त्यसदिन पनि मत्स्यगन्धा सधैँझैँ बिहानैदेखि नदी किनारमा आफ्नो डुङ्गा तयार पारेर यात्रीहरूलाई नदी पार गराउन तयार थिइन् । यो उनको दिनचर्या हो । हरेक दिन प्रातःकाल माताले दिएको स्वल्पाहार लिएर उनी नदी किनारमा पुग्छिन् । अनुकूल पऱ्यो भने दिवा भोजनका निम्ति घरमा आउँछिन् । अन्त्यथा सायङ्काल एकैपटक घर निस्किन्छिन् ।
पुत्रीले यसरी जिम्मेवारी वहन गरेपछि मुखिया निषादराजलाई सामाजिक कार्यहरूमा समय दिन सजिलो भएको छ । यतिमात्र नभई पुत्रीले एकचित्त भएर बोट चलाउने गरेकाले आयस्रोतसमेत बढेको छ ।
गाउँलेहरू भन्छन् “मुखिया ! मत्स्यगन्धा जन्मले भलै पुत्री होऊन्, कर्मले पुत्र हुन् ।” प्रत्युत्तरमा मुखिया मुस्कुराउने गर्छन् तर त्यस मुस्कानमा प्रशन्नता लेसमात्र पनि रहँदैन ।
कारण ?
कारण यही हो कि हुर्किएकी छोरीले जतिसुकै बाबुको काँध थापोस् तर बाबुलाई धुमधामले छोरीको विवाह गरिदिने रहर हुन्छ । मत्स्यगन्धालाई कुनै पनि युवकले स्वीकार गर्ला भन्ने विश्वास नहुनु निषादाराजको मुख्य चिन्ताको विषय हो ।
पुत्रीले जिम्मेवारी वहन गरेर पितालाई पालो दिनु पक्कै पनि खुसीको विषय हो तर मत्स्यगन्धाको हकमा भने यो उसको बाध्यता हो र त्यही बाध्यताबोधले मुखियालाई आत्मैदेखि हाँस्न दिँदैन, खुसी हुन दिँदैन ।
कुनै पनि खुसीले मान्छेलाई जीवनभर साथ नदिँदो रहेछ । निःसन्तान निषादराजले जुन दिन मत्स्यगन्धालाई नदी किनारमा भेटेका थिए उनले कोखिलामा बोकेर छिटोछिटो आफ्नो गाउँ माझीटारमा निस्किएका थिए र घर पुगेर पत्नीलाई भनेका थिए “हेर त भाग्यवती हाम्रो सन्तान नभएर के भो र । आज ईश्वरले हाम्रो कोख भरिदिएका छन् ।”
सन्तान नहुनुको चिन्ताग्निमा दिनदिनै जलिरहेकी मुखिनीका मनमा प्रश्न नउठेको होइन “यो कसको सन्तान ल्यायौ मुखिया ?” तर देख्दादेख्दै शिशुप्रति यसरी माया पलाएर आयो । उनले यो बिर्सिइन् कि यो अन्यत्र भेटिएको शिशु हो ।
बिस्तारै हल्ला चल्यो “मुखियाले भेटेकी बालिका चेदीनरेशकी पुत्री हुन् रे !”
मुखियाको परिवारमा बालिकाले भित्र्याएको खुसी त्यसैगरी हरायो जसरी पुसको घामको तातो बादलले सूर्यलाई छेक्नासाथ हराउँछ ।
एकदिन महारानी गिरिकाले निषादराजलाई दरबारमा बोलाएर निश्चिन्त तुल्याइन् “हामीले थाहा पायौँ कि हाम्री पुत्री तिमीकहाँ पुगेकी रहिछन् । उनलाई आफ्नै धर्मपुत्री सम्झेर पाल्नू । हामीबाट पुत्रीका विषयमा कहिल्यै हस्तक्षेप हुनेछैन । कहिल्यै कुनै कुराको आवश्यकता परेमा निशङ्कोच भन्नू ।”
निषाददम्पत्तिको जीवनमा मत्स्यगन्धाकै कारण दोस्रोपटक खुसी आयो तर उनीहरूले कहिल्यै महाराज महारानीका सामु सहयोगको याचना गरेनन् । एक त उनीहरूको जीवन विशेष अभावग्रस्त थिएन । अर्को कुरा दासराजलाई राम्रो ज्ञान थियो कि सहयोग लिनु भनेको पुत्रीप्रति महाराज महारानीको अधिकार बढ्नु हो तर चेदी दरबारबाट कहिल्यै पनि मत्स्यगन्धाको विषयलाई लिएर हस्तक्षेप भएन । पुत्री मत्स्यगन्धाका कारण परिवारमा उत्पन्न खुसी बिस्तारै कम हुँदै गयो । जब जब मत्स्यगन्धा बाल्यावस्थाबाट युवावस्थामा प्रवेश गर्दै गइन् । उनका अङ्गहरू उमेरअनुसार परिवर्तन हुँदै गए । रजस्वला भयो, वक्षहरू पुष्ट हुँदै गए त्यसपछि उमेर समूहका युवा युवतीहरू मत्स्यगन्धाबाट बिस्तारै टाढिन थाले । यसको मुख्य कारण थियो मत्स्यगन्धाको शरीरबाट एकनास निस्किरहने मरेको माछाको जस्तो गन्ध ।
समवयका युवायुवती बिस्तारै टाढिन थालेपछि मत्स्यगन्धाले पनि उनीहरूको निकट हुने प्रयत्न गर्न छोडिन् । उनी प्रायः घरमै बस्थिन् । उनको ऐकान्तिक दिनचर्याले मुखिया दम्पत्तिलाई त्यसै त्यसै पिरोलिरहन्थ्यो । यसरी एक्लो हुँदा मत्स्यगन्धाको मन कति रमाउँदो हो कुन्नि ? तर पुत्रीको यसप्रकारको एकान्तप्रियताले निषाद दम्पत्तिलाई भने गहिरो चिन्तामा पार्न थालेको थियो ।
एकदिन मुखियाले पुत्रीको एकान्तवासका कारण परिवारमा उत्पन्न समस्या र चिन्ताको समाधान निकालेका थिए । उनले पत्नीलाई भनेका थिए “म अब पुत्रीलाई डुङ्गा चलाउने अभ्यास गराउँछु । अब पुत्रीले मेरो काममा सघाउनेछिन् ।”
तर यो उपाय पनि धेरैदिन चलेन । जुन दिनबाट मत्स्यगन्धा पितासँग नदीमा झरिन् त्यसैदिनबाट मुखियाको डुङ्गामा यात्रुहरू बस्न छोडे । उनीहरू भन्थे “मुखिया तिम्रो डुङ्गामा नमिठो गन्ध आउँछ । वाकवाकी लागेर आउने ।”
एकक्षणका निम्ति निराश भए पनि मुखियाले हार मानेनन् । पुत्रीका निम्ति अन्य डुङ्गाको अपेक्षा भिन्न प्रकृतिको लामो आकारको डुङ्गा निर्माण गरिदिए । त्यसको एक छेउमा बसेर मत्स्यगन्धा बहना खियाउँथिन्, यात्रुहरू अर्को किनारमा बस्थे ।
अब भने मत्स्यगन्धाको ऐकान्तिक समस्याको स्थायी समाधान भएको थियो । उनी हरेक दिन बिहानै नदी किनारमा जान्थिन् । दिनभरि यात्रीहरूलाई नदी तार्थिन् र साँझ घर फर्कन्थिन् ।
+++
त्यसदिन पनि सधैँझैँ बिहानै झरिन् मत्स्यगन्धा नदीकिनारमा । दिनभर यात्रुहरूको आवागमनका कारण मत्स्यगन्धालाई फुर्सद नै भएन । दिनभरिको परिश्रमले शरीरमा खलखली पसिना आएको थियो । बेलुकाप्रहर यात्रुहरूको आवागमन कम भएपछि अन्य नाविकहरू गाउँतिर लागे । मत्स्यगन्धा डुङ्गालाई बाँसको खाँबोमा बाँधेर हातखुट्टा धुन लागिन्, मुख धुन लागिन् ।
पश्चिम ढल्केका घामका किरण जलको प्रवाहमा सुवर्ण रङ्ग भई बगिरहेको थियो । त्यसतर्फ मत्स्यगन्धाको कुनै ध्यान थिएन । सायङ्कालीन मन्दपवनले आफूलाई स्पर्श गर्दै वदनको गन्ध बोकेर पूर्वतिर लागेको पनि उनलाई ख्यालै भएन, र ख्यालै भएन टाढैबाट कुनै योगी आफैँलाई लक्ष गरेर आफैँनिर आइपुगेको ।
योगीले नजिकै आएर जब सम्बोधन गरे “बालिका !” मत्स्यगन्धा एकप्रकारले तर्सिइन् । उनले योगीको मुखमा हेरिन् र हतपत उठेर नमस्कार गरिन् ।
“बालिका नाविकहरू सबै गैसके ? कोही देखिँदैन त !” आशीर्वादको मुद्रामा हात उठाउँदै योगीले भने ।
“हजुरले कसलाई खोज्नुभएको हो महर्षि ?” सहज जिज्ञासा थियो मत्स्यगन्धाको ।
“मलाई पारि पुग्नु थियो ।” योगीले आफ्नो उद्देश्य प्रकट गरे ।
“म छु नि महर्षि ।” मत्स्यगन्धाले योगीको मुखमा हेरेर भनिन् । अग्लो र पातलो शरीरलाई पिताम्बरले लपेटेका सेता दारी र केशका बीचमा एकप्रकारको लालिमायुक्त आकर्षण रूपयुक्त योगी जब मत्स्यगन्धासँग बोल्थे मोतीजस्ता सेता दन्तलहर आकर्षक देखिन्थे ।
“तिमी डुङ्गा चलाउन सक्छ्यौ ?” सहज थियो योगीको जिज्ञासा ।
“महर्षि म व्यावसायिक नाविक हुँ, हजुर निश्चिन्त हुनुहोस् । म हजुरलाई सकुशल गङ्गापार गराउनेछु ।”
योगी मुस्कुराए र मत्स्यगन्धाका पछि लागे । मत्स्यगन्धाले बाँधेको डोरी खोलिन् र योगीलाई डुङ्गामा चढाइन् । बिस्तारै उनले डुङ्गालाई पानीमा धकेलिन् र आफू पनि डुङ्गामा चढिन् ।
“बालिका तिमीसँग एउटा कुरा सोधूँ ?” अघिदेखि मत्स्यगन्धालाई ध्यानपूर्वक नियालिरहेका योगीले भने ।
“सोध्नुहोस् महर्षि” दुवै हातले बहना चलाइरहेकी मत्स्यगन्धाले सहमति जनाउँदै भनिन् । बहना चलाउँदा उनको शरीर कहिले सोझो हुन्थ्यो त कहिले अगाडिपट्टि झुक्थ्यो । अगाडि झुकेका बेला उनको कालो तर पुष्ट वक्षस्थलको बीचको केही भाग स्पष्ट देखिन्थ्यो ।
“तिमी युवती भएर पनि…”
मत्स्यगन्धालाई लाग्यो महर्षि कुनै महत्त्वपूर्ण कुरा गर्दै छैनन् । यसै शून्यतालाई भङ्ग गर्ने प्रयत्न गर्दैछन् । “युवती भएर के त महर्षि ?” सोधिन् उनले ।
“डुङ्गा चलाइरहेकी छौ ।”
यो अक्सर मत्स्यगन्धासँग सोधिने प्रश्न थियो र मत्स्यगन्धाले पनि यही उत्तर दिने गरेकी थिइन् “के युवतीले डुङ्गा चलाउनु हुँदैन र ?”
“युवती तिम्रो डुङ्गामा अघिदेखि कस्तोकस्तो गन्ध आइरहेको छ ।” सायद कुराकानीको सन्दर्भ जोड्नुको मुख्य उद्देश्य यही थियो योगीको ।
योगीको अभिव्यक्ति सुनेर मत्स्यगन्धाको अनुहारको भाव परिवर्तन भयो । मानौँ चन्द्रमालाई कालो बादलले ढाकेको होस् र भर्खरसम्मको झलमल्ल रात्रि चकमन्न अन्धकारमा परिणत भएको होस् ।
मत्स्यगन्धाको मुहारको परिवर्तनलाई योगीले पनि महसुस गरे । उनलाई लाग्यो नसोध्नुपर्ने कुरा सोधेछु क्यार । “युवती मेरो प्रश्नले तिम्रो चित्त दुखेजस्तो लाग्यो । मेरो मनसाय तिम्रो मन दुखाउनु थिएन ।”
आफ्नो अनुहारको उदासीन भावलाई केही कम गर्दै मत्स्यगन्धाले भनिन् “महर्षि हजुरले थाहा पाएको गन्ध सही हो ।” उनी बिस्तारै डुङ्गा पनि चलाउँदै थिइन् र बोल्दै पनि थिइन् । मत्स्यगन्धाले आफ्नो शरीरबाट उत्पन्न हुने गन्धबारे आफूलाई ज्ञात भएको कुनै पनि कुरा नलुकाई योगीलाई सुनाइन् ।
“के यसको उपचार गराइनौ ?” योगीले सोधे ।
“यस्तो समस्याको पनि उपचार हुन्छ र महर्षि ?”
“हुन सक्छ, प्रयास गर्नुपर्छ । सबै रोग निको हुन्छ नै भन्ने त कहाँ छ र ! र पनि मान्छेले निको हुन्छ कि भनेर उपचार त गरिरहेको हुन्छ नि ।”
यतिबेरमा मत्स्यगन्धाले डुङ्गा नदिको पल्लो किनारमा पुऱ्याइसकेकी थिइन् । उनले बिस्तारै डुङ्गालाई किनारमा लगाइन् । आफू डुङ्गाबाट उत्रिइन् र योगीलाई उत्रन सङ्केत गरिन् ।
“तिमी कसकी पुत्री हौ युवती ?” झर्दैगर्दा योगीले सोधेका थिए ।
“म माझीटार मुखियाकी छोरी हुँ ।” मत्स्यगन्धाले भनिन् ।
आफ्नो झोलीबाट निकालेर योगीले मत्स्यगन्धालाई केही मुद्रा दिन खोजे । “के गर्नुभएको हो महर्षि ! म योगीहरूलाई नदी पार गराएर पारिश्रमिक लिन्न ।”
योगीले युवतीलाई कर गरेनन् । मुस्कुराए र भने “संस्कारित रहिछौ । योगीहरूप्रति सम्मान रहेछ । तिमीलाई भेटेर खुसी लाग्यो । तिम्रो नाम… ?”
“मत्स्यगन्धा”
“किन यस्तो नाम ?” महर्षिले भने “आजबाट तिम्रो नाम योजनगन्धा । मुखियालाई भन्नू पराशर भेट भएका थिए । एकपटक आश्रममा बोलाएका छन् ।”
साँझ घर पुगेर मत्स्यगन्धाले मातापितालाई सुनाइन् “सायङ्काल एक योगी नदीकिनारमा आइपुगेका थिए । आफ्नो नाम पराशर बताएका थिए । मैले उनलाई पारि तारिदिएँ । भनेका थिए एकपटक हजुरले भेट्नु रे ।”
“महर्षि पराशर !” मुखियाले प्रसन्नता र विस्मयमिश्रित आवाजमा भने “किन बोलाएका पुत्री ?”
“खोइ पिता ! मेरो नाम सोधेका थिए र भनेका थिए नाम राम्रो भएन । तिमी योजनगन्धा हौ ।”
“योजनगन्धा ! कति सुन्दर नाम ।” मुखिया प्रसन्न देखिन्थे ।
“अनि मेरो शरीरको गन्धका विषयमा चासो लिएर भनेका थिए –उपचार किन नगरेको ?”
“किन बोलाएका हुन् त महर्षिले ?” मनमनै सोचेका थिए मुखियाले । उनलाई थाहा थियो महर्षि पराशर एक ठूला वैद्य हुन् । त्यसकारण उनीसँग छिट्टै भेटेर पुत्रीको उपचार गरिदिन अनुरोधसमेत गर्ने निधो गरे मुखियाले ।
+++
आफ्नो घोँडा आश्रमको बाहिर राखेर दासराज आश्रम प्रवेश गरे । उनले केही फल, गोरस, मह आदि लिएका थिए महर्षिलाई कोसेली दिन भनी ।
दासराज पराशरको कुटीनिकट पुग्दा महर्षि आफ्नै कुटीभित्र थिए । मुखियाले एक सेवकसँग आफूले महर्षिलाई भेट दर्शन गर्न चाहेको भनी खबर पठाए । केही क्षणमै सेवक कुटीको द्वारमा आएर मुखियालाई महर्षिले बोलाएको जानकारी गरायो ।
मुखियाले महर्षिलाई दर्शन गरे र आफूसँग भएको कोसेली प्रदान गरे । महर्षिले मुखियालाई अगाडिको कुशासनमा बस्न सङ्केत गरे ।
आसनमा बसेपछि मुखियाले भने “महर्षि पुत्रीसँग खबर पठाउनुभएको रहेछ । के आज्ञा थियो होला ?”
“दासराज ! म तिम्री पुत्रीको संस्कार देखेर ज्यादै प्रसन्न भएँ तर दुःख लाग्यो पुत्रीको गन्धरोगको उपचारको प्रयत्न नगरेको सुन्दा ।”
मुखियाले विनम्रतापूर्वक हात जोडे र भने “महर्षि ! मलाई दिन प्रतिदिन पुत्रीको चिन्ताले पिरोलिरहन्छ । तर …।”
“तर के दासराज ?”
“तर के त्यसको उपचार सम्भव होला र महर्षि ?”
“सम्भव छ वा छैन भन्ने कुरा त प्रयत्न गरेपछि थाहा हुने कुरा हो । प्रयत्न नै नगरी कसरी थाहा पाउनु ।”
मुखियाले महर्षिका दुवै पाउ समाएर शिर निहुराउँदै भने “महर्षि तपाईँ आयुर्वेदका ज्ञाता हुनुहुन्छ । वैद्यहरूका पनि वैद्य हुनुहुन्छ । वैद्यराज हुनुहुन्छ । त्यसकारण मेरी पुत्रीको उपचार हजुरले नै गरिदिनुपऱ्यो ।”
“म लोक कल्याणकै निम्ति आश्रम स्थापना गरेर बसेको हुँ दासराज । यहाँ उपचारको अपेक्षा लिएर आउने कसैलाई पनि म निराश गर्दिनँ । सक्दो प्रयत्न गर्छु । अनि तिम्री पुत्रीको उपचार किन नगर्नु ।” महर्षिले मुखियालाई आश्वस्त पार्दै भने “मेरा लागि नयाँ नयाँ रोग र समस्याहरू आयुर्वेदिक चुनौती लाग्छन् । त्यस्ता समस्याको उपचार प्रक्रिया आफैँमा आयुर्वेदिक अनुसन्धान पनि भएकाले त्यस्ता समस्याको सामना गर्नुपर्दा नयाँ अनुभव हुन्छ । आनन्द पनि आउँछ ।”
महर्षिको कुराले मुखिया आश्वस्त भए । उनी महर्षिले पुत्रीको उपचार गरिदिन्छन् भन्नेमा निश्चिन्त भए तर उपचार प्रक्रिया ज्यादै खर्चिलो हुने हो कि भन्ने आशङ्का लाग्यो । महर्षि पराशरले उनको आशय बुझे र निश्चिन्त तुल्याउँदै भने “दासराज ! पुत्रीको उपचार खर्चिलो होला कि भन्ने चिन्ता गर्नु पर्दैन । हामीलाई विभिन्न राज्यबाट पर्याप्त सहयोग प्राप्त छ । हामीकहाँ सक्ने व्यक्तिहरू सशुल्क र अशक्तहरू निःशुल्क उपचार गराउँछन् ।”
महर्षिका आश्वासनले निश्चिन्त बनेर गएका मुखियाले केही दिनमै पुत्रीलाई लिएर आश्रममा आए । महर्षिसँग लामो परामर्शपछि आवश्यक समयावधिका निम्ति मत्स्यगन्धालाई आश्रममा नै छोडेर मुखियादम्पति गाउँ फर्किए ।
कहिल्यै घर र मातापितालाई छोडेर बाहिर नबसेकी मत्स्यगन्धालाई सुरु सुरुमा नियास्रो लागेको थियो तर जब बिस्तारै उपचार प्रक्रियामा संलग्न हुन थालिन्, उपचारमा उनको व्यस्तता बढ्दै जान थाल्यो उनी आश्रमको दिनचर्यामा रमाउँदै जान थालिन् ।
प्रारम्भिक दिनमै महर्षि पराशरले सम्झउँदै भनेका थिए “योजनगन्धा ! भोलिबाट तिम्रो उपचारप्रक्रिया प्रारम्भ हुन्छ । तिम्रो समस्या मेरा लागि पनि नौलो अनुभव भएकाले कति समय लाग्छ म भन्न सक्दिनँ र सफलता मिल्छ कि मिल्दैन त्यो पनि भन्न सक्दिनँ । तिम्रा निम्ति अपनाइने उपचार विधिहरू केही सरल र केही ज्यादै जटिल हुन सक्छनन् । मलाई विश्वास छ तिमीले तनमनका साथ आफ्नो उपचारमा सक्रियता जनाउने छौ ।”
प्रत्युत्तरमा मत्स्यगन्धाले भनेकी थिइन् “महर्षि ! हजुरले मेरो समस्यालाई यतिविघ्न महत्त्व दिएर सहयोग गर्न खोज्नुभएको छ । म मेरा लागि किन सक्रिय नहुँला र ।” ज्यादै गम्भीर थियो उनको अभिव्यक्ति ।
“तिम्रा दुईवटा समस्या छन् योजनगन्धा ।”
“के महर्षि ?”
“तिम्रो शरीरको बनोट यति सुन्दर छ योजनगन्धा कि जुनसुकै युवक तिमीप्रति मोहित नभई रहन सक्दैन । त्यतिमात्र होइन राजा र राजकुमारहरूलाई समेत मोहित तुल्याउन सक्ने सामर्थ्य छ तिमीमा तर तिम्रो त्यो सुन्दरतालाई कालो कत्लाले ढाकेको छ र अर्को हो तिम्रो वदनबाट निस्कने नमिठो गन्ध ।”
कसैले महत्त्व नदिने, त्यतिमात्र होइन सबैले तिरस्कार गर्ने आफ्नो शरीरको बनोटको यसरी महर्षि पराशरले प्रशंसा गर्दा मनैमन मत्स्यगन्धा प्रफुल्ल भइन् । उनका अगाडि एकाएक राजकुमार युवराजहरूले प्रेमप्रस्ताव राखेका स्वप्नहरू घुम्न थाले । उनलाई पूरा सम्झना थियो आफ्नो शरीरको प्रशंसा गर्ने पराशर पहिलो व्यक्ति हुन् । त्यसो त पराशर सेतै फुलेका वृद्ध तपस्वी हुन् र पनि मत्स्यगन्धा कुनै सुन्दर र बलिष्ठ युवकले प्रशंसा गरेसरह अन्तर्हृदयदेखि नै प्रसन्न भइन् ।
“यसका निम्ति मैले के गर्नुपर्छ महर्षि ?” मत्स्यगन्धाको अभिव्यक्तिमा आफूलाई सुन्दर बनाउने व्यग्रता यतिविघ्न र तीव्र थियो कि उनको अभिव्यक्तिबाट बुझिन्थ्यो त्यसका निम्ति उनी जस्तोसुकै मूल्य चुकाउन तयार हुनेछन् ।
“भोलिदेखि तिम्रो उपचार प्रारम्भ हुनेछ । उपचारका क्रममा तिमीलाई कुनै अप्ठेरो पऱ्यो, शङ्का उत्पन्न भयो भने मलाई भन्नू । अन्यथा निर्देशनानुसार उपचार पद्धतिमा सहभागी हुँदै जानू ।”
“जो आज्ञा महर्षि ।” दुवै हात जोडेर मत्स्यगन्धाले भनिन् ।
महर्षिले एक सेवकलाई बोलाए र दुई वरिष्ठ चिकित्सकलाई बोलाई ल्याउन पठाए । केही क्षणमै एक पुरुष र एक स्त्री कुटीमा प्रवेश गरे ।
“योजनगन्धा यी वैद्य मनोरथ हुन् यस संस्थानका वरिष्ठ चिकित्सक । यिनी रसायन औषधिका अनुसन्धाता पनि हुन् र यी हुन् साध्यवसाना ।” उनीहरूलाई सङ्केत गर्दै पराशरले भने “मनोरथ, साध्यवसाना यी हुन् निषादपुत्री योजनगन्धा । आजबाट यिनको उपचारको दायित्व तिमीहरूको ।”
महर्षिले मत्स्यगन्धाको समस्याको परिचय गराउँदै मनोरथ र साध्यवसानालाई प्रारम्भमा अवलम्बन गर्ने उपचार विधिबारे निर्देशन गरे ।
अर्कोदिन बिहानैदेखि मत्स्यगन्धाको उपचार प्रारम्भ भयो । उनको उपचारले विशेष महत्त्व पाएकाले मत्स्यगन्धा आश्रममा छिट्टै परिचित भइन् । उनलाई सबैले योजनगन्धा भनेर सम्बोधन गर्न थाले ।
मत्स्यगन्धालाई कहिले वस्त्रसहित त कहिले निर्वस्त्र बनाएर उपचारमा संलग्न गराइन्थ्यो । निर्वस्त्र बनाउनुपर्दा साध्यवसाना आवश्यक अन्य नारीहरूको सहयोगमा उपचार पद्धति अवलम्बन गर्थिन् भने वस्त्रसहित गरिने उपचारमा मनोरथ र साध्यवसानाकै विशेष संलग्नता रहन्थ्यो ।
एकदिन मत्स्यगन्धाले पराशरलाई भनेकी थिइन् “महर्षि के मैले उपचारका क्रममा भित्री वस्त्र पनि लगाउन वर्जित छ । निर्वस्त्र हुँदा मलाई ज्यादै असहज महसुस हुन्छ ।”
पराशरले गम्भीरतापूर्वक सम्झाउँदै भनेका थिए “योजनगन्धा तिमीले ती परिश्रमी श्रमिकहरूलाई पक्कै देखेकी छौ होला जो दिनभरि अर्धवस्त्र लगाएर टन्टलापुर घाममा काम गरिरहेका हुन्छन् ।”
“देखेकी छु महर्षि । मेरै साथ दिनभरि बहना खियाउने निषादहरू पनि प्रायः अर्धवस्त्रमै हुन्छन् ।”
“त्यसोभए तिमीले ध्यान दिएकी हौली तिनले आफ्नो वस्त्र उतार्दा वस्त्र रहेको भाग र नाङ्गो भागको रङ्ग फरक हुन्छ ।”
“देखेकी छु महर्षि, वस्त्रभित्रको भाग सेतो र सोझै घाम परेको भाग घामले डढेर कालो हुन्छ ।” मत्स्यगन्धाले बुझेकी थिइनन् कि महर्षि उनलाई के सम्झाउँदै छन् ।
“हो तिमीले ठिक भन्यौ योजनगन्धा । त्यसैको ठिक उल्टो तिम्रो शरीरमा पहिलेदेखि नै कालो कत्ला छ । हामी उपचार विधिको प्रयोग गरेर त्यो कालो हटाउने प्रयासमा छौँ र यदि तिम्रो शरीरको कुनै भाग वस्त्रद्वारा छेकियो भने…?”
मत्स्यगन्धाले बल्ल बुझिन् र त्यसदिनदेखि निर्वस्त्र हुनुमा कुनै असहज महसुस गरिनन् ।
+++
निषाद दम्पति बीच बीचमा आउँथे र पुत्रीलाई भेटेर जान्थे । एकदुईपटक उनीहरूले पराशरलाई भनेका पनि हुन् “महर्षि ज्यादै नियास्रो लागेको छ । के एकदुईदिन पुत्रीलाई लैजान मिल्ला ?”
“मुखिया ! योजनगन्धा तपाईँकी पुत्री हुन् । लैजान मिल्दैन कसरी भनूँ तर उपचारले नियमितता प्राप्त गर्न सकेन भने प्रभावकारी नहुन सक्छ ।”
त्यसपछि उनीहरूले कहिल्यै पनि छोरीलाई घर लैजाने जिक्री गरेनन् ।
मत्स्यगन्धाका निम्ति प्रयोग गरिने उपचार विधिहरू ज्यादै खर्चिला थिए । प्रातःकाल लामो समयसम्म पानीको तातो बाफमा बसेर शरीरबाट खलखली पसिना निकालिन्थ्यो त्यसपछि कहिले दुहुँदादुहुँदैको तातो, कहिले तताएर मनतातो पारिएको केशर मिश्रित दुधमा धेरैबेर बसाइन्थ्यो । कहिले गुलाबजल, बेसार मिसाएको मनतातो पानी, कागतीपानी, अदुवा र सुकमेलको पानी, अनेक वन्य जडीबुटीको रसमिश्रित जल, रिट्ठो उमालेर तयार पारिएको तातो पानी आदिमा नुहाउनु, घण्टौँ बस्नु मत्स्यगन्धाको दिनचर्या बनेको थियो ।
चिकित्सक, अन्य आश्रमवासी र आगन्तुकहरू आश्चर्य मान्थे “एक निषादपुत्रीको उपचारलाई यति ठूलो महत्त्व !”
तर मनोरथ र साध्यवसानाले बुझेका थिए कि यो एक उपचार मात्र नभर अनुसन्धान पनि हो । अनुसन्धानले महत्त्व पाउनु स्वाभाविक पनि हो ।
मत्स्यगन्धाको अत्यधिक समय उपचारमा बित्ने हुँदा उनी साध्यवसानाको सान्निध्यमा हुन्थिन् भने उपचारपछिको सायङ्कालको केही समय महर्षि पराशरको साथमा उनकै कुटीरमा । महर्षि पराशर उनीसँग अनेक प्रश्न सोध्थे । ती प्रश्नहरू प्रायः उपचारको क्रममा मत्स्यगन्धाले गरेको अनुभवसँग सम्बन्धित रहन्थे । पराशरले मत्स्यगन्धाले व्यक्त गरेका अनुभवहरूलाई टिपोट गर्थे र कतिपय कुरालाई आयुर्वेदले निर्देशन गरेका सन्दर्भसँग जोडेर हेर्थे ।
करिब दुईमासको उपचारपछि एकदिन दिवाकाल पराशरले मस्त्यगन्धालाई उपचार प्रक्रिया रोकेर आफ्नो कार्यकक्षमा बोलाए । मत्स्यगन्धा आफ्नो कक्षमा आइपुगेपछि उनले भने “योजनगन्धा आज म तिमीलाई एक विशेष कुरा देखाउँछु ।”
“के महर्षि ?” मत्स्यगन्धाले जिज्ञासु हुँदै सोधिन् ।
“आऊ तिमी मेरो साथमा ।”
महर्षि र मत्स्यगन्धा कुटिरबाट निस्किए । बिस्तारै दुवै जना आश्रमबाट टाढा पुगे । महर्षिले मत्स्यगन्धालाई उनकै उपचार पद्धतिका विषयमा धेरै कुराहरू सोधिरहे र उनले उत्तर दिँदै अगाडि बढिन् ।
हिँड्दाहिँड्दै मत्स्यगन्धा र पराशर एक यस्तो स्थानमा पुगे जहाँ मान्छेको उपस्थिति शून्य थियो तर सुन्दर झरना, ठूलो र नीलो ताल, रङ्गीविरङ्गी अनेक थरीका वनपुष्पहरू, रङ्गीविरङ्गी अनेक थरी चराचुरङ्गीहरू, मृग, आदि पशुहरू यत्रतत्र निर्भयका साथ विचरण गरिरहेका थिए ।
“महर्षि ! कस्तो रमणीय स्थल हो ।” मत्स्यगन्धाले ज्यादै हर्षित भावमा भनिन् “आजपर्यन्त हजुर वा कसैले मलाई यहाँ लिएर आउनु भएन । अनि आज…”
“योजनगन्धा कतै तिमी यो एकान्तबाट भयभीत त भएकी छैनौ ?” महर्षिले मुखमा हेरेर सोधे ।
“यस्तो सुरम्य ठाउँ र भय !” मत्स्यगन्धाले निश्चिन्ततापूर्वक भनिन् “मेरो आशय त यो हो कि मलाई कुन प्रयोजनका निम्ति ल्याउनुभयो ?”
पराशरले भने “योजनगन्धा ! यो आश्रमकै एउटा अंश हो र यस स्थलको प्रयोग विशेषप्रकारको उपचारका निम्ति गरिन्छ ।”
“त्यसोभए मलाई पनि यहाँ उपचारका निम्ति…?”
“होइन योजनगन्धा । यो अत्यन्त सुरम्य स्थान छ । आऊ म तिमीलाई एउटा कुरा देखाउँछु ।” पराशरले मत्स्यगन्धालाई सरोवरको एउटा यस्तो किनारमा पुऱ्याए जहाँबाट मान्छेले जलमा आफ्नो प्रतिच्छाया दर्पणमा जस्तै हेर्न सक्छ र भने “योजनगन्धा जलमा हेर त ।”
जलमा हेर्नासाथ आफ्नो प्रतिच्छाया देखेर मत्स्यगन्धा विस्मित भइन् । उनले भनिन् “महर्षि के त्यो मेरो प्रतिच्छाया हो ?”
“हो योजनगन्धा ! त्यो तिम्रो प्रतिच्छाया हो ।”
“मलाई विश्वास नै हुँदैन महर्षि कि त्यो मेरो प्रतिच्छाया हो ।” जलमा ज्यादै सुन्दर र गौरवर्णकी एक युवतीको प्रतिच्छाया थियो । मत्स्यगन्धाले नदीको जलमा धेरैपटक आफ्नो प्रतिच्छाया हेरेकी थिइन् र निराश हुने गरेकी थिइन् आफ्नो रूप देखेर । आज पहिलोपटक उनी आफैँलाई हेरेर विस्मित र उत्साहित भएकी थिइन् । उनले दुवै हात जोडी महर्षिका अगाडि घुडा टेकेर बस्दै कृतज्ञता प्रकट गरेकी थिइन् ।
आशीर्वादको मुद्रामा हात उठाएर पराशरले भनेका थिए “योजनगन्धा तिम्रो एउटा उपचार सोचेभन्दा तीव्र गतिमा सफल भएको छ । अब आशा छ तिम्रो शरीरको गन्धनिवारणमा पनि सफलता मिल्नेछ ।
+++
पुत्रीको परिवर्तित शरीरको सौन्दर्य देखेर मुखिया दम्पतिको पनि खुसीको सीमा थिएन । उनीहरूले पटकपटक पराशरसामु कृतज्ञता प्रकट गरेका थिए ।
बिस्तारै मत्स्यगन्धाको उपचारपद्धति परिवर्तन गरिएको थियो । उनको शरीरको गन्ध निवारणका निम्ति अनेक औषधि र रसायनको सेवन गराउन थालिएको थियो र त्यसबाट मोटोपन बढ्न सक्ने हुँदा शारीरिक व्यायाममा संलग्न गराउन थालिएको थियो । शारीरिक व्यायामबाट निस्किएको पसिना पखाल्न नियमित दूध, केशर, गुलाबजल आदिको प्रयोग गरिएको थियो ।
तर लामो समयको उपचारपछि पनि मत्स्यगन्धाको शारीरिक गन्ध पूर्णतः निर्मूल हुन सकेन । केही दिन उपचार स्थगन गर्नासाथ गन्ध पुनः उत्पन्न हुन्थ्यो । सधैँभरि उपचार गरिरहनु पनि सम्भव थिएन । मत्स्यगन्धाको शारीरिक गन्धनिवारणको स्थायी समाधानको उपाय के हुन सक्छ भन्ने विषयमा पराशरले अनेक चिन्तन र प्रयत्न गरे । अनेक औषध शास्त्रहरूको चिन्तन गरे । आफ्ना सहयोगीहरूसँग परामर्श गरे तर पनि प्रभावकाररी विधि पहिचान हुन सकिरहेको थिएन । यसले मत्स्यगन्धालाई त निराश तुल्याएको थियो नै पराशर पनि निराश भएका थिए ।
+++
एकदिन साँझपख पराशरले मत्स्यगन्धालाई आफ्नो कार्यकक्षमा बोलाए । मत्स्यगन्धा आएपछि सबैलाई बाहिर पठाएर एकान्तमा मत्स्यगन्धासँग उपचार विषयक विमर्श गरे ।
“योजनगन्धा तिमी आफ्नो शारीरिक परिवर्तनबाट सन्तुष्ट त छौ ?”
“किन र महर्षि ?”
“होइन, तिम्रो शरीरको दुर्गन्ध हटाउन नसकेकाले कतै निराश त छैनौ ?”
पराशरको कुरा सुनेर मत्स्यगन्धा मुस्कुराइन् तर उनको मुस्कानमा पर्याप्त निराशाको भाव थियो । उनले भनिन् “खुसी छैन कसरी भनूँ महर्षि तर हिजोआज यो गन्धले मेरो सौन्दर्यलाई खिज्याइरहेजस्तो जिस्क्याइरहेजस्तो अनुभव हुन्छ ।”
“तिम्रो निराशा स्वाभाविक हो योजनगन्धा” पराशरको अभिव्यक्तिमा पनि आफ्नो असफलताले सिर्जना गरिदिएको निराशा थियो । “म पनि दुःखी छु आफ्नो असफलताका कारण ।”
“के यसको उपचार सम्भव छैन त महर्षि ?”
“मैले अनेक प्रयत्न गरेको हुँ योजनगन्धा तर उपचार ढिलो हुन गयो ।”
“ढिलो भयो ! के भन्न खोज्नुभएको हो महर्षि ।”
“हो योजनगन्धा । तिम्रो शरीरबाट जुन गन्ध आउँछ यदि बाल्यकालमै, तिम्रो शरीर कोमल हुँदैमा उपचार गरिएको भए गन्ध निवारण सम्भव थियो तर अब तिम्रो शरीर छिप्पिएको छ । त्यसकारण यो असम्भव भएको छ ।”
“के त्यसो भए यसको कुनै विकल्प, उपाय छैन त महर्षि ?”
मत्स्यगन्धाको प्रश्नको उत्तरमा पराशर लामो समय मौन रहे । त्यसपछि लामो सास फेरेर भने “अब एउटा मात्र उपाय देखिन्छ योजनगन्धा ।”
“के महर्षि ?” मत्स्यगन्धाको प्रश्नमा केही उत्साह थियो ।
“तर…” यति भनेर महर्षि पुनः मौन भए ।
“तर के महर्षि ?” मत्स्यगन्धाको प्रश्नमा बढ्दो व्यग्रता थियो ।
“तर योजनगन्धा म यसका निम्ति तिम्रा पितामातासँग परामर्श गर्न सक्दिनँ ।”
“त्यस्तो कुन विधि हो महर्षि ?”
पराशरले प्रसङ्गलाई अर्कैतिर मोडेर भने “मैले तिमीलाई एकदिन भनेको थिएँ योजनगन्धा कि तिमीभित्र यति ठूलो सौन्दर्य लुकेको छ कि कुनै पनि राजकुमार वा राजा तिम्रो सौन्दर्यबाट मोहित भएर तिमीलाई रानी तुल्याउने छ । त्यही कारण पनि हो योजनगन्धा कि एक नदी किनारमा तिरस्कृत अवस्थामा रहेकी युवतीलाई कुनै देशकी महारानी वा युवराज्ञी बनाउने मोहले तिमीलाई उपचार गरेँ ।”
“के त्यही मोहमात्र हो महर्षि ?”
“होइन योजनगन्धा त्यसो होइन । त्यो पनि एउटा कारण हो मात्र भनेको । त्यसो त तिम्रा माध्यमबाट अनुसन्धान गर्नु मेरो प्रमुख उद्देश्य थियो ।”
“अँ त एउटा विधि छ भन्नुहुन्थ्यो त महर्षि !”
“हो एउटा मात्र उपाय छ योजनगन्धा । तिम्रो शरीर बालकको जस्तै कोमल भएको अवस्थामा तिम्रो उपचार गरेमा मात्र यो गन्ध निवारण हुन्छ ।”
“मेरो शरीरलाई बालकको जस्तो कसरी तुल्याउन सकिन्छ त महर्षि ?”
“सुत्केरी अवस्थाकी नारीको शरीर बालकको जस्तै कोमल हुन्छ ।”
“मैले बुझिनँ महर्षि ।”
“हो योजनगन्धा । मेरो चाहना थियो तिमी कुनै देशकी महारानी बन तर यही अवस्थामा तिमीलाई कुनै राजाले स्वीकार गर्दैन र सामान्य व्यक्तिसँग विवाह गरेर गर्भवती हुँदा तिम्रो महत्त्व …।”
“अब के गर्न सकिन्छ त महर्षि ?”
“अन्यथा मान्दिनौ भने मेरो एउटा सुझाव छ योजनगन्धा ।”
“के महर्षि ?”
“यही कि तिमी कुमारी आमा बन । यस कुरालाई सारा जगत् यहाँसम्म कि तिम्रा मातापिताबाट पनि गोप्य राखिने छ । तिमी आश्रमको कुनै पुरुषबाट गर्भाधान गर । त्यसको प्रबन्ध पनि म मिलाउने छु ।”
मत्स्यगन्धा पराशरको कुरा सुनेर मन्द मुस्कुराइन् । पराशरलाई लागेको थियो मत्स्यगन्धा आफ्नो कुरा सुनेर रिसाउनेछन् । उनले मत्स्यगन्धाको मुस्कानको अर्थ बुझ्न सकेनन् ।
“यस उपचार विधिका बारेमा हजुरले ककससँग परामर्श गर्नुभयो महर्षि ?” त्यही मुस्कानको भावसहित मत्स्यगन्धाले सोधिन् ।
“यो सबैसँग परामर्श गर्ने विषय होइन योजनगन्धा । तिमीले स्वीकृति दियौ भने म अत्यन्त विश्वासपात्र कुनै ब्रह्मचारीलाई यसका निम्ति तयार पार्नेछु ।”
मत्स्यगन्धाको मनमा कुनै देशकी महारानी बन्ने सुनौलो कल्पनाले वास गर्न थालेको थियो । उनको अचेतनमा आफ्नै पिता महाराज चेदीनरेशबाट तिरस्कृत हुनुपरेको हीनताबोध अचेतनमा गहिरो घाउ बनेर बसेको थियो । त्यसैले आफ्नो लक्ष्यप्राप्तिका लागि उनी जस्तोसुकै मूल्य चुकाउन मानसिक रूपमा तयार थिइन् । मत्स्यगन्धाले भनिन् “महर्षि हजुरले मलाई यतिविघ्न महत्त्व दिनुभयो । मेरो उपचारमा ठूलो लगानी गर्नुभयो भने अब मेरो एउटा आग्रह छ ।”
“भन योजनगन्धा ।”
“मेरो विनम्र अनुरोध छ । यसलाई अस्वीकार नगरिदिनुहोला ।”
“भन योजनगन्धा । यो मेरो वचन भयो ।”
“यस उपचारमा म गर्भवती नै हुनुपर्छ, सन्तान नै जन्माउनुपर्छ भने अरूको होइन हजुरको गर्भधारण गर्नेछु ।”
मत्स्यगन्धाको अभिव्यक्ति सुनेर पराशर विस्मित भए । महर्षिले सोचेका पनि थिएनन् कि मत्स्यगन्धाले यस्तो प्रस्ताव राख्लिन् भनेर। उनले अनेक तरिकाले सम्झाउने प्रयत्न गरे । मत्स्यगन्धा आफ्नो विचारमा दृढ थिइन् । पराशरलाई बडो धर्मसङ्कट पऱ्यो । किनकि उनले वचन दिइसकेका थिए ।
+++
एकदिन निषाद दम्पतिलाई बोलाएर पराशरले भने “योजनगन्धालाई एकवर्षको गुप्तवासमा राखेर उपचार गर्नुपर्ने भयो । यसो नगरेसम्म उनको गन्ध निवारण गर्न असम्भव हुने भयो ।”
मत्स्यगन्धासँग परामर्श गरेर निषाददम्पति उपचारका निम्ति सहमत भए ।
सरोवरको किनारमा एउटा व्यवस्थित कुटी निर्माण भयो । मत्स्यगन्धाको उपचारमा महर्षि स्वयं संलग्न हुने कुरा आश्रममा जानकारी गराइयो । महर्षि आवश्यक समयमा कुटीरमा जाने उनीबाहेक मत्स्यगन्धाले एकवर्ष कसैलाई आफ्नो अनुहार नदेखाउने गरी व्यवस्थापन गरियो ।
मत्स्यगन्धा त्यही कुटीरभित्र गर्भवती भइन् । बिस्तारै उनको गर्भ हुर्कँदै गयो र दश महिनामा एक शिशुको जन्म भयो । शिशुलाई काखमा लिएर बाहिर निस्कन लागेका पराशरलाई हेरेर मत्स्यगन्धाले आँखाभरि आँसु बनाइन् र भनिन् “महर्षि मलाई अरू केही चाहिँदैन । मेरो बालक मलाई दिनुहोस् । म हजुरकै भार्या बनेर बस्न चाहन्छु ।”
पराशरले यो सोधेनन् कि “योजनगन्धा यो तिम्रो मप्रतिको आशक्ति हो वा बालकप्रतिको ?” उनले सम्झाउँदै भने “योजनगन्धा तिमी व्यर्थको मोहमा नपर । म यो बालकलाई सुरक्षित स्थानमा पालनपोषण गराउने छु । यो यस्तो योगमा जन्मिएको छ कि एकदिन यो महान् योगी हुनेछ । यसको पालनपोषण पनि महर्षिआश्रममा नै हुनेछ । यस बालकले इतिहास रच्नेछ र तिमीले छुट्टै इतिहास रच्नुछ ।”
बालकलाई सुरक्षित र गोप्य स्थानमा पुऱ्याएपछि पराशरले पुनः मत्स्यगन्धाको उपचारमा साध्यवसानालाई संलग्न गराए ।
लामो गोप्यवासपछिको पहिलो भेटमा मत्स्यगन्धालाई साध्यवसानासँग केही लाज पनि लाग्यो तर साध्यवसानाले त्यसतर्फ ध्यान दिइनन् ।
करिब दुई महिनाको नियमित उपचारपछि मत्स्यगन्धा पुनः उपचारका निम्ति पुरानै स्थानमा आइन् । उनको शरीरबाट मत्स्यगन्ध पूर्णतः निर्मूल भैसकेको थियो तर पनि गन्धको प्रकोप नदोहोरियोस् भनेर अरू केही दिन पराशरले उनको उपचारलाई निरन्तरता दिए ।
+++
एकदिन आफ्नो शारीरिक अस्वस्थताका कारण हस्तिनापुर नरेश सान्तनु पराशर आश्रममा उपचारार्थ आएका थिए । संयोगवश त्यहीँ सान्तनुको योजनगन्धासँग साक्षात्कार भएको थियो । योजनगन्धाको रूप लावण्यबाट मोहित बनेका सान्तनुले उनका विषयमा निकै चासो लिए ।
कुनै दिन महर्षि पराशरले भनेको कुरा “तिम्रो सौन्दर्य कुनै देशकी महारानी बन्न योग्य छ” भन्ने अभिव्यक्तिबाट प्रभावित योजनगन्धालाई लाग्यो महर्षिले सङ्केत गरेको अवसर यही हो ।
उपचारकै क्रममा सान्तनु र योजनगन्धा निकट हुँदै गए । उनीहरू आश्रमवासीहरूबाट बचेर त्यही सुन्दर एकान्त सरोवरतिर जान थाले जहाँ पराशरले योजनगन्धालाई पहिलोपटक पुऱ्याएका थिए ।
सान्तनु र योजनगन्धाको प्रेम झाँगिदै गयो । उनीहरू एकअर्काबिना रहन नसक्ने हुन थाले ।
प्रारम्भमा लुकी लुकी वनबिहारमा निस्कने शान्तनु र योजनगन्धा बिस्तारै खुलेआम घुम्न थाले । सारा आश्रमवासीहरूलाई उनीहरूको प्रणयबारे थाहा भयो । महर्षि पराशरले पनि थाहा पाए ।
एकदिन साँझ पराशरले योजनगन्धालाई आफ्नो कक्षमा बोलाए र त्यस विषयमा सोधे । योजनगन्धा स्वीकृतिमा मौन बसिन् ।
पराशरले बडो नम्र भावमा भने “योजनगन्धा तिमीले हतार गऱ्यौ । सान्तनु उमेरमा तिम्रा पितासमान छन् । तिम्रा लागि योग्य त उनका पुत्र देवव्रत थिए । जो हस्तिनापुरका युवराज हुन् र विवाहका निम्ति पनि योग्य छन् । मलाई यही कुराको दुःख लागेको छ कि तिम्रो साँघुरो बुद्धि र शीघ्र निर्णयका कारण हस्तिनापुरको साम्राज्य एकदिन कमजोर हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।