म बस्ने कोठाको पश्चिमपट्टि एउटा झ्याल थियो । झ्यालबाट बाहिरको सबै दृष्य देखिँदैनथ्यो किनकि म बसेको घरको सामुन्ने अर्को घर नारिएर विराजमान थियो । अझ भनौँ, खाली जग्गा बाँकी थिएनन् वरपर । बीचमा साँघुरो गल्ली थियो जहाँ दुई गाडीहरू वारपार हुन पनि बहुत कठिन पर्थ्यो । मेरो झ्यालबाट पल्लो घरको आधा भाग प्रस्ट देखिन्थ्यो तर पूर्ण रूपमा त्यस घरको झ्याल निलो रङ्गले सजिएकाले घाम अस्ताउँदै गएपछि झन् चम्किन्थ्यो । यसको कारण थियो, पश्चिमतिरको यात्रामा निस्किएको सूर्यको प्रकाश सोझै त्यो घरको झ्यालको चेहरामा ठोक्किन आइपुग्थ्यो । अर्कातिर झ्यालको वरपर परेवाहरू घुमिरहन्थे । सायद झ्याल आसपास तिनीहरूको वासस्थान हुनुपर्छ । परेवा बसेको घर शान्तिको प्रतीक पनि मानिन्छ तर कति शान्ति र फलदायी थियो त्यो घर म एक दुई दिन मात्रै अगाडि आएको मान्छेलाई कहाँ थाहा थियो र ?
त्यो झ्यालबाट एक स्त्री घरीघरी मुन्टो निकालेर तल आँखा बिछ्याउँथी अनि तलबाट माथि आउँदा उसका आँखा मेरो झ्यालतिर ठोक्किन्थे । उसका आँखाको हेराइले एक्कासी तातो बतास झ्यालबाट भित्र ह्वार्र पसेजस्तो अनुभूति हुन्थ्यो र मभित्र कुन्नि कस्तो कस्तो आवेग जन्मिन पुग्थ्यो ! शरीर एकैचोटि जोडले झङ्कारिन्थ्यो जसरी अग्निमा शरीरको कुनै अङ्ग पर्दा च्वास्स हुन्छ नि हो त्यसरी । म थाकेकाले ओछ्यानमै पल्टिएर त्यो दृष्यलाई देख्थेँ । मलाई उठेर हेर्नुभन्दा सुतेर हेर्दा बेजोड आनन्द पैदा हुन्थ्यो ।
“यो दृष्य हेर्दा मलाई किन यति स्वर्णिम आनन्द पैदा हुन्छ हँ ! म लमतन्न भएर सुते पनि आँखा किन ऊतिरै बगिरहन्छन् ? बिहानभरि ट्रेनिङमा सिकेका कुराप्रति किन मन जाँदैन मेरो ?” जीवनको यात्रामा कहिलेकाहीँ यस्ता कुरा त भइहाल्छ नि अचिनारुलाई देख्नुपर्छ र उतै तानिन्छ आँखा, मन, होस सबै । फलस्वरूप अकारण मनको तरेलीमा संवेगको बाक्लिँदो लहर बन्दै र भत्किँदै जान्छ । यो धरामा सास फेरिरहेको दरिलो प्रमाण त हो नि । नत्र मैले कहाँ देख्न सक्नु र यो सुन्दर संसारलाई । नत्र मैले किन अकारण जन्माउनु र अनेक विचारलाई । हो, मैले निश्चय नै देख्न सक्दिनथेँ त्यो एक जोडी स्वेत रङ्गका परेवाको साँचो प्रेमलाई ।”
ऊ मेरो झ्यालबाट भित्रपट्टि एकटकले हेर्ने मन गर्दिन थिई या उसले हेरेका बेला मेरा आँखा उसको हेराइमा नपरेका हुन् त्यो त मलाई यकिन छैन तर ऊ गोरी र गोलाकार अनुहारकी थिई यति चाहिँ मैले पक्कै याद गरेको थिएँ । मलाई उसको शारीरिक बनावट त्यति बेलासम्म त्यति विघ्न थाहा पनि छैन तर जति थाहा छ मेरो अनुमानमा उसको निवासजस्तै आधा, फगत आधा । हो, म उसको आधा माथिल्लो भाग मात्र देख्न सक्थेँ । त्यो दिन देख्दा निलो कपडा परिधान गरेकी थिई । सायद त्यै भएर पो हो कि उसको बनावटले भन्दा पनि उसको निलो रङको पहिरनले र सम्पूर्ण उसका क्रियाकलापले मेरो मन तानिरह्यो ।
एक मध्यान्ह ऊ छटपटिएर झ्यालपट्टि आई र किन-किन मेरो ध्यान खिचिरही, नजानिँदो रूपमा । म लमतन्न भएर सुते पनि आँखा ऊतिरै बगिरहे । मलाई शङ्कै लाग्छ, आधुनिक होटल वा लजमा बिस्ताराको सेटिङ पनि कायदाले गरेका हुन्छन् क्यार । एक मिटरको पनि खाली भाग नराखी घर ठड्याएका हुन्छन् सहरमा, झ्याल झ्याल ठोक्काएर । किन झ्याल झ्याल ठोक्काउनु हो ? किन आँखा आँखा जुधाउँने अवस्था सृजना गर्नु हो ? गाउँमा त यस्तो हुँदैन ।
त्यस दिन म ट्रेनिङबाट आएर दिनमा झपक्क निदाएर ब्युँझिदा तीन बजेको थियो । म ब्युँझिदा त्यो झ्याल बन्द थियो, मानौँ मेरो हेराइ बन्द भयो । घामलाई पनि निहारिकाले पर्दा लगाएको रहेछ । केवल उज्यालोविहीन अवस्थामा थियो झ्याल । म चार पर्खालभित्र अब चाहिँ थुनिएँ तर जब साँझ ढल्किँदै गइरहेको थियो झ्यालबाट तल निकै तल देखिने मानिसहरूको जाग्रित चहलपहल झाँगिएको थियो । एकछिन त्यतापट्टि गौर गरेर मैले मेरो डायरी बिस्तारामा बसेर पल्टाएँ । बिहानको ट्रेनिङमा केही टिपोट गरेको थिएँ तर टिपोट कुराभन्दा पनि मलाई तालिम दिने ती वृद्ध उमेरका जवानी कुराहरूले कुतकुत्याइरह्यो निकै बेरसम्म ।
यसरी मेरो मनको पर्खालमा एक किसिमको परिहासको चित्र एकाएक टाँसिन आइपुग्यो । “मानिसहरूले उमेरको भऱ्याङमा खुड्किला उक्लदै गएपछि किन जवानी डकार्छन् हँ ?” ऊ कम सिपालु थियो र ? चलनचल्तीको भाषामा भन्दा ऊ त “स्याल” थियो । उसका आँखा समान लिङ्गीतिर भन्दा पनि ती विपरीत लिङ्गका अधबैँसे नारीहरूतिर थियो जो जोडले हाँसिरहन्थे उसको कुरामा बोली मिलाएर । मुख चोसो बनाएर “हो नि, होइन र ?” गर्थ्यो जतिखेर पनि उनीहरूलाई हेर्दै । आखिर बुझिल्याउने हो भने ट्रेनिङ दिने बुढा पुरुष हुन् या कक्षाकोठामा विद्यार्थीसँग कामुक कुरा गर्न खप्पिस भइसकेका शिक्षक महिलाप्रति आकर्षित नै हुन्छन् क्या । उमेरले छेक्छ भन्नु पनि फगत भनाइ मात्र । के म आफूलाई ढाँट्न सक्छु र अब ? सक्ने हो भने मैले पनि बारबार उतैतिर नहेर्नुपर्ने हो नि ? त्यो पल्लो घरको निलो झ्यालतिर बारबार गौर नगर्नुपर्ने नि ?
तैपनि एकछिन विश्राम लिने निधो गरेँ । त्यसपश्चात् मैले मेरो डायरी केही मिनेटसम्म सुतेर ओल्टाइपल्टाइ गरिरहेँ ।
म गाउँबाट काठमाडौँ आएको थिएँ- ट्रेनिङका लागि । मलाई लाग्छ, म आधा जिन्दगी भोगचलन गरिसकेको मानिसलाई के को ट्रेनिङ सेनिङ ! त्यही भएर ट्रेनिङकै लागि भन्न पनि लाज लाग्छ । नढाटी भन्दा राजधानी घुम्न आएको पार्टीको सोर्सफोर्स लगाएर । अलिअलि पैसा पनि हुने र सहरको जिउँदो वास्तविकता देखिने । वास्तवमा गाउँ र सहरमा घनघोर तखता छ । म सहरलाई चिन्न जोड गर्छु तर सहरले चिन्दैन । गाउँलाई चिन्न मन हुनै पर्दैन । गाउँले आफैँ चिन्छ । म मात्र होइन अरू साथीहरू पनि थिए पल्लो कोठामा । उनीहरूलाई कति अल्छी लागेको होला ? के मन खुस होला र यो सहरको चार भित्ताभित्र खुम्चिएर बसिरहन ? कोही त सायद बजरतिर गइसके होलान् ।
त्यसपछि म तल पुगेँ काउन्टरमा र एक कप चिया मगाएँ । अनुमान साबित भएछ, अमृत सर पनि बाहिर जानुभएको रहेछ र उहाँ पनि भर्खर आएर चिया पिउँदै हुनुहुँदो रहेछ । थाहा छैन मलाई उहाँ कता हानिएर आइपुग्नुभएको थियो । मैले एउटा सहरी जिज्ञासा तेर्स्याएँ, “मान्छेहरू भिडभाडमा कसरी खुसी हुन्छन् सर ? ल हेर्नुहोस् त बाहिर । कस्तो व्यस्तता हगि, मिनेट फुर्सद छैन सहराँ !?” उहाँले मेरो कुरामा ध्यानै दिनु भएन । मलाई लाग्यो मेरो भनाइलाई सहरमा बसेर व्यवहारमा अमृत सरले उतारिरहनुभएको छ । हुन त उहाँ पनि सहरिया हो, सहरमा आधा र गाउँमा आधा बसाइ छ । गाउँमा जागिर भएर मात्र हो हामीसँग अडिनुभएको । यसमा गुनासो नै किन र ? तर बुझिल्याउँदा प्रतिक्रिया नै नफर्काउने त मान्छे कहाँ हो र उहाँ । सायद सहर टेकेपछि मेरो कुरामा त्यति दिलचस्पी लाग्न छाडेको छ उहाँलाई, विगत एक वर्षदेखि । सहरको हावापानीले दुई दिनमै कायापलट मान्छे त । यसो मतिर फर्किएर खिस्स हाँसिदिँदा उहाँको के नै पो जान्थ्यो र ? खैर केही छैन । म झिनामसिना कुरामा चित्त दुखाउने मान्छे हैन ।
तर पनि मन न हो, म वल्लो कुनामा नमीठो मान्दै आइपुगेँ । एक अखबार तान्दै त्यसको पाना पल्टाएर बसेँ । शीर्षक मात्र हेरेँ, सबै पानाका । नयाँ कुरो केही छैन या नयाँ समाचारपट्टि मेरो आँखा पुगेनन् । शीर्षक फरक छन् । पन्ध्र वर्षअघि प्रतिपक्षी नेता भनाउँदाले गरेको आलोचना एउटै छ । परिवर्तन त भए होलान् नि यतिका वर्षको अन्तरालमा तर ती परिवर्तनहरू यो अखबारले लेखिदिएन । कसो गर्ने अब ? मैले अर्को अखबार तान्दै अमृत सरलाई पुलुक्क हेर्दै सरसर्ती शीर्षकतिर आँखा पुऱ्याएँ । खै यो अखबरले गुणगान गाएकै छ सरकारको । मैले अखबरको नाम जुधाएँ । शत्रुता पाएँ तिनीहरूको शीर्षकमा । अमृत सरले हेर्दै गरेको अखबर तन्किएर हेरेँ र उनको चेहरामा पनि हेरेँ । उनी अझै ठेगानमा आइपुगेको ठम्याइनँ । मैले अर्को अखबार सुल्झाउन पनि नखोजेको होइन तर उनी त्यस बेला नहाँसिदिँदा म अगाडि बढ्न सकिनँ । खिसिक्क हाँस्नु पनि त सहमति जनाउनु हो नि, होइन र ?
मानिसहरू त्यसै विभाजित छन् । खै के ले विभाजनको दिशामा होमाउँछ मानिसलाई ? जुगादी विचारले किन यसरी डोहोऱ्याउँछ मानिसलाई ? परिणाममा आपसमा बेमेल र फरक धारको हाँडीमा किन पस्न मन गर्छन् मानिसहरू ? त्यतिखेर यस्तो भान भयो मलाई- “मानिस पनि त स्वार्थी प्राणी हो नि । पौरख गरेर सफलता पाउन कम मुस्किल छ र आजको जमानामा ? आजको युगमा कुनै सिद्धान्तको पर्खालमा नअडिसिए त ऊ पछिको पछि । सायद त्यही भएर मसँग अमृत सर रिसाए क्यार । म उनको सबै विचारमा त लोली मिलाउन सक्दिनँ नि । मेरो विचारसँग पनि त मेल खानुपऱ्यो नि तर सम्बन्ध नै टुटाउनु पनि मूर्खता । के हामी फरक धारम टेकेर कहिल्यै मुस्कुराउन सक्दैनौँ र ? खै सक्छौँ कि ।”
म अमृत सरसँग रिसाउँदै द्वारतिर लम्किएँ । तिनै युवती तल झरेकी रहिछन् । कस्तो कायदा ! सङ्केतार्थ उनको निलो कपडाले मेरो ताजा स्मृतिको पन्तुरो फुकाल्यो र त्यो निलै झ्यालतिर ठोक्कायो । यो निलो कपडा र त्यो निलो झ्याल । आखिर नियाल्ने हो भने आधुनिक युवतीको परिधान एउटै रङ्गको हुन्छ । तीनको कपडामा, नङमा, लालिमा एकै किसिमको रङ्ग । मानौँ मलाई अब अवसर मिल्यो तर म के भनेर बोल्ने ऊसँग ? कुन सम्बन्धले बोलाऊँ उसलाई । ती युवतीले मेरो मुखमा हेर्दै र मलाई छिचोल्दै गइन् र सोझै भित्र काउन्टरमा पुगिन् । झन् ठूलो अवसर आयो अब त मेरो ढोकामा । मेरो मनभित्र एउटा रमाइलो तर्क अपर्झट आयो, “सायद मलाई चिनिन् होला तिनले ।”
यत्तिकैमा अमृत सर जुरुक्क उठे र मलाई बोलाउन तम्सिए, “दयानन्द दाइ, ए दयानन्द दाइ, मलाई त सारै अल्छी लाग्यो हो यो सहराँ । अब चार दिन कसरी बिताउने होला ?”
मलाई थाहा थियो हाम्रो सम्बन्ध फेरि झाँगिन्छ भनेर तर चैते झरीसरि हुने पो हो कि ? उनले पुलुक्क त्यो युवतीतिर हेर्दै मलाई अल्झाउन खोजे । ती युवती हामीतिर हेर्दै मुसमुसाउन पुगिन् अमृत सरको कुरा सुनेर । “अचम्म लाग्दा मानिसहरू, ऊ बठ्याइँ गरिरहेछ मलाई प्रयोग गरेर । के म बोल्नू र ऊसँग ?”
यद्यपि मैले सहजै भनेँ, “आउँनू, नजिक बसौँ, बसौँ, गफ गरौँ ।”
अमृत सर मेरो नजिकको सोफामा बस्न आइपुगे, पल्लो कुनाबाट । उनलाई केले तान्यो एक्कासि ओल्लो कुनातिर ? त्यो त मलाई प्रस्टसँग थाहा थियो । भन्न त मन थियो, “मन पर्ने शीर्षकको खुराकहरू पढेर बसेको भए भैहाल्थ्यो नि” ,तर भनिहालिनँ । सम्झिएँ त्यो ट्रेनिङ दिने तालुखुइले बुढालाई, सम्झिएँ मलाई स्नाकोत्तरमा त्यो ताका साहित्य पढाउने गुरुलाई, कम थिए र ती ?
युवतीसँग झट्ट बोलिहाल्ने पुरुषको सूचीमा म पर्दिनँ । मलाई नियाल्न पर्छ एकछिन । मलाई उसको बोली सुन्नुपर्छ एकछिन । मलाई तान्नुपर्छ उसका विचारले । हो, कारण पनि यही हो । म हरेक कुरामा दोस्रो हुने गर्छु । त्यसैले त सोर्सफोर्स लगाउनुपर्छ मलाई । किनकि मानिसहरू मौकामा हीरा फोर्न पछि पर्दैनन् तर म पछि-पछि सर्छु । यो मेरो कमजोरी पनि हो । त्यही भएरै आजकाल मैले मेरो प्यारो छोरो उदीपलाई यसको विपरीत स्कुलिङ गरिरहेको छु ।
खै कसलाई छोयो मेरो कुराले ? भन्न चाहिँ मैले भनेँ, रिसाएर होइन ठट्टा गरेर, “समय चापन गर्न तपाईँलाई मात्र होइन सर, सहरका सबैलाई गाह्रो भएको छ ।”
ती युवती काउन्टरमा उभिएर गफ हाँकिरहेकी थिइन् । होटलको काउन्टरमा कस्तो गफ हुन्छ ? मलाई थाहा छैन । उनका दुई हात काउन्टरको टेबलमा चढेका थिए र उनको सम्पूर्ण पुष्ट शरीर त्यतैपट्टि ढल्किएको थियो । मैले त्यसो भनिदिँदा उनले पुलुक्क ढल्किएर मलाई हेरिन् । त्यसपछि मैले उनको कपडा पनि नियालेँ । निलै थिए कपडा । चप्पल पनि नियालेँ, चप्पलको माथिपट्टि निस्किएको फुर्को पनि निलै रहेछ । मरो ब्रह्मले भ्याएजति सबै नियालेँ मानौँ म कुनै अनुसन्धान अधिकृतले गर्ने काम गरिरहेको थिएँ । परिचयको सिलसिला अगाडि बढ्यो तर अमृत सरले मलाई बोल्ने फुर्सद कहाँ दिए र ? यसो परिबन्ध मिलाएर बोल्न खोज्यो, अगाडि अगाडि बोलिहाल्ने । यद्यपि नजानिँदो रूपमा त्यो युवतीका आँखा मेरो हाउभाउतिर सल्किएका थिए । देखादेख त हिजैबाट नजानिँदो रूपमा भइसकेको थियो । खै यो मेरो भ्रम थियो या वास्तविक अनुमान ? मैले केही सोच्न सकिनँ ।
बुझिल्याउँदा उनी महिला अधिकारकर्मी रहिछिन् । महिलाका पीडालाई मलम लगाउँदै राजधानीमा एक दशक बिताइसकेकी अधबैँसे महिला । उनको परिचयको सिलसिलाले एउटा सम्मान नपाउँदै अमृत सर खुट्किला उक्लिए । मैले भनेँ, “पख्नुहोस् पख्नुहोस् ।” उनी नसुनी सरासर सिँढी चढे तर मलाई त्यस महिलाको कुराले छोइसकेको थियो । “राजधानीमा महिलाहिंसा पहिलेको तुलनामा बढिरहेको कुरा आजको पत्रिकाले भनिरहेको छ ।” मैले भर्खर जे पढेको, त्यही सहजै भनेँ तर उनले सुने पनि मेरो कुरालाई वास्ता गरिनन् । त्यसपछि आफ्नो मनले मनलाई थुमथुम्यायो, “ठिकै छ त सुन्नैपर्छ र मेरो कुरामा केही बोल्नैपर्छ भन्ने पनि छैन । मैले त भर्खर पढेको कुरा बताइदिएको मात्र त हुँ ।” म कोल्टे फर्किएँ । तल टेबलमा आधा चिया चिसो भइसकेछ । मैले एक सुरुप्प पारेँ र पुनः दरबाजातिर लम्किएँ ।
माथि परेवाहरू कलहमा थिए । झगडा गरेर यता र उता भुर्र भुर्र उडिरहेका थिए । यत्तिकैमा एक परेवा तल भुईँमा धनमनिँदै आइपुग्यो । सडकका बीचमा आएर उसका पयर रोकिए । मेरो मनमा चिसो पस्यो, “बरु उडेर जाओस् यो परेवा, मानिसहरूको भिडमा परेर आफ्नो प्राण नत्यागोस् ।” मनसाय त्यही भएर मैले अगाडि बढेर धपाउने चेष्टा गरेँ । मेरो आवाजको प्रभाव रत्ती पनि परेन परेवामाथि । गाउँको मान्छेले सहरको परेवाललाई कसरी प्रभाव पार्न सक्छ र ? सहरमा बस्न अभ्यस्त भइसकेका परेवाहरूले मान्छे हेर्नेबित्तिकै चिन्दा रहेछन् । धपाउँदैमा किन उड्थ्यो र ? एकछिनमा एक सटरको कुनामा आएर सन्तोषले चुच्चो पखेटामा लगेर प्वाँख मिलायो ।
म भित्र पसेँ । भित्रपट्टि कोही थिएनन्, फगत सुनसानप्राय: थियो । मात्र केही सिसाका जुठा कपहरू टेबलमाथि विराजमान थिए र विभिन्न नामका अखबारहरू तर थुप्रै प्रश्नहरू जीवित थिए जो उडेको बेलुनझैँ उचाउचा हुँदै जाँदै थिए । म आश्चर्यमा धकेलिँदै चिसो चियाको अन्तिम घुट्की लगाउँदै सरासर सिँढी चढेँ । कोठामा पुगेर घरी ओछ्यानमाथि बसेँ घरी झ्यालतिर पुगेँ घरी त्यो निलो झ्यालतिर हेरिरहेँ घरी झ्यालबाट मुन्टो निकालेर तल हेरिरहेँ र अन्त्यमा डायरी पल्टाएर बसेँ तर डायरीमा लेखिएका अक्षरपट्टि मेरो ध्यान गएन । मेरो ध्यान गयो त त्यही ट्रेनिङ दिने पाको ट्रेनरतिर त्यसपछि अमृत सरतिर र अन्त्यमा त्यो निलो झ्यालतिर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।