सगरमाथा माविका सहायक हेडसर टीकाराम अर्याल आफ्नो कर्याकक्षामा बसेर केही गर्दै थिए । हेडसरले केही दिनअघि काजबाट बिदा मागेका थिए । दैनिक विद्यालय सञ्चालनको जिम्मेवारी टीकाराम सरको काँधमा थियो ।
केही छिनमा हस्याङफस्याङ गदै स्कुलको पिउन देखा पऱ्यो । “केटाहरूको लाप्पा पऱ्यो, सर । अब कसो गर्ने होला ?” पिउन हर्कबहादुर निकै आत्तिएको देखिन्थ्यो ।
टीकाराम सरले खुइय्या गर्दै सोधे, “को–को केटाहरू हुन्, लाप्पा खेल्ने?”
हर्कबहादुरले थाहा नभएको भावमा टाउको हल्लायो ।
टीकाराम सरले रुद्र सरलाई अनुरोध गरे, “लौ न सर ! यसो गएर हेर्दिन पऱ्यो, को केटाहरू रहेछन् ।” रुद्र सर गणित पढाउँथे र विद्यालयका खेलकुद गुरु पनि थिए । कडा शिक्षक भनेर विद्यार्थी माझ चिरपरिचित थिए । केटाहरू रुद्र सरसँग केही हच्कन्थे ।
रुद्रसरले एकैछिनमा कक्षा आठको नरेश राईलाई कानमा समातेर ल्याए । सँगै हर्कबहादुर र एकहुल विद्यार्थीहरू छिरे । टीकाराम सरको टेबलअगाडि, हातमा चप्पल पहिरिएर नरेश राई, खालीखुट्टा उभिएको थियो । नरेश विद्यालयमा छुल्याहा विद्यार्थी भनेर कुख्यात थियो । उसका हिसाबले ऊ विद्यालयको एक मात्र “दादा” थियो । धेरैपटक फेल भएकाले आठ कक्षाको विद्यार्थी भए पनि उमेरमा निकै छिप्पिएको थियो । विद्यार्थीमात्र होइन, शिक्षकै पनि नरेशसँग डराउँथे ।

नरेश टीकाराम सरसँग एकरति डराएको देखिन्नथ्यो । टीकाराम सर माया गर्ने शिक्षकका रूपमा विद्यार्थीमाझ स्थापित थिए । उनी विद्यार्थीलाई कुटेर होइन माया गरेर सम्झाउनुपर्छ भन्थे ।
के भइरहेको छ हेर्न विद्यार्थीका उत्सुक आँखाहरू अफिसको ढोका साथै वरिपरिका झ्यालमा टाँसिएर चियाइरहेका थिए  । सबैका आँखा टीकाराम सरमा गएर अडिएका थिए ।
टीकाराम सरले नरेशलाई खेरे, “यी केटाहरूलाई किन कुटिस् भन् ?”
“मलाई नोट सार्न दिएनन्, त्यसैले !” नरेशले भन्यो ।
कुटाइ खाने केटाहरू लगत्तै कराए, “होइन सर, यसले हाम्रो नोट नै च्यातिदियो ।”
नरेशले केटाहरूलाई आँखा तऱ्यो । सरहरूका अगाडि उसले कुट्दैन बुझेका केटाहरूले आँट गरेर थपे, “ यो नरेश दादा पल्टिन खोज्छ, सर । आफ्नो नोट आफैँ बनाए भइगो नि । दिएन भन्दैमा खोसेर च्यात्ने !”
कसैलाई कुटेको निहुँमा अफिसमा ल्याइनु नरेशका लागि कुनै नौलो कुरो थिएन । ऊ धेरैपटक यसरी ल्याइएको थियो । लगभग सधैँ उसकै गल्ती ठहरिन्थ्यो र बाहिर अरूलाई कुटेबापत अफिस कोठाभित्र उसले हेडसरको दरो कुटाइ खान्थ्यो । आज हेडसर थिएनन् । टीकाराम सरले नरेशलाई कसरी सजाय दिने हुन्, हेर्न सबै प्रतीक्षारत थिए । यस्तो लाग्थ्यो यो टीकाराम सरको परीक्षा हो । केही महिनाअगाडि मात्र साहायक हेडसर भएका टीकाराम सरले वरिपरिको परिस्थितिलाई नियाले । शिक्षकहरूको अनुहारमा टीकाराम सरप्रति अविश्वास प्रस्ट देखिन्थ्यो । यी टीकाराम सरले विद्यार्थी तह लाउन सक्दैनन् भन्ने भाव देखिन्थ्यो । रमिते विद्यार्थीहरू शङ्काको लाभ दिने मनस्थितिमा देखिन्थे । साँच्चै भन्दा टीकाराम सर आफैँ भने केही डराएका थिए । साहयक हेडसरका रूपमा यस्तो घटनामा पहिलोपटक पर्दै थिए, उनी ।
“यो हातमा चप्पल किन भिरेको ?”, छडीले नरेशका हाततिर देखाउँदै टीकाराम सरले सोधे ।
“भाग्न सजिलो हुन्छ भनेर, सर !” नरेशले केही हाँस्दै उत्तर दियो । वरिपरि रमिता हेरिरहेका विद्यार्थीहरू गलल हाँसे ।
नरेशले टीकाराम सरलाई नगनेको देखियो । टीकाराम सरको सहायक हेडसर हुने पाइन रहेनछ । अरू शिक्षकहरू यस्तै केही सोचिरहेका थिए । हेडसर हुँदा हुन् त अहिले यहाँ अर्कै माहोल हुने थियो । प्रथमत” हेडसर आफैँ जान्थे । नरेशलाई बाहिरैबाट कुट्दै अफिस कोठामा छिराउने थिए । भित्र नरेश घुडा टेकेर उभिएको हुने थियो । वरिपरि आज हेडसरले कतिको चुट्ने हुन् भनेर त्रासको वातावरण हुने थियो । सबै चुपचाप, आवाजरहित, हेडसरले नरेशलाई तह लगाएको हेर्नेथे । वरिपरिको परिस्थिति र मनस्थिति बुझेर टीकाराम सरलाई केही गर्नैपर्ने भयो भन्ने लाग्यो ।
उनले कडा आवाज पारेर नरेशलाई आदेश दिए, “हात अगाडि सार्?”
नरेशले आफ्नो हात अगाडि साऱ्यो । टीकाराम सरले नहेरी एक स्वाँठ मारे ।
अघिदेखि भिरेको चप्पलले अहिले ढालझैँ काम गऱ्यो । छडीको कुनै असर नरेशमा देखिएन ।
टीकाराम सरको मूर्खता देखेर अरू शिक्षकहरू मुन्टो लुकाएर हाँसिरहेका थिए । बाहिर विद्यार्थीहरू प्रहसन हेरिरहेको अवस्थामा थिए । टीकाराम सरले आफ्नो धोती फुस्केको महसुस गरे । उनी डरले हो वा रिसले हो थरर कामे । कुर्सीबाट जुरुक्क उठे र नरेशको शरिरमा अन्धाधुन्द छडी बर्साउन थाले । अब सब सतर्क र चुपचाप भए । वरिपरि एक्कासी सन्नाटा छायो । नरेश ऐया–आथ्था गर्दै भूईँमा लम्पसार परिसक्दा पनि नरोकिएको देखेर रुद्र सर अघि सरेर बोले, “पुग्यो सर, छाडिदिनुहोस्, यसले आजको भाग पायो ।”
टीकाराम सर केही होसमा आए । उनका हात खुट्टा फतक्क गलेका थिए, सम्हालिएर काम्दै कुर्सीमा बसे । रुद्र सरले पाखुरामा समातेर नरेशलाई उठाए । नरेश बिस्तारै उठ्यो । हातको चप्पल खुट्टामा साऱ्यो र बाहिरियो । विस्तारै सम्पूर्ण विद्यार्थीहरू घरतिर लागे । अफिस कोठा सामान्य माहोलमा फकिऱ्यो ।
आफ्नो कुर्सीमा बसेका टीकाराम सरभित्र भने अवस्था अझै असामान्य नै थियो । हेडसर भए यसरी अन्धो झैँ कुट्ने थिएनन्, सम्झाउँदै केर्ने थिए, थर्काउँदै जोखेर कुट्ने थिए र पो सजाय जस्तो देखिने थियो । टीकाराम सरले लाटो कुटे मात्र । रिसाहा हलीले गोरु कुटे जस्तो । हेडसरले जस्तो सजाय भने दिन सकेनन् ।
टीकाराम सर, आफू बाहुन्ने हुँदै गएको महसुस गरिरहेका थिए । जे भयो त्यो नरेशको सजाय थिएन, टीकाराम सरको असहायताको अभिव्यक्ति थियो । टीकाराम सरको डरपोकी र लाचारी छताछुल्ल भएको थियो ।
सबै शिक्षकहरू एक–एक गर्दै बिदा भए र घरतिर लागे । टीकाराम सरले हर्कबहादुरलाई केही अह्राए र आफू पनि घर जान साइकल निकाले । विद्यालयबाट साइकलमा लगभग पैँतालिस मिनेटको दूरीमा टीकाराम सरको गाउँ थियो ।

आधा बाटो जस्तोमा नरेशको घर पर्थ्यो । नरेशको घरअगाडि केही केटाहरू बाटाको किनारमा बसेर क्यारेम बोर्ड खेलिरहेका थिए । त्यो नरेशको आफ्नै क्यारेमबोर्ड अड्डा थियो । नरेशले कुटेको सम्झेर विद्यालयबाहिर दागा धर्ने हो कि भनेर टीकारामसर केही आत्तिएका थिए । केही छिटो-छिटो पेडल मारिरहेका थिए, टीकाराम सर । पछाडि कसैले “ऊ ! टीकाराम सर जाँदै छन्” भनेको सुने । डराएका टीकाराम सर पछाडि हेर्न खोज्दै थिए, गुडिरहेको साइकलको सन्तुलन मिलाउन सकेनन् र चिप्लिएर बाटाछेउको खेतमा साइकलसहित पछारिन पुगे । क्यारेम खेलिरहेका केटाहरू जोडसँग हाँसे ।
टीकाराम सर साइकल उठाउँदै थिए । नरेश बिस्तारै बाटोमा निस्कियो र साइकल उठाइरहेका टीकाराम सरले सुन्ने स्वरमा भन्यो, “स्कुलमा पो सर ! यो बाटामा को टीकाराम, को नरेश । अलि होस गर्नू । सधैँ हिड्ने बाटो यही हो क्यारे ।”
बाटामा ठुलो ढुङ्गा तेर्सिएको देखिन्थ्यो । सायद साइकलको चक्का त्यसमा ठोकिएर टीकाराम सर चिप्लिएका थिए । ढुङ्गो कसैले ल्याएर राखेको जस्तो देखिन्थ्यो किनभने त्यो मटैलो ग्रामीण बाटाका छेउछाउमा अरू कुनै ढुङ्गाको नामनिसान थिएन । टीकाराम सरलाई लाग्यो त्यो पक्कै नरेशले थापेको पासो थियो । केही बोलेनन् । भागेकै शैलीमा साइकल पेल्दै आफ्नो बाटो हानिए ।

भोलिपल्ट, सदाझैँ विद्यालय सुचारु भयो । टीकाराम सरले हिजो घर जाँदाको घटना कसैलाई भन्न सकेका थिएनन् । नरेशको कक्षामा पनि टीकाराम सर पढाउन गएका थिए । कक्षा सामान्य रूपमै सकियो । आज घर फकँर्दा टीकाराम सरसँगै सानो छोरो पनि थियो । ऊ टीकाराम सर पढाउने सरकारी विद्यालय होइन, अङ्ग्रेजी बोडिङ्ग स्कुलमा पढ्थ्यो । टीकाराम सर दैनिक आफैँसँग ल्याउने–पुऱ्याउने गर्थे । हिजोभने पेट दुखेको बाहाना गरेर घरैमै खेलेर बसेको थियो ।
साइकलको अगाडि डन्ठीमा राखिएको सानो सिटमा टीकाराम सरको छोरो निर्धक्क बसेको थियो । पेडल मारिरहेका टीकाराम सरको मनमा भने ढ्याङ्ग्रो बजिरहेको थियो । बिहान विद्यालय आउँदा पनि उनको हालत त्यस्तै थियो । नरेशको घर कटेपछि भने केही ढुक्क भएका थिए । बाटाको ढुङ्गो आज भने गायब थियो । हुनलाई टीकाराम सर सदाभन्दा ढिलो घरबाट निस्केका थिए । मिलेसम्म छल्ने प्रयास थियो उनको त्यो ।
टीकाराम सर घर जाने बाटो समात्न सकिरहेका थिएनन् । घर जाने सिधा दक्षिण मोडिएको बाटो छाडेर उनी पूर्वदक्षिण जाने बाटो लागेका थिए । पूर्वदक्षिण बाटो पिच सडक थियो । टीकाराम सरले सानो छोरोलाई भने, “हेर केटा आज पिच बाटो जाऊँ है ?” उसले केही मुख खुम्च्याएर भन्यो, “बाबा, यो बाटो त लामो छ । टीकाराम सरले छोरोलाई फकाउँदै भने, “तलाई रमाइलो हुन्छ पिच बाटो जाँदा । कस्ता–कस्ता गाडीहरू देखिन्छन् । तलाई गाडीहरू मन पर्छ नि होइन ?” उसले हो भावमा टाउको हल्लायो र कति बेला गाडी आउने हुन् भन्दै कुर्न थाल्यो ।
बीस मिनेटजस्तो अगाडि एउटा खोला आउँथ्यो । अब पिच छोडेर, खोलाको किनारै किनार दक्षिणपश्चिम मोडिएको गोरेटो बाटो समाते, अघि छाडेको सिधा दक्षिणको बाटो पुगिन्थ्यो । यो केही लामो त हुन्थ्यो तर यसो गर्दा नरेशको घरअगाडिबाटै साइकल कुदाउनुपर्ने बाध्यताबाट मुक्ति पाइन्थ्यो ।
टीकाराम सर स्वचालित रूपमा साइकल पेलिरहेका थिए । मन उनको अन्तै व्यस्त थियो । “आज पनि नरेशले बाटो ढुकेको हुनुपर्छ । त्यसले मलाई दागा धरे नै जस्तो छ । छोराका अगाडि लाज मर्नु-पर्नुभन्दा केही लामो साइकल पेल्नु नै ठिक । आफ्नो बा कमजोर र डराएको देखेर छोराको बाल मानसिकतामा नराम्रो असर पर्छ । सायद हुर्कँदै गर्दा उसमा आत्माविश्वासको कमी हुनेछ । डरछेरुवा हुनेछ, टीकारामको छोरो । लामो बाटो आएर ठिकै गरियो । केही समयलाई यो उपाय चलिहाल्छ । पछि नरेशेले बिर्सँदै जाला ।” खोलाको किनारै किनार गुडिरहेको साइकलमा यस्तै सोच्दै गर्दा टीकाराम सर बाटो मिसिने ठाउँमा आइपुग्नै लागेका थिए । खोला बाटो काटेर अझै पश्चिम लाग्थ्यो । दक्षिण जाने मूलबाटो टीकाराम सरको गाउँतिर तेर्सिएको थियो ।
बाटो मिस्सिने ठाउँमा ठुलो बाँसघारी थियो । खोलो बासघारी बीचबाट जान्थ्यो । त्यहाँ खोलाको बहाइ छेक्ने गरी ठूला–ठूला ढुङ्गा थुपारेर अस्थायी प्रकारको बाँध बनाइएको थियो । बाँधको ठुलो ढुङ्गामा बसेर नरेश आफ्नो चुप्पीमा धार लाउँदै थियो । आडैमा बसेको केटो तल दहमा पौडिएका माछाहरू हेर्दै थियो । नरेशको ग्याङ्गका अरू केटाहरू तल किनारमा बसेर माछा समात्ने प्रयास गर्दै थिए । उनीहरू अझै निलो प्यान्ट र सेतो सर्टमा थिए । केटाहरू स्कुलपछि बरालिँदै त्यहाँ आइपुगेका हुन् भन्ने प्रस्ट थियो ।
गुडिरहेको साइकलमा एक्कासि ब्रेक लाग्दा टीकाराम सरको छोरो केही तर्सियो । टीकाराम सरले साइकल एकाएक फनक्कै मोडेका थिए । उनी अहिले दुर्गाप्रसाद पाठकको आँगनमा साइकल अड्याउँदै थिए । दुर्गाप्रसाद पाठकको घर खोलाबाट थोरै माथितिर थियो । टीकाराम सर केहीअघि त्यही बाटो तल झरेका थिए ।
टीकाराम सर पसिनाले भिजेका देखिन्थे । उनको स्वास निकै बढेको थियो । दुर्गाप्रसाद पाठक आँगनमा रहेको इनारबाट पानी निकाल्दै थिए । उनले टीकाराम सरलाई नमस्कार गर्दै सोधे, “सरले छोराका लागि स्पिड साइकल कुदाउनुभयो कि के हो ?”
“होइन दाइ बालुवामा साइकल पेल्न सारै गाह्रो । खोला पसेर होला त्यो बाँस झ्याङछेउमा बालुवैबालुवा रहेछ ।” टीकाराम सरले प्रस्ट्याए । उनको मनमा भने केहीअघिको भयानक दृष्य घुमिरहेको थियो । नरेश आफ्नो चुप्पीमा धार लगाउँदै थियो, टीकाराम सरका लागि त्योभन्दा भयानक दृष्य अरू के नै हुन सक्थ्यो र? धन्न समयमै देखेर साइकल मोड्न भ्याए । खोलाको आवाजले गरेर होला तिनीहरूले ब्रेक लाग्दा बालुवामा साइकलको चक्का घिस्रेको आवाज सुनेनन् । टीकाराम सर भने केटाहरूले आफूलाई देखे कि भनेर त्राहिमाम् भएका थिए । एकचोटि पनि पछाडि नफर्की साइकल हाँकेका टीकाराम सरको स्वास फुलेको थियो । टीकाराम सरले हात थाप्दै दुर्गा प्रसाद पाठकसँग भने, “खोइ दाइ, थोरै पानी पिऊँ कि ?” दुर्गाप्रसादले बाल्टीको पानी बिस्तारै टीकाराम सरको हातमा खन्याउँदै गए, टीकाराम सरले तनतनी पानी पिए । चिसो पानीले आँत सिँचेपछि टीकाराम सरलाई केही सहज भयो ।
“सर, केही विशेष कामले आउनुभएको थियो कि ? तपाईँ चिया खाँदै गर्नुहोस्, म एकैछिनमा काम सक्छु । अनि गफ गरौँला नि हुन्न ! कुँडो हालेपछि गाई पनि खाँदै गर्छ ।” साँझ पर्दै थियो दुर्गाप्रसाद गाइवस्तु थन्क्याउने धन्दामा थिए ।
“हैन, ठिकै छ । चिया पिउँदै तपाईँको गोठ पनि हेरौँला, गफ पनि गरौँला ।” टीकाराम सर चिया भरिएको स्टिलको गिलास समातेर दुर्गाप्रसादको पछि लागे । टीकाराम सरको छोरो भान्साघर भित्र सुनितासँग बसेर केही खाँदै थियो । दुर्गाप्रसादकी छोरी सुनिता, टीकाराम सरकी विद्यार्थी थिई । दश कक्षामा पढ्थी । सरको छोरो भनेर विशेष माया दर्साइरहेकी देखिन्थी ।
टीकाराम सर मनमनै गुन्दै थिए । यी दाइलाई कसरी कुन कामले आएको भनूँ । डरले भागेर आएको भनेर साँचो कुरो भनूँ त कसरी भनूँ ? दुर्गाप्रसाद व्यस्त थिए । टीकाराम सर गोठ अवलोकनमा आफूलाई भुलाउन लागे । वरिपरि ढुङ्गाको गाह्रो लगाएर गोठको सतह केही उचालिएको थियो । टीकाराम सरको दिमागमा उपाय फुऱ्यो ।
उनले दुर्गाप्रसादलाई सोधे, “म दाइसँग एउटा सल्लाह मागूँ भनेर आएको । मलाई पनि गाईगोठमा यस्तै ढुङ्गाको गाह्रो लगाउनु छ । तपाईँको बाँस झ्याङसँगैको खोलाबाट यसो एकदुई गाडा ढुङ्गाबालुवा लान मिल्ला ?”
दुर्गाप्रसादले हाँस्दै भने, “खोलाको ढुङ्गाबालुवा सरकारी भन्छन् । सरलाई चाहिएको लानु भए हुन्छ । बेला–बेला अरूले पनि लाने गरेका छन् ।”
टीकाराम सरले थपे, “त्यो खोलाको बाँधबाट त हजुरको खेतमा पानी जान्छ । दाइले यसो गएर देखाइदिन पऱ्यो । कताबाट निकाल्न मिल्ने कताबाट नमिल्ने । मैले ढुङ्गाबालुवा लगेकाले तपाईँको बाँध नबिग्रियोस् ।”
दुर्गाप्रसाद खुसी भए, “सरले सोध्नुभयो खुसी लाग्यो । सबै सरजस्ता बुझ्झकी मानिस भए झन् कति सजिलो हुने थियो । पोहोरसाल मेरो सापकोटा बुढासँग यसै विषयमा झगडा पऱ्यो ।” उनले प्रस्ट्याउँदै गए, “ढुङ्गाबालुवा लानेले मलाई सोध्नुपर्छ ! भन्ने मेरो कुरो । खोला सरकारी सार्वजनिक सम्पत्ति किन सोध्ने? भन्ने उनको कुरो तर त्यसो भन्दैमा मेरो खेतामा पानी लाने बाँध त खोतल्नु भएन नि । कि मैले गलत भनेँ हौ सर ? पसाउन लागेको धानमा पानी लगाउन नपाएको किसानको रिस सर ! हात हालाहाल नै भयो भनेको ।”
टीकाराम सरले छोरालाई डाकेर साइकलमा राखेर डोऱ्याउँदै दुर्गाप्रसाद पाठकसँगै बाँधतिर लागे । दुर्गाप्रसाद टीकाराम सरलाई अझै केही सुनाउँदै थिए । टीकाराम सरको मन भने नरेशको उपस्थितिले हुँडलिइरहेको थियो । उनी एक मनले भने ढुक्क थिए किनकि अहिले उनी एक्लो थिएनन् । उनले आफैँलाई ढाडस दिए, केही भयो भने पक्कै पाठक दाइले पार लागइदिने छन् । आडमा पाठक दाइ भएकाले उनको आँट केही पलाएको थियो । उनले साइकलमा बसेको छोराको अनुहार हेरे र मनमनै खुइय्या गरे, “धन्न यसलाई केही थाहापत्तो छैन ।”
टीकाराम सरले साइकल अड्याएर छोरालाई ओर्लिन सघाउँदै थिए, बास झ्याङको चेपबाट भित्र छिरेका दुर्गाप्रसाद पाठक एकाएक कराउन थाले, “तेसीमा झ्याक्ने हो ! स्कुल ड्रेसमै खोलामा बरालिन्छौ । पर्ख ! सर आउँदै हुनुहुन्छ । पाजी ठेट्नाहरू ! निकै छाडा भाका छौ ।” टीकाराम सर सुनिरहेका थिए तर साइकल छाडेर डेग अगाडि बढाउन सकेनन् । उनी दुर्गाप्रसादसँग रिसाएका थिए । “होइन यी पाठक दाइलाई जान्ने भएर सर आउँदै छन् भनेर किन भन्नुपरेको होला ! सरले के नै पो गर्न सक्छन् र ?” टीकाराम सरको ओठ तालु सुकेको थियो । छोराको हात अँठ्याएर ठिङ्ग उभिएका थिए । छोराले ऐया ! दुख्यो बाबा भन्दा झसङ्ग भएका थिए । दुर्गाप्रसाद भने अझै जङ्गिँदै थिए । उनी बाँसको सिर्कना हातमा लिएर बाँधमा बसेका केटाहरूतिर सोझिँदै थिए, “तँ छुल्याहा नरेशे नै होइनस्, बाँधका ढुङ्गा लडाउने । तेरा पिडौँला नसेकी कहाँ छाड्छु र म ।” केटाहरू छपल्याङछपल्याङ गर्दै खोलैखोला कुलेलाम ठोके । टीकाराम सर बलले खुट्टा घिसार्दै दुर्गाप्रसाद पाठकका पछाडि उभिन बल्ल आइपुगेका थिए ।
“सरले त टाइम लाउनुभो नि ?” ,दुर्गाप्रसादले टीकाराम सरतिर फर्केर हेर्दै भने । टीकाराम सरले झाडीतिर देखाएर पिसाब फेर्न गएको सङ्केत गरे । यो सब हेरिरहेको टीकाराम सरको छोरो बाले सिधै ढाँटेको देखेर छक्क पऱ्यो । उसले के–किन केही बुझेन, चुप थियो ।
दुर्गाप्रसादले पोल लगाए, “अहिले भर्खरसम्म यहाँ स्कुलका बिग्रेका केटाहरूको जमघट थियो ।”
टीकाराम सरले थुक निलेर सुकेको मुख भिजाए र सोधे, “को रहेछन् दाजु ?”
दुर्गाप्रसादले हातको सिर्कना भाँचेर खोलाको पानीमा फ्याल्दै भने, “खै ! सबै त म चिन्दिनँ । हाम्रै गाउँकै छुल्याहा हो नरेशे । त्यसैले लिएर आएको होला ।”
“त्यो नरेशेले सबै गाउँलेलाई दुःख दिएर हैरान लगाएको छ । बोटका फलफूल, बारीका काँक्रा, खोरका कुखुरा, सबै–सबै झ्याप । नपुगेर होइन, लाउरेको छोरो । धेरै भएर बिग्रेको हो । पोहोर साह्रै गऱ्यो र उसैका घरमा गएर मारसँग थर्काएको थिएँ । छोरी सुनितालाई स्कुलबाट फर्कँदा बाटामा सधैँ दुःख दिने रहेछ । घरै गएर मारसँग झपारेपछि केही बिसेक भाको थियो ।” दुर्गाप्रसादले नरेशको प्रसङ्ग सके र टीकाराम सरलाई कताबाट ढुङ्गाबालुवा निकाल्न मिल्ने हो भनेर सिकाउन थाले । टीकाराम सरको दिमागमा भने अझै नरेशकै राज थियो ।
“अनि दाइ, घरमै आएर आफ्नै छोरोलाई झपार्दा लाउरेनीले केही भनिनन् ?” टीकाराम सरले दुर्गाप्रसादको अनुहारतिर हेरेर सोधे ।
“कुरो नगर्नुहोस् सर । तिनैले पुलपुल्याएर र गल्ती छोपेर नरेशे बिग्रेको हो तर म आफैँ घरमा नै आएर झपार्दा अलि बेसी नै गरेछ छोरोले भनेर बुझिन् होला । मेरा अगाडि उनले पनि छोरोलाई हकारिन् । मैले तिनीहरूको खेती अँधिया उठाइदिने गरेको छु, मेरो कुरो खान्छन् ।” दुर्गाप्रसादले कुरो टुङ्ग्याए ।
कता-कताका ढुङ्गाबालुवा झिक्न मिल्ने हुन् सिकाएर दुर्गाप्रसाद घर फर्किए । टीकाराम सरको दिमागले सिकाएको केही टिपेको थिएन । उनी उसै अँ ! अँ ! भन्दै थिए तर ध्यान नरेशको कुरामा मात्र थियो । टीकाराम सर छोरालाई लिएर घरतिर लागे । छोरो चुपचाप बसेको थियो । खै किन हो, टीकाराम सरलाई एक्कासि छोरालाई बहादुरीको शिक्षा दिनुपर्छ भन्ने लाग्यो । टीकारामले छोरालाई कोट्याउँदै भने, “म तँलाई ‘बहादुर राजकुमार’को कथा भनूँ है ?” कथा सुन्न छोराले कान ठाडा पाऱ्यो । उनले एकादेशबाट थालेर कथा हाल्दै गए, “त्यसपछि जोगीले राजकुमारलाई सोधेछन् । लौ भन ! लामो बाटो जाने कि छोटो बाटो ? लामो बाटो सजिलो छ तर लामो बाटो जाँदा अलि समय लाग्छ । छोटो बाटाबाट छिटो पुगिन्छ तर छोटो बाटोमा बाघ र भालुको डर हुन्छ । बहादुर राजकुमारले छोटो बाटो जान्छु भनेछ ।” टीकाराम सरलाई बीचैमा रोकेर छोरो चिच्यायो, “नाइँ ! नाइँ ! अर्को कथा भन्नू । यो त कतिपटक सुनेको सुनेको । फेरि बाबा, त्यो कथाको नाम ‘बहादुर राजकुमार’ होइन नि । किताबमा त्यसको नाम त ‘राजकुमार दिक्पाल’ लेखेको छ ।”
छोराले जानेको देखेर साइकल कुदाइरहेका टीकाराम सर मुसुक्क हाँसे र भने, “राजकुमारको नाम दिक्पाल नै हो तर ऊ बहादुर पनि त हो । बाघभालुको डर हुँदा हुँदै छोटो बाटो जान तयार भयो र डरको सामना गऱ्यो ।”
सानो छोरोले प्वाक्क भन्यो, “अनि बाबा, हामी आज किन लामो बाटो आ ?” टीकाराम सरको अनुहार केही कालो भयो । उनले छोरालाई हकारेकै शैलीमा भने, “ल कथा सकियो, फोरको टेबल सुना अब ।”
“फोर वान जा फोर्, फोर टुजा एट्”, छोराले भट्याउन थाल्यो ।
“यो प्युसोले कतै चाल त पाएन ? भोलि त कसै गरी छोटो बाटो आउनुपर्छ । कसरी पो टार्ने ?” टीकाराम सर पेडल मार्दै मन खेलाइरहेका थिए ।