भरखर अठारौँ वसन्तका पाइलामा टेकेकी उनी सानै त थिइन् । उनी आफ्ना पुट्ट परेका पेटलाई
छाम्दै र हेर्दै आफैँ छक्क पर्थिन् । हिजोभन्दा आज, आजभन्दा भोलि उनको गर्भ बिस्तारै बढ्दै
थियो । पेटको बढाइलाई देखेर मनमनै उनी सोच्थिन्, “के म यो बच्चालाई जन्म दिन सकुँला ?”
बेडमा यसो पल्टिँदा पनि आफ्ना बुढालाई त्यही कुरा गर्थिन् उनी । बुढाले भन्थे, “बच्चा त सानो
जन्मिन्छ । बाहिर निस्केपछि पो फुक्ने हो त ।”
आफ्नी बुढी आत्तिएली भनेर हरेकपटक यस्ता प्रकारका आश्वासन दिइराख्थे, उनी केही
नजानेजस्तो गरी मुसुक्क हाँसेर बुढाका कुरा त्यही हाँसामा विलीन गराइदिन्थिन् ।
डाक्टरले भनेको प्रसवको दिन पनि नजिकिँदै गइरहेको थियो । उनलाई अचम्म लाग्थ्यो ।
डाक्टरलाई कसरी थाहा हुन्छ होला ? यही दिन बच्चा जन्मन्छ भन्ने ? नियम त प्रकृतिको हो,
कस्तो विचित्र विज्ञान ? डाक्टरले त खालि त्यसको ज्ञान लिएका न हुन् । गर्ने आखिर प्रकृति न
हो ।
अब केही सङ्केत देखिएमा सिधै अस्पताल आउन डाक्टरले भनेका थिए तर शरीरमा त्यस्ता
प्रकारका कुनै सङ्केत नै आएनन् । डाक्टरले दिएको मिति पनि नाघेका कारण अब भएन
अस्पताल जानुपर्यो भनेर साथीलाई लिएर प्रसूतिगृह थापाथलीमा पुगिन् उनी अनि आफूले
नियमित देखाइरहेको डाक्टरको खोजी गर्न थालिन् । धुइँपत्ताल गरेर खोज्दा के थाहा लाग्यो
भने आफूले क्लिनिकमा धाइधाइ गएर चेकअप गराएको डाक्टर त उच्च अध्ययनका लागि
बङ्ग्लादेश गइसकेकी रहिछिन् । पहिले देखाउँदा त्यसरी बाहिर जाने बेला अर्को डाक्टरलाई
नियमित देखाउने बन्दोबस्त मिलाइदिने कुरा भएको थियो तर त्यतिबेला त्यहाँ कसैले
जिम्मेवारी लिएन । कम्तीमा आफूले देखाइरहेको डाक्टर लामो समय बाहिर जाँदा
उनले हेरेका बिरामीलाई कोही अर्को डाक्टरले हेर्ने गरी व्यवस्था गरिदिएको भए सहज हुन्थ्यो ।
यो पनि डाक्टरको कर्तव्य हैन र ? विवश उनी अब कसलाई भेट्ने, के गर्ने अन्यौलमा परिन् ।
त्यत्तिकैमा साथीले भनिन्, “जसको डिउटी छ उसलाई भेटौँ । यहाँ आउने सबैले डाक्टरलाई
चिनेकै हुनुपर्छ भन्ने के छ र ? उनीहरूको काम नै यही हो ।” त्यति कुरा पनि उनका दिमागमा
आएनन् साथीको साथ भनेको पनि यही रहेछ क्यार ! तनावमा त ससाना कुरा पनि दिमागमा नआउने,
त्यहीँ भएका अर्का डाक्टरसँग भेट गरेर सरसल्लाह गर्दा डाक्टरले उनलाई अब तपाईँ भर्ना
हुनुपर्छ भन्ने सल्लाह दिए र उनी भर्ना भइन् ।
भोलिपल्टबाट उनको उपचार सुरू भयो । उनलाई प्रसवकक्षमा लगियो । सलाइन पानीमा व्यथा
लगाउने औषधि हालेर दिन सुरु गरियो तर उनलाई त्यस औषधिले पटक्कै छोएन ।
बेला-बेलामा नर्सहरू आएर हेर्थे तर ऐय्याआथ्था गर्नु त कता हो कता उनी त झन् मस्त निदाइरहेकी
हुन्थिन् । डाक्टरहरू पनि छक्क पर्थे । खासखुस गर्थे र भन्थे, “मान्छे त सानै छिन् !
यस्तो औषधि पनि यसै पचाइन् है ।”
त्यो दिन त्यत्तिकै बित्यो । भोलिपल्ट एक दिन आराम गर्न लगाएर फेरि पर्सिपल्ट डबल डोज औषधि चलाउने सल्लाह डाक्टरहरूले गरे । अरू महिलाहरू आउँदै, बच्चा जन्माउँदै जाँदै गरेका थिए । यस्तो फटाफट आउने जाने क्रम
चलिरहेको थियो । उनको भने बच्चा जन्मिने अत्तोपत्तो केही नहुँदा आफ्नी आमासँग रुँदै भन्थिन्,
“ मेरो त बच्चा नै जन्मिँदैन कि के हो ?” आमा सान्त्वना दिँदै भन्थिन्, “जन्म र मृत्यु हाम्रो हातमा
हुन्न नि छोरी, जसलाई जुन समयमा जन्मनु छ समय आएपछि जन्मिहाल्छ नि ।”
हुन त अचेल यो कुरा लागु हुन्न, महिना पुगेपछि आफूलाई जहिले मन लाग्छ त्यही बेला झिक्ने प्रचलन
पनि छ । प्रसवको पीडा पनि नहुने, क्या आनन्द ।
त्यसपछि तेस्रो दिन उनलाई प्रसव कोठामा लगियो । त्यहाँ उनीजस्तै अरू पनि थुप्रै दिदीबहिनीहरू
प्रसवका पीडाले कोही रुने, कोही छटपटाउने र कोही चिच्याउने गरिरहेका थिए ।
सुरुमा अरूलाई देखेर उनको मुटु ढक्क फुल्यो तर अरूलाई नै देखेर अलिकति भए पनि उनमा
आँटचाहिँ पलाएको थियो ।
डबल डोज औषधि चलाउने सल्लाह भएबमोजिम सलाइन पानीमा हालेर औषधि चलाइयो ।
बिहान सात बजे सुरु भएको त्यस औषधिले दश मिनेट नपुग्दै असर गर्न थाल्यो । अनि उनी
प्रसवका पीडाले छटपटाउन थालिन् ।
बेलाबेलामा उनका आमा, बहिनी र नन्द आएर उनलाई भेट्थे र उनको छटपटी पीडा देखेर आफैँ
आँखाबाट आँसु झार्दै यसरी निस्कन्थे मानौँ त्यो पीडा बाँड्न मिल्ने भए बाँड्थे होलान् ।
अस्पतालको व्यवस्थापन पनि कस्तो ? त्यस्ता पीडाका बेलामा पनि बिरामीलाई पिसाब फेर्नका
निमित्त न त बेडमा प्यान थियो न त अरू केही व्यवस्था ! सकी नसकी आफ्नो सलाइन आफैँ
बोकेर बाथरुम जानु पर्ने, त्यो पनि अलि टाढै । त्यस्ता अवस्थामा बिरामी लडेर केही भए
कसको जिम्मा हो कुन्नि !
फेरि त्यहाँ काम गर्ने कुनै-कुनैका तुच्छ वचन कस्ता हुन्थे भने मानौँ उनीहरू त्यहाँ आफ्ना सन्तान
जन्माउन नगएका भएर कुनै अघोर पाप गरेर गएका हुन् जस्तो ।
लगातार आठ घण्टाको पीडापछि उनले बाथरुममा जाँदा पिसाबबाट रगत गएको देखिन् । उनी
डराइन् अनि फर्केर आई डिउटीमा भएकी नर्सलाई आत्तिँदै भनिन् “मेरो त ब्लिडिङ भयो,
मलाई धेरै गाह्रो भयो ।”
उनलाई आँखा तरेर ओठे जबाफ लाउँदै भनियो “सजिलै बच्चा पाउने भए त जस्ले पनि पाउँथ्यो ।”
बिचरी उनीसँग केही शब्द नै थिएनन् । केही बेरमा नै एक जना डाक्टर राउन्डमा टुप्लुक्क आइपुगिन् ।
पसिनाले चिटचिट भएकी उनले चिच्याउँदै हातका इसाराले बोलाउँदै भनिन्, “डाक्टर साब! मलाई
गाह्रो भयो, मेरो ब्लिडिङ भयो ।” डाक्टरले हत्तपत्त आएर उनको जाँच गरिन् र स्टाफलाई गाली
गर्दै भनिन्, “बच्चा जन्मने बेला भैसक्यो के हेरेर बसेको तिमीहरू ? ल ल लगिहाल डेलिभरी
वार्डमा !”
उनी सानै भए पनि कसैसँग नडराउने थिइन्, यस्ता बेलामा पनि आँटै गरेर रुँदै भनिन्, “मैले त
अघि नै मलाई गाह्रो भयो भनेको डा साब, यिनीहरूले टेरेनन् र उल्टै मलाई बेसरी हपारे ।”
उनको अनुहार रुन्चे भयो ।
त्यत्तिकैमा एक जना सहायकले ह्विल चेयर लिएर आए र सबै मिलेर उनलाई कुदाउँदै डेलिभरी
वार्डमा लगे । उनको प्रसव पीडा झन् झन् बढ्यो ।
**
नर्सहरूले ‘बल गर्नु न बल’ भन्थे तर उनले जति बल गरे पनि उनको बलले बच्चा जन्माउन
सकेको थिएन । सायद उनीहरूले तिनको अवस्था बुझिसकेका थिए । एक छिनपछि उनले
च्यारच्यार गरेको आवाज सुनिन् । वास्तवमा त्यो बेहोस गर्ने औषधि नदिईकन उनकै शरीरमा
चक्कु चलाइएको आवाज थियो तर प्रसवको पीडाका अगाडि उनलाई त्यस पीडाको पत्तो नै
भएन ।
त्यति गर्दा पनि बच्चा नजन्मिएपछि नर्सहरूले एक प्रकारको यन्त्रले तानेर (भ्याकुम गरेर) बच्चा
जन्माउने निधो गरे । पहिलोपटक भ्याकुम प्रयोग गरियो, बच्चा निस्केन, दोस्रोपटक उनीहरू
फेरि भ्याकुम लगाउन तयार भए । उनीहरूले भने “अब त बेसरी बल गर्नु है, नत्र तपाईँको बच्चा
मर्छ ।”
त्यस्ता पीडाका अवस्थामा ती शब्दले उनलाई झन् आघात पुर्याए । त्यस्ता बेलामा त मायाँ र
ममताको पो खाँचो हुन्थ्यो! त्यही कुरा राम्रा शब्दले र घुमाउरो तरिकाले भनिदिएका भए कति
ढाडस पाउँथिन् उनी र उनीजस्ता धेरैले ।
एक त त्यस्तो प्रसवको पीडा, त्यसमाथि त्यस्ता वज्रपातजस्ता वचन ? लाचार उनले हस् भन्दै
अझै सकेको बल लगाइन् ।
त्यसका एक छिनपछि भने ‘चिहाँ चिहाँ’का अवाज उनका कानमा पर्यो । नर्सले दुईवटा खुट्टा
तुन्द्रुङ्ग पार्दै उल्टो झुन्ड्याइएको रगतले लतपतिएको बालक देखाउँदै भनिन् “ल बधाई छ,
छोरा जन्मियो” ।
बच्चाको त्यो कोमल रुवाइका आवाजमा उनले सबै पीडा बिर्सिन् । त्यसपछि भने उनी पूरै
शिथिल भइन् । न उनको बोली थियो न उनमा कसैलाई दुखेसो गर्ने भाव थियो, थिए त केवल
आँखाबाट सललल बगिरहेका आँसुहरू ।
डेलिभरी गराउने टोलीले, “ब्लिडिङ् भैरहेको छ पहिले खाजा खाएर आऊँ अनि आएर स्टिच
गरौँला” भन्दै उनलाई यसै लठाभद्र छोडेर गए ।
उनी शिथिल अवस्थामा नै थिइन् । सायद धेरै रगत बहेर होला, शिथिलता बढेकै थियो तर
कता कता एउटा बालक रोएको रोयै गरेको आवाजले उनलाई झिँझो लागिरहेको थियो । उनले
चारैतिर हेरिन् । अलि टाढाको बेडमा एउटा बच्चा नाङ्गो अवस्थामा हात गोडा फालीफाली
चिच्याएर रोइरहेको थियो । रुँदारुँदै निलो भएको बच्चालाई उनी बारबार हेर्थिन् र सोच्थिन्
‘हरे यो बच्चा कसको होला, किन यसरी नाङ्गै राखेका होलान् । निकै बेर आँखा तानेपछि त्यहाँ
एक जना साफसफाइ गर्ने सहायक दिदी आइपुगिन् । उनले सोधिन्, “कस्को बच्चा हो त्यो, रोएको
रोई गरिरहेको छ अघिदेखि ?” सहायक दिदीले भनिन्, “लौ, तपाईँकै बच्चा त हो नि !”
अहो ! अनि उनले भक्कानिँदै र रुँदै भनिन्, “बाहिर मेरा मान्छेहरू छन्, लौ न दिदी, कपडा मागेर
ल्याइदिनू । यसरी नाङ्गै त मेरो बच्चा बिरामी भइहाल्छ नि!” दिदीले ‘हस्’ भनेर टाउको
हल्लाउँदै हत्तपत्त बाहिर गएर कपडा मागेर ल्याई बेरबार पारिदिइन् । सायद न्यानो भएर
होला, उनको छोरा केही बेरमै मस्त निदायो ।
यता उनलाई भने रक्तस्राव रोकिएकै थिएन, निकै बेरपछि त्यहाँ सेतो कोट लगाएका एक जना
पुरुष आए । तिनी को थिए, के थिए उनलाई केही थाहा थिएन ।
तिनले बिस्तारै कुरा गर्न सुरु गरेका थिए ‘कुन बच्चा? घर कहाँ ?’ आदि । अनि एकछिनमा भने
‘म तपाईको स्टिच गर्छु ल’ शिथिल उनले बिस्तारै टाउको हल्लाउँदै सहमति दिइन् । त्यसपछि
आफ्ना सीपयुक्त सफा हातले मन भुलाउने मिठामिठा कुरा गर्दै राम्ररी स्टिचको काम सकेर ती
पुरुष गए ।
खाजा खान गएका टोली त्यसपछि मात्र बल्ल ढल्कँदै आए अनि बिरामीलाई हेर्दै भने, “अझै छ
हो ब्लिडिङ त, एक छिन हेरौँ अनि माथि लैजाउँला” । अनि उनीहरू आफ्ना काममा लागे ।
करिब एक घण्टापछि मात्र एक जनाले ह्विल चेयर ल्याउँदै र अर्कीले बच्चा बोक्दै “अलिअलि
ब्लिडिङ त भैहाल्छ नि, अब बेडबाट ओर्ल नानी, माथि क्याबिनमा जाम्” भन्दै उनीहरूले लिएर
गए ।
त्यस कोठाबाट बाहिर निस्कँदा लावालस्कर लागेर कुरिरहेका आफ्ना मान्छे देखेर उनी मुसुक्क
मुस्कुराइन्, मानौँ ठूलै लडाइँ जितेर आएकी थिइन् ।
नन्दले जिस्क्याउँदै भनिन्, “भाउजू हाँस्दै आउनुभो, ल ल! छोरा पाएर होला! बिचरी नन्दलाई
के थाहा घण्टौँका सङ्घर्षपछि आफ्ना मान्छेलाई देख्नुको आनन्द कस्तो हुन्छ भनेर ।
सबैले बच्चाका अनुहारमा चियाउँदै थिए, कोही लिन खोज्दै थिए, बच्चा बोक्ने टोलीचाहिँ भन्दै
थिए, “दक्षिणा नहाली कहाँ नयाँ मान्छेको अनुहार हेर्न पाइन्छ ?” उनीहरूको कमाउने पालो न
थियो ।
क्याबिनमा पुगेपछि पालैपालो सबैले पैसा राखेर नयाँ मान्छेको अनुहार हेर्दै थिए । ती
महिलाहरू भने भ्याई नभ्याई पैसा बटुल्दै थिए । त्यो देखेर बच्चाकी आमा भने मनमनै सोच्दै
थिइन्, “दुख गरेर जन्माउने म, यिनका भने….!”
उनका देवरले मासु र भात पकाएर ल्याएका थिए, आफ्नी प्यारी भाउजूलाई खुवाउन तर
उनलाई भने असह्य पीडा भइरहेको थियो । सब जना आआफ्नै अडकल लगाएर भन्दै थिए,
“बिहानदेखि अन्न मुखमा परेको छैन, ग्यास्ट्रिक भयो होला, त्यसैले पेट दुखेको । केही तातो
खाँदा अलिकति ठिक हुन्छ” भन्दै थिए तर उनले खान सके पो खानु ? एक दुई चम्चा खाएपछि
खानै सकिनन् ।
तर उनलाई भने फेरि दुख्न सुरु भएको थियो र हेर्दाहेर्दै फेरि पेट पनि फुल्दै आएको थियो । अब
भने सबै छटपटाउन थालेका थिए । छोरीको त्यस्तो अवस्था देखेर आमा छटपटिँदै रुँदै बाहिर
निस्किन् । यत्तिकैमा आमाले चिनेकी एक जना वरिष्ठ डाक्टर टुप्लुक्क त्यहाँ भेटिइन् । डाक्टरले
सोधिन्, “डेलिभरी भयो हैन, कस्तो छ तिम्री छोरीलाई ?”
आमाले भक्कानिँदै रुँदै डाक्टरसित भनिन्, “मेरी छोरी त मर्ने भई डा.साब ।” डाक्टरले सान्त्वना
दिइन् र “लौ, किन त्यस्तो भनेको ? नआतिऊ, म हेरिदिन्छु” भन्दै आमा सँगसँगै क्याबिनमा
पसिन् ।
डाक्टरले सबैलाई बाहिर जान भनिन् र उनलाई स्टिच गरेका ठाउँमा फेरि जाँचिन् । त्यो पीडा
सहन नसकेर उनी फेरि मूर्च्छित भइन् ।
ती डाक्टरले त्यहाँका अरू कर्मचारीलाई हपार्दै भनिन्, “यस बिरामीलाई कसले माथि ल्याएको
? राम्ररी सफा नै भएको छैन । तुरुन्तै अपरेसन थिएटर लैजाऊ म आफैँ सफा गरिदिन्छु” फेरि
स्ट्रेचरमा राखेर उनलाई कुदाउँदै ओटीमा लगियो ।
एकछिन वातावरण स्तब्ध भयो । उनका परिवारका सदस्यहरू बच्चा काखमा लिँदै डाँको छोडर
रुन थाले, अवस्था यस्तो देखियो कि मानौँ अब उनी कहिले फर्केर आउँदिनन् ।
करिब चार घण्टाको उपचारपछि आधी बेहोस अवस्थामै उनलाई क्याबिनमा फर्काएर ल्याइयो
। सबैले लामो सास ताने र उनलाई सुमसुम्याए । काल ढोकामै आएको थियो सायद तर उनकी
आमाको उनीप्रतिको ममता र उनको आफ्नो बच्चाप्रतिको ममताका अगाडि त्यसको केही लागेन
र फर्केर गयो ।
भोलिपल्ट बिहानीको मिर्मिरेमा उनलाई बल्ल होस आयो । उनको पहिलो वाक्य नै, “खै मेरो
बाबु” थियो । नातिलाई बेग्लै सम्हाल्दै छोरीको जीवनका लागि रातभरि कुरेर प्रार्थना
गरिरहेकी आमाले, “आँखा खोल्न पाएकी छैन, आफ्नो अवस्था यस्तो छ, उसलाई बाबु चाहियो,
ल ला तेरो बाबु” भन्दै उनका काखमा काखैभरिको घुतुमुने छोरा राखिदिइन् ।
उनले आफ्नो छोराको कोमल अनुहारलाई हेरिन् । उनका आँखाबाट तप्प दुई थोपा आँसु झरेर
छोराका गालामा तप्प खसे । बच्चाले झसङ्ग हुँदै पहिलोपटक आँखा खोलेर आफ्नी आमाका
मुहारमा पिलिक्क हेर्यो । आमा भने छोराका कोमल औँलाहरू सुमसुम्याउँदै एउटा नयाँ सपनाको
सुन्दर संसारमा पुगिन् ।
**
भैँसेपाटी, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।