवाज मेरै दायाँपट्टिको एउटा होटेलभित्रबाट आइरहेको थियो । म
खुरुखुरु भित्र छिरेँ । त्यो त पुरै वेश्यालय पो रहेछ ! म केटीको चीत्कारको ध्वनि पछ्याउँदै वेश्यालयको अन्तिम
कोठीभित्र छिरेर सटक्क कुर्चीमा बसेँ । मेरै सामुन्ने कोही दुईजना स्त्री र पुरुष शारीरिक सम्बन्ध बनाउँदै थिए । म
कोठाभित्र पसेपछि स्त्री चिच्याउन छोडी तर उनीहरूको कर्म भने रोकिएन । यतिबेलै मेरो मुखबाट एउटा प्रश्न फुत्कियो,
“चिया खानुहुन्छ ?”

अब तपाईँ कल्पना गर्नुहोस्, त्यस पुरुषको ठाउँमा तपाईँ हुनुहुन्छ र कुनै स्त्रीसँग सम्भोग गर्दै हुनुहुन्छ र यति नै बेला कोही व्यक्ति आउँछ र तपाईँलाई अप्रत्यासित रूपमा प्रश्न गर्छ, त्यति बेला तपाईँको प्रतिक्रिया के होला ? तपाईँ
सोझो हुनुहुन्छ भने लाजले मुख छोप्नुहुन्थ्यो होला । हुन त यसरी वेश्यालयमा आएर परस्त्रीसँग सम्भोग गरिरहेको
पुरुषलाई कसरी सोझो भनूँ ? खैर, जेसुकै होस् । हैन भने तपाईँ उठेर मलाई बजाइहाल्नुहुन्थ्यो होला । कि त कोही आओस्, जाओस् मतलब नगरी सम्भोगमै लीन हुनुहुन्थ्यो होला तर उक्त वेश्यापुरुषले त्यस्तो केही गरेन । ऊ चुपचाप सबै
चिज छोडेर ल हिँड्नुहोस्, म पनि चियाप्रेमी हुँ तर म आफ्नो अनुकूलमा मात्र चिया पिउँछु भनेर मेरा अगाडि पेस
भयो । म सोचिरहेको थिएँ, कोही मुला सम्भोग गरिरहेको बेला यस्तो अप्रत्यासिलो प्रस्ताव सुन्नेबित्तिकै सबै कुरा
चटक्कै छोडेर चिया पिउन कसरी तयार हुन सक्छ ?

हुन त म पनि यसरी प्रश्न गर्ने पागल नै त हुँ । लाग्यो, त्यो पनि कोही मेरै प्रजातिको होला । त्यत्तिकैमा उसले थप्यो
“। मेरा केही सर्तहरू स्विकार्नुहुन्छ भने म तपाईँसँग चिया पिउन जान समर्थ छु । हैन भने तपाईँ निक्लनुहोस् । मसँग
समय कम छ ।”

सोधिहालेँ, कस्ता सर्तहरू ?
सर्त नं. १

बिहानी पखको ४ नबज्दै मैले उसलाई त्यही वेश्यालयमा ल्याएर सकुशल उही अवस्थामा छोडिदिनुपर्ने र

सर्त नं. २

चिया पनि उसले रोजेको क्याफेमै गएर पिउनुपर्ने ।

मैले उसका सर्तहरूमा मन्जुरी जनाएँ । हामी खुरुखुरु वेश्यालयबाट बाहिर निस्कियौँ । उसले मलाई बीचबजारबाट
अँध्यारो गल्ली नै गल्लीको बाटो हुँदै एउटा अन्डरग्राउन्ड क्याफेमा लिएर गयो । यतिन्जेल तपाईँले सोचिसक्नुभयो
होला केही कुरा दोहोरिँदै छ । तपाईँ एकदम स्मार्ट पाठक हुनुहुँदो रहेछ । बिल्कुल ठिक, तपाईँ सही हुनुहुन्छ । उसले
मलाईँ त्यही क्याफेमा लगेर गयो जुन क्याफेमा केही बेरअघि मात्र बन्दी र म आएर गएका थियौँ ।

भगवान् कसम यस्तो अवस्थामा जो कसैको कलेजो हल्लिन्छ होला । धेरै बाठो बनेर बन्दी र मेरो पूरै यथार्थ उक्त
वेश्यागामी पुरुषलाई भन्नु पनि भएन । बिस्तारै म सामान्य हुने प्रयास गर्दै थिएँ । म यसरी प्रस्तुत हुँदै थिए जस्तो कि म यो क्याफेमा पहिलोपटक आउँदै छु । उसलाई सुनाएरै भनेँ “यो कस्तो अचम्मको क्याफे है ?”
उसले फिसिक्क मुस्कान मात्र छोड्यो ।
फेरि मैले त्यसरी नै मौनता तोड्न खोजेँ जसरी बन्दीसँग प्रस्तुत भएको थिएँ ।
हेल्लो कोही छ ? चिच्याएँ – वेटर
कोही बोलेन । वेश्यागामी पुरुष उसरी नै मुसुमुसु हाँस्न थाल्यो । यहाँ कोही वेटर छैन । न त यस क्याफेको साहुजीलाई नै
कसैले चिनेको छ । के खान मन छ आफैँ बनाएर खाँदा हुन्छ महोदय । किचेन भित्र छ , भनेर पुरुषले बन्दी जसरी नै
उत्तर फर्कायो । हामी किचेनभित्र पस्यौँ । मेनुमा भएका सबै चिज बनाउने तरिका लेखेको अघिको कुकिङ गाइड उही
ठाउँमा उस्तै अवस्थामा राखिएको थियो ।
मैले चिया पकाएँ । वेश्यागामी पुरुषले पनि अलिकति पपकर्न फुरायो र फ्रेन्च फ्राई नै बनायो । अब त कथामा पक्कै केही
लोचा छ भन्ने लागिरहेको थियो । त्यसपछि हामी फेरि उसरी नै कार्ल मार्क्सको त्यो विचित्र तस्बिरअगाडि त्यही
ठाउँमा आएर बस्यौँ । धेरै बेर हामी केही पनि नबोली एक अर्कालाई हेर्दै चिया घुट्क्याइरह्यौँ । यति बेला बिहानी पखको
२:३५ बजिसकेको थियो । अहिलेचाहिँ १ मिनेट ढिलो घडी हेरेछु । अब उसको सर्तअनुसार मैले ४ नबज्दै उसलाई
त्यही वेश्यालयको सोही कोठीमा पुऱ्याइदिनुपर्ने छ । मेरो मनमा अहिले पनि धेरै प्रश्नहरू थिए । उसले बन्दीले जसरी नै
आफैँ कुरा छेड्यो ।
“लाग्दै छ महोदय तपाईँ सब प्रश्नहरू धैरै छन् । सोध्नुहोस् के जान्न चाहनुहुन्छ तर यसमा पनि मेरो एउटा सर्त छ ।
सर्त यो छ कि तपाईँ मलाई केवल एउटै मात्र प्रश्न गर्न पाउनुहुनेछ । अब मेरा तमाम प्रश्नहरूमध्ये कुन चाहिँ
प्रश्नलाई प्रथामिकतामा राखेर प्रश्न गरूँ ? फेरि अलमलमा परेँ र अन्तिममा यस्तो प्रश्न गरेँ–
“तपाईँ हेर्दा भलादमी जस्तो मान्छे कसरी यस्तो अवस्थामा ?”
उसले सुटुक्क गोजीबाट एउटा फोटो निकाल्छ । यी मैले तीन दिनअगाडि यो व्यक्तिको हत्या गरेको थिएँ र यसरी म
प्रहरीदेखि लुकिरहेको छु । आज त्यही क्रममा तपाईँले मलाई वेश्यालयमा भेट्नुभयो ।”
मैले फोटो नियालेर हेरेँ । ह्वाट द फ……… ?
म त तीन छक । फोटो त त्यही बन्दीको थियो ।
हैन यो कसरी सम्भव छ । केही समयअघि मात्र उक्त बन्दी र म यही क्याफेमा आएर यसरी नै चिया खाएका थियौँ र
म स्वयं आफैले उसलाई सकुशल कारागारमा छोडेर आएको थिएँ तर वेश्यागामी पुरुष तीन दिनअगाडि उसको
आफूले हत्या गरेको भन्दै थियो । अब चाहिँ मेरो साँच्चिकै टाउको तात्न थाल्यो । मैले थप केही बोलिनँ या भनूँ बोल्न पनि
सकिनँ । उक्त वेश्यागामी पुरुषलाई बिहानी पखको ४ नबज्दै उसैको सर्तअनुसार सकुशल त्यही वेश्यालयको अन्तिम
कोठीमा लगेर छोडिदिएँ र म वेश्यालयबाट सरासर बाहिर निक्लिएँ ।
त्यसपछि त म कसैलाई केही नभनी सरासर घरतिर लम्किएँ । पर चौकुने चोकमा एउटा पीपल चौतारी छ र नजिकै
एउटा पानीको धारो छ जो मेरो घर जाने बाटैमा पर्छ । पूरै टाउको रन्थनिएको थियो । धारामा गएर टाउको पानीमा
चपलक्क चोपेँ । अनि वर आएर पीपल चौतारामा एकैछिन विश्राम लिन थचक्क बसेँ । यति बेला घडी हेर्न मन पनि
लागेन तर बाहिर अँध्यारै थियो । धपक्क बलेको जूनको उज्यालाले माहोल सुन्दर बनेको थियो । एक्कासि मेरो
कपालमा केही पानीको थोपा खसेको अनुभव भयो । यसो म बसेको पीपलबोटको टुप्पातिर हेर्न खोजेँ । त्यही
पीपलबोटको हाँगामा कोही स्त्री पासो लगाएर झुन्डिएकी थिई ।
अबचाहिँ म घडीमा समय हेर्न थालेँ । यति बेला रातिको फेरि ११ बजेको थियो । मलाई लाग्यो कि म कुनै एउटा सीमित समयको चक्रमा घुमिरहेको पो छु कि ? एकै रातमा ३ फरक फरक पात्रसँग एउटै समयमा छुट्टाछुट्टै भेटिरहेको छु । कतै यो टाइमट्राभल त होइन ? खैर, जे सुकै होस् मसँग तपाईँको जसरी सोच्ने त्यति बेला फुर्सद थिएन । मैले उक्त स्त्रीको लासलाई
भुईँमा झारेँ । अब एकछिन तपाईँ पाठकलाई एउटा काम दिन्छु । कृपया कल्पना गरिदिनुहोस् । त्यो लास कसको
हो ? वा त्यो आत्महत्या गर्ने स्त्री को होली भनेर ।
भैगो रहन दिनुहोस् यस्तो गाह्रो काम म तपाईँलाई गराउँदिनँ बरु तपाईँलाई अर्को काम लगाउँला अहिले मै भनिदिन्छु ।
त्यो लास बन्दीले फोटामा देखाएको केटीको थिएन तर लास सोही स्त्रीको थियो जुन स्त्रीलाई मैले वेश्यालयमा भेटेको
थिएँ । जोसँग भखर्रै चिया खाएर आएको वेश्यागामी पुरुष वेश्यालयको अन्तिम कोठिमा सम्भोग गरिरहेको थियो
। अब तपाईँ पर्खिनुहोस् । म तपाईँलाई एउटा सफरमा लैजान्छु । अब एकछिन मेरो ठाउँ तपाईँ लिनुहुनेछ ।
सम्झनुहोस म होईन तपाईँ अब रातिको ११ बजे आत्महत्या गरेकी कुनै स्त्रीको लाससँग हुनुहुन्छ । त्यतिबेला तपाईँको
मुखबाट एउटा प्रश्न फुत्किन्छ ।
“चिया खानुहुन्छ ?”
तपाईँ लासलाई चिया पिलाउन समर्थ हुनहुन्छ ? स्त्रीको लासले तपाईँलाई यसरी प्रतिप्रश्न गर्नेछ ।
तपाईँको स्क्रिप्टेड उत्तर : एकदम मलाई कुनै समस्या छैन ।
तर ऊसँग चिया पिउन जानुअघि तपाईँलाई उसले आफ्ना केही सर्तहरू भएको बताउनेछे । सर्तहरू तिनै हुनेछन्
जुन मसँग पहिला भेटेका पात्रहरूले राखेका थिए । जस्तो कि
सर्त नं. १ : बिहानी पखको ४ नबज्दै तपाईँले उसलाई त्यही रूखको त्यही हाँगामा उसैगरी झुन्ड्याएर जानुपर्ने र
सर्त नं. २ : चिया पनि उसले रोजेको क्याफेमै गएर पिउनुपर्ने ।
तपाईँ उसका सर्तहरूमा मन्जुरी जनाउनुहुन्छ । उसले तपाईँलाई बीच बजारबाट अँध्यारो गल्ली नै गल्लीको बाटो हुँदै
एउटा अन्डरग्राउन्ड क्याफेमा लिएर जानेछे । त्यो त्यही क्याफे हुनेछ जुन क्याफेमा म एकपटक बन्दीसँग र एकपटक
बेश्यापुरुषसँग गरी दुईपटक आएको थिएँ । तपाईँ अब क्याफेको इन्ट्रान्समा पुग्नुहुनेछ जहाँ बुद्धको ठुलो भित्तेमूर्ति
राखिएको छ । धन्यवाद प्रिय पाठक ।
तपाईँ अब यतै पर्खिनुहोस् । किनकि तपाईँमात्र अब यस्तो व्यक्ति हुनुहुन्छ जसलाई यो सब चक्रव्यूह थाह छ र यदि
म साँच्चिकै कुनै सीमित समयको चक्रमा वा कुनै अज्ञात भुमरीमा फसेको रहेछु भने तपाईँमात्र एउटा सक्षम पात्र
हुनुहुन्छ जसले मलाई यहाँबाट निकाल्न मदत गर्नेछ । क्याफेभित्र स्त्रीको लाससँग म अब आफैँ गफिन जान्छु किनकि
मलाई तपाईँको मदतको खाँचो छ । तपाईँ क्याफेबाहिरै बसेर अब हाम्रो हर्कतमाथि नजर राख्नुहोस् र आवस्यक
परेमा मलाई मदत गर्नुहोला । हैन अल्छी लाग्यो भने तपाईँ फर्किन पनि सक्नुहुन्छ ।
अब मरिसकेको मान्छे न त स्त्री रह्यो न त पुरुष त्यसैले मैले उक्त स्त्रीको लासलाई म लास मात्र भनेँ । स्त्रीको
लास र म खुरुखुरु भित्र पस्यौँ । ऊ त्यही कार्लमार्क्सको तस्बिरअगाडि बसी । म पनि त्यतै बसेँ । धेरैबेर हामी
उसैगरी मौन बसिरह्यौँ । मैले यो मौनता तोड्न खोजेँ र फेरि चिच्याएँ – “वेटर”

कोही बोलेन । ऊ उसरी नै मुसुमुसु हाँस्न थाली जसरी वेश्यागामी पुरुष र बन्दी प्रस्तुत भएका थिए । यहाँ कोही वेटर छैन ।
न त यस क्याफेको साहुजीलाई नै कसैले चिनेको छ । के खान मन छ आफैँ बनाएर खाँदा हुन्छ महोदय । किचेनभित्र
छ, भनेर लासले यसरी नै उत्तर फर्काई । हामी किचेनभित्र पस्यौँ ।
मैले चिया पकाएँ । उसले अलिकति पपकर्न फुराई र फ्रेन्च फ्राई नै बनाई । हरेक पात्रले पपकर्न फुराएर फ्रेन्च फ्राई
नै किन बनाइरहेका छन् र मलाई यही क्याफेमा मात्र किन ल्याइरहेका छन् । यो आफैँमा एउटा खुलदुली थियो ।
त्यसपछि हामी फेरि उसरी नै कार्ल मार्स्कको त्यो विचित्र तस्बिरअगाडि त्यही ठाउँमा आएर बस्यौँ । धेरैबेर हामी
केही पनि नबोली एकअर्कालाई हेर्दै चिया घुट्क्याइरह्यौँ । तब म उसलाई केवल एउटै प्रश्न गरेँ किनकि उसले
मलाई सर्त राखेर आखिर एउटै प्रश्न गर्न दिनेछे भन्ने कुरो अब तपाईँले पनि थाहा पाइसक्नुभयो होला, मलाई पनि
ज्ञात भैसकेको थियो ।
तपाईँले यस्तो कलिलो उमेरमा किन आत्महत्या गर्नुभयो ?
उसले सुटुक्क गोजीबाट एउटा फोटो निकाल्छे र मतिर फर्काउँछे । यी यो मान्छेले मलाई जबरजस्ती वेश्यालयमा
ल्याएर बलात्कार गरेको थियो । अब तपाईँले कल्पना गरिसक्नुभयो होला कि त्यो फोटो कसको होला ?
अवश्य पनि त्यो वेश्यागामी पुरुष जसले बन्दीको हत्या गरेको दाबी गर्थ्यो उक्त फोटो उसैको हुनुपर्ने हो किनकि मैले खुद
आफ्नै आँखाले वेश्यालयको अन्तिम कोठीमा वेश्यागामी पुरुष र अहिले मलाई फोटो देखाउँदै गरेकी केटी सम्भोग गरिरहेको
भेटेको थिएँ तर माफी पाऊँ प्रिय पाठक उक्त लासले देखाएको तस्बिर वेश्यागामी पुरुषको थिएन । त्यो फोटो त्यही बन्दीको
थियो जोसँग म पहिलोपटक यही क्याफेमा चिया पिएर गएको थियो । तब म एकदम मौन र सोचमग्न भएँ,
“हैन यो कसरी सम्भव छ ? वेश्यागामी पुरुष दाबी गर्छ कि उसले बन्दीको हत्या गरेको हो तर बन्दी जिउँदै छ । बन्दीलाई मैले चिया पिलाएर सकुशल कारागार छोडेको छु । आत्महत्या गरेकी स्त्रीको लासले दाबी गर्छ कि बन्दीले उसको बलात्कार
गरेको हो तर उसलाई बलात्कार गर्ने वेश्यागामी पुरुष हो । जुन घटना मैले आफ्नै आँखाले देखेको छु र बन्दी कसैलाई
बलात्कार गरेको भ्रममा छ र ऊ कारागारभित्र छ र बन्दीले देखाएको फोटोजस्तै अनुहार भएको कोही पनि स्त्री छैन
वा मैले भेटेको छैन ।” एकछिन त लाग्यो कि सबै व्यर्थ भ्रममा छन् र लाग्यो उनीहरूमध्ये को पीडित हो र कसले कुन
अपराध गरेको हो भनेर सबैलाई सम्झाइदिऊँ तर फेरि नदुख्ने टाउको डोरी लगाएर किन दुखाउनु भनेर चुप लागेँ।
मैले चुपचाप यो पूरै कहानीलाई एकटकले सम्झन खोजेँ । म हरेक पात्रसँग रातिको ११ बजे नै भेटेको थिएँ । हरेकले
उस्तै सर्तहरू राखेका थिए, एउटै क्याफेका लिएर गएका थिए, सबै पात्रले क्याफेमा पपकर्न र फ्रेन्च फ्राइ नै बनाएका थिए र अरू पनि उस्तै समान व्यवहार देखाएका थिए र म उनीहरूले भनेअनुसार मात्र चल्दै थिएँ सायद त्यसैले म यसरी एउटा चक्रभित्र फसेको पो हुँ कि ? यतिबे ला बिहानी पखको ३ बजिसकेको थियो । अब लासको सर्तअनुसार मैले ४ नबज्दै उसलाई त्यही पीपल बोटको हाँगामा उसरी नै झुन्ड्याइदिनुपर्ने थियो तर मैले यदि उसको सर्त मानिनँ भने ?
तब दिमागमा एउटा जुक्ति आयो र मैले गरिरहेको हरेक काम विपरीत गर्ने सुर चल्यो । जस्तो कि म
क्याफेको बिल तिर्दिनँ । स्त्रीको लासलाई त्यतै क्याफेमा छोड्छु र उसको सर्त मान्दिनँ । म निक्लिनुपर्ने एक्जिट गेट (
जहाँ हिटलरको सालिक थियो) भएपनि म बुद्धको भित्तेमूर्ति भएको इन्ट्रान्स गेटबाट बाहिर निक्लिएँ र आफूलाई
आफ्नै घरको गेट बाहिर बिहानै ५ बजे डोरबेल बजाउँदै गरेको अवस्थामा पाएँ ।
म किन एक्कासि यहाँ आइपुगेँ केही थाहा छैन तर आमा आँखा मिच्दै दूध थाप्ने भाडो ल्याएर ढोकामा देखिनुभयो ।
सायद घण्टी बजाउने मलाई दूधवाला सम्झिनुभएछ क्यारे । मलाई देख्नेबित्तिकै भाँडो त्यतै बजारेर गनगन गर्दै भित्र
पस्नुभयो । त्यतिन्जेल बा पनि उठिसक्नुभएछ, मलाई देख्नेबित्तिकै तीन दिनसम्म
कसैलाई खबरै नगरी कहाँ गएको थिइस् ? छोरो ठुलो भयो थाहा पाउँछौ तर बाहिर जाँदा खबर गर्नुपर्छ । बाआमालाई चिन्ता हुन्छ भनेर थाहा पाउनुपरेन अब यो जोगीले भनेर प्रश्न प्रहार गर्नुभयो । त्यसपछि बाआमा दुवै कराउन थाले । म केही नबोली सुटुक्क आफ्नो कोठामा छिरेँ नत्र अब के उत्तर दिनु जो खुद मलाई थाहा छैन कि यी तीन दिन, तीन रात बरु म
कहाँ थिएँ । के साँच्चिकै तीन दिन म घरमा थिइनँ त ? केवल ती भेटेका पात्र र क्याफे यस्तै यस्तै मात्र याद छ ।
आखिर म तीन दिन कहाँ थिए होला ? दिनभरि यही सोच्दै रन्थनिएँ ।
साँझको ८ बजेको थियो म एउटा कथा लेख्न बसेको थिएँ । त्यही बेला कसैले पटक-पटक डोर बेल बजायो। लेख्न
लागेका बेला डोर बेल बजाएर डिस्टर्ब गर्ने को होला भनेर झनक्क रिस उठिरहेको थियो । आमाले ढोका खोल्नुभयो,
सामुन्ने प्रहरीहरू थिए । म भित्रैबाट सुनिरहेको थिएँ । प्रहरीले दुईवटा फोटा देखाउँदै ममाथि एउटा व्यक्तिको हत्या
र एउटा स्त्रीको बलात्कार गरेको आरोप भएको र मलाई पक्राउ गर्न आएको बताए । फोटो त्यही मैले भेटेको बन्दी
र आत्महत्या गरेकी स्त्रीको थियो जसलाई मैले वेश्यालयमा भेटेको थिएँ । मलाई प्रहरी चौकी लगेर सोधपुछ गरियो ।
स्त्रीको बलात्कार त्यो वेश्यागामी पुरुषले गरेको थियो । बन्दीको हत्या गरेको दाबी गर्ने पनि त्यही वेश्यागामी पुरुष हो तर बन्दी जिउँदै छ र उसलाई मैले सकुशल कारागार पुऱ्याएको छु । यी हरेक मान्छे भ्रममा छन तपाईँले गलत मान्छेलाई
आरोप लगाउनुभयो भनेर मैले प्रहरीलाई पटक-पटक त्यही बयान दिएर कन्भिन्स गर्ने कोसिस गरिरहेको थिएँ तर कसैले
मेरो कुरा स्विकारेनन् वा स्विकार्न सकेनन् तर चरमयातनापछि पनि मेरो बयान नबदलिएपछि मलाई मेरै बयान
अनुसारका स्थानमा लिएर गइयो । सर्वप्रथम हामी कारागार गायौँ किनकि मैले भेटेको पहिलो पात्र बन्दी थियो ।
कारागारको त्यही अन्तिम कोठामा पुग्दा बन्दीकोठा खाली थियो । जेलरसँग सोधपुछ गर्दा करिब ५
वर्षदेखि त्यो कोठामा कोही पनि बन्दी छैन भनेर अप्रत्यासिलो उत्तर फर्कायो । दोस्रो स्थान वेश्यालय भएको ठाउँमा
पुग्यौँ तर त्यहा वेश्यालय हुनुपर्ने ठाउँमा देवीको मन्दिर थियो र अन्तिममा क्याफे भएको ठाउँमा एउटा
विद्यालयको भवन थियो । हैन रातारात यो परिवर्तन कसरी भयो । प्रहरीहरूका लागि मलाई झुटो साबित गर्न
यति प्रमाण काफी थियो र अन्त्यमा मलाई अदालतमा पेश गरियो र मृत्युदण्डको फैसला सुनाइयो
र आज म स्वयं त्यही कारागारको अन्तिम कोठामा फाँसीको सजाय कुरेर बसेको छु जुन कोठाभित्र मैले पहिलो पात्र
बन्दीलाई भेटेको थिएँ । भोलि बिहान ४ बजे मलाई फाँसी दिइनेछ र म आफूले ती तीन दिन आखिर कहाँ बिताएँ ?
के यी सबै घटनाहरू एकैरातका नभएर म हराएको ती तीन फरक रातका थिए होला त ? के ति सबै पात्रहरू
काल्पनिक थिए होलान् त ? के मैले साँच्चिकै एउटा स्त्रीको बलात्कार र एउटा पुरुषको हत्या गरेकै हुँ त ? कि त म
कुनै ह्यालुसिनेसन वा मनोवैज्ञानिक रोगबाट ग्रस्त छु र त्यो तीन दिनको स्मरण गुमेको छ ? यदि हो भने पनि त
मसँग आफू मानसिक रूपमा अस्वस्थ भएको देखाउने कुनै प्रमाण पनि त छैन ।
मतिष्कभरि यस्तै प्रश्नहरू मात्र कुदिरहेका छन् । यतिबेला रातिको ११ बजेको छ र कारागारका सबै बन्दीहरू मस्त
निदाइसके । सम्पूर्ण बन्दीकोठाहरूका ढोका खुल्लै छन् र कारागारबाहिर कोही आएर पहरेदारी गरिरहेका दुई प्रहरी
जवानहरूसँग केही सोधिरहेको छ – “चिया खानुहुन्छ ?”
उसको यो प्रश्न कतै नठोक्किएर सुटुक्क मेरो कानमा पर्छ । कारागारभित्र ममात्र एक्लै जाग्राम बसेर मैनबत्तीको
उज्यालोमा केही लेखिरहेको छु र यति बेला एक्कासि कोही सरासर कारागारभित्र छिर्छ र म बसेको अन्तिम कोठाका
सामुन्ने प्रस्तुत हुन्छ र शान्त स्वरमा प्रश्न गर्छ
“चिया खानुहुन्छ ?”

 

कालकोट , कर्णाली