म हुनु नै उनीहरूका लागि बदनामीको नियति बन्यो । मेरा इच्छा, मेरा चाहना, मेरा शब्द अनि त्यही शब्दले उतारेको भाव यी सबै मेरा लागि शुद्ध चिजहरू हुन् तर मेरा इच्छा र मेरो चेतना त्यति गिरेको छैन । “राजपाल ! आखिर किन मलाई बदनामीको ज्वालामा उतारिँदैछ । मैले यति ठुलो गल्ती के गरेँ । जसका निम्ति आज मलाई नै मेरा गुरुजनहरूका अगाडि न्यायकारिताका निम्ति चयन गरियो ?”
म झर्कन्छु । मेरा शब्दले सारा दिवारलाई हल्लाइदिन्छन् । गुन्जन्छ चारैतिर ब्राह्मणहरूको सत्त्व, मेरो सत्त्व, मैले आर्जन गरेको ज्ञानको सत्त्व । राजपालको कर्णमा मेरा ओठले तेर्साएका लवजहरू अति उच्चस्तरीय बन्दछ । मेरो त एउटै उत्तर छ “राजपाल ! ज्ञानको महामञ्च तय गरियोस् । मैले एक शूद्र कन्याको भोग गरेँ । एक ब्राह्मण पुरुष भएर तर मेरो गल्ती के नै छ र महाराज ? फरक यत्ति नै हो मैले एक मासदेखि एक कुरूप शूद्र चातुडाको कन्या प्रजाम्बीको यौवन ऊसँगै मागिरहेँ तर अर्थ के लाग्यो महाराज ? यही कि अजधराको मान रहेको मनुस्मृतिको विरुद्धमा म उठ्नुपऱ्यो । ब्राह्मण पुत्र भएर म यो शूद्र चातुडाका अगाडि भीकझैँ उसको कन्या मागिरहन बाध्य पारियो । शूद्र जो स्वर्गका निम्ति हामी ब्राह्मणहरूको सेवा गर्नुपर्छ ।(मनु यक्स -१२३) यही नै उनीहरूको पवित्र कर्तव्य हो । उनीहरूका निम्ति भगवान् हामी हौँ हामी ब्राह्मणहरू तर यस दुष्ट चातुडाले त्यही भगवान्को अपहेलना गऱ्यो । भीक माग्ने मगन्ते बनायो । आफ्नो सम्पत्तिको अहंता देखायो । तापनि यसले आफ्नो भगवान् अर्थात् मलाई एक रातका निम्ति भए पनि आफ्नो कन्या दिन ठाडै इन्कार गऱ्यो । मलाई न्याय चाहियो महाराज ! यो दलित, अछुत, शूद्रले यो राजघरानाको मर्यादा नाघिसकेको छ । यो वैश्यहरूको स्तर हुँदै ब्राह्मणहरूको स्तरमा आँउन खोज्दै छ । राजपाल ! हजुरको राज्यमा नीच प्राणी बनेर शूद्रहरू उत्रिएका छन् । यिनीहरूको स्त्री जबसम्म हामी ब्राह्मणहरूले भोग गर्न पाउँदैनौँ तबसम्म यिनीहरू यसरी नै आफ्नो मर्यादालाई भुलिरहन्छन् । मैले हजुरको न्यायलाई बढावा दिएको हुँ महाराज ! एक शूद्र कन्या प्रजाम्बीको यौवनलाई लुटेर ।”
मेरो ओठबाट निस्केको लवजले सारा मण्डलाधीसहरूको ध्यानलाई तानिदियो । अहो ! कति प्रशन्नताको क्षण छ । मेरा निम्ति कृतज्ञताको आवाजमा वेदका श्लोकहरू गुन्जिदैछन् वीणाको धुनमा ।
***
अजधराको नगरमा पुनः शूद्रको अवस्थितिको ज्ञात गराइयो । मानवताको कल्याणका लागि परम सृष्टिकर्ता श्री ब्रह्मदेवले नै आफ्नै मुखबाट ब्राह्मणहरूको जन्म गराउनुभयो । आफ्ना चारुयोग्य भुजाबाट क्षेत्रीहरूको सृष्टि गर्नुभयो । ब्रह्मदेवको यौनाङ्ग तलबाट वैश्यहरूको उत्पत्ति भयो तर शूद्रहरू यति अछुत भए कि उनीहरूको सृष्टि गर्दा ब्रह्माजीको पैताला नै अछुत भैदियो । कति निकृष्ट छन् यी जातिहरू । सृष्टिमा नै ज्ञानको महामहिमलाई यिनीहरूले पीडामा राखिदिए । ब्रह्मलोकको एक भाग नै यिनीहरूको सृष्टिले गर्दा कुरूप भैदियो । ब्रह्माजीलाई शुद्धीकरण गर्न देवहरूमा त्राहिमाम् मच्चियो ।
म सोचिरहेँ यो सृष्टिको ज्ञानतालाई, अस्तित्वतालाई । अजधराको मण्डपमा नवयुगीन ज्ञानधराको ब्राह्मणले राजपालका निम्ति केही बोलिदियो, ” राजपाल ज्ञान रहोस् । आदर छ हामी ब्राह्मणहरूको ।” गुरुजीले राजपाललाई आदर गर्नका निम्ति आह्वान गर्दै भन्नुभयो, “यी शूद्र यति कलङ्कित वर्ण हुन् कि आज यिनीहरूले वैश्य समानको व्यवहार माग्दै छन् । देवहरूको मान गरियोस् राजन् । महर्षि मनुको अपहेलना गर्ने कसैलाई पनि हुकुम छैन । महर्षिको वर्ण व्यवस्थामा यी शूद्रहरूको खोटलाई छोपिइँदै छ । स्वयं ब्रह्माजीको आदेश छ शूद्रहरूलाई कि उसको कर्तव्य भनेकै आफूभन्दा उच्च वर्णको सम्मान गर्नु हो । यो सप्तम दशकको शूद्र चातुडाले द्वि दशकको ब्राह्मण पुत्र कौरहवाको मानहानी गर्नु नै उसको दोष सिद्ध हुनु हो । चातुडाले आफ्नी पुत्री प्रजाम्बीको यौवन एकरातका निम्ति पनि ग्रहण गर्न कौरहवालाई नदिनुले हामी ब्राह्मणहरू असन्तुष्ट छौँ । कुनै पनि शूद्रहरूसँग आफ्नो निम्ति कुनै सम्पत्ति कदापि हुनु हुँदैन । चाहे त्यो धनमाल किन नहोस् । चाहे त्यो स्त्री नै । यदि शूद्रहरू धनी बन्न पुग्छन् भने ब्राह्मणहरूले उनीहरूका सम्पत्तिमाथि अधिकार जमाउनू भनी महर्षि मनुको आदेश छ । मनुविष्ट -४ को प्रयोग गरेर नै कौरहवाले प्रजाम्बीको यौवन ग्रहण गरेका हुन् ।”
ब्राह्मणदेवको यस मृदु वाणी नै परम ज्ञानसागरलाई पवित्र बनाउन पर्याप्त छ । कति शान्तिमय छन् मनुका विचारहरू र उहाँले तय गर्नुभएको वर्ण व्यवस्था, जुन आज मेरा निम्ति फलकारी सिद्ध भएको छ ।
म सम्झिन्छु प्रजाम्बीको रूपलाई । उसको यौवनले भरिएको पुष्ट शरीर । अहो ! कति आहतकारी थियो उसको यौनाङ्ग र उठ्दै गरेका स्तनहरू । दोष मेरो थिएन, दोष त प्रजाम्बीकै थियो नि । म त चाहन्थे उनलाई मेरी पत्नी बनाऊँ तर अछुत … शूद्र कन्या … अपवित्र स्त्री … छिः छिः छिः । मैले पुनः पाप गरेँ शूद्रका विषयमा सम्झेर ।
“कसले अधिकार दियो महाराज ! शूद्रजस्ता नीचहरूले आफ्ना निम्ति सम्पत्ति राख्न ? यो मान्य हुँदैन । ब्राह्मणले जसरी आफ्ना कुटीबाट निस्कँदै गरेको भोजन, वस्त्र, अन्न, माटाका भाँडाकुँडा हामी उनीहरूलाई बिनास्वार्थ दिन्छौँ (मनु एक्स – १२५) त्यसरी नै शूद्रहरूले पनि ब्राम्हणहरूको आदेशानुसार बिना कुनै द्वेष लिएर आफ्नो सम्पत्ति हामीहरूलाई सुम्पनुपर्नेछ । यो नै महर्षि मनुको धर्मग्रन्थको आदेश हो ।” यो आवाज दिनेमा थिए, ब्राह्मण गुरुनजिकै रहेका अजधराका नगर पण्डित ।
यो पण्डित मभन्दा पनि बडो चलाख निस्कियो । पूर्णिमाको चकोरमा यिनको कुटीमा मैले एउटी शूद्र अर्धवैशकी स्त्रीलाई निःवस्त्र देखेको थिएँ । उनी ती शूद्रको भोग गर्नमा तल्लीन थिए । हुन त उनी पनि तिनै ब्राह्मण त हुन् नि जसले महर्षि मनुलाई देवसमान मानेका छन् ।
मेरो शिरको कपाणमा अशान्ति मच्चाउँदै छ हिजो उजागर भएको प्रजाम्बीको कौमार्यले । उनी कति खुसी भइन् होली । जसको कौमार्य, म अर्थात् उनका पिताले पनि छुन नसक्ने ब्राह्मण कुलको पुरुषले स्पर्श गऱ्यो ।
म चातुडाको मुहारमा हेर्छु । ऊ पूरै निर्दोष देखिन चाहन्छ, मलाई गलत बनाएर तर किन शूद्रहरू आफ्नो अपमान आफैँ गर्न चाहन्छन् । ए … यो त सत्य हो । विधानमा लेखिएको छ । शूद्रहरूले कदापि ब्राह्मण वा क्षेत्रीको अनुहार हेर्नु हुँदैन । कुरूपता लाग्छ उनीहरूको सुन्दर मुहारमा तर किन यो शूद्र मेरो मुहार हेर्दै छ । उसको आँखामा प्रतिशोधको आँसु देख्दै छु तर यी व्यर्थका विषय हुन् । उसले अग्निको प्रज्ञालाई चुनौती दिएको छ । उसले वायुमा आफ्नो अपवित्र श्वास मिसाएको छ । हो, ऊ शूद्र हो र उसले यो धरतीमा हामीसमान भई बाँच्ने अर्को भूल पनि गरिसकेको छ ।
अजधराको सभामा एकपछि अर्को शब्द बर्सिन थाल्यो । गतिहीनतामा उनीहरूले वायुयान उडाए । सत्ताको परिधिभित्र परिधानको जागा गराए । सिद्ध ब्राह्मणहरू जो देवदूतहरूलाई पनि धर्म सङ्गति देखाउने सामर्थ्य राख्दछन् । उनीहरूले एकपछि अर्को गरी मनुस्मृतिका सुन्दर शब्दका लहरहरूलाई वीणाका साथ प्रस्फुटन गरे ।
“एक ब्राह्मण शूद्रहरूलाई बिना कुनै ज्यालादारीमा आफ्नो सेवामा तैनाथ हुने आदेश दिन सक्छ । किनकि ब्राह्मणहरूको सेवा गर्नकै लागि श्रीब्रह्माको पैतालाबाट शूद्रहरूको जन्म भएको हो । तिमीले कौरहवाको आदेशलाई अपहेलना गरेका छौँ चातुडा ।”
चातुडाका निम्ति अजधराले मृत्यु तय गरिदियो । यो सत्य हो, उनीहरूलाई थाहा थियो कि एक शूद्र भएर जन्म लिएपछि पनि कुनै द्विज व्यक्तिको अपमान गर्छ भने उनीहरूको जिब्रो (जिब्रो ) काटिनेछ ।
चतुडाको पक्षमा आएका शूद्रहरूको हविगत अब यही नै हुनेवालामा छ किनकि एक ब्राह्मणको नामको पहिलो भाग नै समस्त धरतीका लागि शुभ सङ्केतदायक हुन्छ । क्षत्रीहरू सत्ताले बाँधिएका हुन्छन् भने वैश्य धनले । ब्राह्मणहरूको रक्षा गर्नु क्षेत्रीहरूको कर्तव्य हो । त्यसरी नै ब्राह्मणहरूका निम्ति धन उपार्जन गर्नु वैश्यहरूको कर्तव्य हो तर शूद्र ! यिनीहरू ब्राह्मणका लागि केवल बोझ हुन् मात्र एक बोझ । जो केवल यो धरतीमा अपमान प्राप्त गर्नका लागि मात्र जन्मेका हुन् । (मनुस्मृति – ३१ श्लोकको भाव ) त्यसरी नै ब्राह्मण नामको दोस्रो शब्द तथा क्षेत्रीहरूको नामको पहिलो भाग वास्तविक सुख योग्य हुन्छ । जसले धरतीमा सुख नामको शब्दलाई कायम राखेको छ । (मनुस्मृति ३२) शूद्रहरू कहिल्यै पनि आफ्ना लागि धन उपार्जन गर्न सक्दैनन् । यसले ब्राह्मणहरूको विनाश गर्नेछ । ब्राह्मणहरूको विनाश हुनु नै ब्राह्मण दुःखमा बाच्नु हो । जुन सुखलाई ब्राह्मणहरूको पहिलो अक्षरको पहिलो भाग र दोस्रो शब्दको पहिलो भागले कायम गरेको छ । यदि त्यो नै दुःखले बाँचिरहेको छ भने धरतीमा मानवजाति सुखमा रहन असम्भव छ । (मनुएक्स -१२९)
चातुडा र उनका अनुयायीहरूलाई विधानले दण्डित गरेसँगै अजधरामा मनुस्मृतिका निम्ति शूद्रहरूले अफसोस देखाए । यो कुरा सुन्नसाथ मलाई नमज्जा लाग्यो । क्रोधले ममा भुमरी ल्याइदियो । किनकि उनीहरूले ब्राह्मणहरूको पतन गर्न धेरै उपाय रचे । यो सत्य थियो कि जुन साम्राज्यमा राजाले शूद्रको कुरा सुनेर विधानमा त्यो कुराको दर्ज गराउँदथ्यो । वास्तवमै त्यो राज्य जलधारामा बगेको रङ्ग समान हुनेछ । शूद्रहरूले आफ्ना निम्ति अनुराग देखाए । जुन पूर्ण गलत थियो । (मनुस्मृतिको अष्टम खण्ड )
पहिलोपटक अजधराको नगरमा शूद्रहरूले वेद शब्दको उच्चारण गरे ।
शूद्रहरूका निम्ति मनुस्मृतिले कहिल्यै पनि वेद पढ्ने आज्ञा दिएको छैन । (मनुस्मृति |ऊ| ९९) एक शूद्र शिक्षा प्राप्त गर्नका लागि अयोग्य छ । शूद्रहरूलाई आवश्यक छैन कि ब्रह्माण्डमा रहेका नियम तथा संहिताका बारेमा जान्न । जो यो कुराको अपहेलना गर्दछ त्यो अवश्य नै नरकमा जानेछ । (मनुस्मृति ७८-८१)
राजपालका सामु एउटा पत्र पुगेको थाहा पाएँ । शूद्रबाट लेखिएको थियो,
नाभ्या आसीदन्तरिक्षं शीर्ष्णो द्यौः समवर्तत ।
पद्भ्यां भूमिर्दिशः श्रोत्रात्तथा लोकाँ अकल्पयन् ||
महाराज ! ऋग्वेदको यो ज्ञानले देखाउँछ कि विराट् पुरुषको नाभिबाट अन्तरिक्ष, शिरबाट द्युलोक, कानबाट दिशा तथा पैतालाबाट धरतीको विकास भयो । के यो सत्य हो महाराज जसरी श्रीब्रह्माको पैतालाबाट जन्म लिँदा हामी शूद्र बन्यौँ के पृथ्वी पनि एक अछुत शूद्र नै हो ?
जब सम्बन्धको सतहमा मतभेद तरङ्गित हुन्छ तब नै अर्को सत्यले जन्म लिन्छ तर सम्बन्ध वा हर्षको समयमा देखिने पुनरावृत्तिले दानवीपन उपस्थित गराउँछ ।
ब्राम्हणहरू त्यो देशमा कदापि रहनु हुँदैन जुन देशमा शूद्रहरू वेद छुन्छन् । (मनुस्मृति चतुर्थ खण्ड -६१ ) अजधरामा उनीहरूले मनुस्मृतिको ग्रन्थलाई जलाइदिए । शूद्र चातुडाले मृत्युपूर्व शूद्रको हातमा मनुस्मृति दिएर गएछ । वर्ण व्यवस्थामा उनीहरूले आपत्ति देखाए । पहिलोपल्ट अजधराको ब्राह्मणको कुटीभित्र पस्ने कुचेष्टा उठाए । अति व्यभिचार रूपमा उनीहरूले त्यो रातभर ताण्डव मच्चाए । जहाँ उनीहरूले खुल्ला रूपमा महर्षि मनु र राजपालको नाम पुकारेका थिए । अन्तिम रूपमा सारा हद त उनीहरूले तब पूरा गरे जब ब्राह्मण कुलमा रहेका विद्वत् वेदज्ञाताको नाउँमा वर्ण व्यवस्थालाई हटाउन खोजे ।
म मौन रहेँ, रातभर । अन्तिम अस्त्र प्रयोग गर्ने अधिकार राजपाललाई छ । कुन कुराको मान र कुन कुराको अपमान न्याय विधानले छुट्याउनेछ । त्यस रातभर क्षेत्रीय पुरुषहरूले ब्राह्मणहरूको रक्षा गरे । त्यो उनीहरूको कर्तव्य थियो । क्षेत्रीहरूको रक्षा गर्ने वैश्यहरू रहे । अनि वैश्य ? त्यसका लागि वर्ण व्यवस्थाले ध्यानमा राखेको छैन । जो आफ्नो नभई क्षेत्रीयहरूको रक्षा गर्छन्, तिनीहरू नै वास्तविक वैश्य हुन् । जो आफ्नो समेत रक्षा गर्न सक्दैनन्, उनीहरूलाई वैश्य बन्न पाउने, धन उपार्जन गर्न पाउने कुनै अधिकार छैन ।
***
रश्मिको लालिमा चढेको छ ब्राह्मणको शिरमा । आचमन गर्दा झरेको जलले अझै पवित्र बनाइसकेको छैन अजधरालाई । शूद्र चातुडाले वैश्यसँग मिलेर विद्रोह गऱ्यो । ब्राह्मणहरूको अपमान गरे । आफ्नो गुप्त धनको तुजुक देखाए । उनले भनेका थिए रे – केवल एक ब्राह्मणहरू नै सभ्य हुन्छन् । उनीहरू नै वास्तविक न्यायाधीशको रूपमा कार्य गर्ने सामर्थ्य राख्दछन् तर त्यो कार्य शूद्रले गर्न सक्दैनन् (मनुस्मृति अष्टम खण्ड ) । चातुडाको कुरामा भाव थियो कि यदि शूद्रहरूले ब्राह्मणहरूको कुटीभित्र पस्ने, उनीहरूले तयार पारेको भोजन ग्रहण गर्ने, उनीहरूको वस्तु छुने एवं वेद पढन थाले त्यो भूमि अपवित्र हुनेछ । जुन स्थानमा ब्राह्मण बस्न सक्दैनन् र त्यहाँबाट नै हाम्रो मुक्तिको बाटो सुरु हुनेछ ।
विद्रोहको परिकल्पना अझ गम्भीर परिप्रेक्षको रूपमा आयो । बिहानीको प्रथम प्रहर नबित्दै शूद्रहरूलाई दण्डका निम्ति ल्याइयो । स्त्रीजातिहरूलाई महर्षिको आज्ञानुसार निर्वस्त्र पारिएको छ । कुनै पनि शूद्र स्त्रीले आफ्ना लागि इज्जत बचाउनु हुँदैन । यो नै मनुको आदेश हो । श्रीब्रह्माको रचयितालाई लल्कारी ब्राह्मणहरूलाई अजधराबाट निकाल्ने कुचेष्टाबापत ती पुरुषहरूलाई ६०० पणको दण्ड छ । उनीहरूले हिजो राति ब्राह्मणहरूको कुटीमा पस्ने साहस देखाए । जसलाई विधानले तय गरिदियो कि शूद्रहरूले द्विज जातिको नाम तथा कुटीप्रति द्वेष देखाउँछ भने उनीहरूलाई तातिएको फलाम उनीहरूको शरीरमाथि प्रयोग गर्न पाउने अधिकार ब्राह्मणलाई छ भनेर ।
मैले देखेँ स्त्रीहरूको लामको पञ्च श्रेणीमा प्रजाम्बी उभिएकी थिइन्, काँप्दै । उनको शरीर सूर्यप्रति आशावादी थियो प्राणका निम्ति, मोह त्यागका निम्ति । मलाई थाहा छैन अब शूद्रहरूलाई अजधराले के दण्ड दिनेछ । मैले अन्तिम बखतमा एउटा पुण्य काम गरेँ । प्रजाम्बीको पाणि ग्रहण गरेर । जसका कारण अहिले म उनीप्रति आशक्त हुँदै छु ।
अहो यो प्रेम ! छिः कस्तो प्रेम ? म ब्राह्मण कुलमा जन्मिएको पुरुष हुँ । आफ्नो वतन सम्हाल्नुपर्छ तर प्रजाम्बी के उनी मेरो तनको भोगी थिइन् होइन ? वा उनको तनको भोगी म ? म कसरी हेर्न सक्छु प्रजाम्बीको मृत्युलाई । अहँ ! म सक्दिनँ ।
दण्डाधीसको वाणीमा घुमिरहेका शब्द थिए । “एक शूद्र जो आफ्नो पेट पाल्न चाहन्छ भने ऊ कुनै वैश्यको सेवा गर्न सक्छ । यदि ऊ जीवित रहने स्थायी साधन पाउन चाहन्छ भने क्षेत्रीयको सेवा गर्नुपर्छ तर स्वर्ग वा शूद्र हुनुबाट मुक्त पाउन चाहन्छ भने ब्राह्मणको सेवा गरेर यमदूतलाई सम्झनुपर्छ । हे शूद्र जाति हो ! तिमीहरूले वेद छोएका छौ, ब्राह्मणहरूको नाम लियौ र कुटीमा टेक्ने साहस गऱ्यौ । वैश्यलाई विवश पारेर धन आर्जन गऱ्यौ, पवित्र ग्रन्थको अपहेलना गरी वर्ण व्यवस्थामाथि ब्राह्मणहरूको निन्दा गऱ्यौ । तिमीहरूले ३३४-३३५ को अपहेलना गरेकाले तिमीहरूको प्राण लिन पाउने अधिकार क्षेत्रीयहरूको हातमा छ । शूद्र अर्थात् तिमीहरू कलङ्कित भइसकेका छौ । पहिलेको स्तरमा तिमीहरू अझै नीच बनेर गिरेको कुरा आर्य समाजले निर्णय गरेको छ ।”
हो क्षत्रीयहरूको हातमा छ उनीहरूको प्राण लिन पाउने अधिकार तर अधिकार उनीहरूलाई कसले दिन्छ ? मात्र ब्राह्मणहरूले । म त्यो ब्राह्मण हुँ जसले शूद्रको जन्म र मृत्युको लेखा राख्न सक्छु तर के वास्तवमा म प्रजाम्बीको प्राणहरण गर्ने अधिकार दिन सक्छु त ?
के म प्रजाम्बीका निम्ति आशावादी किरण बन्न सक्छु त ? यो मेरा लागि परीक्षाको घडी हो । वर्णव्यवस्थाको वास्तविक असर अब ममा पर्न आएको छ । प्रिय प्रजाम्बी ! शूद्रको नाममा आँसु झारेको यो पहिलो अवस्था हुनेछ, एक रोदन तिम्रा लागि !!
(यो कथा वर्ण व्यवस्थाको उत्थानका लागि लेखिएको होइन । वर्ण (जात) को कुरा चलिरहँदा मैले मनुस्मृतिलाई पुनः सम्झिएँ अनि महर्षिको विचारलाई सम्झिएँ । लाग्यो, आज पनि आवश्यक छ मनुस्मृतिबारे आफ्नो राय दिन । २५ डिसेम्बर १९२७ मा डा. आम्डेकरले यस पुस्तकलाई जलाउनुभयो । सायद त्यो समयमा यो पुस्तकलाई नजलाईकनै यसका यी श्लोकलाई परिवर्तन गराउन सकेको भए उत्तम हुने थियो कि !)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।