पोखरामा एउटा  प्राइभेट कम्पनीमा जागिर गर्दै पिएन क्याम्पस पढ्दै पनि थिएँ । महिनाको दुई हजार नौ सय पचास रुपैयाँ तलब पाउथेँ । डेराभाडा, बत्ती, पानी,  खाना, यातायात, कलेजको फिस आदि इत्यादि खर्च कटाउँदा महिना मरेपछि करिब करिब हात लाग्यो शून्य हुन्थ्यो ।

 

त्यही मेसोमा डेरानजिकै घर भएकी एउटी राम्रीलाई मनमनै मन पराएँ । भेटमा मुसुक्क मुस्कुराउँथिन् । साँझपख नजिकैको सानो पार्कमा डुल्दा प्राय: सामान्य हाई हेल्लो हुन्थ्यो । कतैबाट झुलुक्क झुल्किन्थिन् अनि तुरुन्तै जसरी आएकी थिइन् त्यसैगरी बाटो लाग्थिन् । मलाई भने त्यही  एकझलक देख्न पाउँदा पनि साक्षात् श्रीदेवी, रेखा,  माधुरी, हेमामालिनीहरूलाई एकमुष्ट देखेजस्तो हुन्थ्यो । हुन पनि उनको रूप, रङ्ग र कायालाई भगवान्‌ले मिहिनेत गरेर बनाएका थिए- ठुलाठुला गाजलु आँखा, कालो घना केश, टम्म मिलेका दाँतका पङ्क्ति, फराकिलो निधारसहितको अन्डाकार चेहरा ।

एकदिन साँझमा टुप्लुक्क त्यही पार्कमा भेट भयो । बेन्चमा बसेर मोबाइलमा गीत सुन्दै रहिछिन् । त्यो दिनचाहिँ  चिनाजान गर्ने  र नजिकिने हेतुले अलि लामो वार्तालाप गरेँ । केहीबेरको औपचारिक गफ सकेर हिँड्ने बेलामा उनले आफू महेन्द्रपुलको  रेडिमेड कपडा पसलको सेल्सगर्ल भएको र केही ‘ब्रान्डेड’ कपडा किन्न परे त्यहीँ आउन आग्रह गरिन् ।

यश घिमिरे

एउटा सर्ट चाहिएको थियो अनि उनलाई  “इम्प्रेस” पनि पार्नु थियो । खल्तीमा भर्खर  बुझेको तलब दुई हजार नौ सय पचास र अघिल्लो महिनाबाट बचेको साठी रुपैयाँ गरी तीनहजार दश रुपैयाँ बोकेर भोलिपल्टै उनी काम गर्ने सुपरस्टोरतिर लागेँ । बाहिरको फेन्सी पसलमा चारपाँच सय हाल्दा भयङ्कर राम्रो जिन्सको सर्ट आउँथ्यो । धेरै परे त्यस्तै त होला नि भनेर सोचेँ

 

राष्ट्र बैङ्क चोकबाट गाडी चढेँ । ६ रुपैयाँ लाग्थ्यो, महेन्द्रपुल ओर्लिएँ । त्यहाँबाट  उनी काम गर्ने स्टोरसम्म लखर लखर हिँडदै पुगेँ । मनकी राजकुमारी टुप्लुक्क ढोकामै दुई हात जोडेर स्वागतमा देखा परिन् अनि तुरुन्त कोक मगाएर टकारिन् ।

सोधिन्, “हजुरलाई के चाहिएको ?”

 

मलाई वास्तवमा चाहिएको त उनको मन थियो तर आफ्नो भलाद्मीपन नछोडी जबाफ फर्काएँ, “एउटा ठिकै ठिकैको जिन्स सर्ट हेरूँ न !”

 

एसीयुक्त झिलिमिली स्टोरमा आफैँ पथप्रदर्शक बन्दै लहरै झुन्ड्याएर राखेको कपडाहरूबाट एउटा ग्रे-ब्लु कलरको सर्ट निकालेर प्रेमिकाले प्रेमीको छातीमा टाँसेजसरी टाँस्दै भनिन् –  ” हेरिस्यो त, हजुरलाई यो सुहाउँछ “।

 

लठ्ठै बनाउने कस्तो मिठो बोली र आत्मीय व्यवहार ! छातीमै पो टाँसेर हेरिन् गाँठे ।  उनको यो आफ्नोपनमा फेरि श्रीदेवी,  माधुरी, हेमा, रेखाहरूलाई झलक्क देखेँ । आँखाभरि अटाएर मायालु नजरले हेरेँ । दुईहातले अनुहार थामेर निधारमा हल्का चुम्न मन लाग्यो तर फेरि आफ्नो भलाद्मीपन सम्झिएँ र रोकेँ आफैँलाई ।

 

एकैछिनमा अनुहारबाट सर्टको मूल्यमा आँखा गयो  – रु. ५९९९  । टाँसिएको मूल्य देखेर चिसोहल र चिसोकोकले पनि काम गरेन छ । निधारबाट चिटचिट पसिनाको थोपो पलाउन थाल्यो । थाहा भएन उनले पसिना देखिन् या अँधेरिएको अनुहार ! अर्को सर्ट उसैगरी टाँस्दै भनिन् – “हजुरलाई यो पनि सुहाउँछ ।”

यसपालि भने  उनको मुहारमा श्रीदेवी,  रेखा,  माधुरी, हेमाहरूको आकृति खोज्नतिर  नलागी सर्टको कलरमा झुन्डिएको  मूल्य खोज्न थालेँ । टाँसिएको थियो – रु. ४४९९ ।

 

म बिलखबन्दमा परेँ । बजेट पुग्दैन भनेर कसरी भन्नु ? कस्तो भुक्का रहेछ भन्ने सोच्लिन् फेरि ! हल्का घाँटी सुकेजस्तो, छटपटी भएजस्तो भयो । शुष्क स्वरले भनेँ, “सबभन्दा कम मूल्यको कस्तो रहेछ, हेरूँ न !”

 

अनुहारमा छुट्याउन नसकिने भाव तैरियो र मेरी उनिको  ओठबाट अघिजस्तो मुस्कान गायब भयो । केही निन्याउरो अनुहार पार्दै एउटा खैरोखैरो रङ्गको सर्ट हातमा थमाइदिदै भनिन्, “यो भन्दा कम दामको त छैन ।”

 

पहिले जसरी छातीमा नटाँसीकन हातमा थमाइदिएको देखेर हल्का नरमाइलो  लाग्यो । उनको मलिन अनुहारमा श्रीदेवी, रेखा, हेमाहरू दुःखी हुँदै आए । यो देखेर मेरो आत्मा नमिठोसँग चिमोटियो । त्यो उदास चेहरालाई हत्केलामा लिएर निधारमा गहिरो चुम्बन गरिदिन मन लाग्यो ।

त्यसो गरिहाल्न फेरि पनि आफ्नो भलाद्मीपनले रोक्यो ।

 

अब भने स्वाभाविक रूपमा मेरा आँखाहरू कपडामा टाँसिएको  मूल्यमा दौडिने नै भए । सबैभन्दा सस्तो भनेर दिइएको सर्ट, तीन हजारमा एकरुपैयाँ कम अर्थात् रु. २९९९ को रहेछ । कोक खाइसक्या थिएँ, वातानुकूलित कोठामा बसिसकेको थिएँ र सबैभन्दा ठुलोकुरो त मेरो श्रीदेवी, रेखा,  माधुरीहरूलाई निराश बनाउनु थिएन । भनीदिएँ -“ल यै प्याक गरिदेऊ” ।

 

अब खल्तीमा ४ रुपियाँ बचेको थियो । गाडीभाडा नपुग्ने भएपछि एकाउन्न मिनेट लखतरान पैदलयात्रा गरेर कोठामा आइपुगेँ । आउनासाथ शरीरमा उनेर हेरेँ, खासै सुहाएजस्तो लागेन । तैपनि त्यो सर्टमा  उनको हातले छोएको थियो । मेरो श्रीदेवी, माधुरी, रेखा, हेमाहरूको हातले छोएको । खोलिहाल्न मन लागेन त्यसै त्यसै माया लागेर आयो ।

 

यत्तिकैमा घरभेटी बा टुप्लुक्क चिम्सा आँखा पारेर कोठाभाडा भन्दै आए । किराना पसले, कलेजको फि, गाडीभाडा, बिजुली, पानी यावत् खर्चहरू पनि भटाभट आँखामा लस्करै आउन थाले ।

 

अब उपाय एउटै थियो- तीन हजार जति कसैसँग ब्याजमा ऋण लिनु । आडकै कोठा भाडामा लिएर बस्ने एक जना दिदीलाई इतिवृतान्त सुनाएँ । वहाँले रिसाउँदै भन्नुभयो, ” किन गएको त्यस्तो महँगो ठाउँमा  ? त्यो स्टोरमा काम गर्ने सेल्सगर्लहरूले बेचेबापत  २० प्रतिशत त कमिसन नै पाउँछन् । तलब बेग्लै हुने भैयो । लाहुरे पैसावालका छोराछोरी जाने ठाउँमा गएर नि हुन्छ ?”

 

“हजुरलाई कसरी थाह’भो, बेचेबापत कमिसन पाउँछन् भनेर ” – अचम्म लागेर सोधेँ ।

 

“त्यहीँ कामगर्ने  पल्लो घरकी बहिनीले भनेकी  ।”

 

“पल्लो घरकी बहिनी !” अर्थात् उही मेरो श्रीदेवी, रेखा, माधुरी, हेमा हो भनेर बुझ्न बेर लागेन ।

 

हो त्यही दिनदेखि हो,  मैले श्रीदेवीहरूमा “शूर्पणखा” देख्न थालेको ।

 

समाप्त

 

भरतपुर -१२, चितवन