खड्गे बा समाजका गन्यमान्य, न्यायप्रेमी व्यक्तित्व थिए । समाजमा सानोतिनो वादविवाद, झैँ-झगडा हुँदा उनले नै मिलाउँथे । सबैले उनकै कुरा सुन्थे पनि । उनको निर्णय मान्थे । उनी पनि कसैलाई अन्याय नहोस् भन्ने चाहन्थे । जे हो त्यो सिधै भन्थे । सत्यनिष्ठ मान्छे थिए । ठाडो र कडा स्वभाव भएका कारण पनि सबै उनीसँग अदबसँग बोल्थे । आदर गर्थे ।
सबैको भलो चिताउने उनी प्रायः सबेरै उठेर गाउँको एक चक्कर काटेर सबैको वस्तुस्थिति बुझेपछि बल्ल घर आएर चिया पिउन बस्थे ।
सारा गाउँलेले मानेका यस्ता व्यक्ति एकदिन एक्कासि हराए । घर-गाँउ जताततै हल्ला फैलियो । परिवारमा रुवाबासी नै चल्न थाल्यो । जहिले घरबाट निस्किँदा श्रीमतीलाई भनेर निस्कन्थे तर त्यो दिन भने सुटुक्क निस्केका रहेछन् । कसैले पनि देखेका रहेनछन् त्यो बिहान खड्गे बालाई ।
दुई दिनसम्म पनि अत्तोपत्तो नलागेपछि परिवारले पुलिसमा निवेदन दिएछन् । पुलिसचौकीमा रिपोर्ट लेखाएको भोलिपल्ट बिहान विरुवाफाँटको एउटा गह्रोमा एउटा बेवारिसे लाश फेला परेछ । पुलिसले त्यो लाश समीको रुखमा झुन्डिएको अवस्थामा फेला पारेको रहेछ । रिपोर्टमा लेखिएको हुलिया र लाशको हुलिया मेल खाएपछि प्रहरीले खड्गे बाको परिवारलाई लाशको सनाखतको लागि बोलाएको थियो । लाशको प्रकृति हेरेर पुलिसले गरेको प्रारम्भिक अनुमान पनि आत्महत्याको नै थियो । आत्महत्या भए पनि लाशसँगै सुसाइड नोट वा अरु केही सामान भने फेला नपरेको प्रहरीले जनाएको थियो ।
घरमा यो खबर सुन्नासाथै खड्गिनी बजै मुर्छा परेर आँगनमा ढलिन् । बुबा हराएको खबर सुनेपछि खड्गे बाका दुवै छोरी अघिल्लो दिनै माइत आएका थिए । छोरीहरु आफ्नो पीडा सम्हालेर आमालाई सम्हाल्न लागे । छोरो स्वप्न एकजना साथी लिएर लाश सनाखत गर्न हस्पिटलतिर लाग्यो ।
नभन्दै त्यो लाश खड्गे बाकै थियो । यो खबरले गाउँ पूरै शोकमग्न भयो । स्तब्ध भयो । सबै गाउँलेले एउटा असल अभिभावक गुमाएको महसुस गरे । शोकसँगसँगै खड्गेबाको आत्महत्याले सबैको मनमा अनेकौं प्रश्नहरु पनि जन्मिए ।
पोस्टमोर्टमपश्चात् खड्गे बाले आत्महत्या नै गरेका थिए भन्ने निश्चित भयो । त्यसपछि लाश परिवारलाई जिम्मा लगाइयो । खड्गेबाले आत्महत्या गरेको पुष्टि भैसक्दा पनि कोही विश्वस्त थिएनन् । विशेषगरी खड्गीनी बजै यो कुरा मान्न तयार नै थिइनन् ।
तर, कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ । यहाँको स्थिति पनि ठीक त्यस्तै थियो । खड्गे बाको लाश भेटिएको सुनेपछि फेरि इन्तु न चिन्तु बनेकी खड्गिनी बजैलाई गाँउलेहरुले टाउकोमा पानी ठटाएर बल्लतल्ल होशमा ल्याएका थिए । होशमा आएदेखि उनी एकोहोरिएकी थिइन् । छोरीहरु पनि पूरै शोकमग्न थिए । कसैको हंस ठाउँमा थिएन । सबै प्रायः टोलाउॅंथे । नटोलाएको बखत डाँको छाडेर रुन्थे । यो हृदयविदारक दृश्य देखेपछि गाउँभरि कसैको आँखा ओभाना थिएनन् ।
कहिलेकाहीँ हामीले केही कुरा मान्नु-नमान्नुले केही औचित्य राख्दैन, जति औचित्य राख्छ, त्यो आँखा अगाडिको सत्यले राख्छ ।
लाश सबैको सहमतिमा घरमै ल्याउने र घरबाटै दाहसंस्कारको लागि घाटमा लैजाने कुरा भयो । खड्गे बाको लाश शव बाहनले घरमा ल्याउँदा आँगनभरि मान्छेको भीड थियो । सबै खड्गेबालाई अन्तिम पटक हेर्न चाहन्थे ।
खड्गे बाको लाश आँगनमा हुल्नासाथ फेरि रुवाबासी चल्न थाल्यो । घरका सदस्यहरुको आलाप-विलाप देखेर त्यहाँ उपस्थित सबका आँखा रसाए । गला अवरुद्ध भए । उता खड्गिनी बजैको शान्त र एकोहोरोपनले सबै चकित थिए । उनले भने सुँक्क पनि गरिनन् ।
दिन ढल्कँदो थियो । लाशलाई धेरैबेर घरमा राख्नुको कुनै औचित्य थिएन, त्यसैले सबै जना लाशलाई घाटतिर लाने सुरसार गर्न लागे ।
कोही हरियो बाँस काट्न लागे । कोही कात्रो च्यात्न । कोही लाश भन्दा अगाडि बस्ने मलामीहरुले बोक्ने बाटो बनाउन लागे । कोही लाभा भुट्नतिर लागे ।
सबैजनाको रुवाबासीको बीचबाट खड्गे बाको लाश घरबाट निकालियो । तगारोबाट निस्किने बेलामा बल्ल खड्गिनी बजैको मुखबाट चित्कार निस्कियो । डाँको छोडेर “मेरो राजा किन यस्तो गर्नु भयो नि! मलाई बीचैमा छोडेर किन जानु भयो?” भनिन् र फेरि अचेत भएर ढलिन् । यसपटक पनि छोरीहरुले नै उनलाई सम्हाले ।
गाउँघरमा मर्दापर्दा सबै काम मिलेर गर्ने चलन हुन्छ । म पनि छिमेकीको नाताले सानोतिनो काम सघाउन भनेर नै खड्गे बाको घर गएको थिएँ । मलाई रमेश काकाले किरिया बस्ने ठाउँको व्यवस्था गर्ने जिम्मा लगाइदिनुभयो ।
किरियापुत्री बस्ने ठाउँ बनाउन कोठाका सामानहरु हटाउनु पर्ने थियो । खड्गे बाकै कोठामा पनि एकजना किरिया बस्ने भन्ने सल्लाह भयो । खाट-बिस्तरा पनि हटाउन पर्ने भयो । यत्तिकैमा खड्गेबाको खाटको बिस्तरा झिक्दै गर्दा मेरो खुट्टमा केही झर्यो । यस्सो हेरेको एउटा जतनसाथ पट्याएर राखिएको कागजको टुक्रा रहेछ । बाहिर लान उचालेको बिस्तरा पुन: खाटमै राखेँ । र, त्यो कागज टिपेँ । कागज खोलेर हेर्दा त्यसमा निकै आकर्षक अक्षरमा एउटा लामो चिठ्ठी जस्तो केही लेखिएको थियो । खोलेर यस्सो पढ्न मात्रै के आँटेको थिएँ, कसैले मेरो नाम बोलायो । मेरो नाम सुन्नासाथ मैले त्यो चिठ्ठी कमिजको खल्तीमा घुसारेँ र बिस्तरा लिएर बाहिर निस्किएँ ।
बेलुका सब काम सकेर मलामीहरु फर्किसकेपछि म पनि आफ्नो घर फर्किएँ । बेलुकाको खाना खाइओरी सधैंझैं आफ्नो कोठामा सुत्न गएँ । सुत्नुअगि दिनभर लगाएको कमिज काढ्दै थिएँ, अकस्मात् मेरो हात कमिजको गोजीमा पर्यो । हात गोजीमा पर्नासाथ दिउँसो खड्गे बाको घरमा हुँदा भेट्टाएर राखेको कागज झल्याँस्स सम्झिएँ । गोजीबाट कागज झिकें । किन-किन पढ्नुभन्दा पहिले त्यो कागज त्यसै सुम्सुम्याएँ ।
तर, जब त्यो कागजमा लेखिएको कुरा पढ्न सुरु गरेँ, पहिलो वाक्यले नै मलाई विक्षिप्त बनाइदियो । म बसिरहेको जमिन नै भास्सिए जस्तो झट्का लाग्यो । त्यो त खड्गे बाले घर छाड्नु अगाडि घरका सदस्यलाई लेखेर छोडेको सुसाइड नोट पो रहेछ! त्यसको सुरुमै लेखिएको थियो-
सायद तिमीहरुले यो नोट भेटेर पढ्ने बेला सम्ममा मैले यो संसार छोडिसकेको हुनेछु ।
केहीबेर रोकिएपछि फेरि पढ्न थालें । सुसाइड नोटमा अगाडि लेखिएको थियो-
कत्ति छिटो मान्छे एउटा मनस्थितिबाट अर्कोमा पुग्दोरहेछ, त्यो बुझ्न मलाई यत्तिका साल लाग्यो । मैले बाँच्नु भन्दा मर्नुमा नै आफ्नो मनको भलो हुने देखेर नै यो निर्णयमा पुगेको हुँ । मलाई कसैमाथि केही गुनासो छैन । मेरो मनलाई मैमाथि नै धेरै गुनासाहरु थिए र मसँग ती तमाम गुनासाहरुको कुनै समाधान थिएन ।
म मेरो मृत्युको दोष कसैलाई पनि दिन चहान्नँ तर मेरो मृत्युको कारण भने भन्नै पर्छ भन्ने लागेर नै यो नोट लेख्दैछु ।
केही महिना अगिदेखि म निकै नै कष्टकर मानसिक स्थितिबाट गुज्रिरहेको थिएँ । जुन दिन मैले बुबाको निशानी खेत बेचें, त्यो दिनदेखि मेरो मनमा एक किसिमको बेचैनीले डेरा जमाएर बस्न थालेको थियो । मौकामा हिरा पनि फोर्नुपर्छ भन्ने सोचेर नै म त्यो खेत बेच्ने निचोडमा पुगेको थिएँ । स्वप्नले केही व्यवसाय गर्छु भनेर आँटेको थियो । मलाई पैसा जुटाइदिन भन्यो । मसँग गोजीमा फुटेको कौडी थिएन । मेरो नाममा घर भएको जग्गा र त्यही विरुवाको टारी खेत थियो । जवानीमा दुःख गरेर जम्मा गरेको पैसा सबै छोराछोरीहरुको पालनपोषण, पठनपाठन र बिहेबारीमै सकियो । म घर र घर वरपरको जग्गा बेचेर सबैको बिल्लीबाँठ पार्न सक्दिनथें । मसँग त्यही खेत बेच्नु सिवाय अर्को कुनै उपाय थिएन । मेरो बुवा भन्नुहुन्थ्यो- “सन्तानका रहरहरु पूरा गर्न नसक्ने बाबु संसारको सबैभन्दा असफल मान्छे हो ।”
बुबाको आदर्शलाई म सधैं पछ्याइरहेको थिएँ । मलाई सधैं उहाँका वाणीहरुले मार्गदर्शन गर्थे, तर उहाँले भनेको कुरा यो पालि मेरा लागि बाझिन पुगे । मलाई निकै सकसमा पारे । छोराको खुशी व्यवसाय गर्नुमा थियो । त्यो व्यवसाय गर्न चाहिने लगानीका लागि मँसग बुबाको यो चिनो बेच्नुबाहेक अरु कुनै विकल्प बाँकी थिएन ।
धेरै आत्ममन्थन गरेर त्यो खेत बेच्ने निर्णयमा पुगेँ । समयानुसारको दाम पनि राम्रै मिलेको थियो तर मलाई खेत बेचेपछि हररात ऐँठन हुन थाल्यो । मेरो निद्रा हरायो । भोक लाग्न पनि छाडेको थियो । मेरो बेचैनीले सीमा नाघ्यो, जब स्वप्नले जग्गा बेचेको सबै पैसाले पनि लगानी गर्न पुगेन भनेर गुनासो गर्यो । त्यसपछि मेरो मन एउटै कुराले ख्याउ-ख्याउ खान थाल्यो । न त बुवाको नाशो बाँकी रह्यो, न त छोरो खुशी नै । यस अर्थमा म पूरै असफल भइसकेको थिएँ । मलाई लाग्यो, समयसँग त्यस्तो शक्ति हुन्छ, जसले जस्तोसुकै आशावादी मान्छेलाई पनि निराशावादी तुल्याइदिन सक्छ । मलाई पनि त्यस्तै केही भयो । निराशाको कालो बादलभित्र गुम्सिएझैं महसुस गर्न थालें ।
गाउँमा कोही कतै जम्मा भए पनि सबैले मेरै कुरा काटेझैं लाग्न थालेको थियो । सबैलाई न्याय दिन्छु भन्ने खड्गे आफ्नै पितृलाई भने न्याय गर्न सकेन भनेर कुरा काट्छन् होला भन्ने अड्कल काट्थेँ । मलाई निकै डर पनि लागिरहेको थियो ।
मेरा बुबाले त्यो खेतमा मलाई लिएर जाँदा सधैं भन्ने गर्नुहुन्थ्यो- “बाबु, यो खेत फगत खेत मात्र होइन, सपना पनि हो । भावना पनि हो । ख्याल राखेस्, यो खेतमा पानी मात्र होइन, हाम्रा पुर्खाहरुको रगतपसिना पनि मिसिएर बग्दै आएको छ । यो खेत मेरो हजुरबुवाले मेरो बुवालाई, मेरो बुवाले मलाई र मेरो शेखपछि यसको भोगचलन तैंले नै गर्ने होस् । मैले झैँ तैंले पनि यसलाई सिँच्नु । मैले जस्तै यसलाई जोगाएर तेरो छोरालाई जिम्मा लाउन सकिस् भने तेरो जीवन पनि सार्थक हुनेछ । मलाई थाहा छैन, तँलाई यो खेतमा टेक्दा कस्तो महसुस हुन्छ तर मलाई भने यो खेत निकै प्यारो लाग्छ । मलाई सुरुमा यो जग्गा फगत् जग्गा मात्रै त हो नि भन्ने लागेको थियो । तर जब बुबाको मृत्यु भयो, त्यसपछि बल्ल मेरा लागि यो खेत खेत मात्रै रहेन । अहिले मलाई लाग्छ, मेरो बुबा लगायत हाम्रो तमाम पुर्खाहरुको आत्मा यतै वरपर घुमिरहेछन् ।”
मेरो मृत्युपछि मेरो हंस पनि त्यही खेतमै बसोस् भनेर म त्यतैतिर लागेको छु । मलाई पनि मेरो पुर्खाहरुसँगै डुल्नु छ । हिजो सपनामा बुबाले निकै दुःख मानेर भन्दै हुनुहुन्थ्यो- “बाबु, गाह्रो भए, आइज् यतै । दुःख पाइस् ।” त्यसैले म पनि बुबाले बोलाएको ठाउँमा जाँदैछु । मेरो मरणअघि नै यो नोट भेटेछौ भने पनि मलाई नखोज्नू । बचाउने चेष्टा नगर्नू । मेरो मृत्युको पूरै जिम्मेवारी म स्वयं लिन्छु ।
अन्त्यमा, मेरो यो कदमले को-कोलाई कस्तो आघात पुग्नेछ, त्यो त मलाई थाहा छैन, तर मैले तिम्लाई भने अन्याय गरेको छु, राधा । म तिम्रो दोषी हुँ, सक्छौ भने मलाई माफ गर्देऊ है! यो जुनीलाई यत्ति नै!
सबैमा माया । अलबिदा ।
खड्ग बहादुर खड्का
यति पढिसक्दा म थरथर काँपिरहेको थिएँ । शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । मनमा अनेकौँ तर्कना खेल्न थालेका थिए । मनमा दुविधा पनि थियो । दुविधा यो कुरामा थियो कि अब मैले त्यो नोट खड्गे बाको परिवारलाई दिउँ कि नदिउँ?
एकमन त लाग्यो, मैले त्यो नोट पढ्नै हुँदैन्थ्यो । त्यो मेरो लागि लेखिएकै थिएन । नोट पढेकोमा मलाई ग्लानि भयो ।
सोचें, यो नोट कसैलाई सम्बोधन गरेर लेखिएको छ । खड्गे बा आफ्नो मृत्युको कारण र दोष कसैलाई लगाउन चाहँदैनथे भन्ने व्यहोरा पनि यसमा लेखिएको थियो । उनी सबले उनको कुरा र परिस्थिति बुझेर उनलाई माफ गरिदिऊन भन्ने पनि चाहन्थे । फेरि यो पनि लाग्यो कि, यो कुरा जसका निम्ति लेखिएको हो, उसले पढ्नै पर्छ । खड्गे बाको बारेमा बनेका नानाभाँति मिथकहरुको खण्डन पनि यो नोटले गरेको थियो ।
तर, व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्याएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो ।
अन्त्यमा म त्यो नोट खड्गे बाको परिवारका सदस्यलाई दिने निर्णयमा पुगेँ । दिन त दिने तर कसरी? सोचेँ, आज लगेर दिएँ भने ममाथि थुप्रै प्रश्नहरु बज्रनेछन् । कहाँ भेटिस्? कहिले भेटिस्? हिजो भेटेको भए हिजै किन दिइनस्? आज ल्याएर किन दिँदैछस्?
ह्या, जे होस् होस् ! जे हो त्यो भन्दिन्छु र एकजनालाई थमाइदिन्छु । मैले केही बिराएको होइन, किन डराउनु? त्यो नोट मैले जानेर गोजीमा हाल्या पनि होइन त म किन डराउनु? यावत् कुराहरुले आफैँलाई दह्रो पार्ने कोसिस गरेँ ।
भोलिपल्ट बिहानतिर म खड्गे बाकोमा गएँ । त्यो नोट कसलाई दिने होला भन्ने मात्र सुर्ता थियो मलाई । लाग्यो, खड्गिनी बजै पढ्न जान्दिनन्, उनलाई दिएर फाइदै छैन । अन्त्यमा खड्गे बाको छोरो स्वप्नलाई नै दिँदा उपयुक्त हुन्छ होला भन्ने लाग्यो । मनलाई दह्रो पारेर खड्गे बाको घर गएँ ।
भोलिपल्ट खड्गेबाको घर पुग्दा सबै पिँढीमा बसेर झोक्राइरहेका थिए । एउटा कुनामा स्वप्न मोबाइल हेरेर बसिरहेको थियो । म आएको देखेर उसले मतिर हेर्यो र यन्त्रवत् मुस्कानले स्वागत गरेझैं गर्यो । उसको त्यो मुस्कान मान्छेको मनमा पीडा हुँदाहुँदै मुस्कुराउँदा निस्कने असुहाउँदो मुस्कान थियो । मैले स्वप्न नजिकै गएर अरुले नसुन्ने गरी भनें, “स्वप्न, एउटा कुरा भन्नुथियो !”
उसले मोबाइलको स्क्रिनबाट नजर नहटाई सोध्यो- “के कुरा ?”
मैले भनें- “बुबाले देह त्याग्नुअघि एउटा नोट छोड्नु भएको रहेछ । त्यो मसँग छ, हिजो ठाउँ बनाउँदा भेटेको थिएँ, दिन्छु भनेको बिर्सेछु । अहिले मसँगै छ, यी लिऊ!” यति भनेर मैले त्यो नोटलाई अलक्क भुईंमा राखिदिएँ ।
उसले टिप्यो, खोल्यो र अचम्म त के भयो भने उसले त्यो नोट पढ्दै नपढी टुक्राटुक्रा पारेर आँगनमा फालिदियो ।
म लगायत आँगनमा जम्मा भएका सबैजना ट्वाल्ल परेर एकअर्काको मुख ताक्न थाले, तर कोही केही बोलेनन् । त्यो सुसाइड नोट पढेको म किंकर्तव्यविमूढ भएर त्यही उभ्भिरहें ।
व्यक्तिगत रुपमा मलाई भने आत्महत्या नै गर्नपर्ने त्यस्तो कुनै ठूलो र ठोस कारण भने केही रहेनछ भन्ने लाग्यो । खड्गे बाले निकै तनाव मानेर त्यस्तो ठूलो निर्णय लिन पुगेका रहेछन् । अदृश्य मनको हाउगुजीले उनलाई मृत्युसम्म डोर्याएको रहेछ । उनलाई मनको बाघले नराम्ररी खाइदियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

